म्याग्दीः म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा करिब नौ सय घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका विभिन्न ठाउँमा आठ सय ७४ उपभोक्ता थपिएका जनाएको छ । केन्द्रका प्रमुख सत्यनारायण गामीले एक वर्षयता मालिका गाउँपालिका–३ पात्ले, लुप्सीपार, घ्याङलेपानी, वडा नं ४ को चिउरीबोट, धवलागिरि गाउँपालिकाको बुल र मलम्पारमा विद्युतीकरण भएको जानकारी दिनुभयो । उहाँका अनुसार धवलागिरि गाउँपालिका–२ लुलाङ, लमसुङ, खोरिया, मरेनी, वडा नं ५ को मल्कवाङ, मालिका गाउँपालिका–४ को महभिर, ५ को पन्थोक र जुग्जामा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ । पोल गाड्ने, तार तान्ने र ट्रान्सफर्मर जडान भइसकेका ठाउँका उपभोक्ताले मिटर जडान गरेपछि विद्युतीकरणले पूर्णता पाउने उहाँले बताउनुभयो । गत वर्ष अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल पुनहिलमा विद्युतीकरण र घोडेपानीको वितरण लाइनको सुधार भएको थियो । एक सय ३२ केभी क्षमताको मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन र रातोढुङ्गा सबस्टेशनबाट मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा गत वर्षदेखि विद्युत् आपूर्ति गराउन थालिएको छ । उज्यालोका लागि सोलार, मट्टितेलको टुकी, दियालो र सिट्ठामा निर्भर स्थानीयवासीमा बिजुली बलेपछि खुसीयाली छाएको धवलागिरि गाउँपालिका–६ का वडाध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । घरायसी काम, विद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम व्यवसाय सञ्चालन गर्ने अवसर सृजना भएको छ । यस वर्ष थपिएका सहित म्याग्दी वितरण केन्द्रअन्तर्गत २३ हजार ८६९ विद्युत्का ग्राहक पुगेका केन्द्रका सूचना अधिकारी प्रकाश झाले बताउनुभयो । आव २०८०/८१ मा एक हजार ४३८, २०७९/८० मा एक हजार २३८, २०७८र७९ मा सात सय ७० घरमा नयाँ लाइन जडान भएको प्राधिकरणको तथ्याङ्क छ । पर्वतको जलजला गाउँपालिकाको मल्लाज, वारीबेनी क्षेत्रमा पनि म्याग्दी वितरण केन्द्रअन्तर्गतको मिलनचोक सबस्टेशनमार्फत विद्युत् वितरण हुँदै आएको छ । म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि प्राधिकरणले आव २०८०/८१ देखि रु २२ करोड बजेटको योजना सञ्चालन गरेको छ । गत आवमा म्याग्दी वितरण केन्द्रमार्फत एक करोड ७३ लाख ९५ हजार ७९७ दशमलव ७१ युनिट विद्युत् खपत हुँदा रु २० करोड ३३ लाख ६३ हजार ३८१ महसुल सङ्कलन भएको छ । समयमा महसुल नबुझाउने एक सय ४५ जना ग्राहकको लाइन काटेर रु १३ लाख ४५ हजार ४०७ बक्यौता असुल गरिएको छ । साठी दिनसम्म महसुल नतिर्नेको लाइन काट्ने र छ महिनासम्म महसुल नबुझाउनेलाई कालोसूचीमा राखिने प्राधिकरणले जनाएको छ । कालोसूचीमा परेका एक जनाबाट रु ७७ हजार महसुल उठाएको र थप ११ जनाबाट रु दुई लाख ७८ हजार ९०४ उठाउन बाँकी रहेको वितरण केन्द्रका लेखा प्रमुख श्याम रानाले बताउनुभयो ।
