काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । साथै कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । त्यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधाणलाई सचेत रहन आग्रह गरेको छ ।
काठमाडौं: प्रधान सेनापति अशोकराज सिग्देलले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको प्रमुख कार्य रहेको बताउनुभएको छ । जङ्गी अड्डास्थित सभामण्डपमा सकलदर्जालाई आज पहिलो पटक सम्बोधन गर्दै उहाँले आफ्ना प्राथमिकता र आगामी कार्यदिशाबारे जानकारी गराउनुका साथै सकलदर्जालाई निर्देशन दिनुभएको थियो । उहाँले भन्नुभयो, “नेपालको संविधान, नेपाली सेनाको मूलग्रन्थ, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय प्रतिरक्षा नीति, नेपाली सेना दीर्घकालीन सोच–२०८७ लगायतलाई आधारमानी सङ्गठनको सुदृढीकरण गर्दै लगिनेछ ।” प्रधान सेनापति सिग्देलले राष्ट्रिय सुरक्षाका लागि राष्ट्रिय संयन्त्रहरुको क्षमता सुदृढीकरणमार्फत समग्र राष्ट्रिय सोचमा आधारित विश्वसनीय र प्रभावकारी रणनीतिको आवश्यकता रहेको हुँदा देशको सुरक्षा, प्रतिरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा राज्यका सबै संयन्त्रहरुको साझा बुझाइ र समान धारणा विकास होस् भन्ने हेतुले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय निर्धारित समयमै सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सेना र नागरिकबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउनका लागि शिक्षा, स्वास्थ्य, कला संस्कृति र परम्पराको संरक्षण गर्न, पर्यावरण जोगाउन तथा राज्यका सम्पदाहरुको सुरक्षामा योगदान पु¥याउन सैनिक मर्यादालाई ख्याल राख्दै योजना तर्जुमा गरी कार्यान्वयन गरिने उल्लेख गर्नुभयो । राष्ट्रिय हित र सुरक्षालाई केन्द्रविन्दुमा राखी देशको परराष्ट्र नीतिलाई टेवा पु¥याउन सैनिक कूटनीतिलाई थप प्रभावकारी बनाउंदै लगिने उहाँको भनाइ थियो । प्रधानसेनापति सिग्देलले नेपाल सरकार र नेपाली सेनाको प्राथमिकतामा रहेको बङ्कर टु ब्यारेक योजना, लत्ताकपडा प्राप्ति एवं उत्पादनलगायतका कार्यलाई व्यवस्थित गर्दै लगिने जानकारी गराउनुभयो । उहाँले काठमाडौं–तराई÷मधेस द्रुतमार्गलगायत अन्य सडक तथा करिडोर निर्माणमा कुनै पनि प्रकारको ढिला सुस्ती, अनभिज्ञता, अनियमिततालगायतका क्रियाकलाप अस्वीकार्य हुने बताउनुभयो । नेपाली सेनाका सबै युनिटमा प्रत्यक्ष प्रसारण गरिएको उक्त कार्यक्रममा रथीवृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाहरुको उपस्थिति थियो ।
गोरखा: उत्तरी गोरखा जोड्ने एकमात्र आरुघाट–आर्खेत–लार्केभञ्ज्याङ सडकखण्ड झण्डै डेढ महिनादेखि अवरुद्ध भएको छ । गत साउन दोस्रो साता परेको अविरल वर्षाले धार्चे गाउँपालिका–७ स्थित खानीबेंसी खोलामा आएको भीषण बाढीले अवरुद्ध भएको सडक अझै सञ्चालन हुन नसकेको हो । आर्खेतदेखि माछीखोलासम्म दुई ठाउँमा ठूलो पहिरो र बाढीले सडकमा क्षति पुगेको थियो । धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकासम्म पुग्ने सो सडकखण्डकमा बाढी र पहिरोले क्षति पु¥याउँदा त्यस क्षेत्रका स्थानीयलाई आवतजावत गर्न समस्या परेको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिनुभयो । “सडक अबरुद्ध भएपछि पैदल यात्रीलगायत उत्तरी भेगका बासिन्दा तथा आन्तरिक र बाह्य पर्यटकसमेतलाई ओहोरदोहोरमा समस्या भएको छ”, उहाँले भन्नुभयो, “खानीबेंसी खोलामा