काठमाडौं: नेपाल सरकारले गरेका निर्णयहरू सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आज सार्वजनिक गर्नुभएको छ । उहाँले असार २३ गते र असार ३० गते गरेका २९ वटा मन्त्रीपरिषद्को निर्णय एकै पटक सार्वजनिक गर्नुभएको हो । यस्तो छ निर्णयहरू
तनहुँ: मुग्लिन-पोखरा सडकअन्तर्गत तनहुँको दमौलीमा निर्माण हुँदै गरेको मादी नदिमाथिको पुल अन्तिम चरणमा पुगेको छ । व्यास नगरपालिका-४ र ५ जोड्ने मादीनदि पुलको काम तीव्र गतिमा भएसँगै हालसम्म ७१ प्रतिशत सम्पन्न भएको हो । पुल निर्माण तीव्र गतिमा प्रभावकारी रूपमा भइरहेको मुग्लिन(पोखरा सडक आयोजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । ‘उक्त पुलमा छ वटा स्पान हुनेछ । तीन सय १५ मिटर लामो पुल तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीले सन् २०२२ अगष्ट ११ मा एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो’, उनले भने। पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको इन्जिनियर पाण्डेले बताए । ‘मुग्लिन(पोखरा सडक आयोजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीबाट जामुनेसम्म १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । पूर्वी खण्डअन्तर्गत सडकको काम ८६ प्रतिशत सकिएको छ । आँबुखैरेनी(जामुनेसम्मको ४१ दशमलव ४५ किलोमिटर कालोपत्र सकिएको छ’, उनले भने । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ । पूर्वी खण्डको ठेक्का म्याद असार २९ गते सकिएको छ । केही काम बाँकी रहेकाले म्याद थपका लागि भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरिएको पाण्डेले बताए।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले संसदबाट अत्यावश्यक ऐन कानुन बनाउने काममा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध सृजना गर्ने बताउनुभएको छ । संसदीय मामिला पत्रकार समाज आबद्ध पत्रकारसँगको भेटमा उहाँले संसदमा डेडलकको अवस्था आउन नदिई आवश्यक छलफल, सहमति र सहकार्यले संसदीय गतिविधिलाई अझ जनमुखी बनाउने र संसदप्रति जनताको भरोसा जागृत गराउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसतर्फ संसदीय गतिविधिमा अहोरात्र खटिनुभएका तपाईंहरूको भूमिका जनप्रतिनिधि, संसदीय संरचना र संसदीय गतिविधिलाई यसैतर्फ प्रेरित गर्ने खालको हुने छ भन्ने मैले अपेक्षा गरेको छु ।’ उहाँले नेपालमा प्रजातान्त्रिक अभ्यास कम भएको भन्दै लोकतान्त्रिक पद्दती नै उत्तम व्यवस्था भएको बताउनुभयो । राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा संसद जनताका आवाज मुखरित गर्ने र आवश्यक कानुन बनाउने थलो भएको भन्दै संसद र यसका समितिमार्फत आवश्यक कानुन बनाउने र जनताका जल्दाबल्दा समस्याबारे जनप्रतिनिधिले गर्ने कामको सूचना सम्प्रेषण गर्ने तथा खबरदारीको भूमिकामा रहने पत्रकारहरूको दायित्व गहन भएको बताउनुभयो ।
मुस्ताङ: उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी-कोरला सडक पहिरोका कारण अवरुद्ध बनेको छ । गए रातिको वर्षासँगै कोरला राजमार्गको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि कोरला सडक आज बिहानैदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । कागबेनीस्थित कागखोलाबाट करिब २०० मिटर उत्तरतर्फ कोरला सडकको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिनुभयो । केहीबेर अघिदेखि सडक अवरुद्ध सडक खुलाउन डोजरसहित आवश्यक जनशक्ति त्यसतर्फ पठाइएको उहाँले बताउनुभयो । मुस्ताङमा कागबेनी–कोरला सडक अवरुद्ध बनेपछि उपल्लो मुस्ताङ आवतजावत गर्ने सवारीसाधन रोकिएका छन् । लामाले माथिबाट ठूलाठूला चट्टान खसेकाले सडक खुलाउन केही समय लाग्नसक्ने जानकारी दिनुभयो । उहाँले तत्कालका लागि मोटरसाइकल र हलुका सवारीसाधन आवतजावत गर्न मिल्नेगरी पहिरो पन्छ्याउने काम भएको बताउनुभयो । मुस्ताङमा गए रातिको वर्षासँगै कालीगण्डकी नदीको बाहव उच्च भएको छ । यहाँ तटीय क्षेत्रका बस्तीलाई सर्तक रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
