म्याग्दी:   बेनी–जोमसोम–कोरला सडकमा आज बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको छ ।  म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने काभ्रेभिरमा खसेको पहिरोका कारण ...

काठमाडौं:     सर्वोच्च अदालतले अभिनेता पल शाह विरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति प्रदान गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको संयुक्त इजलासले मुद्दा दाहोर्‍याएर हेर्न अनुमति दिएको हो ।  सर्वोच्चले पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादीबीचको अडियो रकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानमा रहेको स्वीकारोक्ति समेतका प्रमाणको समुचित मूल्यांकन नगरी उच्च अदालत पोखराले गत वर्षको फागुन ११ मा फैसला गरेको भन्दै पलबारेको उक्त फैसला दोहोर्याउन निस्सा प्रदान गरेको हो ।  उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले पल शाहलाई सफाइ दिएको थियो।  शाहले बलात्कार गरेको भन्दै एक नाबालिग पीडितले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा जाहेरी दिएकी थिइन् । 

पोखरा:   सेती नदीमा माछा मार्न गएका एक युवकको मृत्यु भएको छ । शुक्रबार माछा मार्न सेती नदीमा गएका सुनिल श्रेष्ठको भीरमाथिबाट खसेको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  पोखरा तुलसीघाटको सेती नदीमा (हिजो शुक्रबार) सेती नदीमा माछा मार्न गएका  श्रेष्ठलाई भीरमाथिबाट खसेको ढुंगा लागेर गम्भिर घाइते भएको थिए । उनको उपचारको क्रममा चित्किसकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।  यसैबीच, पोखरा रामघाटमा भेटिएको शवको पहिचान भएको छ । बिहीबार रामघाटमा भेटिएको शव पोखरा–३ उमेश गुरुङको भएको उनका दाजु दिनेशले सनाशत गरेको कास्की प्रहरीले जनाएको छ । 

काठमाडौं:    नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो । निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले २९ मंसिरमा पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको छ । निगमले भने ३ रुपैयाँ मात्र मूल्य घटाएको छ । नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र डिपालय क्षेत्रमा पेट्रोलको लिटरको १६७ रुपैयाँ तथा डिजल तथा मट्टीतेल लिटरको १५७ रुपैयाँ पर्नेछ । चारआली, विराटनगर जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटरसम्मको क्षेत्रमा खुद्रा मुल्य पेट्रोलको लिटरको १६४ रुपैयाँ ५० पैसा पर्नेछ । डिजल तथा मट्टीतेलको लिटरको १५४ रुपैयाँ ५० पैसा पर्नेछ । यस्तै सुर्खेत र दाङ डिपोको १५ किलोमिटर सम्मको क्षेत्रमा पेट्रोलको लिटरको १६६ रुपैयाँ डिजल तथा मट्टीतेल लिटरको १५५ रुपैयाँ पर्ने आयल निगमले जनाएको छ ।

पोखरा:    पोखराको प्याराग्लाइडिङ उडान ठप्प भएको छ ।  नेपाल हवाई खेलकुद संस्था (ना) पोखराले बुधवार कम्पनीहरूले आफैँ उडाउन पाउने र दर पनि आफ्नै हिसाबले तोक्न पाउने निर्णय व्यवसायीहरुलाई नै सुम्पिएपछि पोखराका पाइलटहरु उडान ठप्प पारेका हुन् नाको निर्णयले अहिले प्याराग्लाइडिङ पाइलटहरू आन्दोलित भएका छन् । नाले नेपाल नागरिक उड्डयन प्राधिकरणका नियमहरू पालना गर्दै खुला रूपमा उडान गर्न र रेट तोक्न भनेको छ । अहिले यो विषयमा छलफल भइरहेको बताइएको छ ।  यसअघि पोखराका कम्पनीहरूले प्याराग्लाइडिङ उडानको बाह्र हजार शुल्क लिँदै आएका थिए । यो निर्णयपछि पाइलटहरूले उडान ठप्प पारेका छन् । नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबले नयाँ अवस्थामा उडान भर्न नसक्ने जनाएको छ । क्लबका अध्यक्ष दीपक थापाले निर्णयले बजार अस्वस्थ हुने र सुरक्षा चुनौतीसमेत देखिने जनाउँदै अर्को निर्णय नभएसम्मका लागि पाइलटहरूले उडान नभर्ने जानकारी दिए ।    केही पाइलटले भने यो निर्णयले छ, सात हजारमै उडान भर्नुपर्ने अवस्था आउने चिन्ता जनाएका छन् । अहिले ५२ वटा कम्पनी ना सँग आबद्ध छन् । तीमध्ये २१ कम्पनीले छाता संस्थाको निर्णय नमान्ने बताएपछि बुधवार मात्र आफ्नै तरिकाले शुल्क तोक्न र आफैँले सञ्चालन गर्न पाउने निर्णय गरिएको ना अध्यक्ष सुनिल भट्टराईले बताए ।       

