जाजरकोट: जाजरकोट र रुकुम पश्चिम अहिले शोकमा डुबेको छ । शुक्रबार राति ११ बजेर ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट जनधनको क्षतिहुँदा ती दुई जिल्ला शोकमा डुबेको हो । एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबारविहीन हुँदाको पीडाले पीडितलाई पिरोलिरहेको छ । प्रहरीको अद्यावधिक विवरणअनुसार भूकम्पमा परी अहिलेसम्म एक सय ५७ जनाको ज्यान गइसकेको छ भने करिब २०० जना घाइते अवस्थामा छन् । जाजरकोट जिल्ला सदरमुकामबाट नजिकै रहेको छेडा बजारमा न्यानो घाममा सुतिरहेका भूकम्प पीडितले भन्नुभयो “भूकम्पले घरमा त खासै क्षति भएन तर रातिको भूकम्पको कम्पनले अहिले पनि मुुटु कापिरहेको छ । रातभर निदाउन सकेनौँ । त्यही भएर अहिले सुतिरहेका छौँ । पुराना केही घरमा भने आंशिकरूपमा क्षति भएको छ । ” भूकम्पले जाजरकोट सदरमुकाम खलङ्गामा धेरै भौतिक क्षति पु¥याएको छ । बस्ती उदाङ्गो देखिएका छन् । क्षतिको किन तथ्याङ्क नभए पनि पूर्णरूपमा क्षति भएका घर पनि धेरै छन् । नभत्किएका घर पनि आशिंकरूपमा क्षति भएकै छन् । परम्परागत घरमा क्षति धेरै जाजरकोटमा गएको भूकम्पले आधुनिक र पक्की घरभन्दा पराम्परागत घरमा क्षति धेरै पुगेको छ । प्रहरीले अहिले तथ्याङ्क सङ्कलन गरिरहेको जनाएको छ । तर भूकम्प प्रभावित क्षेत्रमा रहेका भत्किएका घरको अवस्था हेर्दा परम्परागत र पुराना घर नै पूर्णरूपमा क्षति भएको देखिएको हो । जाजरकोटमा व्यवसाय गर्दै आएका दाङका अमन चौधरी जाजरकोटमा भूकम्पका कारण भत्किएका घर अधिकांश पुराना रहेको जानकारी दिनुभयो । विशेषगरी पछिल्लो समय बनाइएका पक्की घरमा त्यति क्षति नपुगेको स्थानीयले बताएका छन् । जिल्लाका अन्य पालिकामा समेत भूकम्पले क्षति पुर्याएको छ, त्यहाँ पनि परम्परागत र पुराना घरमा क्षति पुगेको बताइएको छ । ढुङ्गा र माटाले बनाइएका घरमा धेरै क्षति पुगेको भेरी नगरपालिका–२ का गोपाल विक बताउनुभयो । उहाँ भन्नुहुन्छ, “यो भूकम्पले धेरैजसो ढुङ्गा र माटाले बनाइएका घरमा क्षति पुगेको छ, काठले बनाइएका घर र बजारमा बनाइएका नयाँ पक्की घरमा त्यति क्षति पुगेको छैन ।” तत्कालीन जाजरकोट दरबारसमेत भूकम्पका कारण चिरा परेको छ । भूकम्पका कारण जाजरकोटका अधिकांश घरमा क्षति पुगेको छ भने घर भत्किँदा मानवीय र भौतिक क्षतिसमेत भएको छ । भिरालो जमिनमा रहेको खलङ्गा बजारमा खचाखच घर बनाइएको छ । साँघुरो बाटो, बजारभन्दा तलतिर पहिराको जोखिम देखिन्छ । बजारमा घरमा घर जुधाएर दुवैतिरबाट सडकलाई च्यापिएको छ । यसले गर्दा भूकम्प आउँदा न त खुला ठाउँ छ न भाग्ने ठाउँ नै । खुला आकाशमा रात बिताउँदै भूकम्प पीडितले खुला आकाश पालमुनि बसेर रात बिताएका छन् । घरहरू भत्किएका छन् भने कतिपय चिरा परेर बस्न नसक्ने अवस्थामा घर भएपछि बाहिर बस्नुपरेको उनीहरूको दुःखेसो छ । बाहिर बस्नुपरेपछि चिसोको समस्या बढेको उनीहरूको भनाइ छ । जाजरकोट भेरी नगरपालिका–२ का मानबहादुर विकले आफ्नो घर भूकम्पले भत्काएपछि अहिले केटाकेटीसहित खुला आकाशमुनि बसिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा सानो घर थियो, त्यही पनि भूकम्पले भत्काइदियो । साना केटाकेटीका साथमा बाहिर खुला आकाशमा बस्नुपर्ने बाध्यतामा छु । सरकारले पालको व्यवस्था त गरिदिएको छ, यो चिसोको समयमा पालमुनि बस्न पनि धेरै समस्या छ ।” उद्धारको काम करिब अन्तिम चरणमा सरकारले जाजरकोटका भूकम्पबाट प्रभावित भएकाहरूका उद्धारको काम अन्तिम चरणमा पुगेको बताएको छ । ती दुई जिल्लाका भूकम्प प्रभावितको उद्धार गर्न तीनै तहका सरकाको समन्वयात्मक काम गरेको देखियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का आफैँ प्रभावितस्थल जाजरकोट आएर उद्धार र राहतको कमी हुन नदिने बताउनुभएको थियो । यसअन्तर्गत भूकम्प प्रभावितको उद्धार करिब अन्तिम चरणमा पुगेको हो । यस्तै प्रभावितलाई स्थानीय, प्रदेश र केन्द्र सरकारले राहत सामग्रीको पनि कमी हुन दिएका छैनन् । कर्णालीका गाउँपालिका र नगरपालिकासँगै कर्णाली प्रदेश सरकार र अन्य प्रदेश सरकारले समेत राहत सामग्री ल्याएर वितरण गरेका छन् भने अन्य विभिन्न सङ्घसंस्थाले समेत राहत सामग्री वितरण गरेको जनाइएको छ ।
