पोखरा:   तेन्जेन रोका मगर र कविता मगरले पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आयोजना गरेको पाँच किलो मिटर छात्र/छात्रा सडक दौडको उपाधि हात पारेका छन् । ...

पोखरा:     नेपाल छन्त्याल संघ, कास्कीको आयोजनामा सञ्चालित १० दिने उद्घोषण तालिम सम्पन्न भएको छ । चैत्र १७ गतेदेखि सुरु भएको तालिमको सोमबार समापन गरिएको हो ।  तालिमको समापन गर्दै धौलागिरि गाउँपालिका वडा नं. १, गुर्जा, म्याग्दीका वडाध्यक्ष झकबहादुर छन्त्यालले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरूलाई सुझाव दिनुभयो ।  कुनै पनि औपचारिक कार्यक्रम सफल बनाउन उद्घोषकको भूमिका महत्वपूर्ण हुने भन्दै वडाध्यक्ष छन्त्यालले कुशल उद्घोषक बन्न तालिमको सिकाइसँगै अभ्यास अति जरुरी रहेको बताउनुभयो ।  त्यस्तै, गुर्जा विकास मञ्चका अध्यक्ष क्या. लालबहादुर छन्त्यालले १० दिनको तालिम निकै उपलब्धीपूर्ण रहेको बताउनुभयो । तालिमबाट प्रशिक्षार्थीहरूमा निकै परिवर्तन आएको आफूले पाएको भन्दै उहाँले तालिमले प्रशिक्षार्थीहरूको क्षमता अभिवृद्धि गरेको उल्लेख गर्नुभयो ।  नेपाल छन्त्याल संघ, कास्कीका अध्यक्ष सुबेदार धनबहादुर छन्त्यालले छन्त्याल जातिका व्यक्तिलाई सक्षम बनाएर अघि बढाउन तालिम सञ्चालन गरिएको बताउनुभयो ।  समापन कार्यक्रममा तालिमका प्रशिक्षक रूद्रबहादुर श्रीस, प्रशिक्षार्थीहरूको तर्फबाट जगनारायण छन्त्याल र पुनदेवी छन्त्यालले पनि बोल्नुभएको थियो ।  नेपाल छन्त्याल संघ, कास्कीका अध्यक्ष सुबेदार धनबहादुर छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रशिक्षार्थी गीता छन्त्यालले गर्नुभएको थियो । 

पोखरा:     १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको दोस्रो दिन सोमवारसम्म करिव रु. ३ लाखको आलुको कारोबार भएको छ । त्यहाँ प्रतिकेजी रु. ४० मा आलु बिक्रीवितरण भइरहेकोमा आलु किन्नकै लागि पोखरा महानगरपालिका लगायत अन्नपूर्ण गाउँपालिका, माछापुच्छे« गाउँपालिका सहित छिमेकी जिल्लाहरुबाट समेत मानिसहरु महोत्सव स्थल पुगेका छन् । कतिपयले हेमजाको आलु मिठो हुने भन्दै चाख्नकै लागि भएपनि आलु किन्न पुगेको प्रतिक्रिया दिएका छन् ।हेमजाको आलु छिटो पाक्छ, अन्यको तुलनामा बढी स्वास्थ्यकर पनि छ, त्यसैले यसपटक घरमा चाहिने ३० किलो आलु किनी लगेको सोमवार आलु खरिद गर्दै गरेकी माछापुच्छे« ५ रिभानकी माया विकले बताइन् । कार्यक्रमका बीच खाध्य सुरक्षाका लागि आलु महत्वपूर्ण रहेको चर्चा गरिएको छ ।कार्यक्रममा धारणा राख्दै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का कार्यकारी निर्देशक डा. सुरेन्द्रलाल श्रेष्ठले आलुले खाध्य सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको औँल्याउँदै पोषणा सुरक्षाका हिसावले पनि आलु सर्वोत्कृष्ट वाली भएको बताए। महोत्सव अन्तर्गत सोमवार कलाकारहरु जीवन दाहाल, शिवहरी ढुङगाना, परशुराम अधिकारी, रवी कार्की, कृष्ण सुवेदी, इन्द्रा गुरुङ, तुलसा क्षत्री, सुमन खड्का, कमला सुनार तथा गुड लक मन्टेश्वरीका प्रस्तुति रहे । त्यस्तै मंगलवार जीवन दाहाल, शिवहरी ढुङगाना, परशुराम अधिकारी, बविता जेरी, चोलेन्द्र पौडेल, अमर धिताल, सन्तोष सुवेदी, पुजा तामाङ र नविता सुवेदीका प्रस्तुतिहरु रहने जनाइएको छ । महोत्सवमा दर्शक सहभागिता पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ ।जसअन्तर्गत सोमवारसम्ममा ५ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् ।महोत्सवकै अवसरमा कृषि अनुसन्धान निर्देशनालय लुम्लेले प्रदेश स्तरीय कृषि प्रविधि प्रदर्शनी तथा मेला पनि आयोजना गरिरहेको छ । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहेका छन्।

