भक्तपुर:   सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ ।  शनिबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा. प...

पोखरा:  नेपाल परिवार नियोजन संघ कास्की शाखाले सामुदायिक महिला स्वास्थ्य स्वयसेविकाका लागि यौन तथा प्रजनन् स्वास्थ्य अभिमुखीकरण कार्यक्रम गरेको छ ।   संघले पोखरा महानगरपालिका वडा नं २८ का स्वयंसेविकाका लागि सौर्यस्थित माझठाना स्वास्थ्य चौकीमा कार्यक्रम गरेको हो । कार्यक्रममा वडाभित्र कार्यरत स्वयंसेविकाको सहभागिता रहेको थियो ।   कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीले संचालन गरिरहेको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि सेवा बारेमा जानकारी दिइएको सभापति नवीन सिग्देलले जानकारी दिनुभयो ।   कार्यक्रममा शाखाका बरिष्ठ शाखा प्रवन्धक नवराज तिवारीले सहजिकरण गर्नुभएको थियो ।   कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले वडाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।   नेपाल परिवार नियोजन संघका केन्द्रीय महासचिव अर्जुन सिग्देलले यौन तथा प्रजनन् स्वास्थ्य सेवालाई महत्व दिएर सेवा संचालन गरेको उल्लेख गर्नुभयो ।   नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम माझठाना स्वास्थ्य चौकी प्रमुख विनोद तिवारीले संचालन गर्नुभएको थियो ।

पोखरा:    ‘रक्तदान जिवनदान, जीवनदान महादान’ भन्ने मूल नारासहित मेडिप्लस हस्पिटल महेन्द्रपुलमा भएको  रक्तदान कार्यक्रमबाट ४० युनिट संकलन भएको छ ।   लायन्स क्लब अफ पोखरा डेस्टिनेशन, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर, हाम्रो गन्तव्य बहुउदेश्यीय सहकारी संस्था र लियो क्लब अफ पोखरा डेस्टिनेशनले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरे ।   कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले सो अवसरमा बोल्दै उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे ।   उनले आगामी दिनमासमेत यस्तो प्रकारको सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए ।   डा. सरोज पोखरेलका अनुसार रक्त कार्यक्रममा लायन्स क्लब अफ पोखरा डेस्टिनेशनका पूर्व अध्यक्ष लक्ष्मण तिमिल्सिना, डा. अमर नागिला, राम प्रसाद तिमिल्सिना मेडीप्लस हस्पिटलका अध्यक्ष डा. आनन्द भट्टराई, हाम्रो गन्तव्य बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष विष्णुहरी तिमिल्सिना, उपाध्यक्ष अब्दुल वाहिद मिया, कोषाध्यक्ष शरण शाक्य तथा लियो क्लब अफ पोखरा डेस्टिनेशनकी अध्यक्ष मनिषा नेपाली लगायतको सहभागिता रहेको थियो ।   लायन्स क्लब अफ पोखरा डेस्टिनेशनका अध्यक्ष सन्तोष तिमिल्सिनाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन लायन्स क्लबका सचिव छबि पनेरुले गरेका थिए ।

