काठमाडौं: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो भारत भ्रमणले नेपाल र भातरबीचको आपसी सद्भाव अभिबृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताउनुभएको छ । भारतको चार दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले यस भ्रमणबाट दुई मुलुकका बीचमा रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको बताउनुभयो । मन्त्री डा राणाले भन्नुभयो, “भ्रमणले आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरु समेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रबद्र्धन गर्न मार्गदर्शन समेत गरेको मैले विश्वास लिएको छु ।” उहाँले भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा गत आइतबार नयाँ दिल्ली गएको र दुई देशको उच्चस्तरीय भ्रमण आदानप्रदानको कार्यक्रमअनुसार नै यो भ्रमण भएको बताउनुभयो । उहाँले भारतका प्रधानमन्त्री र विदेशमन्त्रीसँग सौहार्दपूर्ण रुपमा भेटवार्ता भएको तथा ती भेटमा नेपालको हित र चासोका साथै आपसी हितका विविध विषयहरुमा कुराकानी भएको जानकारी दिनुभयो । भ्रमणकाक्रममा सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीमा शिष्टाचार भेट भएको र नेपाल र भारतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने एवं आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने वषयमा विचारको आदानप्रदान भएको उहाँले जानकारी दिनुभयो । साथै त्यसअवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतका प्रधानमन्त्री मोदीलाई नेपालको राजकीय भ्रमणको निमन्त्रणा पत्र पनि हस्तान्तरण गरेको मन्त्री डा राणाले बताउनुभयो । सोही दिन मन्त्री डा राणाले भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग पनि भेटवार्ता गर्नुभएको थियो । सो भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी हितका साथै ऊर्जा, व्यापार तथा पारवहन, कनेक्टिभिटी, लगानी, हवाईमार्ग, पूर्वाधार निर्माण, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकूद, सीमा पूर्वाधारलगायत सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको उहाँले जानकरी दिनुभयो । यो उहाँ परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो । मन्त्री डा राणा आज नियमित उडानबाट अपराह्न ४ बजे काठमाडौँ आइपुग्नुभएको हो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणको ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’को बक्यौता एक रुपैयाँ नछाडेर उठाउने स्पष्ट गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “बक्यौता उठाइन्छ, छोडिँदैन, तर उद्योग बन्द गरेर होइन सञ्चालन नै गरेर उठाइन्छ । विगतमा किन समयमै महसुल उठाइएन, किन लाइन काटियो र किन फेरि लाइन जोडियो भन्ने प्रश्न सम्बन्धित निकायसँग जोडिन्छ । यसमा सरकार स्पष्ट छ, लाइन बन्द नगरी बक्यौता उठाइनेछ ।” उहाँले सरकार र प्राधिकरणबीच कुनै मतभेद नभएको पनि स्पष्ट गर्नुभयो । उहाँले यस विषयमा अहिले सामाजिक सञ्जाल र कतिपय मिडियामा आधारहीनप्रचार भइरहेको उल्लेख गर्दै विद्युत् प्राधिकरणले महसुल उठाउन खोजेको र सरकारले मिनाहा गरेको भन्दै झुठो प्रचार अर्थहीन भएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “उद्योग नै बन्द हुँदा बक्यौता उठ्ने आधार पनि बन्द हुन्छ, रोजगारी बन्द हुन्छ, उत्पादन पनि घट्छ, व्यापार घाटा बढ्छ । बक्यौता उठाउन पनि त उद्योग चलाउनै पर्छ । औद्योगिक ग्राहकसँग लिनुपर्ने खपत अनुसारको महसुल मिनाहा गरिएको भन्ने झुठो सूचनाको पछि नलाग्न म सबैलाई आग्रह गर्छु । खपतअनुसारको महसुल उठाएरै छोडिन्छ ।”
