पोखरा:    पोखरा महानगरपालिका भित्रका सबै विद्यालय असोज १ गतेदेखि नियमित सञ्चालनमा आउने भएका छन् ।  पोखरा महानगरपालिका, नगर कार्यपालिकाको भदौ २८ गते बसेको बैठकले असोज १ गतेदेखि नियमित...

पोखरा:     जिल्ला प्रशासन कार्यालय कास्कीले चाडपर्वलक्षित बजार अनुगमनका क्रममा  पोखरा महानगरपालिका–५ मा अवस्थित सगरमाथा एग्रो प्याकेजिङ स्टोरलाई रु एक लाख जरिवाना गराएको छ ।   उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्दै सामान बिक्री गरेको पाइएपछि बुधबार  कारबाही गरिइएको हो । साथै सो उद्योगबाट म्याद गुज्रिएका र लेवल नभएका रु ५५ हजार आठ सय ९२ मूल्य बराबरका सामान जफत गरी नष्ट गरेको बजार अनुगमन समितिका संयोजक एवं कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।  यसरी म्याद गुज्रिएर जफत गरिएका सामग्रीमा अलैँची १६ केजी, चक्रचिप्स १९ केजी, पिप्ला आठ केजी, मेथीपत्ता चार बट्टा, पास्ता एक केजी, ओखर १६ केजी र अन्य तिललगायत मसला पाँच केजी रहेको छ ।  यसैगरी स्टोरमा मूल्यसूची नराखी जथाभावी सामान बिक्री वितरण गरेको पाइएपछि सम्पूर्ण कागजातसहित तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन समितिले निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताउनुभयो ।  उहाँले भन्नुभयो, “उपभोक्ताले गुनासो गर्नुभएपछि जिल्ला अनुगमन समितिबाट अनुगमन गरेका हौँ । सो क्रममा उपभोक्ता संरक्षण ऐनका विपरीतका कुसर गर्नुभएकाले पसल सञ्चालकलाई जरिवाना र अखाद्य सामग्री जफत गरेका छौँ ।” यसैगरी अन्यत्रबाट खुला ल्याई उक्त उद्योगमा प्याकेजिङ गरिएको सोयाविन मस्यौरा प्रयोगशाला परीक्षणका लागि खाद्य नियन्त्रण तथा गुणस्तर कार्यालयमा पठाइएको क्षेत्रीले जानकारी दिनुभयो ।  सो स्टोरका सञ्चालक भारतको मोतिहारी जिल्ला ढाका गाउँ पञ्चायत–२ स्थायी घर भएका अशोक जैसवाललाई अब आइन्दा उपभोक्तामाथि खेलवाड नगर्न सचेत गराइएको छ । बजार अनुगमन टोलीमा नापतौल तथा गुणस्तर कार्यालय पोखराका प्रतिनिधि जनप्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि तथा उपभोक्ता मञ्च र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।   यसैगरी चाडपर्व नजिकिएसँगै मूल्यवृद्धि, सामानको कृत्रिम अभाव, कालोबजारी र उपभोक्ता हकहितविरुद्धका कार्य हुनसक्ने भन्दै पोखरा महानगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ । महानगरले विभिन्न मासु पसल, दूध डेरीहरूमा अनुगमन बढाएको छ । 