पोखरा:    पोखरा महानगरपालिका १३ का बासिन्दाले पोखराको फिस्टेल हस्पिटलमा उपचार गर्दा छुट पाउने भएका छन् ।  वडा कार्यालय र अस्पालबिच सोमबार भएको सम्झौता अनुसार अस्तापलबाट प्रदान गरिने विभिन्न शिर्षकको सेवामा ५ प्रतिशत छुट दिइने भएको हो ।  पोखरा महानगरपालिका १३ का वडाध्यक्ष किरण बराल र फिस्टेल हस्पिटल एण्ड रिसर्च सेण्टर प्रालिका अध्यक्ष डा. भोला श्रेष्ठ र मेडिकल डाइरेक्टर दिपेश कार्कीबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।  उक्त सम्झौतामा वडाबासीका लागि ओपिडी टिकट, यूसिजी, यूजिआई इन्डोस्कोपी, इसिजी, एक्सरे, सिटी स्क्यान, बेड शुल्क, ल्याब टेष्ट, हेल्थ प्याकेज, फार्मेसीलगायत सेवामा ५ प्रतिशत छुट दिइने उल्लेख गरिएको वडाध्यक्ष किरण बरालले जानकारी दिए ।  अस्पतालसँग छुट दिने गरी पोखराका ३३ वडामध्ये पोखरा १३ ले सुरुवात गरेको वडाध्यक्ष बरालले बताए । उनले भने, ‘३३ वडा मध्ये यो पहिलो हो । यो सम्झौतापछि वडाबासी राहत पाउन अपेक्षा लिएको छु ।’  

काठमाडौं:     सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्नका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट अतिरिक्त स्वास्थ्य सचिव डा दिपेन्द्ररमण सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।  उक्त समितिमा गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख मदनकुमार उपाध्याय सदस्य र वरिष्ठ जनस्वास्थ्य प्रशासक डा गुणनिधि शर्मा सदस्यसचिव रहनुभएको मन्त्रालयले जनाएको छ । सरकारी अस्पतालमा नागरिकले सहजरुपमा स्वास्थ्य सेवा पाउन नसकेको भन्ने जनगुनासा आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक कदम चाल्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवलाई निर्देशन दिनुभएको थियो । समितिले काठमाडौँ उपत्यकाभित्रका सङ्घीय अस्पतालको स्थलगत अनुगमन गरी अस्पतालमा शल्यक्रियाका लागि लामो सयमसम्म पालो कुर्नुपर्ने, प्रेषण (रिफर), सेवाको गुणस्तर तथा प्रक्रियागत झन्झटलगायत अवस्थाका बारेमा अध्ययन गर्ने कार्यादेश दिइएको छ ।  यसैगरी नागरिकको शल्यक्रियाका लागि भइरहेको ढिलाइका कारण, अस्पतालको विद्यमान शल्यक्रिया सेवा दिने विशेषज्ञ चिकित्सकको सङ्ख्या, उनीहरुको दैनिक सेवा विवरण तयार पार्न पनि समितिलाई निर्देशन दिइएको छ । समितिले अस्पतालबाट प्रवाह हुने बहिरङ्ग (ओपिडी) सेवा सम्बन्धमा सो क्षेत्र हेर्ने चिकित्सकको सङ्ख्या, निजहरुले दैनिक बिरामी हेरेको सङ्ख्या, प्रेषणको अवस्थाका बारेमा विस्तृत विवरण तयार पार्नेछ । समितिले अस्पतालमा प्रवाह हुने प्रयोगशाला तथा रेडियोलोजी सेवाको विस्तृत विवरण, सोही सेवाका लागि अन्यन्त्र ‘रिफर’ गरेको भए सोको विवरण प्रस्तुत गर्नेछ । यस्तै अस्पतालमा बिरामीको चाप, जनशक्ति, साधनस्रोत एवं अन्य पूर्वाधारको अवस्था अध्ययन गरी समयमै गुणस्तरीय सेवा प्रवाह भए÷नभएको अवस्था जानकारी गराउँदै समितिले सुझाव पेस गर्ने मन्त्रालयले जनाएको छ । कार्यादेशमा उल्लेख भएका विवरणसहित दुई साताभित्र प्रभावकारी स्वास्थ्य व्यवस्थापनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना पेस गर्न निर्देशन दिइएको छ ।

