काठमाडौं: नेपालको संविधान घोषणा भएको एक दशक पुगेको अवसरमा यस वर्ष भव्यताका साथ उत्सव मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन भएको छ । ...

काठमाडौं:   बङ्गलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानमाथि अर्को सानदार जित निकालेको छ ।  ढाकास्थित बसुन्धरा किङ्ग्स एरिनामा शनिबार भएको खेलमा नेपालले भुटानलाई ८–० गोलले हरायो । एकपक्षीय खेलमा नेपालले पहिलो हाफमा ६ र दोस्रो हाफमा दुई गोल गरेको थियो ।  नेपालको जितमा प्रर्णिमा राई र मीना देउवाले ह्याट्रिक पूरा गर्नुभयो । यस्तै समीक्षा घिमिरे र कुसुम खतिवडाले एक एक गोल गर्नुभयो । यसअघिको खेलमा नेपालले भुटानलाई ६–१ गोलले हराएको थियो । यस्तै चार टोली सहभागी च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई दुवै खेलमा समान ७–० गोलले हराएको थियो । नेपाल जारी च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा भने घरेलु टोली बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो ।  यस च्याम्पियनसिपको पाँच खेलमा चौथो जित निकालेको नेपालले १२ अङ्क बनाएको छ । नेपाललाई च्याम्पियन बन्न अब घरेलु टोली बङ्गलादेशविरुद्ध सोमबार हुने अन्तिम खेल जित्नुपर्ने छ ।  च्याम्पियनसिपमा सहभागी चार टोलीले एक आपसमा दुई पटक खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्ने छ । 

काठमाडौं:   गएको एक वर्षमा आठ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिएका छन् । वैैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिनेमा सात लाख ४४ हजार ८११ पुरुष छन् भने ९४ हजार ४५५ महिला रहेका छन् । विभागले आज यहाँ पत्रकार सम्मेलन गरी उक्त विवरण सार्वजनिक गरेको हो । अघिल्लो आर्थिक वर्ष भन्दा यसपटक एक लाख बढीले श्रम स्वीकृति लिएका विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले श्रम स्वीकृतिको भार ६० दशमलव २८ प्रतिशत नयाँ र ३९ दशमलव ७२ प्रतिशत पुनः श्रम स्वीकृतिका रहेका छन् । उहाँका अनुसार वैैदेशिक रोजगारीका लागि गत आवमा श्रम स्वीकृति लिने प्रमुख १० गन्तव्य मुलुकमा युएई, साउदी अरेबिया, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, दक्षिण कोरिया र बहराइन रहेका छन् । व्यक्तिगत श्रम स्वीकृति लिने प्रमुख गन्तव्य मुलुकमा युएई, रोमानिया, जापान, कतार, क्रोएसिया, माल्दिभ्स, कुवेत, मौरिसस, सर्बिया र माल्टा रहेका पनि उहाँले जानकारी दिनुभयो । विगत पाँच वर्षमा कुल ३५ लाख बढीले श्रम स्वीकृति लिएका र त्यसमा ३१ लाख ८१ हजार पुरुष रहेका पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । वैदेशिक रोजगारीका लागि विदेशमा श्रमिक पठाउने संस्थाहरू कुल एक हजार ६८७ रहेकामा हाल सक्रिय इजाजत प्राप्त संस्थाको सङ्ख्या जम्मा ७२४ रहेको विभागले जनाएको छ । विसं २०८२ असारसम्ममा भने २१२ संस्थाले नवीकरण गरेका छन् । वैदेशिक रोजगारीमा अहिलेसम्म सात करोड २० लाख बढी क्षतिपूर्ति भराइएको पनि विभागले जनाएको छ । विभागका महानिर्देशक भट्टराईले श्रम स्वीकृति जारी गर्ने कार्यलाई डिजिटलाइज गरी आवेदन दिएकै दिनमा जारी गर्ने प्रतिबद्धता पूरा गरेको बताउँदै आगामी दिनमा अन्य सुधारका प्रयास जारी राख्ने बताउनुभयो । उहाँले विगत डेढ महिनादेखि भने आवेदन दिएको दुई मिनेटमा श्रमस्वीकृति प्रदान गरिएको पनि जानकारी दिनुभयो । अनुसन्धान तथा मुद्दा शाखामा रहेका करिब ३६ हजार फाइलको व्यवस्थापन गरी सेवाग्राहीमैत्री बनाउने लक्ष्यअनुसार दुईतिहाइ काम सम्पन्न भएको उहाँले बताउनुभयो । सुधारका लागि पहिचान गरिएका विषयको सन्दर्भमा विद्यमान कानुनी व्यवस्था संसोधन गरी अघि बढ्न्पर्ने आवश्यकता देखिएको पनि उहाँले बताउनुभयो । उहाँले वैैदेशिक रोजगारीको सूचना व्यवस्थापन प्रणालीको स्तरोन्नतिका लागि प्राविधिक अध्ययन भइरहेको पनि जानकारी दिनुभयो । यस्तै वैैदेशिक रोजगारीमा जानुअघि गरिने स्वास्थ्य परीक्षणलाई थप प्रभावकारी गराउन अनुगमन प्रणालीमा सुधार गरिएको र त्यसको विवरण वैैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा आबद्ध गर्न डिजिटल प्रणालीको निर्माण सम्पन्न भएको जनाइएको छ । यस्तै विभागले सेवा प्रवाहको गुणात्मक र रचनात्मक सुधार गर्न प्रयत्नशील रहेको पनि जानकारी गराएको छ ।

