पोखरा:   तेन्जेन रोका मगर र कविता मगरले पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आयोजना गरेको पाँच किलो मिटर छात्र/छात्रा सडक दौडको उपाधि हात पारेका छन् । ...

पोखरा:      काठमाडौंमा वैशाख २५ देखि २९  गतेसम्म सञ्चालन भैरहेको नेपाल–चीन संयुक्त फार्मास्युटिकल कन्फेरेन्सको विस्तारित पोखरामा सम्पन्न भएको छ ।  पोखरा विश्वविद्यालय अन्तर्गत स्कूल अफ हेल्थ एण्ड अलाइड साइन्सेजको संयोजनमा सञ्चालन भएको उक्त कार्यक्रममा नेपाल र चीनका फार्मास्युटिकल साइन्स सम्बन्धित प्राज्ञिक तथा विज्ञ व्यक्तित्वहरूको सहभागिता थियो ।  नेपालका प्रा.बालमुकुन्द रेग्मी तथा चीनका प्रा. झीवेन चाङको संयुक्त अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै पोखरा विश्वविद्यालयको  स्कूल अफ हेल्थ एण्ड अलाइड साइन्सेजकी निर्देशक विमला भट्टले यस प्रकारका कार्यक्रमले दुई देशका फार्मास्युटिकल साइन्सेज विषयका विज्ञ तथा अनुसन्धाताहरूबीचका सहकार्यका थप अवसरहरू प्रदान गर्ने विश्वास प्रकट गर्नुभयो ।   कार्यक्रममा बोल्दै चीनको साङ्घाइ परम्परागत चिकित्सा विश्वविद्यालयका प्रा.गुओ कियाङ लिङले चिनिया परम्परागत चिकित्सा पद्धतिमाथि चीनमा भैरहेको अनुसन्धानबारे प्रकाश पार्नुभएको थियो भने साङ्घाइ इन्स्टिट्युट अफ मेटेरिया मेडिकाकी प्रा. होङ लिउले आफ्नो संस्थाले गरेको अनुसन्धान तथा उपलब्धिबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।  कार्यक्रममा सहभागीहरूबीच चीन र नेपालमा औषधि विज्ञानका विभिन्न विशिष्टीकृत क्षेत्रमा भैरहेका अध्ययन अनुसन्धानका विषयमा तथा विशेष गरी चीनमा प्रचलित परम्परागत उपचार पद्धति तथा नेपालमा प्रचलित आयुर्वेद लगायतका परम्परागत उपचार पद्धतिमा रहेको ज्ञानको संयुक्त रूपमा आधुनिक पद्धतिबाट खोज अनुसन्धानमा कार्य गर्न सकिने विषयमा छलफल भएको थियो ।   कार्यक्रममा गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा. नवराज देवकोटा, गण्डकी प्रदेश सामाजिक तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोदबिन्दु शर्मा तथा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले पनि आ–आफ्नो विचार राख्नुभएको  थियो । कार्यक्रममा पोखरा विश्वविद्यालय स्कूल अफ हेल्थ एण्ड अलाइड साइन्सेजका प्राध्यापकहरूका अतिरिक्त पोखराका वरिष्ठ फार्मासिस्ट डा. चन्दन श्रेष्ठ, गण्डकी मेडिकल कलेजकी फार्मेसी विभाग प्रमुख बिन्दु मल्ल, गण्डकी विश्वविद्यालयका फार्मेसी विभागका प्रमुख प्रकाश पौडेल लगायतका विज्ञ फार्मासिस्टहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण पोखरा विश्वविद्यालयका उपप्राध्यापक अतिस  कौण्डिन्यायनले गर्नुभएको थियो ।