पोखरा:    कास्कीको माछापुच्छ्रे गाउँपालिका ९ सैतीघट्टामा मंगलबार स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।  रेष्टुरेन्ट एण्ड वार एशोसियसन (रेवान)पोखराको आयोजनामा सैतीघट्टा स्थित गोरीशंकर मनिलाल माविमा भएको स्वास्थ्य शिविरमा  ५ सय भन्दा बढीले स्वास्थ्य चेकजाँच गराएको रेवानका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए । शिविरमा स्वाथ्य जाँच गराएपछि औषधी पनि उपलब्ध गराइएको थियो ।  स्वाथ्य शिविरमा नाक, कान, घाँटी, आँखा, महिला तथा प्रस्तुति रोग, छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा रोग, बाल रोग, जनरल मेडिसिन सेवा उपलब्ध गराइएको थियो ।  प्रत्येक वर्ष कास्कीका दुर्गम गाउँका नागरिकलाई सेवा दिन स्वास्थ्य शिविर गर्दै आएको आयोजक संस्थाका रेवानका अध्यक्ष भट्टराईले जानकारी दिए । न्युन आए भएकाहरुलाई उपचारको क्रममा जटील समस्या रहेको पाइएमा मनिपाल शिक्षण अस्पताल संग सहकार्य गरेर थप उपचारमा सहयोग गर्ने पनि उनले अध्यक्ष भट्टराईले बताए ।  रेवान पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष सडक महोत्सव आयोजना गर्दै आएको छ । महोत्सवमा वचत भएको केही रकम र संस्थाका सदस्यहरु समेतको आर्थिक सहयोगमा सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर गर्दै आएको रेवान पोखराका महासचिव भिष्मराज पोडेलले बताए । स्वास्थ्य शिविरमा मनिपाल अस्पताल पोखराका चिकित्सकहरुले बिभिन्न रोगको चेकजाँच गरेका थिए ।  रेवान पोखराका सचिव विकास भट्टराईले दुर्गम गाउँमा प्रत्येक वर्ष निरन्तर रुपमा स्वास्थ्य शिविरको आयोजना गर्ने बताए । पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेश बहादुर भट्टराईले पोखराको खानेपानीको मुख्य स्रोत मर्दीखोलाको मुहान क्षेत्रका स्थानीय माझ स्वास्थ्य शिविर आयोजना गरेर स्वास्थ्य चेकजाँच हुनु प्रशंसा योग्य काम भएको बताउँदै निरन्तरता दिनु पर्ने बताए । आर्थिक अभावका कारण थप उपचारमा समस्या आए रेवानले उपचारमा सघाउने पनि उनले बताए ।  माछापुच्छ्रे गाउँपालिका ९ का वडा अध्यक्ष हरिबहादुर क्षेत्रीले दुर्गम गाउँमा स्वास्थ्य शिविर आयोजना गरेर स्थानीय जनताले स्वास्थ्य लाभ लिन पाएको बताए । दुर्गम गाउँका स्थानीय नियमीत स्वास्थ्य जाँच गराउन सहर जान नसक्ने भएकोले यस्ता कार्यक्रम निरन्तर दिन पनि उनले सुझाए ।     कास्कीको सिदीङबाट ३ घण्टा हिडेर आएका ७७ वर्षीय हरिलाल अधिकारीले गाउँमा स्वास्थ्य सेवा दिएकोले उपचारकालागि सहर जान नपर्दा खुशी लागेको सुनाए । आँखा कम देख्ने र घुँडाको समस्या भएकोले स्वास्थ्य शिविर हुँदै छ भन्ने थाहा पाएर बिहानै हिडेर उपचारकालागि आएको पनि उनले बताए ।  सैतीघट्टाकी सिता गुरुङ पाठेघरको समस्या,मसिना अक्षर नदेख्ने गरी आँखाको समस्या भएकोले स्वास्थ्य शिविरमा उपचार गराउन गएको सुनाइन् । आँखाको चेकजाँचपछि शिविरमा चस्मपनि उपलब्ध गराएको सुनाइन् । स्थानीय तथा गोरीशंकर मनिलाल माविका शिक्षक भोलानाथ अधिकारीले विकट गाउँमा स्वास्थ्य शिविर आयोजना गरेर स्वास्थ्य सेवा उपलब्ध गराएकोमा धेरै खुशी लागेको बताए ।  स्वास्थ्य उपचार आएकहरु मध्ये ४० वर्ष भन्दा कम उमेरका मान्छेहरुमा पनि चिनीरोग, उच्चरक्तचाप, मृगौला रोग र मुटु रोग देखिएको मनिपाल शिक्षण अस्पतालका फिजिसीयन डाक्टर अनमोल पौडेलले बताए ।  