पोखरा:    पोखरा महानगरपालिका भित्रका सबै विद्यालय असोज १ गतेदेखि नियमित सञ्चालनमा आउने भएका छन् ।  पोखरा महानगरपालिका, नगर कार्यपालिकाको भदौ २८ गते बसेको बैठकले असोज १ गतेदेखि नियमित...

काठमाडौं:     प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘प्रेस कार्ड’को दुरुपयोग गर्ने पत्रकारलाई कानुन बमोजिम कारबाही गरिने बताउनुभएको छ ।      प्रेस काउन्सिल नेपालद्वारा आज यहाँ आयोजित ‘आमसञ्चार माध्यम’ विषयका विद्यार्थीसँगको मिडिया अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले प्रेस कार्डको दुरुपयोग गर्नेलाई हदैसम्मको कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । समाजलाई तर्साउन र धम्क्याउन नभइ सिर्जनात्मक काम गर्नका लागि व्यवस्था गरिएको प्रेस परिचयपत्रको सदुपयोग हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।      “पछिल्लो समयमा प्रेस पास दुरुपयोग भएको विषयमा धेरै  गुनासा आउने गरेका छन् । त्यसलाई ध्यानमा राखी छानबिन भइरहेको छ”, अध्यक्ष बस्नेतले भन्नुभयो ।  उहाँले सामाजिक सञ्जाल र आमसञ्चार माध्यमबाट सम्प्रेषित समाचार सामग्रीले नागरिकमा अन्योल र समस्या सिर्जना गरेकाले त्यसलाई सम्बोधन गर्न मिडिया साक्षरता आवश्यक भएको बताउनुभयो ।       पत्रकार र सञ्चार माध्यमलाई मात्र होइन, अहिले सूचना प्रविधिको कारण मिडिया साक्षरता समाजका लागि पनि आवश्यक भएको उल्लेख गर्दै अध्यक्ष बस्नेतले सकारात्मक परिवर्तनका सवाल र रचनात्मक विषयलाई सम्प्रेषण गर्नुपर्ने दायित्व पत्रकारको भएको बताउनुभयो ।  “काउन्सिलले युट्युब माध्यमलाई व्यवस्थित बनाउन मापदण्ड बनाएर आवश्यक नियमन गर्दै आएको छ”, उहाँले भन्नुभयो ।         प्रेस कार्डको दुरुपयोग गरी धम्क्याउने, ‘बार्गेनिङ’ गर्नेलगायतलाई काउन्सिलले जारी गरेको पत्रकार परिचयपत्र खोस्ने, आचारसंहिता कक्षामा सहभागी गराउने, कालोसूचीमा राख्ने, विज्ञापन रोक्ने तथा साइवर र अन्य अपराधजन्य अभियोगमा अनुसन्धान गर्ने निकायसँग सहकार्य गरी कारबाही गर्दै आएको अध्यक्ष बस्नेतले बताउनुभयो ।       सो अवसरमा काउन्सिलको काम, कर्तव्य, अधिकार तथा संस्थागत संरचनाबारे वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले सहभागी विद्यार्थीलाई जानकारी दिनुभएको थियो ।

चितवन:    भरतपुर अस्पतालमा पाठेघरको शल्यक्रिया गर्ने क्रममा एक महिलाको मृत्यु भएको छ ।       भरतपुर महानगरपालिका–१२ मुनाल चोक बस्ने ३९ वर्षीया सम्झना काफ्लेको मङ्गलबार पाठेघरको शल्यक्रिया गरेर बायोप्सी निकाल्ने क्रममा मृत्यु भएको हो । माइनर (साधारण) शल्यक्रिया गर्दा नै महिलाको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् ।       अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार पाठेघरको बायोप्सी निकाल्दा बेहोस बनाउने क्रममा उहाँको मृत्यु भएको हो ।  