बाँके: बाँकेका विभिन्न अस्पतालमा रगतको अभाव हटाउन यहाँ दिनहुँजसो रक्तदान हुन थालेको छ । रगतको मौज्दाद नहुँदा बाँकेमा रगतको अभाव देखिन थालेपछि विभिन्न सङ्घसंस्थाको अग्रसरतामा रक्तदान हुन थालेको नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगञ्जले जनाएको छ । केही दिनयता विभिन्न सङ्घसंस्थाले रक्तदान कार्यक्रम आयोजना गरेकाले रगतको अभाव नभएको केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले तत्काल रगतको अभाव नभए पनि विभिन्न सङ्घसंस्थाले कार्यक्रम नगर्दा समस्या आउने देखिएको छ, त्यसैले रक्तदान भइरहेको छ ।” प्रमुख रेग्मीले नेपालगञ्ज मेडिकल सहरका रूपमा रुपान्तरण भएको उल्लेख गर्दैै रेडक्रसका खजुरा, कोहलपुर, नेपालगञ्ज कार्यालयबाट दैनिक ७० देखि ८० पिन्ट रगतको माग हुने गरेको बताउनुभयो । जिल्लामा सिकलसेल, थालसेमियालगायत बिरामीलाई रगत आवश्यक पर्ने भएका कारण बाँकेमा रगतको मागअनुसार आपूर्ति नभएको उहाँको भनाइ छ । विभिन्न सङ्घसंस्थाले रक्तदान कार्यक्रम गर्ने जानकारी दिएकाले केही दिन माग धान्न सकिने जानकारी दिँदै प्रमुख रेग्मीले विभिन्न समूहको गरी करिब ५० पिन्ट बढी रगत मौज्दातमा नरहेको बताउनुभयो । जिल्लाका विभिन्न अस्पतालमा सोभन्दा बढी रगत आवश्यक पर्ने गरेकाले पूरा गर्न नसकिने हुँदा समस्या चर्किँदै गएको बताइएको छ । मानव धर्म सेवा समाज, जनमत अर्ध साप्ताहिक, खजुराको धवलागिरि विद्यालय, संविधान दिवसमा कर्मचारी, असोज ४ गते लायन्स क्लबले रक्तदान गर्न लागिएको छ । रक्तदान गर्नेले केन्द्रमा आवश्यक समूहको रगत नरहेमा रक्तदान गर्दा पनि माग गरेको समूहका रगत पाउने अवस्था नरहेको बताइएको छ । यसले सामाजिक सञ्जालमा पछिल्ला दिनमा रगत समूह उल्लेख गरेर रक्तदानको आह्वान गरिएको रक्तसञ्चार केन्द्रले जनाएको छ । त्रैमासिक रूपमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आउनुभएका जनमत अर्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेले रक्तसञ्चार केन्द्र पुग्दा रगतको अभाव रहेको औँल्याउँदै केही दिनअघि रक्तदान गरेर ४० पिन्ट रगत सङ्कलन गरेको बताउनुभयो । उहाँले रगतको अभाव हटाउन पुनः सङ्घसंस्थासँग समन्वय गरेर रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिनुभयो । सो रक्तसञ्चार केन्द्रले नेपालगञ्ज, कोहलपुर र खजुराका अस्पतालमा रगत उपलब्ध गराउँदै आएको छ ।
पर्वत: डेङ्गी सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ । पर्वत अस्पतालमा परीक्षण गरिएकामध्ये छ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको छ । पर्वत अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा हेमन्त बाँस्तोलाका अनुसार डेङ्गीबाट पर्वतमा एक महिलाको मृत्यु भइसकेको छ । अस्पताल सङ्क्रमितले भरिभराउ छ । साठी शय्याको अस्पतालमा बिरामी भरिभारउ भएपछि अतिरिक्त शय्या खडा गरेर उपचार गरिएको छ । ग्रामीण क्षेत्रमा भन्दा बजारमा बिरामीको सङ्ख्या अधिक छ । सदरमुकाम कुश्मामा मात्र पाँच सयभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ४९ प्रतिशत पुरुष र ५१ प्रतिशत महिला छन् । नौवटा एम्बुलेन्स थन्किए यसैबीच, बिरामीलाई सर्वसुलभ रूपमा आकस्मिक सेवा उपलव्ध गराउने उद्देश्यले जिल्लाका विभिन्न पालिकामा ल्याइएका नौवटा एम्बुलेन्स प्रयोगविहीन छन् । हाल जिल्लाभर १० वटा एम्बुलेन्स मात्र सञ्चालनमा छन् । विभिन्न दातृ निकाय, भारतीय राजदूतावास र सरकारी सुविधामा ल्याइएका एम्बुलेन्स नियमित मर्मतसम्भार नहुँदा थन्किएका हुन् ।
