काठमाडौं: काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिर नजिक नुहाउने क्रममा खोलामा फसेका तीर्थयात्रीलाई नेपाली सेनाले उद्धार गरेको छ । सोमबार राति करिब २ः३० बजे सुन्दरीमाई मन्दिर नजिक चार भारतीय र एक नेपाली तीर्थयात्री खोेलामा नुहाउने क्रममा एक्कासी खोलाको बहाव बढ्दा उनीहरु त्यहाँ फसेका थिए । उनीहरुलाई श्री चन्दननाथ गणबाट खटिएको उद्धार टोली, अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा सकुशल उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।
काठमाडौं: उपसभामुख इन्दिरा राना जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमण सम्पन्न गरी हिजो राति स्वदेश फर्कनुभएको छ । चीनको हेनान प्रान्तमा आयोजित कार्यक्रममा सहभागी भएर उपसभामुख राना आइतबार राति ११ः३० बजे स्वदेश फर्कनुभएको हो । उपसभामुख राना साउन ७ गतेदेखि ११ गतेसम्म आयोजित साङ्घाई सहयोगमञ्च, मिडिया र ‘थिङ्क ट्याङ’ शिखर सम्मेलनमा सहभागी हुनुभएको थियो । सो कार्यक्रममा उहाँले “विकासको लागि शान्तिपूर्ण र स्थिर वातावरणको सुरक्षामा नेपालको दृष्टिकोण” विषयमा सम्बोधन गर्नुभएको थियो, भने हेनान प्रान्तका अधिकारीहरूसँग भेटघाट गर्नुका साथै सोही प्रान्तमा अवस्थित झेङझोउ सहरलगायत विभिन्न स्थानको अवलोकन भ्रमणसमेत गर्नुभएको थियो । उपसभामुख राना नेतृत्वको प्रतिनिधि मण्डलमा सङ्घीय संसद् सचिवालयका उपसचिव जगदिश न्यौपानेसमेत सम्मिलित हुनुहुन्छ । उहाँ दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गदै साउन ६ गते त्यस तर्फ प्रस्थान गर्नुभएको थियो ।
गण्डकी: सडक निर्माणका लागि बजेट अपुग भएपछि बागलुङको ताराखोला गाउँपालिका–३ का बासिन्दाले आर्थिक सहयोग अभियान सुरु गरेका छन् । डोप्टा–बराहखोला जोड्ने सडकमा पर्ने चेवटको भिर काटेर मार्ग खोल्न सरकारी बजेटले नपुगेपछि उपभोक्ताले रकम जुटाउन सुरु गरेका हुन् । सडक निर्माणका लागि गत आर्थिक वर्षमा गाउँपालिकाको ३० लाख र गण्डकी प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । समितिले ७५ लाख रुपैयाँमा सडक निर्माणको ठेक्का लगाएको थियो । अपुग रकम जुटाउन सहयोग अभियान सञ्चालन गरिएको सडक निर्माण समितिका अध्यक्ष एवं आर्थिक सङ्कलन समितिका संयोजक खड्गबहादुर नाउसाले बताए । सडक निर्माणमा स्थानीयवासीले श्रमदानसमेत गरेका थिए । ‘३६ लाख रुपैयाँ समितिलाई व्ययभार थपिएपछि आर्थिक सङ्कलन अभियान सुरु गरिएको हो, अहिलेसम्म १५ लाख रुपैयाँ उठिसकेको छ’, उनले भने, ‘सडक निर्माणमा गाउँपालिका र प्रदेश सरकारले पनि सहयोग गर्यो, उपभोक्ताको पनि लगानी परेको छ ।’ अप्ठ्यारो भूगोलका कारण गाउँपालिका र प्रदेश सरकारले दिएको बजेटले मात्र काम सम्पन्न हुन नसकेको उनले बताए । ताराखोलाबाट विदेशमा गएकाहरूबाट पनि सहयोगको प्रतिबद्धता आएको अध्यक्ष नाउसाले बताए । विभिन्न आमा समूह, सङ्घसंस्थालगायतबाट पनि सहयोग प्राप्त भइरहेको उनको भनाइ छ । ग्रामीण सडक निर्माणमा स्थानीय उपभोक्ताहरूबाट श्रमदान र आर्थिक सहयोग जुट्नु सुखद पक्ष रहेको अध्यक्ष नाउसाले बताए ।