यस्ता रोगहरु आहारबिहारमा ध्यान नदिदा हुने उनले बताए । यस्तो समस्या देखिएका बिरामीले आफ्नो आहारविहारमा विशेष ध्यान दिनु पर्ने उनले सुझाए ।  खानामा नुनको मात्र कम्तीमा तीन ग्राम भन्दा कम, रातो मासुको मात्र कम, प्रशस्तमात्रामा शारिरिक व्यायम नियमीत रुपमा गर्न डा पौडेलले सुझाए ।  कार्यक्रममा स्थानीय समाजसेवी टेकबहादुर श्रेष्ठले उपचार खर्चको अभावमा उपचार गर्न सहर जान नसक्ने अवस्था समेत रहेको गाउँमा स्वास्थ्य शिविर आयोजना गरेर रेवान पोखराले धेरै सहयोग गरेको बताए । मनिपाल शिक्षण अस्पताल पोखराका लियाजेन अफिसर कृष्णमोहन श्रेष्ठले अस्पतालले स्वास्थ्य शिविरमा उपचार गराउनु भएका स्थानीयलाई अस्पतालले बिभिन्न उपचारमा छुटको व्यवस्था गर्ने पनि बताए ।   

पोखरा:     पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । महानगर क्षेत्रमा रहेका जन्मदेखि ५९ महिनासम्मका २९ हजार ३११ बालबालिकालाई घर मै पुगेर पूर्ण खोप लगाएको सुनिश्चित गरेपछि नगरप्रमुख धनराज आचार्यले मङ्गलवार एक कार्यक्रमका बिच उक्त घोषणा गर्नुभएको हो ।   स्वास्थ्य सेवा विभाग अन्तरगतको स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीका अनुसार पोखरा महानगरपालिका भित्रका जन्मदेखि ११ महिनासम्ममा ५ हजार ९१३ बालबालिकाहरूलाई पेन्टा पहिलो र ९५ प्रतिशत बालबालिकाले दादुरा रुवेला दोस्रो खोप प्राप्त गरेका छन् । जन्मदेखि ५९ महिनासम्मका २९ हजार ३११ बालबालिकालाई घर मै पुगेर पूर्ण खोप लगाएको सुनिश्चित गरिएको छ ।  यस क्रममा खोपको कुनै पनि मात्रा प्राप्त नगरेका ४ जना र १३२ जना आंशिक खोप प्राप्त गरेका बालबालिकाहरू समेत नियमित खोप सेसन र आकस्मिक खोप सेसनमा समावेश गरी पूर्ण खोप प्रदान गरिएको छ ।  पोखरा महानगरपालिकालाई पूर्ण खोप घोषणा गर्नु अघि ३३ वटै वडामा पूर्ण खोप सुनिश्चितता गरिएको थियो । ८९० जना स्वास्थ्यकर्मी र ६५२ जना महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुलाई घरधुरी सर्वेक्षण देखी खोप लगाउने कार्यसम्म परिचालन गरिएको स्वास्थ्य महाशाखाले जनाएको छ । घोषणा सभामा नगर प्रमुख आचार्यले बालबालिकाहरूको स्वास्थ्यका लागि खोप आवश्यक रहेको तथ्यलाई मनन गर्न जरुरी रहेको बताउनुभयो । ‘आफ्ना बालबालिबाहरुलाई लगाउनु पर्ने सबै प्रकारका खोपहरू नियमित लगाउने विषयमा सबै जनाकार हुन जरुरी छ, प्रमुख आचार्यले भन्नुभयो, खोप केवल औपचारिकता मात्र नभई यो बालबालिकाको सुरक्षित भविष्यसँग जोडिएको विषय हो ।’ खोपले बालबालिकाहरूलाई शारीरिक र मानसिक रूपमा तन्दुरुस्ती प्रदान गर्ने र भविष्यमा आउन सक्ने स्वास्थ्य जटिलताबाट जोगाउने उहाँले बताउनुभयो । पोखरा महानगरपालिका बालबालिकाहरूलाई आवश्यक सबै खोपहरू प्रदान गर्ने कार्यमा प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताउनुभयो । एक जना बालबालिकालाई १३ प्रकारका खोपहरू प्रदान गर्दा ६० हजार बराबर लगानी हुने गरेको उल्लेख गर्दै उहाँले यसको महत्वलाई बुझ्न आवश्यक रहेको बताउनुभयो ।  