काठमाडौँ: प्रतिनिधिसभामा आर्थिक मन्दी, विश्वविद्यालय शिक्षा, वैदेशिक रोजगारी, अव्यवस्थित बसोबास, सडक, पुल, सिँचाइ, मलखादलगायत विषयले प्रवेश पाएको छ । प्रतिनिधिसभाको आजको शून्य समयमा भाग लिने सांसदहरुले प्रसूति अस्पताल, एसइई परीक्षा, सुशासन, जनगणना तथा भारतले बनाएका बाँधबाट उत्पन्न समस्या समाधानका लागि पहल गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । एमालेकी विद्या भट्टराईले मुलुकमा आर्थिक मन्दिका कारण नागरिकको दैनिक जीवन अत्यन्त सङ्कटमा परेको तथा प्रमुख सहरमासमेत आर्थिक कारोबार सुस्त रहेको बताइन् । उनले भनिन्, “ठूलो सङ्ख्यामा युवा रोजगारीका लागि विदेशिएका छन, अध्ययन र भ्रमणका लागि विदेश जानेको सङ्ख्याले वैदेशिक मुद्रा सञ्चितिमा असहजता उत्पन्न भएको छ, महँगी उच्च छ, आम नागरिकलाई उत्साह प्रदान गर्ने कार्य कहिले हुन्छ ? ” राष्ट्रिय प्रजातन्त्र पार्टीकी बीना लामाले मिटर ब्याजमै भए पनि ऋण लिएर उच्च शिक्षा र रोजगारीका कारण ठूलो सङ्ख्यामा युवायुवती विदेश जान बाध्य भएकाले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिइन् । जनमत पार्टीकी विनिताकुमारी सिंहले सिराहमा प्रसूति अस्पताल नभएकाले सुत्केरीले बाटोमै मृत्युवरण गर्नुपर्ने बाध्यता अन्त्यका लागि ध्यानाकर्षण गराइन् । नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले दशकौँदेखि झापाका विभिन्न स्थानमा बसोबास गरेका सुकुम्वासी समस्यामा परेकाले उनीहरुका लागि लक्षित गरी नापी सुरु गर्न, चर्को रुपमा रहेको कर घटाउन, लालपुर्जा वितरण गर्न तथा अव्यवस्थित बसोबास हटाउन मिति तोकेर काम गर्न सुझाव दिए । राप्रपाकी मीना जैसवालले वीरगञ्जमा सरल र सहजरुपमा सार्वजनिक यातायातका साधानको व्यवस्था गर्न आवश्यक रहेको बताइन् । नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेतले एसइई परीक्षा अर्को विद्यालयमा गएर दिनुपर्ने बाध्यतालाई अन्त्य गरी होम सेन्टरमै परीक्षा दिने व्यवस्था मिलाउन सुझाव दिए । एमालेकी शान्ति श्रेष्ठले आफूलाई निर्वाचनमा विजयी गराउने मतदाताप्रति आभार व्यक्त गर्दै आफ्नो क्षेत्रमा रहेको अव्यवस्थित र कच्ची बाटोलाई स्तरोन्नति गरी कालोपत्र गर्न माग गरिन् । रास्वपाका शिव नेपालीले जनताले सुशासन र विकासको कहिले अनुभूति गर्न पाउलान भनी प्रश्न गर्दैै सांसदलाई केवल सरकार गठन र ढाल्न मात्र प्रयोग नगर्न आग्रह गरे । नेकपा (एकीकृत समाजवादी) का शेरबहादुर कुँवरले अघिल्लो वर्ष भएको जनगणनामा कालापानी र लिम्पियाधुराको जनगणना किन छुटाइयो भनी प्रश्न गरे । नेपाली कांग्रेसले सन्तोष चालिसले काठमाडौँ क्षेत्र नं ३ स्थित बागमती करिडोर बनाउने सिलसिलामा नेपाल ट्रष्टको जग्गा र वन क्षेत्र परेकाले त्यसलाई प्रयोग गर्न सक्ने व्यवस्थाका लागि पहल गर्न अनुरोध गरे । रास्वपाका सन्तोष परियारले देशमा आर्थिक सङ्कटका कारण समस्या परेकाले त्यसलाई कसरी सहज र सरल तुल्याउने भन्नेतर्फ सबैको पहल हुन आवश्यक रहेको बताए । सांसद सुमना श्रेष्ठले विश्वविद्यालयमा ताला, नियुक्तिमा