भक्तपुर:   सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ ।  शनिबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा. प...

काठमाडौं:    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३४ अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाको दिनमा पनि बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशनसहित परिपत्र गरेको छ ।        मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले ती अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाका दिनमा अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न परिपत्र गरिएको जानकारी दिनुभयो ।       प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले केही दिनअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र पठाउँदै सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरङ्ग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको थियो ।       मन्त्रालयका प्रवक्ता डा बुढाथोकीका अनुसार परिपत्र गरिएका अस्पतालहरुमा  वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, भेरी अस्पताल, राष्ट्रिय क्षयरोग केन्द्र, कोशी अस्पताल, नेपाल आँखा अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत छन् ।       गृह मन्त्रालयले जारी गरेको सार्वजनिक बिदासम्बन्धी प्रकाशित राजपत्रको सूचनामा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्थाको उपप्रकरण १०.१ को खण्ड (न) मा भएको व्यवस्थाअनुसार सार्वजनिक दिनमा पनि अस्पतालले बहिरङ्ग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्नुपर्ने व्यवस्था रहेको छ ।       सरकारले अधिकांश निकायबाट सार्वजनिक बिदामा स्वास्थ्यसम्बन्धी सेवा प्रवाह भएको नपाइएको भन्ने जनगुनासोका आधारमा सार्वजनिक बिदाका दिन पनि बहिरङ्ग सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।

पोखरा:    गण्डकी प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले नसर्ने रोगको स्क्रिनिङ (पहिचान)योजनालाई कार्यान्वयनमा लैजाने पहिलो निर्णय गरेका छन् । सोमबार मन्त्रीको शपथ लिएपछि पदभार ग्रहण गर्दै उनले स्थानीय तहसँग मिलेर नसर्ने रोगको पहिचान थाल्ने निर्णय गरेका हुन् । बदलिँदो जीवनशैली, अस्वस्थकर खानपान, धुम्रपान, अत्यधिक तनावले नसर्ने रोगको संख्या बढिरहेको छ । नेपाल बर्डन अफ डिजिज, २०१९ को तथ्यांकअनुसार नेपालमा हुने मृत्युमध्ये ७१ प्रतिशत मृत्यु नसर्ने रोग स् रक्तचाप, मधुमेह, मोटोपना, क्यान्सरबाट हुने गरेको छ । प्रारम्भिक अवस्थामै समुदायमा नसर्ने रोग पहिचान गर्न सकेमा त्यसले ठूलो रूप लिन नसक्ने र मृत्यु दर न्यूनीकरण गर्न सकिने भएकाले नसर्ने रोगको स्क्रिनिङको निर्णय गरेको मन्त्री पाठकले बताए । नेपाल सरकारले नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना २०२१–२५ कार्यान्वयनमा ल्याएको छ । त्यसैअनुसार स्थानीय तहसँग मिलेर नसर्ने रोगको पहिचान गरिने मन्त्री पाठकले बताए ।

