बागलुङ: पर्वतको कुश्मा नगरपालिका-१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ। बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने लामो झोलुङ्गे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका-२ बस्ने १५ वर्षीया अप्सरा खातुनको मृत्यु भएको हो। लामो पुल घुम्न परिवारसहित पुलको पूर्वतर्फ पर्ने अदुवारी पुगेकी खातुन तस्बिर खिच्ने बेला भीरमा खसेकी थिइन्। पुलको पूर्वतर्फको चौरमा राखिएको नेपाल टेलिकमको बोर्ड नजिकै तस्बिर खिच्ने क्रममा चिप्लिएर खातुन भीरमा लडेको पर्वतका प्रहरी प्रमुख मधुसूधन न्यौपानेले बताए। न्यौपानेका अनुसार खातुनलाई अचेत अवस्थामा उद्धार गरिएको थियो। उद्धारपछि उपचारका लागि धौलागिरि अस्पताल पुर्याउँदै गर्दा उनको मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
चितवन : भरतपुर महानगरपालिका-१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अघि बढाउन लागिएको छ। भरतपुर महानगरपालिकाले संघीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषद्बाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउन लागिएको हो। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छिट्टै मन्त्रिपरिषद्बाट निर्णय हुने बताए। धुर्मुस सुन्तली फाउन्डेसनले रङ्शाला निर्माणका क्रममा रकम अभाव भएको भन्दै काम छोडेपछि झन्डै दुई वर्षदेखि रंगशाला अलपत्र अवस्थामा रहेको छ। फाउन्डेसनले विभिन्न व्यक्ति र संस्थालाई रु १८ करोड ४१ लाख भुक्तान गर्न बाँकी रहेको जनाएको छ। भुक्तानी रकम तिर्ने विषयमा समस्या भएकाले काम रोकिएको हो। दाहालका अनुसार भुक्तान दिनुपर्नेलाई सरकारी तवरबाट रकम निकासा गरी भुक्तानी गरेर नयाँ प्रक्रियाबाट रङ्गशालाको काम गर्न लागिएको हो। 'रकम तिर्नुपर्ने नभएको भए पहिले नै काम हुन्थ्यो। तिर्नुपर्ने बाँकी रहेकै कारण काम अघि बढाउन ढिलाइ भएको हो,' उनले भनिन्। खेलकुद मन्त्रालयले तत्कालीन सहरी विकास मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरको संयोजकत्वमा खेलकुद मन्त्रालय र भरतपुर महानगरपालिकाको प्रतिनिधि रहेको समिति गठन गरी अध्ययनसमेत गराएको छ। सो समितिले प्राविधिक र आर्थिक प्रतिवेदन बुझाइसकेको छ। दाहालका अनुसार तिर्नुपर्ने भुक्तानी तिरेर संघीय सरकारले बोलपत्र आह्वान गरी काम अघि बढाउँदैछ। यो रंगशाला यहाँ निर्माणका लागि पहल कदमी गर्नुहुने तत्कालीन चितवन क्षेत्र नं ३ का सांसदसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले प्रधानमन्त्री छन्। जिल्लामा रंगशाला स्थापनाकालदेखि नै उनको पहलकदमी रहेकाले यसलाई टुंगोमा पुर्याउन प्रधानमन्त्री दाहालकोसमेत चाहना रहेको छ। तिर्नुपर्ने भुक्तानीको टुंगो लागेसँगै सकेसम्म यसै आर्थिक वर्षबाट बहुवर्षीय आयोजनाभित्र पारेर काम सुरु हुने प्रमुख दाहालको भनाइ छ। भरतपुर महानगरपालिकाले रंगशाला निर्माणका लागि त्रिभुवन विश्वविद्यालयका नाममा लालपूर्जा रहेर कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० बिघा छ कट्ठा जग्गा उपलब्ध गराएको थियो। निर्माणको समयमा फाउण्डेसनले भुक्तान गर्नुपर्ने बाँकी रकम कहाँबाट तिर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था नभएका कारण समस्या आएको हो। विसं २०७५ माघ १६ गते महानगरपालिका र फाउण्डेसनबीच भएको सहमतिअनुसार निर्माण सम्पन्न गरेर वा स्रोत जुट्न नसके तत्काल हस्तान्तरण गर्ने उल्लेख भएको