ढिलाइ, विश्वविद्यालयका कोर्स अघि बढ्न नसकेको अवस्थाले भर्ना र उत्तिर्ण दर कमजोर भएकाले सबैको त्यसतर्फ ध्यान जानुपर्ने बताइन् । कांग्रेसका सुरेन्द्रराज आचार्यले सीमा क्षेत्रमा भारतले बाँधेको बाँधले वर्खामा नेपालका कयौं बस्ती र खेतीयोग्य जग्गा डुवानमा पर्ने भएकाले समयमै त्यो समस्या समाधानका लागि अर्थपूर्ण पहलका लागि ध्यानाकर्षण गराए । एमालेकी सूर्यकुमारी श्रेष्ठले दैलेखमा अव्यवस्थित बसोबास समस्या अन्त्यका लागि सुकुम्वासीलाई लालपूर्जा वितरण गर्न माग गरिन् । जनमत पार्टीकी सोनु मुर्मुले कृषि प्रधान देश भएपनि किसानलाई मलखाद अभावले खेतीपाती गर्न नसक्ने परिस्थिति अन्त्यका लागि समयमै त्यसको सुनवाइ गर्न ध्यानाकर्षण गरिन् । रास्वपाकी सोविता गौतमले काठमाडौँ क्षेत्र नं ३ मा जग्गा अधिग्रहण र मुआब्जासम्बन्धी समस्या समाधान गर्न माग गरिन् । नेपाली कांग्रेसकी सङ्गीता मण्डल धानुकले तराई–मधेसमा दाइजोलगायतका कुप्रथा अन्त्यका लागि चेतनामुलुक कार्यक्रम र शिक्षामा जोड दिन आवश्यक रहेको बताइन् । नेपाली कांग्रेसका सञ्जयकुमार गौतमले कम लागतमा धेरै सिँचाइ हुने राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनालाई छिटो पूर्णता दिन आवश्यक बजेटको व्यवस्था होस् भनी माग गरे । रास्वपाका हरि ढकालले शून्य समयमा उठाएका विषय शून्यतामै सीमित नगरियोस् भनी सदनको ध्यानाकर्षण गराउँदै शेयर कारोबार गर्नेले हालसम्म रु १४ खर्ब गुमाइसकेकाले उनीहरुलाई सान्त्वना दिने काम कहिले हुन्छ भनी प्रश्न गरे । नेकपा (माओवादी) केन्द्रका हितराज पाण्डेले पछिल्लो समय क्यासन्सरका कारण धेरै व्यक्ति आक्रन्त भएकाले त्रिभुवन विश्वविद्यालय महाराजगञ्जमा रहेको सुरेश वाग्ले अस्पताललाई विस्तार गरी उपचारको व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराए । नेकपा (माओवादी केन्द्र) का हितबहादुर तामाङले काठमाडौँ उपत्यकाभित्रका नदी किनार, उकास र बहाव क्षेत्रमा निर्माण गरेका संरचना सात दिनभित्र हटाइयोस् भनी सूचना प्रकाशित भएकामा सुकुम्वासी समस्यालाई हलुका तरिकाले नहेरियोस् भनी सदनको ध्यानाकर्षण गराए । राप्रपाका ज्ञानबहादुर शाहीले विश्वमा मुलुकलाई चिनाउने खेलकुद क्षेत्रमा छुट्याएको बजेट र खेलाडीको तलब बढाउन माग गरे । माओवादी केन्द्रकी ज्ञानु बस्नेतले चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशाला अधुरै रहेकाले त्यसलाई पूर्णता दिने काममा तदारुकता देखाउन सरकारसँग माग गरिन् । नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले रामधुनी ऐतिहासिक महत्वअनुरुप संस्कृति र सभ्यताको प्रचारप्रसार आवश्यक रहेको बताए ।
