पोखरा:    पोखरा महानगरपालिका भित्रका सबै विद्यालय असोज १ गतेदेखि नियमित सञ्चालनमा आउने भएका छन् ।  पोखरा महानगरपालिका, नगर कार्यपालिकाको भदौ २८ गते बसेको बैठकले असोज १ गतेदेखि नियमित...

रुकुमपश्चिम:     रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ दम्दुका एक पुरुषको हत्या आरोपमा एकै घरका तीन जना पक्राउ परेका छन् । अन्दाजी ४३ वर्षीय दिलबहादुर बुढाको हत्या गरेको आरोपमा सोही वडाको कलटाकुरा बस्ने एकै घरका तीन जना पक्राउ परेका हुन् ।       पक्राउ पर्नेमा ६१ वर्षीय मोहवीर खत्री, उनका कान्छो छोरा २६ वर्षीय सन्तोष केसी र सन्तोषकी श्रीमती २४ वर्षीया मिनाकुमारी बुढाथोकी केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिनुभयो ।      उहाँका अनुसार बुढाको आइतबार राति १० बजेतिर मृत्यु भएको हो । मृत्यु भएको खबर प्राप्त भएपछि प्रहरी निरीक्षक शाहीको नेतृत्वमा आज बिहान प्रहरी टोली घटनास्थल पुगेको थियो । घटना शङ्कास्पद देखिएपछि प्रारम्भिक अनुसन्धान गर्दा हत्या भएको खुलेको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो ।       “प्रारम्भिक अनुसन्धानका क्रममा मृतक बुढाले मादक पदार्थ सेवन गरेर सन्तोषकी श्रीमतीलाई अपशब्द बोलेर हातपात गरेको र त्यसको प्रतिकार गर्ने क्रममा सन्तोषकी श्रीमतीले दाउराको चिर्पटले प्रहार गर्दा बुढाको मृत्यु भएको खुलेको छ”,  प्रहरी निरीक्षक शाहीले भन्नुभयो, “यसमा सन्तोषको पनि संलग्नता देखिएको छ, थप अनुसन्धानबाट खुल्नेछ ।” घटनास्थलको प्रारम्भिक अनुसन्धान सकाएर शव परीक्षणका लागि जिल्ला अस्पताल सल्ले ल्याएको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो । 

चितवन:    पहिरोका कारण पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालन भएको छ ।       इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान ६ः३५ बजे  पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला र फिस्लिङको बीचमा लेदोसहित पहिरो खस्दा  सडक एकतर्फी अवरुद्ध बनेको हो ।       पानी परिरहेकाले पहिरो पन्छाउन कठिनाइ भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बताउनुभयो । मेसिन तयारी अवस्था रहेको र पानी रोकिएपछि पहिरो पन्छाइने निरीक्षक भण्डारी बताउनुभयो । 

काठमाडौँ:  हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ।   मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रही मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।   सबै प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।   आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।   कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।   कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।   विभागले भारी वर्षाको पनि सम्भावना रहेका स्थानमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।

कैलाली:     बझाङको बुङ्गल नगरपालिका–१० टुमेडागाउँमा पहिरोमा परी मृत्यु भएका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रतिव्यक्ति रु एक लाख दिने घोषणा गरेको छ । आज यहाँ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रेस विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई राहत स्वरुप सो रकम प्रदान गर्ने घोषणा गर्नुभएको हो ।  यही भदौ २ गते राति १ बजे परेको अविरल बर्षाका कारण टुमेडागाउँका वीरबहादुर धामीको घर पहिरोले पुरिँदा निज धामीको ५५ वर्षीया धर्मपत्नी काली धामी, २५ वर्षीया जेठी बुहारी गोल्की धामी, छ वर्षीया नातिनी आकृति धामी र तीन वर्षीया नातिनी लक्ष्मी धामी गरी चार जनाको ज्यान गएको थियो । मुख्यमन्त्री शाहले पहिरोमा ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । साथै तत्काल उद्धार तथा राहत कार्यमा सङ्लग्न हुन सम्बन्धित निकायलाई निर्देशन दिइएको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

