झापा : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा आउँदैछन्। जिल्लामा तीन दर्जन बढि आवास भवनको उद्घाटन गर्न अध्यक्ष ओली झापा आउन लागेका हुन्। उनी दिउँसो १ बजे झापा आउने कार्यक्रम तय भएको छ। उनले भोलि मेची सहकारी संस्थाले दमक २ मा निर्माण गरेका ४३ वटा आवास भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। भोलि नेकपा एमाले झापाले आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी भएर अध्यक्ष ओली काठमाडौं फर्किनेछन्।
काठमाडौं : सुनको मूल्य आज १२ सय रुपैयाँले बढेको छ। अघिल्लो कारोबार दिन बुधबार दुई हजारले घटेर प्रतितोला सुन १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १२ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ९ हजार रूपैयाँ कायम भएको हो। तेजाबी सुनको मूल्य १ लाख ८ हजार ५०० तोकिएको छ। सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। यसदिन चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी तोलाको १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।
गण्डकी: पोखरा विश्वविद्यालयको शिक्षण अस्पतालले आगामी वैशाखदेखि आकस्मिक सेवा सुरु गर्ने तयारी गरेको छ । विसं २०७९ भदौ २२ गतेदेखि ओपिडी सञ्चालन गर्दै आएकामा अस्पताललाई पूर्णरूपमा सञ्चालन गर्ने तयारी गर्दै आकस्मिक सेवा सञ्चालन गर्न लागिएको हो । पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन डा अमर नागिलाले शिक्षण अस्पताल सञ्चालनको सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिवको संयोजकत्वमा गठित वातावरणीय अध्ययन प्रतिवेदन जाँचबुझसम्बन्धी प्राविधिक समितिलाई विश्वविद्यालयले शिक्षण अस्पतालको वातावरणीय परीक्षण प्रतिवेदन प्रस्तुत गरिसकेको र मन्त्रालयले त्यसको चाँडै टुङ्गो लगाउने उहाँले बताउनुभयो । “मन्त्रालयले काम गर्दै गर्नुस् भनेको छ, तर सञ्चालन अनुमतिपत्र पाएपछि एक सय शय्याको अस्पतालको रूपमा हामी पूर्णरूपमा सेवा दिन्छौँ”, उहाँले भन्नुभयो । पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक डा दीपेन्द्रकुमार यादवले अस्पताल सञ्चालनका लागि जनशक्ति व्यवस्थापन भइसकेको र आवश्यक फर्निचर तथा उपकरणको यथेष्ट व्यवस्थापन गरी वैशाखको पहिलो हप्तादेखि आकस्मिक सेवा सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । विश्वविद्यालयका इन्जिनियर सुदीप अधिकारीले अस्पतालको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको बताउनुभयो । पोखरा विश्वविद्यालय शिक्षण अस्पताल पोखरा महानगरपालिका–३०, खुदी, ढुङ्गेपाटनमा अवस्थित पोखरा विश्वविद्यालय प्राज्ञिक भवन कम्प्लेक्सको पूर्वपट्टि रहेको ११ रोपनी तीन आना जग्गामा निर्माण गरिएको छ ।