पर्वत: जलजला गाउँपालिकाले स्थानीयका घरदैलोमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण थालेको छ । आर्थिक अभाव तथा बुढ्यौलीलाई दृष्टिगत गरी पालिकाले स्वास्थ्य परीक्षण थालेको हो । जेष्ठ नागरिकमा सर्ने तथा नसर्ने रोगको अवस्था पहिचान गरी परामर्श र उपचारमा सघाउने उद्देश्यले प्रत्येक दुई महिनामा हरेक टोलमा स्वास्थ्यकर्मी पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षणको व्यवस्था मिलइाएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिनुभयो । जलजला गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख गणेश मल्लले पालिकाक्षेत्रका ९ वटा वडाका ९० वटा टोलमा जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्न स्वास्थ्यकर्मी परिचालन भएका बताउनुभयो । स्वास्थ्य परीक्षण उनीहरुलाई निःशुल्क औषधी पनि वितरण गरिनेछ । आर्थिक रूपमा अक्षम र सहाराविहीन यो कार्यक्रमबाट लाभान्वित हुने उहाँले बताउनुभयो ।
कास्की: रुपा गाउँपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणदर वृद्धि गर्न स्वास्थ्य संस्थामा परीक्षणमा आउनेलाई प्रत्येकपटक एक क्रेट कुखुराको अण्डा वितरण कार्यक्रम सुरुआत गरेको छ । ‘मापदण्डअनुसार गर्भजाँच गरौँ, आमा र नवजात शिशुको स्वास्थ्य संरक्षण गरौँ’ भन्ने अभियानका साथ महिलामा पोषणको कमी हुन नदिन सो कार्यक्रम थालिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्भवतीले आठपटक स्वास्थ्य परीक्षण गराउनुपर्छ । गाउँपालिकाका स्वास्थ्य संस्थामा परीक्षण गराउन आउने गर्भवतीलाई प्रत्येकपटक परीक्षण गर्न आउँदा एक क्रेट अण्डा दिने कामको सुरु गरेका छौँ । यसबाट मातृ शिशु मृत्युदर घटाउन र पोषणको सुनिश्चितताका लागि सहयोग पुग्नेछ ।” अध्यक्ष ओझाले महिलामा पोषणको काम पनि नहुने र मापदण्डअनुसारको नियमित परीक्षण कार्यक्रमसमेत प्रभावकारी हुने भएकाले अण्डा वितरण अभियान नै थालिएको बताउनुभयो । “स्वास्थ्य संस्थामा जान हिचकिचाउने गरेको अझै देखिन्छ । नियमित स्वास्थ्य संस्थामा गएर गर्भ परीक्षण गराउने बानी बसाल्न अण्डा उपहार कार्यक्रम ल्याएका हौँ । पालिकाका सबै गर्भवतीले तोकिएअनुसारको गर्भजाँच नगराउने गरेकाले यसप्रति महिलाको आकर्षण बढाउन अभियान सहयोगी हुने विश्वास लिएका छौँ”, अध्यक्ष ओझाले भन्नुभयो । गाउँपालिकामा एक वर्षमा दुई सय ३१ जना सुत्केरी हुने गरेको गाउँपालिकाको तथ्याङ्क छ । कार्यक्रमका लागि वर्षमा रु पाँच लाख बजेट खर्च हुने अनुमान गरिएको छ । गाउँपालिकाले यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले बताउनुभयो । उहाँले भन्नुभयो, “यो कार्यक्रम अत्यन्त महत्त्वपूर्ण छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार पालिकाभर गर्भवतीको परीक्षण कार्यक्रम प्रभावकारी बनाउने छौँ । आवश्यक बजेट सबै स्वास्थ्य संस्थामा पालिकाले पठाउने छ ।” नौ वडा रहेको रुपामा एक आधारभूत अस्पताल, चारवटा स्वास्थ्यचौकी र चारवटा आधारभूत स्वास्थ्य केन्द्र गरी नौवटा स्वास्थ्य संस्था छन् । सबै स्वास्थ्य संस्थामा सामान्य सुत्केरी गराउन सकिने गरी पूर्वाधार रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र ओझाले बताउनुभयो ।
गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण तीव्र भइरहेका बेला उक्त रोगको सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् । सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गुबाट बच्ने उत्तम उपाय भएको उनीहरुको भनाइ छ । धौलागिरि उपप्रादेशिक अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेङ्गु सङ्क्रमण हुँदैमा आत्तिहाल्नु नपर्ने बताउनुभयो । डेङ्गु सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकानजस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने उहाँको भनाइ छ । डेङ्गु भएमा आराम गर्ने, पानीलगायत झोलिलो प्रशस्त पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्न नहुने प्रमुख चिकित्सक प्रधानले बताउनुभयो । गर्भवती र बालबालिकामा डेङ्गुको सङ्क्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तनसक्ने उहाँको भनाइ छ । “अधिकांश सङ्क्रमित सामान्य उपचारपछि निको हुन्छन्, कतिपयमा डेङ्गुले जटिलता ल्याउन सक्छ, सामान्य रोग हो भन्ने सोचेर लापरबाही गरेमा ज्यानै जोखिममा पर्न सक्छ”, उहाँले भन्नुभयो । डेङ्गु सार्ने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने उहाँको भनाइ छ । डेङ्गुको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, टायर, भाँडाकुँडा, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गनुपर्ने प्रमुख चिकित्सक प्रधानले बताउनुभयो । हिमालपारिको जिल्ला मुस्ताङबाहेक प्रदेशका सबै जिल्लामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयको तथ्याङ्कअनुसार गत पुसयता पाँच हजारभन्दा बढीमा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । डेङ्गु सङ्क्रमणबाट कास्कीमा दुई र तनहुँमा एक जनाको मृत्यु भएको छ । तनहुँ, कास्कीलगायत जिल्ला डेङ्गु सङ्क्रमणबाट बढी प्रभावित छन् । पछिल्लो तीन महिनामा डेङ्गु सङ्क्रमणको दरलाई हेर्दा आगामी दिनमा सङ्क्रमणको जोखिम थप तीव्र हुने देखिएको जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले बताउनुभयो । उहाँका अनुसार असारदेखि कात्तिकसम्म डेङ्गुको सङ्क्रमण बढी फैलने गर्छ । समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके डेङ्गुले महामारीको रुप लिन सक्ने प्रमुख नेपालीले बताउनुभयो । “डेङ्गुलाई सामान्य रुपले नसोचौँ, यसका अप्रिय उदाहरण हामीसँग छन्”, उहाँले भन्नुभयो, “डेङ्गु भइसकेपछि अचाक्ली पीडा हुन्छ, उपचार र हेरचाह पुगेन भने स्वास्थ्य अवस्था जटिल बन्दै गएर बिरामीको मृत्युसमेत हुनसक्छ ।” डेङ्गु रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने प्रमुख नेपालीको भनाइ छ । यस रोगबाट बच्न लामखुट्टको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको प्रमुख नेपालीले बताउनुभयो । चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गु सङ्क्रमण हुने गरेको उहाँले बताउनुभयो । उक्त लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा जन्माउने गरेको उहाँको भनाइ छ । यो लामखुट्टेले दिनमा मात्र टोक्ने गरेको उहाँले बताउनुभयो । सङ्क्रमण बढ्दै जान थालेपछि स्वास्थ्य मन्त्रालय, मातहतका स्वास्थ्य कार्यालय, स्थानीय तहलगायत निकायले लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन् । डेङ्गु फैलाउने उक्त लामखुट्टेको जीवनचक्र खल्बल्याउन ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको हो । कास्कीको पोखरा महानगरपालिकासहित यहाँका स्थानीय तह समुदायमा सरसफाइ सचेतनासहित डेङ्गु रोकथाममा जुटेका हुन् ।