काठमाडौं:    भारी वर्षाका कारण आएको बाढी, पहिरो डुवानलगायत मनसुनी विपद्मा परेर आजसम्म एक सय ९० जनाको मृत्यु भएको छ ।   पछिल्लो २४ घण्टामा मात्रै आठ जनाले ज्यान गुमाएसँगै गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा आजसम्म एक सय ९० जनाको मृत्यभएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।  प्राप्त विवरणअनुसार काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेश प्रदेशमा आठ, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ जनाको ज्यान गएको छ ।  प्रवक्ता कार्कीकानुसार काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेश प्रदेशमा १२, बागमती प्रदेशमा २३, गण्डकी प्रदेशमा ४५, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी दुई सय ३८ जना विभिन्न विपद्मा परी घाइते भएका छन् ।  सोही अवधिमा एक सय १४ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई, मधेश प्रदेशमा एक, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४९ जना बेपत्ता रहेका प्रहरीले जनाएको छ । बाढीका कारण आजसम्म तीन सय ८४ घर डुवानमा परेका, तीन सय २७ घर, एक सय १२ गोठ, ५१ पुल, चार विद्यालय दुई सरकारी कार्यालयमा क्षति भएको छ । यस्तै, चार हजार आठ सय १९ परिवार विपद्का घटनाबाट विस्थापित भएका प्रहरीले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

काठमाडौं:    नेपालले द्विपक्षीय सम्झौताअनुसार भारतका विहार र हरियाणा राज्यलाई थप दुई सय ५१ मेगावाट विद्युत निर्यात गर्ने भएको छ ।      भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले  हरियाणा राज्यलाई थप एक सय २५ दशमलव ८९ मेगावाट र विहारलाई एक सय २५ मेगावाट मध्यकालीन सम्झौताबमोजिम निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो ।      दश जलविद्युत् आयोजनाबाट उत्पादित एक सय २५ मेगावाट विद्युत् विहारलाई र दुई जलविद्युत् आयोजनाबाट उत्पादित थप एक सय २५ दशमलव ८९ मेगावाट विद्युत् हरियाणा राज्यका वितरण कम्पनीलाई बिक्री गरिनेछ । प्राधिकरणले हरियाणा राज्यलाई हाल एक सय नौ मेगावाट विद्युत् बिक्री गरिरहेको छ ।      नेपालमा खपत गरी अतिरिक्त भएको बर्खायामको विद्युत् हरेक वर्ष जुनदेखि अक्टोबरसम्म विहार र हरियाणालाई बिक्री गरिनेछ । योसँगै मध्यकालीन सम्झौताबमोजिम भारतका राज्यस्तरका वितरण कम्पनीलाई बिक्री गरिने विद्युत्को परिमाण तीन सय ६० मेगावाट पुगेको छ ।       आगामी अक्टोबरसम्म बिक्री गरिने विद्युत्को बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ७२ पैसा (५ दशमलव ४५ भारु) रहेको छ । गत वर्ष हरियाणलाई बिक्रीका लागि स्वीकृति दिइएको एक सय नौ मेगावाटको प्रतियुनिट दर आठ रुपैयाँ ४० पैसा (५ दशमलव २५ भारु) छ । यसमा भारतर्फको प्रसारण लाइन शुल्क, चुहावट, ट्रेडिङ मार्जिनलगायत सम्पूर्ण कर तथा शुल्क भने प्राधिकरणले व्यहोर्नुपर्ने छैन ।       प्राधिकरणले देशभित्र खपत गरी बचत भएको बर्खायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को रियल टाइम मार्केट, डे–अहेड बजारमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम हरियाणा राज्यलाई बिक्री गरिरहेको छ ।  भारतबाट स्वीकृति पाएसँगै अब विहारलाई पनि विद्युत् बिक्री सुरु हुनेछ । प्रतिस्पर्धी बजार र मध्यकालीन सम्झौताबमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरुबाट उत्पादित नौ सय ४१ मेगावाट विद्युत् बिक्री हुनेछ ।      प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतीय पक्षबाट स्वीकृति पाएसँग अब छिट्टै विहार र हरियाणामा थप विद्युत् निर्यात सुरु गरिने जानकारी दिनुभयो ।  “स्वीकृत परिमाणको १० प्रतिशत थप विद्युत् निर्यात गर्न सक्ने हुँदा अब एक हजार मेगावाटभन्दा बढी निर्यात गर्न सक्ने अवस्था बनेको छ, थप दुई सय मेगावाट निर्यात स्वीकृतिको प्रक्रियामा रहेको छ, छिट्टै स्वीकृति पाउनेमा विश्वस्त छौँ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । विद्युत् निर्यातको परिणाम बढ्दै जानेछ, चालु आवमा रु २५ अर्ब बराबरको विद्युत् निर्यात गर्ने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ ।      विवरणअनुसार ११ दशमलव ६४ मेगावाटको दोर्दी–एक, कूल १४ दशमलव ४५ मेगावाटको मायाखोला, नौ दशमलव ९९ मेगावाटको तल्लो पिलुवा, १० दशमलव ६७ मेगावाटका तल्लो खारे, ११ दशमलव ६४ मेगावाटको माथिल्लो खिम्ती, छ दशमलव आठ मेगावाटको माथिल्लो खिम्ती–दोस्रो, १४ दशमलव चार मेगावाटको मोदी, १४ दशमलव छ मेगावाटको गण्डक, १९ दशमलव २१ मेगावाटको माथिल्लो सोलु र ११ दशमलव ६४ मेगावाटको दूधकुण्ड जलविद्युत् आयोजनाबाट उत्पादित एक सय २५ मेगावाट विद्युत् विहारमा निर्यात हुनेछ । विहारसँग प्रसारण लाइन जोडिएका कटैया, रक्सौल र रामनगर विन्दुमार्फत विद्युत् निर्यात गरिनेछ ।      यस्तै, ७५ मेगावाटको लिखु–एक र ५० दशमलव ८९ मेगावाटको लिखु–२ बाट उत्पादित एक सय २५ दशमलव ८९ थप विद्युत् हरियाणा राज्यमा बिक्री गरिनेछ । प्राधिकरणले सुक्खायाममा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत्गृहबाट विद्युत् उत्पादन घट्ने हुँदा गत आर्थिक वर्षमा भारतबाट एक अर्ब ८९ करोड युनिट अर्थात् रु  १६ अर्ब ९३ करोडको विद्युत् आयात गरेको थियो ।  तर यही अवधिमा एक अर्ब ९५ करोड युनिट विद्युत् भारतर्फ निर्यात गरी रु १७ अर्ब ६ करोड आम्दानी गरेको थियो । गत आर्थिक वर्षमा आयातभन्दा रु १३ करोड बढीको विद्युत् निर्यात भएको थियो । गत आवबाट खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेर गौरवमय इतिहास बनाउन सफल भएको छ ।

