काठमाडौं: राजधानी भित्रिने सडकमार्गको मुख्य नाका नागढुङ्गा-नौबिसे सडकखण्ड दिउँसो साढे चार घण्टा बन्द हुने भएको छ। निर्माण कार्यका लागि सडक बन्द गर्न लागिएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिए। यसअघि उक्त खण्डमा रातिमा बन्द गरेर काम हुँदै आएको थियो। आयोजनाले नागढुङ्गा–पिपलामोड सडक निर्माणका लागि यसरी सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा यसरी काम गर्नका लागि अनुमति भएको उनले जानकारी दिए। “निर्माण आयोजनाले नागढुङ्गा पिपलामोड सडक निर्माणका लागि यसअघि राति भत्काउने काम भएको र अब निर्माण दिउँसो गर्नुपर्ने भनेर प्रस्ताव आएको थियो। प्राविधिक रुपमा निर्माण दिउँसो नै गर्नुपर्ने भनेपछि, त्यसका लागि अनुमति दिइएको हो”, प्रजिअ तिवारीले भने। नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले आज सूचना गरी काठमाडौंबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने उल्लेख गरेको छ। बन्दको समयमा धार्के–सितापाइला तथा टोखा-छहरे त्रिशूली गल्छी सडक प्रयोग गर्न अनुरोध गरिएको छ।
काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चारकर्मीलाई जानकारी दिए । बैठकपछि सञ्चारकर्मीसँग उनले भने,“माननीय उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको सिफारिस समितिको सिफारिसका आधारमा तीन जनामध्येबाट डा. विश्वनाथ पौडेललाई गर्भर नियुक्त गर्ने निर्णय भएको छ ।” उनले सिफारिस समितिले डा. विश्वनाथ पौडेल, राष्ट्र बैङ्कका कायममुकायम गभर्नर निलम ढुङ्गाना र पूर्वसचिव डा. दिनेश भट्टराईसहित तीन जनाको नाम सिफारिस गरेकामा डा. पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरिएको बताए ।
मकवानपुर: मकवानपुरको भीमफेदी गाउँपालिकामा ब्रेक फेल भइ विङ्गर गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । मङ्गलबार दिउँसो चित्लाङबाट बाराको लालबन्दी आउँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ को गाडी सडकदेखि करिब २० मिटर तल खसेर भीमफेदी गाउँपालिकास्थित त्रिभुवन राजपथ सडक खण्डको छैसठी मोडमा दुर्घटनामा परेको हो । गाडी रुखमा अड्किएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भैंसे र सिमभञ्ज्याङ्गबाट खटिएको २५ जना प्रहरी टोलीले घाइतेको उद्धार गरी हेटौंडा अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । गाडीमा सवार १४ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ
पोखरा: पोखरा महानगरपालिका–८ चिप्लेढुङ्गा निभागल्लीस्थित फुड लभर क्याफे एण्ड रेस्टुरेन्टमा गएराति आगलागी भएको छ । निभागल्लीस्थित फुड लभर क्याफे एण्ड रेस्टुरेन्टमा गएराति आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक हरीबहादुर बस्नेतले जानकारी दिए । ‘ पोखरा महानगरपालिका–८ चिप्लेढुङ्गास्थित रवि तिमिल्सिनाले २ तले घरमा सञ्चालन गरेको फुड लभर क्याफे एण्ड रेस्टुरेन्टमा गएराति आगलागी भएको हो’, प्रनाउ बस्नेतले भने, ‘आगलागी भएको सूचनापछि प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लियौ, प्रारम्भिक अनुसन्धानमा विद्युत सर्ट भएर आगलागी भएको देखिएको छ, आगलागीबाट केकति क्षति भयो मुजुल्का गर्दै छौं ।’
काठमाडौं: विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने संसारका आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन ‘एभरेष्ट समिटर समिट’ नेपालमा हुने भएको छ । विश्वभरका पर्वतारोहीलाई एकै थलोमा जम्मा गरेर उनीहरूको अनुभव आदानप्रदान गर्ने, साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एभरेष्ट एलाइन्स नेपालले यही जेठ १३ गते सम्मेलन आयोजना गर्न लागेको हो । नेपालले पहिलोपटक ‘एभरेष्ट समिटर समिट’ काठमाडौँमा आयोजना गर्न लागेको एभरेष्ट एलाइन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा भाग लिन हालसम्म १६ देशका एक सय ७७ आरोहीले नाम दर्ता गराइसकेका छन् । सम्मेलनमा सगरमाथाको सफल आरोहण गरेका