कैलाली: जमिनको भोगाधिकार विवाद समाधान नहुँदा घोडाघोडी नगरपालिकामा निर्माणाधीन १५ शय्याको नगर अस्पताल भवन अलपत्र परेको छ । घोडाघोडी नगपालिका प्रमुख खडकबहादुर रावतले जमिन भोगाधिकार नगरपालिकामा कायम गर्न नभएकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरिएको जानकारी दिँदै सकारात्मक परिणाम आउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । जमिनको स्वामित्व निक्र्योल नगरी सरकारले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नतिका क्रममा १५ शय्याको आधारभूत अस्पताल निर्माण थालनी गरेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल मङ्सिर १५ गते देशभरका तीन सय ९६ अस्पतालको एकसाथ शिलान्यास गर्नुभएको थियो । सोही अनुरुप घोडाघोडी नगरपालिकाले पनि वडा नं २ साडेपानीमा १५ शय्याको नगर अस्पताल बनाउने निर्णय भएको हो । नगर अस्पताल निर्माणको सम्झौता राजेन्द्र निर्माण सेवा प्रालि डडेलधुरासँग गरिएको थियो । कम्पनीले रु नौ करोड ८६ लाख पाँच हजार पाँच सय ७० मा दुई वर्षभित्र भवन निर्माण गर्न २०७८ वैशाख २९ गते सम्झौता गरेको थियो । अस्पताल भवन निर्माण अलपत्र परेपछि पालिकाले स्वास्थ्यचौकीको भवनमा नगर अस्पताल सञ्चालन गरेको छ ।
तनहुँ: पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा बस खसेको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस केहीबेर अघि मर्स्याङ्दी नदीमा खसेको हो । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । उहाँका अनुसार बसमा भारतीय पर्यटक रहेका थिए । यात्रुको सङ्ख्या भने एकिन हुन सकेको छैन । अहिले प्रहरी टोली घटनास्थलमा पुगेर यात्रुको उद्धार गरिरहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
काठमाडौं: संयुक्त राष्ट्रसङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगलाई आवश्यक पर्ने ऐन, कानुन बनाउने विधेयक सङ्घीय संसद्का दुवै सदनबाट पारित भएकामा स्वागत गरेको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्का उच्चायुक्त भोल्कर टर्कले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक नेपालका दुवै सदनबाट पारित भएकामा त्यसको स्वागत गर्दै विधेयकको कार्यान्वयन पीडितकेन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । शान्ति सम्झौता भएको १८ वर्षपछि पारित भएको उक्त विधेयक नेपालमा दिगो शान्ति स्थापनामा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै उहाँले सत्य निरुपण र मेलमिलापसम्बन्धी सबै मुद्दा निरुपण गर्न सहज हुने बताउनुभएको छ । बिहीबार राति जेनेभामा जारी गर्नुभएको वक्तव्यमा उच्चायुक्त टर्कले पारदर्शी ढङ्गले स्वतन्त्र व्यक्तिहरू दुवै आयोगमा पदाधिकारीहरू नियुक्त हुनुपर्नेमा जोड दिनुभएको छ । शान्ति प्रक्रियालाई सफलतापूर्वक तार्किक निष्कर्षमा पुर्याउने उदाहरणीय मुलुकका रुपमा नेपाल क्षेत्रीय एवं अन्तरराष्ट्रिय जगत्मा स्थापित भएको उल्लेख गर्दै उहाँले शान्ति प्रक्रियाको यो महत्त्वपूर्ण चरणमा नेपाल सरकारलाई हरतरहले सहयोग गर्न आयोग तत्पर रहेको बताउनुभएको छ ।
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका सबै भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मधेस प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भइरहेको विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
बैतडी: बैतडीमा सर्पले डस्दा तीन घाइते भएका छन् । जिल्लाका छुट्टाछुट्टै स्थानमा सर्पले डस्दा तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो । जिल्लाको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकाका एक÷एक जना सर्पको डसाइबाट घाइते भएका हुन् । बुधबार जिल्लाको दशरथचन्द नगरपालिका–२ मगराउँकी ३५ वर्षीया भावना बोहरा, मेलौली नगरपालिका–३ बागगोठका १८ वर्षीय धीरेन्द्र ठगुन्ना र पञ्चेश्वर गाउँपालिका–४ विनायककी ३० वर्षीया धौली चन्द सर्पले डस्दा घाइते भएका हुन् । बोहरालाई घर नजिकैको मकैबारीमा घाँस काटिरहेका बेला सर्पले डसेको थियो । उनी जिल्ला अस्पताल बैतडीमा उपचार गरेर घर फर्किसकेकी छन् । मेलौली नगरपालिका–३ बागगोठका ठगुन्नालाई बाटोमा हिँडिरहेका बेला बुधबार दिउँसो सर्पले डसेको थियो । पञ्चेश्वर गाउँपालिका–४ विनायककी चन्दलाई खेतबारीमा घाँस काटिरहेका बेला सर्पले डसेको थियो । ठगुन्ना र चन्द दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्थामा सामान्य रहेको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो ।