काठमाडौं: शुक्रबार राति गएको भूकम्पपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ । भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनस्स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाइएको मन्त्रिपरिषद् बैठक बसेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रभावित क्षेत्र जाजरकोट र रुकुम पुगेर फर्किएपछि आइतबार बिहानै मन्त्रिपरिषद् बैठक बोलाएका छन् । शनिबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा उपचारका लागि जिल्ला विपद् व्यवस्थापन कोषामा ५/५ करोड रूपैयाँ पठाउने निर्णय गरेको थियो । भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा उपचार कार्यलाई पहिलो प्राथमिकतामा दिने भन्दै तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी जाजरकोट र रूकुम पश्चिमको जिल्ला विपद् व्यवस्थापन कोषमा उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट पठाउने निर्णय सरकारले गरेको हो ।
डोटी: कैलालीको धनगढीबाट बाजुरा तर्फ जाँदै गरेको जीप डोटीमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् । बाजुराको हिमाली गाउँपालिका–५ का २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, धनशोभाका ६ वर्षीय छोरा कविन्द्र र विमला मलालकी ८ महिनाकी छोरी प्रार्थनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको हो । घाइतेहरुको डोटी दिपायलमा रहेको शैलेश्वरी अस्पताल पिपल्लामा उपचार भइरहेको छ । गएराति कैलालीको धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको जीप के आईसिंह राजमार्ग अन्तर्गतको अडेउल भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार गएराति २ बजे दुर्घटनामा परेको हो ।
बुटवल: लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका लागि डेढ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । शनिबार तुलसीपुरमा बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले डेढ करोड सहयोग गर्ने निणर्य गरेको प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए । उक्त रकम प्रदेश विपद् कोषबाट निकासा गरी कर्णाली प्रदेश सरकारलाई दिइने छ । यसअघि सुदुरपश्चिम प्रदेश सरकारले १ करोड सहयोग गर्ने निर्णय गरिसकेको छ । यस्तै बुद्ध एयरले प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा १ करोड जम्मा गर्ने निर्णय गरेको छ । साथै लुम्बिनी प्रदेश सरकारले प्रभावित जिल्लामा उद्धारका लागि गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा उद्धारकर्ताको एक टोली पठाउने निणर्य समेत गरेको छ ।
काठमाडौं: शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १३८ पुगेको छ । नेपाली प्रहरीले दिउँसो २ बजेसम्मको अवस्थालाई जानकारी अनुसार १३८ जनाको मृत्यु भएको छ भने १६६ जना घाइते भएका छन् । जसमा जाजरकोटमा भूकम्पबाट १०० जनाको निधन भएको छ भने ८१ जना घाइते भएका छन् । यसैगरी, रूकुम पश्चिममा ३८ जनाको निधन भएको छ र ८५ जना घाइते भएका छन् । थप विवरण आउने क्रम जारी छ । घाइते मध्ये ७ जनालाई थप उपचारका लागि नेपाल एयरलाइन्सको उडान मार्फत काठमाडौं ल्याइन लागेको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीले भूकम्प प्रभावित क्षेत्रमा ८ सय ५९ जना प्रहरी प्ररिचालित गरेको जनाएको छ ।
