काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति पौडेलसमक्ष सो वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । वार्षिक प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचारजन्य कसुरको पहिचान गर्ने, अनुसन्धान तहकिकात र अभियोजनसम्बन्धी कार्यलाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउने कार्य बढी महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । यसका लागि आयोगको संस्थागत क्षमता, विकास र कर्मचारीको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै आयोगका काम कारबाहीलाई पारदर्शी र प्रभावकारी बनाउनु अत्यावश्यक रहेको उहाँले बताउनुभयो । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको यस भूमिकालाई निर्वाह गर्ने क्रममा आयोगले भ्रष्टाचार नियन्त्रणका विभिन्न रणनीति अवलम्बन गर्दै आएको र कार्यसम्पादन गर्दा आम नागरिक तथा राष्ट्रिय हितलाई मध्यनजर गरी सदाचार, निष्पक्षता र निर्भिकताको मूल मन्त्रलाई आत्मसात गरेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम कारबाही समेटेर पेस गरेको यो प्रतिवेदनमा उठाइएका महत्वपूर्ण विषयलाई नेपाल सरकारले प्रभावकारी रुपमा सम्बोधन गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
चितवन: नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा सडकबाट त्रिशुली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन् । ट्रक पानी बाहिर किनारमा रहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार चालक यमबहादुर घलेको मोबाइल स्विचअफ छ । घटनास्थल पुगेर फर्कदैं गर्नुभएका रिजालले भन्नुभयो, “चालक सम्पर्कमा छैन, घटना शंकास्पद देखिएको छ ।” दुर्घटनाको अवस्था हेर्दा चालक नदीमा नभएर बाहिर सम्पर्कविहीन भएको हुनसक्ने उहाँको भनाइ छ । यातायात कार्यालयमार्फत ट्रक धनीको पहिचान गरेर चालक खोजीकार्य भइरहेको उहाँ बताउनुहुन्छ । ना ६ ख ६२८३ नम्बरको ट्रक भैरहवाबाट सूर्यमुखी तेल बोकेर ललितपुरतर्फ जाँदै गरेको थियो । ट्रकमा दुई हजार दुई सय २५ कार्टुन तेल लोड गरिएको थियो । ट्रक आज बिहान सडकबाट झण्डै एक सय मिटर तल त्रिशुली किनारमा खसेको हो ।
काठमाडौं: आज भाद्र शुक्ल द्वादशी । आजदेखि काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ हुँदैछ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ । हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ । इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा धुमधामका साथ इन्द्रजात्रा मनाउने प्रचलन छ । असोज १ गते मङ्गलबार इन्द्रजात्राको मुख्य दिन हो । उक्त दिन राष्ट्रप्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ । सरकारले उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
सप्तरी: पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका(१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि आज माइक्रोबसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । भारदहबाट सुनसरीतर्फ जाँदै गरेको प्र १–०२–००१ ज ३८६६ नं. को विङगरले सडक छेउ बच्चाका साथमा उभिरहेकी सोही ठाउँ बस्ने कारी अधिकारीको ५० वर्षीय श्रीमती अनिता देवि अधिकारी र उनकै १० महिनाको नाती आदर्श अधिकारीलाई ठक्कर दिएको थियो । उक्त ठक्करबाट गम्भीर घाइते भएका आदर्शको बिराट नर्सिङ होम बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दुण्डीराज न्यौपानेले जनाकारी दिनुभयो । ठक्करबाट घाइते भएका अनिता देवी अधिकारीको टाउको, छाति, बाया खुट्टालगायतका भागमा चोट लागेको छ । उहाँको उपचार भइरहेको छ । प्रहरीले विङ्गर चालक सप्तरी छिनमस्ता गाउँपालिका ७ बस्ने ३२ वर्षीय अबदुल सतारलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जनाएको छ । उक्त घटनापछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरोध गरेका छन् ।
