भरतपुर:  सुक्खा पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।  आज (शनिबार) बिहान इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुइतर्फी अवरुद्ध भएको हो । ...

पोखरा:  प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले मिडियामा आदिवासी जनजातिको समावेशिता आवश्यकता अपरिहार्य रहेको बताए ।   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औं स्थापना दिवसका अवसरमा आयोजना गरिएको फोनिज संवादमा उनले मिडियामा सबै समुदायको प्रतिनिधित्व हुनुपर्ने बताएका हुन् ।  फोनिज गण्डकीको आयोजना र फोनिज कास्कीको सह–आयोजनामा भएको ‘मिडियामा आदिवासी जनजाति समावेशिताको सवाल’ कार्यक्रममा उनले सञ्चार क्षेत्रमा सम्पूर्ण समुदायको सहभागिता र समावेशिता आजको आवश्यकता बताए । आदिवासी जनजातिलाई पत्रकारिताको क्षेत्रमा कसरी टिकाउने भन्ने कुरा सोच्नुपर्ने अवस्था आएको उनको भनाई छ । साथै, समग्र पत्रकारिता क्षेत्र नै जोगाउनुपर्ने अवस्था आएको सम्पूर्ण पत्रकारहरुको क्षमता विकासका कार्यक्रम भइरहनुपर्नेको उनको जोड थियो ।  कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले नेपालमा भएको जातीय सद्भावलाई नियालेर सबै नागरिकले गौरव गर्नुपर्ने बताए । कुनै पनि समुदायका नागरिकलाई राज्यले विभेद गरेको जस्तो अनुभव नभएको उनको भनाई छ ।  ‘राज्यले आदिवासी जनजाति लगायतकालाई विभेद गरेको जस्तो मलाई लाग्दैन,’ उनले भने, ‘पिछडिएको र आफूलाई विभेद भएको जस्तो लाग्छ भने सम्बन्धित स्थानमा आवाज उठाउनुपर्छ ।’ आदिवासी जनजाति समुदायलाई मिडिया क्षेत्रमा क्रियाशील बनाउने विषयमा बहस गर्नु जरुरी रहेको उनको भनाइ थियो ।  फोनिज गण्डकी÷कास्कीका सल्लाहकार हुमबहादुृर गुरुङले कार्यपत्र प्रस्तुत गर्दै राज्यलाई पूर्ण समावेशी नीति निर्माण गर्न र कार्यान्वयनका लागि दवाव सिर्जना गर्नुपर्नेमा जोड दिए ।  मिडियामा समावेशिता नीतिगत रुपमा सकारात्मक तर्फ अग्रसर भएपनि आदिवासी जनजातिले चाहे अनुसार पूर्ण रुपमा समावेशीताको नीतिको भने अभाव रहेको उनको गुनासो छ ।  ‘नेपालमा व्यवस्था परिर्वतन भयो, आदिवासी जनजातिको विषय उठान हुँदै आयो, तर सोचमा परिर्वतन हुन सकेन,’ सल्लाहकार गुरुङले भने, ‘सञ्चारमाध्यमले मौलिकताको प्रचार गर्दै विभेदको अन्त्य र समानतामूलक समाज निर्माणका लागि भूमिका खेल्नुपर्छ ।’  पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव जमुना वर्षा शर्माले आदिवासी जनजाति भन्नासाथ उनीहरुको पोशाक, खानपान र गरिबीलाई मात्र अहिलेसम्म बाहिर ल्याउने कार्य भइरहेको बताइन् ।  उनीहरुको समुदायमा भएका रहनसहन र सकारात्मक विषयलाई मिडियाले उठान गर्न सक्नुपर्ने उनको भनाई छ । यसका साथै महासचिव शर्माले कार्यक्रममा गण्डकी प्रदेश सरकारले कामकाजी भाषाका रुपमा मगर र गुरुङ भाषालाई प्रमाणीकरण गरिसकेको अवस्थामा कार्यान्वयनका लागि फोनिजको भूमिका महत्वपूर्ण हुने उनले बताइन् ।  ‘अहिलेको संविधानले हरेक समुदायको हक अधिकारलाई समावेश गरेको छ ।’ उनले भनिन्, ‘कार्यान्वयनमा कसरी लैजाने भन्ने मात्रै हो ।’ संविधानले दिएको हक अधिकारले गर्दा नेपालमा लोकतन्त्र सफल भएको मान्न सकिने महाासचिव शर्माको भनाई छ ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकी प्रदेशका अध्यक्ष खीमा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, फोनिज गण्डकीका सल्लाहकार मनोज घर्ती मगर लगायतले आदिवासी समुदायका पत्रकारहरुको संरक्षणसँगै क्षमता विकासका लागि नयाँ नयाँ कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए ।        

