म्याग्दी:   बेनी–जोमसोम–कोरला सडकमा आज बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको छ ।  म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने काभ्रेभिरमा खसेको पहिरोका कारण ...

काठमाडौं:   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले समाएको १४ किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्।  भन्सार कार्यालयको टोलीले सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई पक्राउ गरेको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले पुष्टि गरे। मंसिर २१ गते राति ११ः४० बजे फ्लाइ दुबई एफजेड ५७३ बाट आएका चन्द्र घले पक्राउ परेका थिए। उनले ज्याकेट बनाएर १४ किलो सुन ल्याएका थिए।  सुन भित्रिँदैछ भन्ने सूचना पाएको भन्सार कार्यालयले उनी आउन बित्तिकै विमानबाटै पक्राउ गरेको थियो।  उनले सुन गोरखाका मीनबहादुर घलेको बताएका थिए। त्यही राति नै मीनबहादुर घलेलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।  १४ किलो सुन बरामद भएपछि भन्सार कार्यालयले त्यसको छानबिन गर्न समिति पनि गठन गरिसकेको छ। 

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलले हस्तकला नेपालमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र भएकाले सरकारबाट यसको प्रवर्द्धनका लागि हस्तकला उद्योग व्यवसायमैत्री आवश्यक नीति नियम, ऐन, कानुन बनाउन आवश्यक रहेको बताउनुभएको छ । हस्तकला दिवसको अवसरमा आयोजित २० औं हस्तकला व्यापार मेला तथा १८ औं हस्तकला प्रतियोगिताको बिहीबार उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले हस्तकला उद्योगबाट उत्पादित वस्तुहरूको बजार विस्तार देशभित्र गर्न सरकारका सम्पूर्ण निकायबाट स्वदेशमा उत्पादित हस्तकला वस्तुको उपयोगको वातावरण सृजना गर्न आवश्यक रहेको औंल्याउनुभयो ।   राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘हस्तकला उद्योग नेपालको उद्योग व्यापार मात्र नभई नेपालको प्राचिन सभ्यता, मौलिक संस्कृति र सम्पदाको संरक्षण एवम् सम्वर्द्धन गर्दै विश्वमा परिचित गराउने महत्त्वपूर्ण क्षेत्र हो । यसका साथै हस्तकला उद्योग व्यवसायको उत्थानबाट नेपालको पहिचान एवम् गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सकिन्छ । यस उद्योगको विकास र विस्तारबाट एकातिर मुलुकको विशिष्ट पहिचान स्थापित गर्न सकिन्छ भने अर्कोतिर हाम्रो आर्थिक, सामाजिकलगायत समग्र राष्ट्रिय विकासका लागि महत्वपूर्ण योगदान पुर्‍याउन सकिन्छ भन्ने मलाई लागेको छ ।’’ राष्ट्रपति पौडेलले नेपाली हस्तकलाका धेरैजसो सामग्रीहरू हाम्रा विभिन्न जातजातिको पुर्ख्यौली पेशा र सीपमा आधारित मौलिक उत्पादन भएकाले सजिलै यसको नक्कल हुन नसक्ने भएकाले यस प्रकारका उत्पादनको प्रतिलिपि अधिकार पनि समयमा नै सुरक्षित गर्नेतर्फ ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘प्रतिलिपि अधिकार सुरक्षित गर्दै नेपाली परम्परागत सीप र उत्पादनलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै समय सापेक्ष विकास गर्न आवश्यक छ ।’’ प्रत्यक्ष–अप्रत्यक्ष गरी झण्डै ११ लाख व्यक्तिलाई रोजगारी दिएको यो क्षेत्र अर्थव्यवस्थाको पहिचानमा आधारित उद्योग व्यवस्था भएको हुँदा यसको उत्पादनले मुलुकको पहिचान  विश्वरभर फैलाउन योगदान पुर्‍याउने पनि राष्ट्रपति पौडेलको भनाइ थियो । उहाँले भन्नुभयो, ‘‘हाल करिब ८५ देशमा हस्तकला उद्योग व्यवसायबाट उत्पादित वस्तुहरूको निकासी भएको छ भने कतिपय देशहरूमा निकासी गर्न बाँकी छ । थोरै पूँजी, स–सानो प्रविधि तथा स्थानीय कच्चा पर्दाथ, श्रम र सीपमा आधारित हस्तकला उद्योग व्यवसाय कृषि पछि देशमा गाँउ, बस्ती, दुर्गम क्षेत्रमा विस्तार गर्न सकिने ठूलो सम्भावना रहेको क्षेत्र हो । सहजै स्थानीयस्रतमा गर्न सक्ने व्यवसाय पनि यो हो । यति महत्त्वपूर्ण व्यवसाय भएर पनि युवा पुस्तामा हस्तकला क्षेत्रको परम्परागत सीप र प्रविधि हस्तान्तरण हुन सकिरहेको छैन ।’’ उहाँले हस्तकला क्षेत्रको परम्परागत सीप र प्रविधि हस्तान्तरणका लागि आवश्यक पर्ने कार्यक्रम, तालिमहरू सञ्चालनार्थ संघ, प्रदेश, स्थानीय सरकारसहित निजी क्षेत्रको साझेदारीमा हस्तकलाग्राम स्थापना गर्न आवश्यक रहेको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘‘मौलिक कला र संस्कृति झल्कने स्थानीय हस्तकलाका सामग्रीले हाम्रो पर्यटन व्यवसायमा पनि योगदान पुर्‍याएको छ । हस्तकला सामग्रीले स्वदेशी मात्र होइन विदेशी पर्यटकलाई पनि आकर्षित गरिरहेको हुनाले पर्यटनसँग सम्बन्धित विभिन्न निकायहरूबीच उचित समन्वय र सहयोगको वातावरण तयार गर्न जरुरी छ ।’’ स्वदेशी कच्चा पदार्थमा आधारित र उच्च मूल्य अभिवृद्धि हुने वस्तु उत्पादन गर्ने भएकाले यो व्यवसायमा संलग्न उद्यमीलाई सरकारले प्रोत्साहन गर्नुपर्दछ । राष्ट्रपति पौडेलले विश्ववजार प्रतिस्पर्धी बन्दै गइरहेको बेलामा नेपाली हस्तकलाको समान निर्यात गर्दा क्रियाशील उत्पादन, बजारको माग, वस्तुको डिजाईन र विकास गुणस्तरीय वस्तु, मूल्य निर्धारण, राम्रो प्याकेजीङ्ग, व्यापारमेला र प्रर्दशनीमा सहभागी, प्रचार, प्रवर्द्धन, अनुसन्धान, विकास र प्रतिलिपि अधिकारमा विशेष ध्यान पुर्‍याउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यो मेलाले उद्यमी, कलाकार, कालीगढहरूबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरूको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन र नयाँ नयाँ निर्यात योग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्न मद्दत पुर्‍याउने मैले विश्वास लिएको छु ।’’ सो क्रममा राष्ट्रपति पौडेलले प्रर्दशनीमा राखिएका विभिन्न स्टलहरूको अबलोकन गर्नुभएको थियो । राष्ट्रपति पौडेलले उतकृष्ट हस्तकला निर्यात कर्तालाई सम्मान गर्नुभएको थियो ।

पोखरा:    पूर्वसांसद तथा उद्योगपति स्व. सूर्यबहादुर केसीका परिवारवाट स्थापित कृति स्मृति पत्रकारिता वृत्ति सम्मान ३ जना पत्रकारलाई प्रदान गरिने भएको छ । कास्की शाखाले सञ्चालन गरेको पत्रकारिता वृत्ति सम्मानबाट पत्रकार डा. सुरेश आचार्य, माधव शर्मा र कृष्णप्रसाद बास्तोला सम्मानित हुने भएका हुन् ।  नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७७ बाट पत्रकार महासंघका पूर्वअध्यक्ष आचार्यलाई सम्मान गर्न लागिएको हो । सोही सम्मान २०७८ बाट प्रेस स्वतन्त्रता सेनानी तथा कास्की शाखाका पूर्वअध्यक्ष माधव शर्मा र २०७९ बाट कास्की शाखाकै पूर्वअध्यक्ष कृष्ण प्रसाद बास्तोलालाई सम्मान गरिने भएको हो ।  