पर्वत: लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाब उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो । आइतबार बिहान यस वर्षयताकै उच्च विन्दुमा नदीको सतह पुगेको कालीगण्डकी नदीमा पानीको बहाब उच्च भएको गेजरिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँले बिहानदेखि नदीको सतहदेखि छ मिटर ४० सेन्टिमिटरको उचाइमा बहाब भइरहेको बताउनुभयो । यो यस वर्षकै सबैभन्दा बढी मापन हो । यसअघि आज विहान सात दशमलब ४० मिटरको विन्दुसम्म पुगेको थियो । वर्षा रोकिएकाले बहाब घट्दै जाने सम्भावना रहेको उहाँले बताउनुभयो । कालीगण्डकी नदीको बहाब बढेपछि तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन् । पर्वतको जलजला गाउँपालिकाको बगरफाँट, वारीबेनी, मिलनचोक, लस्ती, खनियाँघाट, कुश्मा नगरपालिकाको मालढुङ्गा, नयाँपुल, मोदीवेणी, फलेवास नगरपालिकाको जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीवेणीबजार उच्च जोखिममा परेका हुन् । बहाबले पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित विश्वकै ठूलो शालिग्राम शिलासमेत डुबानमा परेको छ । शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितसमेत चिन्तित बनेका छन् । प्रवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायतका सबै संरचना डुबाएको तिलक पराजुलीले जानकारी दिनुभयो । शिला संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबियन समेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधार पनि पूर्ण रूपमा क्षति पुगेको उहाँले बताउनुभयो । कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीवेणीबजार डुबानको खतरामा पर्ने गरेको हो । बाँधका सबै ढोका भने खोलिएका छन् । कालीगण्डकी र सेतीखोलाको बहाब बढेसँगै सेतीवेणीबजार डुबानमा पर्ने चिन्ताले पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जातर्फको बजार क्षेत्रका झण्डै दुई सय व्यापारी तथा सर्वसाधरण जोखिममा परेका छन् । विगत १६ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित बनेका थिए । विसं २०६६ असोज २१ मा बजार क्षेत्र नै डुबानमा परेको घटनाले उनीहरूमा सधैँभर त्रास थप्ने गरेको स्थानीय व्यावसायी विष्णु न्यौपानेले बताउनुभयो । उहाँले विश्वकै ठूलो शालिग्राम शिला डुबेको तर बजारसम्म भने आइनसकेको जानकारी दिनुभयो ।
काठमाडौं: उदयपुरको त्रियुगा गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनाले सावधानी अपनाउनसमेत विभागले आग्रह गरेको छ । यसैगरी, पर्वत जिल्लास्थित कालीगण्डकी नदी, मोदी बेनी जलमापन केन्द्रमा जलसतह तह सतर्कता तह आसपास रहेको तथा बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको विभागले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशीलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका तराई भूभागका धेरै स्थान तथा बाँकी पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेसलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
काठमाडौं: देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण जलसतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । भक्तपुरको हनुमन्ते खोला कौशलटार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा छ । नदी तटीय क्षेत्रमा रहेका र नदी किनार भई यात्रा गर्नेहरूले बिहानसम्म सावधानी अपनाउनु जरुरी छ । रुकुमपश्चिमको ठूलो भेरी, रिम्ना जलमापन केन्द्रको जलसतह सतर्कता आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा रहेकाले बिहानसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । यस्तै, म्याग्दी