रसुवा: नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरु भएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पुर्याएको थियो । चीन सरकारले पुल पुनर्निर्माण थालिनी गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनभयो । उहाँका अनुसार नेपाल–चीनबीच आवतजावत र व्यापारिक कारोबार बन्द भएपछि प्रथम चरणअन्तर्गत चीन सरकारले बेलीब्रिज निर्माण गर्न पनि थालनी गरेको छ । यसका लागि भुइँ सतह मिलाउने सुरु भइसकेको छ । पक्की पुल निर्माणका लागि साविकको स्थानलाई यथावत छाडी दुई मिटर पूर्वतर्फ सारेर पुरातात्विक संरचनालाई कुनै असर नपार्ने गरी बेलीब्रिज निर्माण सुरु भइसकेको प्रजिअ पौडेलले जानकारी दिनुभयो । पुलका लागि चाहिने आवश्यक औजार चिनियाँ पक्षले रसुवागढी ल्याइसकेको जनाइएको छ । चार स्काभेटर उपकरणको सहायताले पुल बनाउने स्थान ल्हेन्देखोलाको भुइँ सतहमा अनियन्त्रित पानीलाई साविक सतहमा लाने काम अगाडि बढाइसकेको छ । बेलीब्रिज निर्माण आगामी भदौ ३० गतेभित्र सम्पन्न गर्ने चिनियाँ समकक्षीबाट जानकारी पाएको पनि प्रजिअ पौडेलले जानकारी दिनुभयो । रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार भवनको निर्माण रोकिएको छ ।
म्याग्दी: म्याग्दी-म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा खसेको सुक्खा पहिरोका कारण आइतबार बिहानदेखि आवतजावत अवरुद्ध भएको हो । पहिरो खसेपछि अवरुद्ध बनेको सडक खुलाउन सडक विभागको उपकरण परिचालन गरेको सप्मा प्रहरी चौकी घाँसाका प्रमुख प्रहरी सहायक निरीक्षक तेजबहादुर कुमालले जानकारी दिए । सडक अवरुद्ध हुँदा मुस्ताङको सिधा यातायात सम्पर्क टुटेको छ । प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा बन्द छ । बाटो अवरुद्ध हुँदा स्थानीयवासीका साथै मुस्ताङ घुम्न जाने र फर्कने पर्यटक प्रभावित भएका छन् । मुस्ताङतर्फ जानेहरू म्याग्दीको काभ्रे र मुस्ताङ हुँदै म्याग्दीतर्फ आउनेहरू घाँसामा रोकिएका छन् ।
पोखरा: गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको प्रभाव र किसानहरूले अपनाएका अनुकुलन रणनीतिसम्बन्धी सहकार्यात्मक अनुसन्धान प्रतिवेदन शनिबार पोखरामा सार्वजनिक गरिएको छ । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित अनुसन्धान समन्वय तथा विकास परिषदअन्तर्गतको अनुसन्धान विभागले वित्तीय सहयोग गरेको परियोजनाको नतिजा सार्वजनिक गोष्ठीमा प्रस्तुत गरिएको हो । अनुसन्धान गण्डकीका पाँच जिल्लाका १ हजार १ सय ५८ घरधुरी र ११ वटा समूहगत छलफलबाट संकलित तथ्यमा आधारित थियो । अनुसन्धान परियोजनाका प्रमुख अनुसन्धानकर्ता (प्रिन्सिपल इन्भेस्टिगेटर) प्राडा विकासकुमार केसीले प्रतिवेदन प्रस्तुत गर्दै गण्डकी प्रदेशमा तापक्रम बृद्धि र वर्षा घट्दो क्रममा रहेको तथ्य प्रस्तुत गरे । गोष्ठीमा जनाइएअनुसार जलवायु परिवर्तनका प्रतिकूल