काठमाडौं: नेपाल प्रहरीको साइबर ब्युरोले भिपिएन र डिएनएस प्रयोगले आर्थिक दुरूपयोगका घटना बढिरहेको बताएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै उपनिर्देशक एवं प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले भिपिएन र डिएनएस असुरक्षित र अवैध भएको जनाएको हो। ‘पूर्ण रूपमा प्रसारणमा बन्देज लगाएको सामाजिक सञ्जाल टिकटक, भिपिएन र डिएनएसजस्ता असुरक्षित अवैध माध्यमबाट सञ्चालनमा छ भन्ने सूचना प्राप्त हुन आएको छ,’ विज्ञप्तिमा भनिएको छ। यसको प्रयोगले प्रयोगकर्ताको डिभाइसमा पहुँच पुर्याएर आर्थिक दुरूपयोग समेत हुनसक्ने ब्युरोले जनाएको छ। ‘महत्वपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणहरूको पहुँच पुर्याएर चोरी भई आर्थिक दुरूपयोगका घटना साइबर सुरक्षाको दृष्टिकोणले बढिरहेको पाइएको छ,’ ब्युरोले भनेको छ। यसको प्रयोगले कति जनाको आर्थिक दुरूपयोग वा डाटा चोरी भएको भन्नेबारे ब्युरोले विज्ञप्तिमा खुलाएको छैन। गैरकानुनी कुरा संप्रेषण गर्ने, चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खलबल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायत दुष्प्रभाव सिर्जना गर्ने गतिविधि समेत टिकटकको माध्यमबाट हुने ब्युरोले बताएको छ।
काठमाडौं: हिमालय रोडिज सिजन–५ को उपाधिका लागि सन्जिप राई र विश्व मगर भिड्ने भएका छन् । सोमबार प्रसारण भएको सेमिफाइनल प्रतिस्पर्धाबाट सन्देश राई र एसु खड्का बाहिरिए । रोचक कुरा के छ भने, दुबै फाइनलिस्टले टीम ग्रीन अर्थात आशिष राना ‘लाउरे’को ग्याङको प्रतिनिधित्व गर्छन् । एउटै ग्याङका दुई सदस्य फाइनलमा भिड्न लागेको यो हिमालय रोडिजमा पहिलोपटक हो । अनुपविक्रम शाही र दीया मास्केको ग्याङबाट एक÷एकजना सदस्य सेमिफाइनलमा भिडेका थिए । तर, प्रियंका कार्कीको ग्याङबाट कुनै एक पनि सेमिफाइनलमा पुग्न सकेनन् । सेमिफाइनल प्रतिस्पर्धामा चारै प्रतिस्पर्धीले कठिन टास्क पुरा गरेका थिए । होस्ट सुरजसिंह ठकुरीले फाइनलिस्टको नाम घोषणा गर्दा टीम ग्रीनको उत्साह थामिएन । अब सन्जिप र विश्वले आउने सोमबार बेलुका ८ बजे प्रसारण हुने सिजन पाँचको फिनालेमा प्रतिस्पर्धा गर्नेछन् । साउन १५ गतेदेखि सुरु भएको पाँचौ सिजनमा २० प्रतिस्पर्धी सहभागि थिए ।
चितवन: चितवनमा पाटेबाघ मृत फेला परेको छ । भरतपुर महानगरपालिका-२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा सोमबार बाघ मृत फेलापरेको हो । अन्दाजी छ/सात वर्षको पोथी बाघ मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । बाघ एक आपसमा जुधेर मृत्यु भएको अनुमान गरिएको उहाँले बताउनुभयो । निकुञ्जको प्राविधिक टोलीले बाघ कसरा ल्याएर पोष्टमाटमको तयारी गरेको छ । सन् २०२२ मा भएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा बाघ छन् ।
काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एकअर्काको अस्तित्व स्वीकार र सम्मानका आधारमा नेपाली समाज चलेको धारणा व्यक्त गर्नुभएको छ । नेपाल संवाद पहल र युनेस्कोसमेत ३४ वटा सङ्घसंस्थाद्वारा आज ललितपुरमा आयोजित ‘नेपाल संवाद महासम्मेल २०२३’ शुभारम्भ गर्दै उहाँले एकले अर्काको अस्तित्व स्वीकार नगर्दा, अरुमाथि प्रभुत्व कायम गर्न खोज्दा, स्रोत कब्जा गरेर न्यायोचित वितरण नगर्दा र पर्यावरणको विनाशबाट द्वन्द्व सिर्जना हुने उल्लेख गर्नुभयो । “आजको विकास प्रकृति र संस्कृतिमैत्री हुनुपर्छ, प्रकृति र संस्कृतिको विनाश गरेर विकास हुन सक्दैन । विनाश र विकृतिले द्वन्द्व सिर्जना गर्छ, प्रकृतिमाथिको दोहन र चरम लापरबाहीले पनि द्वन्द्व सिर्जना गर्छ, तसर्थ द्वन्द्वको अवस्था आउन नदिन संवादद्वारा शान्ति निर्माण गर्ने अभियानमा हामी अगाडि जान सक्छौँ”, मन्त्री किरातीले भन्नुभयो । पूर्वदेखि पश्चिमसम्म हाम्रा बहुधार्मिक तिर्थस्थल छन् भन्दै उहाँले हाम्रो वैद्धिक परम्परा र भौगोलिक बनावट पनि द्वन्द्व सिर्जना गर्ने खालको नभएको उहाँले बताउनुभयो । समाजलाई विज्ञानको सापेक्षताअनुसार विकास गर्न नसक्नु नै हामीले दुःख पाउनु हो भन्ने धारणा व्यक्त गर्दै मन्त्री किरातीले संवादका माध्यमबाट शान्ति कायम गर्न अन्तर्राष्ट्रिय समुदायको सहयोग, समन्वय तथा सहकार्य आवश्यक भएको उल्लेख गर्नुभयो । विसं २०६२/२०६३ मा भएको एतिहासिक परिवर्तनको प्रसङ्ग निकाल्दै मन्त्री किरातीले संवादका माध्यमबाट १२ बुँदे सहमति हुँदै शान्ति प्रक्रियामा पुगिएको र जनतासँग संवाद गर्दै संविधानसभाका माध्यमबाट संविधान निर्माण गरिएको चर्चा गर्नुभयो । उहाँले अहिले नेपालमा सामाजिक सञ्जालबाट हिंसा भड्काउने माध्यम बन्न थालेको छ भन्दै सामाजिक सद्भाव बिग्रिन लागेकाले केही समयका लागि टिकटक बन्द गरिएको बताउनुभयो । मन्त्री किरातीले भन्नुभयो, “टिकटक बन्द हुँदा केहीका सिर्जनात्मक कुरा म¥र्यो भन्ने कुरा छ, त्यो स्वीकार्छु, त्यसका लागि क्षमा चाहन्छु, तर त्योभन्दा एक हातमा माल र अर्को हातमा भाला लिएर सामाजिक सञ्जालमा अराजकता र गलत सन्देश फैलाउने काम भएको र यसबाट सामाजिक सद्भाव बिग्रिन लागेकाले टिकटक बन्द गरिएकोे हो ।” सो अवसरमा फिलिपिन्सकी प्राध्यापक मिरियम कोरोनेल फेररेर र युनेस्कोका देशीय प्रतिनिधि माइकल क्रोफ्टलगायतले आआफ्ना धारणा व्यक्त गर्नुभएको थियो । नेपाल संवाद पहलका संयोजक राम तिवारीले सन् २०१८ देखि क्रियाशील भई हरेक वर्ष हुँदै आएको नेपाल संवाद महासम्मेल असमझदारीलाई संवादका माध्यमबाट सहजीकरण गरेर दिगो शान्ति काम गर्नेतिर केन्द्रीय भएको बताउनुभयो । आजदेखि सुरु भएको महासम्मेलन तीन दिनसम्म चल्नेछ ।
रुकुम पश्चिम: रुकुम पश्चिममा जीप दुर्घनामा परी गम्भीर घाइते भएका २ जनाको मृत्यु भएको छ । मृत्युहुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय बालक प्रतिक बुढा छन् । बालक बुढाको उपचारका लागि एम्बुलेन्समार्फत सुर्खेत लैजाँदै गर्दा सल्यान जिल्लाको नेटा भन्ने ठाउँमा र ओलीको चौरजहरी अस्पतालमै मृत्यु भएको चौरजहारी नगरपालिकाका नगरप्रमुख पुष्प वादीले जानकारी दिए । उनका अनुसार