उहाँले खोप लगाउन छुटेका बालबालिकाहरूलाई पत्ता लगाउने स्वास्थ्यकर्मी र स्वयमसेविकाहरुलाई प्रति बच्चा रु।२ हजार पुरस्कार दिने घोषणा समेत गर्नुभयो । खोप अभियानका क्रममा अहोरात्र खटिएर महत्त्वपूर्ण योगदान पुर्‍याउनु भएका स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुको समस्या प्रति आफू जानकार रहेको उहाँले बताउनुभयो । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले पूर्वाधार जत्तिकै गुणस्तरीय शिक्षा र स्वास्थ्यको विकास पनि वास्तविक विकास हुने भन्दै विकास प्रतिको दृष्टिकोणमा व्यापकता आवश्यक रहेको बताउनुभयो । मानव स्वास्थ्य र संसाधन दुवै सामाजिक विकासका आधार स्तम्भहरू भएको उहाँले बताउनुभयो । सरकारका विभिन्न आवधिक योजनाहरूमा यसलाई महत्वका साथ उल्लेख गरेको पाइए पनि स्रोत र साधनको अभावमा कार्यान्वयनको पाटो कमजोर देखिएको उहाँले बताउनुभयो ।  पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले पुर्णखोप सुनिश्चितता स्वास्थ्य सम्बन्धी बालबालिकाहरूको संवैधानिक अधिकारको प्रत्याभूति भएको उल्लेख गर्नुभयो । महानगरका सबै बालबालिकाहरूलाई खोप प्रदान गर्नु आफूहरूको जिम्मेवारी रहेको बताउँदै उहाँले यसका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।  पोखरा महानगरपालिका वडा नं.२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले बालबालिकाहरूलाई खोप लगाउने अभियानमा हातेमालो गर्न आह्वान गर्नुभयो ।  स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खिम बहादुर खड्का, स्वास्थ्य कार्यालय कास्कीका प्रमुख राम बहादुर नेपाली, महिला स्वास्थ्य स्वयंसेविका सञ्जाल पोखराकी संयोजक भीमा पौडेल, महानगरपालिकाका जनस्वास्थ्य अधिकृत फुलदेव तिमिल्सीना र जनस्वास्थ्य निरीक्षक एवं खोप अधिकृत तेजाखर लम्साल लगायतले बाल स्वास्थ्य र खोपको प्रभावकारिताका विषयमा बोल्नु भएको थियो ।

पोखरा:     आजदेखि देशभर आई.पि.भी खोप लगाउन सुरु भएको छ । आजदेखि सुरु भएको आई.पि.भी खोप अभियान जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।  अभियानमा  वि.सं. २०७३ बैशाखदेखि ०७५ आश्विनसम्म जन्मिएका बालबालिकाहरुलाई मात्र खोप लगाइने गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्माले जानकारी दिए  ।  उनका अनुसार गण्डकी प्रदेशमा ११ वटै जिल्लाका १ लाख १० हजार ३ सय २७ जना बालबालिकालाई आई.पि.भी खोप लगाइने छ ।  पोलिइव रोग निर्मुल पार्नका लागि २०७१ बाट सुरु भएको आई.पि.भी खोप ०७३ बाट विश्व बजारमा खोप अभाव भएर आपूर्ति नभएका कारण दुई वर्ष भन्दा बढी अवधि सम्म खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउने उद्धेश्यले अभियान सुरु गरिएको उनले बताए ।  खोप अभियानका लागि निर्धारण गरिएका उमेर समूहका अधिकांश बालबालिकाहरु विद्यालयमा अध्ययन गर्ने भएकाले विद्यालयमै गएर खोप लगाइने मन्त्रालयका सचिव डा. शर्माले बताए ।  मन्त्रालयका अनुसार कास्कीमा २८ हजार ३ सय ७, नवलपुरमा १९ हजार ७ सय २९,तनहुँमा १४ हजार ५ सय १२, बागलुङमा ११ हजार ७ सय ७७, र स्याङ्जामा १० हजार १ सय ४५ जना बालबालिकालाई आई.