आएको बाढीले मुख्य सडक बगाएपछि उत्तरी गोरखामा पुगेका सवारीसाधन खानीबेंसीबाट उतै रोकिएर बसेको पनि डेढ महिनाबढी भइसक्यो ।” खानीबेंसी खोलाको बाढीले ५० मिटर बाटो अवरुद्ध भएको छ । उत्तरी गोरखा जोड्ने मुख्य सडक भएकाले अवरुद्ध सडक खुलाउनका लागि पहिरो माथिबाट अस्थायी सडक निर्माण गर्न खोजिएको भए पनि भौगोलिक जटिलता, कडा चट्टान र भिर भएकाले अहिलेसम्म सडक सञ्चालनमा ल्याउन नसकिएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पर्यटन विभागको सदस्यमा १० सदस्य मनोनीत गर्नुभएको छ । उहाँले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य आङ्गेलु शेर्पा प्रमुख रहनुभएको पर्यटन विभागमा आज मनोनयन गर्नुभएको हो । विभागमा खुम सुवेदी, वीरबहादुर महरा, दीपेन्द्र पाण्डे ‘कपिल’, लक्की कार्की क्षेत्री, छिरिङ डोल्मा शेर्पा, दिनेश मगर, यज्ञमूर्ति आचार्य, रामप्रसाद पञ्जियार, ईश्वर लामिछाने र जङ्गबहादुर लामा मनोनीत हुनुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
तनहुँ: तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदीमा पौडी खेल्ने क्रममा बगाएर एक बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा व्यास नगरपालिका–३ देउरालीनगर बस्ने १५ वर्षीय रोनाल थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । साथीहरुसँग पौडी खेल्न गएका उनलाई नदीले बगाएर बेपत्ता भएको र उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नदीले बगाउने सम्भावित ठाउँमा आज खोजी गर्दा पनि बेपत्ता बालकलाई फेला पार्न सकिएको छैन । खोजी जारी छ ।”
काभ्रेपलाञ्चोक: नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बिपी कोइरालाको पूर्णकदको सालिक निर्माण भएको छ । बिपी राजमार्गको प्रस्थान विन्दुका रूपमा रहेको धुलिखेल नगरपालिका–६ स्थित जरणडाँडामा नेता कोइरालाको सालिक निर्माण भएको हो । प्रतिमा निर्माण मूल समितिका संयोजक नेपाली कांग्रेसका जिल्ला सदस्य जितकृष्ण श्रेष्ठका अनुसार रु १५ लाखको लागतमा ढलौटको सालिक बनेको हो । पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट चन्दा सङ्कलन गरी सालिक निर्माण भएको संयोजक श्रेष्ठले बताउनुभयो । आगामी असोज ५ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सालिक अनावरण गर्ने कार्यक्रम निर्धारण भएको नेपाली कांग्रेस काभ्रेपलाञ्चोक शाखाले जनाएको छ । बनेपा–सिन्धुली–बर्दिबास एक सय ६० किलोमिटर सडक पनि नेता कोइरालाका नाममा राखिएको छ । यो बाटोलाई बिपी राजमार्ग भनिन्छ । जापान सरकारको अनुदानमा बिपी राजमार्ग निर्माण भएको हो ।
तनहुँ (दमौली): वनमा रहेका वन्यजन्तुलाई पानी पिउन सजिलो होस् भन्ने उद्देश्यसहित डिभिजन वन कार्यालय तनहुँले विभिन्न सामुदायिक वनमा पोखरी निर्माण गरेको छ । वनजङ्गमा हुने वन्यजन्तुका लागि लक्षित गरी कार्यालयले १० ठाउँमा पोखरी निर्माण गरेको हो । आर्थिक वर्ष २०८०/८१ मा रु दश लाखको लागतमा दश ठाउँमा पोखरी निर्माण गरिएको सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिनुभयो । मानव वन्यजन्तु व्यवस्थापनका लागि वनमा पोखरी निर्माण गरिएको पण्डितको भनाइ छ । वनमा पानीको स्रोत मासिँदै गएपछि घर छेउ पानी खोज्दै आउने वन्यजन्तुले मानिसलाई आक्रमण गर्न थालेपछि वन कार्यालयले पोखरी संरक्षण अभियान थालेको हो । पण्डितले भन्नुभयो, “तनहुँमा केही वर्षयता चितुवाको बढी आतङ्क छ, जङ्गलमा