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बस्ने ५० वर्षीया कमला गौतमको एक तोलाको सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–९ घर भई बनेपा बस्ने ३८ वर्षीय अनिलकुमार तामाङ, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ घर भई ललितपुर ग्वार्को बस्ने ३४ वर्षीय गणेश लामा र काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६ घर भई काठमाडौँ गौशाला बस्ने ३१ वर्षीय सुरेश तामाङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कमला गौतमले घाँटीमा लगाएको एक तोलाको सुनको सिक्री गत साउन २१ गते बिहान लोकन्थलीको बस स्टपमा अपरिचित व्यक्तिले लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानका क्रममा हाम्रो टोली र अपराध शाखा ठिमी भक्तपुरबाट खटिएको प्रहरीले निज तीनजनालाई भक्तपुरको कौशलटारबाट पक्राउ गरेको हो ।” पक्राउ परेका अनिलकुमारमाथि यसअघि विसं २०७१ जेठ १ गते प्रहरी वृत्त गौशालाबाट, गणेशमाथि प्रहरी वृत्त नयाँ बानेश्वरबाट तीनपटक र सुरेशमाथि प्रहरी वृत्त बौद्धबाट एकपटक तथा प्रहरी वृत्त गौशालाबाट तीनपटक अभद्र व्यवहार मुद्दा चलेको खुल्न आएको सूचना अधिकारी आचार्यले बताउनुभयो । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त ठिमी, भक्तपुर पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
काठमाडौँ: नेपाली सेनाले काठमाडौँको चन्द्रागिरी–१२ बलम्बुस्थित वडा कार्यालय नजिक आज बिहान फेला परेको शङ्कास्पद वस्तु सुरक्षित साथ निष्क्रिय पारेको छ । स्थानीयवासीको घरमा शङ्कास्पद वस्तु फेला परेको जानकारी प्राप्त हुनासाथ नेपाली सेना घटनास्थल पुगेको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शङ्कास्पद वस्त सुरक्षित साथ निष्क्रिय परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
जनकपुरधाम: गृहमन्त्री रमेश लेखकले मुलुकमा राजनीतिक स्थायित्व , दिगो विकास, सुशासन प्रवर्दन तथा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ वर्तमान सरकार गठन भएको बताउँनुभएकाे छ । उहाँले ती लक्ष्य पूरा गर्न राज्यका सबै संयन्त्रका साथै समाजका हरेक वर्गको सहयोग अपरिहार्य भएकामा जोड दिनुभएको छ । आज जनकपुर विमानस्थलमा पत्रकारहरूसँग आज बिहान भएको सङ्क्षिप्त कुराकानीमा उहाँले वर्तमान सरकारका विकासका प्राथमिकताबारे जानकारी दिँदै निकट भविष्यमा नेपाल प्रहरीको सङ्गठनात्मक संरचना सुधारसम्बन्धी कानुन जारी हुने बताउनुभयो । गृहमन्त्रीले भन्नुभयो, “नेपाल प्रहरीको ऐन ६९ वर्ष पुरानो भयो, यसमा सामयिक परिमार्जनक आवश्यक छ । नयाँ कानुन निर्माण तथा सङ्गठनात्मक क्षमता बढाएर प्रहरीलाई अझ व्यावसायिक बनाउनुपर्छ । नेपाल प्रहरीसम्बन्धी ऐन परिमार्जन गरेर बजेट व्यवस्थपनका निम्ति त्यो अर्थ मन्त्रालयमा पुगिसकेको छ ।”
मकवानपुर: मकवानपुरको मनहरीस्थित एकजना किसानको गोठमा पालेको भैँसीले बाघ मारेको छ । मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको गोठमा रहेको भैँसीले चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघलाई मारेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान भैँसीको प्रतिकारमा बाघ मरेको हो । बाघको आक्रमणबाट भैँसी घाइते भएको छ । यस्तो घटना निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पहिलो हो । “मरेको बाघ बुढो र दुब्लो देखिन्छ । निकुञ्जभित्र सिकार गर्न नसकेर आहाराको खोजीमा बाहिर निस्केको हुनसक्छ”, उहाँले भन्नुभयो । शव परीक्षणका राष्ट्रिय निकुञ्ज ल्याइएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।
कैलाली: चुरे गाउँपालिका–४ भएर बग्ने कालेखोलामा पुल नहुँदा यहाँका स्कुले बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य छन् । वर्षायाममा उनीहरू जोखिमपूर्ण यात्रा गरेर जगातिस्थित समैजी आधारभूत विद्यालय जान बाध्य छन् । कालेखोलामा पुल नहुँदा पानी परेका बेला तुडेपानी र बार्जुगडाका विद्यार्थीलाई अभिभावकले प्रत्येक बिहान र दिउँसो स्कुल पुर्याउने र ल्याउने गर्दै आएका छन् । विद्यार्थीले निथ्रुक्क भिजेर कक्षामा बस्नुपर्ने दयनीय अवस्था रहेको शिक्षक मदन विकले बताउनुभयो । उहाँले भन्नुभयो, “कालेखोलामा पुल नहुँदा यस्तो बाध्यता परेको हो । ठूलो पानी पर्नेबित्तिकै केटाकेटी स्कुल नै आउँदैनन् ।” गाउँलेहरूले वर्षौँदेखि कालेखोलामा झोलुङ्गे पुलको माग गर्दै स्थानीय तह, जिल्ला र प्रदेशका कार्यालय अनुरोध गरेका भएपनि त्यसको सुनुवाइ नभएको स्थानीय हेमबहादुर विष्टले बताउनुभयो । चुरे–४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछाने मगरले वडालाई प्राप्त हुने सीमित बजेटले सडक, पुल तथा तटबन्ध निर्माण गर्न नसकिएको बताउनुभयो ।
