चितवन: खैरहनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ । खैरहनी–८ बाबा पेट्रोलपम्पस्थित पूर्वपश्चिम राजमार्गमा मनहरिबाट खोलेसिमलतर्फ जाँदै गरेको बागती प्रदेश०३–००३प ६३७ नम्बरको मोटरसाइकल आज विहान दुर्घटनाहुँदा लमजुङ राइनस नगरपालिका–६ धमेलीकुवाका रत्ननगर नगरपालिका–१५ खोलेसिमलका ४३ वर्षीय हेमन्तकुमार श्रेष्ठ गम्भीर घाइते भएका थिए । गम्भीर घाइते श्रेष्ठको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । मोटरसाइकल दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नवलपुर: पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै जाँदा बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था सृजना भएको छ । युवापुस्ताले जनै बनाउन चासो नदिँदा तथा सुलभ मूल्यमा बजारमा किन्न पाइँदा जनै बनाउनेक्रम हराउँदै गएको बर्दघाट सुस्तापूर्व कावासोती–६ का शालिकराम न्यौपानेले बताउनुभयो । “अधिकांश युवा वैदेशिक रोजगारीमा गएकाले पनि जनै बनाउने सीप नहुँदा हिजोआज यो क्रम हराउँदै गएको पाइन्छ”, उहाँले भन्नुभयो, “सहजता र आधुनिकताले पनि धेरै परम्परा र मौलिक सीप लोप हुँदै गएका छन् ।” केही वर्ष अगाडिसम्म जनै बनाएर आफन्तलाई पनि दिने गरेको भए तापनि पछिल्लो समय बजारबाट खरिद गरी प्रयोग गर्ने गरेको कावासोती–१७ का धनपति अधिकारीले बताउनुभयो । “पछिल्लो समय युवाले नियमित जनै लगाउनै छाडे”, उहाँले भन्नुभयो, “अहिलेका छोरानातिले जनै लगाएर के हुन्छ भनेर उल्टै आफ्नो रीतिरिवाज भुल्न थालेका छन् । यो चिन्ताको विषय हो ।” गाउँमा अहिले जनै बाट्नै छाडिसकेको अधिकारीले बताउनुभयो । जनैपूर्णिमाका लागि बजारबाट मेसिनले बाटेको जनै खरिद गरेर ल्याएको उहाँले बताउनुभयो । बजारमा विदेशबाट आयातित र विभिन्न मेसिन तथा उपकरण प्रयोगबाट बनाइएका जनै फरक–फरक मूल्यमा उपलब्ध हुने गरेका छन् । नयाँ जनै फेर्नुपर्ने हिन्दू संस्कारमा रहिआएको मान्यताअनुसार जनैपूर्णिमाका लागि जनैको कारोबार पनि धेरै हुने गरेको पाइन्छ । विगत वर्षहरूमा गाउँघरमा ब्राह्मण तथा क्षेत्री समुदायका व्यक्तिहरूले एक महिना अघिदेखि नै जनै बाट्न सुरु गर्ने गरेको र त्यो नै उत्कृष्ट जनै रहने गरेको पण्डित बुद्धिसागर भण्डारीले बताउनुभयो । “आफ्नै हातले धागो सङ्ग्ल्याएर, कतुवामा बाटेको जनै नै राम्रो हो, हिजोआज मेसिनको प्रयोगबाट जनै लगाउनु बाध्यता भइसक्यो”, उहाँले भन्नुभयो, “भारतबाट आउने जनै निकै सस्तो हुन्छ, तर त्यसको बनावट राम्रो र उपयुक्त हुँदैन ।” पछिल्लो समय हिन्दू धर्मावलम्बीको पवित्र पर्वका रूपमा मनाइने जनपूर्णिमाको महत्त्व नयाँ पुस्ताले बिर्सँदै गएको पण्डित भण्डारीले गुनासो गर्नुभयो । “रक्षाबन्धनका दिन नजिकैको धार्मिक मठमन्दिरमा गएर विधिपूर्वक पूजाआजा गर्नुपर्ने भए तापनि बजारमा भित्रिएका जनै र धागोलाई प्रयोग गर्न थालिएको छ”, उहाँले भन्नुभयो, “आधुनिकताका नाममा र युवापुस्ता व्यस्त रहने हुँदा संस्कृति लोप हुने अवस्थातिर पुग्ने हो कि भन्ने चिन्ता थपिएको छ ।” शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) वर्गले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति)को