छ। फाउण्डेसनले निर्माणको ३५ प्रतिशत काम सम्पन्न भएको महानगरपालिकालाई हस्तान्तरण गर्दा जनाएको थियो। फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलका अनुसार निर्माणका क्रममा रु ५७ करोड ९२ लाख खर्च भएको छ। सोमध्ये नगद र जिन्सी गरी रु ३९ करोड ८० लाख उठेको कट्टेलले बताए। रकम तिर्न नसके पछि विसं २०७७ साउनदेखि रंगशाला निर्माणको काम रोकिएको हो। निर्माणका क्रममा सार्वजनिक खरिद ऐनअनुसार काम नभएका कारण सरकारी निकायले भुक्तानी गर्नुपर्ने रकमको जिम्मा लिन कठिन भएकै कारण धेरै समय लागेको हो। महानगरपालिकाले सहमतिविपरीत फाउण्डेसनले भुक्तानी तिर्नुपर्ने अवस्थामा हस्तान्तरण गरेको भन्दै विमती जनाउँदै आएको छ।
काठमाडौँ: त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । त्रिविका ६२ वटा आंगिक क्याम्पस मध्ये केहीबाहेक सबैमा मतदान सकिएको हो । केही क्याम्पसहरूमा आन्तरिक विवादका कारण मतदान रोकिएको छ । ती बाहेक अन्य क्याम्पसहरूमा ५५ देखि ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरणले देखाएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्याक पशुपति अधिकारीले निकै उत्साहजनक रूपमा मतदान सम्पन्न भएको बताए । कहि कतै कुनै अप्रिय घटना नभइकन निर्वाचन सम्पन्न भएको उनको भनाई छ । केही स्थानहरूमा निर्वाचन प्रक्रिया रोकिएको तर, केही दिनभित्रमा सम्पन्न हुने उनको भनाई छ । स्ववियु इतिहासमा पहिलो पटक शान्तिपूर्ण वातावरण स्ववियु निर्वाचन सम्पन्न भएको निर्देशक अधिकारीले बताए । कम मत खसेपनि कुनै पनि अप्रिय घटना नभएको उनको भनाई छ । काठमाडौँ उपत्यकाका केही क्याम्पसहरूमा भने अनेपक्षित मतदान भएको छ । शंकरदेव क्याम्पसमा ३५ प्रतिशत मात्रै मत खसेको छ । त्यस्तै थापाथली, नेपाल ल क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस लगायतका उपत्यकाका नाम चलेका क्याम्पसमा भने अनेपक्षित रूपमा मत खसेको छ । ती क्याम्पसहरूमा निकै कम मत खसेको हो । आंगिक बाहेक धेरै जसो सम्बन्धन प्राप्त क्याम्पसहरूमा समेत निर्वाचन सम्पन्न भएको छ । कतिपय स्थानको मत परिणाम समेत सार्वजनिक भइसकेको छ । मतदान सम्पन्न भएका क्याम्पसहरूमा सर्वदलीय बैठक बसेर मत गणनाको कार्य थालनी गरिनेछ । त्रिविका विभिन्न ४ वटा क्याम्पसहरूमा भने विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गरिएको छ । त्रिवि केन्द्रीय क्याम्पस, थापाथली र पुल्चोक इन्जिनियरिङ क्याम्पस र धरानको केन्द्रीय प्रविधि क्याम्पसमा विद्युतीय मेसिन मार्फत मतदान भएको हो । ती क्याम्पसहरूमा केही समयमा नै निर्वाचन मत परिणाम सार्वजनिक गरिनेछ । ती बाहेकका क्याम्पसहरूमा मध्यरातसम्ममा निर्वाचन मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी भइरहेका छन् । त्रिविका १०६ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ । जसअनुसार कोशी प्रदेशका २१ क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएका छन् । त्यस्तै बागमतीका १९, गण्डकीका १२, लुम्बिनीका ३४, कर्णालीका १४, सुदूरपश्चिमका ३ र उपत्यकाका ५ क्याम्पसमा निर्विरोध स्ववियु चयन भएका हुन् । देशभरका अढाई सय क्याम्पसहरूमा स्ववियु निर्वाचन भएका छन् ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आइतबार राष्ट्रपति भवन शीतल निवासमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन बुझाएका हुन्। सो अवसरमा राष्ट्रपति पौडेलले