काठमाडौंः सांसद्हरूले ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ पारित गर्नुपर्ने बताएका छन्। संसदमा विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद् भानुभक्त जोशीले संशोधन विधेयक यथाशीघ्र पारित हुन आवश्यक रहेको बताए। जोशीले भने, ‘सर्वोच्च अदालत जस्तो संस्था कायममुकायम प्रधानन्यायाधीशको भरमा चलेको छ। संवैधानिक निकायमा पदपूर्ति हुन सकेको छैन। यो संसोधन विधेयक चाँडो टुंगो लगाउनुपर्छ।’ सांसद् रघुजी पन्तले विधेयकलाई तत्काल पास गर्नुपर्ने बताए। पन्तले भने, ‘अहिलेको सरकारपनि टालाटुली बटुली कति राम्री पुतली जस्तै छ। प्रधानन्यायाधीश नहुँदा न्याय प्रक्रियाका कार्य सम्पादनहरू रोकिएका छन्। मन परेका मान्छेहरू आयोगमा पठाउने अवस्था नआओस्। यो विधेयकलाई पारित गरेर कानुन बनाउन सकौं, ’ पन्तले लोकतन्त्रका संरचना निर्माण गर्दा ध्यान पुर्याउनुपर्ने बताए। सांसद् अर्जुननरसिंह केसीले संवैधानिक परिषद् भागबण्डा परिषद् जस्तो देखिएको भन्दै यसले लोकतन्त्र सुदृढ हुन नसक्ने बताए। स्वतन्त्र न्यायपालिकालाई काम गर्न अवरोध सिर्जना भएको भन्दै संवैधानिक निकायहरूमा स्वस्थ व्यक्तिहरूलाई नियुक्ती गर्नु अहिलेको आवश्यक रहेको बताए। स्वतन्त्र न्यायपालिका जस्तो संस्था कायममुकायमको भरमा चल्नु दुर्भाग्य रहेको केसीको भनाइ छ। कलेजियम निर्माण गरेर सम्बन्धित विज्ञहरूलाई छनौट गर्नुपर्ने र ती व्यक्तिलाई संवैधानिक आयोगमा नियुक्ती दिनुपर्ने बताए। सांसद् महेशकुमार बर्तौलाले संवैधानिक निकायहरूको नेतृत्व टुंग्याउनुपर्ने अवस्था आएको बताए। बर्तौलाले भने, ‘केपी ओली नेतृत्वको सरकारले संवैधानिक परिषद् बैठकमा गणपुरक सन्दर्भमा सडकको मसला बनाइयो। निर्णय प्रक्रियामा बैठक अध्यक्षले बोलाउनुहुन्छ। बैठकमा सबै सदस्यको समान भूमिका हुन्छ। तर, संशोधन विधेयकमा अध्यक्षलाई विशेषाधिकारको कुरा उठाइएको छ। यसले संवैधानिक आधार प्राप्त गरेको छ भन्ने देखिँदैन। संवैधानिक परिषद्को अध्यक्षलाई संविधानले नदिएको अधिकार दिनु उपयुक्त हुँदैन।’
काठमाडौं: आइतबार सेयर बजार परिसूचक नेप्से १८ सयको विन्दुमा झरेको छ । केही दिन यता लगातार ओरालो यात्रामा रहेको नेप्से सूचकमा आइतबार थप २६.८७ अंकले घट्दै १८ सय ८८.२७ अंकको विन्दुमा झरेको हो । यसदिन सेन्सेटिभ इन्डेक्स समेत ५.०१ अंकले घट्दै ३५६ अंकको विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । २६ अङ्कमाथिले घटेको बजारमा आज १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको ३७ लाख ५४ हजार कित्ता सेयर कारोबार भएको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । माया खोला हाइड्रोपावर कम्पनी र एसियन हाइड्रोपावर लिमिटेडको सेयर मूल्य क्रमशः ९.९९ प्रतिशतले र ९.९८ प्रतिशतले बढेको छ भने आज जीवन विकास लघुवित्त वित्तीय संस्था, जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था र यूनिक्यू नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १०–१० प्रतिशतले घट्न पुगेको छ ।
पोखरा: पोखरामा फेसन डिजाइनर कन्टेष्ट तथा फेसन सो कार्यक्रम हुने भएको छ। नयाँ बर्षको अबसर पारेर वाउ इभेन्ट्सको आयोजना एवम् वाउ फेसन स्कुलको समन्वयमा पोखराको लेकसाइड स्थित त्रिपुरा लाउन्ज एण्ड बारमा चैत्र ३० गते कन्टेष्ट तथा फेसन सो गर्न लागेको फेसन सो कार्यक्रमका संयोजक रबिन गरुङले जानकारी दिए। फेसन प्रति लगाव हुनेहरुको प्रतिभा प्रष्फुटन गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको गुरुङले बताए। उनका अनुसार फेसन सो कार्यक्रम समाजमा समस्यामा परेका आर्थिक अवस्था कमजोर भएकाहरुको लागि सहयोग पुग्ने उदेश्यका साथ आयोजना गरिएको हो। कार्यक्रम पश्चात् वाउ स्कुलले १० जना महिलालाई निशुल्क फेसन डिजाइन अध्यन गराउने पनि गरुङले बताए । फरक खालको थिममा पोखरामा नै पहिलोपटक हुन् लागेको फेसन सो कार्यक्रममा फेसन डिजाइनमा अध्यनरत डिजाइनरहरु काठमाडौं, पोखरा, धरान, इटहरी, बाग्लुङ लगायतबाट ९० जना फेसन बिधार्थी बीच डिजाइनर प्रधिस्पर्धा हुनेछ। फेसन सो कार्यक्रममा डिजाइनर प्रतियोगिता बिधामास् डिजाइनर अफ द इयर पोखरा, काठमाडौं, धरान, इटहरी, बाग्लुङ लगायतको बिधामा अवार्ड प्राप्त गर्ने कार्यक्रम संयोजक गुरुङले बताए । कार्यक्रममा सोको विभिन्न कन्सेप्ट अनुसार फ्ल्यास ब्याग, फ्युचर स्ट्रिक, बाइडल, स्पिरिङ्ग, समर र एथोनिक थिममा १८ जना मोडलहरुलाई प्रस्तुत गरिने फेसन सो कार्यक्रमका कोरियो ग्राफर जयन्ती मोक्तानले जानकारी गराइन। यस्ता खालका फेसन सोस्ले मोडल एवम् डिजाइनरको बिकासलाई पनि सहयोग पुग्ने र भोलीका दिनमा उनीहरुलाई अगाडी बढ्न आत्मविश्वासमा सकारात्मक भुमिका खेल्ने भएकाले आफुहरुले कार्यक्रमको आयोजना गरेको मोक्तानले बताइन् ।
पोखरा: प्रेस क्लब गण्डकीले तीन जना सल्लाहकार चयन गरेको छ । पोखरामा बसेको क्लबको बैठकले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, महासंघकै पूर्व केन्द्रीय सदस्य सुष्मा कुमारी पौडेल र नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनालाई सल्लाहकारमा चयन गरेको मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिए । यसैगरी मञ्चले यहीं चैत्र १३ गते सोमबार ‘कोभिड–१९ पछिको पोखराको रंगमञ्च र अबको बाटो’ शिर्षकमा अन्तरक्रियात्मक छलफल कार्यक्रम गर्ने भएको छ । बिहान ८ बजे पोखरा थिएटरमा आयोजना हुने कार्यक्रमा वक्ताको रुपमा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ जसमाया गुरुङ जसु, पोखरा थिएटरका अध्यक्ष परिवर्तन, इन्दे्रणी थिएटरका अध्यक्ष केदारनाथ पौडेल रहेका छन् । कार्यक्रमको सहजीकरण पत्रकार राजाराम पौडेलले गर्ने प्रेस क्लब गण्डकीले जनाएको छ । कार्यक्रम पोखरा प्रज्ञा प्रतिष्ठान र पोखरा थिएटरसँगको सहकार्यमा हुन लागेको हो । यस अगाडि प्रेस क्लबले ‘स्ववियु आवश्कता र औचित्य’ विषयक अन्तक्रिया कार्यक्रम समेत आयोजना गरेको थियो । प्रेस क्लव गण्डकीको हालै प्रथम अधिवेशनले एकराज गिरीको अध्यक्षतामा कार्यसमिति चयन गरेको थियो । जसको उपाध्यक्षमा राजाराम पौडेल, सचिवमा गौरव त्रिपाठी, कोषाध्यक्षमा राजु गिरी र सहसचिवमा दीपा पौडेल भण्डारी छन् । कार्यसमिति सदस्यमा आशिष पुरी र संकल्प ढुंगाना छन् ।
