पाल्पा: पाल्पाको तिनाउ नदीमा डुबेर एक जना युवतीको मृत्यु भएको छ । भारत उत्तरप्रदेश मगहरकाजिपुर घर भई नेपाल घुम्न आउनुभएकी शाहिस्ता प्रविनको नदीमा डुबेर मृत्यु भएको हो । मङ्गलबार दिउँसो भारतबाट शैक्षिक भ्रमणका क्रममा पाल्पा आएका प्रविनको तिनाउ नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिल्लाको तिनाउ गाउँपालिका –३, स्थित ड्यामनजिकै साथीहरूसँगै फोटो खिच्ने क्रममा तिनाउ नदीमा लडेपछि डुबेर युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
गलकोट: बागलुङमा गत वर्षदेखि निर्माण थालिएको बिपी स्मृति भवन निर्माणका लागि धमाधम सहयोग जुटिरहेको छ । बिपी स्मृति भवन निर्माणका लागि हालसम्म झण्डै रु तीन करोड सहयोग रकम सङ्कलन भएको छ । बिपी स्मृति भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष जगन्नाथ आचार्यका अनुसार हाल भवन निर्माणको २५ प्रतिशत भौतिक प्रगति भएको छ । सहयोग सङ्कलन गरिएको रु तीन करोडमध्ये रु ७५ लाख सरकारी निकायबाट हो भने अन्य रकम व्यक्तिगत सहयोगबाट जुटेको छ । गत वर्षदेखि थालिएको भवन निर्माण अभियानमा सहयोग जुट्ने क्रमले तीव्रता पाएको छ । अहिले बागलुङ नगरपालिका–३ नारायणचोकमा स्मृति भवन निर्माण भइरहेको छ । हालसम्म भवन निर्माणमा झण्डै रु। एक करोड खर्च भइसकेको अध्यक्ष आचार्यले बताउनुभयो । उक्त भवन निर्माणका लागि पूर्वाधार विकास कार्यालयबाट रु ५० लाख, बागलुङ नगरपालिकाबाट रु। २० लाख र जैमिनी नगरपालिकाबाट रु पाँच लाख बजेट विनियोजन भई फछ्र्योट भइसकेको छ । यस्तै जिल्लाका विभिन्न व्यक्ति, शुभेच्छुक तथा जनप्रतिनिधिबाट रु एक करोड ५९ लाख र जापानबाट रु ५० लाख सङ्कलन भएको छ । “सहयोग जुटाएरै आधुनिक भवन निर्माण थालिएको छ”, अध्यक्ष आचार्यले भन्नुभयो “अबको तीन वर्षमा भवनले सार्थकता पाउला भन्ने आशा छ, सहयोग उठ्ने क्रम जारी छ ।” नेपाली कांग्रेस बागलुङका सभापति जित शेरचनले सहयोग सङ्कलन अभियानलाई स्वदेशमा मात्रै नभएर विदेशमा समेत चलाइएको बताउनुभयो । शेरचन हालैमात्र जापान भ्रमणमा पुगेर भवन निर्माणका लागि रु। ६० लाख सहयोग सङ्कलन गरेर फर्कनुभएको छ । रु १० करोड सहयोग जुटाउने नेपाली कांग्रेसको अभियान छ । बागलुङ नगरपालिका–३ नारायण चोकमा १४ आना जग्गा खरिद गरेर भवन निर्माण थालिएको हो ।
जाजरकोट: जाजरकोट रामिडाँडा केन्द्रविन्दु भएर फेरि भूकम्पको पराकम्प गएको छ । अपरान्ह ४ः३४ बजे जाजरकोट केन्द्रबिन्दु भएर ५.८ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाले बताए । भूकम्पको पराकम्पले केकति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको उनले बताए ।
काठमाडौं: प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले रुकुमपश्चिमको भूकम्प प्रभावित ठाउँमा तीन दिनभित्रै राहत सामग्री पठाइ सक्ने बताउनुभएको छ । आज जिल्ला व्यवस्थापन समितिको बैठकमा उहाँले राहत वितरणको काम तीव्र पारिने बताउनुभयो । “हामीले योजना बनाएर नै राहत वितरणको काम सुरु गरेका छौँ । कुन ठाउँमा कति क्षति भएको छ । कस्तो खालको राहतका सामग्री आवश्यक पर्ने हो । कुन क्षेत्रलाई हामीले बढी प्राथमिकतामा