काठमाडौं:    देशभरि डेङ्गीका बिरामीको सङ्ख्या छ हजारभन्दा  बढी पुगेको छ ।  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ ।  महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल अनुसार छ हजार तीन सय ४७ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । यस्तै तीन जना डेङ्गी रोगको सङ्क्रमणको कारणले निधन भइसकेको छ ।  पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ति फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि मानिसलाई टोक्यो भने डेङ्गी रोग लाग्दछ ।  गण्डकी प्रदेशमा सबभन्दा बढी डेङ्गी सबभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा दुई हजार नौ सय ५४ देखिएको छ । कोशी प्रदेशमा सात सय ९१ जना, मधेसमा सय जना, बागमतीमा एक हजार छ सय २३ जना, लुम्बिनी चार सय ४४ जना, कर्णालीमा ९३ जना र सुदूरपश्चिम प्रदेशमा तीन सय ४२ जना सङ्क्रमण देखिएको छन् ।  उपत्यकामा छ सय ८०  काठमाडौँ उपत्यकामा छ सय ८० जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।  जिल्लामा पाँच सय ११, भक्तपुर ६९ र ललितपुर सय जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।  वर्षाका बेला पानीका सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गीको सङ्क्रमण बढेको हो ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । सरकारी अस्पतालमा डेङ्गी रोगका बिरामीका उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।  हैजा ७५ जनामा  यस्तै महाशाखाका अनुसार हैजाका बिरामी ७५ जना पुगेका छन् ।  महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा दाहालका अनुसार ललितपुरमा ५० काठमाडौँमा १० जना, कैलालीमा आठ जना, प्यूठान दुई, मकवानपुर एक र रोल्पामा चार जनामा हैजा पुष्टि भएको छ ।  हैजा अति सङ्क्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिशा आउने वाकवाकी लाग्ने र वान्ता हुने, कडा जलवियोजन हुने गर्दछ । 

कैलाली:    धनगढी उपमहानगरपालिका–८  धनगढीगाउँमा निर्माण गरिएको ‘धनगढी सभागृह’ स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको छ ।  सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीमार्फत निर्माण गरिएको सो सभागृहको स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन भएको हो । दुई वर्ष अगाडि निर्माण सम्पन्न भएको उक्त सभागृहमा सात सय जना क्षमताको एउटा मुख्य हल, दुई सय जना क्षमताको कार्यक्रम कक्ष, एक सय सवारीसाधन अटाउने क्षमताको पार्किङ निर्माण गरिएको आयोजना कार्यान्वयन एकाइका सूचना अधिकारी सौरभ कलौनीले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय सरकारको रु ३२ करोड ६० लाख ८१ हजारको लागतमा सभागृह निर्माण गरिएको हो ।  विसं २०७५ माघदेखि निर्माण सुरु भएको सभागृह २०७९ असारमा निर्माण सम्पन्न भएको थियो । निर्माण कम्पनी ‘विकेओआई एमके रोयल’ जेभीले सभागृह निर्माण गरेको आयोजना कार्यान्वयन एकाइका सूचना अधिकारी  कलौनीले बताउनुभयो ।  