मुगु: विद्युत् सेवा चुहावट हुँदा मुगुको छायानाथ रारा नगरपालिका–११, कुसाटाउमा १० खच्चर मरेका छन् । ती खच्चर जिल्ला सदरमुकाम गमगढीबाट सामान लिएर मुगुम कार्मारोङ गाउँपालिका जाँदै थिए । त्यही बेला नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रको ट्रान्समिटरबाट विद्युत् चुहावट हुँदा करेन्ट लागेको थियो । प्राधिकरणले कम क्षमताको ट्रान्समिटर राख्दा र विद्युत्को अर्थिङ सुरक्षित नबनाउँदा आइतबार ९असार ८० दिउँसो ती खच्चरलाई करेन्ट लागेको खच्चरधनी छायानाथ रारा–१ का कन्नबहादुर मल्लले गुनासो गरे । उनले भने, “पानी परिरहेका बेला सडकछेउमा रहेको ट्रान्समिटरबाट विद्युत् जमिनमा बगेको रहेछ, हामीलाई थाहै भएन । एक्कासि १० खच्चर करेन्ट लागेर मरे । मलाई पनि करेन्ट लागेको थियो, चप्पल लगाएको हुनाले सामान्य झड्का मात्र लाग्यो, म बचेँ ।” उनका अनुसार, एउटा खच्चरको मूल्य एक लाख ५० हजार रुपैयाँभन्दा बढी पर्छ । उनले खच्चरको क्षतिपूर्ति दिन प्राधिकरणसँग माग गरे । मल्लका चार, छायानाथ रारा–१० का जग्गी बढुवाल र पृथ्वीबहादुर ऐडीका तीनरतीन खच्चर मरेका हुन् । गएको शुक्रबार ९असार ६० पनि छायानाथ रारा–१२, कम्फागाउँ निवासी खड्कबहादुर बुढाको भैँसी करेन्ट लागेर मरेको थियो । विद्युत् सेवा व्यवस्थित र सुरक्षित नबनाउँदा यहाँ दिनहुँ स्थानीयले सास्ती भोग्नुपरेको बढुवालले बताए । केन्द्रका प्रमुख साजन ऐडीले वर्षा र हुरीबतासका कारण विद्युत् सेवा प्रभावित हुँदा समस्या भएको भन्दै नियमानुसार पाउने क्षतिपूर्तिका निम्ति आफूले प्रादेशिक र केन्द्रीय कार्यालयमा सिफारिस गर्ने बताए ।
नवलपरासी: बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्ग पनि पूर्णरूपमा अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासमा पुल भाँचिएपछि डाइभर्सनबाट यातायात सञ्चालन गरिएकामा डाइभर्सन पनि बगाएपछि वैकल्पिक मार्गबाट सवारी पास गराइएकामा आज बिहानदेखि त्यो मार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको हो । विनयी त्रिवेणी –३ स्थित खरङ्गे खोलामा वर्षाका कारण पानीको बहाव अत्यधिक बढेपछि उक्त वैकल्पिक मार्ग पनि पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले बताए। अहिले यस सडक क्षेत्रको दाउन्ने दुम्कीवास खण्डमा सवारीसाधन आवतजावत गर्न नसक्ने स्थिति भएको छ । निरन्तरको वर्षासँगै पूर्वपश्चिम राजमार्गअन्तर्गत विनयीखोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन पानीको बहाव बढेपछि बगाएको थियो । डाइभर्सन बगाएपछि होल्डमा राखिएका साना तथा मध्यम (१२ चक्केसम्म) सवारीसाधनलाई वैकल्पिक भित्री मार्ग हुँदै होङ्सी गेट, सर्दी र ज्यामिरे राजमार्ग प्रयोग गरी आवतजावत गराइँदै आएको थियो । त्यो मार्ग पनि अवरोध भएपछि अहिले यातायात पूर्ण रूपमा बन्द रहेको प्रहरी उपरीक्षक ढकालले बताए । वर्षासँगै नदी तथा खोलामा आएको बहाव र अस्थायी डाइभर्सनको भरपर्दो व्यवस्था नहुँदा यात्रीहरूलाई कठिनाइ हुँदै आएको छ ।