म्याग्दी: मुस्ताङको लोमान्थाङ गाउँपालिकाको दुईवटा वडाका बासिन्दालाई विद्युतीय चुलो वितरण गरिएको छ । दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण संरक्षणका लागि लोमान्थाङ गाउँपालिकाले चुलो वितरण गरेको हो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार वडा नं ३ फुवा र वडा नं ४ किमलिङका दुई सय १० परिवारलाई निःशुल्क एक–एक थान विद्युतीय चुलो वितरण गरिएको छ । उहाँले भन्नुभयो “दाउराको विकल्पमा विद्युतीय चुलोको प्रयोग बढाएर वातावरण संरक्षणको प्रयास गरेका हौं ।” अध्यक्ष गुरुङ र उपाध्यक्ष छ्युमी विष्टसहित वडाका जनप्रतिनिधिले बुधबार सम्बन्धित वडामा पुगेर चुलो वितरण गर्नुभएको हो । विद्युतीय चुलो खरिदका लागि गत वर्ष रु आठ लाख विनियोजन गरेको लोमान्थाङ गाउँपालिकाले यस वर्ष पनि बजेट व्यवस्था गरेको र सोबाट खरिद गरेर बाँकी तीनवटा वडाका सबै परिवारलाई वितरण गरिने जनाएको छ ।
बागलुङ (ढोरपाटन): नियमविपरीत उत्खनन गरी नदीजन्य पदार्थ सङ्कलन गर्नेलाई जिल्ला समन्वय समितिले स्थानीय तहको सहयोगमा कारबाही थालेको छ । बागलुङ नगरपालिकाले कालाखोला बगर, भाटेखोला बगर, दब्ल्याङ बगर, खनियाघाटलगायत बगरबाट अवैध रूपमा उत्खननन गरी बालुवा तथा ढुङ्गा सङ्कलन गर्नेलाई कारबाही गर्न थालेको छ । नगरपालिकाले जरिवानास्वरुप क्रसर व्यवसायी तथा नदीजन्य पदार्थको अवैध दोहन गर्नेबाट रु १६ लाख २२ हजार राजस्व सङ्कलन गरेको छ । असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था तथा कालीगण्डकी नदीमा नदीजन्य पदार्थको ठेक्का लगाउन नपाइने सर्वोच्च अदालतको आदेशविरुद्धमा नदीजन्य पदार्थको उत्खनन भइरहेपछि जिल्ला समन्वय समितिले निगरानी बढाएको छ । जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले राज्यलाई कर छलेर अवैध रूपमा उत्खनन गरेर थुपारेका बालुका र ढुङ्गाको परिणाम मूल्याङ्कन गरी नगरपालिकालाई दण्ड तथा जरिवाना गर्न निर्देशन दिइएको बताउनुभयो । “अहिले कालीगण्डकीबाट बालुवा निकाल्ल पाइँदैन, तर मध्यरातमा दोहन भइरहेको छ, हामीले दोहन भएर बिक्रीका लागि राखिएको बालुवाको परिणामका आधारमा जरिवाना गर्न थालेका छौँ, यो अभियान बागलुङ नगरपालिकामा मात्र सीमित नभई जिल्लाभर चलाइनेछ, स्थानीय तहले राजस्व गुमाउने र नदीजन्य पदार्थको दोहन भइरहने परिपाटीको अन्त्य हुन आवश्यक छ”, जिसस प्रमुख थापाले भन्नुभयो । जिल्ला समन्वय समिति र बागलुङ नगरपालिकासहितको अनुगमनबाट १५ स्थानमा सङ्कलन गरिएको बालुवा तथा ढुङ्गाको दण्ड तथा जरिवाना सङ्कलनकर्तालाई तिराउनेगरी नापजाँच भइरहेको छ ।” बागलुङ नगरपालिका राजस्व शाखा प्रमुख काशिराम शर्माका अनुसार१३ स्थानमा सङ्कलन गरेको बालुवा तथा ढुङ्गाको राजस्व सङ्कलनका लागि मूल्याङ्कन भइरहेको छ । आरएस कन्ट्रक्सनले बागलुङ नगरपालिकालाई अग्रिम आयकरवापत रु १८ हजार चार सय ६३, मूल्य अभिवृद्धि करवापत रु एक लाख ६० हजार पाँच र दण्ड तथा जरिवानावापत रु १२ लाख ५५ हजार आठ सय छ गरी रु १४ लाख ३४ हजार दुई सय ७४ र विष्णु चोखालमार्फत रु एक लाख ८७ हजार नौ सय ४४ दण्ड जरिवाना तिरेको छ । जिल्ला समन्वय समितिको रोहबरमा नगरपालिका क्षेत्रका १३ स्थानमा अवैध रूपमा उत्खनन गरिएको बालुवा तथा ढुङ्गा सङ्कलनकर्तालाई जरिवाना तिराउन मूल्याङ्कन भइरहेको नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले जानकारी दिनुभयो ।