धनगढी उपमहानगरले उपलब्ध गराएको एक बिघा जग्गामा निर्माण भएको उक्त सभागृहमा रङरोगन, विद्युत् जडानलगायत काम भइसकेका छन् ।  “निर्माण सम्पन्नपछि धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने तयारी थियो”, सूचना अधिकारी कलौनीले भन्नुभयो, “उपमहानगरले फर्निचर तथा साउण्डसिस्टम जडान नभएको भन्दै बुझ्न मानेन । त्यसैले अहिलेसम्म हस्तान्तरण हुनसकेको छैन ।” “साउण्डसिस्टम जडानका लागि हामीले पटक–पटक सङ्घीय सरकारलाई बजेट माग गर्दा पनि सुनावाइ भएन”, उहाँले भन्नुभयो, “अहिले रु १५ लाख बजेट आएको छ । त्यसले पुग्दैन । साउण्डसिस्टम जडानका लागि न्यूनतम रु ८० लाखदेखि रु एक करोडको हाराहारीमा बजेट आवश्यक पर्छ ।” धनगढीमा हुने सभा, गोष्ठी, बैठक सेमिनारजस्ता ठूला कार्यक्रम गर्ने उद्देश्यले बनेको उक्त सभागृह सञ्चालनमा आउन नसक्दा सरकारी कार्यालयले त्यस्ता कार्यक्रम होटल, पार्टीप्यालेसमा महँगो भाडा तिरेर सञ्चालन गरिरहेका छन् ।

खोटाङ:    देब्रेतिरको हात र खुट्टा नचल्ने समस्याबाट बिरामी बराहपोखरी गाउँपालिका–१ बराहपोखरीकी एञ्जिला परियारको उपचारका लागि सहयोग जुटाउन अभियान थालिएको छ ।   मस्तिष्कघातबाट प्यारालाइसिस भएपछि हाल नोबेल अस्पताल विराटनगरमा आइसीयूमा राखेर उपचार गराइरहेकी एञ्जिलाको सहयोगार्थ बाराहापोखरी सेवा समाज खोटाङ, काठमाडौँको पहलमा सहयोग सङ्कलन सुरु गरिएको हो ।   विपन्न परिवारका एञ्जिलाको उपचारका लागि अझै रु सात लाख उपचार खर्च लाग्ने भएपछि भदौ ९ गतेदेखि ‘एञ्जिला परियार बचाऔँ अभियान’ थालिएको अभियानका संयोजक इन्द्रबहादुर लिमेलले बताउनुभयो ।   एञ्जिलालाई उदयपुरको गाईघाट हुँदै विराटनगर पुर्याएपछि मस्तिष्कघात भएको र त्यही कारण देब्रेहात र खुट्टा नचल्ने समस्या भएको पुष्टि भएको थियो ।   एञ्जिलाको साउन ३२ गतेदेखि नोबेल अस्पतालमा आइसीयूमा राखेर उपचार भइरहेको बुबा मनोज परियारले जानकारी दिनुभयो । “घरकी माइली छोरी एञ्जिलालाई सुरुमा केही दिन ज्वरो आएको थियो । औषधोपचार गरेपछि ठिक भएको थियो ।   पुन: तीन/चार दिनपछि कडा ज्वरो आएपछि देब्रे हात र खुट्टा चल्नै नसक्ने अवस्थामा पुगेको छ”, उहाँले भन्नुभयो, “एञ्जिलालाई अझै दुई हप्ता आइसीयूमा राखेर उपचार गर्नुपर्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् ।   घरको अर्थावस्थाले धान्ने स्थिति छैन । त्यसैले छोरीको जीवनरक्षाका लागि सबैसँग हात फैलाएका हौँ ।” एञ्जिलालाई सहयोग गर्न बराहापोखरी सेवा समाजको खातामा जम्मा हुनेगरी क्यूआर गरेर सहयोग रकम प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।   एञ्जिलाको सहयोगार्थ स्वदेशदेखि विदेशसम्म अभियान्ता तोकिएको संयोजक लिमेलले बताउनुभयो ।   परिवारको अर्थावस्था दयनीय भएको भन्दै वडा कार्यालय बराहपोखरीले पनि आर्थिक सहयोग गर्न भदौ २ गते सिफारिस दिएको थियो । वडा कार्यालयले दिएको सिफारिसका आधारमा ‘एञ्जिला परियार बचाऔँ अभियान’ थालिएको संयोजक लिमेलले जानकारी दिनुभयो ।