यस्तै, महासंघले सञ्चालन गरेको आर्थिक पत्रकारिता पुरस्कारबाट टंक अधिकारी र दिनानाथ बराल पुरस्कृत हुने भएका छन् । सो पुरस्कारको २०७८ बाट राष्ट्रिय समाचार पत्रमा कार्यरत अधिकारी र २०७९ बाट कारोबार दैनिकमा कार्यरत बराल पुरस्कृत हुन लागेको महासंघ कास्कीका सचिव माधव बरालले जानकारी दिए । पुरस्कारको राशी नगद २० हजार, दोशल्ला र सम्मान पत्र रहेको छ ।  उनीहरुलाई आगामी पुस ४ गते पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाको उपस्थितीमा सम्मान गरिने महासंघ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् ।   

पोखरा:  लामाचौरबाट उपचारको लागि मणिपाल शिक्षण अस्पताल पुगेका संगम मिश्र बेपत्ता भएका छन् ।  आफ्नो बुवा औषधी लिन गएको समयमा तनहुँ स्थायी घर भएका संगम मिश्र बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी श्रवणकुमार विकले जानकारी दिए । ‘तनहुँ स्थायी घर भएका हाल लामाचौर बस्दै आएका मिश्र ज्वरो आएपछि उपचारका लागि मणिपाल अस्पताल गएका रहेछन्’, सूचना अधिकारी बिकले सुनगाभा न्यूजसँग भने, ‘अस्पतालमा उपचार गराइराखेका मिश्रका बुवा औषधी किन्न गएको समयमा अस्पतालबाट हराएका हुन् ।’ उनले इमजेन्सी वार्डमा उपचार गराइराखेका संगम आफ्नो बुवा औषधी लिन गएको समयमा अस्पतालबाट हराएको सूचना आएको बताए ।  मिश्र हराएको सूचनापछि खोजतलासको लागि गएको प्रहरीको टोलीले नदीपुरतर्फ आउने झुलुङ्गे पुलको बीचमा कपडा र आइडीकार्ड भेटिएको उनले बताए ।  ‘अस्पतालबाट हराएका मिश्रको खोजतलास गर्ने क्रममा नदीपुरतर्फ आउने पुलमा आइडीकार्ड फेला परेको छ’, उनले भने, ‘भोलि पोखरा–१६स्थित ड्याम खोलेर खोजतलास गर्छौं ।’ उनले सेतीको ड्याम खोलेर मिश्रको खोजीकार्य गर्ने भएकाले भोलि सेती नदीमा पानीको बहाव बढ्ने भएकाले नदी किनारामा नजानसमेत आग्रह गरे ।

काठमाडौं:     जाजरकोट भूकम्पका लाभग्राही ५९ हजार एक सय ६२ कायम गरिएको छ । भूकम्पबाट प्रभावित पाँच जिल्लाका स्थानीय तहले सो सङ्ख्यामा लाभग्राही कायम गरेका हुन् ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार सुरुआतमा २८ हजार लाभग्राही कायम गरिएका थिए । उहाँका अनुसार दोस्रोपटक चार हजार लाभग्राही थपिएका थिए । भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माण गर्न नेपाल सरकार मन्त्रिपरिषद्को  निर्णय कार्यान्वयन गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको निर्णयबमोजिम विपद् व्यवस्थापन कोषबाट प्रभावित पाँच जिल्ला ९जाजरकोट, रुकुमपश्चिम, बझाङ, बाजुरा र सल्यान०मा रु। एक अर्ब ४१ करोड रकम निकासा भइसकेको प्रवक्ता खड्काले बताउनुभयो ।   