पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गणतन्त्र र संघीयताको अभ्यासलाई जीवन्त, प्रभावकारी र जनतामुखी बनाउनुपर्नेमा जोड दिनुभएको छ । गण्डकी प्रदेश सरकारले आयोजना गरेको गणतन्त्र दिवस समारोहका प्रमुख अतिथि भट्टले संविधानबाट प्राप्त अधिकार जनताको सेवा र हितमा हुनुपर्नेमा पनि जोड दिनुभयो । ‘संविधानले संघ, प्रदेश र स्थानीय तहलाई आ–आफ्ना अधिकार र जिम्मेवारी दिएको छ । ती अधिकारको प्रयोग जनताको सेवा र हितमा हुनुपर्छ ।’ उहाँले भन्नुभयो – ‘अधिकारको प्रयोग समन्वयात्मक, पारदर्शी र उत्तरदायी ढंगले गरेमात्रै संघीयताको सफल कार्यान्वयन हुनेछ ।’ स्थानीय सरकारले सेवा नजिक पु¥याएको र प्रदेश सरकारले क्षेत्रीय सन्तुलन र नीतिगत सहजीकरणमा योगदान पु¥याइरहेको उल्लेख गर्दै उहाँले पछिल्ला वर्षहरूमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण, महिला सशक्तिकरण, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा सकारात्मक परिवर्तनको अनुभूति गर्न थालेको उल्लेख गर्नुभयो । उहाँले थप्नुभयो – ‘अझै पनि स्रोत साधनको सीमितता, जनशक्ति व्यवस्थापनको चुनौती, नीति र कार्यान्वयनबीचको दूरीजस्ता केही अप्ठ्याराहरू छन्, जसलाई समाधान गर्नु हामी सबैको साझा दायित्व हो । त्यसैले हामी सबैले संविधानमा उल्लेखित भावना र मूल्यमान्यताको रक्षा गर्दै, सहकार्य, समन्वय र साझा उत्तरदायित्वका साथ अघि बढ्नुपर्नेछ ।’
काठमाडौं: सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उक्त आकारको बजेट ल्याएका हुन् । यो चालु आवको तुलनामा ५.५८ प्रतिशतले धेरै हो । यो संशोधित बजेट भन्दा १८.२ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको थियो । सरकारले चालु बजेट ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन गरेको छ । यो कुल विनियोजनको ६०.१ प्रतिशत हो । पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड विनियोजन भएको छ । यो कुल बजेटको २०.८ प्रतिशत हो । वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड विनियोजन भएको छ । यो कुल बजेटको १९.१ प्रतिशत हो । आगामी आर्थिक वर्ष सरकारले प्रदेश र स्थानीय तहमा ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ हस्तान्तरण गर्दैछ । चालु आर्थिक वर्षमा ४ खर्ब ८ अर्ब २७ करोड रुपैयाँ हस्तान्तरण भएको थियो । खर्च बेहोर्ने स्रोततर्फ आगामी वर्ष राजस्वबाट सरकारले १३ खर्ब १५ अर्ब रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको छ । यस वर्ष राजस्व १२ खर्ब ४८ अर्ब ६२ करोड सङ्कलनको लक्ष्य राखेको थियो । आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब सङ्कलन गर्ने लक्ष्य रहेको छ । वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड जुटाउने अर्थमन्त्री पौडेलले जानकारी दिए ।
काठमाडौं: सरकारले निजमतीसहितका कर्मचारीको तलब बढाएन । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै महंगी भत्ता मात्रै बढाउने घोषणा गरेका हुन् । अर्थमन्त्री पौडेलले स्रोत अवभाका कारण तलब बढाउन नसकिएकोले मासिक महंगी भत्ता ५ हजार रुपैयाँले बढाएको जानकारी दिए । उक्त बढेको महंगी भत्ता आगामी साउनदेखि मात्रै लागू हुने पनि अर्थमन्त्री पौडेलेले संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बक्तव्यमार्फत घोषणा गरे ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा आज भएको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले आगामी तीन आर्थिक वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकले अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २२ (१) बमोजिम आर्थिक वर्ष २०८२/०८३–२०८४/०८५ त्रिवर्षीय मध्यमकालीन संरचनाको वार्षिक विकास कार्यक्रम स्वीकृत गरेको हो । सोही खर्च संरचनाभित्र आगामी आर्थिक वर्ष २०८२/०८३ वार्षिक आय र व्ययको विवरण समाहित हुनेछ । बैठकले बजेट तर्जुमा प्रक्रियालाई थप व्यवस्थित बनाउन आगामी आर्थिक वर्षदेखि राष्ट्रिय स्रोत अनुमान समितिबाट निर्धारित स्रोत अनुमान तथा सीमाको आधारमा आय र व्ययको अनुमान तयार हुनु अगावै अन्तिम रुप दिइ अर्थ मन्त्रालयमा पठाउन आवश्यक तयारी गर्ने निर्णय पनि गरेको छ । आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले आगामी तीन आर्थिक वर्षको स्रोत अनुमान तथा प्रक्षेपण, आयोजनाको विश्लेषण र प्राथमिकीकरणसहितको प्रस्तुति गर्दै आर्थिक अनुशासनसहितको विकासमा जोड दिन सबै मन्त्रालयलाई बुझाउने कााम भइरहेको जानकारी गराउनुभयो ।