नयाँ दिल्ली: सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दैआएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह गर्नुभएको छ । नयाँ दिल्लीमा आज बुधवार भएको भारतीय समकक्षीसँगको द्विपक्षीय बैठकमा उहाँले सो आग्रह गर्नुभएको हो । ‘नेपाल र भारतबीच टेलिफोन दरमा ठूलो असमानता छ, भारतमा बसोबास गर्ने नेपालीले नेपालमा टेलिफोन गर्दा अत्यधिक शुल्क लाग्नेगरेको गुनासो छ’ मन्त्री शर्माले भन्नुुभयो, ‘दुबै देशबीच रहेको टर्मिनल चार्जमा पुनरावलोकन गरी सुलभ महसूल दरमा सेवा उपलब्ध गराउनुपर्छ ।’ नेपाल र भारत नजिकका छिमेकी राष्ट्र भएकाले दूरसञ्चार सेवामा बेलाबखत अन्तरदेशीय अवरोध हुने र कतिपय अवस्थामा नेपालको भित्री भागसम्म पनि भारतीय मोबाइल सेवा उपलब्ध हुने गरेकोप्रति ध्यानाकर्षण गराउँदै मन्त्री शर्माले भन्नुुभयो, ‘यसमा दुवै देशका सेवा प्रदायक र नियामक निकाय सजग हुनुपर्ने देख्छु ।’ त्यस्तै, सञ्चारमन्त्री शर्माले भारतीय टेलिभिजन च्यानलहरू नेपालमा सहजै प्रसारण हुने तर नेपाली च्यानलहरू भारतमा प्रसारण हुन कठिन रहेकोतर्फ पनि भारतीय पदाधिकारीको ध्यानाकर्षण गराउनुभयो । मन्त्री शर्माले भन्नुुभयो, ‘भारतमा नेपालीभाषीको ठूलो सङ्ख्या रहेकाले नेपाली च्यानलहरूको सहज प्रसारण हुने वातावरण मिलाइदिन म आग्रह गर्छु ।’ विशेषतः नेपाली च्यानल भारतमा डाउनलिङ्क गर्दा अत्यधिक शुल्क लाग्ने भएकाले यो सम्भव नभएको हुँदा यसमा भारतीय सरकारबाटै विशेष निर्देश हुनुपर्ने उहाँको भनाइ छ । प्राकृतिक सौन्दर्य र संस्कृतिको धनीमुलुक नेपाल चलचित्र छायाङ्कनका लागि अत्यन्त उपयुक्त स्थल भएकोतर्फ ध्यानाकर्षण गराउँदै मन्त्री शर्माले भन्नुुभयो, ‘यस सन्दर्भमा नेपालमा अत्याधुनिक छायाङ्कन स्टुडियो निर्माण गर्न भारतीय लगानीकर्तालाई उत्प्रेरित गरिदिन पनि उहाँले आग्रह गर्नुभयो । नेपालमा ‘चलचित्र नगरी’ निर्माण गर्न लगानी गरी लगानीकर्ताले उचित प्रतिफल प्राप्त गर्न सक्छन् उहाँले भन्नुभयो । नेपालमा दक्ष जनशक्ति उत्पादन गर्न भारत सरकारले लामो समयदेखि विभिन्न विषयमा छात्रवृत्ति उपलब्ध गराउँदैआएको र अहिले पनि नेपाललाई सूचना प्रविधिका क्षेत्रमा थप दक्ष जनशक्ति आवश्यक परेको उहाँले चर्चा गर्नुभयो । शैक्षिक कार्यक्रममा नेपाललाई सहयोग गर्न पनि उहाँले भारत सरकारसँग अनुरोध गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । यसैगरी सूचना प्रविधि र साइबर सुरक्षाको क्षेत्रमा मध्यम र छोटो अवधिको तालिममा समेत नेपालबाट अधिकाधिक सहभागिता हुने वातावरण बताइदिन उहाँले आग्रह गर्नुभयो । ‘सूचना प्रविधिको विकाससँगै यस क्षेत्रको जोखिम पनि बढ्दैगएको छ । साइबर सुरक्षा प्रमुख चुनौतिको रूपमा देखापर्न थालेको छ’ बैठकमा मन्त्री शर्माले भन्नुुभयो, ‘यसका लागि हामी दुई मुलुक मिलेर अघि बढ्नुपर्ने आवश्यकता मैले महसूस गरेको छु ।’ आपसी सूचना, अनुभव र अभ्यास आदानप्रदान गर्ने दिगो संयन्त्र तयार गरी क्षमता विकास गर्दै साइबर सुरक्षालाई मजबुत बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । रेडियो नेपाल र अल इण्डिया रेडियोबीच एक अर्काका विषयवस्तु प्रसारण गर्नेलगायतका विषयमा समझदारी गर्नेगरी तयारी भएको आफूूले बुुझेको उहाँले बताउनुभयो । मन्त्री शर्माले समझदारीपत्रको मस्यौदामा नेपालको प्राविधिक टीमले अध्ययन गरिरहेको र छिट्टै