तनहुँ: जिल्ला कारागार तनहुँमा पानीको अभाव भएको छ । कारागारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटरमात्रै आपूर्ति भइरहेको छ । पानी अभावमा कैदीबन्दीलाई समस्या भएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दैनिक आवश्यकताभन्दा १५ हजार लिटर कम पानी आपूर्ति हुँदा कैदीबन्दीलाई समस्या परिरहेको छ ।” मादी नदीको किनारमा इनार खनेर पानीको व्यवस्थापन गरिँदै आएकामा केही महिनायता नदीको गहिराइ बढेर इनारमा पानी कम भएपछि पानीको आपूर्तिमा कमी आएको उहाँ भनाइ छ । उहाँले भन्नुभयो, “अब पानीको आपूर्ति बढाउन नयाँ इनार खन्नुपर्ने मात्र विकल्प छ । अहिले जाडोको समयमा पानी अभावले धेरै असर नगरे पनि गर्मीयाम सुरु भएपछि समस्या हुन्छ ।” जाडोयाममै पानीको आपूर्ति बढाउने विकल्प तयार गर्नुपर्ने अवस्था रहेको उहाँ बताउनुभयो । कारागार निरीक्षणका लागि सोमबार पुग्नुभएका तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीसमक्ष कारागार प्रमुख अधिकारीले पानीको व्यवस्थाका लागि अहिलेबाटै काम गर्नुपर्ने विषय अवगत गराउनुभएको छ । निमित्त प्रजिअ भण्डारीले पानीको समस्याका बारेमा कारागार व्यवस्थापन विभाग र गृह मन्त्रालयमा लेखी पठाउने जानकारी दिनुभयो । मादी नदीबाट ल्याइएको पानी नुहाउन, लुगा धुन, सरसफाइ तथा शौचालयका लागि उपयोग गरिन्छ । पिउनका लागि भने कारागारभित्र दमौली खानेपानी तथा उपभोक्ता संस्थामार्फत चारवटा धारा जडान गरिएको छ । कारागारमा महिला र पुरुष गरी तीन सय दुई कैदीबन्दी छन् । महिलातर्फ २० र पुरुषतर्फ एक सय १४ जनाको क्षमता रहेकामा महिलातर्फ २२ र पुरुषतर्फ दुई सय ८० कैदीबन्दी छन् । करागारका निमित्त प्रमुख अधिकारीका अनुसार महिला कारागारमा आमासँग तीन बालिका पनि छन् । कारागारमा जबर्जस्ती करणी मुद्दाका ८६, लागुऔषध मुद्दाका ५६, कर्तव्य ज्यान मुद्दाका ५३, चोरीका २७, सवारी ज्यानका १९ जना कैदीबन्दी छन् ।
पोखरा: पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमालमा परिरहेको असरबारे पोखरामा बहस भएको छ । पोखरामा जारी आठौं पर्वतीय महोत्सवका अवसरमा सोमबार ‘हिमाल किन कालो हुँदैछ ? के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्धित छ ?’ विषयमा बहस भएको थियो । बहसमा डब्लुडब्लुएफका नेपाल प्रतिनिधि डा घनश्याम गुरुङ, इसिमोडकी डा अमिना महर्जन र पत्रकार कुन्द दिक्षितसँगै जलवायुसम्बन्धी अध्येता जगन्नाथ अधिकारी वक्ता थिए । बहसमा सहभागी वक्ताहरुले पछिल्लो समय तीव्र रुपमा भइरहेको जलवायु परिवर्तनले तापक्रम उच्च हुँदा हिमालमा हिउँ कम पर्ने र छिटो पग्लिने समस्या देखिन थालेको सुनाए । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)का नेपाल प्रतिनिधि डा घनश्याम गुरुङले पछिल्लो समय जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जाँदा हिमाल कालो हुँदै गएको बताए । ‘अहिले हामीले तलबाट माथि धुवाधुलो पठाउँदैछौं । यसले पनि हिउँ पग्लिने क्रम एकदमै बढेको देखिन्छ,’ उनले भने, ‘त्यसमाथि माथिल्लो भेगसम्म पानी पर्न थालेको छ । पानी परेपछि हिउँ झनै छिटो पग्लिन्छ ।’ पत्रकार कुन्द दिक्षितले पछिल्लो समय जलवायु परिवर्तनका नाममा हिउँँ र बरफमा मात्रै विषय केन्द्रित भएको बताए । उनले हिउँ र बरफ पग्लिँदै जाँदा निकट भविष्यमै पानीको ठूलो संकट देखिन सक्ने सुनाए । ‘यसलाई जलवायु परिवर्तन नभनौं, संकट भनौं । यो संकट पानीको हो,’ दिक्षितले भने, ‘पानीमै हाम्रो मानव जीवन र सभ्यता आश्रित छ । हिमालमा हिउँ पग्लिनेबित्तिकै तल्तिरका भेगमा ठूलो असर पार्छ ।’ उनले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न नवीकरणीय ऊर्जाको प्रयोग बढाउँदै लैजानुपर्ने सुनाए । डा जगन्नाथ अधिकारीले जलवायु परिवर्तनका कारण पछिल्लो समय मौसम पूर्वानुमान गर्नै मुस्किल रहेको सुनाए । उनले जलवायु परिवर्तनले गर्दा जनजीवन नै असर गरिरहेको बताए । अर्की वक्ता डा अमिना महर्जनले जलवायु परिवर्तनले गर्दा हिमाली जनजीवनमात्रै नभएर कृषि उत्पादनै समस्या पार्न थालेको बताइन् । पछिल्लो समय बाली भित्राउनेबेला पर्ने बेमौसमी पानीले किसानलाई ठूलो मर्कामा पारिरहेको सुनाइन् । ‘जलवायु परिवर्तनले कृषि, पर्यटन र स्वास्थ्यमा ठूलो च्यालेन्ज छ । नेपालका हिमाल हेर्न आएका विदेशी पर्यटकहरु मौसममा पनि हिमाल देख्न पाउँदैनन्,’ डा महर्जनले भनिन्, ‘यो प्रभाव बढ्नेबाहेक घट्नेवाला छैन । सरकारले यो विषयमा आवाज उठाएकै छैन ।’ वक्ता डा घनश्याम गुरुङले भने पानीका स्रोत नबचाई हाइड्रो ऊर्जालाई मात्रै महत्व दिन नसकिने बताए । पानीको अत्याधिक प्रयोग गर्ने तर, पुनःसिञ्चित नगर्दा केही दशकपछि नै पानीको हाहाकार हुन सक्ने दाबी गरे । कार्यक्रममा सहभागी वक्ताहरुले पछिल्लो समय घटिरहेका घटनालाई जलवायु परिवर्तनलाई देखाएर राज्य उम्किन नमिल्ने भनाइ राखे । जलवायु परिवर्तन अहिले विश्वभरकै प्रमुख समस्या भएकाले अब जलवायुअनुकूल जीवनशैलीबारे बहस हुनुपर्ने सुझाव राखे । आयोजक नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पाले हिमाली भेगसँग पर्वतीय पर्यटनको जीवन पनि जोडिएकाले वातावरण संरक्षणमा अब अरुको मुख ताकेर बस्ने अवस्था नरहेको बताए । उनले पर्वतीय क्षेत्रमा फोहोर हुन नदिन संस्थाका तर्फबाट अभियान र तालिमहरु सञ्चालन गरिरहेको जानकारी दिए । शुक्रबारबाट सुरु भएको महोत्सव मंगलबार सकिँदैछ । महोत्सवमा पर्वतीय जनजीवन र कीर्तिमानी आरोहीबारे डकुमेन्ट्री देखाइएको महोत्सवकी सदस्य सचिव निर्मला न्यौपानेले जानकारी दिइन् । महोत्सवका अवसरमा ३ दिनसम्म आर्चरी, जिपलाइन खेलसमेत समावेश गरिएको थियो । महोत्सवमै नेपाल पंक्षी संरक्षण संघसँगको सहकार्यमा ‘साइलेन्ट बर्डस’ नामक गिद्ध संरक्षणबारे जनचेतनामूलक नाटक पनि देखाएको छ ।
पोखरा: नेपाल–जापान मैत्री संघले पोखरामा पुषको पहिलो साताबाट निशुल्क जापनिज भाषा कक्षा सञ्चालन गर्ने भएको छ । पोखरामा नेपाल–जापान मैत्री संघले जापनिज भाषा तथा संस्कृति सिक्ने इच्छुक विद्यार्थी तथा व्यवसायीहरुलाई मध्यनजर गर्दै निशुल्क जापनिज भाषा कक्षा सञ्चालन गर्न लागेको हो । पोखरा महानगरपालिका–९ पृथ्वीचोक (पोखरा मल)मा कार्यालय रहेको नेपाल–जापान मैत्री संघले (एन फाइभ) निशुल्क जापनिज भाषा कक्षा सञ्चालन गर्न लागेको संघले जनाएको छ । नेपाल–जापान मैत्री संघले विशेष गरी विद्यार्थी भिषा तथा रोजगारीमा जापान जाने र नेपालमा व्यवसाय गर्नेहरुको लागि जापनिज भाषा कक्षा सम्बन्धी छात्रवृत्ति प्रदान गर्न लागेको हो । जापनिज भाषा अध्ययन गर्न इच्छुक विद्यार्थी तथा व्यक्तिले संघको कार्यालयमा गएर आवेदन दिन सक्नेछन् । नेपाल र जापानको भाषा, कलासंस्कृति आदानप्रदानसँगै सामाजिक क्षेत्रमा क्रियाशिल रहेको संघले पोखरामा पहिलो पटक निशुल्क जापनिज भाषा कक्षा सञ्चालन गर्न लागेको बताइएको छ । संघले थप जानकारीका लागि ०६१५८८८६० मा सम्पर्क गर्न सकिने जनाएको छ ।