काठमाडौं: थापाथलीस्थित परोपकार तथा प्रसूति गृह तथा स्त्री रोग अस्पताललाई एक थान एम्बुलेन्स र एनेस्थेसिया मेसिन (शल्याक्रिया वा अन्य उपचारमा दुखाइलाई रोक्न प्रयोग गरिने औषधि) प्रदान गरिएको छ । बागमती प्रदेशसभा सांसद दीपेन्द्र श्रेष्ठको पहलमा प्रदेश सरकारमार्फत अनुदान रकमबाट खरिद गरिएको एम्बुलेन्स र एनेस्थेसिया मेसिन हस्तान्तरण गरिएको हो । आज अस्पतालमा आयोजित हस्तान्तरण कार्यक्रममा सांसद श्रेष्ठले अस्पतालमा आवश्यक उपकरण आगामी दिनमा पनि सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी दिनमा कुपन्डोलमा रहेको प्रसूति गृहको शाखा र अस्पतालको मुख्य भवनसम्म जोडिने झोलुङ्गे पुलको निर्माण गर्न प्रतिबद्धता छौँ । यसले सेवाग्राहीलाई सहज बनाउने छ ।” काठमाडौं महानगरपालिका–११ का वडाध्यक्ष हरिलाल तण्डुकारले वडाले स्वास्थ्य क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको बताउनुभयो । उहाँले सुत्केरीका लागि ‘सुत्केरी पार्क’ बनाउने प्रतिबद्धता जनाउनुभयो । अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले आगामी दिनमा पनि यस्ता किसिमका सहयोग निरन्तर पाउनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सङ्घीय र प्रादेशिक सरकारबाट सहयोग पाइरहेका छौँ । आगामी दिनमा पनि यसले निरन्तरता पाउने अपेक्षा छ । अस्पतालमा आवश्यकता अनुसार बजेट नभएको अवस्थामा सहयोग प्रदान भएको छ, आभारी छौँ ।” डा अधिकारीले एनेस्थेसिया मेसिन सञ्चालनमा आइसकेको बताउँदै आजदेखि एम्बुलेन्स पनि सञ्चालनमा ल्याइने जानकारी दिनुभयो ।
झापा: कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेङ्गी सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेङ्गीबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजङ्ग बस्नेत रहेका छन् । झापामा साउन १ गतेयता सङ्क्रमितको सङ्ख्या एक सय २८ पुगिसकेको छ । कोशी प्रदेशमा यस अवधिमा सबैभन्दा बढी मोरङमा सङ्क्रमितको सङ्ख्या पाँच सय ३२ पुगेको छभने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेङ्गीका सङ्क्रमित धेरै पाइएको छ । ताप्लेजुङमा भने डेङ्गीको एकजना पनि सङ्क्रमित पाइएको छैन । स्वास्थ्य निर्देशनालय धनकुटाका फोकल पर्सन सुरक्षा खत्रीका अनुसार धनकुटामा ८० र सुनसरीमा ७० जनामा डेङ्गीको सङ्क्रमण भएको छ । यसैगरी, उदयपुरमा ६९ जना, भोजपुरमा ६८, सङ्खुवासभामा ६७, ओखलढुङ्गामा २९, पाँचथरमा २१, सोलुखुम्बुमा ६, इलाममा पाँचजना, खोटाङमा चारजना र तेह्रथुममा दुईजनामा डेङ्गी सङ्क्रमण भएको पाइएको छ । गत वैशाखदेखि नै कोशी प्रदेशका अधिकांश जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिन थालेको थियो । वैशाखदेखि असारसम्म कोशीमा तीन सय ८६ जनामा डेङ्गी सङ्क्रमण भइसकेको थियो । झापामा साउन १ गतेयता सबैभन्दा धेरै विर्तामोडमा ८१ जनामा डेङ्गीको सङ्क्रमण भेटिएको छ । त्यसपछि दमकमा २२ जनामा सङ्क्रमण पुष्टि भयो भने हल्दिबारीमा सातजना र भद्रपुरमा पाँचजनामा डेङ्गीको सङ्क्रमण भेटिएको छ ।
