गण्डकी: गुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटिन) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड, क्व्होलाँसोथार गाउँपालिका, मस्र्याङदी गाउँपालिकाको आर्थिक सहयोगमा पोखराबाट लमजुङको सिङ्दीहुँदै दुधपोखरीलगायतका स्थानलाई समेट्दै गरिएको खोज तथा अन्वेषणात्मक पदयात्रा सम्पन्न भएको छ । गुरुङ सम्पदा पदमार्गका रूपमा परम्परागत भेडीगोठसँगै प्राचीन नुन बोक्ने मार्गलाई पदयात्रा पर्यटनसँग जोड्ने लक्ष्यका साथ यही जेठ २३ गतेदेखि असार १ गतेसम्म विभिन्न कार्यक्रम तय गर्दै प्रवद्र्धनात्मक खोज तथा अनुसन्धानत्मक पदयात्रा गरिएको गुरुङ पर्यटन व्यवसायी सङ्घका संस्थापक अध्यक्ष एवम् कार्यक्रम संयोजक बोबरजङ्ग गुरुङले जानकारी दिनुभयो । सङ्घको आयोजनामा यसअघि पहिलो चरणमा कास्कीको ताङतिङहुँदै मनाङको तिमाङसम्म र दोस्रो चरणमा कास्कीको सिक्लेस हुँदै कोरी क्होँलासोँथर, कर्पु हुँदै याङ्जाकोटसम्म खोज तथा अनुसन्धानात्मक पदयात्रा गरिएको थियो । “यस पदमार्गमा ठाउँठाउँमा टि हाउससहितका पूर्वाधार, खानेपानीको व्यवस्थासँगै सञ्चार सम्पर्क सहज हुने किसिमका व्यवस्था गरिनु जरुरी देखिन्छ”, सङ्घका अध्यक्ष किसमकुमारी गुरुङले भन्नुुभयो । खोज तथा अनुसन्धानका चरणसँगै आगामी सन् २०२६ देखि यस पदमार्गलाई सञ्चालनमा ल्याउने तयारी गरिएको उहाँको भनाइ छ । गुरुङ सम्पदा पदमार्गमा समेटिएका ऐतिहासिक गुरुङ गाउँहरूका प्राचीन संस्कार र संस्कृतिलाई जगेर्ना गर्दै पर्यटकीय रूपमा भरपुर उपयोग हुनुपर्ने उहाँले बताउनुुभयो । पदयात्राका क्रममा उक्त क्षेत्रमा सञ्चार सम्पर्कको विद्यमान अवस्था बारे स्थलगत प्राविधिक अध्ययन गरिएको थियो । अध्ययनका क्रममा कतिपय स्थानमा सञ्चारसम्पर्क विहिनताको अवस्था रहेको पाइएको छ । खोज अन्वेषण पदयात्रामा ४८ जनाको सहभागिता थियो । पदमार्गमा ठाउँठाउँमा खोला तथा मनोरम पोखरीसँगै ठूलाठूला खर्क र पाटन रहेको पदमार्गबाट अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली, मनास्लुजस्ता हिमशृङ्खलालाई नजिकैबाट अवलोकन गर्न सकिने जनाइएको छ । पदमार्गमा भेंडा, गाई, भैँसी तथा चौँरीको गोठ बस्ने खर्क, गोठाले जीवनको रहनसहनलाई प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । पदमार्गमा यार्सागुम्बा, जटामसी, सतुवा, पाँचऔंले, वन लसुन जस्ता धेरै प्रजातिका जडीबुटी पाइन्छ भने ठाउँठाउँमा हावापानीअनुसारका लालीगुराँस तथा विभिन्न लेकाली फूलहरू अवलोकन गर्दै पदयात्रा गर्न सकिने जनाइएको छ । पदमार्गमा पर्ने गुरुङ गाउँहरूमा घरवास सञ्चालन सँगै घाँटु, सोरठी, कृष्ण चरित्र, आमा समूहका नाच प्रचलनमा छन् । घरवासमा आएका पर्यटकलाई स्थानीय उत्पादनका परिकार खुवाउने गरिएको सिउरुङ सामुदायिक होमस्टेका सञ्चालिका सन्तकाशी गुरुङले जानकारी दिनुुभयो ।
काठमाडौं: नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि भएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँले वृद्धि भएको छ । नयाँ मूल्य अनुसार अब काठमाडौं, पोखरा र दीपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६० रुपैयाँ हुनेछ । यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय ४५ रुपैयाँ पर्नेछ ।
काठमाडौं: इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई आधिकारिक निर्देशनको पालना गर्दै सुरक्षित बस्न आग्रह गरेको छ । राजदूतावासले विज्ञप्ति जारी गर्दै नेपालीको सुरक्षा र हितका लागि २४ सै घण्टा खुला रहनेगरी हटलाइन पनि शुरु गरेको जनाएको छ । राजदूतावासले हाल चलिरहेको इजरायल–इरान युद्धका क्रममा इजरायलका विभिन्न स्थानहरूमा ठूलो जनधनको क्षति पुगेको उल्लेख गरेको छ । यस्तो स्थितिमा इजरायलको होम फ्रन्ट कमाण्डले सर्वसाधारणका लागि लगातार जारी गरिरहेको अध्यावधिक निर्देशनहरुलाई पालन गर्न नेपालीलाई आग्रह गरेको छ । अहिलेको परिस्थितिमा इजरायलमा शैक्षिक संघ संस्था एवम् अत्यावश्यक बाहेकका कार्यालय बन्द छन् । अहिले सभा तथा भेला नगर्न निर्देशन जारी गरिएको छ । ‘‘इजराइलमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं ।’’ राजदूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामाा लोक सेवा आयोगको जनविश्वास प्रबल रहेको बताउनुभएको छ । आयोगको हिरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामति, सुरक्षा निकायलगायत संगठित संस्थामा पदपूर्तिका लागि आयोगले दिएको योगदानको प्रशंसा गर्नुभयो । “नेपाल र नेपाली चाहनाअनुरुप कार्य गर्न आवश्यक जनशक्तिको छनोटमा आयोगले परीक्षा प्रणालीलाई सुधार गर्दै आएको प्रविधिमैत्री र समयसापेक्षा बनाएको जानकारी पाउँदा मलाई खुसी लागेको छ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “आयोगलाई थप साधनस्रोतसम्पन्न र प्रविधिमैत्री बनाउन तथा आयोगका वार्षिक प्रतिवेदनमा दिइने सुझावको कार्यान्वयनका लागि सम्बन्धित निकायले ध्यान उचित दिनुपर्छ । सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरणका लागि सरकार तत्पर रहनेछ ।” राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको समारोहमा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी युवा पुस्तामा समेत विश्वासको वातावरण सृजना गरी राष्ट्रसेवामा सबैलाई प्रेरित गर्न आयोगले निरन्तर भूमिका खेल्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
नेपालगन्ज: पोखरा र नेपालगन्जविच विगत केही बर्षदेखि जोडिएको हवाई सेवालाई थप विस्तार गर्दै दुई शहरविच स्तरीय बस सेवा संचालनका लागि ब्यबसायीले जोड दिएका छन् । जाउँ है पोखरा अभियान अन्तर्गत शनिबार बाँकेको नेपालगन्जमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा पोखरा र नेपालगन्जका ब्यबसायीले दुई शहर जोड्ने गरी पर्यटकीय बस सेवा समेत संचालन गर्नुपर्ने आबश्यकता औंल्याए । पोखरा र नेपालगंजविच जारी हवाई सेवा विस्तार गर्दै उडान संख्या बढाउनुपर्ने विषय पनि कार्यक्रममा उठेको थियो । होटल संघ पोखरा नेपालका अध्यक्ष एबं अभियानका संयोजक लक्ष्मण सुबेदीले पर्यटनका लागि कनेक्टिभिटी महत्वपूर्ण हुने भन्दै पोखरा र पश्चिम नेपालका विभिन्न शहरविच स्तरीय बस सेवा जरुरी भएको भनाई राखे । होटल संघ नेपालका केन्द्रीय सदस्य एबं आयोजक संघका सल्लाहकार परिषद् अध्यक्ष भरतराज पराजुलीले अभियानको निरन्तरता नै सफलताको सूचक भएको भनाई राखे । पूर्वाधारको विकास र पर्यटन मैत्री वातावरणमा सरकारले ध्यान दिनुपर्ने पराजुलीले बताए । लुम्बिनी प्रदेशका सांसद कृष्णा केसीले पर्यटन प्रबर्द्धनका सन्दर्भमा पोखरालाई आफ्नो साथ रहने भनाई राखिन् । नेपालमा पाँच सय दरका भरतीय रुपैयाँका नोट चलाउन दिनुपर्ने, चेकिङका नाममा भरतबाट आउने पर्यटकलाई नाका र अन्य ठाउँमा सुरक्षाकर्मीले दुस्ख दिन नहुने र दुई शहरविच पर्यटनका संयुक्त प्रबर्द्धनात्मक कार्यक्रम संचालन गरिनुपर्ने गुनासा र सुझाव नेपालगन्जका ब्यबसायीले राखेका थिए । होटल संघ बाँकेका अध्यक्ष दिवाकर खनाल, होटल ब्यबसायी महासंघ लुम्बिनीका संस्थापक भास्कर काफ्ले, नेपाल उद्धोग वाणिज्य संघ नेपालगन्जका उपाध्यक्ष चिरन्जिवी वली, बन्दिपुर केवलकारका उपाध्यक्ष किरण पोखरेल, नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरे र नरैनपुर गाउँपालिकाका अध्यक्ष इस्तियात अहमद शाह लगायतले कार्यक्रममा भनाई राखेका थिए । पोखराबाट जेठ २९ गते पश्चिम नेपालका लागि हिंडेको संघको टोली असार दुई गते पोखरा फर्कने छ । यस अघि पाल्पा र बुटवलमा औपचारिक कार्यक्रम गरेको टोलीले सुर्खेत र दाङमा पनि कार्यक्रम संचालन गर्ने छ ।