पोखरा:   कास्कीका मादी गाउँपालिका–५ स्यालटुडा छाचोकबाट पोखरातर्फ आउँदै गरेको टिप्पर दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।  आज बिहान १०:४५ बजेको समयमा छाचोकबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ४२९८ नम्बरको टिप्पर दुर्घटना हुँदा नुवाकोटका दुईजना घाइते भएका हुन् ।  टिप्पर दुर्घटना हुँदा नुवाकोट ककनी गाउँपालिका–३ घर भई पोखरा महानगर–२६ बस्ने ३५ वर्षीय धनबहादुर तामाङ र ५२ वर्षीय कृष्णबहादुर लामा घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  घाइते दुवै जनालाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको कास्की प्रहरीले जनाएको छ ।  स्यालटुडा छाचोकबाट ढुङ्गा लोड गरेर पोखरातर्फ आउँदै गरेको टिप्पर सडकबाट अन्दाजी ५ मिटर तल खसेको थियो । दुर्घटनापछि चालक फरार रहेको र अहिले खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:     पोखरामा इलेकट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईबीपीएस) सम्बन्धी प्रशिक्षण कार्यक्रम बुधवारदेखि सुरु भएको छ । यससँग सम्बन्धित महानगरपालिकाका कर्मचारी तथा प्राविधिकहरूको क्षमता अभिवृद्धिका लागि सुरु गरिएको प्रशिक्षण कार्यक्रम शुक्रवार सम्म चल्नेछ । कार्यक्रमको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गर्नुभएको हो । सो क्रममा प्रमुख आचार्यले विद्युतीय सेवामा आधारित नागरिक सेवा निकै प्रभावकारी हुने भएकाले घर तथा भवनहरू निर्माणका लागि यस प्रविधिको प्रयोग आवश्यक रहेको बताउनुभयो । ‘प्रविधिको विकास तिव्रत्तर रूपमा अगाडी बढिरहेको छ, प्रमुख आचार्यले भन्नुभयो, समयको गतिसँगै सेवामा आधुनिकता र प्रविधिको उपयोग अपरिहार्य जस्तै भइसक्यो ।’ विकसित प्रविधिको आत्मसाथ गर्न सकिएन भने वैज्ञानिक ढङ्गले काम वा सेवाको गुणस्तर कायम गर्न नसकिने उहाँले बताउनुभयो । पोखरामा आगामी दिनमा इलेकट्रोनिक बिल्डिङ परमिट सिस्टम लागु गर्न आवश्यक पूर्वाधार तयार गरिने उहाँले बताउनुभयो । ‘यसमा लाग्ने जनशक्ति र पूर्वाधारको तयार गरी यथाशीघ्र लागु गरिनेछ’, उहाँले भन्नुभयो । ६० वर्षदेखि मापदण्डको पर्खाइमा रहेको पोखरामा निकै मिहिनेत पश्चात् मापदण्ड सम्बन्धी आचारसंहिता जारी गरिएको उहाँले बताउनुभयो । पोखराको भौगर्भिक तथा वैज्ञानिक अध्ययन गरी कुन स्थानमा कस्तो प्रकारको संरचना निर्माण मिल्छ भन्ने कुराको निक्र्यौल पश्चात् उक्त आचारसंहिता जारी गरिएको उहाँले उल्लेख गर्नुभयो । पोखरामा निर्माण हुने भवनहरूलाई ऊर्जा सबलीकरणयुक्त बनाउने सम्बन्धमा युरोपियन युनियनको सहयोगमा बिन परियोजना लागु गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । ‘अव पोखरामा बन्ने घर तथा भवनहरू वातावरणमैत्री र ऊर्जा सबलीकरणयुक्त बनाइनेछ ।’ प्रमुख आचार्यले भन्नुभयो, ‘यसका लागि बिन परियोजनाको सहायतामा आवश्यक तयारी गरिनेछ ।’ जलवायु परिवर्तनको असरका कारण जनजीवन तथा वातावरणमा देखिएका अल्पकालीन तथा दीर्घकालीन समस्याहरूको समाधानका लागि पनि दिगो निर्माण आवश्यक रहेको उहाँले बताउनुभयो । युएनडिपीको सहयोगमा लागु गर्न लागिएको इलेकट्रोनिक बिल्डिङ परमिट प्रणाली ९इबिपिएस० एक वेबमा आधारित प्रविधि हो । जसलाई युएनडिपीले २०१५ मा निर्माण अनुमति प्रक्रियालाई व्यवस्थित गर्नको लागि विकसित गरेको थियो । यसको प्रयोगले सेवामा जबाफदेहिता, दक्षता र पारदर्शिता बढ्नुका साथै राष्ट्रिय भवन संहिताका प्रावधानहरूलाई एकीकृत समेत गर्दछ । हाल देशभरका १९ नगरपालिकाहरुले यसको प्रयोग गरिरहेका छन् । यसको प्रयोगका लागि युएनडिपीले स्रोत कोड प्रदान गर्नेछ । सूचना प्रविधि विभागले नगरपालिकाहरूलाई