काठमाडौं: नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यसअघि, संविधानको धार...

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक साढे २ बजेसम्मका लागि सरेको छ ।      ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि डाकिएको बैठक साढे २ बजेका लागि सारिएको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।       उहाँका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक सारिएको हो ।  पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनितिक विषयमा बैठकमा छलफल हुने उहाँले बताउनुभयो ।  यही भदौ १८ र १९ गते बसेको पार्टीको पोलिटब्यूरो बैठकले कार्ययोजनाको टुङ्गो सचिवालय बैठकलाई दिएको थियो । 

सुर्खेत:     खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीमा असोजको पहिलो सातादेखि चाडपर्व लक्ष्यित सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कम्पनीले सुर्खेतसहित नौ जिल्लामा एकसाथ पहिलो चरणमा दसैँलक्ष्यित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो ।  उपभोक्ताले माग गरेमा दसैँदेखि तिहार हुँदै छठसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने खाद्यको लक्ष्य रहेको कम्पनीका कर्णाली प्रादेशिक प्रमुख माधव मिश्रले जानकारी दिनुभयो ।  सुर्खेत, जाजरकोट, कालिकोट, रुकुमपश्चिम, डोल्पा, दैलेख, मुगु, जुम्ला र हुम्लामा एकसाथ चाडपर्व लक्ष्यित सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको उहाँले जानकारी दिनुभयो ।  कम्पनीले गत वर्ष पनि प्रदेशका सल्ल्यानबाहेक नौ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गरेको थियो । उपभोक्ताको उच्च  मागलाई ध्यान दिएर  यस वर्ष चार प्रकारका चामलसँगै तेल, घिउ र दाल बिक्री गरिनेछ । सल्ल्यानमा  कम्पनीको कार्यालय नभएका कारण त्यहाँ सुपथ मूल्य पसल सञ्चालन गर्न नसकिएको हो । अन्य जिल्लामा असोज ७ गतेदेखि पसल सञ्चालन उहाँले बताउनुभयो ।  

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पलेशा गोवर्दनसहित प्रशिक्षक र टोली व्यवस्थापकलाई आज पुरस्कृत गर्नुभएको छ ।      मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेशालाई रु ६५ लाख पुरस्कार राशिमा कर नकटाइ पुरस्कृत गरिएको हो ।  यस्तै सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई रु पाँच लाख ८५ हजार र टोली व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई रु दुई लाख ९२ हजार पुरस्कारसहित सम्मान गरिएको छ ।      युवा तथा खेलकुुद मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो छिटो पुरस्कार दिने र राशिमा कर नकटाउने नीति लिइएको बताउनुभयो ।  उहाँले विश्वस्तरका आगामी खेलमा नेपालले थप सफलता पाउने विश्वास व्यक्त गर्दै पलेशाले हासिल गरेको सफलता नेपालकै अहिलेसम्मको ठूलो पदक भएकाले देशले गौरव गरेको बताउनुभयो ।      कार्यक्रममा युवा तथा खेलकुुदमन्त्री तेजुलाल चौधरी, सचिव सुमनराज अर्याल, राष्ट्रिय खेलकुुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल तेक्वान्दो सङ्घका पदाधिकारीलगायत सहभागी हुनुहुुन्थ्यो ।  मन्त्री चौधरीले पलेशाको उच्च शिक्षाको अध्ययन र आगामी एसियाली खेलकुदमा सहभागिताका लागि समन्वय गर्ने विषयमा मन्त्रालयले पहल गर्ने बताउनुभयो ।

