पोखरा: सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड सेयरिङ’ नियमावली कार्यान्वयन एक महिनाका लागि स्थगित गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको छ । प्रदेश सरकारको ‘राइड सेयरिङ’ कार्यान्वयन स्थगित गर्ने निर्णयका विरुद्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सातवटै प्रदेश सरकार तथा यातायात व्यवसायी महासङ्घलाई विपक्षी बनाइ दायर भएको रिटमा मंगलबार अदालतले सो आदेश गरेको गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सर्वोच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले सो आदेश गरेपछि प्रदेशमा ‘राइड सेयरिङ’ले मान्यता प्राप्त गरेको र कार्यान्वयनको बाटो खुलेको छ । यसअघि प्रदेश सरकारकारले ‘राइड सेयरिङ’ नियमावली ल्याएपछि यातायात व्यवसायी आन्दोलित बनेका थिए । नेपाल यातायात व्यवसायी महासङ्घले देशव्यापी सार्वजनिक यातायात बन्द गरेर आन्दोलन गरेपछि सरकारले व्यवसायीसँग सहमति गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राइड सेयरिङसम्बन्धी प्रावधानको कार्यान्वयन हाललाई स्थगित गर्न गण्डकी प्रदेश सरकारलाई पत्राचार गरेपछि प्रदेश सरकारले एक महिनाका लागि नियमावली स्थगित गर्ने निर्णय गत जेठ २० गते गरेको थियो । गण्डकी प्रदेश सरकारले गत जेठ १ मा राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली–२०८२ प्रदेश राजपत्रमा प्रकाशित गरेको थियो ।
काठमाडौं: सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा समेटिएका अव्यवहारिक कर नीति विरूद्ध सुनचाँदी व्यवसायीहरुले चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् । मंगलबार नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघद्धारा संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आन्दालेनको घोषणा गरिएको हो । सरकारले सुनचाँदी, हिरा, जवाहतरात तथा हस्तकला व्यवसायीलाई मात्र नभई आम उपभोक्तालाई समेत प्रत्यक्षरुपमा असर पर्ने गरी २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याटको नाममा चर्को भार पार्न खोजिएको भन्दै व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका हुन् । सरकारले जायज माग सम्बोधन नगरेमा साउन १ गते देखि देशभरका सम्पूर्ण सुनचाँदी व्यवसाय अनिश्चितकाललिन बन्द गर्ने चेतावनी समेत दिइएको छ । विज्ञप्तीसहित
काठमाडौं: खाडी मुलुकका उडान रद्द भएपछि सोमबार रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रु उडान सञ्चालन भएसँगै गन्तव्यतर्फ उड्न थालेका छन्। सोमबार राति ११ः३० बजे कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विमान कतारको विकसित परिस्थितिका कारण उडान रद्द भएपछि यात्रु विमानस्थलमा नै अलपत्र परेका थिए। यस्तै, हिमालय एयरलाइन्सको विमानको कतार उडान पनि रद्द हुँदा धेरै सङ्ख्यामा यात्रु अलपत्र परेका थिए। इरानले कतारमा आक्रमण गरेपछि खाडी मुलुकका उडान रद्द भएका थिए। कतारको ‘एयरस्पेस ओपन’ भइसकेकाले गएराति रद्द भएका उडानका यात्रु आज गन्तव्यतर्फ जान थालेको विमानस्थल कार्यालयले जनाएको छ। गएराति रोकिएका उडान आज मध्याह्न १२ बजेका लागि तय गरिएको छ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार गएराति नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको कतार गन्तव्यको उडान रद्द भएको थियो। जसका कारण गन्तव्यमा हिँडेका सयौँ यात्रु विमानस्थलमै अलपत्र परेका थिए। कतारबाट