ई–प्रणालीहरू इबिपिएस वा राजस्व सम्बन्धित सफ्टवेयर र अन्य निःशुल्क कार्यान्वयन गर्न क्लाउड स्पेस प्रदान गर्दछ । नगरपालिकाहरूको अनुरोधका आधारमा प्रयोगकर्ता नाम र पासवर्ड भने सूचना प्रविधि विभागले उपलब्ध गराउँदछ । विभागले नगरपालिकाहरूलाई क्लाउड स्पेस सहित १ वर्षको परीक्षण अवधिका साथ अपरेटिङ विन्डोज सिस्टम’ पनि उपलब्ध गराउँछ । तिन दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा महानगरपालिकाका ३३ वटै वडाका प्राविधिकहरूलाई प्रशिक्षण प्रदान गरिनेछ । 

पोखरा:    बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयलाई पोखरा–१७ विरौटा निवासी समाजसेवी धन कुमारी गुरुङले स्मार्ट टेलिभिजन हस्तान्तरण गरेकी छिन् । विपन्न तथा अव्यवस्थित बस्तीका २ सय ७० बालबालिकाले अध्ययन गर्ने विद्यालयको कक्षा नर्सरीका बालबालिकालाई प्रविधीमैत्री रुपमा अध्यापन गर्न सहज हुने हेतुले टेलिभिजन हस्तान्तरण गरिएको गुरुङले बताइन् । मातातिर्थ औँशीको दिन पारेर आयोजना गरिएको कार्यक्रममा बोल्दै गुरुङले विद्यार्थीहरुलाई उज्वल भविष्यको कामना गरेकी थिइन् । कार्यक्रममा पोखरा–९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानी, विद्यालयका प्रधानाध्यापक लोचना कुमारी अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिक्रम थकाली, वडा सदस्य नन्दराम गिरी, अग्रज फोटो पत्रकार एवम् विद्यालयका अक्षयकोष दाता सुदर्शन रञ्जित, सञ्चारकर्मी तथा व्यवसायी सपना गुरुङ, विद्यालय व्यस्थापन समिति सल्लाहकार विष्णु सुवेदीले बोलेका थिए ।

पोखरा:    दमौलीबाट पोखरा आउँदै गरेको बस रुपा गाउँपालिका–५ बित्यानीमा दुर्घटना हुँदा एकजना यात्रु  घाइते भएका छन् ।  दमौलीबाट पोखरा आउँदै गरेको ग १ ख ७८०७ नम्बरको यात्रुवाहक बस रुपा गाउँपालिका–५ बित्यानीमा आज बिहान दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।  बस दुर्घटना हुँदा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ घर भएका ६० वर्षीय सोमबहादुर परियार घाइते भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचनाअधिकारी मिनबहादुर खड्काले जानकारी दिए ।  घाइते परियारको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।  दमौली–पोखरा सडक खण्ड निर्माणाधिन रहेकाले बस भित्री सडकबाट पोखरा आउँदै गर्दा बित्यानीमा ब्रेक फेल भई अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।   

पोखरा:     गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो  वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान अर्पण गर्न लागेको हो । यसरी सम्मानित हुनेहरूमा गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका श्रष्टा खगराज शर्मा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट बागलुङका श्रष्टा भूपिन खड्का, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङजाका श्रष्टा पुरुषोत्तम न्यौपाने, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका गोपाल श्रेष्ठ  छन् । उनीहरूलाई जनही एक लाख रुपैयाँ नगद, सम्मानपत्र, दोसल्लासहित सम्मान अर्पण गरिने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जनाए । यसैगरी गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मानबाट तनहुँकी सरस्वती प्रतिक्षा सम्मानित हुनेछिन् । उनलाई नगद पचास हजार रुपैयाँको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिनेछ । गण्डकी प्रज्ञा युवा सम्मानबाट नृत्य विधाबाट स्याङ्जाका रविन गुरुङ   र कला विधाबाट मुस्ताङका छिरिङ फोन्जो गुरुङ  सम्मानित हुने भएका छन् । उनीहरूलाई नगद २५ हजार रुपैयाँको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिनेछ । गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङको संयोजकत्वमा गठन भएको छनोट समितिले उनीहरूलाई छनोट गरेको हो । छनोट समितिमा कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, वरिष्ठ लोक दोहोरी गायिका प्राज्ञ हरिदेवी कोइराला,  कलाकार यादव चन्द्र भुर्तेल र सदस्य सचिव मनकुमार श्रेष्ठ सदस्य रहेका थिए । सबै श्रष्टालाई यहीं बैशाख २९ गते शनिबार  दिउँसो २ बजे गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु हलमा विशेष कार्यक्रमको आयोजना गरेर सम्मान अर्पण गरिनेछ । वार्षिकोत्सबको अवसरमा  श्रष्टा स्मृति पार्कको उद्घाटन तथा प्रतिष्ठान स्थापना देखि हालसम्मको तीन वर्षे गतिविधिको बारेको भिडियो प्रदर्शन गरिनेछ। कार्यक्रममा विभिन्न झाँकी सहितको साँस्कृतिक प्रस्तुती आर्कषणको रुपमा रहने प्रतिष्ठानले जनाएको छ । कार्यक्रम भव्य बनाउन तयारीमा तिव्रता दिइएको सदस्य सचिव श्रेष्ठले बताए ।   कला, साहित्य ,संगीत र संस्कृतिको बिधालाई महत्वका साथ स्थान दिँदै यिनको संरक्षण तथा प्रवर्धन गर्ने कार्य गरिरहेको  प्रतिष्ठानको स्थापना २०७८ साल बैशाख १५ गते भएको थियो ।

पोखरा:    चलचित्र पत्रकार संघ नेपाल कास्कीले २०८१ सालको भित्तेपात्रो विमोचन गरेको छ । प्रत्येक वर्ष प्रकाशन गर्दै आएको भित्तेपात्रो यसपाली पनि प्रकाशन गरिएको हो ।  कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिम्लसिना पंगेनीले चपस कास्कीले गरेका कामको प्रशंसा गरिन् । नेपाली सिनेमाको उत्थानमा चपस कास्कीले गरेका कामहरु सह्रानिय रहेको भनाई उनको छ । पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले चपस कास्कीको गतिविधिले चलचित्रसँग सम्बन्धित अन्य संस्थालाई समेत झकझकाएको बताए । सिनेमा टुरिजमको विकासमा प्रचारप्रसारको खाँचो रहेको उल्लेख गरे ।  सिनेमा माध्यम पोखरा र आसपासको क्षेत्रको प्रचारप्रसार गर्न सहज हुने हुँदा यसतर्फ प्रभावकारी भएर लाग्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले चपस कास्की क्रियाशिल संस्था भएको बताइन् ।  एक पछि अर्को आयोजना गरिएको कार्यक्रमले पोखरामा सिनेमा सम्बन्धि गतिविधिलाई बढ्वा दिएको अभिव्यक्ति उनको छ । पत्रकार महासंघ कास्कीका सम्पूर्ण पत्रकारिता सम्बद्ध संघसंस्थाको अभिभावक संस्था भएकाले हरेक गतिविधिमा साथ, समर्थन रहने प्रतिबद्धता उनले व्यक्त गरिन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले २०६० सालमा स्थापना भई चपस कास्कीले नेपाली सिनेमाको क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको उल्लेख गरे । चपस कास्कीका निवर्तमान अध्यक्ष अरुण गिरीले संस्थाको क्रियाशिलताको तारिफ गरे ।    संस्थाका अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव सन्तोष बस्यालले गरेका थिए । 