भोजपुर:     भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको जिल्लाको एकमात्र विमानस्थल कालोपत्र भएको छ ।  सदरमुकामबाट विमानस्थल पुग्ने सडक पनि कालोपत्र भइसकेको छ । तर पनि यो विमानस्थलमा उडान भने हाल हप्तामा दुई दिनमात्र हुने गरेको छ । विसं २०३५ मा निर्माण सम्पन्न भएर प्रयोगमा आएको विमानस्थलमा कुनै समय हप्तामा सात दिन नै उडान हुने गर्दथ्यो ।  कुनै बेला यहाँबाट विराटनगरसमेत उडान हुने गरेकामा अहिले भने भोजपुर–काठमाडौँ हप्तामा बुधबार र शनिबारमात्र उडान हुँदै आएको छ । भौतिक पूर्वाधारको कुनै समस्या नहुँदा पनि उडानमा भने समस्या छ ।  नेपाल वायुसेवा निगम भोजपुरका प्रमुख प्रकाश खड्काका अनुसार केन्द्रबाट पठाउने गरिएको तालिकाअनुसार उडान भर्नुपर्ने हुन्छ, अहिले भोजपुरमा हप्तामा दुईमात्र उडान हुँदै आएको छ । भोजपुर विमानस्थलमा सरकारी ध्वजावाहक वायुसेवा निगमको जहाजले मात्र उडान गर्दै आइरहेको छ ।  विमान अभाव देखाउँदै निगमले उडान तालिका कम पठाउँदा यो समस्या देखिएको हो । उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्री मारमा पर्दैै आइरहेका छन ।  “घाँसेमैदान हुँदा भोजपुरमा नियमित उडान थियो, विमानस्थल र सडक कालोपत्र भएपछि त उडान तालिका पनि धेरै हुनुपर्नेमा कम हुँदै गएको छ”, स्थानीय सञ्जीव कार्कीले भन्नुभयो ।  टर्मिनल भवन जीर्ण हुँदा समस्या भएको गुनासो आएपछि पूर्वमन्त्री सुदन किरातीको पहलमा बजेट विनियोजन भएर हाल ठेक्का प्रक्रियाबाट आरबी अर्बान विल्डर्स एण्ड सप्लायर्सले विमानस्थलको टर्मिनल भवन निर्माण गरिरहेको छ ।  रु पाँच करोड ४५ लाख लागत सम्झौता रहेको उक्त टर्मिनल भवन २०८१ पुससम्ममा निर्माण सम्पन्न गर्नेगरी अहिले काम भइरहेको छ । विमानस्थलका लागि करोडौ रकम खर्च भइसक्दा समेत उडान तालिका बढ्न नसक्नु जिल्लाकै लागि दुर्भाग्य भएको स्थानीय घमचन्द्र दाहालले बताउनुभयो । भोजपुर सदरमुकामबाट टक्सार विमानस्थलसम्मको सडक कालोपत्र छ ।  जिल्लामा नै पहिलो आस्फाल्ट (मिश्रित) प्रविधिबाट पूर्वाधार विकास कार्यालयमार्फत प्रदेश सरकारको रु १६ करोड ९२ लाख लागतमा सडक कालोपत्र भएको थियो । रायमाझी–जगदम्बा–मार्सेली जेभीले निर्माण गरेको सो सडकको लम्बाइ पाँच किलोमिटर छ । भोजपुरमा नियमित उडान र निजी कम्पनीले पनि उडान भर्ने वातावरण जिल्लाका राजनीतिक दल र नेताले मिलाउनुपर्ने माग जिल्लावासीको छ । “बजेट खर्च भएअनुसार जिल्लावासीले सेवा पनि पाउनुपर्छ, यसका लागि नेताहरू पनि जिम्मेवार बन्नुपर्छ”, जिल्लावासी कृष्णमाया तामाङले भन्नुभयो । 