नेपालको संविधानको भाग २४ धारा २४६ मा संविधान र संघीय कानूनको अधीनमा रही राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेशसभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्नु आयोगको प्रमुख कार्य रहने व्यवस्थाबमोजिम आयोगले ती निर्वाचनहरू स्वच्छ, निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्णरूपमा कुशलतापूर्वक सम्पन्न गरेकामा आयोगलाई धन्यवाद दिए। उनले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुले लोकतन्त्र परिपक्क हुँदै गएको उल्लेख गरे। प्रमुख आयुक्त थपलियाले गत फागुन २५ मा निर्वाचित भई राष्ट्रपति जस्तो मुलुकको सर्वोच्च र गरिमामय पदमा रही महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएकामा राष्ट्रपति पौडेलप्रति बधाइसहित सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले यो वर्ष निर्वाचनमय वर्ष रहेको उल्लेख गर्दै गत वर्ष २०७८ माघ १२ गते राष्ट्रियसभाको रिक्त १९ पदको निर्वाचनबाट सुरु भएको यो शिलशिला यही चैत ३ मा उपराष्ट्रतिको निर्वाचन सम्पन्न भएसँगै पूरा भएको बताए। यस कार्यमा नेपाल सरकार, सम्बन्धित निकाय, राजनीतिक दल, उम्मेदवार, मतदाता र सबै पक्षको सहयोगका लागि आयोगका तर्फबाट धन्यवाद व्यक्त गरे। उपराष्ट्रपतिको निर्वाचनमा कुल ५२ हजार ६२८ मतभार मध्ये उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादव ३० हजार ३२८ मतभार प्राप्त गरेका थिए। नेपालको संविधानको धारा ६७ अनुसार नेपालमा एक उपराष्ट्रपति रहने र राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिबाट सम्पादन गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिने व्यवस्था छ। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी २०७९ माघ १६ गतेको आयोगको बैठकबाट २०७९ चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोकिएको थियो।
पोखरा: जिल्ला समन्वय समिति महासंघको चौथो राष्ट्रिय परिषद बैठकबाट निर्बाचित गण्डकीको सपथ ग्रहण कार्यक्रम आइतबार सम्पन्न भएको छ। गण्डकी प्रदेश समितिका अध्यक्ष पौडेलले निर्बाचित पदाधिकारी र सदस्यहरूलाइ सपथ गराउनुभएको थियो । कार्यक्रममा अध्यक्ष पौडेलले गण्डकी प्रदेशका जिल्ला समन्वय समितिहरू सक्रियताका साथ संविधानले तोकेको अधिकार प्रयोग गर्दै गुणस्तरीय परिणाम निस्कने गरि काममा उत्रन आग्रह गर्नुभयो । बिकासका काममा हुन सक्ने लापरबाही र ढिलासुस्ती बिकाराल देखिएको भन्दै सबै तहका सरकारहरूको समन्वयमा खडा भएको जिल्ला समन्वय समिती विशेष चनाखो हुनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा जि स स महासंघका केन्द्रिय सदस्य बाबुराम बि. क. ,कास्कीका जिल्ला समन्वय अधिकारी नबराज बराल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। अध्यक्ष लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सोम बहादुर जि .सि.र संचालन सचिब सरस्वती बगालेले गर्नुभएको थियो। सपथ ग्रहण लगत्तै सो समितिको पहिलो बैठक समेत बसेको थियो । उक्त बैठकले जि .स .स. महासंघको चौथो राष्ट्रिय परिषद बैठक गण्डकी प्रदेशको पोखरामा आयोजना गर्ने केन्द्रिय समिती लगायत सहयोगी सम्पूर्णमा हार्दिक आभार प्रकट गरेको छ। त्यस्तै बैठकले जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्यहरूको क्षमता तथा दक्षता वृद्धि गर्न गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान सङ्गको सहकार्यमा फागुन ७ गते विशेष प्रशिक्षण कार्यक्रम संचालन गर्ने , जिल्ला समन्वय समितीहरूलाइ कार्य सम्पादनका लागिप्रदेश सरकारले निर्माण गर्नुपर्ने कानुनहरूको सम्बन्धमा प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको उप –सचिब खड्गराज सुबेदिले जानकारी दिनुभयो।