दिनका रूपमा जनैपूर्णिमालाई लिइने पण्डित भण्डारीले बताउनुभयो । यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु, महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ । ठाउँठाउँमा पुरोहितले विधि पुर्याएर पूजा गरेको जनै र रक्षाबन्धन धारण गर्नुपर्ने हो उहाँले भन्नुभयो । जनैपूर्णिमा (रक्षाबन्धन)का दिन इष्टमित्रसँग जनै लगाउने र रक्षाबन्धन बाँध्नाले शत्रुबाट रक्षा हुने जनविश्वास रहिआएको छ । “तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनपूर्णिमालाई ऋषितर्पणी पनि भन्ने गरिएको छ”, उहाँले भन्नुभयो, “हिन्दू धर्मावलम्बीले यस पूर्णिमाको दिन नजिकैको तीर्थस्थलमा गई मन्त्रोच्चारण गरी विधिपूर्वक पूजाआजा गरेर घरमा लगेको जनै र रक्षाबन्धन लगाएर जनैपूर्णिमा पर्व मनाउने परम्परा रहिआएको छ ।”
काठमाडौं: झाडापखालाका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा निवासी युवराज भुजेलका चार वर्षीय छोरा दीपशनको मृत्यु भएको छ । तीन दिनदेखि झाडापखालाबाट ग्रसित दीपशनको आइतबार साँझ जिल्ला अस्पताल खोटाङमा उपचारका क्रममा मृत्यु भएको हो । अस्पताल प्रमुख डा रुपेश सङ्ग्रौलाले बालकलाई ढिला गरी उपचार गर्न ल्याएकाले मृत्यु भएको बताउनुभयो । बालकलाई धेरै पटक झाडापखाला भएको र सिकिस्त बनेको खबर पाएपछि थप उपचारका लागि स्थानीयको सहयोगमा जिल्ला अस्पताल लगिएको थियो । भुजेल परिवारमा अन्य दुई जनालाई पनि झाडापखालाको समस्या देखिएको स्वास्थ्य चौकी याम्खाका प्रमुख सिनियर अहेव सौजन राईले जानकारी दिनुभयो । बिरामीलाई घरैमा राखेर गाउँपालिकाको ‘हेल्लो डाक्टर’ कार्यक्रममार्फत उपचार भइरहेको उहाँले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका कारण अभिभावकले समयमै उपचार गराउन नसक्दा बालकको मृत्यु भएको र दाहसंस्कार लागि शव घर लैजान पनि चन्दा सङ्कलन गरिएको पत्रकार हरिबोल आचार्यले बताउनुभयो । स्थानीयस्तरमा बनीबुतो गरेर परिवार धान्दै आएका युवराज र अनु दम्पत्तीका दुई छोरी र एक छोरा थिए । दुई छोरीमध्ये कान्छी अरुणा र आमासमेत झाडापखालाकै बिरामी रहेका आचार्यले जनाएका छन् ।
काठमाडौं: उपराष्ट्रपति रामसहायप्रसाद यादवले परापूर्व कालदेखि मनाइँदै आएको पौराणिक, धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी), गुँःपुन्हिको उपलक्ष्यमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको छ । “यो पर्व भूगोल, क्षेत्र र समुदायगत रुपमा फरक–फरक नामले मनाइए पनि यसको उद्देश्य पारस्परिक भ्रातृत्वभाव, प्रेमभाव, स्नेहभाव, सौहार्दभाव, अपनत्वभाव र सहयोग भाव उत्प्रेरित गर्नु नै हो”, उपराष्ट्रपतिको सन्देशमा भनिएको छ । उहाँले तराई–मधेसमा मधेसीलगायतका समुदायले रक्षाबन्धनलाई राखी त्योहारका रुपमा मनाउने गरेको उल्लेख गर्नुभयो । साथै मधेसी संस्कृतिमा भाइ–बहिनीको अमर प्रेमको प्रतीकका रुपमा मनाइने पर्वहरुमा राखी, भैयादूज ९भ्रातृद्वितीया०लगायत रहेको उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ । लोकपर्वकै रुपमा स्थापित राखी पर्वमा दिदीबहिनीले दाजुभाइलाई नाडींमा रक्षासूत्र (रिखीडोरो)वा राखी बाँध्ने र त्यसो