पोखरा:    पोखरा महानगरपालिका भित्रका सबै विद्यालय असोज १ गतेदेखि नियमित सञ्चालनमा आउने भएका छन् ।  पोखरा महानगरपालिका, नगर कार्यपालिकाको भदौ २८ गते बसेको बैठकले असोज १ गतेदेखि नियमित...

म्याग्दी:    रुकुमपूर्व, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन सिकार आरक्षमा पाइने बुकी फूलको पहिचान गरी अभिलेखीकरण गर्न थालिएको छ । आरक्ष कार्यालयले फूलहरूको पहिचान गरी अभिलेखीकरण गर्न स्थानीय नाम र तस्बिर सङ्कलन गरेको हो ।  आरक्ष कार्यालयका संरक्षण अधिकृत पशुपति अधिकारीले आरक्ष क्षेत्रमा पाइने १३ प्रजातिका फूलको तस्बिर र स्थानीय नाम सङ्कलन गर्न थालिएको बताउनुभयो । ओठफुटे, काप्चुच्चे, दहिठेकी, दूधे, नाकेफुली, पुतली, प्याउली, फट्याङग्री, बिजौरी, बुकी (१), (२), (३), बोक्सी, मदाने र राके स्थानीय नाम गरेका फूलको तस्बिर सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो । यीबाहेक कप्टेरी, भुइँपाटी, बटारे, घोप्टे, अतिशलगायत अन्य फूल पनि बुकीको पाटनमा फुल्ने गरेकाले यसबारे पनि अनुसन्धान गरी अभिलेख राखिने अधिकारीले बताउनुभयो । “बुकीफूलको बारेमा हालसम्म वैज्ञानिक अध्ययन तथा अनुसन्धान भएको छैन”, उहाँले भन्नुभयो, “स्थानीयले हिमाली क्षेत्रका पाटनलाई बुकी भन्ने गरेकाले त्यस क्षेत्रमा फुल्ने फूललाई बुकीफूल भनिन्छ ।” साउनदेखि असोजको पहिलो हप्तासम्म बुकी फुल्ने गर्दछन् । वर्षात्को समयमा मात्रै फुल्ने यी फूलहरू असोज लागेपछि आफैँ सुक्दै जाने संरक्षण अधिकृत अधिकारीले उल्लेख गर्नुभयो । उहाँका अनुसार हिजोआज ढोरपाटनको फाँट र पाखा बुकी फुलेर रमणीय बनेका छन् ।  सङ्कलन भएका फूलका तस्बिरलाई सम्बन्धित विज्ञको सहयोगमा अङ्ग्रेजी र वैज्ञानिक नाम पहिचान गर्ने तयारी गरिएको आरक्षका संरक्षण अधिकृत मन्दीप पङ्गेनीले बताउनुभयो । “यहाँ पाइने फूलको जात पहिचान गरी अभिलेखीकरणको काम थालेका छौँ”, उहाँले भन्नुभयो, “वर्षात्को समयमा ढोरपाटनको आकर्षण नै बुकी हो ।”  आरक्षले फूलहरूलाई संरक्षण गर्न चरन क्षेत्रबाट ट्रयाक्टरमा गाईवस्तुको मल उठाउन रोकेको छ । सिमसार क्षेत्रमा गाईवस्तुले गोब्राउने भएकाले मलिलो माटोमा फूलका बोटबिरुवा सजिलै हुर्कने भएकाले चरन क्षेत्रबाट गाईवस्तुको मल उठाउन स्थानीयलाई रोकिएको संरक्षण अधिकृत पङ्गेनीले बताउनुभयो । रुकुमपूर्व ६०, बागलुङ २६ र म्याग्दीको १४ प्रतिशत भूगोलमा समेटिएको ढोरपाटनमा फुल्ने बुकीफूलको विशेषता चाडपर्व, धर्म, संस्कार र संस्कृतिसँग सम्बन्ध गाँसिएको पङ्गेनीले जानकारी दिनुभयो । “भुमे पूजामा युवायुवतीले फूल टिपेर एकअर्कालाई दिने चलन छ । साउने सङ्क्रान्तिमा बुकीफूल जम्मा पारेर लेक र गाउँका देवता पुज्ने गरिन्छ”, उहाँले भन्नुभयो । मगरात क्षेत्रको प्रमुख मानिने उत्तरगङ्गा ढोरबराहमा जनैपूर्णिमाका दिन लाग्ने मेलामा ढोरपाटन क्षेत्रलाई बुकीफूलले ढाकेको हुन्छ । “ढोरपाटनमा ढकमक्क फूल फुलेर रमणीय भएको समयमा जनैपूर्णिमा पर्ने गर्दछ ।  सो अवसरमा यहाँ बलिराजा प्रकट भएका र उहाँको स्वागतमा मेला लगाउने प्रचलन चल्दै आएको हो”, ढोरपाटनका ८३ वर्षीय विष्णुबहादुर थापाले भन्नुभयो । आरक्ष कार्यालयले यसको सङ्कलन गरी पहिचान र अभिलेखको काम थाल्नु उदाहरणीय रहेको उहाँले उल्लेख गर्नुभयो ।