काठमाडौं: नेपाल रेडक्रस सोसाइटीको ६२औँ स्थापना दिवस ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी आज देशव्यापी रूपमा मनाइएको छ । स्थापना दिवसका अवसरमा नेपाल रेडक्रसको केन्द्रीय कार्यालय ताहचलमा रेडक्रसको झण्डोत्तोलन गरिएको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले मानवीय सेवामा अहोरात्र खट्ने रेडक्रसका स्वयंसेवक र कर्मचारीको योगदानको सराहना गर्दै सम्पूर्ण रेडक्रसकर्मी सदैव मानवीय सेवामा उत्रनुपर्ने बताउनुभयो । नेपाल रेडक्रसका उपाध्यक्ष राधा नेपालीले रेडक्रसका स्वयंसेवक र कर्मचारीको प्रभावकारी समन्वय र आपसी सहकार्यबाट रेडक्रसका गतिविधि सफल रूपमा कार्यान्वयन गर्न सहयोग पुगेको बताउनुभयो । सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले नेपाल रेडक्रसमा करिब ११ लाखभन्दा बढी स्वयंसेवक मानवीय सेवामा तल्लीन रहेको जानकारी दिनुभयो । हाल सोसाइटीअन्तर्गत सात वटा प्रदेश समिति, ७७ जिल्ला शाखा, एक हजार छ सय १५ उपशाखा, एक सय २० सहयोग समिति र छ हजार नौ सय ३४ जुनियर तथा युवा सर्कलसहितको साङ्गठनिक संरचना रहेका छन् । रेडक्रस सोसाइटीले विपद् तथा सङ्कट व्यवस्थापन, सामुदायिक विकास, लैङ्गिक तथा समावेशीकरण, मानवीय मूल्य तथा रेडक्रस सिद्धान्तको प्रवर्द्धन, स्वास्थ्य सेवा, रक्तसञ्चार सेवाजस्ता महत्वपूर्ण गतिविधि सञ्चालन गरिरहेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का नेपाल प्रमुख अजमत उल्लाले नेपाल रेडक्रस सोसाइटी र आइएफआरसीको साझेदारीमा विपद् व्यवस्थापन, जलवायु परिवर्तनबाट पर्ने प्रभाव, स्वास्थ्य र महामारीका साथै सामाजिक समावेशीकरणलगायत क्षेत्रमा देशव्यापी रूपमा गतिविधि सञ्चालन भइरहेको जानकारी गराउनुभयो । नेपाल रेडक्रस सोसाइटी कर्मचारी सङ्घ र कर्मचारी कल्याण कोषद्वारा आयोजित कार्यक्रममा २५ वर्ष काम गरिसकेका कर्मचारीलाई सम्मान, कर्मचारीका छोराछोरीलाई प्रोत्साहन स्वरुप शैक्षिक सहयोग वितरण गरिएको थियो ।
पर्वत: आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका करोडौं मूल्यका अत्याधुनिक भेन्टिलेटर र आइसीयू प्रयोगविहीन बनेका छन् । अस्पतालमा पाँच शय्य आइसीयू र सातवटा भेन्टिलेटर छन् । तर भेन्टिलेटर आवश्यक परेको बिरामी अस्पतालमा आएमा बिरामीले त्यो सेवा उपभोग गर्न पाउँदैनन् । तत्कालीन कोभिड–१९ को सङ्क्रमण बेला भित्र्याइएका ती भेन्टिलेटर अहिलेसम्म पनि प्रयोगमा आउन नसकेका हुन् । लामो समयसम्म प्रयोगमा नआउँदा उपकरण कामै नलाग्ने अवस्थामा पुगेका छन् । गण्डकी प्रदेश सरकारको रु एक करोड ६९ लाख लगानीमा आइसीयू र भेन्टिलेटर तयार पारिएको थियो । यसबाहेक लायन्स क्लबदेखि अन्तर्राष्ट्रिय सहयोगबाट आएका भेन्टिलेटरको सङ्ख्या अहिलेसम्म सात पुगेको छ । तर ती भेन्टिलेटरमा अहिलेसम्म पनि एकजना बिरामीको उपचार गर्न पाइएको छैन । पाँच वर्षअघि अस्पतालको पुरानो भवनमा आइसीयू कक्ष निर्माण गरिएको थियो । तीनजना डाक्टर र तीनजना नर्सले भेटन्टिलेटर सञ्चालनका लागि पोखराबाट यसको तालिम पनि गरेर आए तर उनीहरूले सिकेको भेन्टिलेटर सीप पनि प्रयोगमा आउन पाएको छैन । पन्ध्र शय्याबाट ५० शय्यामा स्तरोन्नति भएको पर्वत अस्पताल पुरानो संरचनाबाट नयाँ संरचनामा सारिएको छ । सुविधासम्पन्न