काठमाडौं: सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गानौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ । नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान १०ः३० बजेदेखि अपाह्न ३ः०० बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा उक्त निर्णय भएको जानकारी दिनुभयो । आयोजनाले नागढुङ्गा–पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको बताएको छ । नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले काठमाडौंबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाडौँ आउने सवारीसाधन खानीखोलामा रोकिने जनाएको छ । प्रहरीले विकल्पमा धार्केसितापाइला तथा टोखाछहरेत्रिशूलीगल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ ।
काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेस र बागमती प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहको छ । बागमती प्रदेशका थोरै स्थान तथा कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो सातै प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हिमाली क्षेत्रको एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । सातै प्रदेशको एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५१ मिनेटमा हुनेछ ।
काठमाडौं: लामो समयदेखि कम्बोडियामा अलपत्र दुई नेपाली नागरिकलाई नेपाली राजदूतावास थाइल्याण्डले उद्धार गरी स्वदेश फर्काएको छ। शुक्रबार स्वदेश फर्कनेमा एक महिला र एक पुरुष छन्। सरकारले तोकेको मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्वोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायतका देशमा वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले सम्बन्धित सबैमा पुनःअनुरोध गरेको छ। दूतावासले आमसञ्चारमाध्यम तथा नागरिक समाजलाई समेत यो सन्देश प्रवाह गरी सहयोग गरिदिन आग्रह गरेको छ।
काठमाडौं: नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघले नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेको छ । महासंघका अध्यक्ष किसान सुनारसहितकाे पदाधिकारी टोलीले बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको कार्यलयमा पुगेर डा. पौडेललाई बधाई एवं शुभकामना ज्ञापन गरेको हो । साेही अवसरमा सुनचाँदी तथा आभूषण व्यवसायसँग सम्बन्धित आवश्यक कानुनी तथा नीतिगत आधार समेटिएको “आभूषण व्यवसायमा कानुनी व्यवस्था” शीर्षक पुस्तक अध्यक्ष सुनारले गभर्नरलाई हस्तान्तरण गरे । मुलुकको आर्थिक र वित्तीय प्रणालीलाई चलायमान बनाउन तथा सुनचाँदी व्यवसायीको समस्यालाई आफ्नो क्षेत्रबाट समाधान दिन पहल गर्नेमा नवनियुक्त गभर्नर डा. पौडेलको भूमिका महत्वपुर्ण हुने अध्यक्ष सुनारले विश्वास व्यक्त गरेका थिए ।
जनकपुरधाम: गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशअन्तर्गत नेपाल र भारतीय सीमा क्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न यहाँका सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । नेपाल सरकार गृह मन्त्रालय र मधेश प्रदेशको विभागीय मन्त्रालयद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले खुल्ला सिमाना रहेकाले सुरक्षाको सवालमा उच्च सतर्कता अपनाउन निर्देशन दिनुभयो । गृहमन्त्री लेखकले प्रदेशको शान्तिसुरक्षाको जिम्मेवारी बोकेका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलगायत सुरक्षा निकायले देशको बदलिँदो परिस्थितिअनुसार इमान्दारिताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो । “ देशमा हाल लागुऔषध, सडक