काठमाडौं:    सामाजिक सुरक्षा भत्तासहित सार्वजनिक सेवा लिनका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।   न्यायाधीशहरु डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रबार सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको हो ।   राष्ट्रिय परिचयपत्र जारी गर्न सरकारले ढिलाइ गरिरहेको र त्यसलाई अनिवार्य गर्दा कैयौ जेष्ठ नागरिकहरु सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुने भन्दै अधिवक्ता रामबहादुर रावल लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।   सरकारले सामाजिक सुरक्षा भत्ता लिन, मोबाइलको सिमकार्ड लिन र सबै सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो ।   यसअघि २४ जेठ २०८१ को मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा २८ जिल्लामा १ साउनबाट लागु हुने गरी सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो ।   यसलाई विस्तार गर्दै दोस्रो चरणमा १ माघ २०८१ बाट थप ३८ जिल्लामा अनिवार्य गर्ने भनिएको थियो । १ साउन २०८२ पछि भने देशैभरि ७७ वटै जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी थियो ।

काठमाडौं:    राष्ट्रियसभा सदस्यहरूले मिटरब्याजपीडितलाई न्याय दिन सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा उहाँहरूले यसका लागि कानुन कार्यान्वयनमा जोड दिनुभएको छ ।  बैठकको शून्य समयमा बोल्दै राष्ट्रियसभा सदस्य पूजा चौधरीले मिटरब्याजीको कानुन बने पनि न्याय नपाएको भन्दै कानुन कार्यन्वयन हुनुपर्नेमा जोड दिनुभयो । पीडितले छिटो न्याय पाउनुपर्ने उहाँको भनाइ थियो । राष्ट्रियसभा सदस्य रुक्मणि कोइरालाले तनहुँमा भारतीय बस खसेर भएको दुर्घटना तथा खोटाङबाट काठमाडौँ आउँदै गरेको गाडी दुर्घटनामा परेको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणका लागि सरकारले पहल थाल्नुपर्ने सुझाव दिनुभयो ।  सांसद रेणु चन्दले सुदूरपश्चिम क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्नेमा जोड दिनुभयो । “सुदूरपश्चिमको मुख्य पर्यटकीय गन्तव्य बडिमालिका र त्रिवेणी क्षेत्रमा राम्रो सञ्चार सुविधा, खानेपानीको पहुँच, अन्य पूर्वाधारको विकास हुनुपनर्छ”, उहाँले भन्नुभयो ।  सांसद विष्णुकुमारी सापकोटाले अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडापन रोक्नुपर्नेमा जोड दिनुभयो ।  सांसद विष्णुदेवी पुडासैनीले सडक दुर्घटना न्यूनीकरण गर्न उपाय अवलम्बन गर्न सरकारसँग माग गर्नुभयो ।   सांसद विष्णुबहादुर विश्वकर्माले बूढानीलकण्ठस्थित करुणा अस्पतालमा गत असार ३१ गते दुई शिशुको मृत्यु भएको घट्नाको सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय दिन सरकारसँग माग गर्नुभयो ।   सांसद कृष्णप्रसाद अधिकारीले देशभर विपद्मा एक सय ९७ जनाको  ज्यान गएको भन्दै यसतर्फ सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