काठमाडौं:  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू–भागहरूमा आंशिक बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा–हिमपातको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेशका धेरै स्थानहरूमा, मधेश प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको छ । सम्भावित वर्षाको कारणले भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने तथा हावाहुरीले समेत आंशिक असर पुर्‍याउन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

पोखरा:  खेल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुने दोस्रो पर्वतीय दौड प्रतियोगितालाई पुम्दी–भुम्दीकै उत्सवको रुपमा मनाउन स्थानीयले सुझाव दिएका छन् ।  पोखरा क्लिक प्रालीको आयोजनामा आउँदो असोज ४ गते पोखरामा हुने उक्त प्रतियोगितालाई पोखरा २२ पुम्दी भुम्दीका स्थानीयले गाउँकै उत्सवको रुपमा उक्त प्रतियोगिता बनाउन सुझाव दिएका हुन् । मिति घोषणा सहित स्थानीय क्लब,टोल विकास संस्था, जनप्रतिनिधि लगायतका विभिन्न संघ संस्था एवं स्थानीयसँग भएको छलफल क्रममा सहभागिहरूले अघिल्लो बर्षमा भएका कमीकमजोरी सुधार गर्दै उत्कृष्ट व्यवस्थापनमा जुट्न समेत आग्रह गरे ।  पोखराका तीनवटा पर्यटकीय क्षेत्र विश्व शान्ति स्तुप, पुम्दीकोट र बुद्ध पार्कलाई जोडिएको उक्त खेलकुद प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न आ–आफ्नो क्षेत्रबाट भरपूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।  कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष हिमलाल बरालले भुम्दी भुम्दीको नयाँ पर्यटकीय गन्तव्य कालाबाङ घरेडी बुद्ध पार्कलाई प्रचारप्रसार गर्न उक्त प्रतियोगिता कोशेढुङ्गा सावित हुने बताए ।  वडामा रहेका २४ वटा टोल विकास संस्था त्यसैगरी विभिन्न क्लब, आमा समूह लगायतकाको उल्लेख्य सहभागिता गराउन आफूहरूले विशेष पहल गर्ने उहाँले जनाउनु भयो । पोखरामा पर्यटकको बसाइ अवधि लम्बाउनको लागि पुम्दीभूम्दीमा २७ किलोमिटरको पदमार्ग निर्माण कार्य जारी रहेको उहाँले बताउनुभयो। गतवर्ष स्थानीय ठाकुर बरालको विशेष पहलमा ९० लाख र यस वर्ष पद मार्गको लागि करिब ३ करोड बजेट विनियोजन भएको अध्यक्ष बरालले उल्लेख गरे ।  विश्व शान्ति स्तुप समितिका सचिव एवं पूर्व प्रधानपञ्च दुर्गा बहादुर गुरुङले उक्त प्रतियोगिता पुम्दी–भुम्दीको छुट्टै ब्रान्ड बनेको हुँदा उक्त प्रतियोगितालाई उत्सवको रुपमा मनाउन सुझाव दिनुभयो। पुम्दी भुम्दीमा पर्यटकीय सम्भावना रहेका तारेभिर, फिलिङ्गघारी त्यसैगरी थाप्लेडाँडा लगायतका क्षेत्रको पनि पर्यटन प्रवद्र्धन गर्न आवश्यक भएको बताए ।  