गर्नुको मूल उद्देश्य–भाइको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तोत्तर प्रगतिको कामना गर्नु तथा दिदीबहिनीको रक्षा गर्नु रहेको उहाँको भनाइ छ । “वैदिक सनातन वर्णाश्रम धर्म मान्नेहरु अर्थात् जनै लगाउनुपर्नेहरुले श्रावण पूर्णिमामा पुरानो जनै (यज्ञोपवीत) फेर्ने गर्छन् । यो पर्वमा गुरु÷पुरोहितहरुले मन्त्र साधना गरी भयबाट रक्षा हुने धागो बाँधिदिने चलन छ । खासगरी, ब्राह्मणले धागोमा रक्षामन्त्रले साधना गरी सर्वसाधारणमा पुरुष भए दाहिने नाडीं र स्त्री भए देब्रे नाडींमा डोरो बाँधिदिने गर्दछन् । यो पर्व सप्तऋषि एवं पूर्वजहरुको पूजा तथा तर्पण दिनका लागि पनि महत्वपूर्ण मानिन्छ”, शुभकामना सन्देशमा भनिएको छ । नेपालका नेवार समुदायले यो पर्वलाई ‘गुँःपुन्हि’को रुपमा मनाउँछन् । यो समुदायमा गुँःपुन्हिमा नौ किसिमका गेडागुडीको क्वाँटी पकाएर, गहुँको पीठोको रोटी पोलेर देवदेवीलाई चढाई परिवारका सदस्यहरु मिलेर खाने चलन छ । यस अवसरमा जीवनमा प्रत्यक्षरअप्रत्यक्ष सहयोग गर्ने सबै प्राणी/वस्तुलाई तिनको सदासयता सम्झी पूजा गर्ने चलन पनि छ । यस अवसरमा विभिन्न कुण्डहरुमा जात्रारमेलाको परम्परा रही आएको छ ।
काठमाडौं: सभामुख देवराज घिमिरेले रक्षाबन्धनले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पु¥याउने बताउनुभएको छ । श्रावण शुक्ल पूर्णिमाका दिन हिन्दू धर्मावलम्बीहरुको महान पर्व रक्षाबन्धन (जनैपूर्णिमा) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभयो, “धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धनले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पु¥याउने विश्वास लिँदै यस पर्वले कर्मक्षेत्रमा अगाडि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेको छु ।” रक्षाबन्धन भाइ र बहिनीबीचको अटुट प्रेमलाई दर्शाउने पवित्र पर्व भएको र यस पर्वलाई पारिवारिक मेलमिलाप बढाउने उत्सवको रुपमा लिइने उहाँले उल्लेख गर्नुभएको छ । रक्षाबन्धनमा हिन्दू ब्राम्हण तथा क्षेत्रीय पुरुषले परम्पराअनुसार यज्ञोपवित अर्थात् जनै लगाएर मनाउने पर्व भए पनि नेपालमा धेरै धार्मिक समुदायले यसलाई श्रद्धापूर्वक मान्ने गरेको पाइन्छ । “हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त मुलुक हो । नेपालको संविधानले प्रत्येक व्यक्तिलाई आफ्नो धर्मको अवलम्बन र अभ्यास गर्ने अधिकारको व्यवस्था गरेको छ । कुनै पनि नागरिकलाई उसको धर्म वा आस्थाका आधारमा विभेद नगर्ने र राज्यका सबै नीतिमा समानता कायम गर्ने संविधानको लक्ष्य हो”, शुभकामना सन्देशमा भनिएको छ ।
काठमाडौं: जनैपूर्णिमामा भद्रा भएकाले रक्षाबन्धन गर्न दोष लाग्छ कि लाग्दैन भन्ने बहस चलिरहेका बेला भद्राको दोष नलाग्ने ज्योतिष शास्त्रका विद्वानहरुले तर्क पेस गर्नुभएको छ । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको वाल्मीकि विद्यापीठमा आज बसेको ज्योतिषाचार्य एवं संहिता शास्त्रको बैठकले भद्राको दोष जनैपूर्णिमा, रक्षाबन्धनका निमित्त सर्वसाधारणलाई नलाग्ने निष्कर्ष निकालेको हो । यो दोष राजाहरुलाई मात्रै लाग्ने संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो । “कन्या, धनु, तुला र मकर राशिमा चन्द्रमा हँुदा, भद्रा पाताल लोकमा हुने हुँदा भद्राको दोष पातालवासीलाई मात्रै लाग्छ पृथ्वीवासीलाई लाग्दैन, राजा महाराजालाई समेत दोष नलाग्ने कुराको शास्त्रीय प्रमाण छ”, उहाँले भन्नुभयो । ज्योतिष शास्त्रको ग्रन्थ बृहत्संहितामा भनिएको छ– कुंम्भकर्कद्वये मत्र्येकब्जे स्वर्गेकजात्रयेकलिगे । स्त्रीधनुर्जूकनक्रेकधो भद्रा तत्रैव तत्फलम् ।। यही प्रमाणका आधारमा पनि भद्राको दोष नलाग्ने ज्योतिषाचार्यहरुको निष्कर्ष छ । बैठकमा प्रा डा माधवप्रसाद पाण्डेय, सह प्राध्यापक जयन्त आचार्यलगायत ज्योतिषाचार्यहरुको उपस्थिति थियो । यसअघि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि सर्वसाधारणलाई भद्राको दोष नलाग्ने भएकाले जनैपूर्णिमा र रक्षाबन्धनका कर्म गर्न कुनै समस्या नरहेको विज्ञप्तिमार्फत सार्वजनिक गरिसकेको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको संस्थागत विकास तथा सुशासनको प्रवर्द्धनका निम्ति राज्यको काम कारबाही र सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्ने उल्लेख गर्नुभएको छ । राष्ट्रिय सूचना आयोग स्थापनाको १८औँ वर्षमा प्रवेश गरेका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले सही सूचनाको प्रवाहद्वारा मात्र शासन व्यवस्थाप्रति नागरिक सहभागिता बढ्न गई शासन व्यवस्थाले वैधता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ । सो अवसरमा प्रमुख सूचना आयुक्त, आयुक्तलगायत सम्पूर्ण कर्मचारीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गदै प्रधानमन्त्री ओलीले नेपालको संविधानले नेपाली नागरिकलाई प्रदान गरेको सार्वजनिक निकायमा रहेको आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक स्थापित गरेको उल्लेख गर्नुभएको छ । “लोकतान्त्रिक शासन पद्धतिमा सार्वजनिक निकायहरु नागरिकप्रति जवाफदेही, उत्तरदायी र पारदर्शी हुन आवश्यक छ । जवाफदेहीता, उत्तरदायी र पारदर्शी क्रियाकलापबाट मात्र देशमा सुशासन कायम गर्न सहयोग पुग्दछ”, उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेपाल सरकारको सुशासनयुक्त देश बनाउने लक्ष्यमा सूचनाको हकको प्रभावकारी कार्यान्वयनले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सूचनाको हकको कार्यान्वयनका लागि नेपाल सरकारलगायत सबै सार्वजनिक निकायलाई थप जिम्मेवार भएर लाग्न आह्वान गर्नुभएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रिय सूचना आयोगले सूचनाको हक जस्तो महत्वपूर्ण हकलाई आगामी दिनमा थप प्रभावकारी र जिम्मेवार बन्न यस दिवसले हौसला प्रदान गरोस् भनी सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि सरकारको प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