यो विषय निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । अन्तर्राष्ट्रिय दूरसञ्चार संघको क्षेत्रीय कार्यालय भारतमा उदघाटन हुनुुले यस क्षेत्रको दूरसञ्चारसम्बन्धी क्रियाकलापमा थप मद्दत पुग्ने अपेक्षा व्यक्त गर्दै उहाँले सूचना प्रविधिको तीब्र विकास भइरहेको यस युगमा यो कार्यालय नयाँदिल्लीमा स्थापना गर्न सफल भएकोमा भारत सरकारलाई बधाई दिनुुभयो । ‘यहाँलाई अवगत नै छ नेपाल एक भूपरिवेष्ठित राष्ट्र हो । समुद्रसम्मको हाम्रो पहुँचलाई भारत सरकारले रेल तथा सडक यातायातबाट सहज बनाइदिएको छ । यसका लागि म धन्यवाद दिन्छु’ मन्त्री शर्माले थप्नुभयो, “सूचना प्रविधिको उपयोगलाई थप सहज र सुलभ बनाउन समेत सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दछु । विशेषतः नेपालले अन्तर्राष्ट्रिय ब्याण्डवीथ प्राप्त गर्न सक्षम हुनेगरी सबम्यारिन केवलसम्मको पहुँच सुनिश्चित गर्न भारतले सहयोग गरोस् भन्ने मेरो आग्रह छ ।” हाल नेपालले भारतका सेवा प्रदायकमार्फत् इन्टरनेट ब्याण्डवीथ प्राप्त गर्नेगरेको स्मरण गराउँदै उहाँले नेपालले प्राप्त गर्ने ब्याण्डवीथमध्ये ८० प्रतिशत एकै बिन्दु (भैरहवा–सुनौली) बाट मात्र आइरहेकाले भारतीय सेवा प्रदायकहरूलाई वैकल्पिक रुटबाट समेत ब्याण्डवीथ उपलब्ध गराउन सहजीकरण गरिदिन आग्रह गर्नुभयो । भारतले मोबाइल सेवामा फाइभजी प्रविधि भित्र्याएको हुँदा सोको कार्यान्वयनको अवस्था र उपयोगका सम्बन्धमा अनुभव नेपालका लागि पनि लाभदायी हुनसक्ने महसुुस गरेको उल्लेख गर्दै मन्त्री शर्माले यस सम्बन्धमा प्राविधिक तहमा कुरा अगाडि बढाउन सकिने बताउनुुभयो । भारत सरकारले नेपाललाई स्याटेलाइट उपयोग गर्न प्रस्ताव गरेकोमा धन्यवाद दिंदै उहाँले यसको प्राविधिक र सञ्चालन लागतका बारेमा थप अध्ययनगरी निस्कर्षमा पुग्ने जानकारी दिनुुभयो ।
पोखरा: अनलाइन पत्रकार संघ गण्डकीको आयोजनामा आगामी बैशाख २ गतेदेखि ४ गतेसम्म अनलाईन पत्रकारिता तालिम सञ्चालन हुने भएको छ । गणेश बरालको अध्यक्षतामा नवनिर्वाचति कार्यसमितिको बुधबार बसेको बैठकले पोखरामा अनलाईन पत्रकार संघ गण्डकीमा आवद्ध संचारकर्मी, पत्रकार र सम्पादकहरुलाई लक्षित गरि तालिम सञ्चालन गर्ने निर्णय गरेको हो । साथै कास्की जिल्लामा रहेर अनलाईन सम्बद्ध पत्रकार, संचारकर्मीहरुलाई संघमा समेट्ने नीति अवलम्बन गर्ने निर्णय अनुसार नयाँ सदस्यता आह्वान गर्न निर्णय गरिएको अनलाईन पत्रकार संघ गण्डकीका सचिव प्रल्हाद चन्द्र घिमिरेले जानकारी दिनुभयो । कास्की जिल्लामा अहिले ९३ अनलाईन दर्ता भएर सञ्चालनमा रहेपनि ५२ जनामात्रै संघमा सदस्य रहेको कारण सबैलाई समेट्ने उद्देश्यले चैत मसान्तभित्र नयाँ सदस्यता वितरण गर्ने निर्णय गरेको हो । दर्ता भएका अनर्लाइनसम्बद्ध पत्रकार र संचारकर्मीलाई संघको नियमानुसार सदस्यता वितरण गर्ने र सदस्यहरुलाई तालिममा सहभागि गराइने उहाँको भनाई छ । सदस्यता लिन https://ojag.org.np/ मा गएर लगइन गरि अनलाईनबाट सदस्यता फारम भर्न सकिने संघका अध्यक्ष बरालले बताउनुभयो । विधिवत