पुम्दीकोट कोट विकास समितिका उपाध्यक्ष नरहरी बरालले उक्त प्रतियोगिता गाउँको पहिचानसँग जोडिएको हुँदा आफूहरुले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। कालाबाङ घरेडी बुद्धपाक समितिका अध्यक्ष लाल गुरुङ (राज) ले पहिलो संस्करणमा नौ वर्षदेखि ६१ वर्ष उमेर समूहका व्यक्तिहरू समेत सहभागी भएको स्मरण गर्दै आवश्यक मेडिकल टिम सहित स्वयंसेवकहरू पर्याप्त मात्रामा आगामी दिनमा खटाउनु पर्नेमा जोड दिए ।  भूतपूर्व खेलाडी मञ्चका सदस्य एवं प्राविधिक ओम गुरुङले पुम्दी भुम्दी पर्वतीय दौड प्रतियोगिता अरु प्रतियोगिताहरू भन्दा भिन्न खालको जस्तै अन्नपूर्ण माछापुच्छ्रे र पर्यटकीय गन्तव्य शान्ति स्तुप, पुम्दीकोट र बुद्ध पार्क जोडिएको दौड भएको हुँदा निकै आकर्षण भएको बताए ।  पोखराका पर्यटन व्यवसायी एवं पत्रकार राजु क्षेत्रीले हाम्रो संस्कारमा पर्यटकीय कल्चर कम भएको हुँदा पर्यटकसँग जोडेर गरिने पर्यटकीय क्रियाकलापहरू मेगा इभेन्टको रुपमा आयोजना गर्नुपर्नेमा जोड दिए ।  प्रतियोगिताका संयोजक एवं प्रालीका अध्यक्ष दिननाथ बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पुम्दीकोट टोल विकास संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद क्षेत्री, कालिमाटी शान्ति स्तुप टोल विकास संस्थाका अध्यक्ष सुदीप बिक, महेश्वरी माविका शिक्षक सञ्जय बराल लगायतले वोल्दै उक्त कार्यक्रम सफल पार्न सहयोग गर्ने बताए ।  विश्व पर्यटन दिवसको अवसरमा असोजको ४ गते उक्त प्रतियोगिता हुने भएको पोखरा क्लिक प्रालीका वरिष्ठ संवाददाता असफल गौतमले बताए ।  प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख ८० हजार खर्च हुने व्यवस्थापक सागर सुनारले बताए । प्रतियोगितामा प्रथम हुने विजेता धावकलाई रु ३० हजार दोस्रो हुनेलाई १५ हजार तेस्रो हुनेलाई ७ हजार त्यसैगरी पोखरा २२ वडा स्तरिय खुलातर्फ विजेता एकजना महिलातर्फ पुरूष विजेता अर्को १६ वर्ष मुनि उमेर समूहको एकजना र भेट्रान्स ४० वर्षमाथि उमेर समूहका एक एक जनालाई प्रोत्साहन स्वरूप जनही ७ हजार रूपैयाँ प्रदान गरिने भएको संयोजक बरालले बताउनुभयो। उक्त प्रतियोगितालाई प्रदेश खेलकुद परिषद गण्डकीबाट समन्वय, पोखरा महानगरपालिका वडा नम्बर २२ को सहकार्य, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र त्यसैगरी सिटीवान टेलिभिजन मिडिया पार्टनरको रुपमा जोडिएको छ ।  आफ्नो जन्म गाउँ पुम्दी भुम्दीमा गाउँ पर्यटन प्रबद्र्धन गर्न विश्व पर्यटन दिवसको अवसरमा आयोजना हुने उक्त प्रतियोगितामा सहभागि हुने धावकहरुको अनलाइन फारम दर्ता केही हप्ता पछि खुल्ला गरिने भएको छ ।