पोखरा: नेत्र ज्योति संघको आयोजना र नेपाल पत्रकार महासंघको समन्वयमा एक दिने निःशुल्क आँखा शिविर पत्रकार महासंघ कास्किको परिसरमा हुने भएको छ । नेपाल पत्रकार महासंघको ६७ औ स्थापना दिवस र नेत्रज्योति सङको ४५ औ स्थापना दिवसको उपलक्षमा चैत्र १३ गते देशका सातै प्रदेशमा रहेका पत्रकारहरुका लागि निशुल्क शिविर आयोजना गर्ने समझदारी बमोजिम गण्डकी प्रदेशको लागि पोखरामा चैत्र १३ गते सोमबार बिहान ८ बजे देखि १२ बजेसम्म सिविर आयोजना गरिने तय भएको छ । शिविरमा आँखा जाँच गराउने पत्रकारहरुको लागि आवश्यक परेमा चस्मा देखि शल्यक्रिया समेत निशुल्क गरिने ब्यबस्था मिलाइएको नेत्रज्योति सङ कास्किका अध्यक्ष कृष्ण बहादुर गुरुङले बताए । “हाम्रो कर्तब्य हाम्रो जिम्मेवारी आँखा सेवामा साझेदारी ” नारालाइ सार्थकता प्रदान गर्दै सामाजिक उत्तरदायित्वको भुमिका निर्बाह गर्न राष्ट्रको चौथो अङको रुपमा रहेको पत्रकारहरुका लागि शिविर सन्चालन गर्ने केन्द्रको नीति निर्देशन बमोजिम पोखरामा हिमालय आँखा अस्पतालले जिम्मेवारी पाएको नेत्रज्योति संघ कास्कीका सचिब सुरेन्द्र थापाले बताए । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको सयोजन र नेत्रज्योति संघ अन्तर्गत रहेको हिमालय आँखा अस्पतालको आयोजनामा हुने शिविरको तयारी पूरा भएको पत्रकार महासंघ गण्डकी प्रदेश समितिका सचिव यदुनाथ बन्जाराले बताए ।
काठमाडौँ: नवनियुक्त प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो ‘भीष्म प्रतिज्ञा’ भएको बताएका छन् । गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन समारोहमा कुँवरले भने–‘आन्तरिक शुद्धीकरण मेरो भीष्म प्रतिज्ञा हो, त्यसबाट म किञ्चित पनि डगमगाउने छैन ।’ प्रहरी कस्तो छ भनेर लुकाउनुपर्ने अवस्था नभएको कुँवरले बताए । ‘प्रहरी समाजकै अङ्ग हो, त्यसैले राम्रा नराम्रा सबै समाजका पात्र नै आउने हुन्’ आईजीपी कुँवरले भने–‘यहाँ सुधार आवश्यक छ, अब बाटो बिराएकाहरू सुध्रिनुको विकल्प छैन ।’ विधिको शासन र मानव अधिकारको प्रत्याभूति गराउन प्रहरी उच्च सतर्कताको साथ परिचालित भएको उल्लेख गर्दै नवनियुक्त आईजीपी कुँवरले प्रहरीको व्यावसायिक सक्षमतालाई अभिवृद्धि गरिने बताए । प्रहरीको वृत्ति विकासमा अवसरको पहुँचमा निष्पक्षता कायम गर्ने कुँवरले दाबी गरे । ‘यहाँ सुधार आवश्यक छ’ कुँवरले भने–‘ अब त्यसका लागि दिन गनेर बस्ने अवस्था छैन ।’ अनुचित प्रभाव र दबाबका सामु कहिल्यै सम्झौता नगर्ने कुँवरले बताए ।
बुटवल: लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)मा मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए । लुम्बिनी प्रदेश सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेका छन् ।
पोखरा: ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, क्षेत्रीय कार्यालय, नयाँबजार पोखराले साइमन पार्टि प्यालेश पोखराको जाल्पा हलमा वरिष्ठ राजयोगी ब्रह्माकुमार राजु घले ज्यूको प्रशिक्षण रहेको “मानसिक शान्ति एवम् खुसियाली जीवनका लागि राजयोग शिविर“ विषयक पाँच दिवसीय राजयोग प्रशिक्षण कार्यक्रमको समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । दिनमा तिनवटा सत्र सञ्चालन हुने उक्त कार्यक्रमको जाल्पा हलमा सम्पन्न भएको प्रभातकालीन सत्रका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री माननीय पञ्चमान गुरुङ ज्यूले आध्यात्मिकता प्रतिको आफ्नो