राखेर राहत वितरणको काम गर्ने भन्ने योजना बनाएर नै राहत वितरण हुन्छ”, शर्माले भन्नुभयो । राहत वितरणपछि पुनः निर्माण नभएसम्मका लागि अस्थायी बासको व्यवस्थाका लागि काम गर्ने र पुन: निर्माणमा लाग्ने उहाँको भनाइ थियो । भूकम्पका कारण अवरुद्ध भएको विद्युत तथा सडक मर्मत र फोन सेवालाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको शर्माले बताउनुभयो । जिल्ला व्यवस्थापन समितिमा आएको राहत स्थानीय तहलाई दिने र स्थानीय तहले बाँड्ने व्यवस्था गर्ने उहाँले बताउनुभयो ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलको १० दिने युरोप भ्रमण तत्कालका लागि स्थगित भएको छ । भूकम्पका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा विदेश भ्रमण गर्न उचित नहुने भन्दै भ्रमण स्थगित गरिएको राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले बताए । गएको शुक्रवार राति जाजरकोटमा गएको भूकम्पका कारण भएको क्षतिले गर्दा देश नै शोकमा र सङ्कट परेको अवस्थामा राष्ट्रपतिले भ्रमण नगर्ने निर्णय गरेको चालिसेले बताए । पौडेलले यही कात्तिक २२ गतेदेखि १० दिनका लागि फ्रान्स, इटली र जर्मनीको भ्रमण गर्ने तालिका थियो । राष्ट्रपतिको भ्रमण सरकारले स्वीकृत गरिसकेको थियो ।
जाजरकोट: जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या घटेको छ । स्थानीय प्रशासनले यसअघि जाजरकोटमा मात्र १ सय ५ जनाको मृत्यु भएको जनाएको थियो । जाजरकोटको नलगाड नगरपालिकाका तीन जना मृतकको ठेगाना र मृत्यु भएको स्थान फरकफरक परेकाले दोहोरिएको र अर्को एक जनाको नागरिकता र बोलाउने नाम छुट्टाछुट्टै रहेको र दुवै नाम रेकर्डमा टिपिएकाले ४ जनाको संख्या दोहोरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले प्रस्ट्याएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सुनिल थापा नेपालीका अनुसार नलगाड नगरपालिका ८ की सरिता सिंह, नलगाड ७ का रेगम सिंह, नलगाड १२ की मिना बिष्टको नाम दोहोरिएको हो । त्यस्तै टेकबहादुर पुनको व्यक्ति एकै र नाम दुई हुँदा संख्या दोहोरिएको थियो । जाजरकोटको भेरी नगरपालिकामा ४२ जनाको मृत्यु भएको छ । त्यस मध्ये २८ महिला १४ पुरुष छन् । जाजरकोटकै नलगाड नगरपालिकामा ५१, कुशे गाउँपालिकामा ७ र छेडागाड नगरपालिकामा १ जनाको गरी १ सय १ जनाको मृत्यु भएको छ । त्यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । दुवै जिल्लामा गरेर ज्यान गुमाउनेको संख्या जम्मा १ सय ५३ मात्र निश्चित भएको प्रजिअ सुनारले बताए । मृत्यु हुनेमा ९७ सय महिला र ५६ पुरुष छन् ।
काठमाडौं: सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि नेपाल प्रहरी र टिकटकबिच छलफल भएको छ । सामाजिक सञ्जालनमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन र दोषीमाथि कारबाही गर्न नेपाल प्रहरीको साइवर ब्युरोलगायत सरकारी निकाय र टिकटकको कार्यालय, सिंगापुरबिच शुक्रबार छलफल भएको हो । उक्त छलफलबाट टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरूको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरू हटाउन र त्यस्ता कार्य गर्ने व्यक्ति पत्ता लगाएर कारबाहीको दायरामा ल्याउन सहज हुने गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘जिम्मेवार नागरिकको रूपमा कानुनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नबिगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानूनी कार्य गरेबापत हुने कानुनी कारबाहीबाट बच्न सम्बन्धित सबैमा अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
