काठमाडौं:  नेपाल प्रहरी प्रधान कार्यालयले ‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारजनलाई जनही दश लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रहरी प्र...

काठमाडौं:    ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ । किष्ट मिडिकल अस्पतालका प्रमुख अमिष पाठकका अनुसार जुम्ला जिल्ला घर भएका २३ वर्षीय सुजन राउतको उपचारका क्रममा निधन भएको हो । राउत हाल भक्तपुरमा बस्दै आएका थिए । गोली लागेपछि अचेत अवस्थामा रहेका राउतलाई १२:४० बजे अस्पताल ल्याइपुर्याएकोमा १:१७ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । राउतको छातीमा रातो–निलो डाम रहेको प्रमुख पाठकले जानकारी दिए ।  शुक्रबार रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले बालकुमारीमा प्रदर्शन गरेका थिए ।

काठमाडौं:    प्रहरीले  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । रोजगार अनुमति प्रणाली (इपीएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनले भने, ‘आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको हो, हामीले पाँच जनालाई पक्राउ गरेका छौँ, मन्त्री ज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्‍याएको छ ।’ ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए ।

काठमाडौं:  ईपीएस परीक्षाको विषयलाई लिएर आन्दोलनरत युवाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको गाडी जलाएका छन् ।  रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई दिएर युवाहरूले बालकुमारीमा प्रदर्शन गरेका थिए । त्यसक्रममा उनीहरुले मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका ज्वाला मन्त्री क्वाटरबाट पार्टीको केन्द्रीय समिति बैठक जान हिँडेका थिए । बालकुमारी क्षेत्रमा प्रदर्शनकारीले रोके । गाडीमा उनीसँगै दुई जना निजी सुरक्षा अधिकृत थिए । तर प्रदर्शनकारीहरुले गाडीलाई घेरा हालेपछि उनीहरुले गाडीबाट बाहिर निस्किएका थिए । मन्त्री र पीएसओ गाडीबाट हटेपछि प्रदर्शनकारीहरुले आगजनी गरेका थिए ।   

पोखरा:   आगामी मंसिर २ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने तय भएको दशौं राष्ट्रिय खेलकुदलगायत, राष्ट्रपति कप र बागमतीमा आयोजना हुने प्रदेशस्तरीय प्रतियोगिताको तयारीको लागि गण्डकी प्रदेशमा बजेट अभाव भएको छ । प्रदेश खेलकुद परिषद गण्डकी प्रदेश पोखराले बिहीबार खेलकुदसँग सम्बन्धित सरोकारवालासँगको छलफल कार्यक्रमको आयोजना गरेर यो विषयमा जानकारी गराएको हो । परिषदका सदस्य सचिव श्रीधर शर्माका अनुसार यसको तयारी गर्न हुने दोस्रो गण्डकी प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको लागि जिल्ला स्तरीय छनोट तथा प्रदेश स्तरीय प्रतियोगिता र बन्द प्रशिक्षणका लागि ५ करोड रुपैयाँ २४ लाख ८७ हजार रुपैयाँ बजेट आवश्यक हुनेमा जम्मा २ करोड रुपैयाँ मात्र बजेट छुट्याइएपछि समस्या भएको हो । नपुग रहेको ३ करोड २४ लाग ८७ हजार रुपैयाँको व्यवस्था नहुने हो भने समस्या आउने देखिएको उनले खुलाए ।   छलफलबाट कर्णाली प्रदेशमा आयोजना हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तथा प्रदेश खेलकुद विकास बोर्ड वागमती प्रदेशद्धारा फागुन २४ देखि ३० गते सम्म १४ वटा खेलहरुको अन्तर प्रदेश खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको टीम सहभागीका लागि खेलाडी छनौट प्रतियोगिता, विशेष प्रशिक्षण तथा सहभागिताको लागि आवश्यक बजेट प्रयाप्त नभएकोले थप बजेट निकासाको लागि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशसँग अनुरोध गर्ने निर्णय गरेको छ । प्रदेश खेलकुद परिषदका सल्लाहकार, विभिन्न राजनितिक दलका खेलकुद भातृ संघका अध्यक्षहरु, खेल संघका प्रतिनिधि, खेलसँग सम्बन्धीत विभिन्न क्लब तथा संस्थाका प्रतिनिधि र सञ्चारकर्मी समेतको उपस्थितीमा भएको छलफलका सहभागीले नवौं संस्करणको खेलकुद प्रतियोगितामा कुल ३२ वटा स्वर्ण सहित प्रदेशतर्फ सर्वोत्कृष्ट भएर गण्डकीले बनाएको रेकर्डलाई कायम गर्दै त्यो भन्दा सुधारिएको खेलको माध्यमबाट पदक संख्या बढाउन आजैदेखि मिहिन ढंगले लाग्नुपर्ने बताए । यसैगरी छलफलबाट प्रदेश खेलकुद परिषद गण्डकीबाट जिल्ला खेलकुद विकास समितिहरुको आम्दानी व्यवस्थापन र प्रदेश तथा जिल्ला खेलकुद संघ संस्थाहरुको नविकरण आवद्धताको व्यवस्था रेफ्री, जज, खेल सञ्चालक प्राविधिक तथा प्रशिक्षकहरुको सूचिकरण सम्बन्धी प्रयास सम्बन्धी जानकारी प्राप्त गरी उक्त कार्यमा सबै सरोकारवालाबाट सहयोगको लागि अनुरोध गर्ने र जिल्ला खेलकुद विकास समितिहरुले पालिका तहसम्म समन्वयको भूमिका वृद्धि गर्न जिल्ला  खेलकुद विकास समितिहरुलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ । अहिले गण्डकी प्रदेशमा ५ सय ९४ जना रेफ्री, जज, खेल सञ्चालक प्राविधिक तथा प्रशिक्षकहरु सूचिकृत भएका छन् । यसरी सूचिकृत हुनेमा कास्कीका मात्र २ सय ७४ जना छन् । प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मिति पनि हेरफेर भएको छ । यसअगाडि  यहीं पौष २६ देखि २८ गतेसम्म आयोजना गर्नेगरी मिति तय भएको थियो ।  मनाङ, मुस्ताङ, नवलपुर, गोरखा, तनहुँ, स्याङजा र कास्की जिल्लामा मात्र पूर्व निर्धारित पौष १५ गते भित्र जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न हुन देखिएको छ । बाँकी जिल्लामा उक्त मिति पछि मात्र जिल्ला स्तरीय प्रतियोगिता आयोजना हुने भएको देखिएकोले प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको फागुन १६ देखि १८ गतेस्म्मको मितिलाई मध्यनजर गरेर फागुन १२ गते भित्र उक्त प्रतियोगिता सम्पन्न हुने व्यवस्था मिलाउने निर्णय भएको छ । पोखरा रंगशालाको व्यवस्थापन आम्दानी, खर्च, मर्मतसम्भार र सुरक्षाको लागि प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य दिल बहादुर गुरुङको संयोजकत्वमा गठन भएको सहजीकरण तथा व्यवस्थापन समिति गठन भएको छ । सो कार्यको लागि कार्यविधि–मापदण्ड निर्माण भई लागू नहुँदासम्म उक्त समितिबाट भएको निर्णय बमोजिम रंगशालाको आम्दानी र खर्चलाई कार्यान्वयन गर्ने समेत छलफलबाट निर्णय गरिएको छ । छलफलमा बोल्दै राखेप बोर्ड सदस्य राजेश कुमार गुरुङले प्रदेश खेलकुद परिषदले गर्ने गतिविधिमा आफ्नो साथ सर्मथन रहने बताए । यहाँ रहेका पूर्वाधारको बारेमा जानकारी संकलन गर्न आफ्नो संयोजकत्वमा समिति बनेको २१ दिन भित्र प्रतिवेदन बुझाउनुपर्ने भएकोले काम थालनी गरिसकेको उनले खुलाए । सबै मिलेर पोखरा रंगशालाको संरक्षण गर्नुपर्ने उनको भनाई थियो । आफ्नो कार्यकालमा भए गरेका गतिविधि तथा अब गर्नुपर्ने केही कार्यक्रमको बारेमा परिषदका संस्थापक सदस्य–सचिव तेजबहादुर गुरुङले भनाई राखेका थिए । पछिल्लो समयमा खेलसंघ नविकरण हुने क्रम समेत घटेको पाइएका कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर वानीयाँले बताए । उनका अनुसार  कास्की जिल्लामा १ सय १७ खेलकुद संघ रहेकोमा अहिले  २७ ले मात्र नविकरण गरेका छन् । छलफलमा सहभागी सबैले गण्डकी प्रदेशको खेल क्षेत्रको विकासको लागि हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए । पोखरा रंगशालाको व्यवस्थापनको लागि केही काम सुरु भएकोमा उनीहरुले त्यसको प्रशंसा गर्दै गरिएका निर्णय अनुसारको काम प्रयोगात्मक रुपमा गर्नूपर्नेमा जोड थिए ।