प्रभाव पशुपालनमा प्रत्यक्ष देखिन थालेका छन् । पशु स्वास्थ्य, प्रजनन क्षमता, उत्पादन र आहारको अभाव जस्ता समस्या तीव्र भएको बताइएको छ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय अनुसन्धान विभागका निर्देशक प्राडा किशोर कोइरालाले विश्वविद्यालयमा अनुसन्धानको संस्कृतिको विकास हुँदै गएको उल्लेख गर्दै आज सहकार्यात्मक अनुसन्धानका लागि पर्याप्त बजेट भएकोले प्राध्यापकहरूले ज्ञान निर्माणतर्फ गम्भीर हुनुपर्ने बताए । अनुसन्धान विभागका प्रमुख प्राडा नरेन्द्र खनालले बारम्बारको प्रस्तुति र संशोधनपछि तयार भएको यो प्रतिवेदन नीति निर्माण र कार्यान्वयनमा मार्गदर्शक बन्न सक्ने बताए । गण्डकी विश्वविद्यालयका उपकुलपति प्राडा नवराज देवकोटाले यो अनुसन्धान क्यु वान जर्नल र अन्य ८ वटा प्रतिष्ठित जर्नलहरूमा प्रकाशन भएको जनाउँदै यसको अन्तर्राष्ट्रिय महत्व रहेको बताए । उनले कृषि विकासमा पशुपालनको अनिवार्यता औंल्याउँदै शोधले किसानका समस्यालाई समेटेकोमा प्रशंसा गरे । अनुसन्धान प्रतिवेदनमाथि प्राडा लेखनाथ भट्टराई, प्राडा शोभाकान्त लामिछाने, डा. लिला पुरी, डा. श्रीकान्त शर्मा खतिवडा, डा. कृष्ण पौडेल, डा. शान्त खत्री, डा. रामजी पोखरेल, डा. खगेन्द्र शर्मा, भानु पराजुली, सुरेश रानाभाट लगायतले धारणा राखेका थिए । सहभागीहरूको जिज्ञासालाई जवाफ दिँदै टिम लिडर प्राडा विकासकुमार केसीले आगामी दिनमा थप अनुसन्धान गर्ने प्रतिबद्धता जनाए । परियोजनामा प्राडा विकासकुमार केसीसँगै डा. अनन्तराज ढुंगाना र डा. पूर्णबहादुर खाँडको सक्रिय सहभागिता रहेको थियो ।
रुपन्देही: रुपन्देहीको भैरहवास्थित डण्डा खोलामा डुबेर दुई किशोरको मृत्यु भएको छ । शनिवार साँझ पौडी खेल्न गएका सिद्धार्थनगर–९, भट्टटोल बस्ने चण्डिप्रसाद अर्यालका छोरा १४ वर्षीया प्रज्वल अर्याल र नवलपरासीको बिनय त्रीबेणी गाउँपालिका–६ घर भई हाल सिद्धार्थनगर–७ बस्ने लीलाधर न्यौपानेका छोरा १५ वर्षीया दिनेश न्यौपानेको डुबेर मृत्यु भएको हो । मृतक दुबै किशोर रुपन्देहीको तिलोत्तमा-५ मणिग्रामस्थित शान्ति नमुना मावि मणिग्रामका बिद्यार्थी हुन् । उनीहरुले शान्ति नमुना माविको कक्षा ९ मा अध्ययनरत थिए । भैरहवास्थित पक्लिहवा क्याम्पस पछाडीको डण्डा खोलामा साथीहरुसँगै पौडी खेल्न गएका पाँच जनामध्ये शान्ति नमुना माविको कक्षा ९ मा अध्ययनरत न्यौपाने र अर्यालको डुबेर मृत्यु भएको प्रहरीले पुष्टी गरेको हो । जिल्ला प्रहरी कार्यलय रुपन्देहीका अनुसार बालकहरु पौडी खेल्ने क्रममा हराएको भन्ने सूचनापछि नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले खोजी गर्दै जाँदा डण्डा खोलाको पानीमा डुबेर मृत अवस्थामा उनीहरु फेला परेका थियो । दुवै जनाको शव पोष्टमार्टमका लागी अहिले भैरहवास्थित भीम अस्पतालमा राखिएको र पोष्टमार्टम गरिने रुपन्देही प्रहरी प्रवक्ता डीएसपी गणेश सापकोटाले बताउनुभयो । प्रहरीले मृतक दिनेश र प्रज्जवलसँगै पौडी खेल्न गएका अन्य तीन जनासँग पनि सोधपुछ गरेको जनाएको छ । गहिरो र दलदलयुक्त गहिरो रहमा एकाएक डुवेका दुवै जनालाई सँगै गएका साथीले उद्धार गर्न खोजे पनि नसकेपछि आफूहरु फर्केको प्रहरी अनुसन्धानका क्रममा ती बालकहरुले बताएका थिए ।