जिल्लामा भूकम्पपीडितले सबै रकम अझै प्राप्त गर्न सकेका छैनन् । निकासा रकममध्ये आजसम्म रु। एक अर्ब, चार करोड आठ लाख २५ हजार स्थानीय तहको खातामा पुगिसकेको उहाँले बताउनुभयो । स्थानीय तहले कायम गरेका लाभग्राहीमध्ये १० हजार एक सय ५३  लाभग्राहीले अस्थायी आवास निमाण गर्ने सम्झौता गरेका छन् । सम्झौता गरेका ती लाग्राहीलाई स्थानीय तहले रु। २४ करोड ६२ लाख ७५ हजार उपलब्ध गराएको प्रवक्ता खड्काले बताउनुभयो । रकम प्राप्त गर्ने लाभग्राहीमध्ये रुकुम पश्चिममा दुई हजार चार सय २३ र सल्यानमा ४० गरी दुई हजार चार सय ६३ परिवार आफ्नै नवनिर्मित अस्थायी आवासमा बस्न थालेका छन् । पालिकामा कायम भएका लाभग्राहीमध्ये सम्झौता गर्न बाँकीलाई प्रथम किस्ता तथा सबैलाई दोस्रो किस्ताबापत लाग्ने रकम रु। दुई अर्ब ६० करोड ५० लाख थप निकासा गरिदिन सम्बन्धित जिल्लाबाट माग आएको प्रवक्ता खड्काले बताउनुभयो । यसरी माग भइआएको रकम निकासाका लागि अर्थ मन्त्रालयमा गृह मन्त्रालयले पत्राचार गरिसकेको छ । यसरी निकासाको प्रक्रियामा रहेको रकम विपद् व्यवस्थापन कोषमा प्राप्त हुनासाथ कायम भएका लाभग्राहीको सङ्ख्याको आधारमा सम्बन्धित जिल्लामार्फत स्थानीय तहमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपलब्ध गराउने जानकारी गराएको छ ।

काठमाडौं:    काठमाडौं महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ ।  महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध गरिएको छ । प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, बिँडी, तम्बाखु, सुल्फा, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न नपाइने भन्दै महानगरपालिकाले यही मङ्सिर १२ गते सार्वजनिक सूचना जारी गरेको थियो । कसैले बिक्री वितरण गरेको पाइए नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गरी कारबाही गरिने सूचनामा उल्लेख छ । सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा पारिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको स्वास्थ्य विभागका प्रमुख पौडेलले बताउनुभयो । महानगरले गत असोज १ गतेदेखि सार्वजनिक ठाउँमा चुरोट र सुर्ती खान रोक लगाएको थियो । महानगरले सार्वजनिक ठाउँ, विमानस्थल, सार्वजनिक शौचालय, मठमन्दिर, पाटीपौवा, विद्यालय, स्वास्थ्य संस्था, बाल तथा वृद्धाश्रम, पसल, पार्कलगायत क्षेत्रमा चुरोट नखान पनि आग्रह गरेको छ । अटेरी गर्नेलाई कारबाही गरिने काठमाडौँ महानगरले जनाएको छ । 

काठमाडौं:    ललितपुरको झम्सिखेलबाट प्रहरीले एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झम्सिखेलबाट उदयपुरका अविनाश राईलाई लागुऔषध ‘आइस ड्रग’ सहित नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिने क्रममा प्रहरीलाई राईले आक्रमण गर्न खोजेपछि प्रहरीले १ राउन्ड गोलीसमेत चलाएर उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  राईको साथबाट आधा किलो आइस ड्रग बरामद भएको पनि प्रहरीले जनाएको छ । पक्राउ परेका राईमाथि आवश्यक छानिबन भइरहेको पनि भइरहेको प्रहरीले जनाएको छ । 

मनाङ:    जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ । बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि रातिमा करिब माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ ।  प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङ सदरमुकाम चामे आसपासका क्षेत्रमा माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ । तापक्रम मापन गर्दा अत्यन्त कम देखाउँदै गएको उनले बताए । जसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको उनले बताए ।  