कास्की:  पोखरा महानगरपालिका–११ मणिपाल कालिखोलादेखि काँहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिकाका अनुसार आगामी माघ महिनाभित्रमा यस ...

सोलुखुम्बु:   सोलुखुम्बु सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाडौं सातामा चार दिन नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सले साताको चार दिन उडान गर्न थालेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार अब हरेक सोमबार, बुधबार, शुक्रबार र शनिबार नेपाल एयरलाइन्सको जहाजले उडान भर्नेछ । नेपाल एयरलाइन्सको जहाजमा आएको प्राविधिक खराबीका कारण लामो समयदेखि अवरुद्ध फाप्लु–काठमाडौँ हवाई सेवा पुनःसञ्चालन भएको हो । प्राधिकरण फाप्लुका वरिष्ठ अधिकृत भानुभक्त आचार्यका अनुसार जहाज मर्मत सम्पन्न भएसँगै पुनःउडान सञ्चालन सम्भव भएको हो । यसअघि साताको एक दिन उडान भर्दै आएको जहाज ‘ग्राउण्डेड’ हुँदा लामो समय फाप्लुमा उडान हुन सकेको थिएन । नेपाल एयरलाइन्स फाप्लुका स्टेशन प्रमुख तेन्जी शेर्पाका अनुसार गत पुस महिनादेखि चैत्रसम्म सो मार्गको हवाई सेवा पूर्णरूपमा ठप्प भएको थियो । सल्लेरीका व्यवसायी महेश अधिकारीले भन्नुभयो, “जहाज नियमित आउन थालेपछि काठमाडौँ जानआउन ‘बिपी राजमार्ग’ को कष्टकर सडक यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । तर यो सेवा निरन्तर र भरपर्दो हुनुपर्छ, केवल अस्थायी रूपमा मात्र होइन ।” विगतमा जहाज नचलेको अवस्थाले धेरैको यात्रा, व्यापार, आपत्कालीन उपचार र अत्यावश्यक काममा कठिनाइ भोग्नु परेको थियो । पुनः सुचारु भएको उडानबाट पर्यटकीय जिल्लामा पर्यटन व्यवसायी उत्साहित बनेको ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल ९टान० का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बताउनुभयो ।

काठमाडौं:   डाक्टर सन्दुक रुइतलाई शेर्पा किदुक अमेरिकाले ५० हजार १ डलर सहयोग गरेको छ । किदुकको सदस्यहरूबाट सङ्कलित उक्त रकम एक कार्यक्रम गरी सम्मान सहित रुइतलाई हस्तान्तरण गरेका थिए ।  ‘डा. सन्दुक रुइतले आँखा उपचारको क्षेत्रमा विश्वविख्यात काम गरेको भन्दै किदुकले सम्मान सहित सहयोग गरेको शेर्पा किदुक संरक्षक समितिका संयोजक ल्हाक्पा रिन्जी शेर्पाले बताउनुभयो ।  उता हिमालयन होप नेटवर्क संस्थाद्वारा सङ्कलित ५ हजार ७ अमेरिकी डलर पनि शेर्पा किदुकमार्फत हस्तान्तरण गरिएको थियो । उक्त रकम डा रुइतको कार्यको लागि स्वयंसेवक र कोष सङ्कलनमा आगामी दिनमा अझ सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  डा. रुइतले आफ्नो अमेरिका भ्रमण नेपालको सफल चिकित्सा अनुभव र दृष्टि पुनः स्थापनाको मोडललाई हार्वर्ड, स्ट्यानफोर्ड, ब्राउन, बास्कम पाल्मरजस्ता विश्व स्तरीय संस्थाहरूसँग साझेदारी गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने रहेको बताउनुभयो ।  नेपालमै अत्याधुनिक इन्ट्रकुलर लेन्स उत्पादन गर्ने कारखाना स्थापना गरी विश्वभर निर्यात गर्ने र प्राप्त नाफाबाट आर्थिक रूपले कमजोर समुदायका लागि निःशुल्क आँखा उपचारको दीर्घकालीन योजना अघि बढाउने योजना अघि सारेको समेत उहाँले बताउनुभयो ।  उक्त योजनाका लागि झन्डै ८ मिलियन अमेरिकी डलर आवश्यक पर्ने जानकारी दिनुहुँदै उहाँले हालसम्म ३ मिलियन डलर सङ्कलन भइसकेको र बाकी ५ मिलियन जुटाउन नेपाली समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनु भएको थियो । 