बागलुङ: कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ र उपसभामुख यसोदा न्यौपाने सवार साधनले बागलुङमा मोटरसाईकललाई ठक्कर दिँदा एक जना घाईते भएका छन् । शनिबार विहान बागलुङको भिमगिठेबाट बुर्तिबाङ तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२ ००१ झ ००९३ नम्बरको गाडीले विपरित दिशाबाट आउँदै गरेको ग ११ प १५७ नम्बरको मोटरसाईकललाई ढोरपाटन नगरपालिका–२ मल्कटिबाङ स्थित मध्यपहाडी लोकमार्ग सडक खण्डमा ठक्कर दिएको थियो । स्कर्पियोको ठक्करबाट मोटरसाईकल चालक निसीखोला गाउँपालिका–२ तल्लो ब्याङ्ग्री बस्ने १ बर्षीय बिमल खत्री घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी जवान प्रकाश पौडेलले बताए । प्रहरी जवान पौडेलले घाईते खत्रीको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ लगिएको जानकारी दिए । दुर्घटनामा स्कर्पियो र मोटरसाइकल दुवैमा क्षति पुगेपनि स्कर्पियोमा सवार सभामुख र उपसभामुख सहित मोटरसाइकलमा सवार अन्य एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: नेपाल प्रहरीले भूकम्प पीडितहरूका नाममा आर्थिक सहयोग गर्दा ध्यान दिन आग्रह गरेको छ । प्रहरी केन्द्रीय कार्यालयले शनिबार सूचना जारी गर्दै इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा संघ–संस्था आधिकारिक हो कि होइन निश्चित गरेर मात्र सहयोग गर्न आग्रह गरेको छ । इन्टरनेटबाट हुने ठगी र आर्थिक शोषणबाट जोगिन प्रहरीले आग्रह गरेको छ । आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउनेहरुले भूकम्पपीडितका नाममा आफूखुसी चन्दा उठाउन सुरु गरिसकेका छन् । यस्तो अवस्थामा इन्टरनेटको विभिन्न माध्यममार्फत ठगी गर्ने गिरोहसमेत सक्रिय हुन सक्ने भएकाले प्रहरीले सचेत गराएको हो ।
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले भूकम्प प्रभावित कर्णालीका पीडितका लागि एक करोड रकम दिने भएको छ । शनिबार बिहान बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले कर्णालीका भूकम्प पीडितका लागि प्रदेश सरकारले एक करोड रकम उपलब्ध गराउने निर्णय गरिएको बताए। उनले, आजै २० जनाको स्वास्थ्यकर्मीको टोली पनि प्रभावित क्षेत्र पठाउने निर्णय भएको जानकारी दिए । औषधी, स्वास्थ्य उपकरण र अन्य राहत सामाग्रीसहित आज नै टोली कर्णाली जानेछ ।
काठमाडौं: नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्रमा निशुल्क भ्वाइस र नमस्ते वाइफाइ सेवा उपलब्ध गराउने भएको छ। भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु रहेको जानकारी गराउँदै टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए। उनले ५ दिनका लागि उक्त क्षेत्रमा निशुल्क भ्वाइस र एसएमसस सेवा उपलब्ध गराइने बताए। ुहाल भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु रहेको जानकारी गराइन्छ । यस विषम परिस्थितिमा नेपाल टेलिकम आफ्नो कर्तव्य बोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवाहरुलाई नियमित रुपमा सुचारु राख्ने प्रतिबद्धता समेत व्यक्त गर्दछौं । ‘नेपाल टेलिकमबाट जारी सूचनामा भनिएको छ’, सूचना आदान(प्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहनुभएका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकहरूलाई पांच (५) दिनको अवधिका लागि निःशुल्क Voice तथा Sms सेवा उपलब्ध गराइएको छ। यसका अतिरिक्त उक्त क्षेत्रमा पाँच (५) दिनको अवधिका लागि निःशुल्क Voice तथा SMS सेवा सहितको निःशुल्क सिम उपलब्ध गराइनेछ । उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुनेछ । उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार निःशुल्क Namaste WiFi सेवा उपलब्ध गराइनेछ ।