गोरखा: उत्तरी गोरखाको मनास्लु पदमार्गमा निस्कने फोहर सङ्कलन र व्यस्थापनका लागि विभिन्न ४० स्थानमा ‘डस्टबिन’ राखिएको छ । स्थानीयवासीको सहभागितामा फोहर व्यवस्थापनका लागि पदमार्गमा ‘डस्टबिन’ राखिएको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय ९एमक्याप० गोरखाका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो । पदमार्गलाई सफा, सुन्दर र सुरक्षित राख्न ठाउँठाउँमा ‘डस्टबिन’ राखिएको हो । फोहर व्यवस्थापनबाट वातावरण संरक्षणमासमेत सहयोग पुग्ने उहाँको भनाइ छ । प्रमुख शेरचनले भन्नुभयो, ‘‘त्यहाँ घुम्न पर्यटकले जथभावी फोहर फ्याक्ने गर्दा मनास्लु लार्केपास पदमार्गमा जथाभावी फोहर देखिने गरेको छ । त्यसलाई व्यवस्थित र प्रभावकारी व्यवस्थापनका लागि ठाउँठाउँमा ‘डस्टबिन’ राखिएको छ ।’’ मनास्लु पदमार्गमा पानीको बोतल, बिस्कुट चाउचाउका खोललगायतका फोहर यत्रतत्र देखिने गरेका थिए । ‘‘अब फोहरको उचित व्यवस्थापनमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ, प्रमुख शेरचनले भन्नुभयो, ‘‘स्थानीयवासी सबै मिलेर पदमार्गमा पुगेका पर्यटकलाई बाटोमा फोहर फाल्न नदिने र डस्टबिनमा फाल्ने बानीलाई प्रोत्साहन गर्नसके फोहर व्यवस्थापनमा निक्कै सहज हुनेछ ।’’ उहाँका अनुसार ‘डस्टबिन’ राख्नुअघि आयोजना कार्यालयले स्थानीय सरोकारवाला, आमा समूहलगायतसँग कार्यक्रमको प्रभावकारितालगायतको विषयमा छलफलसमेत गरेको थियो । स्थानीयवासी लक्ष्मी गुरुङले पदमार्गमा राखिएका ‘डस्टबिन’ले पदयात्रामा आउने पर्यटकलाई पनि राम्रो सन्देश दिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पदमार्ग वरपर फोहरको समस्या बढ्दै गएको थियो । अहिले डस्टबिन राखिएपछि जथाभावी फोहर फाल्नुहुँदैन भन्ने परेको छ ।’’ कार्यालयले स्थानीयवासीलाई फोहर व्यवस्थापन, पुनः प्रयोग र रिसाइकलको विषयमा अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको छ । मनास्लु पदमार्गमा एक वर्षमा १२ हजार भन्दाबढी विदेशी पर्यटक घुम्न पुग्ने गर्दछन् ।
सुर्खेत: तुइन हटाउने नीति लिएको कर्णाली प्रदेशले तथ्याङ्क सङ्कलन गरेको छ । तथ्याङ्कअनुसार १० जिल्लामा सङ्कलित तथ्याङ्कअनुसार ५० वटा तुइन रहेको प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीले जानकारी दिनुभयो । तुइन विस्थापित गर्दै झोलुङ्गे पुल निर्माण गर्ने योजना अनुरूप विवरण माग गरिएको थियो । प्रदेशका १० मध्ये सात वटा जिल्लामा रहेका तुइनको विवरण मन्त्रालयलाई प्राप्त भएको हो । पूर्वाधार विकास कार्यालयबाट माग गरिएको विवरण अनुसार ५० वटा तुइन भएको विवरण प्राप्त भएको मन्त्रालयका प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । सङ्कलन गरिएको विवरणअनुसार सबैभन्दा धेरै तुइन हुम्लामा रहेको छ । हुम्लामा १५ वटा तुइन रहेको विवरणमा उल्लेख छ । हुम्लामा कर्णाली नदीमाथि छ वटा तुइन रहेको जनाइएको छ । यसैगरी कालीकोटमा १२, जाजरकोटमा १२, दैलेखमा दुई, मुगुमा दुई, डोल्पामा तीन र सुर्खेतमा आठ वटा तुइन रहेको विवरण प्राप्त भएको छ । दैलेख, जुम्ला र रुकुम पश्चिमबाट विवरण प्राप्त भएको नभएको जनाइएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा कर्णालीलाई तुइनमुक्त बनाउने नीति लिएको छ । नीति तथा कार्यक्रममा यो योजना समेटेर बजेटसमेत विनियोजन गरिएको छ । तुइन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । चालु आर्थिक वर्ष २०८२र८३ मा उक्त शीर्षकमा रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता सुवेदीले बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक भ्रमण निश्चित भएको छ । उहाँको भ्रमणको मिति करिब निश्चित भएकाले परराष्ट्र मन्त्रालय तथा अन्य सरोकार भएका मन्त्रालय र निकायले आ–आफ्नो तयारी सुरु गरेका परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो । भ्रमणको मिति भने मन्त्रालयले उपयुक्त समयमा सार्वजनिक गर्ने उहाँले बताउनुभयो ।