काठमाडौं:  पूर्वसभामुख कृष्णबहादुर महरासँग नाम जोडिएकी संसद् सचिवालयकी पूर्वकर्मचारी रोशनी शाही मृत भेटिएकी छन् । उनी भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गको कोठामै मृत भेटिएकी जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराजले बताए । रोशनी मृत भेटिएको खबर आएपछि अहिले उनको कोठामा प्रहरी पुगेर घटनास्थल जाँच प्रकृति मुचुल्का उठाइरहेको छ । तत्कालीन सभामुख महरालाई रोशनीले काठमाडौंको तीनकुनेस्थित कोठामा बस्दा बलात्कार आरोप लगाएकी थिइन् । संसद् सचिवालयमा कार्यरत रोशनीले २०७६ असोजमा महरामाथि बलात्कार आरोप लगाएकी थिइन् । रोशनीको उक्त आरोपपछि महराको राजनीतिक यात्राले पनि ओरालो बाटो समातेको थियो । उक्त प्रकरणमा २०७६ कात्तिक १८ गते जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेका महरालाई थुनामा पठाउने आदेश गरेको थियो । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश सुदर्शन पाण्डेको इजलासले महरालाई जेल पठाएको थियो । त्यसपछि उनी २०७६ फागुन ५ गते जेलबाट छुटे । जिल्ला अदालत काठमाडौंको आदेशपछि महरा डिल्लीबजार कारागारमा १३३ दिन बसेर रिहा भएका थिए । महरा जेल गए पनि रोशनीले सामाजिक सञ्जालमा उक्त प्रकरणबारे लेखिरहन्थिन् । महरासहितका नेताहरूको पनि फोटो हाल्दै उनले गरेको बदनामीबाट महरा पछिल्लो समय पनि तनावमा हुन्थे ।

रसुवा: पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ । यही जेठ १३ गतेदेखि सुरू हुने गोसाइँकुण्डको विशेष मेलाका लागि भक्तजन आउन थालेका हुन् ।   मेला यही जेठ २४ गते एकादशीसम्म सञ्चालन हुने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । यस वर्ष दशहरा पर्वमा पाँच हजार भक्तजनले गोसाइँकुण्डमा स्नान गर्ने अपेक्षा समितिले राखेको छ ।  जिल्लाको उच्च भागमा अवस्थित समुन्द्र सतहबाट चार हजार ३८० मिटर उचाइ अवस्थित कुण्ड जानका लागि काठमाडौँदेखि धुञ्चेसम्मको मोटर यात्रा गरेपछि पैदल यात्रा सुरू हुने र तिवारी बगर, खन्ति, देउराली, डिम्सा, चोलाङपाटी हुँदै  गोसाइँकुण्ड पुग्न सकिन्छ ।  गङ्गा दशहरा पर्वका लागि पतञ्जली योग समितिमार्फत आएका २५० भन्दा बढी भक्तजन आज बिहानै गोसाइँकुण्डतर्फ प्रस्थान गरिसकेको नेपाल प्रहरीले जनाएको छ ।  धार्मिक मान्यताअनुरूप जीवनमा एकपटक भए पनि पुग्नैपर्ने पवित्र तीर्थस्थल भएका कारण भक्तजन गोसाइँकुण्ड पुग्ने गरेका छन् ।  विशेष पर्व गङ्गादशहरामा पर्वमा १० दिन र जनैपूर्णिमा पर्वमा पाँच दिनगरी वर्षको १५ दिन विशेष मेला लाग्ने गर्दछ ।   बाह्रै महिना भक्तजन आवतजावत भने निरन्तरता दिँदै आएको छ ।  यात्रुहरूको बासस्थानका लागि ठाउँठाउँमा होटल सञ्चालनमा छन् ।  अनुपम प्राकृतिक छठाले गर्दा  कुण्डमा जान सहज भएको कृषि वैज्ञानिक डा ताराबहादुर घिमिरेले बताउनुभयो ।

तनहुँ: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु भएको छ । दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरको जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिनुभयो । जिपमा पाँच जना सवार थिए । मृत्यु हुनेमा व्यास–५ का ३५ वर्षीय प्रविन थापामगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेका प्रहरीले जनाएको छ । उनीहरुको दमौली अस्पतालमा मृत्यु भएको हो । घाइतेमध्ये एक जना गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाउने तयारी गरिएको छ भने चालक सामान्य रहेका छन् । दुर्घटनाका घाइतेलाई नेपाली सेनाको कालीभञ्जन गण (इ), नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।

काठमाडौं:  डोल्पाको ठूलीभेरी नगरपालिका-१ ठाला लेकमा यार्सागुम्बा सङ्कलन गर्न गएका दुई समूहबीच आज दिउँसो झडप भएको छ ।  पूर्वी रुकुमको मैकोट गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठूलीभेरी नगरपालिकाका स्थानीयबीच यार्सागुम्बा सङ्कलनमा सीमा इलाकाको विषयमा विवाद भई छ(सात सय जनाको सङ्ख्यामा रहेकाबीच झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरी बल नेपाल नं ४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा प्रहरी खटिएको छ ।  झडपलाई नियन्त्रणमा लिन दुई राउन्ड हवाई फायर गर्नुपरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले त्यहाँको अवस्था सामान्य छ ।