पानीको स्रोत मासिँदै गयो, चितुवा पानी खोज्दै बस्ती पस्न थाल्यो ।” वन कार्यालयले थालेको यो अभियानलाई कतिपय स्थानीय तहले पनि अग्रसरता लिएर आफैले पोखरी निर्माण गर्न थालेका छन् । प्रत्येक सामुदायिक वनभित्र पोखरी भइदिए वन्यजन्तु जङ्गलमै बस्ने र बस्तीसम्म आउने सम्भावना कम हुने पण्डितको भनाइ छ . यसैबीच कार्यालयले बन्दीपुर गाउँपालिका–५ थुम्कास्थित याम्पा सामुदायिक वनमा भएको अतिक्रमण हटाएको छ । वन क्षेत्र अतिक्रमण गरी छाप्रो बनाएको र आवादी गरेको ठाउँमा वन कार्यालयले सामुदायिक वन, वडाध्यक्ष र स्थानीयको सहयोगमा अतिक्रमित क्षेत्रको टहरा भत्काएको जनाएको छ । १५ वन्यजन्तुको उद्धार यस्तै कार्यालयले गत आर्थिक वर्षमा १५ वन्यजन्तुको उद्धार गरेको छ । कार्यालयले रतुवा मृग, कोभ्राको बच्चा, अजिङ्गर, गिद्ध, कालो बाज, निरबिरालोको उद्धार गरेको डिभिजन वन कार्यालयका प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिनुभयो ।उद्धार गरिएका वन्यजन्तुलाई सुरक्षित बासस्थानमा छाडिएको उहाँले बताउनुभयो । उहाँका अनुसार विसं २०८० भदौ १९ गते व्यास नगरपालिका–३ दमौली अस्पताल नजिकबाट रतुवा मृग, विसं २०८० भदौ २६ गते व्यास–१ गल्वुबँेसीबाट कोभ्राको बच्चा, विसं २०८० असोज ५ गते ऋषिङ गाउँपालिका–१ झापुटारबाट रतृवा मृग, विसं २०८० मङ्सिर १० गते व्यास–१४ रुम्सीबाट अजिङ्गर, विसं २०८० पुस २० गते व्यास–५ मादीसेती दोभानबाट डङ्गर गिद्ध, विसं २०८० फागुन ९ गते म्याग्दे गाउँपालिका–७ बाट रतुवा मृगको उद्धार गरिएको छ । त्यसैगरी विसं २०८० चैत १९ गते व्यास–१३ बाट अजिङ्गर, विसं २०८१ वैशाख १५ गते व्यास–१३ बाट कालो बाज, विसं २०८१ वैशाख २८ गते शुक्लागण्डकी नगरपालिका–८ बाट रतुवा मृग र विसं २०८१ जेठ १ गते शुक्लागण्डकी नगरपालिका–७ बाट निरबिरालोको उद्धार गरिएको श्रेष्ठले बताउनुभयो । चितुवाको आक्रमणबाट १५ को मृत्यु तनहुँमा विगत सात वर्षको अवधिमा १५ बालबलिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७४/७५ देखि चालु आर्थिक वर्ष २०८१/८२ को बीचमा चितुवाको आक्रमणबाट १५ जनाको मृत्यु भएको हो । सोही अवधिमा २१ जना घाइते भएका छन् । आर्थिक वर्ष २०७४/७५ मा चितुवाको आक्रमणबाट एक, आर्थिक वर्ष २०७५/७६ मा तीनको मृत्यु र तीन घाइते, २०७६/७७ मा पाँचको मृत्यु र छ घाइते, २०७७/७८ मा एकको मृत्यु र चार घाइते, २०७८/७९ मा दुईको मृत्यु र दुई घाइते, २०७९/८० मा दुईको मृत्यु र दुई घाइते, २०८०/८१ मा चार घाइते र २०८१/८२ मा एक जनाको मृत्यु भएको छ ।
काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अलि अन्सारीले शिष्टाचार भेट गर्नुभएको छ । उद्योग मन्त्रालयमा आज भएको भेटमा कतार सरकारले एसियनको अपरेशन डाइलग(एसिडी)को तेस्रो शिखर सम्मेलन आयोजना गर्न लागेकामा मन्त्री भण्डारीले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर द्विपक्षीय सम्बन्ध रहिआएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेपाली कामदारका लागि कतार एक प्रमुख गन्तव्य हो, ठूलो सङ्ख्यामा नेपालीका लागि रोजगारीका अवसर उपलब्ध गराएकामा कतार सरकारप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु ।” हाल कतारमा करिब तीन लाख ६७ हजार नेपाली विभिन्न पेशा व्यवसायमा कार्यरत रहेका जनाउँदै मन्त्री भण्डारीले सन् २०२१ मा नेपाली व्यवसायी सङ्घ कतारको स्थापनाले दुई देशबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ बनाएको बताउनुभयो । उहाँले कतारमा रहेका नेपालीबीच आर्थिक संलग्नता र उद्यमशीलता प्रवद्र्धन गर्ने अपेक्षा गरिएको बताउनुभयो । दुई देशबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने राम्रो सम्भावना रहेको भन्दै राजदूत अन्सारीसँग उहाँले कतार सरकार र कतार फन्ड फर डेभेलपमेन्टबाट नेपालले लगानीको अपेक्षा गरेको बताउनुभयो । “हामीले कतार सरकार र नेपाल सरकार बीचको पारस्परिक प्रवद्र्धन र लगानीको संरक्षणसम्बन्धी प्रस्तावित सम्झौताको मस्यौदा सम्बन्धमा छलफल जारी रहेको कुरा जानकारी गराउन चाहन्छौँ”, मन्त्री भण्डारीले भन्नुभयो, “कतारसँग विद्यमान नेपालको व्यापार घाटा कम गर्न दुई देशबीच सहयोग अभिवृद्धि आवश्यक छ, साथै नेपाली उत्पादनका लागि कतारमा बजारको खोजी गर्न आवश्यकता छ, कतारको बजारमा हाम्रा नेपाली कृषि उत्पादन र अन्य नेपाली उत्पादनमा पहुँच प्रदान गर्न अनुरोध गर्न चाहन्छु ।” मन्त्री भण्डारीले दुई देशबीचको सिधा हवाई सम्पर्कले मानिसको आवतजावतलाई सहज बनाएको र यसलाई पर्यटन तथा द्विपक्षीय व्यापारको प्रवद्र्धनमा थप उपयोग गर्न आवश्यक रहेको बताउनुभयो । साथै उहाँले नेपाल र कतारले पारस्परिक हित तथा चासोका विषयमा संयुक्त राष्ट्रसङ्घलगायत बहुपक्षीय र क्षेत्रीय मञ्चमा नजिकबाट काम गर्दै आएकामा खुशी व्यक्त गर्नुभयो । राजदूत अन्सारीले मन्त्री भण्डारीले व्यक्त गरेका कुरामा सकारात्मक प्रतिक्रिया दिँदै आगामी असोज १६ गते कतार भ्रमणका लागि औपचारिक निमन्त्रणा गर्नुभयो । राजदूत अन्सारीले दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्ने उल्लेख गर्दै सहयोग आदानप्रदान बढाउनुपर्नेमा जोड दिनुभयो ।
काठमाडौँ: सासु बुहारीको कथामा आधारित प्रिमियम सिरिज ओ सासुजी आजबाट टेलिभिजनमा प्रसारण भएको छ । हिन्दु महिलाहरुको महान पर्व तिजको पावन अवसरमा सो सिरिज आज भाद्र २१ गते शुक्रबारदेखि न्यूज नेपाल टेलिभिजनबाट प्रसारण भएको हो । ओ १ सासुजी सिरिज टेलिभिजनमा साँझ ७ः१५ बजेदेखि र ओएसआर डिजिटलको युट्युव च्यानलबाट राति ८:१५ बजे प्रसारण भएको निर्देशक समिर जोशीले जनाकारी दिनुभयो । बिनभ क्रियसनको प्रस्तुति रहेको उक्त प्रिमियम सिरिजको निर्देशन संचारकर्मी निर्देशक समिर जोशी र लेखन सुरेन्द्र रानाको रहेको छ । विना जोशी निर्मात्री रहेको उक्त सिरिजमा सासु पनि आमा सरह र बुहारी पनि छोरी सरह हुन्छ भन्ने कथामा आधारित रहेको छ । सासुले बुहारीलाई गरिने मायाप्रेम र बुहारीले सासुलाई गर्ने आत्मियता त्याग र समर्पणको कथा रहेको उक्त प्रिमियम सिरिज हास्यव्यङ्ग्य शैलीमा आधारित रहेको छ । सिरिजमा अर्को पाटो हाल आर्थिक मन्दीले गर्दा विज्ञापन व्यवसायको प्रतिस्पर्धाले आफ्नो व्यवसाय कसरी बचाउने कथा पनि रहेको छ । उक्त प्रिमियम सिरिज ओ १ सासुजीको छायाकंन जीवन श्रेष्ठ गर्नुभएको छ भने सम्पादन सुनिल श्रेष्ठ र संगीत विरेन शाक्यको रहेको छ । त्यस्तै ग्राफिक्स दुर्गेश रंजितकार र प्रचारप्रसार निर्देशक प्रबल प्रधान रहेको छ । विश्वराम हापुको श्रींगार रहेको उक्त प्रिमियम सिरिज ओ १ सासुजीमा कलाकारहरु बिन्दा खतिवडा, दिक्पाल कार्की, बिनोद पौडेल, चिरिबाबु महर्जन,सुस्मिता बुढाथोकी, बाबुराजा मानन्धर, साङ्गे शेर्पा, राम कार्की लगायत हुनुहुन्छ । नायीकाद्वय संगम शर्मा र युजिन श्रेष्ठले सिरिजमार्फत पर्दापन गरेका छन् । साङ्गे शेर्पा यो सिरिजको निर्माण नियन्त्रक छन् ।