पोखरा महागरपालिका८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण प्रवचनकाबीच महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धि स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । श्रीकृष्ण प्रणामी मन्दिरमा जारी एक महिने श्रीमदवीतक चर्चामा आउने भक्तजनहरुलाई लक्षित गरी प्रयास नेपाल र लायन्स क्लव अफ पोखरा स्काइ टाउनको आयोजनामा सम्पन्न स्वास्थ्य परीक्षण कार्यक्रममा ७५ जना महिला दिदीबहिनीहरुले स्वास्थ्य परिक्षण गराएका थिए । सो अवसरमा बोल्दै वरिष्ठ आँखा रोग विशेषज्ञ डा. इन्द्रमान महर्जनले महिलाहरुको पाठेघरको क्यान्सर हुनु अगावै पाठेघरको मुखको क्यान्सरको जाँज गराउन सके पाठेघरको क्यान्सरबाट बच्न सकिने बताए । पाठेघरको क्यान्सरको बारेमा अझैपनि समाजमा सचेतना फैल्याउन आवश्यक रहेको वताउदै श्रीकृष्ण प्रणामी मन्दिरमा प्रयास नेपाल र लायन्स क्लव अफ पोखरा स्काई टाउनले आयोजना गरेको स्वास्थ्य शिविरले सकारात्मक सन्देश प्रवाह गरेको समेत बताए । प्रयास नेपाल अध्यक्ष शर्मिला भट्टराईले प्रयास नेपालले शिक्षा, स्वास्थ्य र सेवाको क्षेत्रमा काम गर्दै आइरहदा महिलाहरुको पाठेघरको क्यान्सरको दर दिनानुदिन बढ्दै गइरहेको त्यस प्रति सचेत गराउनका लागि पाठेघरको मुखको क्यान्सरको बारेमा सचेतनासंगै परिक्षण कार्यक्रमको आयोजना गरिएको बताइन् । पाठेघरको मुखको क्यान्सरको परिक्षण मार्फत पाठेघरमा क्यान्सर हुदैछ भन्ने जानकारी पाइने भएकाले ३० देखी ६० वर्ष उमेर पुगेका महिलाहरुले त्यसबारेमा ध्यान दिन आवश्यक रहेको उनको भनाई थियो । सो अवसरमा बोल्दै श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले श्रीकृष्ण प्रणामी सेवा समितिले रक्तदान, आँखा जाँच लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिदै आइरहदा प्रयास नेपाल र लायन्स क्लव अफ पोखरा स्काई टाउनको सहयोगमा महिलाहरुको पाठेघरको मुखको क्यासन्सरलाई मध्येनजर गरी स्वास्थ्य परिक्षणको कार्यक्रमको आयोजना गरिएको बताए । स्वास्थ्य परीक्षण कार्यक्रममा मेडिसिन कोअर्डिनेटर निलम महर्जन, सिनियर नर्सिङ अफिसर पुष्पा लक्ष्मी महर्जन लगायतले सहजीकरण गरेका थिएभने प्रयास नेपालका कोषाध्यक्ष निरु पराजुली, सह सचिव वुद्धिसागर सापकोटा, सदस्य दुर्गा थपलिया, लायन्स क्लव अफ पोखरा स्काइ टाउनका पूर्व अध्यक्ष मञ्जु पौडेल भट्टराई, कोषाध्यक्ष मधु पन्थी लगायतको उपस्थिती रहेको श्रीकृष्ण प्रणामी सेवा समितिका सचिव लक्ष्मण बरालले जानकारी दिए । भदौ १० गते सम्म सञ्चालन हुने श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण प्रवचनको ३१ औं दिन शनिवार सम्म आइपुग्दा भक्तजनको आगमन कायमै रहेको छ ।