झापा: जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी आज फरार भएका छन् । फरार हुनेमा २४ वर्षीय जीवन साह रहेको प्रहरीले जनाएको छ । भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालबाट आज बिहान उनी फरार भएका हुन् । त्यहाँ उपचाररत साहलाई आज बिहान ३ः४० बजे सोही अस्पतालको शौचालय लगिएकामा शौचालयबाटै उनी फरार भएको प्रहरीको भनाइ छ । छातीमा समस्या भएपछि भद्रपुर नगरपालिका–५ घर भएका साहलाई यही भदौ २५ गते प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीको कमाण्डमा फरार कैदी साहको खोजी भइरहेको बताइएको छ । यसअघि इलाका प्रहरी कार्यालय बिर्तामोडका एकजना थुनुवा हतकडी फुस्काइ फरार भएका थिए । फरार भएको चार दिनपछि भदौ ८ गते उनी बिर्तामोड बसपार्कबाट समातिएका थिए । फितलो सुरक्षा व्यवस्थापनको फाइदा उठाउँदै झापामा एकपछि अर्को यस्ता घटना घट्न थालेको बताइएको छ ।
ललितपुर: शनिबार अपराह्न कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारीसाधन सञ्चालन भएका छन् । आज बिहान ९ बजेदेखि सवारीसाधनका लागि सडक खुला भएको हो । मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक भासिएको थियो । शनिबार साँझदेखि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले फुटेको पाइप मर्मत थालेसँगै सडक डिभिजन कार्यालय पनि सडक मर्मतमा जुटेको थियो । मर्मतपछि भासिएको सडकमा सवारीसाधन सञ्चालन गर्न मिले पनि तत्काल सडक कालोपत्र गर्न नमिल्ने सडक डिभिजन कार्यालयका सुपरभाइजर निराजन पाण्डले बताउनुभयो ।
चितवन: खानेतेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको छ । ना६ख ६२८३ नम्बरको ट्रक आज बिहान त्रिशूलीमा खसेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका–२९ पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको हो । ट्रकका चालक र सहचालकको खोजी भइरहेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगेको उहाँले बताउनुभयो ।
पर्वत: जिल्ला अस्पतालको निर्माणाधीन भवनमुनिको जमिन भासिएपछि विगत चार वर्षदेखि निर्माण अलपत्र छ । नयाँ भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्यामा रूपान्तरण गर्ने लक्ष्यका साथ काम चलिरहेका बेला जमिन भासिएको हो । सहरी विकास कार्यालयले भवनका लागि रु २८ करोड विनियोजन गरेर काम थालेको थियो । अस्पतालमा बन्ने भवनलाई ब्लक ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘इ’ गरेर काम अगाडि बढेकामा जमिन भासिएपछि ‘इ’ ब्लकको काम पनि अधुरै छ । कालीगण्डकी नदी किनारमा रहेको भिर नजिकतर्फ रहेको ‘इ’ ब्लक निर्माणको काम चलिरहेका बेलामा जमिन भासिएपछि पछिल्ला चार वर्षदेखि काम अघि बढ्न नसकेको पर्वत अस्पतालले जनाएको छ । भवनको निर्माण चलिरहेको बेलामा भुइँतलाको भागमा ‘बीम’ रहेको ठाउँ बाहेकको जमिन भासिँदै गएपछि भवनको काम अघि बढ्न नसकेको अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले बताउनुभयो । विसं २०७७ असारदेखि भासिन सुरु गरेको भवनको ‘बीम’हरू राखेर बाँकी रहेको ठाउँमा अन्तिम केन्द्र यकिन नै गर्न नसकिने गरी भासिएपछि काम पूर्ण रूपमा ठप्प छ । यस वर्ष अरु दुई ठाउँमा जमिन भासिएको छ । भूगर्वविद्हरूले जमिन भासिनुको कारण र समाधानका उपायसहितको अध्ययन प्रतिवेदन अस्पताललाई बुझाउने भनिए पनि हालसम्म त्यो प्रतिवेदन प्राप्त नहुँदा भवनको काम अगाडि नबढेको अध्यक्ष गिरीले बताउनुभयो । चार वर्ष अगाडि निर्माणाधीन भवन भासियो, त्यसपछि कोभिडको महामारी सुरु भएकाले काम अगाडि बढ्न नसकेको उहाँले बताउनुभयो ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ १६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ८२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९० रुपैयाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ५१ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ०१ पैसा र बिक्रीदर चार रुपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३ रुपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९० पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७ रुपैयाँ २५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ९३ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ३४ पैसा र बिक्रीदर तीन सय ५५ रुपैयाँ ९३ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।