विश्वभरका पाँच सय आरोहीको सहभागिता रहने आयोजकले जनाएको छ । सम्मेलनमा भारत र चीनसँगै संयुक्त राज्य अमेरिका, बेलायत, इटली, स्वीट्जरल्याण्ड, नर्वे, इरान, सिङ्गापुर, अष्ट्रेलिया, लेवनान, मोरक्को, युएईलगायत मुलुकका आरोहीहरूले सहभागिता जनाउनेछन् । “सम्मेलनमा ७१ वर्षअघिदेखिका सगरमाथा आरोहीको सहभागिता रहनेछ । कीर्तिमानी आरोहीको अनुभव आदनप्रदान हुनेछ । फरक क्षमता भएका कीर्तिमानी आरोहीको प्रस्तुति रहनेछ”, अध्यक्ष नेपालले भन्नुभयो । उहाँका अनुसार सगरमाथा आरोहणको सात दशक लामो इतिहासमा पहिलोपटक हुन लागेको सम्मेलनमा पहिलोपटक सर एडमन्ड हिलारीसँग सगरमाथा आरोहण गरेका कान्छा शेर्पालाई सम्मान गरिनेछ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको प्रभावका बारेमा बृहत् छलफल हुने अध्यक्ष नेपालले जानकारी दिनुभयो । हिमाल आरोहीका समस्या र आरोहणका क्रममा भएका खुसीको आदानप्रदान हुनेछन् । प्रकृतिका लागि विश्वव्यापी कोष (डब्लुडब्लुएफ), अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ(आइयुसिएन), समृद्ध पहाडलगायत विभिन्न सङ्घसंस्थाको सहभागितामा हिमालका समस्याका बारेमा आरोहीसँग समूहगत छलफल गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । पर्यटन व्यवसायीको छाता संस्थाहरू नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्ट), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण सङ्घ, होटल सङ्घ नेपाललगायत संस्थाको समन्वय र सहकार्य रहेको अध्यक्ष नेपालले जानकारी दिनुभयो । सम्मेलनले नेपाल भ्रमण गर्न आउने तथा बढी खर्च गर्ने पर्यटकलाई हौसला प्रदान गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने पर्यटन व्यवसायीको विश्वास छ । नाट्टाका पूर्वअध्यक्ष अच्युत गुरागाईंले नेपालको पर्यटनमा महत्त्वपूर्ण इभेन्टका रूपमा आयोजना हुने यस समिटर सम्मेलन साहसिक पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कास्की: निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा खण्डमा पर्ने हरिचोकबाट–याम्दी पुलसम्मको सडक स्तरोन्नति जारी रहेको छ । यस खण्डको चार लेन सडकको अहिले कालोपत्रको काम भइरहेको छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका अनुसार गत वैशाख दोस्रो सातादेखि यस सडकमा ‘अस्फाल्ट’ प्रविधिबाट सडक पिच गर्ने काम जारी रहेको छ । हालसम्म हरिचोकबाट जौवारी चेकपोष्टसम्म एकतर्फी कालोपत्र सकिएको छ । मध्यपहाडी राजमार्ग आयोजना कार्यालयका सूचना अधिकारी किरण सुवेदीले झण्डै डेढ किमी सडक एकतर्फी कालोपत्र सकिएको जानकारी दिए । उनले भने, ‘हरिचोक–याम्दी खण्डमा अहिले एकतर्फी कालोपत्र भइरहेको छ । चालु आर्थिक वर्षभित्रमा दुवै खण्डमा काम सम्पन्न गर्ने योजनामा छौँ ।’ हरिचोक–याम्दी सडक १८ मिटर फराकिलो हुने छ । त्यसैगरी नालासहित २१ मिटर रहेको आयोजनाले जनाएको छ । यस खण्डमा अस्फाल्ट कालोपत्र १५ सेमी बाक्लो हुने छ । लामो समयसम्म यस सडकको काम सुस्त हुँदा राजमार्गमा यात्रा गर्ने यात्रीले सास्ती पाएका थिए । दुई किमी २०० मिटर लामो सडक निर्माणमा ढिलाइ हुँदा हिउँदमा धुलो र बर्खायाममा हिलोको समस्याले यात्रा कष्टकर हुने गरेको थियो । सडक निर्माण सुस्त भएपछि स्थानीयले सडकमै उत्रिएर काम छिटो गर्न दबाब दिएका थिए । पोखरा हरिचोकका भानुभक्त अधिकारीले ढिलै भए पनि कालोपत्रको काम सुरु भएकामा खुसी व्यक्त गरे । लामो समयसम्म सडक नबन्दा आफूहरूले धेरै सास्ती पाएकामा अब सजिलो हुने उनको विश्वास छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले दुई वर्षमा सक्नेगरी २०७९ साल साउनमा काठमाडौंको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिसँग मूल्यअभिवृद्धि करसहित ४८ करोड लागतमा सडक स्तरोन्नतिको सम्झौता गरेको थियो । साविकको पोखरा–बाग्लुङ राजमार्गमा पर्ने यस सडक हुँदै पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुमपूर्वलगायत जिल्लाबाट दैनिक सयौँ सार्वजनिक तथा निजी सवारीका साधन पोखरा आवतजावत गर्ने गर्छन् ।