पोखरा:     लायन्स क्लब अफ पोखरा सिभिकको अध्यक्षमा विकास कँडेल सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिबेशनबाट लायन वर्ष २०२४÷२५ को अध्यक्षमा विकास कँडेल सर्वसम्मत निर्वाचित भएका हुन् । क्लबको प्रथम उपाध्यक्षमा मित्रबन्धु बराल, द्वितीय उपाध्यक्षमा गणेश पराजुली, तृतीय उपाध्यक्षमा यज्ञप्रसाद तिवारी, सचिवमा हरिप्रसाद अधिकारी, क्लब प्रशासकमा विनोद बराल, कोषाध्यक्षमा राजु कुँवर, सहसचिवमा मनमोहन अधिकारी, सह–कोषाध्यक्षमा रामचन्द्र अधिकारी चयन भएका छन् ।  यसैगरी, क्लब मेम्बरशिप चियर पर्सनमा नवराज अधिकारी, एलसिआइफ कोर्डिनेटरमा दीपेन्द्र बहादुर आले निर्वाचित भएको क्लबले जनाएको छ । कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका आगामी बर्षका डिष्ट्रिक्ट गभर्नर इलेक्ट बिनोद ढुंगाना, क्लबका संस्थापक अध्यक्ष पवित्रराज तिवारी, पूर्व अध्यक्षहरू युवराज खनाल, बुद्वीराज बराल (प्रदीप), किरण ढकाल, रामकृष्ण तिवारी निर्वाचन अधिकृत निवर्तमान अध्यक्ष विनोद भुजेल लगायतले नवनिर्वाचित अध्यक्ष लगायत सम्पूर्णलाई बधाई सहित शुभकामना दिएका थिए ।  क्लबका अध्यक्ष रेशम खड़काको अध्यक्षतामा भएको कार्यक्रममा कोषको वारेमा जानकारी कोषाध्यक्ष हरिप्रसाद अधिकारीले र स्वागत प्रथम उपाध्यक्ष विकास कँडेलले र संचालन सचिव यज्ञप्रसाद तिवारीले गरेका थिए ।  