पोखरा: पोखराको दक्षिणी भेगस्थित पोखरा १७ को सितापाईला र १५ को पटनेरीलाई जोड्ने सेतीनदी माथिको मितेरी पुल निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार कार्यालय र स्थानीय जनसहभागिता सहित २२ लाख १४ हजार ६४५ रुपैयाको लागतमा सो पुल निर्माण सम्पन्न गरिएको हो । अठ्ठार मिटर लम्वाई र एक दशमल पाँच मिटर चौडाईको सो ट्रष्ट ब्रिज निर्माणसंगै पटनेरीका करिव तीन सय घर परिवारलाई आवतजावतमा सुविधा पुगेको छ । पुल निर्माणले जानकी माविमा अध्ययनरत विद्यार्थीलाई समेत प्रत्येक्ष सुविधा पुगेको छ । गण्डकी प्रदेश सभा सदस्य भिमबहादुर कार्कीले सो पुलको आज एक समारोहका बीच उद्घाटन गर्दै पुल सानो भएपनि सुविधाको हिसाबले महत्वपूर्ण भएको बताउनुभयो । जनताका आवश्यकता अनुसार विकास निर्माणमा प्रदेश सरकारले जोड दिंदै आएको उहाँको भनाई थियो । पोखरा महानगरपालिका वडा नं. १७ र १५ का वडाअध्यक्ष राधिका शाही योगी र तोरण बानियाले सिमीत श्रोत साधनको भरपुर उपयोग गर्दै वडाको विकास निर्माणमा जु्ेको बताउनुभयो । पुल निर्माणले सो क्षेत्रका स्थानीयवासिन्दाका साथै ऐतिहासिक माघे सक्रान्ति मेलाका दर्शक र नदीमा स्नान गर्ने भक्तजनलाई समेत सुविधा पुग्ने उहाँहरुको सामुहिक भनाई थियो । पुलनिर्माण उपभोक्ता समितिका अध्यक्ष मदन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सदाशिव हरिहर सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारी, जानकी मावि व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङ, उपभोक्ता समितिका उपाध्यक्ष नारायण भण्डारी,सचिव विक्रमवावु भण्डारी लगायतले पुलको आवश्यकता र महत्व माथि प्रकाश पार्नुभएको थियो ।
काठमाडौं: नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल तथा मट्टितेलमा एक रुपैयाँ मूल्य घटाएको छ । मङ्गलबार बेलुकी सूचना जारी गर्दै निगमले इन्डियन आयल कर्पोरेशनले आज (असार ३१) मा पठाएको पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको जानकारी दिएको हो । इन्धनमा घटाइएको नयाँ मूल्य बुधबार बिहानदेखि लागु हुनेछ ।
काठमाडौं: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । ७८ लाख घुस प्रकरणमा मुछिए पछि उहाँले मंगलबार राजीनामा दिनुभएको हो । केही दिनअघि भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिका साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबिच घुस बार्गेनिङ भएको अडिओ सार्वजनिक भएको थियो । उहाँले आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा बुझाइसकेको बताउनुभयो । उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ, ‘विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै छ । कहिले काहीँ नखाएको विष पनि लाग्दो रहेछ । म अहिले त्यसैको सिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु ।’
दाङ: दाङमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको ज्यान गएको छ । बबइ गाँउपालिका ५ पुरन्धारा छहरा नजिक बबइ नदीमा पौडीखेल्ने क्रममा सोमबार दिउँसो बेपत्ता भएका दुई युवकको शब फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरिक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ५ का १८ वार्षिय कुशल बुढामगर र तुलसीपुर उपमहानगरपालिका ७ का १८ वर्षका बिधान केसी रहेको प्रहरीले जनाएको छ । ६ जनाको समुहमा साथीहरुसँग घुम्न गएका मध्ये ३ जना पौडीखेल्न खोलामा पसेको र एक जना पौडिएर बाहिर निस्किए पनि दुई जना डुबेर बेपत्ता भएका थिए ।
काठमाडौं: सरकारले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न न्यायिक समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष ओझाको योग्यताबारे छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा बिमा विज्ञ कपिल ओली र एक जना अर्थशास्त्री सदस्य रहनु भएको छ । सरकारले गत फागुन १२ गते ओझालाई बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । उहाँले अध्यक्ष हुन पेस गरेका कागजातमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ । यो समितिलाई पनि उहाँको योग्यता र कार्यशैलीप्रति छानबिन गर्ने कार्यादेश दिइएको छ । सरकारले समिति गठन गरेसँगै ओझा स्वतः निलम्बित हुनुभएको छ । अख्तियारले फर्जी काजजात पेस गरेको जान्दाजान्दै के आधारमा नियुक्ति दिइएको हो भन्ने प्रश्न उठाएपछि छानविनका लागि सरकारले समिति गठन गरेको हो ।