पोखरा:     दीप युनाइटेड क्लब पोखरा १६ ले  आयोजना गरेको रक्तदान कार्यक्रममा ९० युनिट संकलन भएको छ ।   ‘सद्भाव र सहकार्यका लागि एकता’ भन्ने नाराका साथ दीप युनाइटेड क्लब पोखरा १६ ले हरितालिका तीजको अवसरमा आयोजना गरेको १२ औं रक्तदान कार्यक्रमबाट ९० युनिट संकलन भएको कार्यक्रम संयोजक आशिष क्षेत्रीले जानकारी दिए ।   कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले पहिलो रत्तदाता (५५ पटक रक्तदान) रामबहादुर बानियालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।   सो अवसरमा बोल्दै वडाध्यक्ष तिमिल्सिनाले हरेक युनिटबाट हरेक व्यक्तिको प्राण बच्ने सक्ने बताउदै आगामी दिनमासमेत सामाजिक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए ।   रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको सो कार्यक्रममा हार्ड रोग विषेशज्ञ डा निरज रन्जित, वडा १६ का वडासदस्य राजकुमारी बानिया, मन्जु बस्याल,  वडा नं १९ का वडासदस्य विकास आचार्य र बगरका प्रहरी सहायक निरीक्षक तारा बिक लगायतको सहभागिता थियो ।   क्लबका अध्यक्ष खेमराज आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भीमप्रसाद आचार्यले सञ्चालन गरेका थिए ।  

मोरङ:    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई रु पाँच लाख पुर्‍याउने बताउनुभएको छ ।      कोशी अस्पताल विराटनगर र विस्तारित सेवा प्रदान गर्ने भक्तपुर क्यान्सर अस्पतालबीच आज यहाँ सम्झौतापत्र हस्ताक्षर समारोहमा उहाँले सङ्घ, प्रदेश र स्थानीय पालिकाले स्वास्थ्य सेवामा दिने रकम रु ३१ अर्बलाई एकमुष्ट स्रोत सुनिश्चित गरी बीमालाई रु पाँच लाख पु¥याउने जानकारी दिनुभयो ।       मन्त्री पौडेलले  मुलुकमा सुर्ती र मदिराबाट उठ्ने स्वास्थ्य करको ५० प्रतिशत रकम स्वास्थ्य बीमा बोर्डमा हाल्नुपर्ने भन्दै कोशी अस्पतालको सेवा व्यापक सुधारको खाँचो रहेकामा जोड दिनुभयो ।      उहाँले आज हस्ताक्षर र सम्झौताले अर्बुद रोग उपचारका लागि नागरिकलाई चितवन र भक्तपुरमा जानुपर्ने बाध्यतालाई केही हदसम्म अन्त्य हुने धारणा राख्नुभयो ।  मन्त्री पौडेलले भत्रुभयो, “जनताको स्वास्थ्यसँग कसैले पनि खेलबाड गर्नु हुँदैन, जनतालाई लोकतन्त्रको महसुस गराउन स्वास्थ्य सेवासुविधा सहज, सरलीकृत, गुणस्तरीय र निःशुल्क हुनुपर्छ, आफ्ना क्षमताले भ्याएसम्म जनताको उपचारमा लाग्नुपर्छ ।”      उहाँले कोशी अस्पतालको सेवा भद्रगोल भएकामा चिन्ता व्यक्त गर्दै जनताको सेवासुविधालाई मन्त्रालयले बनाएको नियम, कानुन र नीतिको पालन गर्न निर्देशन दिनुभयो । मन्त्री पौडेलले जनताको पहिलो आवश्यकता स्वास्थ्य सेवा हो भन्दै अस्पतालले नागरिकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने आवश्यकता आँैल्याउनुभयो ।      मन्त्रालयका सचिव डा रोशन पोखरेलले कोशी अस्पताललाई मागी खाने भाँडो नबनाउन आग्रह गर्दै यसलाई सेवा दिने संस्थाको रुपमा कायम गर्नुपर्नेमा जोड दिनुभयो ।      