दर्ता भएर संचालनमा रहेका अनलाइनका संचारकर्मी, पत्रकारहरुलाई संघमा आवद्द हुन अध्यक्ष बरालले अनुरोध गर्नुभएको छ । त्यस्तै बैठकले समितिको सल्लाहकारमा सागरराज तिमिल्सिना, प्रकाश ढकाल, केशव पाठक, रञ्जन अधिकारी, कमल सुवेदी र सन्देश श्रेष्ठलाई चयन गरेको छ । बैठकले संघको तेश्रो साधारसभा र दोश्रो अधिवेशन सम्पन्न गरि नयाँ कार्यसमिति चयन गर्न भुमिका खेलेका निवर्तमान कार्यसमिति, निर्वाचन समिति लगायत सम्पुर्ण सरोकारवालाहरुमा धन्यवाद ज्ञापन गरेको छ ।
काठमाडौं: व्हीलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली बिहीबार भारतको गुजरात प्रस्थान गर्ने भएको छ । हिमाल अर्यालको कप्तानीमा रहेको टोलीको अन्य सदस्यमा रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोमनाथ राई, फणिनारायण पौडेल, रमेश खत्री, बरुण बुढा मगर र राजु कट्वाल रहनु भएको छ । प्रशिक्षकमा भरतकुमार कार्की हुनुहुन्छ । टोली प्रमुखमा नेपाल पारालिम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला तथा अफिसियलमा महासचिव प्रकाश चिलवाल हुनुहुन्छ । मार्च २३ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंका गरी ४ राष्ट्रको सहभागिता रहने छ । चार टिमबीच राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । लिगमा शीर्ष २ स्थान हात पार्ने टिमले पुनः उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले मार्च २४ मा श्रीलंका, मार्च २५ मा भारत र मार्च २७ मा बंगलादेश विरुद्ध राउन्ड रोविन लिगमा प्रतिस्पर्धा गर्नेछ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।
पोखरा: विष्णु नेपाली पोखरा महानगरपालिकाका १६ का निवर्तमान वडासदस्य हुन् । ‘धार्मिक क्षेत्र मास्न पाइँदैन, गैरकानुनी सिफारिस गर्न पाइँदैन’ भन्ने प्लेकार्डसहित धर्ना बस्नु उनको दैनिकी बनेको छ । पोखराको याम्दीदेखि अर्मलाकोटसम्मका मध्यपहाडी लोकमार्गका जग्गाधनीहरुले विगत सात महिना यता निरन्तर आन्दोलन गर्दै आएका छन् । त्यसकै प्रतिनिधि पात्र हुन् वडा सदस्य नेपाली । पोखरा १६ का निवर्तमान वडाध्यक्ष जीवन आचार्यले वडाभित्र पर्ने पुष्पलाल मध्यपहाडी राजमार्गको सम्पूर्ण भेगको लागि आवश्यक पर्ने अर्मलाकोट देखि याम्दी सम्मको जग्गामा कुनै विवाद नभएको र मुआब्जा दिन नपर्ने भन्दै सिफारिश गरेकोमा उनहिरुको आपत्ति छ । क्षतिपूर्ति समेत न्यून तोकिएको र राजमार्गको निर्माणको लागि वडाको सबैको सहमति रहेको भन्दै आचार्यले राजमार्ग बनाउन सिफारिस गरेपछि स्थानीयहरु आन्दोलित भएका हुन् । राजमार्ग रेखाङ्कन भएको खण्डमा महेन्द्र गुफा, चमेरे गुफा लगायतका धार्मिकस्थल भएको र स्थानीयलाई बढी क्षति पुग्ने भन्दै स्थानीयहरुले राजमार्गको वैकल्पिक मार्ग रेखाङ्कनको माग गर्दै वडा कार्यालयमा दैनिक २ घण्टा ताला लगाएर धर्ना बस्न थालेका हुन् । वडासदस्य नेपालीले भनिन् ‘वडाध्यक्षले वडाका सदस्यहरुलाई समेत जानकारी नदिई रेखाङ्कन गर्न लगाउनु नै त्रुटि भयो, हामी सबैलाई मर्का परेको छ ।’ उनले तत्कालिन वडाध्यक्ष आचार्यले त्रुटि गरेको भन्दै हालका जनप्रतिनिधिहरुले राजमार्ग रेखाङ्कनको विकल्प खोज्न जरुरी रहेको बताइन् । कास्कीको मादी गाउँपालिकाअन्तरगत भैसे ज्यादु, मेलबोट, पानीघाट, आँटीघर, कालिखोला पुल, अमला बिसाउनी लामाचौर, जौंबारी र याम्दी पुलसम्म मध्यपहाडी राजमार्ग ३५ दशमलव ५ किलोमिटरको नयाँ रेखाङ्कन भएको छ । ०७७ फागुन ८ गते तत्कालिन गण्डकी प्रदेश सभा सदस्य मनबहादुर गुरुङ, पोखरा महानगर प्रमुख मानबहादुर जिसी, मादी गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ लगायतको संयुक्त बैठकले पोखरा महानगरपालिका १३, १२, ११ र १६ हुँदै निर्माणकार्य अगाडि बढाउँदा धेरै संरचनामा लगायत नागरिकहरु घरवारविहीन हुने भन्दै पुनः नक्साकन गर्न सिफारिस गरेको थियो । सयुक्त बैठकले मादी गाउँपालिकाको भैसे पुलदेखि उत्तर बेतयानी, ज्यादु पुल, वडा नम्वर ३ देखि ७ वडा हुँदै गिड मेलबोट पानी घाट, गिउजेखोला हुँदै पोखरा २० सिमानादेखि घ्यापू काफल डाडा, मोहरिया आटीघर कुरागाउँ हुँदै अर्मलाकोट, अर्मलाटारी ¥याले हुँदै महेन्द्र गुफा अमलाबिसौनी, पोखरा महानगरपालिका लामाचौर हुँदै निर्माणाधिन सेती पुलको उपयुक्त हुने रेखाङ्कन सिफारिस गरेको थियो । नेपाल सरकारको मन्त्रिपरिषद्को २०७७ फागुन २६ को बैठकले सोही विस्तृत परियोजना प्रतिवेदनलाई आधार मान्दै भैंसे, ज्याम्दु, मेलबोट, पानीघाट, आँटीघर, अर्मलाकोट, कालीखोला पुल, अमला बिसौनी, लामाचौर, जौबारी हुँदै याम्दी पुलसम्मको ३५ दशमलव ५ किलोमिटर सडक रेखांकन पास गरेको थियो । पोखरा महानगरपालिका १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले विवाद भएको क्षेत्रमा आयोजना कार्यालयले तत्काल काम अगाडि बढाउन नसकिने पत्र पठाएको बताए । ‘यो संघीय सरकार मातहतको राष्ट्रिय गौरवको आयोजना हो, रेखाङ्कनको विषय मन्त्रीपरिषदको बैठकले टुङ्गाउँला, हामीले सहजीकरण गछौं निकास चाहिँ संघले दिनुपर्छ’ तिमिल्सिनाले भने, ‘आयोजना क्षेत्र विवादित भएपछि कार्यालयले विवादित क्षेत्रमा काम अगाडि नबढाउने पत्र पठाएको छ ।’ पुष्पलाल मध्यपहाडि राजमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले पोखरा १६को ५ सय मिटर आयोजना क्षेत्र विवादित भएको बताए । ‘पोखरा महानगरपालिका १६ को कालीखोलादेखि महेन्द्र गुफासम्म विवादित क्षेत्र हो, विवादित क्षेत्रमा काम गदैनौ भनेर महानगरमा पत्राचार गरेका छौं, भण्डारीले भने, ‘५ सय मिटर जति होला विवादित, विशेष गरी ३ सय मिटर भित्र व्यक्तिको जग्गा पर्छ भन्ने गुनासो आएको छ ।’ उनका अनुसार मादीको भैसेदेखि याम्दीसम्म राजमार्ग आयोजना कार्यालयले स्वच्छन्द एपेक्स जेभीलाई ३५ दशमलव ५ किलोमिटर खण्डको निर्माण गर्न ३ अर्ब ४२ करोड रुपैयाँमा ३ वर्षभित्र सक्ने गरी जिम्मा दिएको छ । पोखरा महानगरपालिका १६ को आयोजना क्षेत्रमा विवादित भएपनि मादीको भैसेतर्फ भने काम भइरहेको राजमार्ग पर्वतका प्रमुख भण्डारीले जानकारी दिए । यस विषयमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ०७९ पुस ९ गते सडक रेखांकन तथा टेण्डर प्रक्रिया रोक्न र विकल्पको खोजी गर्न भन्दै पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय काठमाडौंलाई पत्राचार गरेका थिए ।