काठमाडौं: वर्खायाम लागेसँगै डेङ्गी र हैजा रोगको सङ्क्रमण बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण ७५ जिल्लामा पुगेको छ । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको सङ्क्रमण देखिएको बताउनुभयो । ७५ जिल्लामा पाँच हजार एक सय १९ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । यसवर्ष हालसम्म तीन जना डेङ्गी रोगको सङ्क्रमणको कारणले निधन भइसकेको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ति फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ । काठमाडौँ जिल्लामा चार सय २१, भक्तपुर ५८ र ललितपुर ७९ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । वर्षाको बेला पानीका सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गुको सङ्क्रमण बढेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तगा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाई गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सचालन गर्न आग्रह गरेको छ । सरकारी अस्पतालमा डेङ्गी रोगका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ । यस्तै महाशाखाका अनुसार हैजाका बिरामी ६७ जना पुगेका छन् । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा दाहालले ललितपुर, काठमाडौँ, प्यूठान, मकवानपुर र कैलाली हैजाका बिरामी भेटिएको बताउनुभयो । उहाँका अनुसार ललितपुरमा ४७ काठमाडौँमा नौ, कैलालीमा आठ, प्यूठान दुई, मकवानपुर एक जनामा हैजा पुष्टि भएको छ । हैजा अति सङ्क्रामक र शिघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिशा आउने वाकवाकी लाग्ने र वान्ता हुने, कडा जलवियोजन हुने गर्दछ ।
चितवन: पछिल्लो समय नेपाल नेत्रज्योति संघ चितवनले आफ्नो सञ्जाल शहरदेखि ग्रामीणतहसम्म विस्तार गरेको छ । यहाँस्थित भरतपुरमा संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले छिमेकी जिल्लाहरुमा समेत आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । भरतपुर आँखा अस्पताल बाहेक अन्य दुई सेकेण्डरी अस्पताल, एउटा सिटी क्लनिक र १८ आँखा उपचार केन्द्र संघद्वारा सञ्चालित छ । भरतपुर अस्पतालले चितवनका सातै पालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । भरतपुर महानगरपालिकाको चनौली र शिवनगर, माडी, राप्ती, खैरहनी, रत्ननगर, कालिका नगरपालिका र ईच्छाकामना गाउँपालिकामा यस्ता केन्द्र सञ्चालित छन् । संघद्वारा भरतपुरको नारायणगढमा ‘सिटी क्लिनिक’ सञ्चालित छ । नवलपरासी (सुस्ता बर्दघाट पूर्व) को हुप्सिकोट, मध्यविन्दु, बौदिकाली, गैंडाकोटमा केन्द्र छन् । कावासोतीमा सेकेण्डरी अस्पताल सञ्चालित छ । धादिङको सल्यानटार र बेनिघाट, तनहुँको आँबुखैरहनी र भानु नगरपालिका, सर्लाहीको ईश्वरपुर, सिन्धुलीको दुधौली र बाराको सिम्रनगढमा आँखा उपचार केन्द्र छन् भने पर्साको ठोरीमा सेकेण्डरी अस्पताल छ । संघका सभापति एवं अस्पताल सञ्चालक समितिका अध्यक्ष जयराम श्रेष्ठले आवश्यक स्थानमा आँखा उपचार केन्द्र विस्तार गर्दै लगिएको बताउनुभयो । अधिकांश केन्द्र र अस्पतालका प्रमुख पालिकाका प्रमुख एवं अध्यक्ष रहेको व्यवस्था गरिएका छन् । स्थानीयहरुको आँखा उपचार केन्द्र सहयोग समितिले केन्द्रको रेखदेख गर्दै आएको छ । स्थानीय पालिकाको सहकार्यमा अधिकांश केन्द्र सञ्चालन गरिएको छ । सेकेण्डरी अस्पतालमा चिकित्सक हुन्छन् भने केन्द्रहरुमा नेत्र सहायकले सेवा प्रदान गर्दछन् । दुईदेखि तीन जनाको टिमले केन्द्र सञ्चालन गर्दछ । जटिल समस्या आएमा टेलिमिडिसिन मार्फत् विशेषज्ञ चिकित्सकसँग परामर्श लिने व्यवस्था