भक्तपुर क्यान्सर अस्पतालका निर्देशक उज्ज्वल चालिसे  र कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रविनराज सिंहले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।       हाललाई भक्तपुर क्यान्सर अस्पतालले कोशी अस्पतालमा प्रत्येक महिना छदेखि १० जना विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गर्ने भक्तपुर अस्पतालका निर्देशक चालिसेले जानकारी दिनुभयो । कोशी अस्पतालले विसं २०७२ देखि अर्बुद रोगको उपचार गर्दै आइरहेको छ ।

बागमती:   मकवानपुरमा स्क्रब टाइफसका बिरामी बढेका छन् ।   साउन सुरु भएसँगै मकवानपुरमा फाट्टफुट्ट देखिने स्क्रब टाइफसका बिरामी पछिल्लो समय ठूलो सङ्ख्यामा देखा पर्न थालेको हो । य   ही साउनदेखि हालसम्म मकवानपुरमा स्क्रब टाइफसका बिरामीको सङ्ख्या ७० पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिझारले जानकारी दिनुभयो ।   डेङ्गी सङ्क्रमणजस्तै स्क्रब टाइफसका बिरामी सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा भेटिएका छन् । हेटौँडा उपमहानगरपालिकामा ३९ जना स्क्रब टाइफसका बिरामी फेलापरेको प्रमुख मिझारले बताउनुभयो ।   यस्तै मकवानपुरगढीमा ९, मनहरी गाउँपालिकामा ६, बकैया गाउँपालिकामा ७, भीमफेदी गाउँपालिकामा ४, बागमती गाउँपालिका, कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकामा एक–एकजना स्क्रब टाइफसका बिरामी फेलापरेको प्रमुख मिझारले जानकारी दिनुभयो ।   मुसाको माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सचेतना अपनाउन प्रमुख मिझारले आग्रह गर्नुभयो ।   डेङ्गी सङ्क्रमित बढ्दै पछिल्लो एक महिनामा मकवानपुरमा डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । यही साउन १ गतेदेखि हालसम्म मकवानपुरमा एक सय ४३ डेङ्गी सङ्क्रमित फेला परेका छन् ।   जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिझारका अनुसार ७९ महिला र ६४ पुरुष गरी मकवानपुरमा एक सय ४३ जनामा नयाँ डेङ्गी सङ्क्रमित फेला परेका छन् ।   जसमध्ये सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा एक सय चार, मनहरी गाउँपालिकामा १६, मकवानपुरगढी गाउँपालिकामा आठ, बकैया गाउँपालिकामा छ, भीमफेदी गाउँपालिकामा तीन, बागमती गाउँपालिका र कैलाश गाउँपालिकामा एक–एक जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको प्रमुख मिझारले बताउनुभयो ।   वर्षायामको समय भएकाले डेङ्गी सङ्क्रमित अझै बढ्न सक्ने भएकाले स्थानीय तहसँगको समन्वयमा जनचेतनामूलक सन्देश प्रवाह तथा लामखुट्टे मार्ने अभियान अघि बढाइएको प्रमुख मिझारको भनाइ छ ।   यता डेङ्गी सङ्क्रमणको उच्च जोखिममा रहेको हेटौँडा उपमहानगर क्षेत्रमा लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु भएको छ ।   हेटौँडा उपमहानगरपालिकाले नगरका विभिन्न वडामा लामखुट्टे लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गरेको हो ।   पानी जम्ने ठाउँलाई पुर्ने, लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने, जोखिम क्षेत्रमा स्प्रे गर्ने तथा डेङ्गीबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको हेटौँडा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद तिवारीले बताउनुभयो ।