जिल्लास्थित म्याग्दी खोला, मङ्गलाघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गर्ने क्रममा रहेकाले नदी तटीय क्षेत्र, कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन विभागले मध्यरातमा सूचना जारी गर्दै आम जानकारी गराएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ । आइतबार दिउँसो देशभर साधरणतया बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी तराई भूभागका धेरै स्थानहरूमा तथा पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति ११:५५ बजे फ्लाई दुबईको उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान भ्रमणमा जानुहुँदैछ । यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ जान लाग्नुभएको हो । सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्षका रूपमा समेत प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । उहाँले सम्मेलनको एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल हाल एलएलडिसीहरूको अध्यक्षसमेत रहेको छ । लगभग ४४ करोड जनसङ्ख्या भएको अफ्रिका, एसिया, युरोप र दक्षिण अमेरिकामा अवस्थित ३२ भूपरिवेष्टित विकासशील देशहरूले भाग लिने उक्त सम्मेलनमा समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँचको अभाव र विश्व बजारबाट तिनीहरूको दुर्गमता र अलगावसँग सम्बन्धित विषयमा छलफल हुनेछ । ती मुलुकहरुको अन्तरराष्ट्रिय व्यापार अन्य देश हुँदै पारवहनमा निर्भर रहने हुनाले अतिरिक्त सीमापार गर्ने ठाउँ र प्रमुख बजारबाट लामो दूरी, बोझिलो पारवहन प्रक्रिया र अपर्याप्त पूर्वाधारसँगै यातायात तथा अन्य लेनदेन लागतको कुल लागतमा उल्लेखनीय वृद्धि गर्ने भएकाले भूपरिवेष्टित विकासशील देशहरूको प्रतिस्पर्धात्मक क्षमता बढाउन सम्मेलन केन्द्रित हुनेछ । सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीसँग भेटवार्ता गर्नुहुनेछ । उहाँको भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर थापा क्षेत्री, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा डा दिव्यासिंह शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, उच्चपदस्थ सरकारी अधिकारी, अफिसियल मिडियाकर्मी र सुरक्षाकर्मीसमेत सहभागी हुनुहुनेछ । प्रधानमन्त्री ओली यही साउन २३ गते राति स्वदेश फर्कने कार्यक्रम छ । भूपरिवेष्टित विकासशील देशहरू समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँच नभएका कारण अन्तरराष्ट्रिय व्यापार, कनेक्टिभिटी र आर्थिक विकाससँग सङ्घर्ष गरिरहेका छन् । विश्वव्यापी बजारबाट अलग्गिएको र पर्याप्त यातायात तथा खाद्य पूर्वाधार विकास गर्ने साधनबिना, भूपरिवेष्टित विकासशील देशहरूले दिगो विकास लक्ष्यहरू प्राप्त गर्न गम्भीर चुनौतीको सामना गरिहेको सन्दर्भमा यो तेस्रो सम्मेलन हुनलागेको हो । सम्मेलनले समस्याका लागि नवीन समाधान, रणनीतिक साझेदारी र बढ्दो लगानीले यी चुनौतीलाई सम्बोधन गर्न र यी राष्ट्रहरूको पूर्ण क्षमतालाई आकलन गर्न मद्दत गर्ने ठानिएको छ । सम्मेलनले यी देशहरूलाई सहयोग गरेर आपसी समान र समृद्ध भविष्य निर्माण गर्न टेवा दिनेछ । भूपरिवेष्टित विकासशील देशहरूसम्बन्धी दोस्रो संयुक्त राष्ट्र सम्मेलन सन् २०१४ नोभेम्बर ३–५ मा