अन्य पाँच जनाको पनि अवस्था गम्भीर रहेकाले गृहमन्त्रालयमा समन्वय गरेर काठमाडौँबाट हेलिकप्टर आउन लागेको र सोही हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको नगर प्रमुख वादीले जानकारी दिए । आज बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदुरमुकाम खलङ्गा आउने क्रममा चौरजहारी–८ गैरीजिउलामा लु १ ज २२९७ नम्बरको जीप दुर्घनामा परेको थियो । जीपमा सवार चालकसहित २२ जना घाइते भएका थिए । जीप मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने गैरीजिउला सडकखण्डबाट भेरी नदीमा खसेको थियो । घाइतेको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ । जीपमा क्षमताभन्दा बढी सवारी चढाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले आँकलन गरेको छ । यसबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।
बझाङ: बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। आज दिउँसो ११ बजेर ३७ मिनेटमा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। बझाङको धमेना आसपास केन्द्र बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।
काठमाडौं: चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना बितिसक्दा पनि २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेस गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार गाउँसभा तथा नगरसभामा पेस भएको बजेट असार मसान्तसभित्रमा पारित गरिसक्नुपर्ने हुन्छ । यसरी गाउँसभा तथा नगरसभामा पेस भएको तथा पारित भएको विवरण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा अद्यावधिक गराउनुपर्ने हुन्छ । तर हालसम्म मधेश प्रदेशका २१ सहित २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण मन्त्रालयलाई बुझाएका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको ‘स्थानीय तहको आर्थिक वर्ष २०८०/८१ को बजेट अपडेट’ विवरणअनुसार हालसम्म सात सय ३० पालिकाले मात्रै आफ्नो वार्षिक बजेट ल्याएको विवरण बुझाएका छन् । मन्त्रालयको विवरणअनुसार सबैभन्दा धेरै मधेश प्रदेशमा २१ पालिकाले बजेट ल्याएको विवरण बुझाएका छैनन् । त्यस्तै, कोशी प्रदेशको एउटा र बागमती प्रदेशको एउटा पालिकाले यस्तो जानकारी मन्त्रालयलाई गराएका छैनन् । बजेटको विवरण प्रविष्ट नगरेका पालिकालाई त्यस्तो विवरण बुझाउन मन्त्रालयले पटक–पटक परिपत्रसमेत गरेको छ । सङ्घीय मामिला मन्त्रालयले पहिलो पटक गत असार ३० गतै सबै पालिका तथा जिल्ला समन्वय समितिलाई पत्र पठाउँदै चालु आर्थिक वर्ष २०८०/८१ को बजेट पेस भई सम्बन्धित नगरसभा तथा गाउँसभाबाट स्वीकृत भएको विवरण अद्यावधिक गर्न भनेको थियो । केही पालिकाले बजेट पारित गरिसकेर पनि विवरण बुझाउन बाँकी रहेको, केही पालिकामा बजेट पेस भएको तर गाउँसभा तथा नगरसभाबाट पारित हुन नसकेकोलगायत कारण हालसम्म सबै पालिकाको विवरण अद्यावधिक हुन सकेको छैन । चितवनको राप्ती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेले नगरसभाबाट