पोखरा:  पोखरा महानगरपालिकाका विभिन्न स्थानमा आभूषण निर्माण व्यवसाय गर्दै आएका ११ जना भारतीय नागरिकलाई “सुनचाँदीको अवैध कारोबारमा संलग्न” भएको आरोपमा कास्की प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति नेपाल सुनचाँदी रत्न तथा आभुषण महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका महासचिव नीर बहादुर विश्वकर्माले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै गत शुक्रबार व्यवसाय गर्दै आएका ११ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति महासङ्घले  ध्यानाकर्षण भएको जनाएको हो ।  ुपिडित पक्षहरुको निवेदन अनुसार उनीहरु मध्ये अधिकांशले नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई व्यवसाय गर्दै आएको र कतिपयले केवल ज्याला मजदुरी स्वरुप अरुको सुन लिएर कालिगढी गरी गहना निर्माण र ज्याला मजदुरी लिने गरेको बुझिएको छ,ुजारी प्रेस विज्ञप्तिमा भनिएको छ । महासङ्घले यस विषयमा सत्य तथ्य स्पष्ट रूपमा बुझी मात्र दोषी ठहरिएकामाथि कानुनी प्रक्रिया अघि बढाउन र यथार्थ नबुझी हचुवामा व्यवसायी तथा मजदुरलाई दुःख दिने वा झमेलामा पार्ने कार्य रोक्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । साथै, महासङ्घले नेपालको प्रचलित कानुनअनुसार निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।  

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा सिँचाइको स्थायी समाधान खोज्न सरकार दृढ रहेको बताउनुभएको छ ।  मधेस प्रदेशका आठ जिल्लामा ७६ दशमलव ५४ प्रतिशत रोपाइँ भएकामा खुसी व्यक्त गर्दै उहाँले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै तराईमा सिँचाइको स्थायी समाधान खोजिने बताउनुभएको हो । तराईमा आगामी वर्षदेखि आकासे वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउने सरकारको सङ्कल्प रहेको बताउनुभएको छ ।  वर्षासँगै सुक्खाले सङ्कटग्रस्त मधेस प्रदेशमा रोपाइँ सुरु भएकामा प्रशन्न हुनुभएका प्रधानमान्त्री ओलीले धेरै महिला सहभागी भएर रोपाइँ गरेको तस्बिरसहित देश र जनतालाई अभिवादन गर्दै “यस वर्षको खडेरीले अन्नको भण्डार मानिने हाम्रो तराईका खेतमा धाँजा परेर रोपाइँ गर्नै नसक्ने अवस्था आयो ।  जहाँ रोपाइँ भयो, त्यहाँ पानीको अभावले रोपो मर्न थालेको थियो । किसानका पीर, पसिना र सपना माटोमै सुक्न लागेकाबेला म केही समयअघि तराई गएको थिएँ र सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गर्दै राहत र सहयोगको विशेष निर्णय गरेको थियो”, भन्नुभएको छ । आगामी वर्षदेखि आकासे वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउने सरकारको सङ्कल्प रहेको र अब त्यो दिन धेरै टाढा नभएको उहाँले बताउनुभएको छ । किसानको मुस्कान, जमिनमा हरियालीको सुगन्ध र समाजको खाद्यान्न भविष्यलाई देशको र वर्तमान सरकारको लक्ष्य भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सबै किसानलाई अभिवादन गर्नुभएको छ । “तत्कालका लागि ५०० वटा डिपबोरिङ जडानको काम सुरु गरिएको थियो, र दीर्घकालीन समाधानका लागि सुनकोशी–मरिन डाइभर्सनको काम अघि बढाइरहेको छ । पछिल्लो साता हामीलाई प्रकृतिले साथ दिएको छ । वर्षाले फेरि हरियाली फर्काउन थालेको छ ।  यही साउन २३ गतेसम्म मधेस प्रदेशका आठ जिल्लामा ७६ दशमलव ५४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ, र केही दिनमै सम्पूर्ण खेतबारीमा हरियो सपना लहराउनेछ भन्ने आशा छ”, प्रधानमन्त्रीले भन्नुभएको छ । 