पाठेघरमा सिष्ट भएको भन्दै उहाँको शल्यक्रिया गरेर बायोप्सी निकाल्न लागिएको थियो ।  मृतक महिलाको मुटुमा पहिल्यैदेखि समस्या रहेको पौडेलले बताउनुभयो । बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आइसीयूमा राखे पनि बचाउन नसकिएको उहाँले जानकारी दिनुभयो ।       मृतक महिला यही भदौ ३ गते पाठेघरको ट्यूमरको शल्यक्रियाका लागि भरतपुर अस्पतालमा भर्ना हुुनुभएको थियो । मङ्गलबार बिहान ९ बजे शल्यक्रिया थियटरमा राखी लठ्ठाउने सुई लगाइ बेहोस बनाउने क्रममा उहाँको होस नआएको पौडेलले बताउनुभयो ।       उहाँका अनुसार घटनाका बारेमा थप अनुसन्धान हुँदैछ । अस्पतालले समेत आन्तरिक छानविन समिति बनाएको जनाएको छ । मृतकका आफन्तले अस्पतालले उपचारमा गम्भिर लापरवाही गरेको बताएका छन् । अहिले जिल्ला प्रशासन कार्यालयमा घटनाको विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

झापा:      इलाका प्रहरी कार्यालय अनारमनीका एक थुनुवा हतकडी फ्याँकेर अस्पतालबाट फरार भएका छन् ।  फरार भएका थुनुवा दमकस्थित बेलडाँगी शरणार्थी शिविरको सेक्टर जीथ्रीका भूटानी शरणार्थी २५ वर्षीय विशाल राई रहेको प्रहरीले जनाएको छ ।      जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दका अनुसार राई लागू औषध मुद्धामा यही भदौ २ गते विर्तामोड बसपार्कबाट एक ग्राम ४४ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका थिए । अदालतबाट पाँच दिनको म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको थियो ।      हिरासतमा रहँदा अत्याधिक पेट दुखेको बताएपछि राईलाई मङ्गलबार अपराह्न ४ बजेतिर विर्तामोडको पूर्णटुङ्ग विर्तासिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । हतकडी लगाइएका थुनुवा राईको सुरक्षामा प्रहरी हवल्दार बमबहादुर राई खटिनुभएको थियो ।       सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई छलेर थुनुवा राई हतकडी फ्याँकेर अस्पतालबाट फरार भएका थिए । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टको नेतृत्वमा परिचालित प्रहरी टोलीले फरार थुनुवा राईको खोजी गरिरहेको जनाइएको छ । 

काठमाडौं:      स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सङ्घीय सरकार मातहतका १७ अस्पतालमा रहेका उपकरणको मर्मत सम्भार र व्यवस्थापन गर्नेलगायतका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ ।       स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय र आविष्कार केन्द्रकातर्फबाट अध्यक्ष डा महाविर पुनबीच त्यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।  सो अवसरमा स्वास्थ्यमन्त्री पौडेलले राज्यमा उपलब्ध सिमित स्रोत साधनकाबीच स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न उपकरणलाई चुस्त र व्यवस्थित तुल्याउनुपर्ने भएकाले केन्द्रसँग सहकार्य गर्न लागिएको बताउनुभयो ।       