तनहुँ: तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी २९ वर्षीय विराट पन्थ पाइलट पढ्न दक्षिण अफ्रिका पुग्नुभएको थियो । एक वर्षअघि त्यहाँ पुग्नुभएका पन्थले १० महिने कोर्ष पूरा गरिसक्नुभएको थियो । आठ महिनापछि उहाँ पाइलट बन्दै हुनुहुन्थ्यो । छोरोको पाइलट बन्ने सपना पूरा हुने क्रममै रहेकाले यसपटकको दसैँ पनि विगतकोभन्दा थप उल्लासमय हुने अपेक्षामा थियो पन्थ परिवार तर त्यो सपनामै सीमित हुन पुगेको छ । विराट विजयादशमीको पहिलो दिन अर्थात् घटनास्थापनमा भएको दुर्घटनामा परी सधैँका लागि अस्ताउनुभयो । यता नेपालमा रहेको पन्थ परिवार दसैँका लागि जमराको चाँजोपाँजो गर्दै थिए । त्यहीबेला खबर आयो, छोरा विराट असोज १७ गते घटनास्थापनाका दिन आफैँले चलाएको कार दुर्घटनामा परी सधैँका लागि अस्ताए । साथीको जन्मदिन मनाउन जाँदै गर्दा दुर्घटनामा परी उहाँको मृत्यु भएको जनाइएको छ । कानुनी प्रक्रिया पूरागरी पन्थको शव बडादसैँको नवौँ दिन शुक्रबार राति दमौली ल्याइएको छ । राति नै दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरिएको छ । दसैँका बेला खुसीयाली हुनुपर्ने परिवार यतिबेला शोकमा छ । बुबा अधिवक्ता गोविन्द पन्थ र आमा टीकादेवी पन्थलगायत परिवार शोकको पीडा व्यक्त गर्ने अवस्थामा पनि छैनन् । आफन्त ईश्वरराज पन्थले भन्नुभयो, “ठूलो सपना बोकेर घर छोडेको छोराको शव आँगनमा आउँदा कस्तो भयो होला! अकल्पनीय घटनाले सबैलाई विक्षिप्त बनाएको छ ।” छिमेकी नन्दन श्रेष्ठले विराटको अकल्पनीय अवसानले आफूहरू स्तब्ध भएको बताउनुभयो । “आशाका मुनामा तुषारापात भएको छ । परिवारको सपना सपनामै रहेको छ । आत्मा अमर छ, शरीरमा आत्माको यात्रा अनन्त छ । बाबु विराटको आत्माले शान्ति पाओस्”, उहाँले भन्नुभयो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउन अनुरोध गर्नुभएको छ । विजया दशमी २०८१ को अवसरमा उहाँले भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहनुभएका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग ‘होस्टेमा हैसे’ मिलाउन सबैलाई आह्वान समेत गर्नुभयो । “जो जहाँ छौ, पीडामा परेकाहरुको पिडा हराउनका लागि सहयोगी हातहरु बढाउन आग्रह गर्छु”, उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले विपद्को घडीमा यसपालीको दसैँ टीका उल्लासपूर्ण हुन नसकेको समेत उल्लेख गर्नुभएको छ । “विपद्को घडीमा यतिबेला मेरो मन भारी भइरहेको छ । भारी मनकासाथ दसैँको उल्लासमा रमाउनुपर्ने बेला हाम्रो दिदीबहिनी तथा दाजुभाइ रमाउन नसकिरहेको अवस्था र म पनि रमाउन सकिरहेको छैन”, उहाँले भन्नुभएको छ, “दसैँअघि आएको भीषण बाढी र पहिरोका कारणले निर्दोष बालबालिका र असक्त जेष्ठ नागरिकहरुले जीवन गुमाउनुपर्यो । कति घाइते हुनुभयो, धेरै जनधनको क्षति भयो ।” प्रधानमन्त्री ओलीले शुभकामना भडियो सन्देशमार्फत सरकार प्रकोपपछिको उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित रहेको जानकारी दिँदै आश्वस्त रहन आग्रह गर्नुभयो । “प्रकोपले किसानको अन्नबालि नोक्सान भएको छ, त्यसको मूल्याङ्कन गरेर क्षतिपूर्ति उपलब्ध गराउछौँ । भत्किएका घरहरु पुनःनिर्माण गरी हस्तान्तरण गर्नेछौ । यसप्रति आश्वस्त रहँदै, सबैलाई दसैँ मनाउन र मिल्नेहरुले टीका लगाउन म आग्रह गर्न चाहन्छु ।” उहाँले आफू नेतृत्वको सरकार जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गर्दै प्रकोप प्रभावितलाई धैर्य धारण गर्न आग्रह समेत गर्नुभयो । “सरकारको नेतृत्व गरिरहेका हुनाले मेरो काँधमा थप जिम्मेवारी छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “उहाँहरुको आशु पुछ्ने, उहाँहरुको घाउमा मलहम लगाउने, पीडितलाई राहत दिने, पुनःनिर्माणको काम यथाशीघ्र सम्पन्न गर्ने, चाडपर्वमा आवातजावतलाई सहज र सुगम बनाउने समेत उत्तरदायित्वमा लागिरहेको घडीमा सबैलाई धैर्य धारण गर्न पनि आग्रह गर्दछु ।”
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमार्फत उहाँले आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद मान्यजनबाट ग्रहण गर्ने उल्लेख गर्दै उहाँले दसैँको अवसरमा मुलुकमा स्थायित्व, सुशासन र समृृद्धिको कामना गर्नुभएको छ । “विजया दशमी, २०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि राष्ट्रको कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु”, उहाँद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।
