बाँके: नेपाल कम्युनिष्ट पार्टीका (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज नभएको बताउनुभएको छ । प्रेस सेन्टर बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीमा सिस्टम बनाएर उत्तराधिकारी नेता बनाउने तयारी भएको उल्लेख गर्नुभयो । “म सधैँभरि नेतृत्वमा भइरहनुपर्छ भन्ने छैन, मेरा लागि अध्यक्ष पद नभई नहुने छैन”, अध्यक्ष प्रचण्डले भन्नुभयो, “पार्टीको अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज होइन, सिस्टम र विधि बनाएर उत्तराधिकारी तयार गर्दैछु ।” आफूलाई अध्यक्ष भइरहने रहर नभएको उहाँले दाबी गर्नुभयो । तर आफूले छाड्दा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण भइहाल्छ भन्ने नलागेको उहाँको भनाइ छ । “अब मलाई पार्टीमा अध्यक्ष भइरहने रहर छैन । मेरो लागि अध्यक्षभन्दा प्रचण्ड भन्ने नै ठूलो छ”, उहाँले भन्नुभयो, “तर अहिले नै नेतृत्वबाट यताउता गर्न पाउनुहुन्न भन्ने कायकर्ता पङ्क्तिको ठूलो प्रेसर छ ।” पार्टीलाई सुदृढ बनाउन देशव्यापी अभियान सञ्चालन गरेको जनाउँदै उहाँले प्रदेशस्तरीय भेलामा भएको परामर्शको आधारमा पार्टीलाई एकरुपता र एकढिक्का बनाएर अगाडि बढाउने उहाँले उल्लेख गर्नुभयो । “हाम्रो पार्टी एकढिक्का छ, पार्टी फुट्छ भन्ने कुरा निराधार हो”, उहाँले भन्नुभयो, “त्यत्तिकै कोही नेता बन्दैन, लामो कालखण्ड गुजारेर नेतृत्व स्थापित हुने हो, अब केही तयारी गरेर नेतृत्व हस्तान्तरण गर्ने हो ।” अध्यक्ष प्रचण्डले समाजवादी मोर्चालाई व्यवस्थित गर्दै विचार मिल्ने दलहरूबीच पार्टी एकता गर्दै जाने योजना रहेको बताउनुभयो । उहाँले आफूले राम्रो गर्दागर्दै पनि दुई ठूला दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसले बलमिच्याइँ गरेर प्रधानमन्त्रीबाट हटाएको आरोप लगाउनुभयो । प्रेस सेन्टर बाँकेका कार्यवाहक अध्यक्ष सङ्गीन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव पम्फा भुसाल, सचिव चक्रपाणि खनाललगायत नेताहरूको सहभागिता थियो ।
काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
लमजुङ: पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । अविरल वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदिपुरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँले बताउनुभयो । उहाँका अनुसार सडकमा माटोसहितको ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको छ । पानी निरन्तर रूपमा परिरहेकाले पहिरो पन्छाउन समस्या भएको जनाइएको छ । सडक अवरुद्ध भएपछि सवारीसाधन अलपत्र परेका छन् । यो स्थानमा विगत तीन वर्षअघिदेखि बर्सेनि पहिरो खस्न थालेको हो । बेँसीसहरबाट तनहुँ–काठमाडौँ–पोखरा–चितवनलगायत स्थानमा जाने र सो स्थानबाट बेँसीसहर आउने यात्रीलाई समस्या भएको छ । साथै यस सडक हुँदै मनाङवासीसमेत आवतजावत गर्ने गर्दछन् । बर्खा लागेयता दर्जनौँपटक यो सडकका विभिन्न स्थानमा पहिरो पटकपटक सडक अवरुद्ध बनाउँदा यात्रीलाई सास्ती भएको छ ।
चितवन: भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले रुख पन्छाउने काम सुरु गरिएको छ । सडक अवरोध हटाउन समय लाग्ने प्रनाउ रिजालले बताउनुभयो । दुर्घटनामा तीनजना घाइते यसैबीच नारायणगढ–मुग्लिन सडकखण्डमा बस र ट्रक आज बिहान ठक्कर खाँदा तीनजना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ सिमलतालमा एआर०१टी ६३७२ नम्बरको भारतीय बसले ग२ख ११०८ नम्बरको ट्रकलाई ठक्कर दिँदा तीनजना घाइते भएका हुन् । मुग्लिनबाट नारायणगढ आउँदै गरेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बस एकापसमा ठक्कर खाएको हो । ट्रकमा सवार तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । घाइते सबैको अवस्था मध्यम छ । उहाँका अनुसार बसका चालक फरार रहेको र खोजी जारी रहेको छ । यस्तै सोही सडकखण्डमा तीनवटा सवारीसाधन एकापसमा ठक्कर खाएका छन् । भरतपुर महानगरपालिका–२९ जुगेडीमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा११च ८२६२ नम्बरको सफारीले रोकिराखेको बागमती प्रदेश०३–००१च १७७० नम्बरको जिप र ग२च ४४३६ नम्बरको जिपलाई ठक्कर दिएको हो । ठक्करबाट तीनवटै सवारीसाधनमा क्षति पुगेको छ ।
काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु एक घटाएको हो । आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर रु पाँच र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाइएको निगमले जनाएको छ । निगमले पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा प्रतिलिटर क्रमशः रु एक सय ६०।५०, एक सय ६२ र एक सय ६३ तथा डिजेल र मट्टितेल प्रतिलिटर क्रमशः रु एक सय ५१।५०, एक सय ५३ र एक सय ५४ तोकेको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य समायोजन भएर प्रतिलिटर रु एक सय ३२ कायम गरिएको छभने अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर एक हजार पाँच तोकिएको छ । निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल डिपोलाई सूचीकृत गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएकाले स्थानीय बजारमा पनि समायोजन गरिएको निगमद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । एलपी ग्यासको खरिद मूल्यमा प्रतिसिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भएपनि हाललाई बिक्री मूल्य यथावत् नै राखिएको निगमले जनाएको छ ।
सङ्खुवासभा: पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् । निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा पुनःस्थापनाको मस्यौदा प्रतिवेदन अनुसार उक्त आयोजना निर्माणका लागि करिब ६५ हेक्टर जमिन अधिग्रहण गरिने छ । “यसबाहेक वन क्षेत्र ७० हेक्टर र सरकारी जग्गा ६ हेक्टर अधिग्रहण हुनेछ”, तल्लो अरुण पावरडेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी निर्देशक अरुण धिमानले भन्नुभयो । प्रभावित स्थानीयलाई करिब रु एक अर्ब ४० करोड रकम मुआब्जा वितरण गरिने आयोजनाले जनाएको छ । तल्लो अरुण बन्ने पक्का भएपछि प्रभावित क्षेत्रका बासिन्दासँग निर्माणकर्ता भारतीय सतलज कम्पनीले छलफल अघि बढाएको छ । नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् उत्पादनपछि खेर गएको पानीबाट खाँदबारी नगरपालिका–२ चेवाबेसीमा करिब १७ दशमलव चार किलोमिटर सुरुङ मार्गबाट पानी ल्याएर तल्लो अरुण आयोजना निर्माण गर्न लागिएको हो । भारतीय कम्पनी सतलजले नै अहिले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
चितवन: गए रातिदेखि परेको अविरल वर्षासँगै घाँघर खोलामा आएको बाढीले चितवनको माडी–ठोरी सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक केदारमान दोङले घाँघर खोलामा आएको बाढीले माडी–ठोरी सडक सवारीसाधन आवतजावत बन्द भएको जानकारी दिनुभयो । यो खोलामा पुल निर्माणको क्रममा रहेका कारण बाढी आउनासाथ आवतजावत ठप्प हुने गरेको छ । पानी पर्न नरोकिएसम्म सडक सञ्चालन गर्न सम्भव नरहेको उहाँले बताउनुभयो । अहिले गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । धेरै पानी पर्नासाथ खोला बढ्ने गरेका छन् । अधिकांश खोलामा पुल निर्माण भइसकेका छन । घाँघर, बगई र मगुईखोलामा पुल निर्माणको चरणमा रहेको माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिनुभयो । उहाँले छिटो काम सम्पन्न गर्न हुलाकी सडक आयोजनालाई आग्रह गरिरहेको बताउनुभयो । यो खण्डमा पर्ने पतरेखोलामा भने अझै पुल निर्माणको काम सुरु भएको छैन ।