काठमाडौँ: सरकारी कार्यालयहरूको कागजात, छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरेर झुट्टा लिखत तथा नक्कली सिफारिस तयार गरी गैर नेपाली व्यक्तिहरूको नेपाली नागरिकता बनाइदिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले बबरमहल क्षेत्रमा सक्रिय रहेको सो समूहका पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाका ४७ वर्षीय कृष्णबहादुर कटुवाल, काठमाडौँका ७० वर्षीय न्युल्केश श्रेष्ठ, मोरङका ४९ वर्षीय हिरालाल शिवाकोटी, तनहुँका २५ वर्षीय लोब्साङ ठिन्ले र ललितपुरका ३० वर्षीय विजय लामा रहेका छन् । उनीहरूलाई पक्राउ गरी नागरिकता ऐन तथा लिखत सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ । कार्यालयको विशेष अनुसन्धान टोलीले खोजतलास गर्ने क्रममा गत चैत ५ गते दिउँसो बबरमहलबाट उनीहरूलाई विभिन्न व्यक्तिहरूको नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्रहरू, सवारी चालक अनुमति पत्र, जन्मदर्ता, बसाइसराई, विवाह दर्ता, सम्बन्ध विच्छेद जस्ता वडा कार्यालयको सिफारिस लगायतका महत्त्वपूर्ण अन्य विविध कागजातहरू, किर्ते गर्न प्रयोग हुने वडा कार्यालयहरूको छाप तथा दस्तखत, नक्कली कागजात पेस गरी बनाइएको गैर नेपालीले प्राप्त गरेको सक्कलै नागरिकतासहित पक्राउ गरेको थियो । पक्राउ परेका कृष्णबहादुर कटवालले विगत १० वर्षदेखि लाइसेन्स र दर्ता विना नै लेखापढी गर्ने कार्य गर्दै आएको खुलेको छ । कटवाल यस अघि पनि किर्ते र ठगी मुद्दामा सजाय पाइसकेको व्यक्ति भएको पाइएको छ । उनले हिरालाल सिवाकोटी समेतको सहयोगमा विभिन्न व्यक्तिहरूको नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्रहरू, सवारी चालक अनुमति पत्र, जन्मदर्ता, बसाइसराई, विवाह दर्ता, सम्बन्धविच्छेद जस्ता वडा कार्यालयको सिफारिस लगायतका महत्त्वपूर्ण कागजात, छाप तथा दस्तखत किर्ते गर्दै आएका थिए । कटवालले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट गैरनेपाली विशेषगरि तिब्बती शरणार्थीहरूको सक्कलै नेपाली नागरिकता बनाउने क्रममा विभिन्न व्यक्तिहरूलाई नक्कली बाबुको रूपमा उपस्थित गराई सनाखत गराउने गरेको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए । राठौरका अनुसार उनीहरूले न्युल्केश श्रेष्ठलाई नक्कली नेपाली नागरिकता बनाई दिन प्रत्येक पटक रु. १० हजार दिई भाडामा नक्कली बाबुको रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उपस्थित गराई सनाखत गर्ने गराउने गरेका थिए । श्रेष्ठले हाल सम्म गैरनेपाली तिब्बती व्यक्तिहरू सोनाम छोडेन, टासी शेर्पा, यशोदा शेर्पा, नाम्से शेर्पा लगायतको सक्कलै नागरिकता बनाउन नक्कली बाबु बनी सहयोग गरेको खुलेको छ । त्यसरी किर्ते कागजात तयार गरी गैर नेपाली सक्कली नेपाली नागरिकता दिलाउन कटवालले प्रति व्यक्ति रु. ३ देखि ५ लाखसम्म रकम लिने गरेका थिए । पक्राउ परेका अर्का व्यक्ति विजय लामा विगत ९ वर्ष देखि जिल्ला प्रशासन कार्यालयको क्यान्टिनमा काम गर्दै आएको र जिल्ला प्रशासन कार्यालय काठमाडौँ भित्र मिलाउनु पर्ने सबै कामको जिम्मा लिने गरेको राठौरले बताए । लामाले भित्र मिलाउनुपर्छ भन्दै कटवालसँग प्रति नागरिकता रु. १ लाख ५० हजार सम्म लिने गरेका थिए तिब्बती शरणार्थी क्याम्पमा बस्दै आएका लोब्साङ ठिन्लेले फागुन ३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट लोब्साङ ठिन्ले गुरुङको नामबाट नेपाली नागरिकता लिएको देखिएको छ । यस्तै गरी नागरिकता लिएका अन्य २५-३० जनाको सक्कलै नागरिकता प्राप्त भएको देखिएकाले त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कटवालले मात्रै ५/६ वर्षको अवधिमा झण्डै ५०० भन्दा व्यक्तिलाई यस्तै प्रक्रियाबाट नागरिकता दिलाएको र यस्तो कार्यमा कटवालजस्तै अन्य ४/५ जना व्यक्ति पनि सक्रिय रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसरी गैरनेपाली तिब्बती शरणार्थी लगायतलाई सक्कलै नेपाली नागरिकताको प्रमाणपत्र दिलाउने कार्यमा सक्रिय गिरोहलाई प्रलोभनमा परि सहज तवरले नागरिकता उपलब्ध गराएको आशंकामा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा कार्यरत पूर्व तथा बहालवाला कर्मचारीहरूमाथि समेत आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
भक्तपुर: भक्तपुर अस्पतालले ३० वर्षमाथिका नागरिकका लागि निःशुल्क पूर्ण स्वास्थ्य परीक्षण (होलबडी) सेवा सुरु गरेको छ । मानिसमा नसर्ने रोगको पहिचान गर्ने लक्ष्यका साथ स्वास्थ्य परीक्षण सुरु गरिएको हो । बागमती प्रदेश सरकारको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत हालसम्म स्वास्थ्य परीक्षण नगराएका तथा कुनै रोग लागेको छ वा छैन भन्ने थाहा नपाएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य परीक्षण गर्न लागिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले बताइन् । उनका अनुसार रोगको पहिचान गरी निदान गर्ने उद्देश्यले उक्त कार्यक्रम लागू गरिएको हो । प्रदेश सरकारले अस्पताललाई रु २५ लाख उपलब्ध गराएको उनले जानकारी दिइन् । अस्पतालले एक दिनमा बढीमा १० जनासम्मको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको डा गौतमले बताइन् । सेवा लिनका लागि जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहको सिफारिसमा अस्पतालले बागमती प्रदेशभित्रका बासिन्दाको निःशुल्क स्वास्थ्य परीक्षण गर्नेछ । निजी अस्पताल वा क्लिनिकमा पूर्ण स्वास्थ्य परीक्षण गर्दा महँगो हुने भएकाले अस्पतालबाट उपलब्ध निःशुल्क सेवा लिन अस्पताल विकास समितिका अध्यक्ष रमण कायस्थले प्रदेशका बासिन्दालाई आह्वान गरे । अस्पतालले प्रदेश सरकारको सहयोगमा नसर्ने रोग पहिचानका लागि स्वास्थ्य परीक्षण, परामर्श र व्यवस्थापनअन्तर्गत प्यालिएटिभ तथा ज्येष्ठ नागरिक बार्डसमेत स्थापना गरेर सेवा विस्तार गरेको उनले जानकारी दिए । प्रदेश सरकारको रु १५ लाखको सहयोगमा हाल दुई शय्या सञ्चालनमा रहेको प्यालिएटिभ केयर सेवा पाँच शय्यामा विस्तार गर्ने तयारी भइरहेको कायस्थले बताए । उनका अनुसार क्यान्सर रोग लागेर अन्तिम अवस्थामा पुगेका बिरामीका लागि यो सेवा सञ्चालन गरिएको हो । साथै ज्येष्ठ नागरिकको उपचारका लागि प्रदेश सरकारको रु १५ लाखको सहयोगमा पाँच शय्याको निःशुल्क स्वास्थ्य उपचार सेवा सञ्चालन गरिएको छ । अस्पतालका मेसु डा.