पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ घान्द्रुकस्थित रोधी क्लब घान्द्रुकको अध्यक्षमा लक्षिण गुरुङ सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न भएको रोधीं क्लबको १७ औं साधारण सभा तथा चौथो अधिवेशनबाट लक्षिण गुरुङका अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरेको हो । क्लबको वरिष्ठ उपाध्यक्षमा अमृत गुरुङ लामा, उपाध्यक्षमा रुक्सा गुरुङ (मिना), सचिवमा अर्जुन क्षेत्री, सहसचिवमा गोकुल पौडेल र कोषाध्यक्षमा सन्तोष क्षेत्री चयन भए । यस्तै क्लबको सदस्यहरुमा कृष्ण बहादुर गुरुङ, ईश्वर गुरुङ, कृष्णा सुनार, मनबहादुर क्षेत्री चयन भए । नवनिर्वाचित अध्यक्ष लक्षिण गुरुङले घान्द्रुकको विकास, खेलकुद, शिक्षा, पर्यटनसँगै संस्कृति संरक्षणमा विशेष ध्यान दिने बताए । ‘घान्द्रुकको विकासमा जनप्रतिनिधि र क्लबले सहकार्य गर्दै अगाडि बढ्ने छौं, नवनिर्वाचित अध्यक्ष गुरुङले भने, ‘कल्चर र नेचरमा धनी घान्द्रुकको विकाससँगै खेलकुद, शिक्षा, पर्यटनसँगै संस्कृति संरक्षणमा विशृष ध्यान दिने गरी काम गछौं ।’
धनगढी: कैलाली कारागारमा हिजो राति भएको भीषण झडपमा एक जनाको मृत्यु र ४७ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र एक जनाको आइसीयुमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। घटनापछि आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा बनेको समितिमा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंह, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य छन्। समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार ‘उपयुक्त विधि अपनाई के कसो भएको हो आवश्यक छानबिन गरी प्रतिवेदन पेस गर्न’ भनिएको छ। घटनाको कारणबारे आधिकारिक रूपमा केही सार्वजनिक गरिएको छैन तर प्रारम्भिक जानकारी अनुसार कैदीबन्दीबीचको विवादले झडपको रूप लिएको अनुमान गरिएको छ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता हुनुभएको छ । तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ आज उहाँ नेतृत्वको टोली स्वदेश फर्केको हो । प्रधानमन्त्री ओलीलाई तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८ः३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री ले बिदाइ गर्नुभएको थियो । प्रधानमन्त्री ओली दुबई हुँदै आज राति नेपाल आइपुग्नुभयो । प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी श्रीमती राधिका शाक्य, उहाँका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्री तथा उच्च सरकारी अधिकारीहरू सहभागी हुनुहुन्थ्यो।
काठमाडौं: प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । तागाधारीले यज्ञोपवीत धारण गर्दै आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै ९यज्ञोपवीत० फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै ९यज्ञोपवीत० फेरिन्छ । अरुन्धती सहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवम् तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो । वैदिक गुरु परम्परा अनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो समेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवम् नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक लगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । क्वाँटीको परम्परा जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवम् आयुर्वेद शास्त्रीय मान्यता छ । विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहु्न्छ । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उहाँले सुनाउनुभयो । तराई क्षेत्रमा राखी बाँधिदै नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदी बहिनी र दाजुभाइकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । अहिले यो परम्परा पहाडी क्षेत्रमा बढ्न थालेको छ । काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमा दिन आज बिहानैदेखि मेला लाग्ने गर्छ ।
पोखरा: पोखरा महानगरपालिका भरिकै ज्येष्ठ नागरिक नगर पिता नन्दलाल दाहालको १०६ वषर्को उमेरमा आज (शुक्रबार) बिहान निधन भएको छ । विगत २० वर्षदेखि पोखरा महानगरपालिका वडा नं १७ सीतापाईला स्थित पोखरा वृद्धाश्रममा आश्रित दाहालको १०६ वर्षको उमेरमा आज बिहान १०.३० बजे वृद्धाश्रममा नै निधन भएको पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिनुभयो । उहाँको आजै पोखराको दोविल्ला घाटमा अन्त्यष्टि गरिएको छ । दाहाललाई गत वर्ष पोखरा महानगरपालिकाले ज्येष्ठ नगर पिताको रुपमा सम्मान गरेको थियो । कास्कीको माछापुच्छ«े गाउँपालिका लाहाचोकमा जन्मनुभएका दाहाल सानै उमेरदेखि बेसहारा अवस्थामा पोखरा महानगरपालिका वडा नं २१ निर्मल पोखरीस्थित अशोक र भरत रायमाझीको परिवारको संरक्षणमा बस्दै आउनुभएकोमा पछिल्लो २० वर्ष यता रायमाझी परिवारकै सहयोगमा दाहाल पोखरा वृद्धाश्रममा बस्दै आउनुभएको अशोक रायमाझीले जानकारी दिनुभयो । अध्यक्ष पराजुलीका अनुसार दाहाल पछिल्लो पाँच दिनदेखि उहाँको स्वास्थ्य अवस्था अत्यन्त कमजोर भएको थियो ।