मन्त्री पौडेलले भन्नुभयो, “हामीले साधन स्रोत बढाएर तत्काल आवश्यकता अनुसारका उपकरण खरिद गर्नसक्ने अवस्था छैन, त्यसकारण अहिले हामीसँग भएका उपकरणलाई बढीभन्दा बढी प्रयोगमा ल्याउने सन्दर्भमा गरिएको सम्झौता  महत्वपूर्ण प्रयास रहेको छ ।”            अस्पतालमा प्रयोग हुन नसकेर थन्किएका उपकरणलाई प्रयोगमा ल्याउन सकिएमा नयाँ खरिद गर्न लाग्ने ठूलो खर्च जोगिने उल्लेख गर्दै मन्त्री पौडेलले थोरै खर्चमा त्यस्ता सामग्री मर्मत र व्यवस्थापन गर्ने कामको थालनी भएको बताउनुभयो ।  “मर्मत र अरु ढङ्गले उपयोगमा ल्याउन नसकिने सामाग्री अस्पतालमा छन्, प्रयोगमा आउने र नआउने छुट्याएर सोही अनुरुप व्यवस्थापन गर्न जरुरी छ । त्यो काम गर्दा अस्पताल सफा हुने र कम खर्चमा उपकरण प्राप्त हुने भएका कारण आविष्कार केन्द्रसँग सहकार्य गर्न लागिएको हो”, उहाँले भन्नुभयो ।      मुलुकको प्रसिद्ध र स्थापित संस्था तथा विश्वास आर्जन गरिरहेको नेतृत्वलाई मन्त्रालयको महत्वपूर्ण कामको जिम्मेवारी दिन पाएकामा खुशी व्यक्त गर्दै मन्त्री पौडेलले सहकार्यको संस्कारले स्वदेशी संस्था र जनशक्तिलाई राज्यले विश्वास गरेको देखिने बताउनुभयो ।      सो अवसरमा केन्द्रका अध्यक्ष पुनले स्वास्थ्य क्षेत्र सुधारका सन्दर्भमा आविष्कार केन्द्रले अर्को महत्वपूर्ण जिम्मेवारी पाएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “यो जिम्मेवारी भनेको सङ्घीय सरकारअन्तर्गत रहेका अस्पतालमा बिरामीको स्वास्थ्य परीक्षण गर्ने बायोमेडिकल उपकरण मर्मत गर्ने तथा ती उपकरणको अवस्था के–कस्तो छ भनी एकिन गर्ने हो ।”        ती अस्पतालमा रहेका उपकरण के–कति प्रयोगमा आउन सक्ने र कुन अवस्थामा छन् भनी एकिन गर्ने तथा बनाउन सकिने र नसकिने पहिचान गर्ने कार्य केन्द्रले गर्नेछ । मर्मत गर्नं सकिने भए बनाउने र नसकिने भए सोही अनुसारको रायसुझाव आविष्कार केन्द्रले मन्त्रालयलाई दिनेछ ।      “स्वास्थ्य मन्त्रालयले आविष्कार केन्द्रलाई ठूलो जिम्मेवारी दिएको छ”, अध्यक्ष पुनले भन्नुभयो, “हामीले पाएको जिम्मेवारी नागरिकको स्वास्थ्यसँग सम्बन्धित छ । उपकरणलाई ठिक अवस्थामा राख्न सकिए  धेरैको ज्यान बचाउन सकिन्छ । लाखौँ नागरिकले यसको सेवा लिनसक्छन् । त्यसैले यो सानोतिनो जिम्मेवारी होइन ।”      केन्द्रले क्षमताले भ्याएसम्म इमान्दारिपूर्वक कुनै छलछाम नगरीकन राष्ट्र र जनताको सेवा गर्ने प्रतिवद्धता जनाउदै अध्यक्ष पुनले नौलो र बृहत् क्षेत्र भएपनि विगतका अनुभवले काम पुरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।       सम्झौताअनुसार आविष्कार केन्द्रका प्रतिनिधि सबै अस्पतालमा गएर त्यहाँ प्रयोग नभएका र सूचीकृत भएका सामानको पहिचान गरी सोही अनुरुपको प्रतिवेदन दिनेछन् ।  आफै बनाउन के कति मूल्य र पार्टपूर्जा चाहिन्छ त्यसको अभिलेख तयार गरिने छ । यस्ता काम आगामी दिनमा केन्द्रमार्फत नै अगाडि बढ्ने भएकाले उपकरण व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने मन्त्रालयले जनाएको छ ।  