गोरखा: गोरखामा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । गोरखा नगरपालिका–६, पाटेचौरस्थित निर्माणाधीन घरको छतमा रेलिङ राख्ने क्रममा करेन्ट लागेर गोरखा नगरपालिका–९ लक्ष्मीबजार घर भएका २४ वर्षीय सुनील मगरको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते हुनुभएका मगरको तत्काल उद्धार गरी गोरखा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुर मेडिकल कलेजमा पु¥याइएको थियो । उहाँका उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ९डिएसपी०रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । करेन्ट लागेसँगै काम गरिरहेका भारत घर भई गोरखा नगरपालिका–८, पेट्रोल पम्प बस्दै आएका २८ वर्षीय अर्मन खान घाइते हुनुभएको छ । उहाँको एपोलो अस्पतालमा उपचार भइरहेको डिएसपी श्रेष्ठले बताउनुभयो । छतमा काम गरिरहेका बेला फलामको रडले नजिकै रहेको बिजुलीको नाङ्गो तारमा छोइन पुग्दा दुवैलाई करेन्ट लागेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: नेपाल सरकारले शर्तसहित सामाजिक सञ्जाल ‘टिकटक’ खोल्न दिने निर्णय गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद् को आज बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन गत साउन २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको निर्देशनका आधारमा सञ्चार मन्त्रालयले उक्त प्रस्ताव तयार गरेको थियो । टिकटकको प्रयोग गरेर बिकृती बढाएको भनी टिप्पणी भएपछि तत्कालीन सरकारले गत कत्तिक २७ गते टिकटिकमाथि प्रतिबन्ध लगाएको थियो ।
तनहुँ: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको घाँसीकुवा–डुम्रे सडकखण्ड २४ घण्टापछि सञ्चालनमा आएको छ । व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार साँझ ५ बजे गएको पहिरो आज साँझ हटाइएपछि उक्त खण्ड एकतर्फी सञ्चालनमा आएको हो । सडकमाथिको डाँडा खसेर उक्त खण्डअवरुद्ध भएकामा आज बिहान ८ बजेदेखि पहिरो हटाउने काम सुरु गरिएको थियो । निर्माणाधीन मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)को सहयोगमा पहिरा हटाएर राजमार्ग पुनःसञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । दुईतर्फी बाटो सञ्चालन गराउनका लागि काम भइरहेको उहाँले बताउनुभयो । निर्माणाधीन सो सडक विस्तारका क्रममा डाँडा खार्ने काम हुँदा यो क्षेत्रमा पहिराको जोखिम रहँदै आएको छ । पहिरोका कारण लामो समयसम्म सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको थियो । पृथ्वी राजमार्ग भएर यात्रा गर्नेलाई दमौली हुँदै घाँसीकुँवा निस्कन तालघरे, दरैपधेँरा हुँदै घाँसीकुवाको बाटो प्रयोग गराइएको थियो ।
काठमाडौं: सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले सो पत्र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनलाई हस्तान्तरण गर्नुभएको हो । पत्र हस्तान्तरण गर्नु अघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीन नेपालको असल छिमेकी भएको र नेपालको अर्थतन्त्रको अवस्थालाई विशेष ध्यान दिँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा बदल्न चिनियाँ पक्षलाई आग्रह गर्नु भएको थियो । उहाँले नेपाल सरकारले गरेको आग्रह चिनियाँ पक्षबाट पूरा हुने विश्वास व्यक्त गर्नभुयो । सो अवसरमा अर्थ सचिव डा रामप्रसाद घिमिरे, नेपालका लागि चीनका राजदूत चेन सोङलगायत उपस्थित हुनुहुन्थ्यो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि नेपाल सरकारले चीनको एक्जिम बैंकबाट करिब हालको विनिमय दरअनुसार करिब रु २५ अर्ब ८८ करोड ऋण लिने सम्झौता गरेको थियो । विसं २०७२ चैत ८ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ऋण सम्झौता भइ २०७३ साल पुस २७ गतेबाट निर्माण सुरु भएको थियो । विसं २०७९ पुस १७ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको थियो । कार्यक्रममा काठमाडौँ चक्रपथको कलङ्कीदेखि बसुन्धरा महाराजगञ्जसम्मको आठ दशमलव दुई किलोमिटर सडक निर्माण, हिल्सा–सिमिकोट सडक खण्डलाई दुई लेनमा स्तरोन्नति, मुस्ताङको कोरला नाकामा आइसिपी र आइसिडी निर्माण र अरनिको राजमार्गको मर्मत सुधार तथा पहिरो नियन्त्रणसम्बन्धी कार्यको सम्भाव्यता अध्ययनसम्बन्धी चारवटा छुट्टाछुट्टै सहयोग आदान प्रदानसम्बन्धी पत्रमा हस्ताक्षर भयो । सरकारको तर्फबाट अर्थ सचिव डा घिमिरेले र चीनको तर्फबाट चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइहुनले हस्ताक्षर गर्नुभयो । अर्थ मन्त्री पौडेलले वीर अस्पतालको पूर्वाधार निर्माण, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माणको सम्भाव्यता अध्ययन गरी डिपिआर तयार तथा पूर्वाधार निर्माण लगायतमा चीन सरकारको सहयोगका लागि अनुरोध गर्नु भयो । उपाध्यक्ष याङ वेइहुनले नेपाल सरकारको तर्फबाट अनुरोध प्राप्त भइसकेको र यसलाई चिनियाँ पक्षले अध्ययन गरी थप प्रक्रिया अगाडि बढाउने जानकारी दिनु भएको थियो ।