भवन बनेपछि पुराना भवनका सामग्री र सेवा नयाँ भवनमा सारिएको हो । त्यस क्रममा जडान भएका भेन्टिलेटर पनि निकालेर नयाँ भवनमा सुरक्षित तरिकाले थन्क्याइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले जानकारी दिनुभयो । भेन्टिलेटर सञ्चालन गर्नका लागि आवश्यक दक्ष जनशक्ति नभएकै कारण आइसीयूमा प्रयोग हुने सबै सामग्री थन्क्याएर राखिएको उहाँले बताउनुभयो । एउटा भेन्टिलेटर चलाउन छुट्टै डक्टर, एकजना एनेस्थेसियालोजिष्ट, एकजना स्टाफ नर्स र एकजना कार्यालय सहयोगीको आवश्यकता पर्ने उहाँको भनाइ छ । सातवटा भेन्टिलेटर चलाउन २८ देखि ३० जनासम्म जनशक्ति आवश्यक हुने भए पनि एकजना पनि नहुँदा समस्या भएको उहाँले बताउनुभयो । “पहिले त यसलाई ५० शय्या क्षमताको अस्पतालका रूपमा सरकारले स्वीकृति दिनुपर्छ । त्यही हिसाबको कन्सल्टेन्ट आउनुहुन्छ । पन्ध्र शय्या अनुमति भएको अवस्थामा यो सञ्चालन गर्न सकिँदैन”, उहाँले भन्नुभयो । कोभिड–१९ को सङ्क्रमण चरम अवस्थामा रहेका बेला जिल्लावासीले भेन्टिलेटर खोज्दै पोखरा पुग्न नपरोस् भनेर सहयोगीले पनि तत्कालै सहयोग गरेका थिए । झण्डै रु पाँच करोडभन्दा बढी मूल्यका ती सामग्री थन्क्याएर राखेको भए पनि बेलाबेलामा परीक्षण र मर्मत भने गर्ने गरिएको अस्पतालको दाबी छ । स्वास्थ्य सेवा विभागले छात्रवृत्ति करारका डक्टर पठाइदिए वा प्रदेशले विज्ञापन नै खुलाएर जनशक्ति पठाएका अवस्थामा मात्रै भेन्टिलेटर सञ्चालन गर्न सकिने अस्पतालले जनाएको छ । अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले यसबारेमा प्रदेश सरकारमा पटकपटक कुरा गरे पनि अहिलेसम्म सुनुवाइ नभएको बताउनुभयो । राज्यको लगानी सही ठाउँमा नहुँदा महँगा सामग्री प्रयोगविहीन भएको र जनताले त्यो सुविधा पाउन नसकेको उहाँको भनाइ छ । अस्पतालमा रहेका स्रोत र साधनलाई प्रयोगमा ल्याउन सक्ने जनशक्ति सरकारले दिए यो क्षेत्रका बासिन्दा पोखरा, काठमाडौँ जानुपर्ने अवस्थाको अन्त्य हुने उहाँको भनाइ छ । “हामीसँग स्रोत भएर के गर्नु ? यहाँ रहेका भेन्टिलेटर सञ्चालन गर्ने हो भने मुस्ताङदेखिका बिरामीले पर्वत अस्पतालमै सेवा पाउने थिए तर प्रदेशले यो किन देखिरहेको छैन ?”, गिरीले भन्नुभयो । ‘भेन्टिलेटर’ प्राप्त गर्ने र जडान गर्ने बेला अस्पताल विकास समितिको अध्यक्ष रहेका गोविन्द पहाडीले सरकारले जनशक्ति नदिएकै कारण अस्पतालले समस्या भोगिरहेको बताउनुभयो । पहाडीका अनुसार बच्चाका लागि समेत ‘चाइल्ड आइसीयू’ बनाउन ‘पेड्रीयाट्रिक वार्ड’ को निर्माण गर्ने भनेर सरकारले दिएको रु दुई करोडबाट सामग्री किनिएका थिए । त्यहीबेला लायन्स क्लबले समेत भेन्टिलेटर दिए भने थप सामग्री अस्पताल आफैँले किनेको थियो । “सबै भयो जनशक्ति भएनन् । यहाँको निजी स्रोतबाट जनशक्ति राख्दा एक महिना त पालिएला, दोस्रो महिनाबाट तलब कसरी खुवाउने ? यसमा खास तीनजना डक्टर चाहिने रहेछन् । एकजना इन्टरनल मेडिसिन पढेको, एकजना एनेस्थेसियोलोजिष्ट, एकजना नेफ्रोलोजिष्ट चाहिने रहेछ”, उहाँले भन्नुभयो, “यी तीनजना नै नभएसम्म डक्टरले रिस्क नलिने रहेछन् ।” पर्वत अस्पतालमा आइसीयू र भेन्टिलेटरको सुविधा भइदिएको भए पोखरा र काठमाडौँका अस्पतालमा जान सक्ने उतै गए पनि आर्थिक समस्यामा रहेकाहरूले भने जिल्लामा जीवन बचाउने मौका पाउन सक्ने उहाँको गुनासो छ ।