पोखरा:  चीनको पश्चिम सिचुवान प्रान्तमा पर्ने गान्जी तिब्बतीयन अटोनोमस प्रिफेक्चरको सौन्दर्य पोखरामा हेर्न पाइने भएको छ ।  अनुपम प्राकृतिक दृश्य, तिब्बतीयन संस्कृति भएको गान्जीमा उच्च स्थानमा रहेका उपत्यका, हिउँले ढाकिएका पर्वत, ठूला घाँसे मैदान र घना जंगलहरु छन् । गान्जी तिब्बतीयन अटोनोमस प्रिफेक्चर माउन्उटेन टुरिजम प्रमोसन प्वाइन्ट कार्यक्रम अन्तर्गत गान्जीका तस्बिरहरु बिहीबारबाट पोखराको रातोपहिरोमा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा राखिएका छन् ।  नेपाल नेसनल पभेलियन (चाइना)को सहयोगमा राखिएका गान्जीका तस्बिरहरु अबको छ महिनासम्म प्रदर्शनीमा राखिनेछन् । पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले बिहीबार प्रदर्शनी सुरुआत गरिन् । उनले नेपाल र चीनको सम्बन्धलाई यस्ता कार्यक्रमले थप मजबुत पार्ने उल्लेख गरिन् ।  गान्जी प्रिफेक्चर कमिटी अफ द कम्युनिस्ट पार्टी अफ चाइनाको सेक्रेटरी चेन बोताउले नेपालीहरुलाई गान्जी भ्रमण गर्न निम्तो दिए । उनले भने, ‘नेपाल जस्तै हिमाल, ताल, झरना भएको गान्जी भ्रमणका लागि यहाँहरुलाई निम्तो छ ।’ संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले यथासक्य संसारभरीका हिमाल, पर्वत र पर्वतारोहणबारे जानकारी दिन सक्ने गरी संग्रहालयलाई समृद्ध बनाउँदै लगिने बताइन् ।  पोखराको प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने यो संग्रहालय वर्षमा दुई लाखभन्दा बढीले भ्रमण गर्ने गरेका छन् । कार्यक्रममा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय समितिका सदस्य शेषकान्त शर्मा र धर्मराज पन्थीले पनि बोलेका थिए ।    

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम बिना प्रगति सम्भव नभएको तथा श्रमिकको सम्मान बिना समृद्धि नहुने बताउनुभएको छ । साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उक्त कुरा बताउनुभएको हो । “यसअघि हामीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने पाइला चालेका थियौँ । त्यसमा अहिलेसम्म करिब २१ लाख श्रमिक आबद्ध भइसकेका छन्,” उहाँले फेसबुकमा लेख्नुभएको छ । साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक रु १७ हजार ३०० बाट बढाएर रु १९ हजार ५५० बनाउने निर्णय भएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, “श्रमिकलाई एक मुट्ठी भरोसा महत्वपूर्ण हुनेछ । जय श्रमिक, जय नेपाल !”

काभ्रेपलाञ्चोक: बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आजदेखि एक महिनासम्म राति १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ ।  जिल्ला प्रशासन कार्यालय धुलिखेलले उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म एक महिनाका लागि रोक लगाइएको जनाएको छ । कार्यालयले सार्वजनिक अपील गर्दै मनसुन सक्रिय रहेको अवस्थामा विपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि राजमार्गको उल्लेखित क्षेत्रमा आजदेखि साँझ ५ बजेदेखि विहान ५ बजेसम्म एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाएको जनाएको हो ।  काठमाडौँबाट जाने सवारीलाई जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमै रोकिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुुभयो । उहाँका अनुसार मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै यसअघि काभे्रपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले गत असार ७ गतेदेखि विपी राजमार्गमा साँझ ६ः३० बजेदेखि विहान ५ बजेसम्म करिब दश घण्टा १५ दिन तथा थप असार मसान्तसम्म सोही समयमा सडक सञ्चालनमा रोक लगाइएको थियो ।  यस अवधिमा काठमाडौँबाट जाने सवारीलाई काभे्रपको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिएको थियो । बितेका एक हप्ताको समयमा बाढीपहिरोले करिब चार पटक उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा सडक अबरुद्ध भइसकेको छ ।  गतसाल असोजको बाढीपहिरोले विपी राजमार्गअन्तर्गत काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको वर्षेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा सडकनै बगाएका कारण खोलामा कतै एक्तर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको छ । बाढीपहिरोले राजमार्गको कुल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौँथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पु¥याएको थियो ।  कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामासमेत अघि बढाइरहेको छ । पूर्वीनेपाल जोड्ने छोटो दुरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छ ।

