काठमाडौं:  नेपाल प्रहरी प्रधान कार्यालयले ‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारजनलाई जनही दश लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रहरी प्र...

काठमाडौं:    सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलना मुद्दामा सफाइ दिएको छ । सात वर्ष पुरानो एक अभिव्यक्तिका कारण अवहेलनाको आरोप खेपेका दाहाललाई सर्वोच्च अदालतको संयुक्त इजलासले सफाइ दिएको हो । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले अवहेलनासम्बन्धी उजुरीमा ‘मागदावी नपुग्ने’ भनी निर्णय सुनाएको हो । फैसलाको पूर्णपाठ आउन बाँकी छ । द्वन्द्वकालीन मुद्दाबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७३ जेठमा विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा अदालतको अवहेलनामा कारवाही गरिपाँउ भनी निवेदन दिएका थिए । लामो समयदेखि सर्वोच्चमा अड्किएको मुद्दामा गत असोजमा दुवैतर्फको बहस सकिएको थियो । २०७३ बैशाखको अन्तिम साता राष्ट्रिय सभागृहमा माओवादी कार्यकताको भेलामा प्रचण्डले अदालतमा आफूविरुद्ध षडयन्त्र भएको भनी अभिव्यक्ति दिएका थिए । माओवादी विरुद्ध अदालतलाई प्रयोग गरिएको र दिँउसै रात पार्ने प्रपञ्च भएको भन्दै उनले आक्रोश पोखेका थिए । त्यतिबेला व्यक्ति हत्याको आरोपमा माओवादी कार्यकर्ता छविलाल अधिकारी पक्राउ परेका थिए । त्यही आक्रोशमा दाहालले शान्ति प्रक्रिया विरुद्ध अदालत अघि बढ्दैछ भनी विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिविरुद्ध तत्कालिन अधिवक्ता त्रिपाठीले अवहेलनाको आरोपमा कारवाही अघि बढाउन माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

काठमाडौं:   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा रहेको भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न नपाउने बताएका छन् ।    उनले परियोजनामा भारत एक्लैले निर्णय गर्ने नभइ यसमा नेपालको पनि निर्णय र साझेदारी रहने र त्यसैअनुसार खर्च गर्ने प्रक्रियामा रहेर मात्रै यो रकम खर्च हुने बताए ।  आज बसेको प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारतले जहाँ पायो त्यहीँ लगानी गर्ने या जसरी मन लाग्यो त्यसरी गर्ने भन्ने विषय नरहेको बताए ।  भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा हिजो काठमाण्डौमा रहेको भारतीय दूतावासले सिधै २० करोड रुपैयाँका योजनामा खर्च गर्न पाउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय हित प्रतिकूल कुनै सम्झौताको कल्पना नगर्ने बताए। 

गोरखा:   गोरखाका छ स्थानीय तहलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । गोरखा सदरमुकाममा आज एक कार्यक्रमका बीच ‘सम्भव छ नेपाल’ नामक एक गैरसरकारी संस्थाले स्थानीय तहहरूलाई एम्बुलेन्स उपलब्ध गराएको संस्थाका अध्यक्ष प्रेम खत्रीले जानकारी दिए। संस्थाले गण्डकी, आरुघाट, अजिरकोट, बारपाक सुलिकोट, सिरानचोक र चुमनुब्री गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको उनले बताए । अहिले वितरण गरिएका एम्बुलेन्स ‘ख’ वर्गका हुन् ।  संस्थाले उपलब्ध गराएको एम्बुलेन्स गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत संयुक्तरुपमा साँचो हस्तान्तरण गरेर उपलब्ध गराए । एम्बुलेन्ससँगै संस्थाले पालिकालाई औषधिसमेत उपलब्ध गराएको अध्यक्ष खत्रीले जानकारी दिए। एम्बुलेन्स तथा औषधिसहित संस्थाले पालिकालाई करिब रु दुई करोड ८० लाख बराबरको सामग्री वितरण गरेको हो । संस्थाले पालुङटार नगरपालिकालाई पनि केही समयपछि एम्बुलेन्स उपलब्ध गराउने उनको भनाइ छ  । यसअघि पनि संस्थाले गोरखा विभिन्न पालिकालाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराएको थियो ।