सबै केन्द्रमा छ । यसबाट पनि समाधान नभएमा बिरामीलाई मुख्य अस्पताल पठाउने गरिन्छ । मध्यम अवस्था रहेमा नजिकको अस्पतालमा पठाउने गरिन्छ । मुख्य अस्पतालमा विशेषज्ञ चिकित्सकहरु छन् । अस्पतालमा १२ जना विशेषज्ञ चिकित्सक, ८ जना अध्ययनरत आवासीय चिकित्सक, ८ जना अप्टोमेट्रिक्स (दृष्टि विशेषज्ञ), ५९ जना नेत्र सहायक सहितको टिमले उपचार दिंदै आएको छ । अध्यक्ष श्रेष्ठका अनुसार यहाँ कार्यरत चिकित्सकहरुले जलविन्दु, मोतियाविन्दु, दृष्टिपर्दा, कर्निया, अकोलोप्लास्टिक (नक्कली आँखा राख्ने) विषयमा फेलोसिप समेत गरेका छन् । अस्पतालले नै दुई जनालाई ‘फेलोसिप’ अध्यापन गराउँदैछ । अस्पतालका मेडिकल निर्देशक डा.पुष्पा गिरी श्रेष्ठका अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का विद्यार्थीहरु यहाँ आँखामा एमडि तहको अध्ययन गर्दछन् । यसका अतिरिक्त अन्य संस्थाहरुले पनि अध्ययनका लागि यहाँ पठाउने गर्दछन् । हिरालाल सन्तुदेवी प्रधान नेत्रविज्ञान अध्ययन संस्थान मार्फत् शैक्षिक कार्यक्रम सञ्चालन हुने गरेका छन् । नेत्र सहायक अध्यापन हुने गर्दछ । अस्पतालले चितवन र छिमेकी जिल्लाहरुमा शिविरहरु मार्फत् सेवा दिंदै आएको छ । निर्देशक डा गिरीका अनुसार हरेक वर्ष १२÷१३ जिल्लामा शिविर मार्फत् सेवा दिने गरिएको छ । अस्पतालले आँखा बैंक स्थापना गर्ने तयारी गरेको छ । भीराज उषामाया पाठक आँखा बैंक नाम दिइएको छ । अहिले नानी संकलन गरेर तिलगंगा पठाउने गरिएको छ । अहिलेसम्म एक हजार २५३ जनाले आँखा दानका लागि प्रतिबद्धता जनाइसकेका छन् । २७ जनाको नानी संकलन गरेर पठाईएको छ भने १३१ जनाको यहाँ नानी मगाएर प्रत्यारोपण गरिएको निर्देशक डा गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“मानव अंगको महत्वपूर्ण अंग आँखा हो । अन्धोपना हुनु जीवनका लागि निकै कठिन हुन्छ । समयमा उपचार पाएमा अन्धोपना हुनबाट जोगाउन सकिन्छ । ” अन्धोपन हुनबाट जोगाउँदै अस्पतालले गत आर्थिक वर्षमा तीन लाख ४० हजार दुई सय ६२ जनालाई आँखाको उपचार गरेको छ । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या तीन लाख २१ हजार छ रहेको थियो । झण्डै छ प्रतिशत बढी बिरामीलाई अस्पतालले सेवा दिएको हो । अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार बाह्य शिविरबाट ३९ हजार २३ जनालाई सेवा दिइएको छ । विद्यालयमा पुगेर ३५ हजार चार सय ८० बालबालिकाको आँखा परीक्षण गरिएको उहाँले बताउनुभयो । आँखा उपचार केन्द्रबाट ५२ हजार एक सय ४९ जनाले सेवा लिएका छन् । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या ३४ हजार एक सय रहेको थियो । यो अघिल्लो वर्ष भन्दा ५२ दशमलव ९१ प्रतिशतले बढी हो । मुख्य अस्पताल रहेको भरतपुरबाट एक लाख ६१ हजार सात सय ७६ जनाले सेवा लिएका छन् । यो अघिल्लो वर्षको भन्दा चार प्रतिशतले बढी हो । सूचना अधिकारी घिमिरेका अनुसार सो अवधिमा ११ हजार चार सय ३५ जनाको आँखाको शल्यक्रिया गरिएको छ । अघिल्लो आर्थिक वर्ष यो संख्या १० हजार चार सय १५ रहेको थियो । अघिल्लो वर्ष भन्दा गत आर्थिक वर्षमा नौ दशमलव ७९ प्रतिशत बढीको आँखाको शल्यक्रिया गरिएको छ । अस्पतालमा