म्याग्दी:   बेनी–जोमसोम–कोरला सडकमा आज बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको छ ।  म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने काभ्रेभिरमा खसेको पहिरोका कारण ...

बर्दिया:   बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ। गुलरिया नगरपालिका–५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया–६ का २३ वर्षीय बरुण घिमिरेको हत्या भएको हो।  गम्भीर घाइते घिमिरेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए। गएराति दुई समूहबीच झडप भएको थियो। त्यसक्रममा उनीमाथि खुकुरी प्रहार भएको हो। झडपमा संलग्न व्यक्ति फरार रहेका र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पोखरा:   लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीले तनहुँको घिरिङका गीता श्रेष्ठको घर निर्माणका लागी जस्तापाता हस्तान्तरण गरेको छ । घिरिङ गाउँपालिका वडा नम्बर ३ अर्चलकोट का गीता श्रेष्ठको घरको छानो जीर्ण बन्दै गएपछि लायन्स क्लब युनाइटेड चौतारीले घरको छानो पुननिर्माणका लागि जस्तापाता हस्तान्तरण गरेको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथी जोन चियर पर्सन लायन जयराम आचार्यले लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीले सामाजिक काम अन्तर्गत तनहुको घिरिङ गाउँपालिका अर्चलबोट स्थित गीता श्रेष्ठको घरको छानो निर्माणका लागी जस्तापाता हस्तान्तरण गरेकोमा धन्यवाद ब्यक्त गरे । लायन्स क्लबहरुले गर्ने सानो सहयोगले कोही कसैलाई टेवा पुग्ने वताउदै आचार्यले आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । त्यस्तै घरधनी गीता श्रेष्ठले लायन्यस क्लब अफ पोखरा युनाइटेड चौतारीको सहयोगले आफ्नो घरको छानो निर्माण गरिदिएकोमा धन्यवाद ब्यक्त गरे । ढुंगाको छानो रहेको आफ्नो घरको छानो जीर्ण अवस्थामा रहेकोमा लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीको सहयोगमा जस्तापाता हस्तान्तरण गरेर आफुलाई ठूलो गुण लगाएको श्रेष्ठको भनाइ रहेको थियो । सो अवसरमा बोल्दै लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीका अध्यक्ष लायन एक नारायण गौतमले युनाइटेड चौतारीले सामाजिक कार्य अन्तर्गत यसपटक जस्तापाता हस्तान्तरण गरिएको वताए । आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने उनको भनाइ रहेको थियो । क्लबका पूर्व अध्यक्ष तथा डिष्ट्रिक जीएसटी कोअडिनेटर लायन राजु श्रेष्ठको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा डिष्ट्रिक को चिफ लायन सुक बहादुर गुरुङ, घिरिङ गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविका जुनमाया थापा, क्लबका प्रथम उपाध्यक्ष लायन शुसिल बहादुर थापा, सचिव लायन इश्वर शर्मा, सह कोषाध्यक्ष लायन सूर्य उप्रेती, लायन गणेश बहादुर खड्का, सर्भिस चियरपर्सन लायन सिद्धिकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।  

मोरङ:  मोरङको उर्लाबारीमा राती भएको आगलागीमा परि २० जना भन्दा बढी घाइते भएका छन् । घाइते मध्ये चार जना प्रहरीहरू पनि छन् ।   राती १० बजेतिर स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी हुँदा घाइते भएकाहरूको विराटनगर र बिर्तामोडका विभिन्न अस्पतालमा उपचार भई रहेको छ ।   लक्ष्मी पूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा प्रहरीसहित घाइते भएको प्रहरीले जनाएको छ ।   घाइतेहरूमध्ये ९ जनालाई विराटनगर, र १० जनfलाई झापाको बिर्तामोडमा उपचारका लागि पठाइएको छ ।   सुन पसलभित्र आगलागी भएपछि घटनास्थल पुगेका सुरक्षाकर्मी र स्थानीयले सटर खोल्दा आगोले पोलेर घाइते उनीहरू घाइते भएका थिए । घाइते मध्य केहीको अवस्था गम्भीर छ ।   घटनाबारे विस्तृत विवरण आउन समय लाग्ने मोरङ प्रहरीले जनाएको छ । आगो लागेको करिब ३ घण्टापछि मध्यरात १२ बजे नियन्त्रणमा आएको छ ।

नवलपुर:   नवलपुरको देवचुली नगरपालिका-८ मुण्डेमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ । घाइते एक जनाको पनि चितवनमा उपचारको क्रममा केहीबेर अघि मृत्यु भएपछि मृतकको सङ्ख्या सात पुगेको नवलपुर प्रहरीले जनाएको छ । बिहान बुलिङटारबाट कावासोतीका लागि छुटेको ग १ ज ३२७० नम्बरको जीप एसमोडको एउटा घरमा ठोक्किएर दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृतकमध्ये ६ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा बौदीकाली गाउँपालिका –६ का जिपचालक २९ वर्षीय छनबहादुर आले, सोही ठाउँका ५२ वर्षीया कुमारी राना, ५५ वर्षीया टेकमान वानटक्की, ४५ वर्षीया कमला वानटक्की, बुलिङटार गाउँपालिका –४ का १२ वर्षीया करिश्मा ठाडा र मध्यविन्दु नगरपालिका २ मदनपुरका १८ वर्षीय चिरन अर्याल रहेको नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए । अन्य एक जनाको अझै पहिचान खुलेको छैन ।   