काठमाडौं: उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य नहुने बताएकी छन् । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ नाराका साथ ‘नीति तथा संस्थागत संरचनाको विश्लेषण’ विषयमा आधारित लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनमा उपसभामुख रानामगरले महिला हिंसासम्बन्धी कानुन बनेका भए पनि प्रभावकारीरुपमा कार्यान्वयनमा आउन नसकेका बताइन्। हिंसा अन्त्यका लागि सोच,व्यवहार र मानसिकतामा परिवर्तन आउनुपर्ने उनको भनाइ छ। “सोच, व्यवहार र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन । बनेका र भएका महिला हिंसासम्बन्धी कानुन पनि प्रभावकारीरुपमा कार्यान्वयनमा आउन सकेका छैनन् । समाज हिंसामुक्त हुन सकेको छैन । बालबालिकासम्बन्धी पनि पर्याप्त कानुन बनेका छैनन् । हरेक समस्यामा महिलाले लड्नु भिड्नुपर्ने अवस्था छ । हरेक पल काम गरेर प्रमाणित गर्नुपर्छ”, उपसभामुख रानामगरले भनिन् । महिला नेतृत्वमा नपुगेसम्म हिंसा अन्त्य हुँदैन भन्दै घरबाट नै महिला हिंसा अन्त्य हुनुपर्नेमा उनले जोड दिइन्। उपसभामुख रानामगरले भवन र टावर बन्दैमा विकास भयो भन्न नमिल्ने उल्लेख गर्दै महिलाको डिजिटल प्रविधिमा पहुँच पुर्याउन सबैको साथ चाहिने बताइन्। महिलाले उत्पादन गरेका सामग्रीको उचित मूल्य पाउने व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उनले महिलाको क्षमता अभिवृद्धिका लागि सरकारले लगानी गर्नुपर्नेमा जोड दिइन्।
काठमाडौं: सरकारले विभिन्न १२ वटा निर्माण तथा आपूर्ति कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीहरुलाई कालोसूचीमा राखेको हो । एउटा कम्पनी तीन वर्षसम्मका लागि, दुई कम्पनी दुई वर्षसम्मका लागि तीन, पाँच कम्पनी साढे १ वर्षसम्मका लागि र तीन कम्पनी एक वर्षसम्मका लागि कालोसूचीमा परेका छन् । यी कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
पोखरा: पोखरा सेती नदीमा सडेको अवस्थामा एक शव फेला परेको छ । पोखरा महानगरपालिका–७ घारीपाटन स्थित सेतीनदीको खोँचमा शनिबार सडेको अवस्थामा शव फेला परेकोे वडा प्रहरी कार्यालय बैदामका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए । ‘पोखरा महानगर–७ घारीपाटनस्थित सेती खोँचमा शनिबार शव फेला परेको खवर आएको थियो’, डिएसपी श्रेष्ठले भने, ‘सेती खोँचमा महिला÷पुरुष छुट्याउन नसकिने अवस्थामा सडेको अवस्थामा शव फेला परेको हो ।’ उनका अनुसार सेती खोँचमा भेटिएको शवलाई पोष्तमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