काठमाडौं:     अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैङ्किङ तथा वित्तीय प्रणालीको कारोबारमा हुनसक्ने चेक अनादरजस्ता कसुरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित एवं प्रभावकारी बनाउन ‘बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० संसद्मा दर्ता भएको बताउनुभएको छ ।      प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा बोल्नुहुँदै अर्थमन्त्री पौडेलले पछिल्ला दिनहरुमा बैङ्किङ कसुर र चेक अनादरसम्बन्धी घटना उल्लेख्य रुपमा बढेको बताउनुभयो ।  उक्त घटनाको अनुसन्धान र अभियोजन प्रक्रियालाई थप व्यवस्थित गर्न यो विधेयक कानुनका रुपमा कार्यान्वयनमा आउनुपर्ने उहाँको धारणा छ । विधेयकले चेक अनादरजस्ता बैङ्किङ कसुरजन्य कार्यमा आर्थिक जरिवानालाई प्राथमिकतामा राखेको उहाँले जानकारी दिनुभयो ।      अर्थ समितिको आजको बैठकमा सांसद डा स्वर्णिम वाग्लेले बैङ्किङ कसुरमा जेल सजायभन्दा पनि आर्थिक जरिवाना गर्नेगरी कानुन आउनुपर्ने बताउनुभयो । विश्वव्यापी रुपमा पनि चेक अनादरजस्ता अपराधमा आर्थिक जरिवानाको व्यवस्था रहेको उहाँको भनाइ छ ।       त्यस्तै, संसद् र संसदीय समितिका कार्यहरु प्रभावकारी रुपमा अघि बढ्न नसकेको डा वाग्लेले बताउनुभयो । संसद्मा दर्ता भएका र समितिमा छलफलमा आएका विधेयकहरु चाँडो टुङ्ग्याइनुपर्नेमा उहाँले जोड दिनुभयो । अर्का सांसद पदम गिरीले संसद्को विधायिकी भूमिका कमजोर भएको धारणा राख्नुभयो । समितिको बैठक प्रभावकारी हुन नसक्दा धेरैवटा विधेयक अड्किएर बसेको उहाँको भनाइ छ ।      गत वर्ष साउन २३ गतेको मन्त्रिपरिषद् बैठकले बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० को मस्यौदा स्वीकृत गरेको थियो । तत्कालीन अर्थमन्त्री डा प्रकाशशरण महतले विसं २०८० असोज १६ गते यो विधेयक संसद्मा दर्ता गर्नुभएको थियो ।  चेक अनादरसम्बन्धी मुद्दामा फरक–फरक खालको कानुनी उपचारको अवस्था देखिएकाले यसलाई एकरुप बनाउनुपर्ने व्यहोराको सर्वोच्च अदालतको आदेश र महान्यायाधिवक्ताको कार्यालयको अध्ययनबाट समेत बैङ्किङ कसुर तथा सजाय ऐनलाई संशोधन गर्नुपर्ने सुझावका आधारमा सरकारले यो विधेयक तयार पारेको हो ।      