काठमाडौं:    गृहमन्त्री रमेश लेखकले विगत १८ वर्षदेखि थाती रहेको शान्तिप्रक्रिया निष्कर्षमा पु(याउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।       ‘चौपातो नेपाल’द्वारा आज कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा आयोजित विशिष्ट प्रतिभा सम्मान तथा बृहत् साङ्गीतिक काव्य गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले शान्तिप्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो ।  मुलुकका प्रमुख दुई राजनीतिक दल मिलेर बनेको वर्तमान सरकार देशमा दिगो शान्ति र सुशासन कायम गरी जनतामा देखिएको निराशा चिर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।       “राजनीतिक अस्थिरताले उत्पन्न निराशालाई आशामा बदल्न नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को समीकरण बनेको हो”, उहाँले भन्नुभयो । मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी चरित्रको राज्य निर्माण गर्ने काम भए पनि राजनीतिक स्थिरता दिन नसक्दा निराशा बढेको गृहमन्त्री लेखकको भनाइ थियो ।       “सरकार निर्माणका क्रममा विभिन्न राजनीतिक दल सम्मिलित समीकरण बन्ने र भत्किने क्रम चल्यो । सरकारको अस्थिरताको सबै क्षेत्रमा प्रभाव पर्न थाल्यो । विधिको शासन सुनिश्चित गर्न वर्तमान सरकार गठन गर्न आवश्यक भयो,” उहाँले भन्नुभयो ।       शिथिल भएको अर्थतन्त्रलाई गतिशील बनाउन, विकास निर्माणका काम द्रुतगतिमा अगाडि बढाउन, सुशासन स्थापित गर्न, शान्ति कामय गर्न र रोजगारी सिर्जना गर्न वर्तमान सरकार बनेको गृहमन्त्री लेखकले स्पष्ट गर्नुभयो ।       “सामान्यतया संसद्मा रहेका ठूला दल मिलेर सरकार बनाउने अभ्यास स्वाभाविक देखिँदैन । कतिपय अवस्थामा स्वाभाविक मानिँदैन”, गृहमन्त्री लेखकले भन्नुभयो, “तर मुलुकमा महत्वपूर्ण ‘एजेन्डा’ अगाडि आउँछन् । त्यसको कार्यसम्पादन गर्नुपर्ने हुन्छ । राष्ट्रका साझा कार्यभार सम्बोधन गर्नुपर्ने हुन्छ । त्यस्तो बेलामा देशका ठूला पार्टी एक ठाउँमा उभिएका हाम्रो इतिहास छ ।”       सुदूरपश्चिम प्रदेशलाई भारत र चीनसँग जोड्न चाँडै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापन गर्ने  सरकारको योजना रहेको गृहमन्त्री लेखकले बताउनुभयो । महाकाली करिडोर, सेती लोकमार्गलगायत महत्त्वपूर्ण परियोजना अगाडि बढाएर छिमेकी देश भारत तथा चीनसँग जोड्न लागिएको उहाँको भनाइ थियो ।       “तिङ्कर नाकामा अध्यागमन कार्यालय स्थापना गरी तेस्रो मुलुकका नागरिकलाई कैलाश मानसरोवर जाने बाटो बनाउने योजना अगाडि बढाएका छौँ । सुदूरपश्चिमबाट भारत र चीनलाई जोड्ने काम गर्छौं । यसले सुदूरपश्चिमको विकासमा टेवा पुग्छ”, उहाँले भन्नुभयो ।        सो अवसरमा सुदूरपश्चिमको भाषामा अमूल्य योगदान दिएका आरडी प्रभाष चटौत, नारी सशक्तीकरण र साहित्य लेखनमा योगदान दिएकी विजया श्रेष्ठ केसी, नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, नेपाली शास्त्रीय गीत–सङ्गीतको क्षेत्रका तिलकसिंह पेला, प्रशासन क्षेत्रमा योगदान पु¥याएका डा हरिदत्त पाण्डेय र साहित्यमा योगदान दिएका हेमबाबु लेखकलाई सम्मान गरिएको थियो । यस्तै सुदूरपश्चिमको भाषामा योगदान दिएका डम्बर शर्मा बडूलाई मरणोपरान्त सम्मान गरिएको छ । 