सरकारको एउटा मन्त्रालयले प्राविधिक रुपमा काम गराउन आविष्कार केन्द्रलाई विश्वास गर्न सुरु गरेको छ । केन्द्रलाई राज्यले विश्वास गरेको, उपकरण प्रयोगमा आउनसक्ने सम्भावना बढेको हुँदा स्वास्थ्य क्षेत्रको खर्चको लागत घटाउन र प्राविधिक जनशक्तिको उपयोग हुनेछ ।       सम्झौतापत्र कार्यान्वयन भएसँगै करोडौ मूल्य पर्ने तर सामान्य मर्मत नगरिदा स्वास्थ्य क्षेत्रमा प्रयोगमा नआएका उपकरण प्रयोगमा आउने, सामान्य मर्मतपछि ती उपकरण सञ्चालनमा आउँदा नयाँ खरिद गर्नु नपर्ने तथा स्वदेशी जनशक्ति, स्रोत र साधन प्रयोग हुने विश्वास लिइएको छ ।

पाल्पा:    पाल्पाको रामपुर नगरपालिकामा समलिङ्गी विवाह दर्ता भएको छ । रामपुर वडा नं ९ को कार्यालयमा ३१ वर्षीया चिनाकुमारी नेपाली र ३६ वर्षीया ज्योति सार्कीले समलिङ्गी विवाह दर्ता गरेसँगै कानूनी रुपमा समलिङ्गी विवाहले मान्यता पाएको छ ।   रामपुर–९ का स्थानीय पञ्जीकाधिकारी एवं वडा सचिव मो युनुस खानले विवाह दर्ताका लागि चिनाकुमारी र ज्योतिले निवेदन दिएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्रका आधारमा विवाह दर्ता प्रमाणपत्र जारी गरिएको बताउनुभयो ।  समलिङ्गी विवाह दर्ता पहिलो पटक भएकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समन्वय गरेर गत आइतबार विवाह दर्ताको प्रमाणपत्र प्रदान गरिएको वडा सचिव खानले जानकारी दिनुभयो । चिनाकुमारी रामपुर–९ जब्गादी निवासी र ज्योति नवलपुर (नवलपरासी सुस्तापूर्व) बौदिकाली गाउँपालिका–१ मिथुकरम निवासी हुनुहुन्छ । चिनाकुमारी र ज्योतिले २०७८ असोज २९ गते परम्पराअनुसार पाल्पाको सिद्धबाबा मन्दिरमा विवाह गर्नुभएको हो ।  वडा कार्यालयमा विवाह दर्ता गरेपछि मात्रै कानुनी रूपमै उहाँहरु विवाह बन्धनमा बाँधिनुभएको छ । उहाँहरु दुवै जना महिला हुनुहुन्छ । चिनाकुमारी र ज्योति लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बुझिएको छ ।  विवाह दर्ताको अस्थायी प्रमाणपत्रमा चिनालाई दुलहा र ज्योतिलाई दुलही उल्लेख गरिएको छ । दुवै जना वैदेशिक रोजगारीका क्रममा कतारमा हुनुहुन्छ । उहाँहरुले घर आएको समयमा विवाह दर्ता गराउनुभएको हो ।

पोखरा:   पोखरा महानगरपालिका–६ डिहिकोपाटनमा आज दिउँसो बसले मोटरसाइकललाई ठक्कर दिँदा भिमबहादुर सारु घाइते भएका छन् ।  नगर बसले ग १२ प ९८५० नम्बरको मोटसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक तनहुँको देवघाट गाउँपालिका घर भएका भिम बहादुर सारु घाइते भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।  ट्राफिक कार्यालय कास्कीका अनुसार दुर्घटनास्थलमा सँगै दुईवटा बस भएकाले कुन बसले ठक्कर दिएको भन्ने खुल्न नसकेको जनाएको छ । थप अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।  मोटरसाइकल चालक सारुको कम्मर र खुट्टामा चोट लागेको छ । उनको सृजनाचोकस्थित मेट्रासिटी अस्पतालमा उपचार भइरहेको छ । थप विवरण आउँदै 