काठमाडौं: मनसुनी वायुका साथै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेकाले कोशी प्रदेशलगायत बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्दकुमार झा अनुसार आज तीन प्रदेशका पहाडी भू–भागका हल्का वर्षाको सम्भावना पूर्वानुमान गरिएको छ । वर्षा भएपनि खासै ठूलो भारी वर्षाको सम्भावना छैन । “आज दिउँसो बदली र वर्षाको सम्भावना छ, तर, ठूलो भारी वर्षा भने हुनेछैन, त्यसैले आत्तिनुपर्ने अवस्था छैन, बदली रहेपनि झरी पर्नेछैन, क्षति पुर्याउने किसिमको पानी पर्दैन ।” मौसमविद् झाले वर्षा भएपनि दसैँको टीका विथोल्ने किसिमको झरी पर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो । दिउँसो कोशी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरिएको छ । कोशी प्रदेशलगायत मधेश प्रदेशको अधिकांश भू–भाग र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । देशको बाँकी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ । न्यूनतम तापक्रम क्रमशः घट्र्दै गएकाले काठमाडौँमा सामान्य चिसो बढेको छ । अबको एकसाता न्यूनतम तापक्रम घट्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कत अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज काठमाडौँको अधिकतम तापक्र २७ देखि २९ सम्म र न्यूनतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियस रहनेछ ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रु पैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ९६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ १७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३० पैसा र बिक्रीदर ९० रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ७९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ७९ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ र बिक्रीदर नौ रुपैयाँ ४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८१ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ तीन पैसा र बिक्रीदर चार रुपैयाँ चार पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा कायम छ । साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ १३ पैसा र बिक्रीदर नौ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १२ रुपैयाँ ९७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १९ रुपैयाँ ७४ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २३ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ७० पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ६६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५५ पैसा तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
काठमाडौं: बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः३६ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ”, उहाँले भन्नुभयो । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । समितिले घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान ८ः३३ बजे रहेको छ । लगाइमाग्ने पूर्व, लगाइदिने पश्चिम फर्कनुपर्ने विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने बताउनुहुन्छ धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराई । यसरी बस्दा आशीर्वाद लिनेको दाहिने चन्द्रमा पर्छन् । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उहाँले सुनाउनुभयो । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोग व्याधमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ । अहिले पनि नेपालका धेरै जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिरहेकाले जमराको जुस सेवन गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ । घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो । त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रुपमा पनि लिइन्छ । आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ– आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।। शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते । विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।। अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ । यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गा देवीको स्वरुप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ । जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।। जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा यी नाम गरेकी देवी तपाइँलाई धेरै धेरै नमस्कार छ । यिनै मन्त्रले आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंड्ने मानिसको बाटामा भीड लाग्छ । नेपालका केही भागमा भने कुल, परम्परा अनुसार आजमात्र दुर्गा देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ । अधिकांश स्थानमा भने कोजाग्रत पूर्णिमाका दिनसम्मनै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ ।