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएका छन्। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डले भोलि दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम तय भएको जानकारी दिए। पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले सोही महिनाको २६ गते विश्वासको मत लिएका थिए। त्यतिबेला प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको नेकपा एमाले सरकारलाई दिएको समर्थनसहित सरकारबाट बाहिरिएपछि प्रचण्ड पुन:विश्वासको मत लिन लागेका हुन्। १० दलीय गठबन्धनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने समझदारी गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको गठबन्धनको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने समझदारी गरेको हो। १० दलीय गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र आम जनता पार्टी छन्।
पोखरा: वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीहरुका लागि प्रभावशाली सञ्चार एवम प्रहरीले सेवाग्राहीहरुसँग गर्नुपर्ने व्यवहार सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडा प्रहरी कार्यालय वैदामको आयोजनमा सम्पन्न अभिमुखीकरणमा वैदामका प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले प्रहरी जनताको सेवक भएकाले प्रहरी प्रतिको विश्वासलाई मजबुत बनाएर सेवाप्रवाह गर्नुपर्ने बताउनुभयो । उहाँले शान्ति सुरक्षा अमन चयन कायम गर्ने जिम्मेवारी पाएको प्रहरी संगठनले प्रभावकारी रुपबाट काम गर्न नागरिक मैत्री बोली व्यवहारको खाँचो औल्याउनुभयो । प्रशिक्षणले सोच्ने क्षमता र गर्ने व्यवहारलाई सकारात्मक उन्मुख बनाउन सघाउ पुराउने जनाउँदै उहाँले सिकेको कुरालाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । सहभागीको तर्फबाट अनुभव राख्दै प्रहरी जवान सन्तोष रिमालले बोल्ने कला, पत्रकारको प्रहरी र प्रहरीको पत्रकार प्रतिको धारणाका साथै प्रभावशाली सञ्चारका लागि अपनाउनु पर्ने विधि प्रक्रियाको बारेमा जान्न बुझ्ने अवसर मिलेको बताउनुभयो । उहाँले सिकेका कुरालाई आफ्नो कार्यक्षेत्रमा कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । वैदामका प्रहरी निरिक्षक हरिप्रसाद पौडेलले सेवाग्राहीको प्रहरी प्रति दृष्टिकोणलाई सकारात्मक बनाउने बोल्ने कलाको महत्वको बारेमा प्रशिक्षण उपयोगी भएको धारणा राख्नुभयो । नागरिकसँग हरेक विषयसँग ठोकिने प्रहरीका लागि बोल्ने कला निकै आवश्यक र उपयोगी भएको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्माले प्रभावकारी सेवा प्रवाहका लागि सञ्चार र बोल्ने कलाको महत्वको बारेमा प्रशिक्षण दिनुभएको थियो । एक दिने अभिमुखीकरणमा वडा प्रहरी कार्यालय र मातहतका २५ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।