पोखरा:     पोखरा महानगरपालिका वडा नं १० ले वडा भित्र रहेका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले ४५ दिने आधारभुत ब्यूटिसियन तालिमको आयोजना गरेको छ ।  वडा स्तरीय ब्यूटिसियन तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १० का अध्यक्ष राजेश गुरुङले आफु जनप्रतिनिधि भएर वडामा आएदेखि वडा भित्रका युवाहरुलाई लक्षित गरी विभिन्न सीपमुलक तालिमहरुको आयोजना गरी युवाहरुलाई आत्मनिर्भर बनाउने अभियानमा लागिपरेको बताए । युवा, महिला, दलित समुदाय तथा विपन्न परिवारका सदस्यहरुलाई आत्मनिर्भर बनाउन सकेको खण्डमा स्वदेशमै सानो लगानीमा ब्यापार व्यवसाय गर्न सक्ने उनको भनाइ रहको थियो । सो अवसरमा बोल्दै तालिमका समन्वय कर्ता बबि ब्यूटी सैलुन एण्ड ट्रेनिङ सेन्टरका सञ्चालक बविता कार्कीले महिला दिदी बहिनीहरुले जुनसुकै सीप सिकेको खण्डमा स्वदेशमा या विदेशमा राम्रो कमाइ गर्न सक्ने बताउदै आफुहरुले ४५ दिन सम्म तालिममा सिकाइने कुरालाई व्यवहारमा उतार्न सके नेपालमानै केही गर्न सक्ने बताइन । त्यस्तै ब्यूटिसियन तालिमका संयोजक तथा वडा नं १० का सदस्य नरदेवी गुरुङले अघिल्लो वर्षहरुमा पनि महिला दिदी बहिनीहरुलाई ब्यूटिसियन तालिमहरु प्रदान गर्दै आइरहेको र आगामी दिनमा पनि आधारभुत मात्र नभइ डिप्लोमा लेभलको ब्यूटिसियन तालिम समेत आफुहरुले सञ्चालन गर्ने प्रतिवद्धता ब्यक्त गरिन । सोमबारदेखी सञ्चालन भएको तालिममा वडा भित्रका २५ जना महिलाहरुको सहभागीता रहेको वडा सचिव दमयन्ती पराजुलीले जानकारी दिइन ।

पोखरा:    पोखरा चाइल्ड स्टार सिजन–२ को उपाधि निलिषा गुरुङ र समीर कुमालले जितेका छन् । केटीतर्फ फस्ट रनरअप ईन्दु सेन, सेकेण्ड रनरअप नज्योसा सिंह ठकुरी, थर्ड रनरअप शिरीषा पौडेल, फोर्थ रनरअप स्वेच्छा क्षेत्री भए । केटातर्फ फस्ट रनरअप जोनाथान बाबु लम्साल भए । सेकेन्ड रनरअप इभान रावत र थर्ड रनरअप कृशव सुवेदी बने । नन्द इन्टरटेनमेन्ट हाउसले पोखराा आयोजना गरेको उक्त इभेन्टमा १४ जनाले भाग लिएकोमा फाइनलमा ९ जना पुगेका थिए । कार्यक्रममा चाइल्ड स्टार सिजन–१ विजेता विल्सन ठकुरीको म्यूजिक भिडियो लोकार्पण गरियो । साथै, साहित्य सम्राट तथा अलौकिक कवि देशभक्त कुँवर, संकेत अगस्ती र गायक विश्वराज न्यौपानेलाई सम्मान गरियो । निर्णायक मण्डलको प्रमुख डा. जग्गनाथ रेग्मी थिए । अन्य निर्णायकमा मोडल विराज बास्कोटा, मोडेल तथा गायिका एलिना थपलिया, समाजसेवी तथा शिक्षिका जमुना गिरी थिए भने । निर्णायक व्यवस्थापनमा प्राडा यमबहादुर पौडेल क्षत्री थिए । विजेतालाई प्रमुख अतिथि एसएसपी शारदाप्रसाद चौधरीबाट अवार्ड, ताज तथा प्रमाणपत्र वितरण गरिएको थियो । पूजा शर्मा र रोहन गुरुङको कोरियोग्राफी रहेको कार्यक्रमको संचालन सुमी पुरी र देवेन्द्र शाहीले गरे भने स्वागत सोनी पुरीले गरिन् । समापन आइक्यास पोखराका प्रबन्ध निर्देशक समीर थापाले गरेका थिए । नन्द इन्टरटेनमेन्ट हाउसले यसअघि गण्डकी डान्स, सोसल अवार्ड जस्ता कार्यक्रम गरिसकेको छ ।