देशका विभिन्न भूभागसँगै भारतबाट समेत बिरामी आउने गर्दछन् । स्वयंसेविहरुको संस्था भएकाले न्यून शुल्कमा उपचार हुने गर्दछ । सरकारी र गैरसरकारी संघ संस्थाहरुले आआफ्नो क्षेत्रबाट सहयोग गर्ने भएकाले अस्पताल सञ्चालन गर्न कठिनाईका बाबजुद सहज बनेको संघका सचिव केशव अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो “अस्पताल आउने बिरामी आर्थिक अभावका कारण फर्किनु पर्दैन ।” स्वास्थ्य बीमा कार्यान्वयन भएकाले बिरामीलाई सहज हुने गरेको सचिव अधिकारीको भनाइ छ । अस्पताल विसं। २०४४ चैत्र १८ गते स्थापना भएको हो ।
तनहुँ: जिल्लामा डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । यही भदौ १ गते एक हजार ८२ जनामा सङ्क्रमण देखिएकामा अहिले एक हजार तीन सय २३ जनामा सङ्क्रमण पुष्टि भएको हो । छ दिनमा दुई सय ४१ जना नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको आँबुखैरेनीमा सबैभन्दा बढी नौ सय ८८ जनामा सङ्क्रमण देखिएको छ । शुक्लागण्डकीमा एक सय ४९, व्यासमा ९८, बन्दीपुरमा ७१, म्याग्देमा सात, भीमाद र भानुमा पाँच÷पाँच जनामा डेङ्गी पुष्टि भएको छ । चार नगरपालिका र छ गाउँपालिका गरी १० पालिका रहेको जिल्लामा सात पालिकामा डेङ्गी सङ्क्रमण देखिएको सूचना अधिकारी कँडेलले बताउनुभयो । ऋषिङ, घिरिङ र देवघाटमा हालसम्म सङ्क्रमितको सङ्ख्या शून्य छ । सङ्क्रमण बढेपछि आँबुखैरेनी गाउँपालिकाले लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ अभियानलाई तीव्रता दिँदै आएको छ । पालिका डेङ्गी सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएकाले जनचेतनासँगै अभियानलाई तीव्रता दिइएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले बताउनुभयो । विभिन्न टोल तथा बस्तीमा पुगेर लामखुट्टेले फुल पार्ने सम्भावित ठाउँको खोजीगरी नष्ट गरिएको उहाँले जानकारी दिनुभयो । डेङ्गी सङ्क्रमण बढ्दै गएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । आँबुखैरेनी अस्पतालमा लक्षित वर्गका सङ्क्रमितको निःशुल्क उपचारको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक अवस्था कमजोर भएका, नवजात शिशु, गर्भवती, सुत्केरी, बेवारिसे, अपाङ्गता भएका, सहाराविहीन, अशक्त तथा ज्येष्ठ नागरिकलाई औषधि उपचारमा निःशुल्क गरिएको छ । बिरामीलाई आवश्यक परेमा अस्पतालमा भर्ना, औषधिलगायत सम्पूर्ण खर्च गाउँपालिकाले व्यर्होर्ने बताउँदै अध्यक्ष चुमानले पालिकाले सिफारिस गरेपछि सोका आधारमा अस्पतालले सेवा उपलब्ध गराउने जानकारी दिनुभयो ।
गण्डकी: समुदायमा डेङ्गी फैलाउने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट बच्न उक्त लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान सुरुआत गरिएको छ । सफा र जमेको पानीमा फुल पार्ने र लार्भा हुर्काउने उक्त लामखुट्टेको जीवनचक्र खल्बल्याउन ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको हो । कास्कीको पोखरा महानगरपालिकासहित यहाँका स्थानीय तह समुदायमा सरसफाइ सचेतनासहित डेङ्गी रोकथाममा जुटेका हुन् । पछिल्लो केही सातायता पोखरामा डेङ्गी सङ्क्रमण तीव्र बनेपछि हरेक शुक्रबार महानगरभित्रका