काठमाडौं: संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद– ९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन– १०८१’ पेस गर्ने छन् । बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक– २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
काठमाडौं: हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च–पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेसलगायत कोशी प्रदेशका तराई भागका केही स्थानमा हुरीबतासको समेत सम्भावना छ । त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पोखरा: नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । महासंघको वार्षिक साधारण सभा आइतबार काठमाडौंमा सम्पन्न भएको हो । साधारण सभाका अवसरमा सुनचाँदी रत्न तथा आभुषण व्यवसायमा आवश्यक पर्ने कानूनी तथा नीतिगत आधार समेटिएको ‘आभुषण व्यवसायमा कानूनी व्यवस्था’ नामक पुस्तक समेत लोकार्पण गरिएको थियो । महासंघले साधारण सभाको अवसरमा ११ बुँदे घोषणा पत्र जारी गर्दै, ‘निर्देशिकाको अभावमा गरगहना व्यवसाय थप अन्योलग्रस्त बन्दै गएकोले सुनचाँदी गरगहनाको उत्पादन,कारोवार तथा नियमन मापदण्ड सहितको निर्देशिका अविलम्व जारी गर्न नेपाल सरकार समक्ष पुनः जोददार आग्रह गर्ने माग गरेको छ । यस्तै आन्तरिक एवम् अन्तर्राष्ट्रिय बजारमा स्वच्छ प्रतिस्पर्धात्मक वातावरणको विकास गर्नको लागि प्रतिस्पर्धा ऐनको प्रभावकारी कार्यान्वयन र उपभोक्ता संरक्षण ऐनमा समसामयिक सुधार गर्न नेपाल सरकार समक्ष माग गर्ने निर्णय गरेको छ । स्वदेशमा सुन, चाँदी, पत्थरका गरगहना निर्यात गर्ने उद्योग व्यवसाय प्रवद्र्धन गरी युवाहरूको लागि रोजगारी वृद्धि गर्दै परम्परागत सीप एवं कला, कौशललाई संरक्षण तथा दक्ष कालिगढहरू तयार गर्न नेपाल सरकारको सहयोगमा सीप विकास स्कूल महासंघले खोल्ने घोषणा गरिएको छ । नेपालको भूगर्भमा रहेका रत्न तथा पत्थरहरुको उत्खनन् र प्रशोधन क्षेत्रमा लगानी प्रवद्र्धन गर्न सरकार र महासंघको संयुक्त पहलमा कार्ययोजना बनाई लागू गर्न नेपाल सरकार समक्ष आग्रह समेत गर्ने जनाइएको छ । महासंघले सुनचाँदी आयात तथा विक्री वितरण कार्यविधि– २०६८ संशोधन गरी व्यवहारिक, व्यवसायी मैत्री कार्यविधि जारी गर्न पहल गर्ने । साथै प्रत्येक प्रदेशबाटनै आयातित कच्चा पदार्थको विक्री वितरण कार्य संचालन गरी व्यवसायीहरुले सुपथ, सरल र सहज तरीकाले खरीद गर्न पाउने अवस्था निर्माण गर्ने जनाएको छ । यस्तै गरगहनाको गुणस्तर मापन गर्ने विद्यमान पद्दति त्रुटीपूर्ण रहेकोले यस्तो संयन्त्रबाट परिक्षण गरिएको आधारमा व्यवसायीहरुलाई कानूनी कारबाही गर्नु अन्यायपूर्ण भएकोले संपूर्ण जिल्लाहरुमा गुणस्तर परीक्षण केन्द्र स्थापना गरी आम उपभोक्ता एवं गरगहना व्यवसायीहरुले सर्वसुलभ तरिकाले गुणस्तर परिक्षण गर्न सक्ने गरि गुणस्तरयुक्त आधुनिक मेसिन उपलब्ध गराउन नेपाल सरकार समक्ष माग गर्ने घोषणा गरेको छ । । महासंघले आर्थिक ऐन–२०८१ मा भएको व्यवस्थालाई महासंघले दिएको सुझावलाई कार्यान्वयनको लागि पहल गर्ने र सुनचाँदी गरगहना स्वदेशी उत्पादन तथा निर्यात व्यवसायलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय मेलाहरूमा भाग लिने व्यवस्था गर्न नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै सम्पत्ति शुद्धिकरण(मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४मा अव्यवाहारिक कानुनी व्यवस्थालाई संशोधन प्रस्ताव गरी संशोधनको पहल गर्ने, आभुषण व्यवसायलाई वृहत उद्यमको रुपमा स्थापित गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने घोषणा पत्रमा उल्लेख गरिएको छ । महासंघले व्यवसायी मैत्री कानुन निर्माण तथा अव्यवहारिक कानुन संशोधनका लागी पहल गर्ने । राज्य वाट न्यायोचित माग सम्वोधन नभएमा विभिन्न चरणका आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने जनाएको छ ।