पोखरा:   बागलुङको गलकोट नगरपालिका–२ भुङखानीमा आज बिहान जीप दुर्घटना हुँदा रुकुम पुर्व पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष भुपेन्द्रा बुढा मगरको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएका भुपेन्द्रा बुढा मगर रुकुम पुर्व पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष भएको जिल्ला प्रहरी कार्यालय बागलुङले पुष्टि गरेको हो ।  गलकोट नगपालिका–२ भुङखानी मध्यपहाडी लोकमार्गमा रा १ झ २०० नम्बरको सरकारी जीप दुर्घटना हुँदा मृत्यु भएका ३ जना मध्ये एकजनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको हो ।   दुर्घटनामा मृत्यु भएका २ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।   दुर्घटनामा घाइते भएका चालक २९ वर्षीय प्रेमबहादुर पुनको धौलागिरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । 

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको बताएको छ ।   हाल गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।   लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ ।   कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।   कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हुरीबताससहित भारी वर्षाको सम्भावना छ ।   साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।   यसैगरी आज राति सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ ।   कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।   सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा हुरीबताससहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।   आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।   यी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हुरीसहित भारी वर्षाको सम्भावना छ । साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । 

गोरखा:   धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँट पहिरोमा ज्यान गुमाएका पाँच जनाको परिवारलाई राहतस्वरुप प्रतिपरिवार रु दुई लाख ५० हजार प्रदान गरिने भएको छ ।  जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबारको बैठकले उक्त रकम प्रदान गर्ने निर्णय गरेको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो ।  “पहिरोमा ज्यान गुमाएकामध्ये एकै परिवारका तीनजनाको परिवारलाई एकमुष्ट रु पाँच लाख ५० हजार राहत उपलब्ध गराउने निर्णय भएको छ”, उहाँले भन्नुभयो, “रेशम गुरुङ र रमेश परियारको परिवारलाई रु दुई लाख ५० हजारका दरले राहत दिने निर्णय भएको छ ।”  त्यसैगरी घाइते भएका दुई जनाको उपचार खर्च बेहोर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गर्ने निर्णय भएको छ ।   गत साउन १३ गते बिहान पहिरो खस्दा पाँच जनाको मृत्यु भएको थियो ।

काठमाडौं:    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।  केन्द्रीय बैंकका अनुसार बिहीबारको तुलनामा आज अमेरिकी डलर र युरोको मूल्यमा कमी आएको छ ।  त्यसैगरी साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट, युएई दिराम, हङ्कङ डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा सामान्य परिवर्तन भएको छ । अमेरिकी डलर एकको खरिदर १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा कायम भएको छ । बिहीबार यस मुद्राको एकको खरिददर १३४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६७ पैसा कायम रहेको थियो ।  त्यसैगरी युरो एकको खरिदर १४७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३८ पैसा दर कायम भएको छ । बिहीबार यस मुद्राको एकको खरिददर १४८ रुपैयाँ १८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८४ पैसा कायम रहेको थियो । केन्द्रीय बैंकका अनुसार बिहीबार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३० पैसा रहेकामा आजका लागि खरिददर १७४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७१ पैसा तोकिएको छ । आज स्वीस फ्रयाङ्क एकको खरिददर १५६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५७ रुपैयाँ ६६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।  क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९९ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ७० र बिक्रीदर १०३ रुपैयाँ १६ पैसा कायम भएको छ । जापानिज येन १० को आजका लागि खरिददर नौ रुपैयाँ ४१ र बिक्रीदर नौ रुपैयाँ ४५ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा कायम छ ।  राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा कायम भएको छ । थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा कायम छ । साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा छ ।  मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १२ रुपैयाँ ९९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८० पैसा र बिक्रीदर १९ रुपैयाँ ८८ पैसा छ । हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७ रुपैयाँ २६ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४४० रुपैयाँ ९१ पैसा छभने बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५७ रुपैयाँ २५ पैसा कायम भएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