लमजुङ:    लमजुङको उत्तरी क्षेत्रका छ गाउँमा मोबाइल नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयलाई समस्या भएको छ । यहाँका स्थानीयले आफन्तसँग कुराकानी गर्न टावर खोज्दै डाँडातिर धाउनुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।  क्व्होलासोथर गाउँपालिकाअन्तर्गत वडा नं ३ का घलेगाउँ, बङ्गुम, खगुम, फुल्म्रौ, वडा नं ५ स्थित सानो सिङ्दी र ठूलो सिङ्दी क्षेत्रका स्थानीयलाई यस्तो समस्या भएको हो ।  वडा नं ५ का अध्यक्ष तथा तल्लो सिङ्दीका स्थानीय गीतबहादुर गुरुङले यहाँ टावरले राम्रोसँग काम नगर्दा आफन्तसँग कुराकानी गर्न डाँडामा पुगेर फोन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।  आफूले पनि कार्यालयको काम परेमा घरबाट पाँच/दश मिनेट हिँडेर चौतारी डाँडामा पुगेर फोन गर्नु परिरहेको उहाँले दुःखेसो पोख्नुभयो । “दिउँसोको समयमा हिँडेर त्यहाँ गए पनि रातिको समयमा आकस्मिक कामपर्दा आफन्तलाई फोन गर्न समस्या हुन्छ”, उहाँले भन्नुभयो, “वडामा मोबाइलको टावर छैन, वडा नं ६ पसगाउँमा राखिएको नेपाल टेलिकमको टावरले यहाँ राम्रोसँग काम गर्दैन । वडा कार्यालयभित्र मोबाइल फोन राम्रोसँग नटिप्नेदेखि वाइफाइसमेत नचल्ने समस्या छ ।” नेपाल टेलिकम लमजुङ शाखा कार्यालयमा पसगाउँमा टावर क्षमता थपेर वा सिङ्दीमा टावर राखेर समस्या समाधान गर्नेबारे ध्यानाकर्षण गराइए पनि सुनुवाइ नभएको वडाध्यक्ष गुरुङले बताउनुभयो ।  “स्थानीय टेलिकम कार्यालयलाई मात्रै होइन यहाँको समस्याबारे जानकारी गराइ टावर राख्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समेत जानकारी गराएका थियौँ तर पनि समस्या समाधान भएको छैन”, उहाँले भन्नुभयो ।  ठूलो सिङ्दीका स्थानीय तथा वडा महिला सदस्य वर्तामाया गुरुङले फोन गर्नु पर्दा घरबाहिर निस्कनुपर्ने बाध्यता रहेको सुनाउनुभयो । “यहाँ कुनै  आकस्मिक घटना, दुर्घटना भएमा वा कसैलाई केही खबर गर्नुपरेमा निकै समस्या हुने गरेको छ”, उहाँले भन्नुभयो ।  वडा दलित महिला सदस्य पार्वती सुनार विकले पनि वडाको बङ्गुम गाउँमा सबैभन्दा बढी समस्या रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घलेगाउँमा मोबाइलमा टावर देखाउँछ तर राम्रोसँग आवाज नै सुनिदैन, तलतलका गाउँमा त झ्न बढी समस्या हुने नै भयो”, उहाँले भन्नुभयो,“नेपाल टेलिकमको टावर राख्ने कुरा भइरहेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको गृह पालिका पनि रहेकाले अब समस्या समाधान हुने आशा छ ।” नेपाल टेलिकम (दूर सञ्चार) कार्यालय लमजुङका प्रमुख किरण पौडेलले सबै ठाउँमा टावर राख्न नसकिएको र भौगौलिक कारणले पनि फोन नलाग्ने गरेको बताउनुभयो । उहाँले समस्या रहेका ठाउँ पहिचान गरी टावर थप्न सम्बन्धित निकायमा जानकारी गराइएको बताउनुभयो । 

काठमाडौं:     हाल देशभर मनसुनी वायुको प्रभाव रहेको  छ ।  मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । यसैगरी, आज राति देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।  कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

काठमाडौं:    खानेपानीमन्त्री प्रदीप यादवले नेपाली जनतालाई शुद्ध एवं सफा खानेपानी वितरण गर्नु मन्त्रालय र सम्बद्ध पक्षको प्रमुख दायित्व भएको बताउनुभएको छ । खानेपानी मन्त्रालयले आज मन्त्रालयमा आयोजना गरेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८०र०८१को वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले जनतालाई शुद्ध खानेपानी वितरण गर्ने पहिलो प्राथमिकतासहित आफूले काम गर्ने बताउनुभयो ।  उहाँले भन्नुभयो, “पानी जीवनका लागि  नभइ नहुने चिज हो, पर्याप्त बजेट नभएका कारण त्यही पानी पनि जनतालाई खुवाउन सकिएको छैन । त्यसैले हाम्रो पहिलो उद्देश्य जनतालाई शुद्ध खानेपानी वितरण गर्नु हो भनेर सबैले मिलेर काम गर्नुपर्छ ।”  मन्त्री यादवले जनताका जायज मागलाई मन्त्रालयले आवश्यकताका आधारमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैगरी उहाँले चुरे दोहोन तथा जलवायु परिवर्तनका कारण खानेपानीका स्रोत सुक्दै जाँदा अनेकन समस्या आउनथालेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “मधेसमा चुरेको दोहनका कारण चापाकलमा पानी आउँदैन । पानीका स्रोत सुकेर देखिएका समस्या समाधानका लागि देशभरि नै जलस्रोतकोे अध्ययन गरेर आवश्यक काम गर्न आवश्यक छ ।”  खानेपानी मन्त्रालयको बजेट बर्सेनी घट्दै जानथालेको प्रति मन्त्री यादवले दुःखसमेत व्यक्त गर्नुभयो । “अर्थ मन्त्रालयले हामीले पठाएका फाइल नै खोल्दैन, गर्न नसकिने कामका फाइल यो कारणले नसकिने भनेर लेखेर फिर्ता पठाइ दिए पनि हुन्थ्यो नी १ यो विषयमा अब प्रधानमन्त्रीसँग कुरा राख्छु ।” कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा जयबहादुर टण्डन, मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यलगायत कर्मचारीको सहभागिता रहेको थियो ।

