काठमाडौं: प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्ने काम गरेको बताएका छन् । भानुजयन्तीको अवसरमा आइतबार शुभकामना व्यक्त गर्दै ओलीले भानुभक्तले नेपाली मनमा रामायण रोपेर गएको उल्लेख गरेका छन् । उनले भनेका छन्– ‘आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती । आदिकवि, जसले नेपाली मनमा रामायण रोपेर जानुभयो, नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो । नेपाली भाषामा आदिलेखन थालनी गर्नुभएका भानुभक्तप्रति नमन, स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना ।’ आइतबार देशभर आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ ।
काठमाडौं: नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको हो । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिनुभएकाले उहाँ रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको थियो । ‘वधुशिक्षा’ उहाँको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फूटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेख्नुभएको थियो– ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उहाँको सम्मान गर्नुपर्ने र उहाँका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ । त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । यस उपलक्ष्यमा आज बिहान काठमाडौँको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगर प्रभातफेरी गर्ने कार्यक्रम रहेको जनाइएको छ । घरघरमा आदिकवि आचार्यले नेपाली भाषामा भावानुवाद गर्नुभएको रामायण पाठ गरी भानु जयन्ती मनाउँछन् । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउँदै छन् । आदिकवि आचार्यभन्दा अघि नै नेपाली भाषामा कविता लेख्ने कवि भएकाले उहाँलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन् । भानुभक्तका विषयमा अध्ययन, अनुसन्धान गरिरहनुभएका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली रामायणजस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्त्वपूर्ण योगदान गर्नुभएकाले भानुभक्तलाई आदिकवि भनिनु न्यायोचित रहेको बताउनुहुन्छ । रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँ युगनिर्माण गरेको मानिन्छ । आदिकवि आचार्यको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ ।
पोखरा: र्यान्डम रिडर्स सोसाइटीको ११८ औँ नियमित कार्यक्रममा शनिवार साहित्यकार तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ को चर्चा गरिएको छ । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि परिचर्चा गर्दै आएको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा युवा साहित्यकार त्रिवेणीले रैथाने ज्ञान पद्धतिमा आधारित रहेर कृतिको चर्चा गरे । रैथाने ज्ञान प्रणालीमा ज्ञान सामूहिक हुने बताउँदै त्रिवेणीले हिउँको गीतमा पात्रका माध्यमबाट पारिवारिक सम्बन्धको ज्ञान पनि सँगसँगै बगिरहेको धारणा राखे । उनले हिउँको गीतमा स्थान विशेष वातावरणीय सम्बन्ध, ‘पेब्याक’ को परम्परा, मूल्य र मान्यताको परम्परा र जमिनको महत्त्वसम्बन्धी रैथाने विशेषता पाइने जिकिर गरे । “उपन्यासले प्राचीन समाजको सामाजिक द्वन्द्वलाई बेजोड रूपमा पस्किएको छ र एउटा बस्तीको विघटनमा त्यसको भूमिकालाई दर्साएको छ । यो नै उपन्यासको मूल कथानक हो जुन अति सुन्दर तरिकाले स्थापित छ ।” त्रिवेणीले भने, “अझ चर्चा गर्नुपर्ने अर्को पक्ष भनेको रैथाने परम्पराको अन्त्यमा औपनिवेशिक शक्तिको हात हुने कुरा हो । संसारभर नै रैथाने परम्परा र पद्धतिको अवसान औपनिवेशिकताको प्रवेशसँगै भएको छ । त्यो औपनिवेशिकता कुन रूपमा कसरी छिर्छ, त्यो समाजपिच्छे फरक हुन सक्छ तर त्यसले ल्याउने नियति सबै समाजमा एउटै हुन्छ– समाजको