सप्तरी: आफ्नै श्रीमतीलाई हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । सप्तरी प्रहरीका अनुसार पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका–५ मोहनपुरका इनरदेव चौधरी रहेका छन् । चौधरीलाई प्रहरी चौकी कठौना र ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो । प्रहरीका अनुसार चौधरीले आफ्नै ३२ वर्षीया श्रीमती किरण कुमारी चौधरीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । किरण कुमारीलाई स्थानीयले बेहोस अवस्थामा फेला पारी अस्पताल गरेपश्चात चिकित्सकले मृत घोषणा गरेको थियो । त्यसपछि इनरदेवलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा आफ्नो संगल्नता रहेको बयान दिएका थिए । सो विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखराः जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सवारीसाधनहरु लिलाम बिक्री गर्न खोलेको टेण्डर (बोलपत्र आव्हान) भर्न यूनिफर्ममै पुगेपछि प्रहरी जवान कारवाहीमा परेका छन् । कास्की ट्राफिकले गत जेठ ३० गते सवारीसाधनहरुको लिलाम बिक्री गन टेण्डर आव्हान गरेको थियो । उक्त टेण्डर भर्न जिल्ला प्रहरी कार्यालय कास्कीको प्रबन्ध शाखामा कार्यरत एक प्रहरी जवान यूनिफर्ममै पुगेका थिए । गत बुधबार प्रहरी जवान टेण्डरको फाराम भर्न ट्राफिक कार्यालयभित्र प्रवेश गरेपछि केही समय त्यहाँ विवाद भएको थियो । अन्य प्रतिष्पर्धीको विरोधपश्चात उक्त खबर जिप्रकामा पुगेपछि प्रहरी जवानलाई विभागीय कारवाही गरिएको प्रहरी स्रोतले बताएको छ । लिलामी सकार्न १४ वटा टेण्डर परेको र विवादपछि प्रहरी जवानले हालेको टेण्डर रद्द गरिएको जिल्ला ट्राफिकका प्रवक्ता एवं वरिष्ठ नायब निरीक्षक शिवप्रसाद पाठकले जनाएको छन् । ‘प्रहरी आफैले टेण्डर हालेको त हैन, उनले साथीको फाराम बोकेर भित्र पसेका हुन्’ प्रवक्ता पाठकले भने ‘पछि प्रहरी निरीक्षकको रोहबरमा उक्त टेण्डर रद्द गरिएको छ ।’ उक्त टेण्डर खोलिसकिएको र मोल बढिबढाउमा जिम्मा लगाइसकिएको पाठकले जनाए । स्रोतका अनुसार प्रहरी जवानले बिनिता बिकको नाममा भरिएको टेण्डर बुझाउन यूनिफर्ममै पुगेका हुन् । चारपांग्रे ६ र दुईपांग्रे ६७ गरी ७३ सवारी साधन लिलामीमा राखिएको थियो । ४ लाख २६ हजार ९० रुपैयाँ न्यूनतम मूल्य कायम गरिएको टेण्डर सबैभन्दा बढी सवा ७ लाख रुपैयाँ कबोल गर्नेले पाएका छन् ।
दाङ: दाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१७ बस्ने ४२ वर्षीय बीरबहादुर विक रहेका छन् । उनलाई उजुरीको आधारमा इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा थप तीन जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले आइतबार थप तीन जनालाई पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए। पक्राउ पर्नेमा काठमाडौं महानगर वडा नम्बर ५ का तत्कालीन वडासचिव शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र तत्कालीन नापी कार्यालयमा रहेका घमानकुमार कार्की पक्राउ परेका हुन्। यसअघि सिआइबीले चार जनालाई पक्राउ गरिसकेको थियो। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम र पूर्वकर्मचारी गोपाल कार्की अहिले प्रहरी हिरासतमा छन्। उनीहरूलाई प्रहरीले गत मंगलबार पक्राउ गरेको थियो। उनीहरूसँगै प्रहरीले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई पनि पक्राउ गरेको थियो। उनीहरूले पहिल्यै स्टे अर्डर लिइसकेकाले सिआइबीले त्यही दिन छाड्न परेको हो।