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ घान्द्रुकमा गुरुङ जातिको मौलिक चाड ल्होछार पर्वको अवसरमा आयोजित ल्होछार पुजा आजबाट सुरु भएको छ ।  २६ औं ल्होछार पर्वको अवसरमा ङग्युर दोर्जे साङाग छयोएलिङ्ग गुम्बामा ल्होछार पर्वको अवसरमा पुजासँगै सांस्कृतिक कार्यक्रम सुरु भएको हो । ल्होछार पुजा पुष १५ गतेसम्म सञ्चालन हुनेछ ।  २६ औं ल्होछार पर्वको अवसरमा विरालो वर्गको विदाई र गिद्ध वर्गको आमगनको अवसरमा घान्द्रुकमा पुस ११ देखि १५ गतेसम्म ल्होछार पर्व मनाउन लागेको लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले जानकारी दिए ।  बुधबार धर्म गुरुहरुको आगमनसहित जगे (किलखोर) स्थापना गरिएको छ । यस्तै आजदेखि १४ गतेसम्म ह्युमपत पुस्तक पाठन वाचनसँगै बिहान र साँझ साङ र डोल्मा पुजा हुने गुरुङले बताए ।  यस्तै १४ गते तोनाम घोसुस (ग्रह) शान्ति पुजा, १५ गते पितृ पुजा, बिहान १०देखि १२ बजेसम्म कङग्युर (त्रिपिटक) ह्युम पुस्तकसहित गाउँ परिक्रमा र १ बजेदेखि गुरु ढकर रिन्पोछे बाहुल्यबाट आयु छेवाङ (अभिषेक) दिने कार्यक्रम रहेको छ ।  २६ औं ल्होछार पर्वको अवसरमा विरालो वर्गको विदाई र गिद्ध वर्गको आमगनको अवसरमा घान्द्रुक गुम्बा परिसरमा ल्होछारको सुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको गुरुङले बताए ।

काठमाडौं:    जहाज दुर्घटनाको ११ महिनापछि यती एयरलाइन्सको फाइनल (अन्तिम) रिपोर्ट आएको छ । यती एयरलाइन्स दुर्घटना अध्ययन समितिले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयलाई आफ्नो अन्तिम अध्ययन प्रतिवेदन बुझाएको हो ।  गत वर्ष माघ १ गते काठमाडौँ–पोखरा उडानका क्रममा रहेको यती एयरलाइन्सको एटीआर–७२ ९एन–एनएनसी जहाज पोखरा विमानस्थल नजिकै दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा चालक दलसहित ७२ जनाकै मृत्यु भएको थियो ।  उक्त घटनाको यथार्थ छानबिन गर्न गठित छानबिन समितिले प्राविधिक नभएर मानवीय त्रुटिकै कारण घटना भएको प्रतिवेदनमा उल्लेख गरेको छ । उक्त दुर्घटनामा जहाजको दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको थियो । उक्त स्थितिमा जहाज मुभ हुन नसकी सिँधै भुईँमा बजारिन पुगेको प्रतिवेदनमा भनिएको छ । यसो हुनुमा चालकको गम्भीर गल्तीका कारण तत्काल जहाजलाई अप्रेसनमा लैजान नसकेको र अन्तत: दुर्घटनामा परेको प्रतिवेदनमा छ । 