काठमाडौं:  गृह मन्त्रालयले गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको कुनै प्रकारको संलग्नता नरहेको र नरहने स्पष्ट पारेको छ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका घटनासँग जोडिएर आएको विषयबारे स्पष्ट पार्दै मन्त्रालयले कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएकाप्रति दुःख व्यक्त गरेको छ।  विमानस्थल अध्यागमन कार्यालयको कामकारबाहीका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको हुँदा अनुसन्धानकार्य पूरा भएपछि सत्यतथ्य व्यहोरा सबैको जानकारीमा आउने मन्त्रालयले स्पष्ट पारेको छ।  मन्त्रालयका सहसचिव छवि रिजालद्वारा आज जारी विज्ञप्तिमा आयोगबाट हुने छानविन तथा अनुसन्धानसम्बन्धी कार्यमा मन्त्रालयको पूर्ण सहयोग रहनेसमेत उल्लेख छ। उहाँले मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्न गृह प्रशासन निरन्तर क्रियाशील रहेको जनाउनु भएको छ।  मन्त्रालयले सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै गृह प्रशासनलाई व्यवस्थित गर्नका निम्ति नीतिगत तथा संस्थागत सुधारका कार्यसमेत गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयले विषयको गम्भीरतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गर्न सम्पूर्णमा आग्रह गरेको छ।    

पोखरा:   राष्ट्रिय अपाङ्ग अलबिनो नेपाल (बाँके)गण्डकीको अध्यक्षको म्याग्दीका विशाल वि.क सर्वसम्मत चयन भएका छन् ।  पोखरामा आज सम्पन्न भएको राष्ट्रिय अपाङ्ग अलबिनो नेपाल (बाँके)गण्डकी प्रदेशको भेलाले विशालको अध्यक्षतामा ९ सदस्दयीय कार्यसमिति चयन गरेको अलबिनोका निर्देशक प्रखरदीप गुप्ताले जानकारी दिए ।  राष्ट्रिय अपाङ्ग अलबिनो नेपाल (बाँके)गण्डकी प्रदेशको उपाध्यक्षमा तनहुँका केशवी सिग्देल, महासचिवमा कास्कीका राजेश बुढा मगर, सचिवमा म्याग्दीका भस्कर कुमाई र कोषाध्यक्षमा म्याग्दीका ममसरा सुनार सर्वसम्मत भए ।  सदस्यहरुमा गोरखाका प्रमिला बस्नेत, स्याङ्जाका लेखनाथ ढकाल, बागलुङका जीवन सुनार र म्याग्दीका भरदेवी विक चयन भए ।  राष्ट्रिय अपाङ्ग अलविनो नेपाल (बाँके)ले लुम्बिनीपछि गण्डकीमा समिति गठन  गरेको हो ।  राष्ट्रिय अपाङ्ग अलविनो नेपाल (बाँके)का निर्देशक प्रखरदीप गुप्ताले अलविनो एक प्रकारको अपाङ्गता भएको बताए ।   ‘अलविनो एक प्रकारको अपाङ्गता हो, शरिरमा छालालाई प्राकृतिक रंग र गुण दिने पदार्थको कमिले छाला र कपाल सेतै हुने समस्यालाई अलविनो भनिन्छ’, निर्देशक गुप्ताले भने, ‘अलविनो भएका अपाङ्गतालाई सरकारले सन्सक्रिम र मलम निशुल्क रुपमा दिनुपर्छ ।’  

जुम्ला:  जुम्लाको तिला गाउँपालिका–४ भोटचौरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  भोटचौरमा क १ ह ३१ नम्बरको अटो दुर्घटना हुँदा अटो चालक ४४ वर्षीय रणबहादुर कुँवरको मृत्यु भएको तिला गाउँपालिकामा रहेको कुडारी प्रहरी चौकीका प्रहरी हवल्दार बैजु महत्तोले जानकारी दिए ।  शुक्रबार तातोपानी गाउँपालिका–१ राँकाबाट तातोपानी–७ सर्मीगाउँतर्फ धान लिएर जाने क्रममा उक्त अटो सडकदेखि ६० मिटर तल खसेको कुडारी प्रहरी चौकीका प्रहरी हवल्दार महत्तोले बताए ।  दुर्घटनाबाट गम्भीर घाइते भएका चालक कुँवरको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।