काठमाडौं आउने विमानको उडान पनि आज रद्द भएको छ। बिहान ८ बजेका लागि काठमाडौं आइपुग्नुपर्ने विमान कतारले रद्द गरेको बताइएको छ। महाप्रबन्धक निरौलाले कतारले आफ्नो आकाश खुला गरिसकेकाले अब नियमित रूपमै उडान हुने विश्वास व्यक्त गरे। निगमका प्रवक्ता सुवास डाँगीका अनुसार निगमको सोमबार दोहा उडानमा २६९ यात्रु थिए। उनीहरूलाई आज गन्तव्यतर्फ पठाउन विमानस्थलको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ। कतारको परिस्थितिका कारण खाडी मुलुकका नियमित उडानमा केही बिलम्ब हुने बताइएको छ। सोमबार राति विमानमा यात्रुलाई बोर्ड गराउने तयारी भइरहेका बेला आक्रमणको सूचना आएपछि उडान रद्द गरिएको थियो। वैदेशिक रोजगारीका लागि जान लागेका अधिकांश यात्रुहरू अलमलमा परेका थिए। नेपालका तीनसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज भएको सत्तापक्षीय राजनीतिक दलको बैठकले नेपाल सरकारबाट सङ्घीय संसदमा प्रस्तुत विनियोजन विधेयक, २०८२ पारित गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको शीर्षनेताहरुको बैठकले आजको प्रतिनिधिसभाको बैठकमा बजेटमाथि उठेका छलफलमा प्रधानमन्त्रीसहित सम्बन्धित मन्त्रीहरुले आज जवाफ र स्पष्टीकरण दिएपछि निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची भएकाले आफ्ना सांसदहरुलाई बजेटका पक्षमा मत जाहेर गराउने निर्णय गरेको हो । सत्तापक्षीय दलको बैठकमा सहभागी तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बजेटमा प्रस्तावित ‘टेक एन्ड पे’ का विवषयमा प्रमुुख दल नेपाल कम्युनिष्ट पार्टी ९एमाले० र नेपाली कांग्रेसबीच समझदारी भइसकेकाले बजेट पारित गराउने विषयमा छलफल भएको जानकारी दिनुभयो ।
काठमाडौँ: सत्तापक्षीय दलको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्षीय दलहरूको बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेस नेता कृष्ण सिटौला, लोसपाका महन्थ ठाकुर, जसपाका अशोक राई, जनमतका सिके राउत, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ सहभागी छन् । आज आर्थिक वर्षको बजेटमाथि मन्त्रीहरूले जवाफ दिएर बजेट पारित गर्ने तयारी छ । विनियोजन विधेयकको पक्षमा मतदान गर्न कांग्रेस एमालेले आफ्ना सांसदहरूलाई ह्विप जारी गरिसकेका छन् ।
ढोरपाटन: बागलुङको काठेखोला गाउँपालिकामा ४७९ घर बाढीपहिराको उच्च जोखिममा परेका छन्। सडक छेउ र खोला किनारका घर बाढीपहिराको उच्च जोखिममा परेका हुन्। सबैभन्दा बढी काठेखोला९७ रेशमा र वडा नम्बर ६ तल्लो बिहुँका घर जोखिममा परेका गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले जानकारी दिए। उनका अनुसार वडा नं ७ रेशमा १२६ र वडा नं ६ तल्लो बिहुँमा नौ घर बाढीपहिरोको जोखिममा परेका छन्। रेशका ६० घर पहिरो जाने भिरालो जमिनमा रहेका र ६६ वटा बस्तीको छेउछाउ मोटरबाटोका कारण जोखिममा रहेको विकले बताए। तल्लो बिहुँका नौ वटा घर भिरालो जमिनमा रहेकाले जोखिममा परेका उनले जानकारी दिए। आठ वटा वडा रहेको काठेखोलाका धेरैजसो वडाका घर जोखिममा परेका छन्। वडा नं २ भीमापोखरामा ५२ घर पहिरो जाने भिरालो जमिनमा रहेका र पाँच मोटरबाटो निर्माणका कारण जोखिममा परेका विकले बताए। उनका अनुसार वडा नं ३ धम्जामा एक घर खोलाको जोखिममा, ४६ भिरालो जमिनमा र २१ वटा सडक छेउका घर जोखिममा परेको छ। वडा नं ४ तङ्ग्राममा १३ घर भिरालो जमिनमा रहेका र २२ वटा सडक छेउका पहिरोको जोखिममा छन्। वडा नं ५ माथिल्लो बिहुँमा १४ घर भिरालो जमिनमा रहेका र ५८ सडक निर्माणपछि पहिराको जोखिममा रहेका प्रवक्ता विकले बताए। वडा नं ८ लेखानीमा ५८ वटा भिरालो जमिनमा रहेका घर जोखिममा रहेका छन्। उहाँका अनुसार खोला किनारमा रहेका ३०, कमजोर भिरालो जमिनमा रहेका २७७ र मोटरबाटोको छेउमा रहेका १७२ घर पहिराको उच्च जोखिममा छन्। विपद् व्यवस्थापन समिति काठेखोलाले जोखिममा रहेका घरको तथ्याङ्क सङ्कलन गरेर नागरिकलाई सचेत बनाइरहेको गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए। जोखिममा रहेका परिवारलाई पुनःस्थापना गर्न केन्द्र र प्रदेश सरकारसँग सहकार्य गर्ने उनको भनाइ छ। ‘भौगोलिक अवस्था र कमजोर जमिनका कारण बर्सेनि वर्षात्को समयमा घरबस्ती बाढी र पहिराले बगाउने समस्या छ। बाढी पहिरोबाट नागरिकको ज्यान बचाउन सचेत बनाएका छौँ’, उनले भने, ‘ठूलो वर्षा भएको समयमा जोखिममा रहेका घरमा नबस्न आग्रह गरेका छौँ । क्षति भएमा यति धेरै घर बनाउन पालिकाको स्रोतले नसक्ने भएकाले प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर सुरक्षित स्थानमा व्यवस्थापन गर्ने पहल गरिरहेका छौँ।’
काठमाडौं: इरानबाट सोमबार कतारको राजधानी दोहा नजिकै रहेको एक महत्त्वपूर्ण सैन्य अड्डातर्फ मिसाइल प्रहार गरिएको थियो । तर, कतारको सुरक्षा संयन्त्रले ती मिसाइलहरू समयमै खसाल्न सफल भई जनजीवनमा कुनै क्षति नहोस् भन्ने सुनिश्चित गरेको छ । कतार सरकारका प्रवक्ता तथा प्रधानमन्त्रीका सल्लाहकार माजिद बिन मोहम्मद अल–अन्सारीले विज्ञप्ति जारी गर्दै यो आक्रमणलाई कतारको सार्वभौमिकता, हवाई क्षेत्र तथा अन्तर्राष्ट्रिय कानुनहरूको गम्भीर उल्लंघन भन्दै गहिरो चिन्ता व्यक्त गर्नुभयो । उहाँले यस प्रकारका कार्यहरूले क्षेत्रीय स्थायित्वमा नकारात्मक असर पार्न सक्ने भन्दै तुरुन्तै शान्तिपूर्ण संवादमा फर्कन आग्रह गर्नुभयो । उहाँका अनुसार, अल उदीद सैन्य अड्डाबाट सुरक्षाका सबै आवश्यक कदमहरू अपनाउँदै समयमै सैनिक र कर्मचारीहरूको सुरक्षित स्थानान्तरण गरिएको थियो । यस आक्रमणबाट कुनै पनि व्यक्ति घाइते वा हताहत भएको विवरण नभएको पुष्टि गरिएको छ । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आइआरजीसी) ले यस मिसाइल अभियानको जिम्मेवारी लिँदै उक्त कार्यलाई ‘अभिनन्दनको विजय’ नाम दिएको छ । उनीहरूले इराक र कतारमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य गरिएको बताएका छन् । आइआरजीसीले अल उदीद अड्डालाई ‘पश्चिम एसियामा अमेरिकी वायुसेनाको मुख्य केन्द्र’ को रूपमा उल्लेख गरेको छ । इरानले आफ्नो राष्ट्रिय स्वाधीनता, भूभागीय अखण्डता र सुरक्षामा भएको कुनै पनि हस्तक्षेपको जवाफ दिन आफू बाध्य हुने स्पष्ट पार्दै आएको छ । यो प्रहार अमेरिकी पक्षबाट शनिबार इरानका तीनवटा परमाणु केन्द्रमा गरिएका हवाई आक्रमणको प्रतिशोधस्वरूप गरिएको बताइएको छ । यसैबीच, खाडी क्षेत्रका विभिन्न मुलुकहरूले सुरक्षाको दृष्टिले हवाई मार्ग अस्थायी रूपमा बन्द गरेका छन् । कतार र संयुक्त अरब इमिरेट्सले आक्रमण हुनुअघि नै आकाश मार्ग बन्द गरिसकेका थिए भने बहराइन र कुवेतले पनि सोमबार आंशिक हवाई मार्ग बन्दको घोषणा गरेका छन् । कतारको अल उदीद सैन्य अड्डा मध्यपूर्व क्षेत्रका लागि अमेरिकी तथा साझेदार राष्ट्रहरूको एक प्रमुख सैन्य आधार हो, जहाँ हजारौं सैनिकहरू तैनाथ छन् ।