काठमाडौं:     सभामुख देवराज घिमिरेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रमाणित गर्नुभएको छ ।       सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार उहाँले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ प्रमाणित  गर्नुभएको हो ।       सो विधेयक सङ्घीय संसद्का दुवै सदनबट पारित भइसकेको छ । गत साउन ३० मा प्रतिनिधिसभाबाट पारित भएको विधेयक यही भदौ ६ गते राष्ट्रियसभाले पारित गरेको थियो ।  सभामुखले प्रमाणित गर्नुभएको यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ । राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएपछि विधेयकले कानुनको मान्यता पाउने व्यवस्था छ । 

तनहुँ:   पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा गत शुक्रबार भएको बस दुर्घटनामा बेपत्ता एकजना पाँच दिनसम्म फेला पर्न सकेका छैनन् । पोखराबाट काठमाडौँतर्फ गइरहेको भारतीय नम्बर प्लेट युपी५३एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दीमा खस्दा बेपत्ता भएका २२ वर्षीय गोकर्णी सन्दीप सरोदे मङ्गलबारसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो ।  दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । बेपत्ता भएको सरोदेको खोजी भइरहे पनि फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।  सोमबार नदीमा खसेको बस निकाल्ने क्रममा बसले च्यापिएको अवस्थामा छ कि भन्ने आशङ्का रहे पनि उनी फेला नपरेको प्रहरीको भनाइ छ । बेपत्ता भएका सरोदेका बुबाआमाको सोही दुर्घटनामा परी मृत्यु भएको छ ।  प्रनाउ रायले भन्नुभयो, “घाइतेहरूले दिएको विवरणका आधारमा उनी फेला परेका छैनन् । सम्भावित ठाउँमा खोजी भइरहेको छ ।” प्रहरीले गत सोमबार आठ घण्टाको प्रयासमा नदीबाट बस निकालेर सडक नजिकको भागसम्म ल्याएको थियो । 

लमजुङ:     पहिरोले अवरुद्ध  पोखरा–सिङ्दी–पसगाउँ सडक सञ्चालनमा आएको छ । कास्कीको मादी गाउँपालिका–८ उगीकुनासहित लमजुङको विभिन्न स्थानमा रुदी खोलाले कटान गर्दा  एवं पहिरो खस्दा गत साउन १२ गतेदेखि सो सडक अवरुद्ध भएको थियो ।   सडक सञ्चालन हुन नसक्दा लमजुङ क्व्होलासोथर गाउँपालिका–५ सिङ्दी र वडा नं ६ पसगाउँ क्षेत्रका स्थानीयलाई समस्या हुँदै आएको क्व्होलासोथर–५ का वडाध्यक्ष गितबहादुर गुरुङले बताउनुभयो । डोजरको सहयाताले करिब एक हप्तामा सडक मर्मत गरेर सडक सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।   पोखरा र रामबजार हुँदै बेँसीसहर जानका लागि पनि यही बाटो प्रयोग हुने गरेको छ । यहाँका अधिकांश स्थानीय पोखरा आवतजावत गर्ने गर्दछन् ।  त्यहाँका स्थानीयलाई बेँसीसहर आउनुभन्दा पोखरा जानलाई सहज र छोटो हुने भएकाले नागरिकता बनाउन, मालमोतलगायत मुख्य कामबाहेकका लागि यही सडकबाट पोखरा जाने गर्दछन् । सडक सञ्चालनसँगै स्थानीय हर्षित बनेका छन् । 