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले सिद्धार्थ राजमार्ग हुँदै स्याङ्जातर्फ जाने सवारी साधन संचालनमा रातको समय सवारी साधन चलाउन प्रशासनले रोक लागएको छ। कार्यालयले आइतबार सूचना जारी गर्दै भारी वर्षा र सम्भावित जोखिमलाई मध्यनजर गर्दै साँझपछि तोकिएको समयमा अत्यावश्यक सेवाबाहेकका सवारी साधन चलाउन रोक लगाएको हो। सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालद्वारा जारी सूचनाअनुसार, साउन ४ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो। निर्णयअनुसार, अत्यावश्यक सेवाबाहेकका लामा दूरीका सवारी साधनलाई साँझ ४ बजेपछि र छोटो दूरीका सवारी साधनलाई साँझ ५ बजेपछि कास्कीको छोरेपाटनबाट स्याङ्जातर्फ जान रोक लगाइएको छ। प्रशासनले यस वर्षको मनसुन सक्रिय रही साउन ३ गते रातिदेखि अविरल वर्षा भइरहेको र जल तथा मौसम विज्ञान विभागले गण्डकी प्रदेशमा थप भारी वर्षाको पूर्वानुमान गरेकाले मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि यो कदम चालिएको जनाएको छ। स्याङ्जा जिल्लासँगको समन्वयमा यो निर्णय लिइएको सूचनामा उल्लेख छ। प्रशासनले अत्यावश्यक अवस्थामा बाहेक सवारी साधन संचालन नगर्न र गर्नैपर्ने भएमा नजिकको सुरक्षा निकायसँग समन्वय गरी मात्र संचालन गर्न सम्बन्धित सबै सरोकारवालालाई अनुरोध गरेको छ। यस्तै जिल्ला प्रशासन कार्यालय कास्कीले घान्द्रुक, लान्द्रुक,सिक्लेस र ताङतिङ जाने सडकमा समेत रातको समय सवारी साधन चलाउन प्रशासनले रोक लागएको छ। बर्षासँग आउने बाढी र पहिरोको जोखिम भएकाले रातीको समय उक्त गन्तव्यमा सवारी चलाउन रोक लगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यो पनि पढ्नुहोस कास्कीको चार सडकखण्डमा सवारी सञ्चालनमा समय निर्धारण
काठमाडौंः मुग्लिङ-नारायणगढ सडक खण्डको तुइनमा भारतीय कारमाथि ढुंगा खसेको छ । आइतबार दिउँसो साढे २ बजे आसपासको समयमा पहराबाट खसेको ढुंगो कारमा बजारिएको हो । सडकमा गुडिरहेको बेला भारतको उत्तर प्रदेश राज्यबाट आएको युपी ८० जीपी २९२८ नम्बरको सेत रंगको कारमा ढुंगो खसेको हो । ठूलो आकारको ढुंगो बजारिँदा कार क्षतिग्रस्त भएको छ भने पछाडि बसेका तीनजना गम्भीर घाइते भएका छन् । उक्त कारमा पाँचजना सवार रहेको खुलेको छ। जसमा पछाडि बसेका तीनजनाको सिटमै ढुंगो बज्रिएको थियो ।
पर्वत: पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दी पहिरोमा पुरिएका दम्पतीको शव भेटिएको छ। छविलाल विश्वकर्मा र उनकी ७६ वर्षीया श्रीमती विष्णुमतिको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गएरातिको पहिरोमा विक दम्पती परेका थिए। गएराति देखि पर्वतलगायत आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। यस क्षेत्रका मोदी, पाती, सेती, मल्याङ्दी, लमाए खोला र कालीगण्डकी जलसतह बढेको छ। स्थानीय प्रशासनले नदी तथा खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ। यो पनि पढ्नुहोस पर्वतको लाङ्दी पहिरो: पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी जारी
पर्वत: पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोमा घर पुरिँदा बेपत्ता भएका दम्पतीमध्ये श्रीमानको शव भेटिएको छ । स्थानीयवासी र सुरक्षाकर्मीले पुरिएको अवस्थामा ७८ वर्षीय छविलाल विश्वकर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो । उहाँले पहिरोमा बेपत्ता भएकी छविलालकी श्रीमती विष्णुमतीको खोजी जारी छ । डिमुवा र कुश्माबाट गएको प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाएर बेपत्ताको खोजी जारी राखेको प्रहरी प्रमुख विष्टले जानकारी दिनुभयो । अत्यधिक वर्षा भएकाले उद्धारमा समेत कठिनाइ भइरहेको उहाँको भनाइ छ । गए रातिदेखि परेको भारी वर्षाका कारण आज बिहान घरमाथि कान्लोबारी खस्दा दम्पती पुरिएका थिए भने उनीहरुकी २८ वर्षीया बुहारी पवित्रा हामफालेर ज्यान जोगाउन सफल भएकी थिइन् । यो पनि पढ्नुहोस पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको हुँदा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार ती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । यसैगरी देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ ।
पर्वत: मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध दम्पती बेपत्ता भएका छन् । आज विहान गएको पहिरामा एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उहाँकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता हुनुभएको हो । उहाँकी बुहारी ३२ वर्षीया पवित्रा भने पहिरो खस्नासाथ हम्फालेर बच्न सफल हुनुभएको मोदी –३ का वडा सदस्य सन्तोष विकले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयले उद्धारकार्य जारी राखेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको र पुगिसकेपछि यथार्थ विवरण आउने जानकारी दिनुभयो । गएरातिदेखि पर्वतलगायत आसपासका क्षेत्रमा भीषण वर्षा भइरहेको छ । यस क्षेत्रका खोला तथा नदीहरूमा समेत बहाव उच्च भइरहेको छ ।