सरकारी कार्यालय र सार्वजनिकस्थलमा उक्त अभियान सञ्चालन गरिएको महानगरको स्वास्थ्य महशाखाका सिअहेब अधिकृत अर्जुन क्षेत्रीले जानकारी दिनुभयो । महानगरबासीलाई पनि घर वरपर पानी जम्ने खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिन र त्यस्ता स्थल नष्ट गर्न सूचित गरिएको उहाँको भनाइ छ । “लामखट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि नै सुरु गरिएको छ”, उहाँले भन्नुभयो, “वर्षा रोकिएको केही दिनपछि डेङ्गीको सङ्क्रमण फैलने जोखिम उच्च हुने हुनाले समुदायका सबैले सजगता अपनाउनुपर्छ ।” डेङ्गी लागेर गत शनिबार पोखराको एक अस्पतालमा ५२ वर्षीया महिलाको निधन भएको घटनाले सरोकार भएका पक्षलाई डेङ्गी नियन्त्रणमा थप संवेदनशील बनाएको उहाँले बताउनुभयो । गत साउन तेस्रो साता एकैदिन पोखरा महानगरभिका ४० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएपछि महानगरले डेङ्गी रोकथाम र नियन्त्रणलाई अभियानकै रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । महानगरभित्रका सबै सरकारी कार्यालयले हरेक शुक्रबार बिहान १० देखि १० ः ३० बजेसम्म ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्दै आएको स्वास्थ्य महाशाखाले जनाएको छ । जमेको सफा पानीमा बस्ने र दिउँसोमा मात्र मानिसलाई टोक्ने उक्त लामखुट्टेको टोकाइबाट बच्नु डेङ्गी नियन्त्रणको उत्तम उपाय भएको सिअहेब अधिकृत क्षेत्रीको भनाइ छ । गत पुसयता पोखरा महानगरभित्र ६ सय ८५ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । डेङ्गीको शङ्का लागेमा तुरुन्त परीक्षण गरी र आवश्यकता अनुसार उपचार सुरु गर्नुपर्ने उहाँको भनाइ छ । लामखुट्टेको टोकाइबाट बच्न, घर वरिपरि पानी जम्ने ड्रम, खाली बट्टा, पुराना टायर, भाँडाकुँडा नराख्न र शरीर ढोक्ने गरी लुगा लगाउनुपर्ने उहाँको सुझाव छ । डेङ्गीको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा गर्ने गरेको जनस्वास्थ्य निरीक्षक रेग्मीले बताउनुभयो । यो रोगको खास औषधी नभएकाले लक्षणअनुसार औषधोपचार गर्ने गरिएको उहाँको भनाइ छ । “समयमा रोकथाम र नियन्त्रण गर्न नसके डेङ्गी ले जोखिम रुप लिन सक्छ”, उहाँले भन्नुभयो, “पोखरा महानगरभित्रका सघन बस्ती भएका केही वडामा तीव्र रुपमा डेङ्गीको सङ्क्रमण फैलिएको छ ।” उहाँले डेङ्गीले मानिसको ज्यानैसम्म लिने भएकाले सामान्य रुपमा लिन नहुने बताउनुभयो । डेङ्गी रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ । चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने गरेको जनस्वास्थय निरीक्षक रेग्मीले बताउनुभयो । असारदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमण बढी फैलने गरेको उहाँले बताउनुभयो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हिमालपारिको जिल्ला मुस्ताङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा डेङ्गी को सङ्क्रमण पुष्टि भएको छ । तनहुँ देशमै डेङ्गीबाट सबैभन्दा बढी प्रभावित जिल्ला बनेको छ । स्वास्थ्य विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार तनहुँमा डेङ्गी सङ्क्रमितको संख्या सात सय १५ पुगेको छ । प्रदेशगत