बाँके:    बाँकेको कोहलपुरमा जीपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । पश्चिमदेखि पूर्वतर्फ आउँदै गरेको भे १ च ३४०७ नम्बरको जीपले ठक्कर दिँदा डिउटीमा तैनाथ प्रहरी जवान २९ वर्षीय विशाल वलीको ज्यान गएको हो ।  जीपको ठक्करबाट प्रहरी सहायक हवल्दार ३२ वर्षीय लालबहादुर बुढाक्षेत्री गम्भीर घाइते भएका छन् । कोहलपुर मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौँ लगिएको बाँकेका प्रहरी प्रवक्ता नारायाण डाँगीले जानकारी दिए । गए राति पूर्व पश्चिम राजमार्गमा पर्ने कोहलपुरको मदनचोकमा डिउटीमा खटिएका प्रहरी जवान वली र प्रहरी सहायक हवल्दार बुढाक्षेत्रीलाई जीपले ठक्कर दिएको हो । घाइते बुढाक्षेत्रीको टाउको, अनुहार र छातीमा गम्भीर चोट लागेको छ । जीपको ठक्करबाट प्रहरी जवान वलीको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिएर फरार भएका जीपका चालक दाङको घोराही उपमहानगरपालिका–११ का २० वर्षीय अर्जुन बस्नेतलाई प्रहरीले कोहलपुर–२ बाट नियन्त्रणमा लिएको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पोखरा:    पोखराको मणिपाल शिक्षण अस्पतालबाट बेपत्ता भएका तनहुँका संगम मिश्र सेती नदीमा मृत फेला परेका छन् । अस्पतालमा उपचारत संगम मिश्र बुवा औषधी किन्न गएका समयमा बेपत्ता भएका थिए ।   तनहुँ स्थायी घर भएका संगम मिश्र बिरामी भएपछि लामाचौरबाट गएको मंसिर २५ गते उपचारका लागि मणिपाल अस्पतालमा आएका थिए । आफ्नो बुवा औषधी लिन गएको समयमा अस्पतालबाट बेपत्ता भएका संगम खोजतलाज गर्ने क्रममा सेती नदीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी श्रवणकुमार विकले जानकारी दिए । मिश्र हराएको सूचनापछि खोजतलासको लागि गएको प्रहरीको टोलीले नदीपुरतर्फ आउने झुलुङ्गे पुलको बीचमा कपडा र आइडीकार्ड फेला पारेको थियो ।  ‘परिवारले पोखरा–१६स्थित सेती नदीको ड्याम खोलेर खोजतलास गरिदिन आग्रह गरेपछि आज (दिउँसो ) ड्याम खोलेर खोजतलाज गर्ने क्रममा पोखरा महानगरपालिका–३ नदीपुरस्थित सेती नदीमा संगम मृत फेला परेको सूचना अधिकारी विकले बताए ।  सेती नदीमा मृत फेलाका संगमको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको कास्की प्रहरीले जनाएको छ । 

काठमाडौं:   उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदेश दिएको छ । खाँणलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी उच्च अदालतले धरौटीमा छाड्न आदेश गरेको हो । न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने भनी यसअघि नै जनक पाण्डेले व्यक्त गरेको रायलाई समर्थन गरेको छ । उनको यो रायसँगै जिल्ला अदालतको आदेश बदर भएको हो । यसअघि उच्च अदालतमा दुई न्यायाधीशहरुबीच राय बाझिएको थियो । न्यायाधीश जनक पाण्डेले खाँणलाई धरौटीमा छाड्नुपर्ने भनी राय दिएका थिए भने प्रकाश खरेलले थुनामा पठाउनुपर्ने राय व्यक्त गरेका थिए । दुवै न्यायाधीशहरु बीचको राय बाझिएपछि तेस्रो न्यायाधीशको रायका लागि खाँणले दिएको निवेदन बिहीबार तेस्रो न्यायाधीश कोइरालाको इजलासमा पेश भएको हो । उच्च अदालतको यो आदेशविरुद्ध  सरकारी वकिलको कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिन पाउँछन् । खाणले पनि आफूलाई धरौटीमा छाड्‍ने आदेश गलत भएको भन्‍दै साधारण तारेखमा छाड्न माग गर्दै सर्वोच्चमा निवेदन दिन पाउँछन् । उच्च अदालत पाटनले गत १५ मंसिरमा अदालतमा हाजिर भएका २० मध्ये आधाजसो आरोपितहरुलाई धरौटीमा छाड्न वा थुनामुक्त गर्न आदेश दिएको थियो । २० मध्ये बालकृष्ण खाँणको हकमा मात्रै दुई न्यायाधीशबीच राय बाझिएको थियो । नक्कली शरणार्थी प्रकरणमा आरोपित बनाइएका ३० मध्ये १० जना अदालतमा उपस्थित नभई अझै सम्पर्कबाहिर छन् । गत जेठमा पक्राउ परेदेखि नै पूर्वगृहमन्त्री खाँण थुनामा छन् ।