पोखरा:   पोखरामा दुई जना पैदल यात्रुलाई ठक्कर दिएर फरार भएका कार चालक गएराति आफै प्रहरीको सम्पर्कमा आएका छन् । पोखराको बागलुङ बसपार्कबाट जिरोकिलोमिटर जाँदै गरेको कारले पस्र्याङमा पैदल यात्रुलाई ठक्कर दिँदा दुईजनाको मृत्यु  भएको थियो ।  दुईजना पैदल यात्रुलाई ठक्कर दिएर फरार भएका कार चालक कास्कीको माछापुच्छ«े गाउँपालिका २ खादरजुङ्ग बस्ने ३२ वर्षीय भक्तराम गुरुङ वडा प्रहरी कार्यालय बैदामको सम्पर्कमा आएका हुन् ।  गुरुङले तीव्र गतिमा चलाएको बा १३ च ३७२१ नम्बरको कारले ठक्कर दिँदा बागलुङको ढोरपाटन नगरपालिका–६ घर स्थायी घर भई पोखरा–३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का एकजना पैदल यात्रुको मृत्यु भएको थियो ।  कारको ठक्करको मृत्यु  भएको अर्का एकजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  मृतक दुवै जनाको शव पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको कास्की प्रहरीले जनाएको छ ।   

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव, सीप तथा प्रज्ञाको उपयोग गरी राज्य सञ्चालनका महत्वपूर्ण निर्णयमा मार्गदर्शन गर्ने वातावरणको निर्माण गर्न सरकार क्रियाशील रहेको बताउनुभएको छ ।  तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आज शुभकामना दिँदै उहाँले यसका लागि सरकारले ज्येष्ठ नागरिकका नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण हुने व्यवस्थाको सिर्जना गर्दै परिवार, समाज तथा राष्ट्रलाई असल संस्कृतिको निरन्तरता र समाज सापेक्ष विकासको प्रेरणाको रूपमा लिएको बताउनुभयो ।   प्रधानमन्त्री दाहालले ज्येष्ठ नागरिकको सम्मानित, आरोग्यपूर्ण र सुखमय जीवनयापनको सुनिश्चिततासँग जोडिएका विषयलाई  राज्यले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रयास गरिरहेको बताउनुभएको छ । उहाँले देशको जनसाङ्ख्यिक संरचनामा आएको परिवर्तनसँगै बढ्दो ज्येष्ठ नागरिकको जनसङ्ख्याको समुचित व्यवस्थापनमा थपिएका चुनौतीको सामना गर्न राज्यका सबै निकाय संवेदनशील हुन आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।  ज्येष्ठ नागरिकले जीवनपर्यन्त परिवार तथा समुदायबाट साथ र सहयोग प्राप्त गरिराख्ने अवस्थाको सिर्जना गर्न र एकल तथा असहाय ज्येष्ठ नागरिकको उचित हेरचाहको प्रवन्ध गर्न सरकार निरन्तर लागिपरेको उहाँको भनाइ छ । प्रधानमन्त्री दाहालले आफ्नो ऊर्जाशील समय कुनै न कुनै रूपमा राष्ट्रका लागि समर्पित गर्ने ज्येष्ठ नागरिकका अधिकारहरू प्रत्याभूत गर्न गरिएका व्यवस्था प्रभावकारी बन्दै गएको बताउनुभयो ।  “सामाजिक सुरक्षा भत्ता, ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, ज्येष्ठ नागरिक आश्रम, दिवा सेवा केन्द्र तथा उहाँहरूलाई सेवा सुविधामा प्राथमिकता, छुट एवं सहुलियत प्रदान गर्ने कार्यक्रम प्रभावकारी देखिँदै आएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “आगामी दिनमा यस्ता कार्यक्रम थप विस्तार र गुणस्तरीय बनाउने विश्वास दिलाउन चाहन्छु ।” यसवर्षको दिवसको नारा ‘ज्येष्ठ नागरिकको सम्मान, हाम्रो सभ्यताको पहिचान’ छ । प्रधानमन्त्री दाहालले यस दिवसले ज्येष्ठ नागरिकको सम्पूर्ण अधिकारको सुनिश्चितता र आत्मगौरवको प्रत्याभूतिका लागि परिवार, समाज र राष्ट्रका प्रयासलाई एकीकृत गर्नुपर्ने राष्ट्रिय जिम्मेवारी पूरा गरी सभ्यताको निरन्तरता र विकासमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।  यस अवसरमा उहाँले जीवनको महत्वपूर्ण समय समाज र देशका लागि समर्पण गर्ने सम्पूर्ण ज्येष्ठ नागरिकप्रति बधाई तथा शुभकामना प्रकट गर्नुभएको छ ।