कुनै व्यक्तिले आफ्नो खातामा रकम मौज्दात नभई चेक जारी गर्न नहुने व्यवस्था विधेयकमा राखिएको छ । “कसैले पनि आफ्नो बैङ्क खातामा रकम मौज्दात नभएको वा मौज्दात भए पनि भुक्तानीका लागि पर्याप्त छैन भन्ने जानाजान कसैलाई चेक जारी गरी दिन वा बैङ्कसँग त्यस्तो चेकको भुक्तानी माग गर्नुहुँदैन”, विधेयकमा भनिएको छ ।      चेकको भुक्तानी गर्न आवश्यक पर्ने रकम खातामा मौज्दात नदेखिएमा त्यस्तो चेक बैङ्क तथा वित्तीय संस्थाले धारकलाई नै फिर्ता दिनुपर्नेछ । यही चेक साट्न चाहने व्यक्तिले त्यस्तो चेक अनादर भएको प्रमाणित गराउन चाहेमा बैङ्कले बढीमा ३० दिनको म्याद दिई आफ्नो खातामा आवश्यक रकम जम्मा गर्न सम्बन्धित खातावालालाई सूचना दिई सो को अभिलेख राख्नुपर्ने व्यवस्था विधेयकमा राखिएको छ ।      त्यसरी सूचना दिएको जानकारी खुलाई बैङ्कले चेक फिर्ता गर्नुपर्नेछ । तीस दिनसम्ममा पनि खातामा पैसा उपलब्ध नभएमा चेक अनादर भएको प्रमाणित गर्नेसम्बन्धी प्रक्रिया अघि बढ्नेछ ।  “तीस दिनको म्याद समाप्त भएपछि चेक बोक्ने व्यक्तिले रकम भुक्तानी माग्दा खातामा आवश्यक रकम नदेखिएमा बैङ्कले तीन दिनभित्र सम्बन्धित खातावालाले चेक अनादर गरेको प्रमाणित गरी चेक फिर्ता दिनुपर्नेछ”, विधेयकमा उल्लेख छ ।      विधेयकमार्फत चेक अनादरसम्बन्धी बैङ्किङ कसुरको जरिवानामा संशोधन गर्न लागिएको छ । बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ मा चेक अनादर भएमा बिगो भराई बिगोबमोजिम जरिवाना र तीन महिनासम्म कैदको व्यवस्था रहेको छ तर विधेयकले चेक अनादर भएको प्रमाणित भएमा चेक जारी गरिदिने खातावालाबाट धारकलाई बिगोबमोजिमको रकम भराई चेक जारी गरिदिने खातावालालाई बिगोको पाँच प्रतिशत जरिवाना गर्ने र चेक काटिएको रकमका आधारमा कैद सजाय तोक्नेगरी मस्यौदा तयार पारिएको छ ।      विधेयकमा रु पाँच लाखसम्म बिगो भए एक महिनासम्म कैद, रु पाँच देखि १० लाखसम्म बिगो भए तीन महिनासम्म कैद, रु १० लाख देखि ५० लाखसम्म बिगो भए छ महिनासम्म कैद र रु ५० लाखभन्दा बढी जतिसुकै बिगो भएमा दुई वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ ।       त्यस्तै, चेक अनादर गरेको प्रमाणित भएको मितिले तीन महिनाभित्र सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्न सकिने व्यवस्था ल्याउन लागिएको छ ।