गण्डकी:      अहिलेसम्म ६४ स्थानीय तहका स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्यकर्मी र महिला स्वयंसेविका सहभागी रहेको भ्रमण टोलीले हेमजा स्वास्थ्यचौकीको भ्रमण गरिसकेका छन् ।  पोखरा महानगरपालिका–२५ हेमजास्थित स्वास्थ्यचौकीको स्थलगत अवलोकन गर्न बिहीबार यहाँ पुग्दा रमणीय र शान्त वातावरणमा कार्यसम्पादन भएको पाइयो ।  बिहान ९ः०० बजेतिर यहाँ पुग्दा स्वास्थ्यचौकीको मूल प्रवेशद्वार खुलिसकेको थियो । चिटिक्क सिँगारिएको स्वास्थ्यचौकी भवन नियाल्दै हामी भित्री परिसरमा गयौँ । भवनबाहिरको हरित उद्यानले स्वास्थ्यचौकीको व्यवस्थापन पक्ष सरसफाइ र पर्यावरणीय स्वच्छतामा कतिसम्म संवेदनशील छ भन्ने देखाउँछ । स्वास्थ्यचौकी भवनको भित्री कक्षमा नछिर्दै हाम्रा आँखा छेवैका भित्तामा अडिए । नागरिक बडापत्र, स्वास्थ्यचौकीको वार्षिक कार्ययोजना, सूचीकृत औषधिको विवरण, मासिक प्रगति विवरण, सेवाग्राहीका अधिकार र सेवा प्रदायकको दायित्व, स्वास्थ्य सचेतना जगाउने उपाय र तरिकाबारेका सचित्र विवरण सेवाग्राहीले सहजै देख्ने स्थानमा राखिएको पायौँ । स्वास्थ्यचौकी भवनको दोस्रोतलाको बाहिरपट्टि ‘डिजिटल डिस्पले’मार्फत पनि स्वास्थ्यचौकीसँग सम्बन्धित सूचना र विवरणहरू सार्वजनिक गरिएको थियो ।  सधैँ ९ः०० बजे कार्यकक्षमा हाजिर हुने स्वास्थ्यचौकीका प्रमुख कुश्मराज सुवेदीले स्वास्थ्यचौकीका सबै कक्ष घुमाउँदै भौतिक संरचना, सेवा प्रवाह र व्यवस्थापकीय पक्षबारे विस्तृतमा सुनाउनुभयो ।  विसं २०७८ मा बनेको स्वास्थ्यचौकीको भवन अपाङ्गमैत्री रहेको उहाँले बताउनुभयो । सेवाग्राहीको सुविधालाई हेरेर स्वास्थ्यचौकीमा युरो गार्डमार्फत स्वच्छ पिउने पानी, इन्टरनेट, मोबाइल चार्जिङ स्टेशनलगायत सुविधको प्रबन्ध गरिएको उहाँले जानकारी दिनुभयो ।  सुविधायुक्त सभाकक्षसहित ज्येष्ठ नागरिकका लागि भजन सङ्र्कीतन, बाती काड्ने र योग कक्ष निर्माण अगाडि बढेको प्रमुख शर्माले सुनाउनुभयो । जनस्वास्थ्य कार्यक्रममार्फत स्वस्थ समाज निर्माणलाई मूल उद्देश्य बनाएको स्वास्थ्यचौकीले सुरक्षित मातृत्व तथा परिवार नियोजनका कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाइ छ ।  मनोसामाजिक परामर्शका लागि छुट्टै कक्षको व्यवस्था गरिएको छ । पाठेघरको मुखको क्यान्सर जाँचको सुविधा पनि स्वास्थ्यचौकीमा हुन्छ । “स्वास्थ्य प्रोटोकलअनुसार महिलाको नियमित गर्भजाँच, परामर्श, सुरक्षित गर्भपतनलगायत सेवा यहाँ उपलब्ध छन्”, प्रमुख सुवेदीले भन्नुभयो, “विभिन्न अस्पतालसँगको सहकार्यमा हरेक महिना निःशुल्क आँखा परीक्षण शिविर पनि सञ्चालन गर्ने गरिएको छ ।” प्रमुख सुवेदीसँगको कुराकानीपछि ८१ वर्षीय भक्तप्रसाद तिमिल्सिनासँग स्वास्थ्यचौकीमा भेट भयो । उहाँ आफ्नो नियमित स्वास्थ्य जाँच र औषधि लिन यहाँ आउनुभएको थियो । “यहाँबाट स्वास्थ्य सेवा पाउँदा हामीलाई साह्रै खुसी लाग्छ, बिरामीलाई गर्ने व्यवहार पनि राम्रो छ”, उहाँले भन्नुभयो, “स्वास्थ्यचौकीले दिने सेवाबाट हामी सन्तुष्ट छौँ ।”  