रसुवा:     गोसाइँकुण्ड गएका दुई तीर्थयात्री लडेर घाइते भएका छन् । रसुवा जिल्ला अस्पताल धुञ्चेका डा अमितकुमार शाहका अनुसार घाइते हुनेमा हेटौँडा निवासी ३२ वर्षिय विपीन बर्तोवाल र पोखरा निवासी ६२ वर्षिय हरिबहादुर तिवारी छन् ।  उनीहरूलाई रसुवा प्रहरीको सहयोगमा घटनास्थलबाट उद्धार गरी अस्पताल ल्याइएको थियो ।         गोसाइँकुण्डबाट फर्कंदै गर्दा मङ्गलबार दिउँसो ओरालो बाटोमा लडेर उनीहरु घाइते भएका थिए । जनैपुर्णिमा मेलामा गोसाइँकुण्ड पुगेका करिब आठ हजार चार सय तीर्थयात्रीमध्ये तीन हजार छ सय ९७ जनालाई लेक लागेको स्वास्थ्य कार्यालयले जनाएको छ । गत वर्षको तुलनामा लेक लाग्ने समस्यामा कमि आए पनि चार जनालाई श्रीनाथ गणका सेनाले गोसाइँकुण्डदेखि उद्धार गरी जिल्ला अस्पतालसम्म पु¥याएका थिए । उद्वारका लागि ठाउँ–ठाउँमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो ।      यसवर्ष स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको सहयोगबाट धुञ्चेमा  सञ्चालित ‘हेल्थ डेस्क’मार्फत दुई हजार २० जनालाई  स्वास्थ्य परीक्षण गरी लेक नलाग्ने औषधि खुवाइएको थियो ।  तीर्थयात्रुलाई रेडक्रसको सहयोगमा जिल्ला आर्युवेदिक सेवा केन्द्रले दुई सय ४०, नेपाली सेनाको श्रीनाथ गणले चोलाङ पाटीबाट दुई हजार १७, गोसाइँकुण्ड गाउँपालिका र स्वास्थ्य कार्यालयले लौरीविनायकमा शिविर सञ्चालन गरी नौ सय ५० जनालाई प्राथमिक उपचार एवं परामर्श दिएको जिल्ला स्वास्थ्य प्रमुख भीमसागर गुरागाईंले जानकारी दिनुभयो ।      जनैपुर्णिमामा हेलिकप्टरबाट गोसाइँकुण्ड जान खोजेका तीर्थयात्री भने प्रतिकुल मौसमका कारण जान सकेनन् । खराब मौसमले उडान गर्न नसकिएको अल्टिच्युड एयरका निर्देशक एवं वरिष्ठ क्याप्टेन विवेक खड्काले जानकारी दिनुभयो ।       नागपञ्चमीदेखि जनैपूर्णिमासम्म एघार हजार तीर्थयात्री गोसाइँकुण्ड पुगेको र यस क्षेत्रमा आठ करोड बराबरको व्यापार भएको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निसान गजुरेलले बताउनुभयो ।  मेलामा व्यापारीले महङ्गो मूल्य असुल गरेको गुनासो बढेको छ । गोसाइँकुण्ड मेला सफल पार्न सबै क्षेत्रबाट सहयोग प्राप्त भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले बताउनुभयो ।

गण्डकी:     पदयात्राका लागि लोकप्रिय गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आव २०८०÷ ८१ मा २१ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ ।  तीमध्ये छ जना नेपाली रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । आयोजना प्रमुख डा रविन कडरियाका अनुसार लेक लागेर मृत्यु हुनेमा ११ जना भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिक हुन् ।  “अधिकांश लेक लाग्ने घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुने गरेका छन्”, उहाँले भन्नुभयो, “हिमाली भेगको पदयात्रामा जाँदा विशेष ख्याल गर्नुपर्छ, एकैपटकमा उचाइमा पुग्नुहुँदैन, विश्राम लिँदै जानुपर्छ ।”  लेक लागेको लक्षण अनुभव भएमा तत्कालै कम उचाइ भएको ठाउँमा फर्कनुपर्ने उहाँको भनाइ छ । लेक लागेका पर्यटकलाई हेलिकप्टरबाटसमेत उद्धार गरेर बचाइएको उहाँले बताउनुभयो । आयोजना कार्यालयले गत वर्षदेखि त्यस्ता घटनाको तथ्याङ्क राख्न सुरु गरेको प्रमुख डा कडरियाको भनाइ छ ।  उक्त वर्ष पदयात्राका क्रममा लडेर तीन जना विदेशी पर्यटकको मृत्यु भएको आयोजना कार्यालयले जनाएको छ । कास्कीमा स्वीडेन, जर्मनी र मनाङमा अमेरिकी पर्यटकको मृत्यु भएको आयोजना प्रमुख डा कडरियाले जानकारी दिनुभयो । मर्दी हिमालको पदयात्राका क्रममा बेपत्ता हुनुभएका स्विडिस नागरिकको मानव अवशेष सात महिनापछि गत साउनमा फेला परेको उहाँको भनाइ छ ।  “लामो दुरीको पदयात्रामा निक्कँदा एक्लै जानुहुँदैन, समूहमा या पथप्रदर्शक लिएर मात्र हिँडनुपर्छ”, प्रमुख डा कडरियाले भन्नुभयो, “ट्रेकिङ एजेन्सीमार्फत पदयात्रामा जानु उपयुक्त हुन्छ ।”  अन्नपूर्ण क्षेत्रमा गत आवमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक भित्रिएका थिए । जसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ पर्यटक रहेका छन् ।  आयोजना कार्यालयका अनुसार सबैभन्दा बढी गत चैतमा ३५ हजार दुई सय ६५ र सबैभन्दा कम साउनमा जम्मा पाँच हजार चार सय एक पर्यटकले सो क्षेत्रको भ्रमण गरेका थिए ।  प्रमुख डा कडरियाले अघिल्लो आव २०७९÷८० को तुलनामा झण्डै ५० हजार बढी पर्यटक गत आवमा भित्रिएको बताउनुभयो । सो आवमा दक्षिण एसियाली मुलुकका ८९ हजार सात सय ७७ र अन्य मुलुकका ८२ हजार सात सय ३३ गरी कुल एक लाख ७२ हजार पाँच सय दस पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए ।  सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

चितवन:     चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा गुडिरहेको माइक्रोबसमा माथिबाट ढुङ्गा खस्दा  दुईजना घाइते भएका छन् ।       भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा काठमाडौँबाट नारायणगढतर्फ आइरहेको बा प्र ०१–००६ ख ६४१४ नम्बरको माइक्रोबसमा ढुङ्गा खस्दा देबचुली नगरपालिका–१३ का ३० वर्षीया कल्पना परियार र उनकी आठ वर्षीया छोरी कन्चन परियार घाइते भएका हुन् । दुवैजना सोही माइक्रोबसका यात्रु हुन् ।       घाइते दुवैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । उनीहरुको अवस्था सामान्य छ । माथिबाट ढुङ्गा खसेर माइक्रोबसमा समेत क्षति पुगेको छ ।  उक्त  सडकखण्डमा बर्षातको समयमा पटकपटक पहिरो जाँदा सडक अबरुद्ध हुनुका साथै मानविय क्षति हुँदै आएको छ । दुई दिनदेखि चितवन आसपासको क्षेत्रमा निरन्तर पानी परिरहेकाले अत्यावश्यक वाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय चितवनले सबैमा अनुरोध गरेको छ ।