धनकुटा: “अब राजा र रानीको भेट हुने सम्भावना टरेर गयो”, धनकुटाको चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले भन्नुभयो, “पहिला उचित पहल नभएकाले अब जोड्न सम्भव छैन ।” धनकुटा जिल्लाको पर्यटकीय गन्तव्य भन्नेबित्तिकै राजारानीमा रहेको राजारानी ताल पहिलो पङ्क्तिमा नाम आउँछ । यही प्रसिद्धिका कारण साबिक राजारानी गाउँपालिकाको नाम स्थानीय भाषामा मावरकरपावरक भनिने राजारानी तालबाट रहन गएको हो । हाल चौबिसे गाउँपालिका–६ मा रहेको यस स्थानका कारण अझै पनि मानिसहरू चौबिसे जानेभन्दा पनि राजारानी जाने भन्ने गरेका लिम्बूको भनाइ थियो । वडास्थित राजारानी बजारको पूर्व–पश्चिम र दक्षिण, तीनतिर अङ्ग्रेजी अक्षर ‘भी’ आकारमा फैलिएर रहेको क्षेत्रको रानी तालमात्र हालसम्म आंशिक संरक्षण गरिएको छ । निजी स्वामित्वलाई सहकारीमा परिणत गरेर हाल पूर्वी किनारमा संरक्षित रानी तालमा विभिन्न संरचना निर्माणसँगै फिसिङ, बोटिङ र मोटरबोट सञ्चालनमा रहेका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार निजी स्वामित्वमै रहे पनि रानी तालको पश्चिममा अवस्थित राजा ताल क्षेत्र भने समन्वय र संरक्षणको पर्खाइमा छ । पछिल्लो समय स्थानीय तह विभाजनसँगै थप बजार विस्तार भएकाले ताल संरक्षणमा कठिन भएको लिम्बूको भनाइ थियो । बजारको जनघनत्व विस्तारसँगै राजा तालको बिच भागबाट भेडेटार–रवि–राँके राजमार्गको विस्तारले अब राजा र रानी ताल जोड्ने सम्भावना नरहेको उहाँले जानकारी दिनुभयो । यसले गर्दा अब राजारानीको भेट नहुने उहाँले बताउनुभयो । “करिब पाँच सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको राजारानी तालमध्ये एक सय २० रोपनीमा रानी ताल मात्र संरक्षित छ । दुवै तालको दक्षिणतर्फ रहेको गल्छीमा बाँध बाँध्न सके यहाँ विशाल ताल बन्छ”, लिम्बूले भन्नुभयो, “यहाँका केही व्यक्तिहरूसँग ताल निर्माणमा सहमति हुन नसकेपछि यसको सम्भावना ज्यादै न्यून रहेको छ ।” केही व्यक्तिहरूले जमिन उपलब्ध गराउने सहमति गरेकाले राजातालको आंशिक संरक्षणका लागि प्रारम्भिक सर्वेक्षण गरिएको उहाँले जानकारी दिनुभयो । लिम्बूका अनुसार यो ताल रानी तालभन्दा ठुलो हुनेछ । पूर्णरुपमा ताल निर्माण गरी संरक्षण गर्न सके पूर्वी नेपालकै एक अद्भुत जल पर्यटनको गन्तव्य हुने उहाँको भनाइ थियो । पूर्णरुपमा निर्माण गर्न सके एक किलोमिटरभन्दा लामो अङ्ग्रेजी अक्षर ‘भी’ आकारको ताल बन्ने स्थानीय जीवन कटुवालले बताउनुभयो । ताललाई पूर्ण रूपमा संरक्षण गर्न निकै ढिलो भइसकेको उहाँको भनाइ थियो । देशको पुनः संरचनासँगै सडक सञ्जाल लगायत अन्य सेवासुविधाका कारण ताल संरक्षणमा कसैको चासो नदेखिएको उहाँले बताउनुभयो । “जमिनको मूल्य वृद्धि हुनुका साथै ताल व्यक्तिगत जमिनमा भएकाले पनि केही समस्या भइरहेको हो । पहिलाको प्रयोगविहीन र मूल्यहीन जस्तै रहेकामा अहिले मूल्य बढेको छ”, कटुवालले भन्नुभयो, “मूल्य कम हुँदाको समयमा संरक्षण नथालिएकाले अब पूर्ण आकारको ताल निर्माणको सम्भावना टरेको छ ।” डेढ दशकअघि रानीताल संरक्षणपछि राजा ताललाई पनि संरक्षण गरेर विशाल राजारानी ताल बनाउन पटक–पटक पहल गरे पनि असफल भएको मावरक रानीताल संरक्षण समितिका कोषाध्यक्ष काजीमान लिम्बूले बताउनुभयो । उहाँले केही व्यक्तिहरूसँग ताल निर्माणपछि बाँडफाँड तथा लाभका विषयमा सहमति हुन नसक्दा निर्माणमा समस्या आएको उहाँको भनाइ थियो । राजा तालमा आफ्नो सात रोपनीभन्दा बढी जमिन रहेको जनाउँदै स्थानीय मणि चेम्जोङले ताल निर्माणमा पर्याप्त बजेटसहितको योजना नआएकाले निर्माणमा सहमति हुन नसकेको जानकारी दिनुभयो । “पालिकाले १० लाख र २० लाखको क्रमागत योजना लिएर आउँछ”, उहाँले भन्नुभयो, “यस्तो योजनाले यहाँका घररजमिनको संरक्षण र सुरक्षा हुन्न ।” कम बजेटका कारण क्षति र जोखिम बढी देखिएकाले स्थानीयहरूले पूर्णआकारको ताल निर्माणमा सहमति जनाउन नसकेका उहाँको भनाइ थियो । ताल निर्माणका क्रममा विस्थापितहरूको स्थानान्तरणमा आपसी समझदारी, लाभको विषयमा सहमति, सुरक्षा र संरक्षणको उचित व्यवस्था नदेखिएपछि निर्माणको विषय अघि बढ्न नसकेको लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार चुरे पहाडको चिसो क्षेत्रमा अवस्थित ‘ताल नै ताल’को पालिका भनेर चिनिने यस पालिकामा आधा दर्जन सानाठुला तालहरू संरक्षण र प्रवर्द्धनको पर्खाइमा रहेका छन् ।
जाजरकोट: कात्तिक १७ गते जाजरकोटको बारेकोट–१ रामिडाँडा केन्द्र बनाएर गएको भूकम्पबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई बिमाबापतको रकम हस्तान्तरण प्रक्रिया सुरु भएको छ । नलगाड नगरपालिकाका ५६ मृतकमध्ये २९ जनाको परिवारलाई रकम हस्तान्तरण गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो । उहाँका अनुसारप्रति मृतक रु दुई लाखका दरले रकम वितरण गरिएको हो । क्रमशः सबै पालिकामा गएर अबको तीनरचार दिनमा बिमाबापतको रकम वितरण गरिसक्ने जिसीले बताउनुभयो । प्रदेश सरकारले कर्णालीमा बसोबास गर्ने नागरिकका लागि यसअघि नै प्राकृतिक दुर्घटना बिमा गर्ने कार्यक्रम अघि सारेको थियो । सोही कार्यक्रमअन्तर्गत बिमा रकम वितरण गरिएको हो । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी एक सय ५० भन्दा बढीको मृत्यु भएको थियो । “हामीले एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृतकका परिवारलाई रु। आठ लाख रकम दिने गरेका छौँ”, जिसीले भन्नुभयो”, “चाँडो रकम वितरण गरेर मृतक परिवारलाई सहयोग पुगोस् भन्ने उद्देश्यसहित हामीले रकम वितरण सुरु गरेका हौँ ।” वितरण कार्यमा मन्त्री जिसीसहित बिमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पदम सोडारी पनि सहभागी हुनुहुन्छ । प्रदेश सरकारले सार्वजनिक संरचना निर्माण तत्काल सुरु गर्ने निर्णय गरेको छ । भूकम्पबाट प्रभावित खानेपानी, बाटो, विद्यालय, स्वास्थ्य चौकी, सिँचाइका योजनामा क्षति पुगेको थियो । ती योजना प्रदेश सरकारले विनियोजन गरेको रु। एक अर्बबाट मर्मतसम्भार गरिने जनाइएको छ ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ । रास्वपाको केन्द्रीय सदस्य एवं सहप्रवक्ता प्रतिभा रावलले पार्टीको सचिवालयको बैठक आज बस्ने बताईन् । उनका अनुसार थपिएका केन्द्रीय सदस्यहरुले आज शपथ लिने कार्यक्रम छ । “साझ ५ बजे सचिवालयको बैठक र त्योभन्दा अघि नवमनोनीत केन्द्रीय सदस्यको शपथ ग्रहणको कार्यक्रम छ”, सहप्रवक्ता रावलले भनिन् । महोत्तरीको जलेश्वरको केन्द्रीय समिति बैठकको निर्णयबाट पार्टीको केन्द्रीय सदस्य थपिएको थियो । बैठकमा पार्टीको विभिन्न विभागको कार्यविधि अनुमोदन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
काभ्रेपलाञ्चोक: इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले राजस्व छली ल्याइएको ३३ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित बिपी राजमार्गअन्तर्गत प्रहरी चेक पोष्टमा आज बिहान सवारी जाँचका क्रममा बा प्र ०३–००१ ख १९६६ नं को यात्रुबहाक बसमा राजस्व छली ल्याइएको ५० किलोका ३३ बोरा ९१६५९ किलो० चिनी बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार सङ्खुवासभाको खाँदबारीबाट काठमाडौँतर्फ जाँदै गरेको उक्त बसको हुट र डिकीमा लुकाइछिपाइ ल्याइएको उक्त परिमाणको चिनीसहित बस र बसका चालकलाई नियन्त्रणमा लिइएको हो । बस र चालकबारे थप अनुसन्धान भइरहेको उनले बताए। घटनाक्रमले काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेल जोडिएको बीपी राजमार्गबाट पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको देखाएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले बीपी राजमार्गअन्तर्गत धुलिखेल–९ स्थित काभ्रेभञ्ज्याङमा कात्तिक तेस्रो साता गरेको सवारी जाँचका क्रममा यातायातका साधनबाट अवैध रुपमा ल्याइएको दश क्वीन्टल चिनी बरामद गरेको थियो । प्रहरीले कात्तिक पहिलो हप्ता सोही राजमार्ग हुँदै पनौती तर्फबाट राजस्व छलि आएका ९२ बोरा चिनी बरामद गरी ट्रक नियन्त्रणमा लिएको थियो । बिपी राजमार्गमा सवारी ‘चेकिङ’मा अवैध रुपमा चिनी भित्रने गरेको पाइएपछि नियमित यातायातका साधन जाँच गर्न थालिएको प्रनाउ श्रेष्ठले जानकारी दिए।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले पशुपंक्षी सम्बन्धी मुद्धामा फरार रहेका प्रतिवादीलाई प्रकाउ गरेको छ । जिल्ला अदालत कास्कीले २०८०/०२/०२ गते पशुपंक्षी सम्बन्धी मुद्धामा १० महिना १७ दिन कैद र ४ हजार रुपैयाँ जरिवाना फैसला भई हालसम्म फरार रहेका कास्कीको रुपा गाउँपालिका–१ गरगाउँटार बस्ने २६वर्षीय दीपक विकलाई प्रकाउ गरेको हो । ईलाका प्रहरी कार्यालय शिुसुवा डाँडाकोनाकबाट खटिएको प्रहरीको टोलीले विकलाई प्रकाउ गरी जिल्ला अदालत कास्कीमा कारवाहीका लागि बुझाएको कास्की प्रहरीले जनाएको छ ।
रुकुम पश्चिम: रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा २०७७ जेठ १० गते जाजरकोटका नवराज बिकसहित छजनाको ज्यान जाने गरी भएको हत्याकाण्डको फैसला भएको छ । उक्त घटनामा संलग्न भएको भन्दै मङ्गलबार रुकुम जिल्ला अदालतले २४ जनालाई जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले उक्त घटनामा मुद्दा दर्ता भएका ३४ मध्ये २४ जनालाई जन्मकैदको फैसला गरेको हो । अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार पूर्पक्षका लागि थुनामा रहेका २३ जना र तारेकमा रिहा भएका एक जनासमेत गरेर २४ जनालाई जन्मकैदको फैसला भएको हो । सूचना अधिकारी कोइरालाका अनुसार तत्कालीन वडा अध्यक्षसमेत रहेका डम्बर बहादुर मल्ल, डिल्लीबहादुर ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सर्वजित भनिने सविन पुन, तिलक चन्द, ईन्द्रबहादुर भनिने इर्दबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, बिनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज राना, नबिन कुमार घर्तीमगर, बिराज पुन मगर, भिमबहादुर पुन, रमित पुन मगर, बिष्णु मल्ल र तीनजना नाम परिवर्तित छन् । नाम परिवर्तित तीनजना घटनामा मृतक नवराजकी प्रेमिका भनिएकी किशोरीका बुवा, दाइ र भाइ छन् । जन्मकैद फैसला भएका २४ जना मध्ये मल्ल ठकुरी थरका सबैजनालाई जातीय छुवाछुततर्फ दुई वर्ष कैद र ५० हजार जरिवाना समेत भएको छ । त्यसैगरी, नवराजकी प्रेमिका भनिएकी किशोरी र निजको आमालाई जातीय छुवाछुततर्फ दुई वर्ष कैद र ५० हजार जरिवाना भएको छ । आठजनालाई सफाइ तारेकमा रहेका अन्य आठजनालाई उक्त मुद्दामा सफाइ दिइएको छ । सफाइ पाउनेहरुमा तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन, भिमबहादुर बुढा, ईन्द्र बहादुर मल्ल, तुलबहादुर मल्ल र दिपेन्द्र चन्द छन् । यसैगरी, पीडितका परिवारहरुलाई प्रतिवादीका तर्फबाट जनही ४० हजार जरिवाना दामासाहि तरिकाले उपलब्ध गराउने फैसला भएको छ । आइतबार सुरु भएको पेशी सुनुवाई पछि तीन दिन लगाएर भएको बहस सकिएसँगै फैसला भएको हो । जाहेरीवालाको तर्फबाट सरकारी वकिलसहित १५ जना र प्रतिवादीको तर्फबाट ६ जना कानून व्यवसायीले बहस गर्नुभएको थियो । रुकुम र जाजरकोटको सीमा भएर बग्ने भेरी नदी किनारमा तीन वर्षअघि छ जना युवाले ज्यान गुमाएका थिए । जाजरकोटका नवराज र रुकुम पश्चिमको सोतीगाउँकी मल्ल परिवारकी किशोरीबीचको प्रेम सम्बन्धका कारण उक्त घटना भएको थियो । प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए । त्यही क्रममा जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक र सञ्जु बिक, भेरी नगरपालिका-११ लोकेन्द्र सुनार, गोविन्द शाही, कुशे गाउँपालिका गणेश बुढा मगर र रुकुमपश्चिमको चौरजहारी नगरपालिका –१ का टीकाराम नेपालीको ज्यान गएको थियो । छ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विदेसिएका युवालाई स्वदेश फर्कन आग्रह गर्नुभएको छ । विदेशमा आर्जन गरेको ज्ञानलाई मुलुक समृद्ध बनाउनका लागि स्वदेश फर्कन उहाँले आग्रह गर्नुभएको हो । राष्ट्रिय बाल अधिकार परिषद्ले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले देशमा केही छैन भन्नुभन्दा देशमा फर्केर केही गर्छु भन्ने सोच्न बनाउन आवश्यक रहेको बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले देश बिग्रनुको दोष सबै नेतालाई दिन नहुने धारणा राख्नुभयो । “राजनीतिज्ञले देशमा बस्ने वातावरण नै बनाइ दिएनन् भनेर झोला बेरेर हिँड्नुभन्दा अब युवाले मिलेर देश बनाउनमा लाग्नुपर्छ । युवा अवस्थामै देशको नेतृत्व गर्ने प्रधानमन्त्री भएर निस्किनुपर्छ । त्यसका लागि म सहयोग गर्न तयार छु ।” उहाँले आफ्नो खेत बाँझो राखेर विदेशमा मजदुरी गर्न जान नहुने बताउनुभयो । अब आउने चुनावमार्फत विकास गर्ने नेतालाई निर्वाचित गरी युवाले आफ्नो दायित्व निभाउनुपर्ने उहाँको भनाइ थियो । राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले बालबालिका पनि राजनीतिबारे सचेत हुन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बालबालिका राजनीतिक प्रचार प्रसारमा लाग्न पाइँदैन तर राजनीतिक ज्ञान हासिल गर्न अहिलेको आवश्यकता रहेको छ ।” सम्मेलनका संयोजक तथा जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले सरकारले अब युवालाई देशमै बस्ने वातावरणको सिर्जना गर्न सहयोग गर्नुपर्ने बताउनुभयो ।
पोखरा: विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा आज पोखरामा मसाल जुलुसको तयारी गरेको छ । काठमाडौं जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर मंसिर १८ गते महासचिव विप्लवसहितका नेताहरुलाई प्रकाउ पुर्जी जारी गरेको विरोधमा केन्द्रको सर्कुलर अनुसार आज पोखराको लखनचोकमा मसाल जुलुस निकाल्ने कार्यक्रम तय भएको कास्कीका एक नेताले सुनगाभा न्यूजसँग बताए । ‘जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर मंसिर १८ गते महासचिव विप्लवसहित नेताहरु खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ माइला लामा लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको छ’, ती नेताले भने, ‘पक्राउ पुर्जी जारी गरिनु गैरकानूनी, अराजक र विध्वंसात्मक कार्य हो, त्यसको विरोध स्वरुप केन्द्रले संघर्षको कार्यक्रम घोषणा गरेको छ त्यसैअनुसार हामीले पनि पोखरामा मसाल जुलुस निकाल्न लागेको हो ।’ उनका अनुसार मंगलबार मसाल जुलुस प्रदर्शन गर्ने, २० गते न्यायाधीशको पुत्ला जलाउने र २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।
पोखरा: स्याङ्जाको विरुवा गाउँपालिका–४ ओरेस्टेकी घर भएकी कमला गुरुङको बेलायतमा मृत्यु भएको छ । विद्यार्थी भिसामा चार दिन अगाडिमात्र बेलायत पुगेकी गुरुङको मृत्यु भएको हो । गैरआवासीय नेपाली संघ, बेलायतका अध्यक्ष प्रेम गाहा मगरका अनुसार उनी नोभेम्बर ३० तारिकमा बेलायत पुगेकी थिइन् । उनको स्वास्थ्यमा समस्या देखिएपछि त्यहाँस्थित रोयक बर्कशायर अस्पतालमा भर्ना गरिएको थियो । भर्ना गरिएकै दिन उनको निधन भएको मगरले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् । उनको निधनबारे परिवारलाई खबर गरिसकेको पनि उनले उल्लेख गरेका छन् ।