स्वास्थ्यचौकीले ७० वर्ष कटेका र जुनसुकै उमेरका दीर्घरोगीलाई घरमै गएर स्वास्थ्य जाँच, उपचार र परामर्श सेवा सुरु गरेपछि आफूजस्ता कैयन नागरिकले लाभ लिइरहेको उहाँले सुनाउनुभयो ।  दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई घरमा आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्याउन स्वास्थ्यचौकीले गत वैशाखदेखि ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सुरु गरेको थियो ।  “महानगरको नमूना कार्यक्रमका रूपमा वडा नं २५ बाट उक्त कार्यक्रम सुरु गरिएको हो”, प्रमुख सुवेदीले भन्नुभयो, “ज्येष्ठ नागरिकसँगै जुनसुकै उमेरका दीर्घरोगी, अशक्त र विपन्न परिवारका सदस्यलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन्छौँ ।” सरकारले सूचीकृत गरेका औषधि घरमै लगेर निःशुल्क वितरण गरिने उहाँको भनाइ छ । स्वास्थ्यचौकी सञ्चालन तथा व्यवस्थापन समितिका सदस्यसचिवसमेत रहनुभएका सुवेदीले समुदायमा स्वास्थ्य सचेतना र प्रवर्द्धनका कार्यक्रम सँगसँगै गर्ने गरिएको बताउनुभयो ।  “विशेषगरी नसर्ने रोगबाट प्रभावित ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने, औषधि नियमित खाए÷नखाएको अनुगमन गर्ने, जटिल अवस्था भए अस्पताल जान सुझाव दिने काम हामीले गर्छौँ”, उहाँले भन्नुभयो, “दुई महिनाको एकपटक घरमै पुगेर सेवा दिनेगरी कार्यविधि बनेको छ, अत्यावश्यक परेको खण्डमा जुनसुकै बेला सेवा दिन्छौँ ।” कार्यक्रमबाट उच्च रक्तचाप, मधमेहलगायत नसर्ने रोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई बढी लाभ पुगेको सुवेदीको भनाइ छ । स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य अनुगमन गर्ने र अस्पताल जानुपर्ने अवस्था भए सोहीअनुसारको सल्लाह तथा परामर्श दिने उहाँले बताउनुभयो । वडावासीलाई स्वस्थ्य आहारबिहार र जीवनशैलीबारे पनि शिक्षा तथा जानकारी दिने गरिएको उहाँले जानकारी दिनुभयो । आधारभूत स्वास्थ्य जाँचअन्तर्गत उच्च रक्तचाप, शरीरको तापक्रम, अक्सिजनको मात्रा, मधुमेह, कमलपित्त, नाडीको चाललगायत सेवा रहेका छन् । मुटुरोग, श्वासप्रश्वास, दम, क्यान्सरलगायत नसर्ने रोगबारे जानकारी एवं सचेतना प्रदान गर्ने गरिएको प्रमुख सुवेदीले बताउनुभयो । हरेक नागरिकलाई आफ्नो स्वास्थ्यप्रति सचेत र जिम्मेवार रहन यो कार्यक्रमले मद्दत पु¥याइरहेको उहाँले विश्वास व्यक्त गर्नुभयो ।  