पोखरा: नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले रामराज्य भनेको नै प्रजातन्त्र भएको जानकारी गराएका छन् । शनिबार नेपाल शिक्षक संघको नवौं अधिवेशनको उद्घाटन कार्यक्रम सभामा प्रमुख अतिथिको मन्तब्य व्यक्त गर्दै सभापति शर्माले भगवान राम प्रजातन्त्रवादी भएको हुँदा नै प्रजातान्त्रिक सोंचका कारण नीतिवान र नैतिकवानले गर्दा रामराज्य सुखको राज्य भएको बताए । नैतिकवान मुखले मात्र बोलेर नहुने व्यवहारमा उतार्नुपर्ने बताउँदै उनले भने “जनतालाई सुखी र खुसी बनाउन भगवान रामले जुन अथाह मेहनत र प्रयास गरेर उपलब्धी प्राप्त गरेका थिए त्यो नै रामराज्य भएको र त्यसको लागि प्रजातन्त्रको बाटो हिड्नु आजको आवश्यकता हो ।” उक्त कार्यक्रममा बोल्दै “शिक्षक भनेको समाजको अगुवा हो, समस्या देखाउने होइन समस्यालाई समाधानको नेतृत्व गरेर अगाडि बढ्न सक्नु पर्छ, साहस राखेर अगाडि बढ्ने हो, समस्याको समाधान गर्न सकिदैन भने त्यो कम्युनिष्ट हो । प्रजातन्त्रवादीहरुको समस्या पनि अनेकौं हुन्छन् र समाधान पनि अनेकौ किसिमबाट विकल्प निकाल्न सकिने हुन्छ । कम्युनिष्ट सँग समस्या हुँदै हुँदैन, समस्या आएभने समाधान गर्न सक्दैनन्, बरु टुक्रिन्छन् ।” उनले भने । समस्या सबैका हुने भएको हुँदा झन समस्या थप्ने होइन, समाधानका उपाय खोजेर अगाडि बढ्न आग्रह गर्दै शिक्षा सुधारको लागि शिक्षकहरुले आवश्यक ठानेमा जुनसुकै ठाउँमा उभिएर सहयोग गर्न तयार रहेको उनले बताएका थिए । शिक्षकले संस्कार र पद्धति सिकाउने भएको हुँदा अरुलाई दोष दिएर आफु चोखो नबनी विद्यार्थी मैत्री बन्नु पर्छ उनले भने, शिक्षकबाट सबैभन्दा बढी प्रभावित विद्यार्थी हुन्छन्, उनिहरुले सिकाएको शिक्षा स्तरीय भयो भने बल्ल प्रभावित बन्छ र विद्यार्थी प्रजातन्त्रवादी बन्छ त्यसैले शिक्षकहरुले चाहेको खण्डमा देशकै नेतृत्व गरेर अगाडि बढ्ने सक्ने भएको हुँदा समस्या समस्या भनेर पछाडि हट्न नहुने उनले बताए । साथै सभापति शर्माले विकशित मुलुकको तुलनामा भौतिक रुपमा हामी कमजोर भएपनि हाम्रो संस्कार, संस्कृति र भौगोलिक वनावटले सबैभन्दा उच्च भएको हुँदा हामीले आफ्नो शिक्षा नीतिलाई संस्कार सँगै अगाडि बढाएमा शिक्षा नीति विश्वमै अग्रस्थानमा आउने जानकारी गराए । उक्त कार्यक्रममा पूर्व मन्त्री यज्ञ बहादुर थापा, नेपाली कांग्रेस जिल्ला सभापति किशोरदत्त बराल, पूर्व सभापति कृष्ण केसी, उपसभापति युवराज कुँबर, निवर्तमान सचिव सुदिपमोहन भट्टराई, गण्डकी प्रदेश सदस्य एवम् प्रचार विभाग उपप्रमुख शिरोमणि बराल, नेपाल ट्रेड युनियन गण्डकी प्रदेश सभापति मुरारी शर्मा, नेपाल शिक्षक संघ गण्डकी प्रदेशका सभापति शिरोमणि लामिछाने लगायतका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए । उद्घाटन सत्रको अवसरमा उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरिएको थियो । रमेश मोहन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम सचिव राजु क्षेत्रीले कार्यक्रमको सञ्चालन गरेका थिए ।
पोखरा: नेपाल रेडक्रस सोसाइटी पोखरा–८, उपशाखा, कास्कीको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन जनप्रिय क्याम्पस संचालक समिति अध्यक्ष विरेन्द्र नारायण विजुक्छेले गरेका थिए । उनले प्राकृतिक विपत्तिमा रेडक्रसले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए । कार्यक्रममा अतिथिका तर्फबाट डोलराज पाण्डे, परशुराम बराल, हरि प्रसाद बराल, पवित्रा के.सी., सोमनाथ बराल, गणेश बहादुर अधिकारी र श्रीराम बराल लगायतले बालेका थिए । कार्यक्रममा रेडक्रसको सात सिद्धान्त वाचन गौरी पौडेलले गरेकी थिइन भने स्वागत कूलमाया पौडेलले र कार्यक्रमको संचालन पोखरा–८, उपशाखाका सचिव दानबहादुर गुरुङले गरेका थिए ।