रुपमा पनि गण्डकी प्रदेश डेङ्गी बाट सबैभन्दा बढी प्रभावित देखिएको छ । गण्डकीमा हालसम्म एक हजार चार सय ४८ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । बागलुङस्थित धवलागिरि अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेङ्गीसङ्क्रमण हुँदैमा आत्तिहाल्नु चाहिँ नपर्ने बताउनुभयो । डेङ्गी सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने उहाँको भनाइ छ । डेङ्गी भएमा आराम गर्ने, पानीलगायत झोलिलो प्रसस्त पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्न नहुने प्रमुख चिकित्सक प्रधानले बताउनुभयो । गर्भवती र बालबालिकामा डेङ्गीको सङ्क्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तन सक्ने खतरा हुने उहाँको भनाइ छ । “अधिकांश सङ्क्रमित सामान्य उपचारपछि निको हुन्छन्, कतिपयमा डेङ्गी ले जटिलता ल्याउन सक्छ, सामान्य रोग हो भन्ने सोचेर लापरबाही गरेमा ज्यानै जोखिममा पर्न सक्छ”, उहाँले भन्नुभयो ।
बागलुङ (ढोरपाटन): बागलुङको बडिगाड गाउँपालिका–५ ग्वालीचौरमा रु १८ करोडको लागतमा १५ शय्याको अस्पताल भवन निर्माण भएको छ । सङ्घीय सरकारको लगानीमा निर्मित उक्त भवनबाट आगामी कात्तिकदेखि सञ्चालन गर्ने तयारीमा गाउँपालिका जुटेको गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले बताउनुभयो । अस्पताल सञ्चालनमा आएपछि यहाँका स्थानीय बुर्तिबाङ, पोखरा, काठमाडौँ, पाल्पालगायत स्थानमा उपचारका लागि जानुपर्ने बाध्यता हट्ने उहाँले बताउनुभयो । गाउँपालिकाले सबै वडामा स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सामान्य रोगको उचार गर्दै आएको छ ।
मोरङ: कोशी प्रदेशमा डेङ्गी नियन्त्रण चुनौतीका रूपमा देखापरेको चिकित्सक तथा स्थानीय निकायका पदाधिकारीहरूले बताएका छन् । बितेका चार महिनामा प्रदेशमा पाँच सय ८२ जना डेङ्गी सङ्क्रमित भएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बुधबार साँझ यहाँ आयोजित मोरङका स्थानीय तहका प्रमुख उपप्रमुख, सरोकारवालालगायतको सहभागितामा भएको डेङ्गी नियन्त्रणसम्बन्धी कार्यक्रममा उक्त जानकारी दिइएको हो । डेङ्गी लागेर एकजनाको मृत्यु भएको छ । यो प्रदेशमा साउन १ देखि २९ गते सम्ममा तीन सय ३४ जना सङ्क्रमित थपिएका हुन् । धनकुटास्थित स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार उक्त अवधिमा मोरङमा एक सय ९९, झापामा ३३, धनकुटामा ३२, सङ्खुवासभामा ३०, भोजपुरमा २५, ओखलढुङ्गामा १०, खोटाङमा तीन र तेह्रथुममा दुईजना सङ्क्रमित भएका छन् । मोरङको लेटाङ नगरपालिकामा सङ्क्रमितको सङ्ख्या तीन सय १० पुगेको उपप्रमुख कृष्णकुमारी निरौलाले बताउनुभयो ।
कास्की: पोखरा -६ लेकसाइडमा सञ्चालित क्याटवाकले दोस्रो वार्षिकोत्सवको अवसर पारेर निशुल्क आँखा जाच तथा रक्तदान कार्यक्रम गर्ने भएको छ । हस्पिटालिटीको क्षेत्रमा युवाहरुको रोजाइ बन्दै आएको क्याटवाकले भदौ १ गते रक्तदानसँगै निशुल्क आँखा परीक्षण कार्यक्रमको आयोजना गर्न लागेको हो । कार्यक्रम बेलुका ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुनेछ । यस्तै वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्यक्रमहरुसमेत आयोजना गर्ने बताइएको छ ।