गहिरो रुचि र झुकाव प्रकट गर्दै वर्तमान युगमा बिज्ञानको सहायताबाट अकल्पनीय विकासका काम सम्भव भएतापनि आध्यात्मिकता बिना त्यो अधुरो रहने र मानवमनलाई शान्त र स्थिर बनाउनका लागि मेडिटसन तथा योग अभ्यास अपरिहार्य रहणै कुरामा जोड दिनुभयो । यस प्रशिक्षण कार्यक्रम पोखरेलीहरुका लगि पक्कै नै उपलब्धीमूलक रहने तथा उपस्थित हुने प्रशिक्षार्थीहरु सबैको जीवन परिवर्तन गर्ने माध्यम बन्नेछ भन्ने कुरामा आफु विश्वस्त रहेको बताउँदै माननीय मन्त्रीले कार्यक्रमको सफलताको शूभकामना व्यक्त गर्नुभयो । जीवनमा धन सम्पत्ती मान सम्मान जति कमाए पनि मनको शान्ति र खुशी भएन भने त्यो सबै अर्थहिन रहको बताउँदै ब्रह्माकुमारीज नेपालका अध्यक्ष राजयोगिनी परिणीता दिदी ज्यूले आज मानवमन अपवित्र र अशान्तमय हुँदै गइरहेको कारण अन्तर्मनमा लागेका क्रोध, लोभ, मोह, अभिमानका दागहरु भएको कुरा बताउनुभयो । दिदी ज्यूले शान्तिको हरेकलाई आवश्यकता हुनुको कारण शान्ति नै सबै मानवआत्माको ओरिजिनल संस्कार रहेको तथा जीवन यात्रा गर्ने क्रममा मनमा लागेको ती फोहोर दाग सफा गर्नको लागि यस्ता महत्वपूर्ण प्रशिक्षणहरु जीवनपरिवर्तनका माध्यम हुन सक्ने भएकोले यो अनमोल अवसर नगुमाउन वहाँले सबैलाई आग्रह गर्नुभयो । स्वागत मन्तव्य व्यक्त गर्ने क्रममा संस्थाका महासचिव राजयोगी ब्रह्माकुमार शैलेषराज बराल ज्यूले वर्तमान तनावयुक्त माहोलमा सुखमय र शान्त जीवन बाँच्नका लागि हरेकले आध्यात्मिक पुरुषार्थ तथा अन्तरमनको शुद्धिकरणमा मा सजग रहनुपर्ने बताउनुभयो । मानिसले आज जीवनमा सुख वा दुख जे कुरा भोगिरहेको छ, त्यो कही न कही आफ्नै सोचको उपज हो भन्ने कुरामा जोड दिदै वहाँले भूतकालका घटनाका स्मृती र भावीको चिन्ता गर्नाले आज समाजमा तनाव र दुख बढ्दै गएको बताउनुभयो । प्रकृतिका तत्वहरु, आफ्नो जीवन, परिवार र समाजप्रति न्याय गर्नका लागि हरेक दिन केही समय आध्यात्मिक पुरुषार्थमा लाग्न जरुरी रहेको तथा यस कार्यक्रममा प्रशिक्षक राजु घले ज्यूबाट प्राप्त जिवन उपयोगी महत्वपूर्ण टिप्सहरुलाई जीवनमा चिन्तन, मनन र धारण गरेर आफ्नो जीवनमा पूर्णतया खुसी र आनन्द ल्याउन पनि उहाँले आग्रह गर्नुभयो । पाँच दिवसीय कार्यक्रमका ओजस्वी प्रशिक्षक ब्र। कु। राजु घले ज्यूले कार्यक्रमको शुभकामना मन्तव्य दिनका साथै प्रथम सत्रमा अति नै उत्साहपूर्वक प्रशिक्षार्थिहरुका लागि जीवन खुशीयाली बनाउने तरिकाका साथै राजयोगको गहन ज्ञानलाई सरल, व्यवहारिक र वैज्ञानिक प्रस्तुती प्रदान गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथि पोखरा विश्व विद्यालय व्यवस्थापन संकायका डिन दयाराज ढकाल ज्यू लगायत विभिन्र समाजसेवी राजनितिज्ञ, नेतृत्व पंक्तीमा रहेका महानुभावहरु, विभिन्न सघं संस्थाका प्रतिनिधिहरु, ब्रहमाकुमारीज शाखा, उपशाखाका सञ्चालिका दिदी बहिनीहरु सहित करिव पाँचसय जनाको उपस्थिति रहेको थियो । तीन सत्र मध्ये मध्याकालीन सत्र पोखरा १५ शिवचोकमा रहने उक्त कार्यक्रमको कुशलतापूर्वक सञ्चालन राजयोगिनी ब्रह्माकुमारी शोभा दिदी ज्यूले गर्नुभएको थियो ।