गौतमका अनुसार अस्पतालले अल्जाइमरअर्थात् बिर्सने रोगको निःशुल्क उपचार सेवा सुरु गरेको छ । कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण सर्वसाधारणमा त्रास बढ्नुका साथै अल्जाइमरका रोगी पनि बढेकाले अस्पतालले ‘अल्जाइमर क्लिनिक’मार्फत सेवा प्रदान गरिरहेको उनले बताइन् । डा गौतमका अनुसार मनोचिकित्सक डा सुप्रिया शेरचनसहितको न्यूरो चिकित्सकसहितको टोलीले प्रत्येक दिन बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म सेवा प्रदान गरिरहेको छ । साथै बुधबार पाटन अस्पतालका मनोरोग विशेषज्ञ डा निदेश सापकोटाद्वारा ज्येष्ठ नागरिकका लागि मनोरोग विशेषज्ञ सेवासमेत सुरु गरेको छ । अस्पतालले नियमित न्यूरो ओपिडी सेवा सुरु गरेको छ । पाटन अस्पतालका नसा रोग विभागका प्रमुख एवं विशेषज्ञ चिकित्सक डा.प्रकाश विष्टले भक्तपुर अस्पतालमा आफू जोडिएको बताउँदै भक्तपुर अस्पतालमा न्युरो सर्जरी सेवा विस्तार गरेको जनाए । उनले मुटु सेवा सञ्चालनमा ल्याउनुका साथै १६ शय्याको आइसियु सञ्चालनमा आएदेखि नै बिरामीको चाप रहेको जानकारी दिए । अस्पतालले प्रसूति सेवाअन्तर्गत शल्यक्रिया सेवा विस्तार गरेको छ । लामो समय बेथा लागेर प्रसूति समस्या आएका तथा पाठेघरको शल्यक्रिया गर्दा पिसाब थैलीमा प्वाल परेर पिसाब चुहिने रोग लागेका महिलाका लागि निःशुल्क शल्यक्रियाका लागि अस्पतालले अन्यत्र सिफारिस गर्न सुरु गरेको अस्पतालले जनाएको छ । यहाँबाट रिफर भएका महिलाले शल्यक्रियाका लागि मोडल अस्पताल काठमाडौँ निःशुल्क उपचार सेवा पाउने मेसु डा गौतमले जानकारी दिइन् । त्यस्तै मस्तिष्काघात भएका बिरामीलाई भक्तपुर अस्पतालले मनोमोहन वा वीर अस्पतालमा रिफर गरेपछि त्यहाँ हुने शल्यक्रियामा रु दुई लाखसम्म निःशुल्क उपचारको व्यवस्था गरिएको छ । अस्पतालमा हृदयाघात पहिचान भएका बिरामीका लागि प्रदेश सरकारको सहयोगमा गङ्गालाल अस्पतालमा रिफर गरी रु एक लाख ८० हजार बराबरको उपचार निःशुल्क हुने गरिएको उनको भनाइ छ । अस्पतालमा २४ सैँ घण्टा इसिजी, आकस्मिक सेवा तथा एम्बुलेन्स सेवा सञ्चालित छन् । हाल अस्पतालमा दैनिक सात सय ५० देखि आठ सय बिरामी उपचारका लागि आउने गरेका अस्पताल विकास समितिका अध्यक्ष कायस्थले जानकारी दिए । उनले भने, “अस्पतालमा मेसु डा गौतमले धेरै सुधार गरेसँगै बिरामीको चाप निकै बढेको छ, पछिल्लो समय प्रसूतिलगायतका सर्जरी अस्पतालमै हुन थालेपछि भर्ना भएर उपचार गराउनेको सङ्ख्या बढेको छ ।” कायस्थका अनुसार पछिल्लो समय मुटु, कान, नसारोगलगायत सेवा विस्तार गरिएकाले बिरामीको चाप बढेर गएको हो । हाल अस्पतालमा दैनिक १० वटासम्म शल्यक्रिया हुने गरेको उनले बताए ।