अस्ट्रियाको भियनामा आयोजना गरिएको थियो । उक्त सम्मेलनले ‘अल्माटी’ कार्ययोजनाको कार्यान्वयनको समीक्षा गर्दै नयाँ र उदीयमान चुनौतीको सामनाका लागि साझेदारी तथा अवसरका सन्दर्भमा अन्तरराष्ट्रिय, क्षेत्रीय, उपक्षेत्रीय र राष्ट्रिय अन्तरराष्ट्रिय व्यापार तथा पारवहन यातायात सहयोग नीतिहरू पहिचान गर्नु र पारवहन यातायात प्रणालीहरूको विषयमा छलफल गरेको थियो । भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो शनिवार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भेट गर्दै आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे अवगत गराउनुभएको छ ।
पोखरा: नेपाल हिमालय र पदयात्राका लागि मात्र नभई, योग, ध्यान तथा पूर्वीय दर्शनका अभ्यासहरूबाट मानसिक शान्ति खोज्ने अन्तर्राष्ट्रिय पर्यटकका लागि समेत एक प्रमुख आध्यात्मिक गन्तव्य बन्दै गएको एक अध्ययनले देखाएको छ। पोखराको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर अन्तर्गतको समाज विज्ञान केन्द्रले शनिबार आयोजना गरेको ‘कचहरी’ शृंखलामा पोखरा विश्वविद्यालयका उपप्राध्यापक डा। रामप्रसाद अर्यालले प्रस्तुत गरेको अनुसन्धान प्रतिवेदनले उक्त निष्कर्ष निकालेको हो। प्रतिवेदनअनुसार, सन् १९९७ मा तीर्थयात्राका लागि ४,०६८ विदेशी पर्यटक नेपाल आएकोमा सन् २०१७ मा यो संख्या ३५ गुणाले बढेर १ लाख ४१ हजार ३३ पुगेको थियो। डा। अर्यालले नेपालको आध्यात्मिक आकर्षण तीव्र गतिमा बढिरहेको बताउँदै यो केवल संयोग नभएर एक स्थापित प्रवृत्ति भएको उल्लेख गरे। डा। अर्यालले आफ्नो अध्ययनका क्रममा भेटिएका पर्यटकहरूको अनुभव उद्धृत गर्दै भने, ‘उनीहरू नेपालको भूमिमा एक विशेष आध्यात्मिक स्पन्दन र ऊर्जा महसुस गर्छन्, जुन अन्य भौतिकवादी देशहरूमा पाइँदैन।’ प्रतिवेदनमा पोर्चुगलका २३ वर्षीय कार्लोसले रेकी सिक्न पोखरा आएको, बेल्जियमका २८ वर्षीय दानले पूर्वीय दर्शनमा गहन सत्य पाएको र नेदरल्यान्डका ५४ वर्षीय रामदासले नेपाललाई ‘भगवानको भूमि’ को संज्ञा दिएको जस्ता अनुभव समेटिएका छन्। अध्ययनले योग, ध्यान, भजन र कीर्तन जस्ता अभ्यासले धर्मको परिधिभन्दा बाहिर रहेर पनि मानिसको मानसिक सन्तुलन र जीवन सन्तुष्टिमा उल्लेखनीय सुधार ल्याएको देखाएको छ। डा। अर्यालका अनुसार, उनको अध्ययन विश्व स्वास्थ्य संगठनले प्रस्ताव गरेको अवधारणात्मक ढाँचामा आधारित छ, जसले आध्यात्मिक अभ्यासको स्वास्थ्य र समग्र जीवनमा पर्ने असरलाई जोड दिन्छ। कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभाकी पूर्व सदस्य डा। पुष्पा केसीले आधुनिक जीवनको तनाव व्यवस्थापनका लागि आध्यात्मिक केन्द्रहरू महत्त्वपूर्ण हुने बताइन्। उनले भनिन्, ‘हाम्रा आस्थाका केन्द्रहरूले अब स्वदेशी र विदेशी दुवैका लागि शान्तिको मलम लगाउनुपर्छ।’ जनप्रिय क्याम्पसका उपप्राध्यापक दीपेन्द्र पहारीले पूर्वीय दर्शनको शक्तिले नै विदेशीहरूलाई मानसिक सन्तुष्टि खोज्दै नेपालसम्म ल्याएको बताए। पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले करिब १२ प्रतिशत पर्यटक धार्मिक उद्देश्यले आउने गरेको तथ्यांक प्रस्तुत गर्दै भौतिकवादी विकासबाट आजित मानिसहरू पुनर्ताजगीका लागि यता आउने गरेको उल्लेख गरे। नीति तथा योजना आयोग गण्डकीका पूर्व उपाध्यक्ष डा. श्रीकान्त खतिवडाले पर्यटनको सबैभन्दा पुरानो विधा ‘तीर्थाटन’ भएको स्मरण गराउँदै भने, ‘हामी धार्मिक रूपले सम्पन्न भूगोलमा छौँ तर यसको सदुपयोगमा चुकिरहेका छौँ।’ यसैगरी, डा. रामजी शर्माले ‘वेलनेस टुरिजम’को बढ्दो महत्वबारे चर्चा गरे भने योगगुरु तीर्थप्रकाशले नेपालले शान्ति र आनन्दको केन्द्रका रूपमा अन्तर्राष्ट्रिय पहिचान बनाएको बताए। खगराज आचार्यले मनको शान्तिका लागि नेपाल आउने पर्यटकलाई उपयुक्त वातावरण बनाउनुपर्नेमा जोड दिए। खुला छलफलमा घनश्याम पौडेल, लक्ष्मण शर्मा, खेमराज जोशी, शान्ता पन्त भट्ट, रामप्रसाद गौतम र गणेश शर्माले पनि आ-आफ्नो धारणा राखेका थिए। कार्यक्रमको अन्त्यमा लेकसिटी कलेजका अध्यक्ष प्रा.डा. विश्वकल्याण पराजुलीले मानसिक र शारीरिक सन्तुष्टिका लागि आध्यात्मिक पर्यटन अपरिहार्य रहेको बताए। कलेजका संस्थापक उपेन्द्रप्रसाद पौडेलले अनुसन्धानमा लगानी अत्यन्तै कम भएको बताउँदै नेपालले आफ्ना पर्यटकीय उत्पादनलाई प्रभावकारी रूपमा बेच्न नसकेकोतर्फ सरोकारवालाको ध्यानाकर्षण गराए। सो अवसरमा कलेजका उपप्राध्यापक अनिश पौडेलले लेकसिटी कलेजमा मानविकी अन्तर्गत सामाजिक कार्य ९बिएसडब्लु० र व्यवस्थापन अन्तर्गत पत्रकारितासहितको बिबिएस कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिए। बिएसडब्लु चौथो वर्षमा अध्ययनरत सुयशा पुनले सञ्चालन गरेको कार्यक्रमको समापन तेस्रो वर्षकी विद्यार्थी प्रतिमा पौडेलले गरेकी थिइन्।
पोखरा: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले शनिबार पोखरामा रिसाइक्लिङ तथा अपसाइक्लिङ (आरयू) फेस्टको अवलोकन गरेकी छन् । मन्त्री नियुक्त भएपछि पहिलोपल्ट पोखरा आएकी उनले पोखरा इभेन्ट सेन्टरमा पुगेर फेस्टको अवलोकन गरेकी हुन् । उनलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, कोइका र यूएनडीपीका प्रतिनिधिले स्वागत गरे । फेस्टमा उनले पुराना र खेर गएका प्लास्टिक, सिसा, कपडा लगायतको पुनर्प्रयोग र पुनर्प्रशोधनबाट बनाइएका सामग्रीको अवलोकन गरिन् । फेस्टको अवलोकन गर्दै उनले फोहोर व्यवस्थापनसँगै हरित रोजगारी सिर्जना हुनु प्रशंसायोग्य रहेको बताइन् । ‘रिसाइक्लिङ र अपसाइक्लिङले फोहोर मात्रै व्यवस्थपन हुँदैन, रोजगारी पनि सिर्जना हुन्छ भन्ने उदाहरण फेस्टिभलमा देखिएको छ,’ उनले भनिन्, ‘नेपालका अन्य सहरका लागि पनि यो परियोजना उदाहरणीय बन्न सक्छ ।’ उनले फेस्टमा स्टल राखेका आरयू उद्यमीलाई हौसला समेत प्रदान गरिन् । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) को सहयोगमा पोखरा महानगरपालिकाले सञ्चालन गरेको रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना (जीसीआरयू) अन्तरगत आरयू फेस्ट शुक्रबार सुरु भएको थियो । फेस्टको दोस्रो तथा अन्तिम दिन शनिबार उत्पादक स्वयंमलाई फोहोर व्यवस्थापन प्रति उत्तरदायी बनाउन संवादको आयोजना गरिएको थियो । उद्योग वाणिज्य संघका प्रतिनिधि, वातावरणविद् र व्यवसायीसँग अनिल चित्रकारले ‘हरित चक्रीय अर्थतन्त्रमा उत्पादकको विस्तारित उत्तरदायित्व’ विषयमा संवाद चलाए । शनिबार नै कम गुणस्तरका प्लास्टिकको पुनर्प्रयोग गरी घरायसी सामान बनाउने प्रविधि, काठको विकल्पमा रिसाइकल गरिएको प्लास्टिक प्रयोगको प्रविधि, पुराना प्लास्टिकबाट