काठमाडौं: नेपाल प्रहरीले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा काठमाडौंका विभिन्न स्थानबाट नौ जना र एक जनालाई उदयपुरबाट पक्राउ गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्नुहुँदै अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले २९६ अनुसन्धानरत नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रमस्वीकृति, प्लस टुको नक्कली सर्टिफिकेट, नक्कली नाताप्रमाणित डकुमेण्टका आधारमा अनुसन्धानबाट १० जना पक्राउ गरिएको बताउनु भयो । उहाँले अनसन्धानबाट पक्राउ पर्ने नवलपुर जिल्ला मध्यबिन्दु नगरपालिका स्थायीघर भएका जयराम श्रेष्ठले नक्कली कागजात बनाउने काम गरेको बताउनु भयो । एसएसपी राठौरले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहबाट पक्राउ पर्नेहरुमा नवलपुर जिल्ला मध्यबिन्दु नगरपालिका घर भएका जयराम श्रेष्ठ, गोर्खाका भक्तबहादुर थापा, गोर्खा बारपाकका विपिन ढकाल, गोर्खाकै अजित फेवाली, उदयपुर बेलकाका आशिष श्रेष्ठ, काभ्रेपलाञ्चोकका जीवनराम तामाङ, काठमाडौंका साईरस विशंखे, काठमाडौंका दीपक के।सी र सल्यानका बलबहादुर रावत रहेको बताउनु भयो । एसएसपी राठौरले अनुसन्धानको क्रममा एक जना प्रहरी उदयपुरका ३० वर्षीय आशिष श्रेष्ठलाई पनि पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको जानकारी दिनुभयो । उहाँका अनुसार गिरोहले भिजिट भिषामा नक्कली कागजतामा पठाउने विषयमा कतिपय मानिसहरुलाई थाहा समेत नभएको पाइएको छ । उहाँले विदेश जानको लागि पैसा दिएको तर नक्कली भिजिट भिसामा विदेश पठाउनेबारे जानकारी नभएको अनुसन्धानमा खुलेको बताउनु भयो । यसैगरी, प्रहरीले नक्कली शैक्षिक प्रमाण लगायत अन्य २९६ कागजातहरु बरामत गरेको छ । प्रहरीले अनुसन्धानको क्रममा पक्राउ परेका दीपक के.सीले भक्तबहादुर थापालाई ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिहरुबाट संकलन गरेको राहदानीको फोटो खिची विभिन्न नक्कली कागजातहरु बनाउन अर्डर दिने र प्रतिव्यक्ति १० हजार लिने गरेको खुल्न आएको छ ।
पाेखरा: बेलायतका कोलिन फिलिप स्मिथलाई पोखरामा माया गरेर ‘पुतली बाजे’ भनिन्छ । नेपालमा अध्यापन र पुतली संकलककारुपमा ५५ वर्ष बिताएपछि बाजेले अघिल्लो वर्ष ०७६ मंसिर १६ मा नेपाल सरकारबाट सम्मानार्थ नेपाली नागरिकता पाए । नागरिकतामा बाजेको जन्ममिति वि.संं. १९९३–०८–०९ उल्लेख छ । उनै बाजेलाई भेट्न ७७ मंसिरको एक चिसो दिन पोखरा महानगरपालिका वडा १८ स्थित सराङकोटतर्फ उक्लदै गर्दा गुम्बा तलै सडक छेउ टुसुक्क बसेको भेटियो । उनको साथमा थियो लट्ठी र झोला, जो उनको साथमा सँधै हुन्छ । पोखरामा केही किनमेल गरेर उनी उकालो चढ्दै रहेछन् । उमेरले ८४ लागेका बाजेलाई त्यही झोला पनि अब गह्रुँगो लाग्न थालेको रहेछ । शरिरमा थकान बढेपछि उनी सुस्ताउन सडक छेउमै बसेका रहेछन् । बाजेसँग गफिन मन लागेको बताएपछि छेवैको घरमा एकछिन बस्ने निधो भयो । खँदिलो झोला देखेर ‘के छ ?’ भनि जिज्ञासा राख्दा उनले डाइजेस्टिभ बिस्कुट र अन्य सरसामान देखाए । पावरवाला मोटो चस्मा भित्रबाट चहकिला आँखाले हेर्दै भने ‘यो नेपाल सरकारको पैसा हो ।’ बाजेको अनुसार उनले गत साउन, भदौ र असोजको एकमुष्ट ९ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता बुझेका रहेछन् । उक्त भत्ता वडा नम्बर १८ ले उनको खातामा हालिदिएको रहेछ । अझै ४ महिनाको भत्ता लिन बाँकी रहेको पनि उनले सुनाए । नेपाल सरकारको नियमानुसार ७० वर्षमाथिका जेष्ठ नागरिकलाई मासिक ३ हजार रुपैयाँ भत्ता तोकिएको छ । कोलिन २९ वर्षकै उमेरमा नेपाल आएका हुन् । सुरुवाति दिनमा उनले अध्यापन गरे । कुराकानीकैक्रममा भूतपूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र डाक्टर उपेन्द्र देवकोटा –दिवंगत०लाई पढाएको स्मरण गरे । त्यसपछि पुतली संकलन उनको रुचि बन्यो । बेलायतमै छँदा पुतलीका शौखिन उनलाई उतै ‘बटराफ्लाई ग्य्राण्डड्याड’ भनिदो रहेछ । उनका अनुसार नेपालमा ६ सय ५० बढी प्रजातीका पुतली पाइन्छन् । बाजेलाई यहाँ बस्दा सबैभन्दा बढ्ता खुशी नागरिकता पाएपछि र यस वर्ष भत्ता बुझेपछि लागेको रहेछ । नागरिकता नहुँदा सराङकोटको ग्यारजातीमा बनाएको सानो घर अब आफ्नै नाममा हुने भएपछि उनी थप खुशी देखिएका थिए । त्यसो त नेपालीले गरेको माया देखेर उनी हरपल खुशी नै देखिन्छन् । यसअघि काठमाण्डौंमा नागरिकता पाउन दिएको आवेदन असफल भएको उनले सुनाएका थिए । सामान्य जीवनशैलीबीच रम्न जानेका बाजेले नेपालमा पुतलीसम्बन्धी अनुसन्धानमै समय बिताए । बल र उमेरमा डाँडाकाँडा डुलिहिड्ने बाजेको ज्यान बुढ्यौलीमा पनि पोखरा आउजाउ गरिरहेको थियो । तर पहिलेजस्तो तुजुक छैन । प्रायः सहयोगीसँग हिड्थे । लट्ठीको सहारामा आफुलाई बिसाउँदै हिड्नु पर्ने उनले पुतली संकलन गर्न छाडिसकेका थिए । धेरथोर पढाइमा समय काट्ने गरेको बताउँथे । बेलायतमा आफ्नो अब कोहि पनि नभएको सुनाउँदै बाजेले नेपालीको माया नै सबथोक रहेको सुनाए । छोटो विश्रामपछि शरिरमा जोश भरिएर होला उनले लट्ठी र झोला सम्हाले । र, उठ्दै भने ‘अब तिमी तल र म माथि जाने ।’ बाजेको यो वाक्य केही दार्शनिकपाराको लाग्यो । ‘तपाइलाई लामो आयूको कामना’ भन्दै म ओरालो झरेको थिए । .................................................................................................. त्यसपछि ०७९ चैतमा पुतली बाजे बिरामी भएर हरियो खर्क अस्पतालमा भर्ना भएको सुनेपछि त्यहाँ कार्यरत मित्र गणेशसँग सम्पर्क गर्दा उनले छिटै ठिक हुने बताएका थिए । एक हप्तापछि गणेशले भनेजस्तै पुतली बाजे ठिक भएर ग्यारजातीको डाँडा उक्लिए । उनको दैनिकी पहिलेजस्तै तर केही मन्द गतिमा चलिरहेको थियो । तर, पछिल्लो समय त्यही अस्पतालमै उपचाररत पुतली बाजेको सोही मन्द गति पनि शनिबारको पहिलो प्रहर रोकिएपछि उनी ‘माथि’ पुगेका छन् । बाजेको स्वर्गबास होस् । भावपूर्ण श्रद्धाञ्जली ।।