विराटनगर:  नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित नारायण राजवंशीकी आमा सरलाको आइतबार निधन भएको छ। सरलाको आइतबार बिहान विराटनगरस्थित निवासमै निधन भएको हो । ६३ वर्षीया उनी केही समयदेखि मुटुको रोगकी बिरामी रहँदै आएकी थिइन् । उनको स्वास्थ्य अवस्था केही सातादेखि नाजुक बनेको थियो। आमाको निधनको खबर पाएलगत्तै काठमाडौंमा रहेका क्रिकेटर ललित विराटनगर आइपुगेका छन्। अहिले विराटनगर महानगरापालिका–१४ स्थित उनको परिवारका सदस्य, आफन्त र छिमेकीहरू जम्मा भएकाछन् । आमाको निधनको खबर पाएपछि उनले भावुक हुँदै इन्स्टाग्राममा एउटा पोस्ट लेखेका छन् । ललित शुभो राजवंशीका तीन छोरा र एक छोरीमध्ये कान्छा हुन्। क्रिकेट संघ अफ नेपाल (क्यान) ले एक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। सरला राजवंशी आफ्नो जीवनकालमा सामाजिक तथा धार्मिक कार्यमा सक्रिय रहँदै आएकी थिइन्। उनी श्रीमान्, दुई छोराछोरी र नातिनातिनीसहितको परिवारसँग थिइन् ।

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ ।  आइतबार बिहान प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतलनिवास पुग्नुभएको हो ।   राष्ट्रपति र प्रधानमन्त्रीबिचको भेटवार्ता नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

धनुषा:  जनकपुरधाम उपमहानगरपालिका–९ ब्रह्मपुरीस्थित थापा चोक नजिक आइतबार बिहान रेल र एक कार एकापसमा ठोक्किँदा दुर्घटना भएको छ । बागमती प्रदेश०१–०२५च १२९० नम्बरको कार बिहान ८ः३० बजे महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेलसँग ठोक्किएको हो । दुर्घटना रेलमार्ग नजिकैको ‘क्रसिङ एरिया’मा भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बरुणबहादुर सिंहले जानकारी दिनुभयो ।   स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार रेलले कारलाई ठक्कर दिँदा ठूलो आवाज आएको थियो । कारमा तीन जना सवार थिए । उनीहरुलाई सामान्य चोटपटक लागेको छ भने कारमा ठूलो क्षति पुगेको छ  । दुर्घटनापछि केही समय रेल सेवा अवरुद्ध भएको जनाइएको छभने सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहले जानकारी दिनुभयो । 

रामेछाप: रामेछापको मन्थलीबाट हेटौँडातर्फ जाँदै गरेको बा१३ च ३९३५ नम्बरको सवारी साधान (पिकअप स्कारपियो) गाडी मन्थली नगरपालिका–६ बोक्से पहरो भन्ने ठाउँमा दुर्घटना हुँदा ४० वर्षीया राधा कार्की चौहानको घटनास्थमै मृत्यु भएको छ । उनी मन्थली नगरपालिकाकी स्वास्थ्यकर्मी रहेको बताइएको छ । स्कारपियो’का चालक एव उनीका पति ४५ वर्षीय उत्तम चौहान घाइते भएका छन् । घाइतेलाई मन्थली सामुदायिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कौशल न्यौपानेले बताउनुभयो । उहाँका अनुसार गाडी सडकबाट करिब एक सय मिटर तल खसेर तामाकोशी नदी किनारमा पुगेको थियो ।  मन्थली –७ मा रहेको सहरी स्वास्थ्य केन्द्र बडिमुहानकी इन्चार्जसमेत रहनुभएकी राधा र विद्युत् प्राधिकरण मन्थली शाखामा कार्यरत उत्तम  हेटौँडामा अध्ययनरत रहेका छोरालाई भेट्न आज बिहान हेटौँडा जाँदै गरेका बताइएको छ । 

काठमाडौं:  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आआफ्नो घरका दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद ९राजदरबार० भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ । विकृतिका विरुद्ध हास्यव्यङ्ग्यका रुपमा गाईजात्रा पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै २०१७ पुस १ गतेको शाही ‘कू’पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रूपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो । हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउँछ । जात्राका क्रममा पाटनमा देखाइने सत्ययुगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ । गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरालगायत नेवार समुदायका नागरिकको विशेष उपस्थिति रहेको सहरमा धुमधामका साथ मनाइन्छ । यस अवसरमा हाँस्य कलाकारहरुले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् । सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

काठमाडौं:   मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही र मधेश प्रदेशलगायत देशका अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशको पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना  छ । त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ । मधेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।