पोखरा:  पोखरामा लामो समयदेखि क्रियाशील पत्रकार रुद्र श्रीष मगर ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट सम्मानपत्र तथा नगद १५ हजार सहित सम्मानित भएका छन् ।   राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्धारा स्थापित तथा नेपाल मगर पत्रकार संघ कास्कीद्धारा संरक्षित पुरस्कारद्धारा बिहीबार पोखरामा पत्रकार श्रीषमगर सम्मानित भएका हुन् ।  कार्यक्रममा बोल्दै सम्मानित श्रीषमगरले पुरस्कारले आफूलाई खुसी दिलाउनुका साथै जिम्मेवारी थपिएको अनुुभव भएको बताए ।  सांस्कुतिक र संस्कार मगर समुदायको पहिचान भएकालाई संस्कारलाई जोगाउनु नयाँ र पुराना पुस्ताले विषेश ध्यान दिनु आवश्यक रहेको उनको भनाई छ ।  पुरस्कार प्राप्त गर्ने उद्देश्यले आफू यो पेसामा प्रवेश नगरेको उनको भनाई थियो । यो पेसामा कसरी मगर समुदायका व्यक्ति र नयाँ पुस्तालाई टिकाइराख्ने भन्ने योजना बनाएर अगाडि बढ्नुपर्ने अहिलेको अवश्यकता रहेकोमा उनले कार्यक्रममा जोड दिएका छन् ।  हाल मगर र गुरुङ भाषालाई गण्डकी प्रदेश सरकारले कामकाजको भाषाका रुपमा लागूगर्ने निर्णय गरेकाले समुदायगत रुपमा समेत यो विषयलाई चासो दिनुपर्ने बताएका छन् । मगर र गुरुङ समुुदायले यो निर्णय लागू गरेर अगाडि बढ्न सके भाषा संरक्षण हुनेमा उनको जोड थियो ।   कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका युवा खेलकुद तथा सामाजिक विकास मन्त्री विन्दुुकुमार थापाले गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कायान्वयन गर्ने विधयेक पास भएता पनि समुदायगत रुपमा समेत सहयोग गर्नुुपर्नेमा जोड दिएका छन् ।  ‘कामकाजी भाषाका रुपमा मगर र गुरुङ समुदायको भाषालाई ऐनका रुपमा ल्याइरहँदा कार्यान्वयन केही पेचिलो बन्न सक्छ, त्यसमा समुदायले प्रदेश सरकारलाई सकेको सहयोग गर्नुपर्छ ।’ मन्त्री थापाले भने ।  मगर र गुरुङ समुदायका फरक–फरक लिपी भएका जानकारी आएकाले कुुन सहज हुन्छ भन्ने विषयमा समुदायले नै सुुझाव दिनुपर्ने उनले कार्यक्रममा बताए । सरकारी रुपमै कामकाजी भाषाका रुपमा लागूभइसकेपछि समुदायगत रुपमा लोप हुन लागिसकेको मगर र गुरुङ भाषाको संरक्षणमा केही हदसम्म टेवा पुग्ने उनको भनाई थियो । भाषा सम्बन्धी विधयेकलाई स्याङ्जा, तनहुँ लगायतका जिल्लामा पुुगेर समुुदायगत रुपमा बुुझेर नै आफूहरुले ऐनको रुपमा पास गरेको उनले बताएका छन् ।  नेपाल मगर संघका साँस्कृतिक विभागका उपप्रमुख तथा पुरस्कारदाता हर्क आलेले कौराहाको संस्कारलाई संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले पुरस्कार स्थापित गरिएको बताए ।  मगर संस्कृतिलाई सरक्षण गर्न सबैले आआफ्नो स्थानबाट योगदान पुु¥याउनुपर्नेमा उनको जोड थियो । मगर संस्कार र संस्कृतिको क्षेत्रमा योगदान प¥याएका व्यक्तिलाई यो पुरस्कार प्रदान गर्नु आफूूहरुको उद्देश्य रहेको उनको भनाई छ ।  नेपाल मगर पत्रकार संघ कास्कीका सहसचिव बल बहादुर रोका मगरको सञ्चालन तथा अध्यक्ष सुरज थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा, छनौट समितिका संयोजक एमबी आस्था मगर, नेपाल मगर संघ कास्कीका अध्यक्ष राम थापा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव जमुना वर्षा शर्मा, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, प्रेस काउन्सिल नेपालका सदस्य तथा पत्रकार केशवशरण लामिछाने लगायतले आ–आफ्नो भनाई व्यक्त गरेका थिए ।  कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापालाई मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ गण्डकी प्रदेशबाट सर्वसम्मतले पारित भएको अवसर पारेर सम्मान समेत गरिएको थियो ।  कार्यक्रममा मिस मगर नेपाल २०२४ का विजेतालाई समेत सम्मानपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल मगर संघ चाउथे इकाई समितिको टोलीले कार्यक्रममा मौलिक कौराहा प्रस्तुत गरेका थिए । २०७५ सालमा स्थापना भएको पुरस्कारबाट यसअघि कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप राना मगर (तनहुँ), ‘एमबी आस्था’ (कास्की), मनोज घर्ती मगर (कास्की), खेम सारु मगर (पाल्पा) र सारदा झेंडी मगर (नवलपुर) पुरस्कृत भइसकेका छन् ।   

काठमाडौं:  सरकारले हरेक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको छ ।  २३ असारमा बसेको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना मन्त्री पृथ्वी सुब्बा गुरुङले कोदो दिवस मनाउने निर्णय गरेका बताए ।