काठमाडौं: चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.६१ पुग्ने अनुमान सरकारले गरे छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्मा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशतले हुने अनुमान गरिएको बताएका हुन् । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने पनि उनले जानकारी दिए । जसमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत योगदान रहने पौडेलले उल्लेख गरे । चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय १५१७ अमेरिकी डलर पुगेकोसमेत पौडेलले प्रतिनिधिसभाको बैठकमा जानकारी दिएका छन् ।
वीरगञ्ज: गणतन्त्र दिवसका अवसरमा कारागार कार्यालय वीरगञ्जमा सेवारत तीन सशस्त्र प्रहरीसहित १४० जना कैदी बन्दी तथा थुनुवाले रक्तदान गरेका छन् । वीरगञ्जमा रगतको अभावलाई मध्यनजर गरेर आज यहाँ रक्तदान कार्यक्रम गरिएको थियो । १३४ जना पुरुषकैदी बन्दी, तीन जन महिला कैदी बन्दी र तीन जना सशस्त्र प्रहरीले रक्तदान गरेका हुन् । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कैदी जीवन बिताइरहेका कैदीबन्दीले रक्तदान गरेर सह्रानीय काम गरेको बताए ।‘ ‘विभिन्न कारणले कैदी जीवन बिताइरहेका कैदीले अन्य मान्छेको जीवन जोगाउनको लागि रक्तदान गरेर महत्त्वपूर्ण कार्य गर्नुभएको छ,’ उनले भने, ‘कैदी जीवन बिताइरहेकाहरूलाई रचनात्मक र सिर्जनात्मक भएर अघि बढ्नका लागि अनुरोध गर्दछु ।’ कार्यक्रम संयोजक दिलीपराज कार्कीले कुनै विषम परिस्थितिमा कसुर गरेर सजाय भुक्तान गरिरहेका कैदीबन्दीले अन्य मानिसको जीवन जोगाउनको लागि रक्तदान गरेर सह्रानीय काम गरेको बताए । ‘वीरगञ्जमा रगतको चर्को अभाव भएको महसुस गरेर नै रक्तदान कार्यक्रम गरेका हौँ,’ उनले भने, ‘रगतको अभावमा छट्पटिरहेकाहरुका लागि यो कार्यक्रमले विशेष अर्थ राख्नेछ ।’ कारागार कार्यालय वीरगञ्जका निमित्त प्रमुख रूपक मण्डलले कारागारमा थुनुवा तथा कैदी बन्दी गरेर करिब एक हजार ३००को हाराहारीमा रहेको जानकारी दिए ।
काठमाडौं: मन्त्रिपरिषदको बैठक बस्दै छ । बैठक दिउँसो पौने २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने छ । बैठकले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज प्रस्तुत हुने आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) स्वीकृत गर्नेछ । सङ्घीय संसदमा दिउँसो ३ बजे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
बागलुङ: गर्मी बढेसँगै बागलुङ नगरपालिका–१ राखरेखास्थित बिपी भ्यू पोइन्टमा आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । भिरालो जग्गामा रु ५१ लाख लगानी पश्चात सुन्दर पार्क र भ्यू पोइन्ट निर्माण गरेपछि आन्तरिक पर्यटक गर्मी छल्न यहाँ आउने गरेका हुन् । मध्यपहाडी लोकमार्ग नजिकै रहेकाले पनि यो गन्तव्य पर्यटकको रोजाइमा परेको हो । बागलुङ बजारको छेउमा रहेकाले साँझको समयमा बाटिकामा रमाउने र भ्यू पोइन्ट अवलोकन गर्न आउनेको भीड लाग्ने गरेको बिपी पार्क निर्माण समितिका अध्यक्ष महेन्द्र आचार्यले जानकारी दिनुभयो । बजारको कोलाहल बिर्साउन पर्यटक आउने गरेको अधिकांशको भनाइ छ । पार्कमा फुलेका फूलले पर्यटकलाई मोहित बनाउने गरेको यहाँ घुम्न आउनुभएका आन्तरिक पर्यटक सन्तोष रानाले बताउनुभयो । पार्कमा दूबो रोपिएको छभने सजावटका लागि फूल रोप्नुका साथै बस्नका लागि बिसौनी, चौतारा, मन्दिर तथा शौचालय निर्माण गरिएको छ । भ्यू पोइन्टबाट कालीगण्डकी नदी, निरयघाट र पर्वत जिल्लाको विभिन्न स्थान अवलोकन गर्न सकिन्छ । “झाडीले भरिएको अव्यवस्थित खोँच अहिले पर्यटकीय गन्तव्य बनेको छ, गर्मीयाममा साँझपख पार्कमा मानिसको भीड नै लाग्ने रहेछ”, रानाले भन्नुभयो “पार्कमा मुस्ताङ र ढोरपाटन पुगेका पर्यटकसमेत यहाँ आएको भेटेँ ।” पार्कको पूर्वाधार निर्माणमा हालसम्म रु ५१ लाख ७६ हजार खर्च भइसकेको बिपी उद्यान समितिका अध्यक्ष आचार्यले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा बागलुङ नगरपालिकाद्वारा रु पाँच लाख बजेटमा भ्यू पोइन्ट थप व्यवस्थित गरिएको छ । रामरेखामा मध्यपहाडी लोकमार्गसँगै सहिदपार्क, मदन आश्रितपार्क, बिपी पार्क, मनिलाल भ्यू पोइन्ट र डिबी पार्क गरी पाँच वटा पार्क रहेका छन् ।
काठमाडौं: हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा आज राति भारी वर्षा हुने प्रक्षेपण गरिएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने छ ।