काठमाडौं:    नेपाल प्रहरीले जिल्ला अदालत काठमाडौं परिसरबाट हतकडीसहित फरार थुनुवालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार बिहान फरार भएका सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्कालाई काठमाडौं महानगरपालिका–३२ जडीबुटीबाट आज बिहान पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले प्रहरी वृत्त महाराजगञ्जबाट थुनछेक बहसका लागि अदालत लैजाने क्रममा खड्का हतकडीसहित फरार भएको बताए ।  फरार भएका खड्कालाई प्रहरी वृत्त महाराजगञ्ज र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले खोजतलास गर्दा फेला पारेको हो । प्रहरीले डलर देखाएर लुटपाट गरेको अभियोगमा खड्कालाई पक्राउ गरेको थियो ।

काठमाडौं:    भारतका विदेशमन्त्री एस जयशङ्कर काठमाडौं आइपुगेका छन् ।  नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी नेपाल  आएका हुन् ।  उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउद र  परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरेका छन् । 

काठमाडौं:    सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको तिनकुण्ड आसपास केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प बिहान १० बजेर १७ मिनेटमा गएको थियो । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित तीनकुण्ड केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको हो।  उक्त भूकम्प काठमाडौं, भक्तपुर, ललितपुर लगायत आसपासका जिल्लामा पनि महसुस भएको थियो। 

लमजुङ:    लमजुङमा ‘हाइ अल्टिच्युड’को प्याराग्लाइडिङ विद्यालय सञ्चालनमा आएको छ । लमजुङको दोर्दी गाउँपालिका–८ थोँतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले उक्त विद्यालय सञ्चालनमा ल्याएको हो ।  तीन हजार नौ सय मिटर उचाइमा रहेको उक्त विद्यालयमा उच्च हिमाली भेगमा कसरी प्याराग्लाइडिङमा उड्ने र उडान गर्नेबारे सीप सिकाइने कम्पनीका सञ्चालक सानोबाबु सुनुवारले जानकारी दिनुभयो । नागरिक उड्डयन प्राधिकरणको स्वीकृति र स्थानीय तहसँगको सहकार्यमा विद्यालय सञ्चालन गरिएको उहाँको भनाइ छ । प्याराग्लाइडिङ विद्यालय सञ्चालन गर्न आवश्यक पूर्वाधारका लागि दोर्दी गाउँपालिकाले समेत सहयोग गरेको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । गाउँपालिकामा रहेको भेडीगोठ सहितका अन्य पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि पनि प्याराग्लाइडिङ विद्यालय महत्वपूर्ण हुने उहाँको भनाइ छ ।  पालिकामा प्याराग्लाइडिङ विद्यालय स्थानीयका लागि समेत नयाँ अवसर भएको अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटकीय क्षेत्रमा नै विद्यालय सञ्चालन हुँदा स्थानीयलाई रोजगारी प्राप्त हुन्छ । यसबाहेक स्थानीयले तालिम समेत लिन मिल्ने भएपछि रोजगारीको समेत अवसर हो ।”  बाबु एड्भेञ्चर प्याराग्लाइडिङ कम्पनीले नौ वर्षदेखि स्याङजाको भीरकोट नगरपालिका–५ स्वरेक मैदानमा प्याराग्ग्लाइडिङ विद्यालय सञ्चालन गर्दै आएको छ । प्याराग्लाइडिङ विद्यालयसँग सहकार्य र सहयोगका लागि विभिन्न कम्पनीले चासो देखाएका छन् । हालै मात्र रेडबुलको ‘एड्भेन्चर’ टोली नेपाल आएर विद्यालयको अवलोकन गरेको थियो ।  त्यसपश्चात उनीहरुले विद्यालयसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको सञ्चालक सुनुवारले बताउनुभयो । नेपालमा हिमाल आरोहणका लागि मात्रै नभई विदेशी पर्यटक ‘हाइ अल्टिच्युड’ प्याराग्लाइडिङका लागि आउने नेपाल हवाई खेलकुद संस्था ९ना० का निवर्तमान अध्यक्ष कृष्ण भट्टराईले बताउनुभयो । सामान्य प्याराग्लाइडिङ विश्वको धेरै ठाउँमा उपलब्ध रहेको भए पनि हाइ अल्टिच्युड भने नभएको उहाँको भनाइ छ ।  नेपालमा हाइ अल्टिच्युड प्याराग्लाइडिङको अत्यधिक सम्भावना रहेकाले उक्त विद्यालय महत्वपूर्ण हुने भट्टराईको विश्वास छ । “नेपालमा प्याराग्लाडिङ र साहसिक पर्यटनका लागि धेरै उत्कृष्ट गन्तव्य छन्”, उहाँले भन्नुभयो । विद्यालय सञ्चालनले साहसिक प्याराग्लाइडिङ उडानमा दक्ष जनशक्तिको उत्पादन र विदेशी मुद्रा आर्जनमासमेत सहयोग पुग्ने उहाँको विश्वास छ ।