काठमाडौं:    भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस। जयशङ्करबीच आज दिउँसो नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।           उहाँहरुबीच द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको मन्त्री राणाको सचिवालयले जनाएको छ । मन्त्री डा राणालाई भारतीय विदेशमन्त्री एस जयशङ्करले स्वागत गर्नुभएको थियो ।       भारतीय विदेशमन्त्री एस। जयशङ्करको निमन्त्रणामा मन्त्री डा राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुग्नुभएको हो । यो उहाँ परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो । मन्त्री डा राणा यही भदौ ६ गते स्वदेश फर्कनुहुने तालिका छ । 

काठमाडौं:    विश्व फोटोग्राफी दिवसका अवसरमा पाटन दरबार क्षेत्रमा फोटो प्रदर्शनी गरेको छ । एक सय ८५औँ विश्व फोटोग्राफी दिवसका अवसरमा आज राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले पाटन दरबार क्षेत्रमा फोटो प्रदर्शनी आयोजना गरेको हो ।  ‘जब हिमाल मुस्कुराउँछ’ नाराका साथ गरिएको फोटो प्रदर्शनीमा नेपालका फोटो पत्रकारहरुले विभिन्न समयमा कैद गरेका हिमशृङ्खलाका ५० भन्दा बढी तस्बिरहरु राखिएका छन् ।      प्रदर्शनीको उद्घाटन गर्नुहुँदै ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले यस्ता प्रदर्शनीले फोटोग्राफरहरुको क्षमता प्रस्फुटनमा ऊर्जा थप्ने बताउनुभयो ।  “यो प्रदर्शनीले धेरै कुराहरूलाई सहयोग पु(याएको छ, प्रदर्शनीमा राखिएका तस्बिरमा हाम्रा हिमालहरुको प्राकृतिक महत्वलाई उजागर गरेको छ, हाम्रा हिमालको अहिलेको अवस्थालाई चित्रण गरेको छ, जलवायु परिवर्तनको असरका बारेमा हामीलाई सुसूचित गरेको छ, एउटा तस्बिरले हजार शब्दमा व्यक्त गर्न नसकिने तथ्यहरुलाई व्यक्त गर्छ भनिन्छ, यो प्रदर्शनी धेरै दृष्टिकोणबाट महत्व राख्ने खालको छ,” उहाँले भन्नुभयो ।      प्राकृतिक मनोरम दृश्यले पर्यटकको आकर्षक बढाउने हुँदा यस्ता प्रदर्शनीले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उहाँको विश्वास छ । उहाँले जलवायु परिवर्तनको असरले हिमालमा परेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न काम गर्नुपर्ने सन्देश तस्वीर मार्फत् देखाएको बताउनुभयो ।      हरेक वर्षको अगस्त १९ तारिखलाई विश्व फोटोग्राफी दिवसको रुपमा संसारभरका फोटोग्राफहरुले उत्सवका रूपमा मनाउँदै आएका छन् । नेपालमा सन् १९९७ मा राष्ट्रिय फोटो पत्रकार समूहको स्थापना भएसँगै प्रत्येक वर्ष विश्व फोटोग्राफी दिवस मनाइँदै आएको छ । फोटोग्राफीको इतिहास बुझाउन, अग्रज फोटोकारको सम्मान र अनुजलाई प्रोत्साहन गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको छ ।      