कालोपत्र गर्ने प्रविधिका बारेमा विज्ञले आफ्नो प्रस्तुति राखेका थिए । रिसाइकल र अपसाइकल उद्योगको दिगोपनाका बारेमा फेस्टमा सहभागीले बुझ्ने मौका पाए । फोहोरबाट बनाइएका कपडाको पनि फेस्टमा प्रदर्शन गरिएको थियो । शनिबार सकिएको फेस्टमा दुई दिनसम्म झण्डै ५ हजारजनाले अवलोकन गरेका छन् । फेस्टको शुक्रबार पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, कोइकाका कन्ट्री डिरेक्टर मोहेओन कोङ् र युएनडिपीका प्रतिनिधि जुलियन चेभीलार्डले उद्घाटन गरेका थिए । फेस्टिभलमा देशभरिका नवप्रर्तनयुक्त रिसाइक्लिङ र अपसाइक्लिङ उत्पादनहरूको प्रदर्शनी, फोहोरलाई उपयोगी वस्तुमा रूपान्तरण गर्ने प्रक्रियाको प्रत्यक्ष प्राविधिक डेमो सो, जलवायु, दिगो पर्यटन विकास, हरित उद्यमशीलता र प्लास्टिक टू रोड प्रविधि माथि संवाद, युवाका लागि सिर्जनात्मक कार्यशाला, सार्वजनिक कला प्रदर्शनी, सहभागितामूलक गतिविधि, दक्षिण कोरियाको सफलता अनुभवमाथि विशेष संवाद सत्र, हरित रोजगारी, बजार पहुँच र दिगो जीविकोपार्जनका उपाय लगायत विषयमाथि चर्चा भएको थियो । हाल रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोइकाको ९.८ मिलियन अमेरिकी डलर र यूएनडीपीको ०.८७ मिलियन अमेरिकी डलर आर्थिक सहयोगमा पोखरामा ग्रिन भेन्चर जोन (जिभिजेड) सेन्टर निर्माण भइरहेको छ । पोखरा महानगरपालिका क्षेत्रमा १ सय ३६ सामुदायिक समूह निर्माण गरी उनीहरूलाई आवश्यक तालिम तथा प्राविधिक प्रशिक्षण पनि प्रदान गरिएको छ । ‘यस परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने छ भने हरित अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान गर्नेछ,’ नगर प्रमुख आचार्यले भने । फोहोरमैलाको उचित व्यवस्थापन मार्फत हरित रोजगारी सिर्जना र चक्रीय अर्थतन्त्रको सिर्जनशील उपयोग आम समुदायका लागि निकै महत्त्वपूर्ण हुने विश्वास गरिएको छ । हरित अर्थतन्त्रमा योगदान पु¥याउने आरयू उद्यमलाई बढवा दिन दिगो नीतिको सुनिश्चितता सहित महानगरपालिकाले परियोजनाको स्वामित्व लिनेछ । परियोजना मार्फत आगामी २ वर्षमा ३ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ ।
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले व्यवसायीमैत्री प्रदेश निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको २७ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशनमा उनले यस्तो बताएका हुन् । “उद्योगी व्यवसायीहरूका लागि लगानीमैत्री वातावरण सिर्जना गर्नु हाम्रो प्राथमिकता हो”, उनले भने । मन्त्री थापाले उद्योगी व्यवसायीहरूलाई भरोसा र आधारका रूपमा परिभाषित गर्दै प्रदेश सरकारले गरेका प्रयासहरूको अपेक्षित प्रचारप्रसार नहुँदा जनचेतनामा ती काम ओझेलमा परेको स्पष्ट गरे । उनका अनुसार प्रदेश सरकार अहिले उद्योगमैत्री नीतिगत संरचना निर्माण, व्यवसाय दर्ता प्रणाली सरलीकरण, सीप विकास तालिम र युवा उद्यमशिलता प्रवद्र्धनमा केन्द्रित छ । “उद्यमशील युवाहरूलाई नेपालमै लगानी गर्न प्रेरित गर्दै हामीले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय मातहतको सीप विकास तालिम केन्द्रबाट १९ किसिमका तालिम सञ्चालन गर्दै आएका छौं”, उनले जानकारी गराए । तालिम लिएर स्वदेशमा नै उद्यम वा व्यवसाय गर्न