उदयपुर: ६ वर्षीया नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–३ दगले बस्ने ३५ वर्षीय मकर बहादुर तामाङ रहेका छन् । उनलाई शनिबार दिउँसो प्रहरी चौकी रामपुर झिल्केबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । मकरले नाबालिगलाई आफ्नै घरमा गत बुधबार बिहान जबरजस्ती करणी गरेको उजुरी परेको थियो । पक्राउ परेका तामाङमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।
पोखराः ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि कुटपिट गरेको विरोधमा आज जिल्ला अदालत कास्कीका कर्मचारीहरुले काम रोकेका छन् । गत बुधबार ललितपुर अदालतकी नासु तामाङमाथि कानून व्यवसायी अमिर लामिछानेले कायकक्षमै कुटपिट गरेपछि सोही विरोधमा कास्की अदालतमा पनि कर्मचारीहरुले काम रोकेका हुन् । मुद्दाको मिसिल माग्ने क्रममा दुईबीच विवाद भएको थियो । कास्की अदालतले दिएको जानकारी अनुसार अपरान्ह ३ बजेसम्म कर्मचारीहरुले काम रोकेका छन् । कर्मचारीले काम रोक्दा मुद्दका बहस र अन्य काम रोकिएको छ । घटनाको विरोधमा कर्मचारीहरूको चारवटा संगठनले देशैभर विरोधस्वरुप काम रोकेको हो । नासु तामाङमाथि कुटपिट गरेको आरोपमा लामिछानेलाई अभद्र व्यवहारको कसुरमा पक्राउ गरिएको छ ।
चितवन: चितवनमा आफ्नै बुवाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२ आदर्शनगर सितल मार्गमा बस्ने ४२ वर्षीय टेक बहादुर परियार रहेका छन् । चितवन प्रहरीका अनुसार टेकबहादुरले ७० वर्षीय बुवा दिल बहादुर परियारलाई घरायसी विवादका क्रममा कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । त्यसपछि भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा दिल बहादुरको मृत्यु भएको थियो । बुवाको मृत्युपछि फरार रहेका छोरा टेकबहादुरलाई हिजो (शुक्रबार) बिहान वडा प्रहरी कार्यालय चितनवबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । सो विषयमा अहिले थप अनुसन्धान गरिरहेको चितवन प्रहरीले जनाएको छ ।
काठमाडौं: ललिता निवास क्याम्पको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न रही फरार ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–५ बस्ने ६९ वर्षीय मिन बहादुर गुरूङ, सोही महानगरपालिका–७ रातोपुल बस्ने ८० वर्षीय धर्म प्रसाद गौतम, सोही महानगरपालिका–४ धुम्बाराही बस्ने ६५ वर्षीय सुधिर शाह र चन्द्रागिरी नगरपालिका–३ थानकोट बस्ने ६० वर्षीय गोपाल कार्की रहेका छन् । जग्गा प्राप्ती ऐन, २०१८ बमोजिम तत्कालीन श्री ५ को सरकारले मुआब्जा दिई अधिग्रहण गरी नेपाल सरकार, समरजंग कम्पनीको नाममा दर्ता कायम रहेको काठमाडौं महानगरपालिका–४ बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा दर्ता कायम गरी हिनामिना गरेको आरोप छ । यस्तै सरकारी छाप दस्तखत कीर्ते मुद्दाको अनुसन्धानको क्रममा फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाण्डौ: सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार रहेका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले उनलाई पक्राउ गरी काठमाण्डौ ल्याएको छ । सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले उनलाई पश्चिम नेपालबाट पक्राउ गरेको बताउनुभयो । अध्यक्ष शर्मा यसअघि भारतका विभिन्न ठाउँमा लुकेर बसेका थिए । शिवशिखरसहित मोरङमा उनले तुलसी सहकारी पनि खोलेका थिए र दुवै सहकारीका बचतकर्ताको ठूलो रकम उनले कानुन विपरीत आफ्ना विभिन्न कम्पनी तथा फार्महरूमा लगानी गरेको भेटिएको प्रहरीले जनाएको छ । बचतकर्ताले आफ्नो बचत फिर्ताको माग गर्दा नदिएपछि उनी र सञ्चालकविरुद्ध सहकारी विभाग र सीआईबीमा उजुरी दिएका थिए । सीआईबीले बचत गरेको रकम हिनामिना गरी नदिएको भएमा प्रमाणसहित ब्युरोमा सम्पर्क गर्न बचतकर्तालाई अनुरोध गरेको छ ।