स्वास्थ्यचौकीले परिवार नियोजन सेवा पनि प्रवाह गर्दै आएको स्वास्थ्यचौकीका सिनियर अहेब देवी अर्मजा थापाले जानकारी दिनुभयो । “परिवार नियोजनमा कण्डम, पिल्स, डिपो, इम्पलान्ट र आयुसिडी गरी पाँच प्रकारका सेवा यहाँ उपलब्ध छन्”, उहाँले भन्नुभयो, “समुदायस्तरमा प्रजनन स्वास्थ्य सचेतनाका कार्यक्रम पनि नियमित सञ्चालन गर्ने गरिएको छ ।” स्वास्थ्यचौकीले हरेक महिना वडाका पाँच स्थानमा खोप तथा गाउँघर क्लिनिक सञ्चालन गर्दै आएको छ । वडालाई पूर्ण खोपसहित दिगोपनाको सुनिश्चितता भएको वडाका रूपमा घोषणा गरिएको छ ।  गुणस्तर सुधार तथा न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा स्वास्थ्यचौकीलाई गत वर्ष ८३ अङ्क प्राप्त भएकामा चालु आवमा ९० अङ्क पुर्याउने लक्ष्य लिइएको जनाइएको छ । नियमित तथ्याङ्क गुणस्तर मूल्याङ्कन र स्वास्थ्य सूचना व्यवस्थापन चुस्त बनाइएको छ । बिरामी दर्तालगायत स्वास्थ्यचौकीबाट हुने प्रशासनिक काम अनलाइन प्रणालीमार्फत गर्ने गरिएको छ ।  पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले हेमजा स्वास्थ्यचौकीले सुरु गरेको ‘नागरिक आरोग्य कार्यक्रम’ महानगरभित्रको पहिलो कार्यक्रम रहेको बताउनुभयो ।  “चुस्त व्यवस्थापन र गुणस्तरीय सेवा प्रवाहका दृष्टिले हेमजा स्वास्थ्यचौकी अन्य स्वास्थ्यचौकीका लागि अनुकरणीय बन्न सक्छ”, उहाँले भन्नुभयो, “जनप्रतिनिधि र स्थानीय समुदायसँगको समन्वयात्मक भूमिका कारण पनि हेमजा स्वास्थ्यचौकीले फड्को मार्न सफल भएको हो ।” महाशाखा प्रमुख आचार्यले उक्त स्वास्थ्यचौकीलाई सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका रूपमा विकास गर्न तयारी अगाडि बढेको बताउनुभयो । “सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका लागि आवश्यक पूर्वाधार तयारीको काम भइरहेको छ, छिट्टै जनशक्ति गरेर यसलाई सञ्चालनमा ल्याउँछौँ”, उहाँले भन्नुभयो, “मेडिकल अधिकृतसहित स्वास्थ्यकर्मीको टोली यसमा हुन्छ, अहिलेको भन्दा थप स्तरीय सेवा केन्द्रमार्फत प्रवाह हुन्छ ।” सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र बनेपछि स्वास्थ्य बीमाको सिफारिस पनि सोही केन्द्रबाट हुने उहाँले बताउनुभयो । उक्त केन्द्रमा प्रयोगशाला, फार्मेसीलगायत सेवा थप हुने उहाँको भनाइ छ । महाशाखा प्रमुख आचार्यका अनुसार पाखरा महानगरअन्तर्गत ४९ वटा स्वास्थ्य संस्था सञ्चालित छन् । ती स्वास्थ्य संस्थामा रहेका तीन सय ५० भन्दा बढी स्वास्थ्यकर्मी नागरिकको सेवामा खटिएको उहाँको भनाइ छ । महानगरका प्रशासन महाशाखा प्रमुख एवं सूचना अधिकारी कृष्णप्रसाद तिवारीले हेमजा स्वास्थ्यचौकीले प्रवाह गर्ने सेवामा स्तरीयता र सिर्जनशीलता झल्केको आफूले पाएको बताउनुभयो ।  “महानगरभित्रका सबै स्वास्थ्य संस्था आफ्नो ठाउँमा अब्बल नै छन्, तर हेमजा स्वास्थ्यचौकी कार्यक्रम कार्यान्वयनका दृष्टिमा अन्यभन्दा केही भिन्न छ”, उहाँले भन्नुभयो, “ऊ आफैँले गर्ने स्वःमूल्याङ्कन, नियमित समीक्षा, सामाजिक परीक्षण, सेवाग्राहीको सन्तुष्टि परीक्षण, जवाफदेहिता तथा पारदर्शिता, सूचना व्यवस्थापनलगायत असल अभ्यास देशका अन्य स्वास्थ्यचौकीका लागि पनि प्रेरणादायी छन् ।”