चितवन: चितवन राष्ट्रिय निकुञ्जभित्र यही असार १५ गतेदेखि जीप सफारी बन्द गरिने भएको छ । वर्षासँगै निकुञ्जभित्र जीप जान असहज हुने भएकाले सफारी बन्द गर्न लागिएको हो । निकुञ्जले हरेक वर्ष बर्खाको समयमा सफारी बन्द गर्ने गर्छ । र, चाडपर्व सुरु हुँदै गर्दा असोजको तेस्रो सातातिर सफारी खुला गरिन्छ । वर्षा लम्बिए सोहीअनुसार खोल्ने समय पछाडि सार्ने गरिन्छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार, गत वर्ष असार १६ गतेदेखि जीप सफारी बन्द गरिएको थियो । असोज २४ गते फूलपातीदेखि पुनः सञ्चालनमा ल्याइएको थियो । उनका अनुसार, वर्षाले बिगारेको सडक मर्मतसम्भार गरेर जीप सफारी खुला गरिन्छ । मध्यवर्ती सामुदायिक वनमा भने जीप सफारी नरोकिने उनले बताए । निकुञ्जभित्र पैदलयात्रा, घडियाल प्रजनन केन्द्र अवलोकनलगायत पर्यटकीय गतिविधि पनि नियमित सञ्चालन गरिने उनले जानकारी दिए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा। गणेश पन्तका अनुसार, विश्वभरका यस्ता निकुञ्जमा हरेक वर्ष केही महिना सर्वसाधारणका निम्ति बन्द गर्ने गरिन्छ । त्यसबाट निकुञ्जभित्रका वन्यजन्तुलाई बाधा नपुग्ने र जीपनयापन सहज हुने उनले जानकारी दिए । वर्षायाममा बाढी आउने र खोलाखोल्सा बढ्ने, रुख ढल्ने, बाटो समेत चिप्लो र हिलो हुने, घाँस र झाडी बढेर जंगली जनावर समेत नदेखिने उनको भनाइ छ ।
पोखरा: कास्कीको रूपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४८ करोड ५५ लाख ३७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले आइतबार गाउँसभामा बजेट तथा कार्यक्रम प्रस्तुत गरिन्। यसअघि गाउँपालिका अध्यक्ष नवराज ओझाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उपाध्यक्ष गुरुङका अनुसार बजेटमध्ये ३३ करोड ३४ लाख ४८ हजार रुपैयाँ चालु खर्चका लागि र १५ करोड २० लाख ५७ हजार रुपैयाँ पूँजीगत तर्फ विनियोजन गरिएको छ। बजेटको मुख्य स्रोतमा संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड, ससर्त तथा समपुरक अनुदान गरी करिब ४० करोड भन्दा बढीको रकम रहेको छ। गण्डकी प्रदेश सरकारबाट पनि समानीकरण, समपुरक र विशेष अनुदान लगायत २ करोड भन्दा बढी रकम प्राप्त हुने अनुमान गरिएको छ। आन्तरिक स्रोतबाट १ करोड ६४ लाख रुपैयाँ र चालु आर्थिक वर्षको बाँकी ३ करोड ८९ लाख रुपैयाँ समेत समेटिएको छ। प्राप्त हुन नसक्ने ५ करोड ५३ लाख रुपैयाँ पनि उल्लेख गरिएको छ । बजेटमा कृषि र पशुपालनलाई प्राथमिकता दिँदै करिब ५ करोड रुपैयाँ विनियोजन गरिएको छ। पर्यटन प्रवर्द्धन, स्वास्थ्य सेवा, शिक्षा, खानेपानी, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सामाजिक सुरक्षा र पूर्वाधार विकासलाई समेत बजेटमा उच्च प्राथमिकता दिइएको छ । स्वास्थ्य क्षेत्रमा ३ करोड ५९ लाख, शिक्षा क्षेत्रमा १६ करोड ७२ लाख, पूर्वाधार विकासमा १० करोड ८९ लाख तथा सामाजिक क्षेत्रतर्फ २१ करोड २३ लाख १० हजार विनियोजन गरिएको हो। गाउँपालिकाले जलदेवी धार्मिक क्षेत्र संरक्षण, ग्रेटवाल ट्र्याक निर्माण, घुम्ती कृषि कार्यक्रम, दूध उत्पादनमा आत्मनिर्भरता, एक वडा–एक पोखरी कार्यक्रम, रूपाकोट अस्पताल सुदृढीकरण, सोलार वितरण लगायतका कार्यक्रम सञ्चालन गर्ने योजना प्रस्तुत गरेको छ। रूपा गाउँपालिकाले चालु आर्थिक वर्ष ५० करोड ४६ लाखको बजेटमध्ये ८९.९६ प्रतिशत राजस्व संकलन गरेको छ भने औसत खर्च प्रगति ५६.९७ प्रतिशत रहेको जानकारी उपाध्यक्ष गुरुङले जनाइन् । उपाध्यक्ष गुरुङले प्रस्तुत गरेको बजेट गाउँसभाबाट अनुमोदनका लागि प्रस्ताव गरिएको छ। (पूर्णपाठ)