तनहुँ: तनहुँको आँबुखैरेनी अस्पतालमा डेङ्गु सङ्क्रमितको निःशुल्क उपचार गरिने भएको छ । अस्पतालले लक्षित वर्गलाई डेङ्गु सङ्क्रमणमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो । आँबुखैरेनी गाउँपालिकाअन्तर्गत डेङ्गु रोगको प्रकोपको कारणले उत्पन्न सङ्कटको समयमा सबैलाई आवश्यक स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने उद्देश्यले प्रारम्भिक लक्षण देखिएका सबैलाई निःशुल्क डेङ्गु परीक्षण र लक्षित वर्गलाई निःशुल्क उपचार उपलब्ध गराइने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । प्रारम्भिक लक्षण देखिएका सबैलाई ‘¥यापिड डाइग्नोष्टिक टेष्ट’ विधिबाट परीक्षणको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । त्यस्तै, गरिब तथा आर्थिक रुपले विपन्न, नवजात शिशु, गर्भवती, सुत्केरी, बेवारिसे, अपाङ्ग, सहाराविहीन अशक्त एवं अपाङ्गता तथा ज्येष्ठ नागरिकलाई औषधि र आवश्यक परेमा अस्पतालमा भर्नालगायत सम्पूर्ण खर्च गाउँपालिकाको सिफारिसमा बेहोरिने चुमानले बताउनुभयो । आँबुखैरेनीमा केही दिनयता डेङ्गु सङ्क्रमित बढेकाले सतर्कता अपनाउन आवश्यक रहेको अस्पताल प्रमुख डा डिबी क्षेत्रीले बताउनुभयो । डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्ने तथा लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्ने डा क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “सुत्दा सधैँ झूलको प्रयोग गर्नुपर्छ, लामखुट्टेको टोकाइबाट बचाउने धुप तथा झोलको प्रयोग गर्न सकिए यसबाट बच्न सकिन्छ ।” त्यस्तै, पूरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउन, ट्याङ्की र कुलरहरु हप्तामा एकचोटी सफा गर्न डा क्षेत्रीले आग्रह गर्नुभयो । जिल्लामा सबैभन्दा बढी डेङ्गु सङ्क्रमण आँबुखैरेनीमा पुष्टि भएको छ । सोमबारसम्म जिल्लाभर आठ सय २२ सङ्क्रमित हुँदा आँबुखैरेनीमा मात्रै छ सय चारजनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिनुभयो । कँडेलका अनुसार व्यास नगरपालिकामा ५७, शुक्लागण्डकी नगरपालिकामा एक सय २३, भिमाद नगरपालिकामा दुई र बन्दीपुर गाउँपालिकामा ३६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । आँबुखैरेनीस्थित मनकामना हेल्थ क्लिनिक, आरोही पुष्पाञ्जली क्लिनिक, गोरखकाली पोलिक्लिनिक, ओम मेडिकल केयर, आँबुखैरेनी अस्पतालमा, बन्दीपुर गाउँपालिकास्थित बन्दीपुर अस्पताल, लक्ष्मी अस्पताल, मोती हेल्थ क्लिनिक, सञ्जीवनी प्याथोलोजी क्लिनिक, भिमाद नगरपालिकास्थित भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, व्यास नगरपालिकास्थित दमौली अस्पताल, रत्नहरि अस्पताल, समाधान अस्पताल, दमौली सामुदायिक अस्पताल, नेसनल एपोलो अस्पताल र युआरएल ल्याब्रोटोरीमा डेङ्गु परीक्षण गरिएको छ । शुक्लागण्डकी नगरपालिकास्थित तनहुँ सेवा अस्पताल, आले मेडिकल हल, युआरएल ल्याब्रोटोरी, खैरेनीटार अस्पताल र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डेङ्गु परीक्षण गरिएको छ । एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण भएको चिकित्सकको भनाइ छ ।