विखण्डन र विनाश जो हिउँको गीतमा पनि आएको छ ।” उपन्यासले रैथाने ज्ञान प्रणलीलाई आफूमा समाहित गरेको र उक्त प्रणालीको विघटनमा औपनिवेशिक शक्तिको हातलाई पनि छर्लङ्ग बनाएकाले उपन्यास अब्बल सावित भएको त्रिवेणीको भनाइ छ । कार्यक्रममा उपन्यासकार तीर्थ गुरुङले आफूले उपन्यास आफ्नै व्यक्तिगत जिन्दगीसँग जोडेर लेख्न सुरु गरेको अनुभव सुनाए । मिर्गौलासम्बन्धी रोगबाट पिडित गुरुङले आफ्नै पिताको मिर्गौला प्रत्यारोपण गरेपछि प्राप्त भएको पुनर्जीवनलाई प्रतीकात्मक रूपमा अभिव्यक्त गर्ने माध्यमका रूपमा लेखन अघि बढाएको प्रसङ्ग गुरुङले भावुक हुँदै सुनाए । यसअघि पाठशाला (उपन्यास) र आपा क्हार्प (कथा सङ्ग्रह) बजारमा ल्याइसकेका गुरुङले आफ्नै मातृभूमि, मातृभाषा र मातृसंस्कृतिलाई ‘पेब्याक’ होस् भन्ने हेतुले पनि उपन्यास लेखेको बताए । हालसम्म पाठकको मायाबाट हौसला मिलेको बताउँदै उनले आगामी संस्करणमा पाठकको सुझावलाई ध्यानमा राखेर परिमार्जन पनि गर्ने प्रतिबद्धता जनाए । गुरुङ जातिको उद्गम थलो क्होला राज्यको विकासदेखि विघटनसम्मको कथावस्तु हिउँको गीतमा समेटिएको छ । सचिव नेपालप्रकाश अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा कौशलचन्द्र जिसी, कुमार तामाङ, डा। लक्ष्मीशरण अधिकारी, मेघराज ढकाल, डा। हुमबहादुर गुरुङलगायतले टिप्पणी गरेका थिए ।
बैतडी: बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् । धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४ ००१ ज १३७२ नम्बरको जीप आज बिहान बैतडीको पाटन–६ स्थित खिपालीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । डिलासैनी गाउँपालिका–१ का चालकसमेत रहेका २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । गम्भीर अवस्थामा उद्दार गरेर पाटन प्राथमिक स्वास्थ्य केन्द्र पठाइएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो । घाइते हुनेमा डिलासैनी–१ का ४५ वर्षीय रामकुमार राना, २१ वर्षीया भागरती खत्री, उनकी दुई वर्षकी छोरी एलिसा, २१ वर्षका हेमन्तप्रसाद भट्ट, २७ वर्षीय राजेन्द्रबहादुर खत्री र ५१ वर्षीया कमला धामी रहेको प्रहरी निरीक्षक पाण्डेयले बताए । राजेन्द्र र कलमालाई थप उपचारका लागि धनगढी पठाएको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब ७० मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरू तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाका अनुसार देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ । शनिबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
स्याङ्जा: नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान रहनुभएका क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन सुरू गरिएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरमा जन्मिनुभएका क्रिकेटर लामिछानेको सम्मानमा सोही वडाको थाप्लेमा गाउँपालिकाले रङ्गशाला बनाउन सुरू गरेको हो । गाउँपालिका कार्यालयको लगानी तथा अगुवाइमा स्थानीयहरूको जनश्रमदानसहित रङ्गशाला निर्माण सुरू भएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो । डाँडाको टुप्पो तर समथर रहेको सार्वजनिक गौचरनलाई क्रिकेट मैदान बनाउने गरी चालु आर्थिक वर्ष २०८१/८२ देखि बनाउन सुरू गरेको उहाँले बताउनुभयो । “चालु आवदेखि गाउँपालिकाको लागत तथा स्थानीयहरूको जनश्रमदानमा रङ्गशाला बनाउन सुरू गरेका हौँ”, उहाँले भन्नुभयो, “अहिले मैदान बनाउने ठाउँलाई सम्याउने काम भएको छ, वर्षा लागेकाले तत्काललाई काम रोकेका छौँ, वर्षा सकिएपश्चात् कामलाई तीव्र गतिमा अगाडि बढाएर सम्पन्न गर्छौं ।” समुद्री सतहदेखि १९०७ मिटरको उचाइमा यो ठाउँ रहेको छ । निर्माणाधीन मैदानलाई ‘नाइन्टिन ओ सेभेन अरिना’ नाम दिएको उहाँले बताउनुभयो । मैदान बीच भागबाट चारैतिर ४५ मिटर वृत्ताकारमा फैलिएको छ । राष्ट्रियस्तरको मैदानका लागि आवश्यक पर्ने मापदण्डलाई पूरा हुने गरी निर्माण भइरहेको छ । मैदानमा पीच बनाउनका लागि क्रिकेटसँग सरोकार राख्ने जिल्ला, प्रदेश तथा केन्द्रीय नेतृत्वकर्ता, अनुभवीहरूको परामर्शमा काम भइरहेको छ । अहिले देश तथा विदेशमा आफ्नो र देशको नामलाई परिचित गराउन सफल क्रिकेटर सन्दीपको जन्म यसै ठाउँमा भएकाले उहाँको सम्मान सँगसँगै नयाँनयाँ प्रतिभा उत्पादन गर्नका लागि पनि यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास अध्यक्ष तिवारीको छ । “क्रिकेट मैदान निर्माणाधीनस्थलबाट झण्डै आधा घण्टाको दूरीमा दक्षिण एसियाकै पहिलो सामुदायिक घरबास ९होमस्टे०को रूपमा पहिचान बनाएको सिरुबारी गाउँ रहेको छ”, गाउँपालिकाका अध्यक्ष तिवारीले भन्नुभयो, “यस क्षेत्रमा क्रिकेट र पर्यटनलाई सँगसँगै जोडेर अगाडि लैजान सकिने देखिएको छ ।” क्रिकेट मैदान निर्माण सम्पन्न भएसँगै यस ठाउँमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने तयारी छ । पछिल्लो समय युवामाझ लोकप्रिय बन्दै गइरहेको नयाँ नयाँ प्रतिभाको प्रतिभाको खोजी गर्दै प्रतिभा बाहिर ल्याउन सहयोग पुग्ने धारणा गाउँपालिकाका अध्यक्ष तिवारीको छ । उहाँका अनुसार अभ्यासका लागि छुट्टै ठाउँ बनाइने छ ।
काठमाडौं: सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीहरूबीच वार्तापछि ६ बुँदे सहमति भएको छ। बिहीबार अर्थ मन्त्रालयमा सम्पन्न छलफलमा सहमति जुटेसँगै व्यवसायीहरूले जारी आन्दोलन स्थगित गरेका छन्। सुनचाँदी व्यवसायी संघका प्रतिनिधि नरेन्द्र गुप्ताले सहमतिबारे जानकारी दिँदै शुक्रबारदेखि देशभर व्यवसाय निर्वाध रूपमा सञ्चालन हुने बताए। व्यवसायीहरू सुन तथा सुनका गहना विलासिता वस्तुको सूचीमा राखिएको विषयमा असन्तुष्ट थिए। उनीहरूको मुख्य माग नै यस विषयको पुनरावलोकन रहेको थियो। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुन तथा हिरामा विलासिता कर लगाउने घोषणा गरेपछि व्यवसायीहरू आन्दोलित भएका थिए। केही दिनयता उनीहरूले देशभर पसल बन्द गरेर विरोध जनाउँदै आएका थिए। अब सहमतिपछि बजारमा सुनचाँदीको कारोबार पुन: सञ्चालनमा आउने विश्वास गरिएको छ। व्यवसायी पक्षले सरकारसँग तत्काल सहकार्य गर्दै व्यापार सहज बनाउने प्रतिवद्धता जनाएका छन्। यस्तो छ सहमति
काठमाडौं: काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दै छ । महानगरपालिकाका मेयर बालेन्द्र साहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक आह्वान गरेका हुन् । सो अघि बिहान ११ः०० बजे बजेट स्रोत समितिको बैठक बस्नेछ भने उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बसाउने छिन् । कानुनी तथा औपचारिकता पूरा भए दिउँसो २ः०० बजेको कार्यपालिका बैठक बस्ने र सोही बैठकले नीति तथा कार्यक्रमसहित आगामी आर्थिक वर्ष २०८२(८३ को बजेट नगर सभामा पेस गरिनेछ । सोही कार्यपालिकाले नगर सभा बैठकले मिति नै तोकेर असार मसान्तभित्रै बजेट पास गर्ने तयारी मेयर साहले गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत र मेयर बिचको विवादका कारण महानगरको बजेट आउन सकेको थिएन ।
गुल्मी: कालीगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडकमाथिबाट ठूला चट्टानसहित पहिरो खसेको छ । त्यो क्रम रोकिएको छैन । अवरुद्ध सडक खोल्न प्रहरीचौकी भुर्तुङबाट प्रहरी टोली परिचालन भएको तर तत्काल पहिरो पन्छाउन असम्भव भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिएका छन् । यसैबीच जिल्ला प्रशासन कार्यालयले नदी र खोला तटीय क्षेत्रका बासिन्दालाई बाढी र पहिरोबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेको छ ।