दैलेख: दैलेखमा एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । आठबिस नगरपालिका–९ की २४ वर्षीया कौशी कठायतलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाललका अनुसार सुत्केरी व्यथा लागेपछि कौशीलाई कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको थियो । अत्यधिक रक्तश्राव भएपछि उनलाई शनिबार साँझ हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको उहाँले जानकारी दिनुभयो । गर्भवतीको स्वास्थ्यमा जोखिम भएको जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयले कठायतलाई उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाएको थियो । “अकालमा ज्यान जान दिनु भएन, त्यसैले राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो । अत्यधिक रक्तश्राव भएपछि सुविधासम्पन्न अस्पतालसम्म लैजान हवाई उद्धारका लागि आवश्यक समन्वय गरिदिन आठबिस नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो ।
खोटाङ: गएराति परेको चट्याङका कारण ऐँसेलुखर्क गाउँपालिका–३ तीन जना गम्भीर घाइते भएका छन् । ऐंसेलुखर्कस्थित पातेलका मोहन भुजेलको २१ वर्षीय छोरा डेनिस भुजेल र दुर्गानाथ भुजेलकी छ वर्षीया छोरी अनिसा भुजेल तथा ओडारेका टेकबहादुर दर्जीकी १५ वर्षीया छोरी समीक्षा दर्जी घाइते भएका हुन् । डेनिस र अनिसा (काका भतिजी) आफ्नै घरमा बसिरहेको अवस्थामा र समीक्षा आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङले गम्भीर घाइते भएको स्थानीयले बताएका छन् । चट्याङले गम्भीर घाइते भइ बेहोस बनेका तीनैजनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र एेंसेलुखर्क पु¥याइएको उद्धारमा संलग्न प्रहरीले जनाएको छ । तीनैजनाको अहिले प्राथमिक स्वास्थ्य केन्द्र ऐंसेलुखर्कमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय एेंसेलुखर्कका प्रमुख प्रहरी निरीक्षक हरि बरालले जानकारी दिनुभयो । “चट्याङले बेहोस बनेका तीनैजना अहिले उपचाररत छन् । उनीहरुको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको स्वास्थ्यकर्मीले बताएका छन्”, उहाँले भन्नुभयो, “उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार तीनैजनाको अवस्था खतरामुक्त छ । रातको समयमा परेको चट्याङको थप क्षतिको विवरण भने आउन बाँकी छ ।” चट्याङले विद्युतीय सामग्रीमा ठूलो क्षति गरेको ऐंसेलुखर्क गाउँपालिकाका प्रवक्ता एवं वडा नं ३ ऐंसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिनुभयो । “चट्याङबाट घाइते बनेकाहरुको अवस्था सामान्य बन्दै गएको छ । हामी अहिले घाइतेहरुको अवस्था बुझ्न प्राथमिक स्वास्थ्य केन्द्र पुगेका छौँ”, उहाँले भन्नुभयो, “चट्याङले विद्युत्को मिटरबक्स, टेलिभिजन, विद्युतीय बल्ब, कुर्सी, टेबललगायतका सामग्री जलेको भन्ने जानकारी फोनमार्फत आइरहेको छ । अब प्रहरीसँगको सहकार्यमा क्षतिको विवरण सङ्कलन गर्छौं ।” चट्याङबाट स्थानीय बासिन्दालाई जोगाउन यसअघि गाउँपालिकाले विभिन्न ठाउँमा अर्थिङसमेत गरेको थियो । अघिल्लो जनप्रतिनिधिका पालामा गाउँपालिकाको लगानीमा विभिन्न ठाउँमा अर्थिङ गरिए पनि यस वर्ष चट्याङले ठूलोमात्रामा क्षति गरेको स्थानीय बासिन्दाले बताएका छन् ।