सङ्खुवासभा:       ‘ड्युटी’ गर्दागर्दै अचानक बेहोस हुनुभएका मङ्गलबारे प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हबल्दार पुरुषोत्तम निरौलाको निधन भएको छ ।  मादी नगरपालिका–२ मा ड्युटी गर्ने क्रममा बेहोस हुनुभएका निरौलालाई तेह्रथुमको वसन्तपुरमा रहेको स्वास्थ्य चौकीमा शनिबार साँझ मृत घोषणा गरिएको थियो ।       जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी घनश्याम श्रेष्ठका अनुसार शनिबार ड्युटी गर्दागर्दै निरौला एक्कासि लडेर बेहोस हुनुभएको थियो ।  मृतकको शवपरीक्षण आज धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञानमा गरिनेछ । शवपरीक्षणपछि निरौलाको घर सोलुखुम्बु लगेर परिवारलाई शव बुझाइने डिएसपी श्रेष्ठले बताउनुभयो ।

नवलपरासी:     शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बालबालिकाहरूको समग्र विकास र संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुलीमा आज आयोजित ‘बालिका अधिकार संरक्षणमा सरोकारवालाको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री भट्टराईले अधिकार स्थापित गर्न गुणस्तरीय शिक्षा आवश्यक पर्ने भएकाले राज्यका तर्फबाट निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनका लागि गृहकार्य सुरु गरिएको बताउनुभयो । “विद्यालयमा खुवाउने गरेको दिवाखाजाको गुणस्तरीयता र पोषणका लागि स्थानीय सरकार, विद्यालय र समुदायसँग मिलेर काम गरिने छ”, उहाँले भन्नुभयो, “परम्परागत र स्थानीय खाद्य सामग्रीको प्रयोग हुनेगरी दिवाखाजालाई व्यवस्थित, गुणस्तरीय बनाउनुका साथै स्थानीयस्तरको समग्र कृषि प्रणालीलाई सहयोग पुग्नेछ ।” “प्याड अभावका कारण विद्यालय शिक्षाबाट वञ्चित हुनबाट रोक्न  सरकारले काम गर्ने छ”, मन्त्री भट्टराईले भन्नुभयो ।   अन्तक्र्रिया कार्यक्रममा देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारी, जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेल, गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा बढी स्थानीय तहका महिला जनप्रतिनिधि, नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्य एवं अन्य सरोकारवालाको उपस्थिति थियो ।

सिन्धुली:     शनिबार साँझ सुनकोसी नदीमा खसेर बेपत्ता भएको गाडी आइतबार बिहान २ बजे भेटिएको छ । खोटाङको हलेसीबाट भक्तपुर जाने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेस्थित मध्यपहाडी लोकमार्गबाट नदीमा खसेको प्रदेश ३–०१–०२३ च ६३६६ नंको हाइलक्स गाडी भेटिएको हो ।       सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीको धमिलो बहावमा डुबेको गाडी जेसिभीको सहायतामा झिकेर नदी किनारमा राखेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।  आज बिहान घटनास्थलमा पुग्नुभएका प्रहरी उपरीक्षक काफ्लेका अनुसार गाडी घटनास्थलबाट ५० मिटर तलबाट झिके पनि गाडीमा सवार चालकसहित तीनजना अझै बेपत्ता छन् ।       बेपत्ता हुनेहरूमा भक्तपुरको जगातीका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा छन् । उनीहरूको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र स्थानीय नागरिकहरु खटिएका छन् । गाडीमा चारजना सवार थिए । हाम्फालेर बाँच्न सफल घाइते भक्तपुरको जगातीका २७ वर्षीय सुशान्त कक्षपतीको सुनकोसी सामुदायिक अस्पताल, खुर्कोटमा उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । 

काठमाडौँ:    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका सबै भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ ।   हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।   विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ ।   कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।   कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।   कोशी र मधेस प्रदेशका एक दुई स्थानमा भारी वर्षाको वर्षाको सम्भावना छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।   कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।   कोशी मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

रामेछाप:  दोरम्बा शैलुङ गाउँपालिका–३ मा गएराति पहिरोले तीन घर पुरिँदा दुई जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त पालिकाको वडा नं ३ मा खसेको पहिरोमा परी ३० वर्षीया चण्डीका श्रेष्ठ र निजका १८ महिनाका छोरा आयुषको मृत्यु भएको हो ।   एघार वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी छन् । उनको कम्मरभन्दा मुनिको भाग चलेको छैन । सो गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले दिनुभएको जानकारीअनुसार गएराति पहिरो खसेको हो ।   घटनाबारे जानकारी पाउनासाथ स्थानीय, प्रहरी र नेपाली सेनाका जवान उद्धार र खोजीमा जुटेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो । पहिरोले वडा नं २ र ३ को सिमाना भएर बग्ने अँधेरी खोलको पक्की पुल पनि बगाएको छ ।   यसैबीच, पुष्पलाल राजमार्गअन्तर्गत चरीकोट–मन्थली सडक बाढीका कारण अवरुद्ध भएको छ ।