विश्व फोटोग्राफी दिवसको सन्दर्भ पारेर विश्वमा जलवायुको असरका कारण परेको असर र त्यसका कारण हाम्रा हिमालहरु पग्लिँदै गइरहेको अवस्थालाई दृष्टिगत राख्दै हिमाल बचाउ अभियानलाई सार्थकता दिन प्रदर्शनी आयोजना गरिएको समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिनुभयो ।      “नेपालका हिमाल र हिमाली क्षेत्रका पर्यटन, सांस्कृतिक र सामाजिक क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले यो प्रदर्शनी राखिएको हो, नेपाललाई विश्वसामु चिनाउन, पर्यटन प्रवद्र्धन गर्नाका साथै फोटो पत्रकारहरुको क्षमता अभिवृद्धिमा प्रदर्शन महत्वपूर्ण हुने विश्वास छ, व्यावसायिक फोटोग्राफरहरुका लागि हौसला प्रदान गर्न सहयोग मिल्नेछ भन्ने विश्वास छ,” अध्यक्ष वन्तले भन्नुभयो ।      फोटोग्राफी क्यामेराको जननी मानिने ‘क्यामेरा अब्स्क्युरा’ बाट सुरु भएको थियो । विश्वमा श्यामश्वेत छविचित्र अनि फोटो ट्रान्समिटरका ती उदेकलाग्दा पर्खाइ छिचोल्दै फोटोग्राफी हरेक मान्छेको पहुँचमा आइपुगेको छ ।  विश्वमा फोटोग्राफीसम्बन्धी कल्पनाको उदय भएको झन्डै दुई सय वर्ष हुँदा फ्रान्समा यस क्षेत्रमा निकै अनुसन्धान र प्रयोगहरू भएका थिए । अँध्यारो कोठामा झ्यालढोकाको मसिनो प्वालबाट बाहिरको घामको किरण छिरेपछि उत्पन्न आकृति देखेका वैज्ञानिकहरूले ती आकृति सधैँका लागि कैद गर्ने प्रयासमा लागे ।       यसैबीच, सन् १८२६ मा जोसेफ निसेफोर नियप्सले आफ्नो घरको कौसीबाट देखिने दृश्यको फोटो करिब आठ घण्टा लगाएर खिचे । त्यही फोटो विश्वको पहिलो फोटोग्राफिक आकृति बन्यो । अस्पष्ट देखिने त्यो फोटोमा केही आकार र प्रकार मात्र देखिन्छ । पछि आएर सन् १८३८ मा लुइस डेगुरेले अझ प्रस्ट देखिने फोटोको आविष्कार गर्न सफल भए । त्यसबेलाको फोटो अहिलेको झैँ स्थायी रूपमा रहिरहने खालको थिएन । त्यो कालखण्डमा तस्बिर खिच्न आठ घण्टा लाग्थ्यो ।      सन् १८३९ मा मात्र व्यावहारिक रूपमा सफल फोटोको आविष्कार भयो । त्यसबेला खिचिएको सडकको दृश्यचित्रलाई प्रथम प्रस्ट चिनिने आकृतिसहितको सही फोटो मान्न सकिन्छ । वीरशमशेरका पालामा डम्बरशमशेरले नेपालमा फोटोग्राफीको सुरुआत गरेको मानिन्छ ।  बालकृष्ण समका छोरीपट्टिका नाति नवीनप्रकाशजङ्ग शाहका अनुसार, डम्बरशमशेरलाई वीरशमशेरले पुरस्कारस्वरूप बेलायत र जर्मनीबाट जति पनि सामान भन्सार छुट गरी झिकाउने सुविधा दिएका थिए । त्यो बेलादेखि सुरु भएको नेपाली फोटोकारिता अहिले धेरै अगाडि बढिसकेको छ । यसमा नेपालका धेरै फोटोग्राफरहरूको महत्वपूर्ण भूमिका छ ।