बजेट पारित भइरकेको तर बजेट स्वीकृत भएको विवरण मन्त्रालयको पोर्टलमा प्रविष्ट हुन नसकेको बताउनुभयो । त्यस्तै तेह्रथुमको आठराई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नीराज शर्माले बजेट ल्याइसकेको भए पनि मन्त्रालयको वेभसाइटमा विवरण प्रविष्ट नभएको बताउनुभयो । मन्त्रालयको विवरणअनुसार हालसम्म सप्तरीको कञ्चनरुप नगरपालिका, छिन्नमस्ता गाउँपालिका, महादेवा गाउँपालिका, रुपनी गाउँपालिका, औरही गाउँपालिका र भगवानपुर गाउँपालिकाले आफ्नो वार्षिक बजेट पेस गरेको विवरण बुझाएका छैनन् । धनुषाको औरही गाउँपालिका, कमला नगरपालिका, सर्लाहीको बलरा नगरपालिका, हरिपुर्वा नगरपालिका, चन्द्रनगर गाउँपालिका, रौतहटको गरुडा नगरपालिका, कटहरिया नगरपालिका, गढीमाई नगरपालिका, फतुवा विजयपुर नगरपालिका, माधवनारायण नगरपालिका र मौलापुर नगरपालिका, यमुनामाई गाउँपालिकाको बजेट पेस गरेको विवरण मन्त्रालयको पोर्टलमा देखिँदैन । बाराको सिम्रौनगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका र पर्साको सखुवा प्रसौनी गाउँपालिले पनि बजेट पेस गरेको विवरण बुझाउन सकेका छैनन् ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाले खेल्नुभएको भूमिका अविस्मरणीय रहेको बताउनुभएको छ । नेपालको मौलिक संवत् नेपाल संवत् ११४४ शुभारम्भका अवसरमा आज शुभकामना दिँदै उहाँले साख्वा एक प्रगतिशील सामाजिक अभियन्ता र नेपाल संवत्का प्रवर्तकका रुपमा रहनुभएको बताउनुभयो । नेवारी समुदायमा जन्मिएर सिङ्गो देशकै गरिमा र मौलिकताका निम्ति उहाँले पुर्याउनुभएको योगदान सबैका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियन्ता साख्वाले समकालीन समाजमा परिवर्तनको महत्त्वपूर्ण जग बसाल्नुभएको जनाउनुभएको छ । आफ्नो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिने ऐतिहासिक निर्णय गरेको स्मरण गर्दै उहाँले नेपाल संवत्ले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले नेपाल संवत्का अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र एकताको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
काठमाडौं: सरकारले देशभरि भिडियो शेयरिङ एप टिकटक चल्न नदिने भएको छ । आज सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । टिकटकमा पछिल्लो समय सामाजिक सद्भाव बिथोलिने गतिविधिहरू बढ्दै गएपछि टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयमा सरकार पुगेको उहाँले बताउनुभयो । मन्त्री शर्माले तत्काल टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिँदै कार्यान्वयनमा जान प्राविधिक रूपमा केही समय लाग्ने बताउनुभयो । यसअघि सरकारले टिकटक मुख्यालयका प्रतिनिधिसँग सामाजिक सद्भाव भड्काउने सामग्री स्वतः हट्ने र त्यस्ता प्रयोगकर्तालाई कारबाही गर्ने विषयमा छलफल गरेको थियो । भारत, अस्ट्रेलिया, बेल्जियम, फ्रान्स, डेनमार्क, क्यानडा, अफगानिस्तान, ताइवान, नेदरल्यान्ड्सलगायतका देशमा पनि टिकटकमाथि प्रतिबन्ध लगाइएको छ ।