दुर्घटना, आत्महत्या तथा साइबर क्राइमलगायतका सामाजिक विकृतिका गम्भीर समस्या बढ्दै छन् । मधेश प्रदेशका सबै जिल्ला भारतीय सीमासँग जोडिएकाले पनि यहाँ थप सतर्कता अपनाउन आवश्यक छ । उल्लेखित समस्यालाई के कसरी रोकथाम गर्न सकिन्छ, त्यसतर्फ पनि सुरक्षा निकायले गम्भीरतापूर्वक लाग्नुपर्ने जरूरी छ”, उहाँले भन्नुभयो । गृहमन्त्री लेखकले राष्ट्रसेवक कर्मचारीहरूले कानुनविपरीत आर्थिक लोभ र लाभमा नपरी इमान्दारी एवं निष्पक्ष भई छिटो, सरल र सहज तरिकाले सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारलाई शान्तिसुरक्षाका काम गर्न समस्या भएको गुनासो गर्नुभयो । उहाँले प्रदेशअन्तर्गत रहेका सुरक्षा निकायलाई आफ्नो सीमित साधनस्रोतका बाबजुद सक्दो सहयोग गरिरहेको भन्दै तत्काल प्रहरी समायोजनको काम अगाडि बढाउन आग्रह गर्नुभयो । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले छिमेकी देशमा बलिरहेको द्वन्द्व र असमझदारीले नेपालको सीमाक्षेत्रमा सुरक्षा चुनौती थपिँदै जाने अवस्थातर्फ सतर्क तथा सचेत रहन सुरक्षा निकायलाई आग्रह गर्नुभयो । गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश तथा जिल्ला प्रमुख, आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायतको सहभागिता रहेको छ ।
संखुवासभा: दाहसंस्कार गर्न लगिएकी एक बालिकाको शवलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले नियन्त्रणमा लिएको छ । प्रहरीले भोटखोला गाउँपालिका–४ सिप्प्रङ की ६ बर्षीया बालिका एम्बुलेन्समार्फत घरतर्फ लग्दै गरेको शव बाटोमै नियन्त्रणमा लिएको हो । बिहीबार बिहान करिब ७ बजे खाँदबारी–३ गुरुङचोकबाट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतको टोलीले एम्बुलेन्ससहित गोपाल तामाङकी ६ बर्षीया छोरी युनिका तामाङको शव नियन्त्रणमा लिएको हो । बैशाख ३० गते घरासयी विवादका क्रममा जेठाजु गोपाल तामाङ र भाईबुहारी कल्पना (गुरुङ) तामाङ बीच झै–झगडा भएको थियो । झै–झगडाका क्रममा भाईबुहारी कल्पनाले भजिती छोरी युनिकालाई धकेल्दा डिलबाट लडेर गम्भीर घाईते भएकी थिइन् । गम्भीर घाइते युनिकाको जिल्ला अस्पताल संखुवासभामा उपचार हुन नसकेपछि थप उपचारका लागि नोबेल अस्पताल बिराटनगर लगिएको थियो । प्रहरीका अनुसार युनिकाको नोबेल अस्पतलमा उपचारका क्रममा जेठ ७ गते बुधबार मृत्यु भएको हो । नियन्त्रणमा लिएको शव जिल्ला अस्पताल संखुवासभाको शवगृहमा राखिएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । प्रहरीले गोपालकी भाईबुहारी कल्पनालाई भोटखोला–४ सिप्प्रङबाट पक्राउ गरेर सदरमुकाम खाँदबारी ल्याउँदै गरेको जनाएको छ । घटनाको बारेमा मृतकका बुबा गोपाललाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
चितवन: चितवनको खैरहनिमा गएराती दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उदयपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्वरको बस र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ११५७ नम्वरको कार एक आपसमा ठाक्कर खाँदा दुर्घटना भएको चितवन प्रहरीले बताएको छ । आज बिहान १ः४५ बजेको समयमा पूर्वपश्चिम राजमार्गको खैरहनी नगरपालिका २ ज्यामिरे चोकमा भएको दुर्घटनामा कार चालक खैहरनी नगरपालिका ८ बस्ने ४२ वर्षिय प्रदिप तिमिल्सिनाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका तिमिल्सिनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । बस र बसका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