चितवन: चितवनको माडीमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । शनिबार साँझ माडी नगरपालिका–१ बरुवास्थित चिताई खोलाको पुलमा लु २ च २५०८ नम्बरको बालेरो गाडीले बागमती प्रदेश ०६ ००१ प ४०९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोमेश्वर माविका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो । सोही विद्यालयका अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते भएका छन् । मृतक लेखापाल अधिकारी चितवनको माडी नगरपालिका–१ निवासी र शिक्षक खत्री सुर्खेतको सिन्ता गाउँपालिका–३ आग्रीगाउँ निवासी हुन् । दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको भरतपुरमा उपचारको क्रममा शनिबार बिहान र खत्रीको बगौडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते स्याङ्जा घर भएका पौडेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दीपक रिजालले जानकारी दिए । ठक्कर दिने बोलेरो गाडी र चालकलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको छ ।
पोखरा: ड्राइभिङ्ग स्कुल संघ नेपाल गण्डकी प्रदेश समितिको शनिबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले तुलबहादुर ठकुरी (कास्की) को अध्यक्षतामा नयाँकार्य समिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा प्रविण सापकोटा (नवलपुर), उपाध्यक्षमा नवराज तिवारी (तनहुँ), सचिवमा रामचन्द्र पौडेल (कास्की), सहसचिवमा भिमलाल खनाल (स्याङजा), सदस्यमा नवराज दवाडी (कास्की), गोपाल अधिकारी (स्याङजा), हेमराज महतो (नवलपुर), मेघनाथ देवकोटा (कास्की), मनध्वज राना (तनहुँ), कमलादेवि गुरुङ (कास्की), शुस्मिता थापा (नवलपुर) र गंगाराम शर्मा चापाँगाई (कास्की) निर्विरोध निर्वाचित भएका छन् । कार्यक्रमको उद्घाटन केन्द्रिय संस्थापक अध्यक्ष पुरुषोत्तम रेग्मीले उद्घाटन गर्दै संघले व्यवसायीको हकहितमा काम गर्दै आएको र सदस्यहरुले पनि संघको नितिनियममा रहेर व्यवसाय संचालन गर्नुपर्ने बताए कार्यक्रममा निर्वतमान केन्द्रिय अध्यक्ष मोहनबहादुर गुरुङ, वर्तमान महासचिव उमेश सिके, केन्द्रिय सदस्य विश्वकुमार माकाजु लगाएतले शुभकामना मन्तव्य दिएका थिए । सभाले कोषाध्यक्ष नवराज तिवारीको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो । ड्राइभिङ्ग स्कुल संघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष वसन्त भट्टचनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष तुलबहादुर ठकुरीले र संचालन सचिव वासु कोइरालाले गरेका थिए ।
पोखरा: स्थानीय उपभोक्ता र वडाको सहकार्यमा पोखरा महानगरपालिका वडा नं. २६ को स्वर्णिम लाहुरे टोलमा बाटो ढलानको कार्य सम्पन्न भएको छ । ढलान सडकको शनिवार पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले उद्घाटन गरेका छन् । सडकको उद्घाटन् गर्दै, अध्यक्ष थापाले टोलमा पहिलो प्राथमिकताको रुपमा रहेको सडक पूर्वाधारमा स्थानीय जनसहभागिता सहित निर्माण सम्पन्न भएको बताए । अध्यक्ष थापाले वडामा गत र यस आर्थिक बर्षमा सडकलाई प्राथमिकता दिईएको उल्लेख गर्दै, आगामी आर्थिक बर्षहरुमा शिक्षा र स्वस्थ्यमा बजेट विनियोजन गरिने स्पष्ट पारे । बिगतको समयमा सडक पूर्वाधार अधुरा रहेकाले दुई बर्षको धेरैजसो बजेट यो क्षेत्रमा खर्चनु परेको उल्लेख गर्दै, अध्यक्ष थापाले अव गुणस्तरीय शिक्षा र स्वास्थ्यमा जोड दिईने बताएका हुनु । बाटो निर्माण समितिका अध्यक्ष भिम बहादुर सुनारी मगरको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य तिर्थ बहादुर राजभाट, जमुना गुरुङ लगायतले बोलको थिए । वडाको एक लाख ५० हजार र स्थानीयको दुई लाख ३० हजार रुपैयाबाट ६५ मिटर सडक ढलान भएको हो ।