पाँचथर: मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा घाइते भएका तीन जना कामदारको गएराति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार बेलिब्रिज भाँचिदा घाइते भएका बाराको सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई जिल्ला अस्पतालले थप उपचारका लागि नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगर रेफर गरेको थियो । जाँचका क्रममा नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालका चिकित्सकले गए राति तीनै जनालाई मृत घोषणा गरेको प्रनाउ बुढाथोकीले जानकारी दिए। मृतकका शव सोही अस्पतालमा रहेको उनले बताए । मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय इलामले ७० मिटर लामो मोडूलार बेलिब्रिज निर्माण गरिरहेको थियो । हेंवा खोलाको फिदिम नगरपालिकातर्फको भागमा बेलिब्रिज जडान गरी स्काभेटरको सहायताले ठेलेर खोला पारिपट्टि हिलिहाङ गाउँपालिकातर्फ टेकाइएको थियो । फिदिमतर्फको भागको भार अत्यधिक हुँदा बेलिब्रिज भाँचिएको प्रत्यक्षदर्शीको भनाइ छ । बेलिब्रिज भाँचिदा जडानको काम गरिरहेको छ जना कामदार बेलिब्रिजसँगै खोलामा झरेर घाइते भएका थिए । २०८० असार २ गते आएको बाढीले यहाँ रहेको ४५ मिटर लामो सडक पुल बगाएपछि सोही वर्षको साउनमा सोही स्थानमा करिब ५० मिटर लामो बेलिब्रिज जडान गरिएको थियो । तर सो बेलिब्रिज गत असोज १२ गते आएको बाढीले बगाएपछि करिब ९० मिटरमुनि नयाँ बेलिब्रिज निर्माण गरिरहेकामा कार्य सम्पन्न हुन लाग्दा भाँचिएको जनाइएको छ । उक्त बेलिब्रिज भारत सरकारले अनुदानमा उपलब्ध गराएको थियो भने संरचना निर्माण तथा जडान तीन करोड ४९ लाख रुपैयाँको लागतमा सुपर सौगात लाइट बिल्डर्स जेभीले गरिरहेको थियो ।
काठमाडौं: मुलुकका सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट सार्वजनिक गर्दै छन् । प्रदेश सरकारले हरेक वर्ष असार १ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । केन्द्र सरकारले जेठ १५ गते नै बजेट सार्वजनिक गरिसकेको छ भने स्थानीय सरकारले असार १० गते बजेट सार्वजनिक गर्ने छन् । कोशी प्रदेशले ३५ देखि ४० अर्ब हाराहारीको बजेट सार्वजनिक गर्ते तयारी गरेको छ भने मधेश प्रदेशले ४५ अर्ब बराबरको बजेट ल्याउन लागेको छ । यस्तै, बाग्मती प्रदेश सरकारले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा ६८ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । यसैगरी, गण्डकी प्रदेशले ३२ अर्बको बजेट ल्याउने तयारी गर्दा लुम्बिनी प्रदेशले चालू आर्थिक वर्षको भन्दा केही सानो बजेट ल्याउने स्रोतले जनाएको छ । लुम्बिनी सरकारले चालू आर्थिक वर्षमा झण्डै ३९ अर्बको बजेट ल्याएको थियो । कर्णाली प्रदेशले ३१ अर्बको सेरोफेरोमा बजेटको तयारी गरिरहँदा सुदूरपश्चिम प्रदेशले चालु आर्थिक वर्षकै आसपासमा ३१ अर्बको बजेट ल्याउन लागेको छ ।
मोरङ: मोरङस्थित पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइका दुर्घटनामा परी प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ । बेलबारी नगरपालिका–४ भई प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरीको मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मोहन विक्रम दाहालले जानकारी दिए । पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका–७ डाँसमोरङ्गी पुल नजिकैको डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । शनिबार साँझ पथरीबाट कानेपोखरीतर्फ जाँदै गरेको प्र१–०२–०४३प २४७१ नम्बरको मोटरसाइकलमा चौधरी श्रीमती र छोरीसहित घर फर्कने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा चौधरीकी श्रीमती विमला धिमाल र दुई वर्षीया छोरी जेसन घाइते भएका छन् । विमलाको कान र खुट्टामा चोट लागेको छभने छोरीको टाउकोमा चोट लागेको छ । उनीहरू दुवैको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको छ । विमला जितेन्द्रसँगै प्रहरी चौकी जमुनामा कार्यरत प्रहरी जवान हुन् । मोटरसाइकल तीव्रगतिका कारण दुर्घटना भएको हो । यस क्षेत्रमा काकडभिट्टा–लौकही सडक निर्माण क्रममा छ । पूर्वपश्चिम महेन्द्र राजमार्गमा धेरै डाइभर्सन असुरक्षित भएका कारण दुर्घटना बढ्दै गएको छ ।
काठमाडौं: हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।