काठमाडौं: प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । नेपाल पञ्चाङ्ग निर्यायक विकास समितिका अनुसार मुलुकका विशिष्ट व्यक्तिले मात्र भद्रा कटाइ दिनको १ः३१ बजेपछि रक्षाबन्धनको कर्म गर्नु मुनासिव हुनेछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी अत्यन्त बलशाली दानवराज बलिसमेत बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए । सोही पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा निरन्तर छ । यसैदिन ब्राहृमण, क्षेत्री र वैश्यगरी तीन वर्णका तागाधारीले आफ्नो जनै ९यज्ञोपवित० फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनितो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पणगरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । वैदिक गुरु परम्पराअनुसार जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक, वाग्मती नदी किनार र मठमन्दिरमा भक्तजनको भीड लागेको छ । क्वाँटी खाने दिन जनैपूर्णिमाका दिन ११ थरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा आज बिहानैदेखि मेला लाग्ने गर्छ । जनैपूर्णिमाका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
पोखरा: पोखरा पर्यटन परिषद्ले नेपाल सरकार मन्त्रिपरिषद् बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीलाई सहुलियत दिनेलगायत निर्णय गरेका स्वागत गरेको छ । परिषद्द्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले मन्त्रिपरिषद्को निणर्यको स्वागत गर्दै विमानस्थल सञ्चालन सम्बन्धमा दुुई वर्षसम्म गरेको मागको सुनुवाइ भएकामा खुसी व्यक्त गर्नुुभयो । “मन्त्रिपरिषद्ले गरेका निर्णय छिटोभन्दा छिटो कार्यान्वयनका लागि सरकारसँग माग गर्दछौँ”, उहाँले भन्नुभयो, “यो निर्णयले गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुनेमा हामी निश्चिन्त छौँ ।” पोखराबाट उडान भर्ने हवाई कम्पनीहरूले पाउने उक्त सुविधाबाट यात्रुुहरूलाई सुलभ दरमा यात्रा गर्ने मौका मिल्ने र यसले विमानस्थलको आकर्षण बढाउने उहाँले बताउनुुभयो । अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय उडान भएमा पोखराका उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रवेशको ढोका खुल्ने विश्वास वक्त गर्नुभयो । परिषद्को वर्तमान कार्यसमितिले यस सम्बन्धमा प्रधानमन्त्री, अर्थमन्त्रीलगायत सम्बद्ध निकायसँग पटकपटक छलफल तथा ज्ञापनपत्र बुझाएको उहाँले स्मरण गर्नुभयो । परिषद्ले अन्तर्राष्ट्रिय उडानका लागि अन्तर्राष्ट्रिय हवाई कम्पनीसँग पहल, भारतीय टुर अपरेटर, फिल्म स्टार, राजनीतिज्ञ तथा पत्रकारसँग पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा र प्रसारप्रसार गरिएको त्यस अवसरमा जानकारी दिइयो । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समितिको सदस्यका रूपमा पोखरा मुग्लिन सडकको स्तरोन्नतिको ढिलाइ सम्बन्धमा सरोकार भएकासँग छलफल एवं अवलोकन भ्रमण गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । परिषद्का्े आयोजनामा ‘पहिला घरदेश अनि परदेश’ साङ्गीतिक कार्यक्रम, गल्फ एण्ड वियोन्ड कार्यक्रम, पाटा एडभान्चर मार्टमा सहकार्य, पर्यटन ऐनलाई व्यवसायमैत्री बनाउन र यातायात क्षेत्रमा सेवा प्रदायकको सुविधाका लागि सरकारले दिनुपर्ने सहुलियतका विषयमा ऐेनमा नै सुधार गर्न पहल गरिएको पनि जनाइएको छ । परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन र विकासका लागि आफूहरूले निरन्तर प्रयास गरिरहेको बताउनुभयो ।