पोखरा: नेपाल प्रेस युनियन कास्कीले सयदिने सदस्यता विरतण अभियान आजदेखि सुरु गरेको छ । नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालको प्रमुख आतिथ्यतामा कास्कीमा आजदेखि सदस्यता विरतण अभियान सुरु भएको हो । प्रेस युनियनले सदस्यता विरतण अभियान पुरानो सदस्यता व्यवस्थित गर्न र नयाँ क्रियाशील सञ्चारकर्मीहरुलाई सदस्यता दिलाउन सहयोग पु¥याउने उद्धेश्यसहित अभियान लिएको छ । साउन १५ देखि कात्तिक २१ गतेसम्म सदस्यता अभियान सञ्चालन गरिरहेको प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले बताए । ‘प्रेस युनियनले अहिले सदस्यता विशेष अभियान सुरु गरेको छ, युनियनले यसकारण अभियान सुरु गरेको छ कि नेपाल प्रेससँग आवद्ध हुन चाहने नयाँ साथीहरुलाई जोड्न अभियान सुरु गरेका छौं, अध्यक्ष लम्सालले भने, ‘यो संस्थामा रहेर निरन्तर लामो समयसम्म काम गरेर संस्थाप्रति इमान्दारिताका साथ उहाँहरुले दिएको योगदान सम्मान गर्ने पनि अभियानसँग जोडेका छौं ।’ अध्यक्ष लम्सालले प्रेस युनियनले कसैलाई अठ्यारो पार्ने गरी शुद्धीकरण अभियानसमेत सञ्चालन नगरेको बताए । ‘सय दिने अभियान पत्रकार महासंघको शुद्धिकरण भनेजस्तै अठ्यारो नपर्ने गरी नेपालका पत्रकारहरुले यो संगठनमा बसेर काम गर्न सक्ने वातावरण बनाउनका निम्ति अभियान सुरु गरेका हौं’, उनले भने, ‘यसमा हामीले ठ्याक्कै शुद्धिकरण शब्दमा किन भनेनौ किनभने, विगतमा पत्रकार महासंघको शुद्धीकरणले अपठ्यारो पा¥यो, तर हामी त्यो अपठ्यारोहरु नगरीकन हामी कसैले नरोक्ने, कसैले नछेक्ने स्वतः स्फुत रुपमा पत्रकारिता जोडिने साथीहरुसँगै जान यो अभियान सुरु गरेका छौ ।’ उनले कात्तिक २१ गतेसम्म सञ्चालन हुने सदस्यता अभियानको क्रममा प्रेस युनियन छोडे, पत्रकारिता छोडे पार्टीमा लागे भन्ने सदस्यहरुलाई व्यवस्थित गर्न सय दिने अभियान सञ्चालन गरेको स्पष्ट पारे । सदस्यता अभियानसँगै मंसिर दोस्रो हप्तासम्म विधान सभासमेत गर्ने प्रेस युनियनले तयारी गरेको छ । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष बासु मिश्रले सदस्यता अभियानलाई व्यवस्थित र प्रभावकारी बनाएर लैजाने बताए । अभियानका क्रममा कास्कीमा क्रियाशिल पत्रकार विमल तिवारी, सागर ढकाल, भानु पाण्डे, विनोद पहारी, रिदेस सुनार र सुजन पौडेललाई नयाँ सदस्यता वितरण गरिएको छ । यस्तै पत्रकार विमल तिवारी भने रुपन्देहीबाट सदस्यता कास्कीमा स्थानान्तरण गरेका हुन् । प्रेस युनियन कास्कीले सदस्यता वितरण अभियानलाई समेत तिव्रता दिएको छ ।
रामेछाप: नेपाली सेनाले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटस्थित सुनकोसीको बेलिब्रिज मर्मत सुरु गरेको छ । गत कात्तिकमा निर्माण गरिएको बेलिब्रिजमा प्रयोग भएका केही नटबोल्ट खुस्किएर जोखिम बढेपछि मर्मतका लागि सेनाको प्राविधिक टोली परिचालन गरिएको हो । महोत्तरीको बर्दिबासस्थित सेनाको प्राविधिक टोलीले बिहीबारदेखि बेलिब्रिज मर्मत थालेका हुन् । गत असोज १२ गते सुनकोसी नदीमा आएको बाढीले खुर्कोटको रामेछापतर्फको ५० मिटर स्पान (आधा पुल) बगाएको थियो । पुल बगाएपछि सडक विभाग, नेपाल विद्युत् प्राधिकरण र नेपाली सेनाको सक्रियतामा उक्त बेलिब्रिज जडान गरिएको थियो । यातायातका साधनको चाप बढेसँगै बेलिब्रिज हल्लिन थालेको, केही लच्केको र नटबोल्ट खुस्किएर बिछ्याइएका पाताहरू खुकुलो हुन थालेपछि जोखिम बढेको थियो । यस पुलबाट अधिकतम १५ टनभन्दा बढी भार बोकेका सवारी साधन सञ्चालन हुन नमिल्ने बताइए पनि बढी तौलका साधन पुलबाट वारपार गर्ने गरको छ । दुई दिनभित्र बेलिब्रिज मर्मत गरिसक्ने प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
बाजुरा: बाजुराको बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा एक जना तीर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–५ काठमाडौंका ५२ वर्षीय विप्लव ओझा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए । हवारीका अनुसार बडीमालिका दर्शन गरेर बिहीबार साँझ नाटेश्वरी आउने क्रममा विस्नेपानी नजिकै भीरबाट लडेका ओझा खोल्सामा मृत भेटिएका हुन् । राति अबेर घटना घटेकाले खोल्सामा अड्किएको शव झिक्न नसकिएको प्रनाउ हवारीले बताए । लगातार वर्षा भइरहेकाले शवलाई खोलाबाट माथि ल्याउन समस्या भएको छ । उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर ल्याउने तयारी गरिए पनि खराब मौसमका कारण सम्भव नभएको प्रहरीले जनाएको छ ।
काठमाडौं: तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कँदै हुनुहुन्छ । उहाँ तुर्कमनेबासी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८ः३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री रहसित मेरेडोभले बिदाइ गर्नुभयो । प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११ः५ बजे नेपाल आइपुग्नुहुने कार्यक्रम रहेको छ ।