चाहने युवालाई प्रदेश सरकारले ब्युपुँजी तथा बैंक ऋणको ५०५ अनुदान उपलब्ध गराउने कार्यक्रम समेत ल्याएको भनाई उनको छ । मन्त्री थापाले गण्डकी प्रदेश सरकारले उद्योग–लगानी सम्मेलन गर्ने तयारी गरिरहेको र स्वदेशी तथा विदेशी लगानीकर्तालाई उद्योग स्थापनामा प्रोत्साहित गर्ने वातावरण निर्माण तर्फ लागिरहेको धारणा राखे । शासन व्यवस्थामा सुधार ल्याउन शिक्षा परामर्श संस्थाहरुको दर्ता–नवीकरण अब पोखराबाटै हुने व्यवस्था मिलाइएको र कम्पनी रजिस्टारको युनिट समेत प्रदेशमा नै स्थापना गर्न लबिङ गरिरहेको उनले जानकारी गराए । बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको भूमिका उल्लेखनीय रहेको भन्दै मन्त्री थापाले व्यापार प्रवद्र्धन, व्यवसायिक एकता र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने संस्थाको प्रयासको प्रशंसा गरे । २७ औं साधारण सभा तथा १४औं अधिवेशनले एशोसियसनलाई अझ सुदृढ बनाउने र व्यवसायमैत्री वातावरण निर्माणमा सहयोग गर्नेमा उनी विश्वस्त छन् ।
बागलुङ: बागलुङका खानेपानीका मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्लाका दश वटै पालिकाका ३४१ मुहानको पानी परीक्षण गर्दा १२५ मुहानमा कोलिफर्म भेटिएको हो । जिल्लामा सबैभन्दा बढी जैमिनी नगरपालिकाको मुहानमा कोलिफर्म फेला परेको छ । यस पालिकामा १०६ मुहानमा परीक्षण गर्दा ४२ मुहानमा कोलिफर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन डिल्ली आचार्यले जानकारी दिए । उनका अनुसार गलकोट नगरपालिकामा ९१ स्थानमा परीक्षण गरिएकोमा ४० मुहानमा कोलिफर्म फेला परेको छ । बागलुङ नगरपालिकामा २४ वटा मुहान परीक्षण गर्दा चार, काठेखोला गाउँपालिकामा ४७ वटा मुहान परीक्षण गर्दा २७, बडिगाड गाउँपालिकामा ६८ स्थानमा परीक्षण गर्दा १० वटा मुहानमा कोलिफर्म फेला परेको आचार्यले जानकारी दिए । ढोरपाटन नगरपालिकामा पाँच वटा गर्दा कुनै पनि मुहानमा कोलिफर्म नदेखिएको उनको भनाइ छ । निसीखोला, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकामा भने मुहान परीक्षण नगरिएको आचार्यले बताए । उनले भने, ‘अघिल्लो वर्ष परीक्षण गर्दा १०३ वटा मुहानमा कोलिफर्म देखिएको थियो, यस वर्ष बढेर १२५ पुग्यो, धेरै ठाउँबाट परीक्षण गर्नका लागि आग्रह गरिएको छ, हामीहरूले सबै पालिकामा परीक्षणको दायरा बनाउँदै जानेछौँ, धेरै ठाउँका मुहानमा कोलिफर्म देखिएको छ ।’ धौलागिरि प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किरण तिवारीले कोलिफर्म मिसिएको पानी पिउँदा झाडापखाला, हैजा, टाइफाइड, जण्डिस, हेपाटाइटिस बी, पिसाबको सङ्क्रमण, रगतमा सङ्क्रमणसँगै कडाखालको रोग लाग्न सक्ने उनको भनाइ छ । कोलिफर्म फेला परेको मुहानबाट आएको पानी उमालेर मात्रै प्रयोग गर्नुपर्ने डाक्टर तिवारीले बताए । सबैभन्दा बढी कोलिफर्म भेटिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले पालिका मुहान सरसफाइ र संरक्षणमा लागेको बताए । कोलिफर्म देखिएको मुहानलाई व्यवस्थित गरी आम नागरिकलाई पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न जनचेतना फैलाउने उनको भनाइ छ । पालिकाले ‘वास प्लान’ बनाएको र सोहीअनुसार नागरिकलाई सहज रूपमा शुद्ध पिउने पानीको व्यवस्थापन मिलाउन थालेको उपप्रमुख शर्माले बताए ।