कञ्चनपुर: भीमदत्त नगरपालिका–२ स्थित उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष बितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन । विसं २०७५ साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी बालिका पन्तको शव साउन ११ गते घरनजिकैको उखुबारीमा भेटिएको थियो । घटनापछि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन मुलुकभर आन्दोलनसमेत भयो । सरकारले पनि घटनाको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिका साथै राष्ट्रिय मानवअधिकार आयोग र प्रहरीले विभिन्न छुट्टाछुट्टै छानबिन समिति गठन भए । प्रहरीको सबैभन्दा बढी स्रोत साधनको खर्च यसै प्रकरणमा भए पनि हालसम्म प्रहरीले उपलब्धि हात पार्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराले अहिले पनि प्रहरीले निर्मला पन्तको घटना प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । “अनुसन्धानका क्रममा अहिलेसम्म एक सय २४ जनाको डिएन परीक्षण भएको छ भने छ सय ५५ जनालाई कार्यालयमा बोलाएर सोधपुछ भइसकेको छ”, उहाँले भन्नुभयो, “सिआइबीबाट १० टोलीले अनुसन्धान गरिसकेको छ अहिले पनि सिआइबी र प्रहरीले अनुसन्धान जारी राखेको छ ।” घटना भएको एक महिनापछि २०७५ भदौ ४ गते जिल्ला प्रहरी कार्यालयले भीमदत्त नगरपालिका–१९ बागफाटाका दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । अभियुक्त भनिएका विष्ट मानसिक रोगी भएको र प्रहरीले फसाउन खोजेको भन्दै यहाँ आन्दोलनले उग्ररुप लिएको थियो । पछि विष्ट सरकारी वकिलको कार्यालयबाट रिहा भएका थिए ।
पोखरा: गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको ७६ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगबाट लामो समयदेखि ग्रसित रहनुभएको गुरुङको शनिबार बिहान निधन भएको हो । गण्डकी प्रदेशका पूर्व प्रमुख गुरुङको उनको निवास भरतपुरको दिब्यनगरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । तत्कालीन कास्कीको माछापुच्छ्रे गाउँपालिकाको ल्वाङघलेलमा २००६ सालमा जन्मिएका गुरुङलाई २०७८ साउन १२ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखमा नियुक्ति गरेका थिए । गुरुङ नेपाली कांग्रेस विभाजन रहँदा कांग्रेस प्रजातान्त्रिकको सभापति, सुकुम्वासी समस्या आयोग नवल परासीको अध्यक्ष भएका थिए । गुरुङ २०१८ सालमा चितवन आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका हरिप्रसाद गुरुङका भान्जा हुन् । गुरुङका छोरा हाल क्यानडा भएका कारण उनी फर्किएपछि अन्तिम संस्कार गरिने बताइएको छ । छोरा आइतबार बिहान नेपाल आइपुग्ने र त्यसपछि दिउँसो चितवनकै देवघाटमा अन्त्येष्ठि गरिने भएको छ । ।गुरुङका श्रीमती र एक छोरा छन् ।