धनगढी: धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा बाहिरबाट ताल्चा लगाएको कोठामा सोमबार बिहान एक युवती मृत भेटिएकी छिन् । डेरा गरेर बस्दै आएकी पुनर्वास नगरपालिका–११ अमरबस्तीकी ३० वर्षीया रेणु चौधरी ताल्चा लगाएको कोठामा मृत भेटिएकी हुन् । मृतक युवती अविवाहित रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको प्रकृति शङ्कास्पद् देखिएकाले घटनास्थललाई सिल गरेर अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए ।
गोरखाः सहिद लखन गाउँपालिका-७ स्थित ढुङ्गागाढे भञ्ज्याङ नजिकै सडक भासिँदा ढुङ्गागाढे(खाब्दी भञ्ज्याङ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । गएराति परेको वर्षाले सडक भासिएर दुईतर्फी नै सवारी आवागमन अवरुद्ध भएको सहिद लखन(७ का वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “गत वर्ष वर्षाले सामान्य क्षति पुगेको उक्त सडक समयमा मर्मत नहुँदा गए रातिको भीषण वर्षाले थप क्षति पुगेको हो । गएको बर्खादेखि नै सडक भासिँएर जोखिमपूर्ण अवस्थामा रहँदै आएको थियो, अहिले त चारपाङ्ग्रे सानाठूला कुनै पनि सवारीसाधन सञ्चालन हुनसक्ने अवस्था छैन ।” सहिद लखन गाउँपालिका प्रवेश गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि उक्त सडकखण्ड हुँदै आवातजावत गर्ने यात्री समस्यामा परेका छन् । सडक भासिएकाले मोटरसाइकल र पैदलयात्री जोखिम मोलेर ओहोरदोहोर गर्नुपर्ने अवस्था बनेको छ । सडक पूर्वाधार विकास कार्यालयले शनिबारदेखि सडक पुनर्निर्माणको काम सुरु गरेको भए पनि वर्षाका कारण निर्माण प्रभावित भएको छ ।
पोखरा: पोखरा महानगरपालिकाले आर्थिक बर्ष २०८२/०८३ को लागि ८ अर्व ३५ करोड १२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । पोखरा महानगरपालिकाको आइतबार भएको १७ औं नगरसभामा पोखराका उपप्रमुख मन्जुदेवी गुरुङले उक्त बजेट सार्वजनिक गरेकी हुन् । सङ्घीय सरकारको सशर्त अनुदानबाट रु.३ अरब १३ करोड १२ लाख अर्थात् ३७.४९ प्रतिशत र आन्तरिक आयबाट रु.५ अरब २२ करोड अर्थात् ६२.५१ प्रतिशत व्यहोर्ने गरी महानगरपालिकाले बजेट ल्याएको हो ।
चितवन: मुग्लिन-मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ । यससँगै आजदेखि रातिको समयमा सडक आवागमन नरोकिने भएको हो । पृथ्वी राजमार्गको नैबिसे-मलेखु सडकको एउटा पुलमा गर्डर राख्नुपर्ने भएकाले उक्त खण्ड आज र भोलि राति बन्द हुने नागढुङ्गा-मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार बरबाङ्, मोवा, खटौती र गोमती खोलाको पुलमा आरसिसी बिम राख्ने काम सम्पन्न भएको छ । उनले तीमध्ये दुईवटा पुलको ढलान असार मसान्तभित्रमा सक्नेगरी कामअघि बढाइएको बताए । भारतबाट ठूलो क्रेन झिकाएर बाहिर बनाइएको बिम पुलमा राख्नुपर्ने भएकाले गत जेठ ३० गतेदेखि असार ७ गतेसम्म रातको समयमा सडक आवागमन रोकेर काम गरिएको थियो । क्रेनले यो खण्डका चार पुलमा बिम राखेसँगै आज र भोलि सोही आयोजनाअन्तर्गत नौबिसे–मलेखु खण्डमा निर्माणाधीन गलौदी खोलामा बिम राख्न लागिएको छ । आयोजनाले एक सूचना जारी गरी राति १०ः३० बजेदेखि बिहान ३ः०० बजेसम्म दुई दिन सवारी रोकेर बिम राख्न लागिएको जनाएको छ । मुग्लिन-मलेखु सडक खण्डको ३२ प्रतिशत काम सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ । यस खण्डमा आठ किलोमिटर सडक कालोपत्र गरिएको छ । चितवनतर्फ लेवाटार, कुरिनटार, चुम्लिङ्टार र फिस्लिङ् बजार क्षेत्रमा कालोपत्र गरिएको छ । धादिङतर्फ मझिमटार, चरौदी र विशाल टारमा चार लेन सडक चौध मिटर फराकिलो कालोपत्र गरिएको छ । धादिङको मझिमटार र विशालटारमा झण्डै दुई किलोमिटर क्षेत्र कालोपत्रको तयारी गरिएको छ । नेपालले भने, ‘करिब आठ किलोमिटर क्षेत्र कालोपत्र भएको छ । मौसमले साथ दियो भने थप दुई किमी कालोपत्र गर्दै छौँ ।’ आयोजनाका इञ्जिनीयर विजय दरैका अनुसार अरु दुईवटा पुलको फाउण्डेसनको काम भइरहेको छ । धादिङतर्फका चरौदी र हुग्दीमा फाउण्डेसनको काम हुँदै छ । ‘यो खण्डमा दुई दशमलव दुई किमी छ लेन सडक बन्नेछ । जुन मलेखु, बेनिघाट र मुग्लिन खण्डमा पर्दछ । चार लेन सडक सात दशमलव दुई किमी हुनेछ । यो रमाइलोडाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा हुनेछ । उकालो(ओरालो खण्डमा तीन लेनको क्लाइम्बिङ लेन पनि बनाइनेछ, जुन दुई दशमलव तीन किलोमिटर हुनेछ’, इञ्जिनीयर दरैले भने । उनका अनुसार बाँकी सडक डेडिकेटेड दुई लेनको हुनेछ । विसं २०७९ पुस १५ मा तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको हो । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन(नागढुङ्गा सडक खण्डलाई तीन ‘प्याकेज’ बनाएर बोलपत्र आह्वान गरिएको हो । यो तेस्रो प्याकेजमा पर्दछ । यो प्याकेजमा ३८ दशमलव ८६ किलोमिटर छ । शर्मा–जेडआइसिजीले चार अर्ब ८० करोड ५९ लाख रुपैयाँमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको आयोजनाका इञ्जिनीयर दरैले बताए । सडकको विभिन्न क्षेत्रमा नाला बनाउने, पहिरो रोकथामको काम, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षा लगायतका काम भइरहेको छ । यो सडक विश्व बैंकको सहयोगमा बनाइएको हो ।
गुल्मी: गत शुक्रबारदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडक अझै खुलेको छैन । लामो समयसम्म सडक अवरुद्ध बनेका कारण स्थानीयवासी थप समस्यामा परेका छन् । कालीगण्डकी गाउँपालिका–१ अन्तर्गत हर्मीचौर–अर्बेनी सडकअन्तर्गत गरगरेमा शुक्रबार अपराह्नदेखि सडकमा सुक्खा पहिराले उक्त सडक तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध बनेको छ । सडक अवरुद्ध बनेपछि गाउँपालिका केन्द्र पुर्तिघाट जाने र पुर्तिघाटबाट बुटवलसम्म जाने सवारीसाधन बीच बाटोमा अलपत्र परेका छन् । सडक सञ्चालन गर्न पहिरोग्रस्त क्षेत्रमा तीनवटा डोजर तयारी अवस्थामा राखिएका भए पनि पहिरो खसिरहेको हुँदा सडक सञ्चालन गर्न समस्या परेको कालीगण्डकी गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले बताउनुभयो । “सडकभन्दा धेरै माथिबाट लगातार सुक्खा पहिरो खसिरहेको छ, हामीले यात्रीको सुरक्षालाई ध्यानमा राखेर प्रहरी टोलीलाई पहिरोग्रस्त क्षेत्रमा खटाएका छौँ, यात्रीलाई हर्मिचौर माथिबाट देउराली हुँदै अर्बेनीकोटको वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छौँ”, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले भन्नुभयो । पहिरो झर्ने क्रम नरोकिएका कारण उहाँले आज बेलुकीसम्म पनि उक्त सडक सञ्चालन हुनसक्ने अवस्था नरहेको बताउनुभयो । लामो समयसम्म मुख्य सडक बन्द हुँदा त्यस क्षेत्रका नागरिकलाई समस्या परेको गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो । “सडक कतिबेला खुल्छ भनेर नागरिकले बारम्बार सोधिरहनुहुन्छ, तीन दिन भयो सडक पूर्ण रूपमा बन्द छ, के भनेर नागरिकलाई जवाफ दिने अवस्था यस्तो छ”, उहाँले भन्नुभयो ।