भि.पी खोप लगाइँदै छ ।  यस्तै गोरखामा ८ हजार ५ सय ३९  लमजुङमा ६ हजार ६ सय ६५, पर्वतमा ५ हजार ७ सय,म्याग्दीमा ४ हजार ३ सय ५६, मुस्ताङमा ४ सय ५० र मनाङमा १ सय ५३ जना बालबालिकालाई उक्त खोप लगाइँदै छ । जेठ १३ देखि २६ गतेसम्म सञ्चालन हुने आई.पि.भी खोप अभियानमा गण्डकी प्रदेशमा ३ हजार ४ सय ५३ जना स्वास्थ्यकर्मी र ६ हजार ९ सय ६ जना स्वास्थ्य स्वयंसेवक परिचालन भएका छन् ।  नियमिततर्फ पोलियोविरुद्ध ६ हप्ता,१० हप्ताका बालबालिकाहरुलाई मुखबाट थोपा तथा १४ हप्ता र ९ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ ।  नेपालले सन् २०१४ मै पोलियो मुक्त राष्ट्रको रुपमा प्रमाणपत्र पाएपनि दक्षिण एसियाली मुलुक पाकिस्तान र अफगानिस्तानमा अहिले पनि पोलियोको केश देखिएका कारण नेपालमा जोखिम कायमै रहेकाले खोप अभियान सञ्चालन गर्न लागेको जनाइएको छ । विश्व स्वास्थ्य संगठनले यो रोग २०२६ सम्म उन्मूलन गर्ने लक्ष्य राखेको छ ।   

काठमाडौं:    डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको जानकारी दिए । उनका अनुसार ५७ जिल्लामा नौ सय चार जनामा सङ्क्रमणमा देखिएको छ । उनले पानी पनि पर्न सुरु भएकाले डेङ्गुको जोखिम बढ्ने भएकाले सचेतना अपनाउन आग्रह गरे । ‘पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्छ’, उनले भने, ‘त्यसैले सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न पानी जम्न नदिने र लामखुट्टे मार्न अभियान सञ्चालन गर्नुपर्दछ ।’ गत वर्ष ७७ जिल्लामा ५१ हजार एक सय ४३ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको थियो । उनका अनुसार यसपटक धेरैको सङ्ख्यामा कुनै पनि जिल्लामा सङ्क्रमण देखिएको छैन । उनले जोखिम हुने ठाउँको पहिचान गरेर लामखुट्टे मार्न अभियान सञ्चालन गर्न ३३ स्थानीय तहलाई निर्देशन दिइसकेको बताए । डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएर टोकेपछि डेङ्गु लाग्दछ । ‘गर्मीसँगै पानी सङ्कलन गरेर राख्ने गरिन्छ, त्यसरी सङ्कलन गरिएको पानीमा  लामखुट्टेले फुल पार्दछ, सफा पानीमा त्यही लार्भा बन्ने र वयस्क भएपछि मानिसलाई टोक्ने गर्दछ’, उनले भने । डेङ्गु हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन् । लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न मन्त्रालयले अनुरोध गरेको छ । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिनु हुँदैन ।

पोखरा:     गण्डकी प्रदेशमा जेठ १३ देखि २६ गतेसम्म आई.पि.भी खोप अभियान सञ्चालन हुने भएको छ ।  जेठ १३ गतेदेखि देशभर सञ्चालन हुन लागेको आई.पि.भि खोप अभियानमा १४ लाख बढी बालबालिकालाई उक्त खोप लगाइँदै छ ।  गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले आज पोखरामा एक कार्यक्रमको आयोजना गर्दै प्रदेशका ११ जिल्लामा १ लाख १० हजार ३ सय २७ जना बालबालिकालाई आई.पि.भी खोप लगाउन लागेको जानकारी दिएको हो ।    सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. विनोद विन्दु शर्माले वि.सं २०७३ बैशाखदेखि ०७५ आश्विनसम्म जन्मिएका बालबालिकाहरुलाई मात्र आई.