प्रजिअ लामिछानेले भने, “चिसोले धारामा पानी जमेको छ भने खोलानालामा पनि पानी जम्दै गएको छ । बाटोमा हिउँ छ । सवारीसाधनको आवतजावत न्यून मात्रामा छ । पिउने पानी जोहो गर्नै मुस्किल हुन थालेको छ ।” चिसो बढ्दै जाँदा यहाँका पूर्वाधार निर्माणका काम ठप्प भएको प्रजिअ लामिछानेले जानकारी दिए ।  चामे गाउँपालिकाले सूचना जारी गरी विकास निर्माणमा प्रयोग हुने सिमेन्टजन्य काम नगर्न आग्रह गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत नमनारायण मल्लले चिसोका कारण सिमेन्टसँग सम्बन्धित निर्माण कार्यमा समस्या हुने भएकाले काम बन्द गर्न भनिएको बताए ।  पूर्वाधार कार्यालय मनाङका प्रमुख जय विष्टले भने, “चिसो अत्यधिक छ । त्यसैले सिमेन्टजडित कार्य ठप्प भएको छ । योजनाको नापजाँच, परीक्षणको काम गरिरहेका छौँ ।”  पहिलो हिमपात हुनासाथ यहाँका शैक्षिक संस्था बन्द भएका छन् । शैक्षिक संस्था बन्द भएपछि यहाँका अधिकांश स्थानीय जाडो छल्न जिल्लाबाहिर गएका छन् । यहाँका स्थानीय लमजुङ, काठमाडौँ, पोखरातर्फ झर्ने क्रम जारी रहेको छ ।  चिसोका कारण स्थानीय तल झरेपछि नार्पाभूमि गाउँपालिकामा रहेका दुई प्रहरी चौकी सदरमुकाम सारिएको प्रजिअ लामिछानेले जानकारी दिए । उनका अनुसार नार्पाभूमिका अत्यावश्यक कामकाजका लागि सदरमुकामस्थित चामे गाउँपालिका–३ कोतोमा अस्थायी कार्यालय स्थापना गरी सेवा प्रवाह भइरहेको छ ।  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इकाई कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले चिसो बढिरहेको अवस्थामा पनि पर्यटकको आगमन भइरहेको बताए । ‘सिजन’मा भन्दा पर्यटकको आगमन कम भए पनि आउने क्रममा जारी रहेको उनले जानकारी दिए । उनले भने, “चिसोमा पनि दैनिक १५ देखि २० पर्यटक आएका छन् । बाटोमा केही मात्रामा हिउँ छ । हिउँ खेल्दै रमाउँदै पर्यटक थोराङ्ला भञ्ज्याङ, तिलिचो तालतर्फ जाने आउने भइरहेको छ ।” माथिल्लो क्षेत्रमा रहेका होटल व्यवसायी पूर्ण रुपमा बन्द नभएको भुजेलले जानकारी दिए ।       पर्यटकलाई मौसमसम्बन्धी जानकारीका साथै बाटोमा हुनसक्ने जोखिमलाई मध्यनजर गरी यात्रा गर्न सुझाव दिँदै आएको उनले बताए । मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका किसान सोनाम लामाले धेरैजसो गाउँले तल झरेका बताउछन् । आफूहरु घर कुर्ने र याकचौँरी हेर्न घरमै बसेको उनले बताए । उनले भने, “चिसोमा माउ चौँरी र युवा अवस्थाका याकलाई खुवाउन र बचाउन सजिलै हुन्छ । तर, चिसोमा बच्चालाई जोगाउन भने  मुस्किल हुन्छ । ठूला पशुचौपायले पानी, घाँस आफैँ खोज्न सक्छन् ।” “लामो समयसम्म हिमपात भयो भने अलिअलि जम्मा गरेर राखेको घाँस सकिन्छ र खान नपाई दुब्लाएर मर्ने गर्छन् । जाडो मौसममा बच्चालाई गोठ बनाएर राखिन्छ भने हिउँ बढी परे पनि ठूला पशुचौपायलाई हिउँमै छाड्नुपर्छ । जाडोमा घाँस कम हुने भएकाले दूध पनि कम हुने हुँदा बच्चालाई मात्र पुग्छ । हामीले यो समयमा दूध दुहुँदैनौ”, उनले भने, “लेकका खर्कबाट गाउँघर नजिक याकचौँरी ल्याइन्छ । नावर पनि याकचौँरीसँगै अलि तल नै झर्छन् । जसले गर्दा हिउँ चितुवा पनि पशुचौपाया नजिकै आहाराका लागि आउने गर्दछन् । यसबाट जोगाउन पनि हामी यहाँ बस्नुपर्ने हुन्छ ।” यहाँ फागुनको पहिलो सातादेखि खेतीपातीको समय सुरु हुन्छ । त्यसबेला बेँसीमा झारिएका गोठ लेकका खर्कतर्फ लैजाने गरिन्छ । हाल जिल्लाभर चार हजार तीन सय ९७ याकचौँरी रहेका भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नरेन्द्र राईले जानकारी दिए । जाडो कम हुँदै गएपछि यहाँका स्थानीय पनि घर फर्कन थाल्छन् । 