पोखरा: ब्रिटिसका नेपाली नागरिक लेफ्टनेन्ट कर्णल जे.पी. क्रसले शनिबारदेखि १ सय वर्ष पार गरेका छन् । उनले शताब्दी पार गरेका क्रसको जन्मोत्सव पोखरामा भव्य रुपमा मनाइएको छ । ब्रिगेड अफ गोर्खाको इतिहासमा सबैभन्दा प्रसिद्ध ब्रिटिश अधिकारीहरूमध्ये एक जेपी क्रसको जन्मोत्सव पोखरास्थित ब्रिटिश गोर्खाज नेपाल क्याम्पमा भव्य समारोह गरी मनाइएको हो । कार्यक्रमा बेलायती राजदूत रब फेन, भुतपूर्व ब्रिटिश गोर्खाहरू र सेवारत अधिकारी तथा कर्मचारीहरू उपस्थित रहेको थियो । ब्रिटिश गोर्खाज नेपालका कमाण्डर कर्णल ड्यान रेक्स एम भी ओले यस महत्वपूर्ण कार्यक्रम पोखरास्थित क्याम्पमा मात्र सिमित नभएर बाहिर सम्पूर्ण ब्रिगेड अफ गोर्खाज र ब्रिटिश सेनामा पनि प्रतिध्वनित भएको स्मरण गराए । ‘जे.पी. साहेबसँगको सम्बन्धमा गर्व गर्ने धेरै नेपालीहरूले पनि यो क्षण नजिकबाट हेरिरहेको र आफुलाई यस अवसरसँग सम्बन्धित गराइरहेका छन्,’ उनले भने । उनी अहिले आफ्नो धर्मपुत्र र परिवारसँग पोखरामा जीवन बिताइरहेका छन् । उनको वास्तविक नाम जन फिलिप क्रस ओ बी ई हो । उनी नेपालमा बस्न थालेदेखि सबैले जे.पी. क्रस भनेर चिन्छन् । करिब ४० वर्षसम्म ब्रिटिश गोर्खामा सेवा गरेका उनी सेवाबाट अवकाशपछि विगत ४९ वर्षदेखि नेपालमा बस्दै आएका छन् । केही वर्ष अघिदेखि क्रस नेपाली नागरिकको रूपमा छन् । अहिले आफूलाई ‘बेलायतमा जन्मेका नेपाली’ भन्न रुचाउने क्रस ८० वर्षअघि २१ वर्षको उमेरमा ब्रिटिश सेनाका साथ पहिलो पटक नेपाल आएको स्मरण गर्छन् । उनले आफ्नो जीवनभरको सैन्य सेवा र ज्ञानबारे १९ वटा पुस्तक लेखेका छन् । साथै, उनले आफ्ना टिप्पणी तथा संस्मरणहरूमा सधैं गोर्खाहरूलाई उच्च सम्मानमा राख्छन् । नेपाल, यहाँका मानिस र गोर्खालीहरूप्रति उनको लगावले नेपाल र गोर्खा समुदायमा उनको नामलाई स्थायी बनाएको छ । उनको कृतिहरूमा व्यक्त गरिएको ज्ञानले सैन्य संसारमा राम्रो पहिचान कमाएको छ । गोर्खा सैनिक र लेखकको रूपमा आफ्नो विशिष्ट उपलब्धी बाहेक उनी जंगलयुद्ध र प्रति–विद्रोहका विशेषज्ञका रूपमा चिनिन्छन् । जसले प्रहरी अधिकारी, रक्षा सहचारी र गोर्खा भर्ती अधिकारीको रूपमा अनुभव प्राप्त गरेका छन् । उनी एक उच्च दक्ष भाषाविद् पनि हुन्, जो नेपाली र यसका विभिन्न भाषामा धाराप्रवाह छन् । उनले सैन्यकालमा बर्मा, इन्डो–चाइना, मलाया, बोर्नियो, पाकिस्तान, भारत, हङकङ, र नेपाल लगायत अन्य क्षेत्रहरूमा सेवा गरेका छन् । सोही कारण पनि उनको १०० औं जन्मोत्सव खास रहेको थियो ।
चितवन: चितवन– पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । घटनामा १८ जना घाइते भएका छन् । चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन शनिबार बिहान एकआपसमा टोक्किँदा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । मृत्यु भएकामध्हुये दुई जनाको मात्रै पहिचान भएको छ । जसमा मकवानपुर हटिया–३ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती र हेटौंडा उपमहानगरपालिका( ५ की ५३ वर्षीया मैयाकुमारी न्यौपाने रहेका छन् । बाँकी छ जनाको सनाखत हुन सकेको छैन । घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।