पोखरा:    पोखरामा ८९ औं भूपी जयन्ती विविध कार्यक्रमका साथ मनाइएको छ ।  जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको आयोजना तथा पोखरा प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा भूपी विमर्श र काव्य उत्सवसहित जन्मजयन्ती मनाइएको हो । ‘भूपीका कवितामा विश्वदृष्टि’ अवधारणापत्र प्रस्तुत गर्दै अध्येता गौरी तमूले साहित्यका विविध विधामा विश्वदृष्टिको परिचर्चा भए तापनि कवितामा न्यून रहेका बेला भूपीका कविताको विश्वदृष्टिको चर्चा वर्तमानको आवश्यकता रहेको बताइन् । अवधारणामाथि टिप्पणी गर्दै सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानका अध्यक्ष उप–प्राध्यापक विष्णुप्रसाद शर्माले भूपी शेरचनका कविताको आयाम बृहत् हुँदाहुँदै सबै आयामबाट परिचर्चा हुन नसकेको बेला अध्ययनको दायरा बढाइनु सान्दर्भिक रहेको धारणा राखे । लोकगायिका हरिदेवी कोइरालाले अक्षरका पुजारीले गरेको योगदानको कदर नै स्वस्फुर्त हुने स्मरण भएको बताउँदै भूपी शेरचनले कल्पेको समाज निर्माण आज पनि हुन नसक्नु दुखको कुरा रहेको बताइन् ।  भूपी शेरचनका आफ्नै सालाबाबु डा सोमतसिंह तुलाचनले भूपीले आफ्नो उर्जाशील जीवन साहित्य सिर्जनामा लगाएकाले उनको व्यक्तित्व आज जीवन्त रहन पुगेको बताए । पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकालले अग्रज स्रष्टा साधकले समयको कालक्रममा पु¥याएको योगदानको परिचर्चामा प्रतिष्ठान क्रियाशील रहँदै आएको जानकारी दिए ।  उनले राज्यबाट निर्मित सीमित बजेट र मापदण्डका कारण चाहेर पनि प्रज्ञा–प्रतिष्ठानले आवश्यकतानुकूल कार्यक्रम गर्न नपाएकोमा चिन्तासमेत व्यक्त गरे । कार्यक्रम संयोजक कृष्णप्रसाद पौडेलले जरोटुप्पो संरक्षण साहित्य समाज नेपाल स्थापनकालदेखि  भानुजयन्ती, मोतीजयन्ती, लक्ष्मीजयन्ती, समजयन्ती, पृथ्वीजयन्ती, विनोद गौचनजयन्ती, भूपीजयन्ती, पारिजातजयन्तीलाई नेपाली वाङ्मयका जरा मानेर नियमित कार्यक्रमलाई अगाडि बढाउने क्रममा यसपटक भूपी विमर्शसहितको काव्यउत्सव आयोजना गरिएको बताए । जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानका संरक्षक प्राध्यापक कुञ्जराज थापाले भूपी शेरचनको आफ्नो परिवारसँगका स्मृति र ३० को दशकबाटै शेरचनले आफूलाई कर्मनिष्ठ स्रष्टाका रूपमा चिनाएको स्मरण गरे ।  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालका सदस्य दुर्गा शाह बाबाले साहित्य लेखन यात्रा र भूपीका विविध आयामबारे धारणा राख्दै भूपी अथक र पृथक पहिचानका साधक रहेको बताए । थकाली सेवा समितिका अध्यक्ष ई. रुजिन्द्र तुलाचनले भूपीको योगदानको स्मरणमा प्रत्येक दुई वर्षमा संस्थाले साहित्यिक प्रतिभाको प्रोत्साहनका लागि पुरस्कार अर्पण गर्दै आएको बताए । वडा नं. ३ की सचिव चन्द्रावती वाग्लेले नेपाली कविता विधाका कालजयी स्रष्टाकारूपमा भूपीलाई चिनाइन् । नुमराज बराल, छविलाल आचार्य, आवाज शर्मा, रमा पराशर, देवेन्द्र केसी, नरेन्द्र रानाभाट, पदम नेपाल, सुवास गुरुङलगायतले कवितावाचन गरेको कार्यक्रममा प्राडा यमबहादुर पौडेल र असफल गौतमले पनि बोलेका थिए ।