नवलपुर:    नवलपुरको देवचुली नगरपालिका –८ मुण्डेमा जीप दुर्घटना हुँदा मृत्यु भएका ६ मध्ये चार जनाको पहिचान खुलेको छ । बिहान बुलिङटारबाट कावासोतीका लागि छुटेको ग १ ज ३२७० नम्बरको जीप एसमोडको एउटा घरमा ठोक्किएर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा बौदीकाली गाउँपालिका –६ का जिपचालक २९ वर्षीय छनबहादुर आले, सोही ठाउँका ५२ वर्षीया कुमारी राना, ५५ वर्षीया टेकमान वानटक्की, बुलिङटार गाउँपालिका ४ का १२ वर्षीया करिश्मा ठाडा रहेको नवलपुरका प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।  अन्य दुई जनाको अझै पहिचान खुलेको छैन । मध्यविन्दु नगरपालिका –२ मदनपुरका १८ वर्षीय चिरन अर्यालको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीपमा ७ जना सवार रहेकोमा एक जना गम्भीर घाइते भएको पौडेलले बताए । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डण्डा लगिएको छ । 

गोरखा:    गोरखामा आगलागीमा परेर दुई जनाको मृत्यु भएको छ ।  धार्चे गाउँपालिका वडा नम्बर १ केरौंजास्थित हुल्चुकमा आगलागीमा परेर आमा छोराको मृत्यु भएको हो। ७८ वर्षीया कान्छी गुरूङ र उनका छोरा ५३ वर्षीय चनारसिंङ गुरूङको आगलागीमा परेर मृत्यु भएको वडाध्यक्ष राम सिंङ गुरूङले सेतोपाटीलाई बताए। शनिबार बेलुकी करिब १० बजेतिर कान्छीको घर आगलागी भएको थियो। ‘अगेनामा आगो बालेर सुतेका कारण घर जलेको हुन सक्ने अनुमान गरिएको छ,’ उनले भने, ‘दुवैको शव घरभित्रै फेला परेको छ।’ घटनास्थलमा प्रहरीहरू पुगिसकेको उनले बताए। आगलागीले घर पूर्ण रूपमा क्षति भएको छ।

नवलपुर:    नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ८ मुण्डेमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।  बिहान बुलिङटारबाट कावासोती आउँदै गरेको जीप गोरे घुम्तीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए । मृतकमध्ये तीन महिला तीन पुरुष छन् । जीपमा ७ जना सवार रहेकोमा एक जना गम्भीर घाइते भएको पौडेलले बताए । मृतकको पहिचान खुलेको छैन । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल डण्डा पठाइएको छ । 

मुगु: एउटै परिवारका ४ जनाको हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा छायाँनाथ रारा नगरपालिका–७ पिना घर भई हाल बाँके बैजनाथ गाउँपालिका–१ चिसापानी बस्ने ३१ वर्षीय काले भन्ने गोर्ख राज शाही र छायाँनाथ रारा नगरपालिका–६ मन्दु बस्ने ३१ वर्षीय गोपाल बहादुर बोहोरा रहेका छन् ।    छायाँनाथ रारा नगरपालिका–६ मन्दु बस्ने श्रीदेवी बोहोरा, उनकै छोराहरू ११ वर्षीय मनोज बोहोरा, ५ महिनाको रहर बोहोरा र उनकै छोरी ७ वर्षीया अप्सरा बोहोराको कात्तिक ८ गते राति आफ्नै घरमा हत्या भएको थियो ।   केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंज काठमाडौं, कर्णाली प्रदेश प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेत र जिल्ला प्रहरी कार्यालय मुगुबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले गोर्ख राज शाहीलाई लुकीछिपी बसेको अवस्थामा सोमबार दिउँसो सुर्खेत वीरेन्द्रनगर नगरपालिका–५ पञ्चकोशी टोल र गोपाल बोहरालाई गत शुक्रबार उनकै घरबाट पक्राउ गरेको हो ।    गोपाल बोहोरा बैदेशिक रोजगारीको लागि कतार गएकोमा राम्रो काम नपाई २ वर्ष बसेर नेपाल फर्किएको र श्रीदेवी बोहोराको श्रीमान दीपक बोहोराले कतारमा राम्रो कम्पनीमा काम गरेको उक्त कम्पनीमा काम गर्ने गरी आफूलाई समेत भिषा पठाइदिन आग्रह गरेको तर दीपकले सो कुरा अस्वीकार गरेकोले रिसइबीका कारण दीपकको परिवारको हत्या गर्ने योजना बनाएको खुल्न आएको छ ।     प्रहरीका अनुसार गोपालले गोर्ख शाहीलाई भेटी श्रीदेवी बोहोरासँग भएको सुन तथा नगद लुटपाट गर्ने सल्लाह गरी श्रीदेवी आफ्नो छोराछोरीसहित माइतीघरबाट फर्केर घरमा आई खाना खाई बसेकोका थिए ।   त्यसपछि गोपाल र गोर्खले घरबाहिरबाट ढोका खोल्न लगाई घरभित्र प्रवेश गरी धारिलो हतियार खुकुरीले टाउको र घाँटीमा प्रहारी गरी उनीहरूको हत्या गरी श्रीदेवीले कानमा लगाएको २.५ तोलाको सुनको रिङ, २५ लालको सुनको तिलहरी र मोबाइल १ थान लुटेर भागेका थिए ।    पक्राउ परेका दवैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

काठमाडौं:    यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।  लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।  लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।      आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उहाँले बताउनुभयो ।      आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।   लक्ष्मी पूजाका अवसरमा आज सहरबजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरूपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी गराउनुभयो । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार शनिबारदेखि सुरु भएको हो । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।