रामेछाप:    दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा गएको पहिरोमा परी मृत्यु हुनेहरूको सङ्ख्या आठ पुगेको छ । यही भदौ ९ गते (आइतबार) बिहान गएको पहिरोमा परी चार घर बगाउँदा हराइरहेका १० मध्ये मङ्गलबारसम्म आठजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रदीपकुमार सिंहले बताउनुभयो ।   उहाँले मङ्गलबार एक महिलाको बायाँ गोडाको पैतालाको भागमात्र भेटिएपछि हराइरहेका आफन्तसँग अनुसन्धान गर्दा नङ पालिस लगाएको बाङ्गो औलाका आधारमा आफ्नी हराइरहेकी श्रीमती बिन्दा पहरीको भएको उनका श्रीमान् कुमार पहरीले स्वीकार गरेपछि सनाखत गरी परिवारको जिम्मा लगाइएको बताउनुभयो । गत शनिबार राति परेको अविरल वर्षाका कारण सो गाउँपालिकाको वडा नं ३ लेखर्कमा पहिरोमा परेर ११ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये एकजनालाई जीवितै उद्धार गरिएको थियो भने छजनाको शव सोही दिन नै निकालिएको थियो । त्यसपछि एकको शव र हिजो एकजनाको पैतालाको भाग फेला परेपछि मृत्यु हुनेको सङ्ख्या आठ पुगेको हो ।   उक्त पहिरोमा परी हराइरहेका सोहि वडाका ५५ वर्षीय काले पहरी र ५० वर्षीय झ्याइपुरी पहरी अझै बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  पहिरोमा परी सो वडाकी ३० वर्षीया चण्डिका श्रेष्ठ, निजका १८ महिनाका छोरा आयुष श्रेष्ठ, सोही वडाका ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरी शव आइतबार नै फेला पारी परीक्षणपश्चात् परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिनुभयो । 

म्याग्दी:     चीन र भारत जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुबारी क्षेत्रको पहिरोले दुर्घटनाको जोखिम बढेको छ ।  कालीगण्डकी किनारको पाखोमा निर्माण भएको सडकमा खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढेको हो । स्तरोन्नतिका क्रममा रहेको बेनी–जोमसोम–सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले गत वर्षदेखि सृजना भएको सिरुबारीको पहिरोले दुःख दिइरहेको बताउनुभयो ।  “करिब एक किलोमिटरमाथिको पाखो बगेको छ”, उहाँले भन्नुभयो “खसेको पहिरो पन्छाउदै सावधानी अपनाएर यातायात सञ्चालन गरिएको छ ।” आकाशबाट पानी पर्नेबित्तिकै पाखोबाट ढुङ्गा, लेदो र गेगरसहितको पहिरो खसेर सडकमा थुप्रिन्छ । हिलोमा सवारीसाधन फस्ने, गुुडिरहेका सवारीमाथि ढुङ्गा खस्ने, यात्रीलाई चोटपटक लाग्ने जोखिम छ । यही भदौ ४ गते पोखराबाट बेनी हुँदै जोमसोमतर्फ जाँदै गरेको ग१ख ७७१७ नम्बरको बस सिरुबारीको पहिरोमा गुडिरहेको अवस्थामा ठूलो ढुङ्गा खसेर च्यापिदा दुईजना यात्रा घाइते भएका थिए । पहिरोले सयौँ रोपनी खेतीयोग्य जमिन र जङ्गल नष्ट भएको छ ।   सवारी चालक तम परियारले त्रासैत्रासमा गाडीलाई पहिरो पार गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । सिरुबारी क्षेत्रमा करिब पाँच सय मिटर सडक पहिरोले छियाछिया बनाएको छ ।  मुस्ताङ जिल्ला, म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाका बासिन्दाका साथै पर्यटक र तिर्थयात्रीलाई पहिरोका कारण जोखिम र सास्ती भएको छ ।  सिरुबारी, महभिर, बैसरी, गुइँठेभिरलगायत ठाउँमा पहिरोको उच्च जोखिम भएकाले रातको समयमा यात्रा नगर्न र सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय, रघुगङ्गा, अन्नपूूर्ण गाउँपालिका र बेनी–जोमसोम–कोरला सडक आयोजनाले अपिल गरेका छन् ।  ती ठाउँमा खस्ने पहिरो पन्छाएर यातायात सञ्चालन गर्न सडक विभागको डोजर, लोडर, ब्याकुहोलोडर तयारी अवस्थामा राखिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख धु्रवकुमार झाले बताउनुभयो । पहिरो, कटान र बाढीको जोखिम भएको ठाउँमा दीर्घकालीन समाधानका लागि अध्ययन गरेर भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा योजना माग गरिएको उहाँले बताउनुभयो । योजना र बजेटको अभावमा पहिरो रोकथामका लागि दीर्घकालीन काम गर्न नसकेको झाले बताउनुभयो ।