बैतडी: बैतडी सदरमुकाम भएर भूकम्प भएको छ । सुर्खेतिस्थित भूूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ः४८ बजे पाँच दशमलव एक र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो । लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताउनुभयो । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी छ ।
पोखरा: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुखसमक्ष छैटौं वार्षिक प्रतिवेदन पेश गरेको छ। बिहीबार आयोगका कार्यबाहक अध्यक्ष जुद्ध बहादुर गुरूङ नेतृत्वको टोलीले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रतिवेदन पेश गरेको हो । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख भट्ट समक्ष गुुरूङले प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । प्रदेश प्रमुख भट्टले नेपाल सानो क्षेत्रफलमा पर्याप्त प्राकृतिक श्रोत भएको देश भएपनि यसको उपयोगिताका सन्दर्भमा उचित नीति र योजना नहुँदा उपभोग गरी लाभ लिन नसकिएको उल्लेख गर्नुभयो । ‘मुलुकमा वित्तीय संघीयता लागू गर्ने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोग आर्थिक पाटोतर्फ मेरुदण्ड पनि हो । वित्तीय आयोग वास्तवमा देशका बौद्धिक वर्गहरु पूर्वप्रशासक, अर्थशास्त्री, वित्तसँग राम्रो अनुभव भएका व्यक्ति, प्राकृतिक स्रोतसाधनलाई कसरी परिचालन गर्न सकिन्छ भन्ने ज्ञान भएका भएका विज्ञ सम्मिलित आयोग हो ।’ – भट्टले भन्नुभयो । प्रदेश प्रमुख भट्टले ६ वर्ष कार्यकाल रहने आयोगका पदाधिकारीहरू कुनै दवाव, प्रभाव र राजनीतिक बाधा अड्चनमा नअल्झिकन जिम्मेवारी पूरा गर्नुपर्ने खाँचो औंल्याउनुभयो । ‘सबै आयोगहरुका प्रतिवेदन बुझ्दा, अध्ययन गर्दा समस्याहरू, कमीकमजोरीहरू औंल्याएको पाएको छु । त्यसलाई सुधारका लागि प्रयास, सरोकारवालामाथि दबाब जति हुनुपर्ने हो नभएको हो किरु भन्ने लाग्दछ ।’ उहाँले भन्नुभयो । आयोगका कार्यवाहक अध्यक्ष गुरुङले आर्थिक वर्ष २०८१÷०८२ का लागि संघीय सञ्चित कोषबाट गण्डकी प्रदेश सरकारलाई ७ अर्ब ६३ करोड र प्रदेश भित्रका स्थानीय सरकारलाई ८ अर्ब ९९ करोड वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस गरिएकोमा नेपाल सरकारले सोहि बमोजिम बजेट विनियोजन गरेको बताउनुभयो । यस्तै, प्रदेश भित्रका स्थानीय सरकारलाई प्रदेश सरकारतर्फबाट १ अर्ब १६करोड वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्न सिफारिस गरिएको पनि उल्लेख गर्नुभयो । यद्यपी, नेपाल सरकारले सिफारिस बमोजिम बजेट विनियोजन गरेपनि प्रदेश तथा स्थानीय तहलाई महालेखा नियन्त्रक कार्यालयले पूरै रकम हस्तान्तरण नगरेको गुरूङले बताउनुभयो । आर्थिक वर्ष ०८१÷८२ मा गण्डकी सरकारले पेश गरेको वार्षिक बजेटमा १ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेपनि त्यसअघिको आर्थिक वर्षमा ऋण उठाउनका लागि परिचालन गरेको नदेखिएकाले आयोगले आशंका व्यक्त गरेको छ । आयोगलाई संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तह तथा प्रदेश सञ्चित कोषबाट स्थानीय तहलाई उपलब्ध गराइने वित्तीय समानीकरण अनुदान रकमको लागि नेपाल सरकार र प्रदेश सरकारलाई सिफारिस गर्ने अधिकार छ । संघीय सञ्चित कोषबाट संघ, प्रदेश र स्थानीय तहबीच राजस्व बाँडफाँड गर्ने, मानक र पूर्वाधारको आधारमा प्रदेश र स्थानीय तह सशर्त अनुदानको आधार तय गर्ने, प्रदेश सञ्चित कोषबाट प्रदेश सरकार र स्थानीय तहबीच राजस्व बाँडफाँड गर्ने, संघ, प्रदेश र स्थानीय तहले लिन सक्ने आन्तरिक ऋणको सीमा सिफारिस गर्ने, प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी बाँडफाँडको हिस्सा निर्धारणको आधार तय गरी सिफारिस गर्ने जस्ता अधिकार पनि आयोगलाई छ।