ढोरपाटन:    बागलुङमा जथाभावी फोहर फाल्दा बडिगाडखोला दुर्गन्धित बनेको छ । बुर्तिबाङ–बोङ्गादोभान सडकको तलपट्टि तमानखोला किनार फोहरको ढङ्गुरले भरिएको छ । दैनिक हजारौँ यात्रु त्यही फोहरको ढङ्गुरमाथिको सडक हुँदै यात्रा गर्छन् । दश नमूना सहरमध्येमा पर्ने बागलुङको बुर्तिबाङ बजारमा बस्ती विस्तारसँगै जनघनत्व बढ्दो छ । यही कारणले दैनिक फोहर पनि बढ्दै गएको छ । बजारबाट निस्कने फोहर ढोरपाटन नगरपालिका–३ बाघखोरस्थित तमानखोलामा फाल्ने गरिएको छ । एक दशक अघि बुर्तिबाङ बजार सानो थियो । फोहर पनि थोरै निस्कन्थ्यो । सबै फोहर स्थानीयले खोला किनारमा फाल्ने गरेका थिए । र त्यही जलाउने गरेका थिए । तर अहिले बजारबाट निस्कने फोहर व्यवस्थापनमा समस्या भएको छ । नगरपालिकाले छ वर्षदेखि तमानखोला किनारमा बुर्तिबाङ बजारको फोहर फाल्दै आएको छ । बजारको फोहर फाल्ने ठाउँ साँघुरो हुँदा त्यो सबै तमानखोलामा पुग्ने गरेको छ । खोलाले बगाएर फोहर पुनः बजारसम्म पुर्‍याउँछ । फोहरले तमानखोला प्रदूषित बनेको छ । तमानखोला भएर बगेको फोहर बुर्तिबाङ बजार हुँदै भूजीखोला र सेराफेदीँमा आएर निसीखोलामा मिसिएर बडिगाडमा बग्ने गरेको छ । देशकै नमूना सहर भनिए पनि फोहर व्यवस्थापनमा नगरपालिका र नयाँ सहर आयोजना चुकेको छ । आर्थिक वर्ष २०६७÷६८ मा नयाँ सहर घोषणा गरेर कामको थालनी गरे पनि अहिलेसम्म बुर्तिबाङ फोहर व्यवस्थापनका लागि पूर्वधार निर्माण हुन सकेका छैनन् । खोलामा बग्ने फोहरका कारण जलचर जीवलाई असर पुगेको छ । फोहरकै कारण बडिगाड खोलामा माछा पाउने क्रम घट्दै गएको जलारीहरु बताउँछन् । हाल फोहर व्यवस्थापन गरेको बाघखोर तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिका–३ र ४ को विभिन्न गाउँमा पुग्ने सडक छेउमै पर्छ । सडक छेउमा रहेको ‘डम्पिङसाइड’ का कारण यात्रुलाई समस्या भएको  छ । बुर्तिबाङ बजारको फोहर नगरपालिकाको गाडीले दैनिक यही ल्याएर फ्याक्ने गर्छ । कुहिने तथा नकुहिने सबै फोहर एकै ठाउँ फालिँदै आइएको छ । खोला छेउमा फोहर व्यवस्थापन अव्यवस्थित रहेको ढोरपाटन–३ का मीनबहादुर घर्तीले बताए । बजारबाटै गाडीले फोहर सडक भरी खसाल्दै ल्याउने र जथाभावीरुपमा फाल्दा त्यसको गन्धले समस्या भएको उनको भनाइ छ । वर्षौंदेखि बजारको फोहर व्यवस्थापनमा नयाँ सहर आयोजना र नगरपालिकाले चासो नदिँदा बाघखोर क्षेत्र र अन्य खोला प्रदूषित बन्दै गएका घर्ती बताउँछन् । हिउँदमा दुर्गन्ध कम भए पनि बर्खाको समय फोहरको गन्धले यात्रा गर्नै कठिन हुने उनको भनाइ छ । बुर्तिबाङ बजारमा घर थपिने क्रम बढ्दो छ । जनघनत्व  बढ्दै गएको छ । तर बजारको फोहर व्यवस्थापन भने हुन सकेको छैन । सबै फोहर खोलाले बगाएर जताततै पुर्‍याउँछ । ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले फोहर व्यवस्थापनका लागि जग्गा नपाउँदा समस्या भएको  बताए । आयोजना कार्यालयसँग सहकार्य गरेर जग्गा खोज्ने काम भइरहेको उनको भनाइ छ । जग्गा व्यवस्थापन हुनासाथ बजारको फोहर व्यवस्थान हुने उपप्रमुख कायतको विश्वास छ

प्युठान:    प्युठानको ऐरावती गाउँपालिका–२, बरौलामा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगा तर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जिप बिहीबार बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा मल्लरानी गाउँपालिका (३ का वडा सदस्य ५२ बर्षका दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए । उनका अनुसार नाच्दै गाउँदै हिँडिरहेका जन्तीलाई जीपले ठक्कर दिएको थियो। एक्कासी टायर पन्चर भएर अनियन्त्रित हुँदा जीपले ठक्कर दिदा ५ जना घाइते भएका र उनीहरुको जिल्ला अस्पताल बिजुवारमा सामान्य अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको हो । प्रहरीले घटनास्थल पुगेर घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ।