काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई–छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित पोल्यान्डकी एक महिलालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा रिपब्लिक अफ पोल्यान्डकी नागरिक ३७ वर्षीया पाउलिना गाब्रेला माडेज रहेकी केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए। उनका अनुसार फ्लाई दुबईको उडानद्वारा दुबई हुँदै पोल्यान्ड जान लागेकी निज महिला विमानस्थलमा जाँच गर्ने क्रममा एक सय दरको एक सय १३ थान, ५० दरको ३८ थान र २० दरको १५ थान गरी जम्मा १३ हजार पाँच सय अमेरिकी डलरसहित फेला पारी आइतबार पक्राउ गरिएको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताए।
पोखरा: युनाइटेड क्लब पोखराले आफ्नो सामाजिक कार्यक्रम अन्तर्गत भूकम्प प्रभावित क्षेत्रमा पुगेर विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकलाई सिरक र विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । देउसीभैलो कार्यक्रम गरी बचत भएको रकमबाट स्थापित विपद ब्यवस्थापन कोष मार्फत युनाइटेड क्लबले कार्तिक १७ गते जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु बनाइ गएको भूकम्पबाट प्रभावित रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १० बिसौनीचौरका बासिन्दालाई मध्यनगर गरी सोही स्थानमा रहेको ऐश्वर्य आधारभुत आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र उनका अभिभावकहरुलाई सिरक वितरण गरिएको हो । सोे अवसरमा बिसौनीचौरका १ सय ५० जना बिद्यार्थीलाई न्यानो कपडा र विद्यार्थीका अभिभावक सहित असहय हरु गरी सय जनालाई सिरक वितरण गरिएको हो । कार्यक्रममा चौरजहारी नगरपालिका वडा नम्बर १० का अध्यक्ष विरेन्द्र रोकायाले सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाइटेड क्लबले आफ्नो वडामा रहेका भुकम्प प्रभावितलाइ लक्षित गरी जाडो याममा न्यानो कपडा बितरण गरेर आफ्नो वडाका जनतालाई राहत प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरे । त्यस्तै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गंगाराम रोकायाले गण्डकी प्रदेशबाट भुकम्प प्रभावित क्षेत्रमा खटिएका स्वयंसेवक मार्फत युनाइटेड क्लब संग सहकार्य गरी आफ्नो ठाउँमा सहयोग ल्याउन सफल भएको वताउदै युनाइटेड क्लबको सहयोगले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थी र उनीहरुको अभिभावकलाई ठूलो टेवा पुगेको बताए । युनाइटेड क्लबका निवर्तमान अध्यक्ष सुक बहादुर गुरुङले युनाइटेड क्लबले स्थापनाका कालदेखीनै सामाजिक काममा अगाडि बढिरहेको र अहिले आएर रुकुम पश्चिममा भुकम्प प्रभावितलाई सहयोग गर्न पाउदा खुसी लागेको बताए । त्यस्तै युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले सामाजिक काममा अगाडि बढिरहदा बिपद ब्यवस्थापन कोष मार्फत नेपाल भरि कुनैपनि ठांउमा विपदमा परेकाहरुलाई सहयोग गर्दै आइरहदा हालै कार्तिकको १७ गते भुकम्पले तहस नहस गरेको रुकुम पश्चिममा आएर विद्यार्थी संगै अभिभावकहरुलाई समेत सहयोग गर्न पाउदा खुसी लागेको बताउदै आगामी दिनमा समेत यस्ता सहयोगलाई निरन्तरता दिने बताए । युनाइटेड क्लबका सदस्य जयराम आचार्यले सञ्चालन गरेको कार्यक्रममा पूर्व विद्यालय निरीक्षक अतिराम वली, विद्यालयका प्रधानाध्यापक बलबहादुर केसी, गण्डकी प्रदेशका स्वयंसेवक पान बहादुर क्षेत्री लगायतले बोलेका थिए ।
हाल देशमा उत्तर प्रदेशको आसपासमा रहेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान बागमती, ,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर–पश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ। त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको भइरहेको पनि महाशाखाले बताएको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुट देखि हल्का हिमपात भइरहेको उसले बताएको छ। सोमबार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर–पश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ। लुम्बिनी प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ। सोमबार राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी लगायत कर्णाली प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बताइएको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।
काठमाडौं: संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार साँझ स्वदेश फर्किनु भएको छ। मङ्सिर १३ गते राति ९ बजे युएई जानुभएका प्रधानमन्त्री प्रचण्ड पाँच दिने भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किनु भएको हो। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्री, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीले स्वागत गर्नुभएको छ। शनिबार जलवायु सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनमा नेपालले अन्याय भोग्नुपरेको उल्लेख गर्दै सो अवस्थाका अन्त्य गर्नुपर्ने बताउनुभएको थियो। उहाँले हिमाल जोगाउन र विश्वका मानव जातिको रक्षाका लागि जलवायु परिवर्तनको असर न्युनिकरणका लागि सहयोग गर्न पनि अन्तराष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको थियो। सम्मेलनमा उहाँले विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता पनि गर्नुभएको थियो।
पोखरा: सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा सम्पन्न भएको छ । २०६३ मा स्थापना भएको सहकारी ऐन नियम अनुसार समुदाय विकास कार्यक्रमका लागिा रेडियो सराङ्गकोट, सङ्गै सदस्यको आर्थिक विकासको लागि बचत तथा ऋण कारोबार गर्दै आएको छ । साधारण सभाको शुभारम्भ गर्दै राष्ट्रिय सहकारी बैंकका क्षत्रीय प्रमुख नरेश पाण्डेले संस्थालाई स्ंस्थालाई दिर्घकालिन रुपमा अगाडी बढाउन , जगेडाकोष बृद्दि सङ्गै सदस्यहरुले मेरो सहकारी भन्ने भावनाको विकास गराउनुपर्ने बताए समाजको विकासमा सहकारीको भुमिका महत्वपूर्ण रहेकोले सबै सहकारी एउटै टोकरीमा राखेर नहेरी राम्रोलाई राम्रो हो भन्न सक्ने सहकारी बन्नुपर्ने बताए । वार्षिक साधारणले अध्यक्ष कृष्ण थापा, सचिव कुल प्रसाद सुवेदी, कोषध्क्ष राममणी पौडेल, कर्जा संयोजक रमेश कुमार थापा, लेखा संयोजक शिव बहादुर बानियाँ, असुली संयोजक माया कुमारी शर्मा व्यवस्थापक सुरेन्द्र थापा द्घारा प्रस्तुत प्रतिवेदनहरुलाई पारित गरेको छ । संस्थाको हाल शेयर पुँजी ७ करोड पन्ध्र लाख बचत ४५ करोड, ७४ लाख , कर्जा लगानी ५३ करोड ६२ लाख रहेकोमा यस वर्ष सम्पूर्ण तर्फ १० कारोड बृद्दि गर्ने योजना रहेको अध्यक्ष कृष्ण थापाले बताए । कार्यक्रममा जेष्ट सदस्य पूर्ण बहादुर ढकाल क्षेत्री लगाएत उत्कृष्ट कारोबार बचत गर्ने , सदस्य हरुको विविध क्षेत्रका उत्कृष्ट सहयोगीहरुलाई सम्मान गरीएको थियो । कर्यक्रममा संस्थाका पूर्व अध्यक्ष प्रेम बहादुर जि।सी , सल्लाहकार सोभियत बहादुर अधिकारी , रोहित राज बासतोला, दुर्गा बहादुर सुनार, इन्द्रकमल मानन्धर, कमलनयन गौतम सञ्चालक विकल पौडेल, तारा थापा पुर्व सञ्चालक रामचन्द्र थापा ,बहुउद्देश्यीय समितीका सदस्य गणेश बहादुर अधिकारी , रेडियो सराङ्गकोटका निर्देशक चिन्तामणी बास्तोला सदस्य दामोदर शर्मा सदस्यको तर्फबाट अमृतसोभा खत्री लगायतले आ–आफ्नो भनाई राखेका थिए सहकारी गएको वर्ष प्रदेशकै उत्कृष्ट सहकारी सम्मान सङ्गै समाजिक स्वास्थ्य क्षेत्रका कार्यक्रमहरुमा सकृय रहदै आएको छ
चितवन: गतमंसिर ६ गते चितवनमा बोराभित्र शव फेला परेका पुरूष र महिलाको अझै पहिचान हुन सकेको छैन। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १२ मिलनचोकस्थित पूर्वपश्चिम लोकमार्गको गोन्द्राण केन्द्रीय बस टर्मिनल सडक खण्डको कल्भर्टमुनि पुरूष र महिलाको शव फेला परेको थियो। दुइटा बोराभित्र हातखुट्टा बाँधिएको अवस्थामा शव फेला परेको थियो। तर शवको पहिचान हुन नसक्दा प्रहरीलाई अनुसन्धान गर्न गाह्रो भइरहेको छ। प्रहरीले केही दिन अगाडि मृतकको कपडा सार्वजनिक गरेपछि आज (आइतबार) पुरूष र महिलाको पहिचानका लागि स्केच बनाएर सार्वजनिक पनि गरेको छ। शवको सनाखत हुन नसकेपछि स्केच सार्वजनिक गरिएको प्रहरीले जनाएको छ। स्केच हेरेर उनीहरूको पहिचान हुन सकेमा सम्पर्कमा आउन परिवार तथा आफन्तलाई प्रहरीले आग्रह गरेको छ। प्रहरीले परिवारका कोही सदस्य, आफन्त तथा साथीहरू हराइरहेको भए, घर कोठामा डेरा गरी बस्ने मानिस सम्पर्कमा नआए, उद्योग कलकारखाना, पसल लगायतमा काम गर्ने सम्पर्कबिहीन भए वा यससँग सम्बन्धित सूचना भए खबर गर्न पनि आग्रह गरेको छ।
दोलखा: दोलखामा भरुवा बन्दुकको छर्रा लागेर एक युवकको मृत्यु भएको छ । तामाकोशी गाउँपालिका–२ झुलेस्थित डाँडावारी जम्बोटे जङ्गलमा सिकार खेल्न गएका सोही ठाउँ बस्ने २० वर्षीय सन्जीव सार्कीको भरूवा बन्दुकको छर्रा लागेर मृत्यु भएको हो । सन्जीव समेतका सात जना शनिबार राति उक्त जङ्गल गएको, सन्जिबले बोकेको भरुवा बन्दुकको काठको बट भाँचिई फायर हुँदा छर्राले लागेर सन्जीव घाइते भएका थिए । तामाकोशी अस्पताल दोलखामा सामान्य उपचार पश्चात थप उपचारका लागि पशुपति चौलागाँई स्मृति अस्पताल चरिकोटमा आइतबार बिहान सन्जीवको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले सिकार खेल्न गएका अन्य ६ जनालाई नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं: युद्धविरामपछिको इजरायली आक्रमणमा गाजामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । गाजाको सरकारी मिडिया कार्यालयले इजरायली विमानले गाजा पट्टीका धेरै सहरहरूमा र धेरै बसोबास क्षेत्र तथा भिडभाड भएको ठाउँमा आक्रमण गरेको थियो । इजरायली मिडियाकाअनुसार नोभेम्बर २४ मा इजरायल र हमासले मानवीय युद्धविराम गरेपछि पहिलो पटक शुक्रबार बिहान गाजामा आक्रमण गरेको थियो ।
पोखरा: पोखराको पर्यटकीय स्थल बेगनासतालमा केही महिना अगाडि सञ्चालनमा आएको मोटरबोट पोखरा महानगरपालिकाले बन्द गर्ने निर्देशन दिएको छ । पोखरा महानगरपालिकाको प्रशासन महाशाखा प्रमुख कृष्ण प्रसाद तिवारीले शुक्रबार पत्र लेख्दै बेगनासतालमा सञ्चालनमा आएको मोटरबोट बन्द गर्न निर्देशन दिएका हुन् । पत्रमा भनिएको छ, ‘पोखरा महानगरपालिका–३१ स्थित बेगानातालमा समितिबाट मोटरबोट सञ्चालन गर्दा अन्य ढुङ्गा व्यवसायमा असर पु¥याएको, माछा लगायतका चलचरको प्रजनन तथा विकासमा प्रत्यक्ष असर गरेको, ढुङ्गा व्यवसाय गरी जीविकोपार्जन गरिरहेका जलारी जातिको पेशामा प्रभाव पारेको, ध्वनी प्रदुषण भएको तथा विना अनुमति मोटरवोट सञ्चालन गरेको भनी वेगनासताल मत्स्य व्यवसायी समिति र अन्य सरोकारवाल वासिन्दाहरुबाट पटकपटक गुनासो आएकोले वेगनासतालमा मोटरवोट सञ्चालनमा कार्य शिघ्र बन्द गर्नु गराउनुहुन जानकारी गराइन्छ । अन्यथा प्रचलित कानुन बमोजिम हुने व्यहोरा यसै पत्रबाट जानकारी गराइन्छ ।’ बेगनासतालमा मोटरबोट बन्द भएको÷नभएको अनुगमन गरी जानकारी दिन पोखरा महानगरपालिका–३१ वडा कार्यालयलाई समेत निर्देशन दिएको छ । बेगनासतालमा करिव ६ महिना अगाडि बेगनासताल डुंगा व्यवसायी समितिले ५० लाखमा मोटरवोट खरीद गरेर सञ्चालनमा ल्याएका थिए ।