पोखरा:    हिमालय एयरलाइन्सले पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न इच्छा देखाएको छ । हिमालय एयरलाइन्सका अध्यक्ष झाओ एनयोङले मंगलबार पोखरामा पर्यटनकर्मीहरु माझ उक्त इच्छा प्रकट गरेका हुन् । पोखरा पर्यटन परिषदको आयोजनामा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिम्सिना, र पोखराका पर्यटन व्यवसायीका बीच भएको अन्तर्क्रियामा अध्यक्ष झाओले राष्ट्रिय उडान गर्न चिनियाँ र नेपाली पक्ष र एयरलाइन्सले संयुक्त प्रयास गर्नुपर्ने खाँचो पनि औंल्याए । उनले विश्वमा वार्षिक रुपमा १० करोड चिनिया पर्यटकले बाह्य देशमा भ्रमण गर्ने गरेको र त्यसको १ प्रतिशतमात्र नेपाल ल्याउन सम्भव रहेको बताए । उनले कम्बोडियाले २ वर्षमा चिनियाँ पर्यटकको संख्या १० गुणा बढाएर ४० लाख पुर्याएको उदाहरण दिए । उनले पोखराको प्राकृतिक सुन्दरता, प्याराग्लाइडिङ लगायतले चिनिया पर्यटकलाई आकर्षित गरेको पनि सुनाए । नेपाल सरकारले विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छुट दिएर एयरलाइन्स कम्पनीहरुलाई उडानका लागि आकर्षित गर्नुपर्ने सुझाए । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्न आफूले गरेका मुख्य प्रयासबारे जानकारी गरएका थिए । उनले आफू कार्यकारी पदमा नभएकाले निर्णायक कामका लागि सम्बन्धित मन्त्री र प्रधानमन्त्रीले कूटनीतिक प्रयास गर्नुपर्ने खाँचो औंल्याए । कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष्य पोमनारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्डका पूर्व सदस्यहरु बासुदेव त्रिपाठी, टीकाराम सापकोटा, पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष्य चिरञ्जीवी पोखेल, महासचिव सञ्जयकान्त सिग्देल, उपाध्यक्ष्य कृष्ण भण्डारी, रेबान पोखराका अध्यक्ष नरेश भट्टराई, टान पोखराका अध्यक्ष धर्म पन्थी, उपाध्यक्ष कृष्ण आचार्य, नाट्टा गण्डकी अध्यक्ष हरेराम अधिकारी लगायतले अन्तर्राष्ट्रिय उडान छिटोभन्दा छिटो सञ्चालन गर्न सबैले सहयाग गर्नुपर्ने बताएका थिए । उनीहरु सबैले नेपाल सरकारलाई पोखराबाट छिटोभन्दा छिटो नियमित अन्तराष्ट्रिय उडान गर्ने नीति र वातावरण बनाउन आग्रह गरेका थिए । पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठले राष्ट्रिय सभाअध्यक्ष तिम्सिना र हिमालय एयरलाइन्सलाई सकारात्मक प्रयासका लागि धन्यवाद दिएका थिए । उनले पोखरा र गण्डकी प्रदेशको तर्फबाट जस्तोसुकै पहल र प्रयास गर्न पनि तयार रहेको बताए ।