पोखरा:  नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री शंशाङ्क कोइरालाले नेपाल कृषि उत्पादनका लागि उपयुक्त स्थान भएकाले कृषि क्षेत्रबाट नै समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ ।       वीपी चिन्तन प्रतिष्ठानद्धारा आज (विहीबार) पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय नेपालमा कृषि क्रान्ति:सम्भावना र चुनौती विषयक विचार गोष्ठीमा आफ्नो भनाइ राख्दै कोइरालाले भन्नुभयो– सरकारले कृषिलाई पहिलो प्राथामिकतामा राख्नुपर्छ ।       युवालाई कृषितर्फ आकर्षण गर्न जरुरी भएको बताउँदै उहाँले आफ्नो परिवारको मुख्य पेशा पनि कृषि नै भएको भनाइ उहाँको छ । वीपी कोइराला कृषि पेशाप्रति आकर्षण हुने गरेको भनाइ पनि उहाँले राख्नुभयो ।       नेपालमा थुपै कृषियोग्य भूमि भएकाले त्यसको सदुपयोग गर्दै विदेशबााट आयात गरिने खाद्यान्न तथा तरकारी घटाउँदै जानुपर्ने भनाइ उहाँको छ । कृषिमा आत्म निर्भर हुन सक्यौ भने नेपालको खरबौ रुपैयाँ नेपालमा नै रहने उहाँले बताउनुभयो ।       नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले वीपीको विचारलाई आत्मसाथ गर्दै कृषि क्रान्ति ल्याउन सकयौ भने नेपालीको भविष्य यसैमा हुने बताउनुभयो । प्रजातन्त्रमा नेपाली जनतामा मालिक हुने भएकाले उनीहरुकै सेवामा दलका नेताहरु लाग्नुपर्ने  भनाइ उहाँको छ । कृषिलाई केन्द्र बिन्दुमा राखेर सरकारले अनुदान र कृषिमा आधुनिकीकरण गर्न आवश्यक भएको बताउनुभयो ।       नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता एवं गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले ६८ प्रतिशत जनता कृषिमा आवद्ध भएको नेपालमा कृषिलाई बैज्ञानिकीकरण गर्दै मध्यम वर्गका युवालाई त्यसतर्फ आकर्षण गर्न जरुरी हुने बताउनुभयो ।        दिगो विकास र अर्थतन्त्र सुधारको लागि सरकारले कृषिलाई नै पहिलो प्राथामिकाता दिनुपर्ने बताउँदै रेमिट्यान्सको भर पर्दा देशको अर्थतन्त्र कुनै पनि बेला ढल्न सक्ने भनाई उहाँको छ ।       नेकपा (माओवादी ) केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले नेपाललाई कृषिमा आत्म निर्भर बनाउन कृषिमा ठूलो क्रान्ति ल्याउनुपर्ने बभताउनुभयो । जमिन भएर पनि हामीले कृषि क्षेत्रमा विकास गर्न नसक्नु विडम्बना भएको बताउनुभयो ।  कृषि नीति बलियो भयो भने देशले कृषि क्षेत्रमा काचुली फेर्ने भनाइ उहाँको छ । उक्त कार्यक्रम वीपी चिन्तन प्रतिष्ठानका केन्द्रीय सदस्य ऋषि काफ्लेको अध्यक्षता एवम् नेपाली काँग्रेस कास्कीका सहसचिव शंकर ढुुङ्गानाले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शारदा पौडेल, विपी चिन्तन प्रतिष्ठानका सह अध्यक्ष पुष्पराज पराजुली, केन्द्रीय सदस्य नवराज गुुरुङ, पूर्व मन्त्री यज्ञबहादुर थापा, नेपाली काँग्रेस गण्डकी प्रदेश महामन्त्री विष्णु लामिछाने, डा. लक्ष्मीकान्त पौडेल, गणेशमान फाउन्डेशनका गण्डकी प्रदेश संयोजक दुर्गा तिमल्सिना, प्रतिष्ठानका बाग्लुङ अध्यक्ष गोविन्द कंडेल, स्याङ्जा अध्यक्ष जीवलाल काफ्ले लगायतले बोल्नुभएको थियो ।