भि.पी खोप लगाइने बताए ।  ‘जेठ १३ देखि देशभर नै सुरु हुने आई.भि.पी खोप अभियानमा गण्डकी प्रदेशमा १ लाख १० हजार ३ सय २७ जना बालबालिकालाई खोप लगाउँदै छौं’, सचिव डा. शर्माले भने, ‘ वि.सं २०७३ बैशाखदेखि ०७५ आश्विनसम्म जन्मिएका बालबालिकाहरुलाई मात्र खोप लगाउँछौं ।’ पोलिइव रोग निर्मुल पार्नका लागि २०७१ बाट सुरु भएको आई.भि.पी खोप ०७३ बाट विश्व बजारमा खोप अभाव भएर आपूर्ति नभएका कारण दुई वर्ष भन्दा बढी अवधि सम्म खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउने उद्धेश्यले अभियान सुरु गरिएको उनले बताए ।  खोप अभियानका लागि निर्धारण गरिएका उमेर समूहका अधिकांश बालबालिकाहरु विद्यालयमा अध्ययन गर्ने भएकाले विद्यालयमै गएर खोप लगाइने मन्त्रालयका सचिव डा. शर्माले बताए ।  ‘खोप अभियानमा गण्डकी प्रदेशका ११ वटै जिल्लामा ३ हजार ४ सय ५३ वटा खोप केन्द्र सञ्चालनमा ल्याइँदै छ’, उनले भने, ‘खोप अभियानका लागि निर्धारण गरिएका उमेर समूह अधिकांश विद्यालयमा अध्ययनरत भएकाले विद्यालयमा नै गएर खोप अभियान सञ्चालन गछौं ।’ उनले २ हप्तासम्म सञ्चालन हुने अभियानमा विद्यालय नजाने र विद्यालयमा खोप लगाउन छुटेका बालबालिकाहरुलाई पायक पर्ने बाह्य खोप केन्द्र तथा अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा खोप लगाइने बताए ।  गण्डकी प्रदेशका कुन जिल्ला कति बालबालिकालाई लगाइँदै छ खोप ?  गण्डकी प्रदेशको सबैभन्दा बढी आई.भि.पी खोप कास्कीका बालबालिकालाई लगाइने सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार कास्कीमा २८ हजार ३ सय ७, नवलपुरमा १९ हजार ७ सय २९,तनहुँमा १४ हजार ५ सय १२, बागलुङमा ११ हजार ७ सय ७७, र स्याङ्जामा १० हजार १ सय ४५ जना बालबालिकालाई आई.भि.पी खोप लगाइँदै छ ।  यस्तै गोरखामा ८ हजार ५ सय ३९  लमजुङमा ६ हजार ६ सय ६५, पर्वतमा ५ हजार ७ सय,म्याग्दीमा ४ हजार ३ सय ५६, मुस्ताङमा ४ सय ५० र मनाङमा १ सय ५३ जना बालबालिकालाई उक्त खोप लगाइँदै छ । जेठ १३ देखि २६ गतेसम्म सञ्चालन हुने आई.भि.पी खोप अभियानमा गण्डकी प्रदेशमा ३ हजार ४ सय ५३ जना स्वास्थ्यकर्मी र ६ हजार ९ सय ६ जना स्वास्थ्य स्वयंसेवक परिचालन हुनेछन् । मन्त्रालयले गण्डकी प्रदेशको ११ वटै जिल्लाहरुमा खोप अभियान सम्बन्धि गोष्ठी, स्वास्थ्यकर्मी, स्वयंसेवक र विद्यालयका शिक्षकहरुसँग अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको छ । खोप अभियानका लागि आवश्यक सामग्री र खोप प्रदेशको सबै जिल्लामा पुगीसकेको जनाएको छ ।  नियमिततर्फ पोलियोविरुद्ध ६ हप्ता,१० हप्ताका बालबालिकाहरुलाई मुखबाट थोपा तथा १४ हप्ता र ९ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ ।  नेपालले सन् २०१४ मै पोलियो मुक्त राष्ट्रको रुपमा प्रमाणपत्र पाएपनि दक्षिण एसियाली मुलुक पाकिस्तान र अफगानिस्तानमा अहिले पनि पोलियोको केश देखिएका कारण नेपालमा जोखिम कायमै रहेकाले खोप अभियान सञ्चालन गर्न लागेको जनाइएको छ । विश्व स्वास्थ्य संगठनले यो रोग २०२६ सम्म उन्मूलन गर्ने लक्ष्य राखेको छ ।