गोरखा: त्रिशूली नदीमा आएको बाढीले क्षति पु¥याएको झोलुङ्गे पुल मर्मत गरेर सञ्चालनमा ल्याइएको छ । गोरखाको सहिद लखन गाउँपालिका–३, सिलिङटार र चितवनको इच्छाकामना गाउँपालिका–४, चरेस जोड्ने त्रिशूली नदी माथिको झोलुङ्गे पुल झन्डै दुई सातापछि मर्मत गरेर सञ्चालनमा ल्याइएको हो । सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरका अनुसार चाडबाडका बेला स्थानीयवासीलाई आउजाउमा समस्या भएपछि गाउँपालिकाले क्षतिग्रस्त झोलुङ्गे पुल मर्मतका लागि आवश्यक सबै सामग्री खरिद गरेर मर्मत गरिएको हो । “सस्पेन्सन ब्रिज डिभिजन काठमाडौँबाट आएको इन्जिनियरसहितको प्राविधिक टोलीले क्षतिग्रस्त पुल मर्मत गरेको हो”, अध्यक्ष थापामगरले भन्नुभयो । स्थानीय समुदायसमेतको सहयोगको पुलको मर्मत गरेसँगै नागरिकलाई पुलबाट आउजाउ सहज भएको छ । “बाढीले पुलको लट्ठामा क्षति पु¥याएको थियो,” उहाँले भन्नुभयो, “टाइफर मेसिनको प्रयोग गरेर पुलको लट्ठा तानेर पुलको छेउछाउमा जाली भरेर आवातजावत गर्न मिल्नेगरी पुल सञ्चालन गरिएको छ ।” कुल १६१ मिटर लम्बाइ रहेको उक्त झोलुङ्गे पुललाई यहीँ असोज ११ गते त्रिशूली नदीमा आएको बाढीले क्षति पु¥याएको थियो । मर्मत गरिएको उक्त पुलमा मोटरसाइकल सञ्चालन नगर्न स्थानीयलाई सचेत गराइएको छ ।
कास्की: कास्कीमा अवस्थित प्रख्यात मर्दी हिमाल पदमार्गलाई अन्वेषण गरी विश्वमा परिचित गराएका प्रवर्द्धक सुदीप गौतमको शालिक राखिएको छ । सोही पदमार्गको बादलडाँडामा पार्कसहित उहाँको शालिक निर्माण गरिएको हो । तत्कालीन समयमा फाट्टफुट्ट भकारी र चित्राले बारिएका भेडीगोठ मात्रै रहेको मर्दीमा पदयात्रा पर्यटनको विकासको लक्ष्यका साथ गौतमले गरेको निरन्तरको प्रयासले नै मर्दी हिमाल पदयात्रा विश्वमाझ प्रख्यात बनेकाले उहाँको शालिक निर्माण गरिएको माछापुच्छे« गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले बताउनुभयो । गौतमको विसं २०७९ असोज १४ गते बादलडाँडामै भिरबाट लडेर ३५ वर्षको उमेरमा निधन भएको थियो । माछापुच्छ«े गाउँपालिका, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० गण्डकी प्रदेश, मर्दी हिमाल पर्यटन होटल व्यवसाय व्यवस्थापन समिति र नेपाल पर्यटन बोर्डले पार्कसहित शालिक निर्माण गरेका हुन् । सन् २००७ मा गौतमले मर्दी हाइक्याम्पमा होटेल ट्रेकर्स प्याराडाइज सञ्चालन गर्नुपूर्व ‘हाइक्याम्प’मा मात्र नभइ मर्दी पदयात्रा मार्गका फरेस्ट क्याम्प, लो क्याम्प, बादलडाँडा, डुँडखर्कलगायतका कुनै पनि स्थानमा होटेल थिएनन् । पदयात्रामा डेढ दशकअघिसम्म केबल भैँसीगोठ मात्रै रहेका अवस्थामा क्याम्पिङका भरमा रात कटाउनुपर्ने बाध्यता गौतमकै प्रेरणासँगै बनेका होटेललगायतका पर्यटन पूर्वाधार बनेपछि अन्त्य भएको जनाइएको छ । गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले मर्दी हिमाल पदमार्ग विकास र विश्वमा परिचित गराउन सुदीपले धेरै मेहनत गरेको बताउनुभयो । “मर्दी पदयात्राले आज जुन चर्चा र लोकप्रियता पाएको छ । यसमा मुख्य देन सुदीपको रहेको छ । छोटो समय बाँचेर पनि उहाँले पर्यटनमा धेरै कुरा दिनुभएको छ”, उहाँले भन्नुभयो । माछापुच्छे« गाउँपालिका अध्यक्ष गुरुङले मर्दी पदमार्गलाई अहिलेको अवस्थासम्म ल्याउन गौतमको ठूलो भूमिका रहेको बताउनुभयो । टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले सुदीपको सपना मर्दीलाई विश्वभर चिनाउने र धेरैभन्दा धेरै पर्यटक भित्र्याउने रहेको र उहाँ मरेर गए पनि इच्छा साकार हँुदै आएको बताउनुभयो । पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छ«े गाउँपालिकाको घलेल हुँदै कालीमाटी तथा सिदिङसम्म जिपबाट पुगेर मर्दी पदयात्रा सुरु हुन्छ । जङ्गलको बाटो हुँदै उकालो चढेर दुई हजार ९७० मिटर उचाइमा अवस्थित लो क्याम्प पुगिन्छ । माछापुच्छे«कै धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँढेबाट पोथना, अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेष्ट क्याम्प हुँदै लो क्याम्पसम्म पर्यटक पुग्दछन् । लो क्याम्पबाट बादलडाँडा, हाइक्याम्प, ‘भ्यु पोइन्ट’ हुँदै चार हजार ५०० मिटर उचाइको मर्दी हिमाल आधार शिविर पुग्ने गरिएको छ ।
काठमाडौं: प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा निर्माण हुने पार्टी केन्द्रीय कार्यालयको शिलान्यास भएको छ । उद्यमी मीनबहादुर र सावित्री गुरुङले प्रदान गर्नुभएको १० रोपनी १४ आना जग्गामा भवन निर्माण हुने एमालेका महासचिव शङ्कर पोखरेलले बताउनुभयो । हालको पार्टी कार्यालयमा बाढीबाट क्षति भएपछि मैत्रीनगरमा नयाँ भवन निर्माण हुन लागेकोे हो । यसैबीच, व्यवसायी गुरुङले आफूले अन्य राजनीतिक दललाई पनि सहयोग गर्दै आएको र एमालेलाई पनि मद्दत गरेको बताउनुभयो । एक वर्षभित्र भवन निर्माण गर्ने उहाँले बताउनुभयो ।