पोखरा:   पोखरा रंगशाला सञ्चालन र व्यवस्थापनका लागि प्रदेश खेलकुद परिषद गण्डकीले पहल सुरु गरेको छ । परिषदको निर्देशनमा जिल्ला खेलकुद विकास समिति कास्कीलाई सञ्चालन र व्यवस्थापनका लागि जिम्मेवारी दिएको हो । परिषदका सदस्य सचिव श्रीधर शर्माको समेत् उपस्थितीमा सोमबार सम्पन्न जिल्ला खेलकुद विकास समिति कास्कीको बैठकले प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य दिल बहादुर गुरुङको अध्यक्षतामा पोखरा रंगशाला सञ्चालन तथा व्यवस्थापनका लागि कार्यदल गठन गरेको छ । सो कार्यदलको सदस्यमा परिषदका सदस्य केशव पाठक, परिषदका सदस्य खगेन्द्र क्षेत्री, परिषदका सदस्य विनय थापा, जिल्ला खेलकुद कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँ, जिल्ला खेलकुदकी सचिव कन्चन थापा रहेका छन् भने सदस्य सचिवमा जिल्ला खेलकुदका कार्यालय प्रमुख सुन बहादुर लामा रहेका छन् । त्यसै गरि कार्यदलको सल्लाहकारमा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश कुमार गुरुङ, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, प्रदेश खेलकुदका पूर्व सदस्य सचिव तेज बहादुर गुरुङ र भलिबलका पूर्व अन्तर्राष्ट्रिय खेलाडी हरिप्रसाद पराजुली खेल विज्ञको रुपमा रहेका छन् भने पोखरा महानगरको तर्फबाट एक जना प्रतिनिधी राखिएको छ । गत भदौ २८ गते काठमाण्डौमा संघिय सरकारका यूवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्वुको अध्यक्षतामा सम्पन्न राखेपको ११७ औं वोर्ड बैठकले राखेप अन्तर्गत सातै प्रदेशमा रहेका खेल पूर्वाधारहरु प्रदेश खेलकुद परिषद अन्तर्गत व्यवस्थापन गर्न निर्णय गरे बमोजिम प्रदेश खेलकुद परिषद गण्डकीले पोखरा रंगशाला व्यवस्थापन र सञ्चालनका लागि पहल सुरु गरेको सदस्य सचिव श्रीधर शर्माले जनाएका छन् । उनले भने–“माननिय मन्त्रीज्यूले पोखरा नै आएर कानुनको पालना गर्न र वोर्ड तत्काल हटाउन कडा निर्देशन दिनुभएको थियो । जुन विषय ११७ औं वोर्ड बैठकले पारित गरेको छ । हामी मन्त्रीज्यूको निर्देशन संगै वोर्ड बैठकको निर्णयको कार्यान्वयनका लागि अघि बढेका छौं । म परिषद र समग्र खेलकर्मीहरुका तर्फबाट उहाँप्रति आभार व्यक्त गर्न चाहन्छु ।” राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र प्रदेश खेलकुद विकास ऐन २०७७ लागु भइसक्दा समेत पोखरा रंगशालामा लामो समय सम्म क्षेत्रिय खेलकुद विकास समितिको कार्यालयको बोर्ड हटेको थिएन । तर राखेपको बोर्ड बैठकको निर्णय र मन्त्री लिम्वुको कडा निर्देशन पछि क्षेत्रिय कार्यालयको बोर्ड हटाइएको थियो । सोमबार सम्पन्न बैठकले पोखरा रंगशाला व्यवस्थापनका लागि कार्यविधि निर्माण गर्ने निर्णय गर्नुका साथै कर्मचारीहरुको व्यवस्थापन, शुरक्षा व्यवस्था, सरसफाई, शौचालयहरुको व्यवस्थापन, पानी, विद्युतलगायतका विषयलाई कार्यान्वयन गर्ने गरि अघि बढ्ने निर्णय समेत गरेको छ ।