पोखरा:    पाल्पाली समाज पोखराको २१ औं साधारणसभाले विधान संशोधन प्रस्ताव पारित गरेको छ । पोखरा न्यूरोडस्थित पाल्पा हाउसमा शनिबार भएको सभाले समाजका पूर्व अध्यक्ष एवं विधान संशोधन समिति संयोजक जगदीश गौतमले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत् पारित गरेको हो । जसअनुसार समाजको कार्यसमिति अब १५ सदस्यीय मात्र हुनेछ । गएको अधिवेशनबाट २७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको थियो । कार्यसमितिमा अध्यक्ष, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष तथा बाँकी ८ सदस्य निर्वाचित हुने छन् । कार्यकाल २ वर्ष यथावत् हुनेछ । प्रमुख अतिथि समाजका सल्लाहकार डा.यज्ञमान शाक्यले कार्यक्रम उद्घाटन गर्दै समाजको गतिविधिको प्रशंसा गरेका थिए । उनले कामकाजी छोराछोरीका कारण वृद्ध बाबुआमा सहाराविहीन हुन पुगेको जनाउँदै आफूले १० वर्षअघि आनन्दित गृह स्थापना गरेको बताए । समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार नारायणप्रसाद पौडेलले समाजको आर्थिक गतिविधिमाथि प्रकाश पारेका थिए । समाजका अध्यक्ष बालचन्द्र परियारले समाजको गतिविधि एवं भावी योजनासहितको प्रतिवेदन पेस गरे भने कोषाध्यक्ष पदमप्रसाद पोखरेलले कोषाध्यक्षको प्रतिवेदन पेस गरे । समाजका अध्यक्ष परियारको अध्यक्षतामा भएको सभामा समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार ताराप्रसाद पोखरेल, सल्लाहकार समिति संयोजक जनपुकार मुनकर्मी लगायतले बोलेका थिए । समाजले यसअघि गरेका विविध कार्यक्रमका संयोजकलाई प्रशंसापत्र प्रदान गरिएको थियो । साथै समाजद्वारा प्रकाशित भित्तोपात्रो–२०८१ विमोचनसँगै नयाँ वर्षको शुभकामना आदानप्रदान गरिएको थियो ।  अनुपमान कर्माचार्य संयोजकत्वमा भित्तेपात्रो प्रकाशन गरिएको वरिष्ठ उपाध्यक्ष श्रीधर पराजुलीले बताए । २०५१ सालमा जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भएको पाल्पाली समाज सबैभन्दा पुरानो सम्पर्क समाज हो । समाजको पहलमा स्थापित पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि. सञ्चालित छ । साथै पाल्पा हाउस र पाल्पा कोलेनी जन्मिएका हुन् ।  

पोखरा:     शिव मन्दिर आमा समूह पोखरा २० भलामको अध्यक्षमा माया जिसी चयन भएकी छिन् । १४ औँ साधारणसभा तथा चौथो अधिवेशनले जिसीलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।  समूहको उपाध्यक्षमा सीता थापा, सचिवमा सुष्मिता घर्ती, सहसचिवमा सुदिपा सुवेदी, कोषाध्यक्षमा लक्ष्मी राना भुजेल चयन भएकी छिन् । त्यस्तै सदस्यहरुमा हेमा घर्ती, खिरमति सुनार, सिला सुवेदी, गोमा गौतम, जमुना राना, अनिता पौडेल चयन भएकी छिन् । समितिको कार्यकाल तीन वर्षको हुने छ । अधिवेशनको उद्घाटन पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले गरेकी थिईन । उद्घाटन कार्यक्रममा बोल्दै उनले महिलाले नेतृत्व गरेका संस्थाहरु सफल भएको बताउदै स्थापनाकालदेखि आमा समुहले गरेका कामको प्रशंसा गरिन् ।  उनले महिलाले जिम्मेवारी र अवसर प्राप्त गरेर राम्रोसंग सञ्चालन गर्छन भन्ने प्रमाणित भएको बताईन् । ‘महिलाहरु प्रधानन्यायाधिश, राष्ट्रपति भएर सफलता पूर्वक जिम्मेवारी गरेका छन्, महिलाहरुले सञ्चालन गरेका संस्थाहरु सफल भएका छन्’ उनले भनिन्, ‘त्यसैले जिम्मेवारी र अवसर पाए सक्षम छौँ उहाँले भन्नुुभयो,“महिलाहरु राजनीतिक र सामाजिक रुपमा स्थापित हुनुपर्छ र त्यसको लागि आर्थिक रुपमा सबल सक्षम हुनुुुपर्छ ।’   वडा नम्बर २० का वडाअध्यक्ष गंगाबहादुर खत्रीले वडाको आवश्यकताका आधारमा विकासका कार्य अगाडि बढाएको बताउदै महिला समुहको क्षमता बृद्विका लागि विभिन्न कार्यक्रम संचालन गरेको बताए । कार्यक्रममा उपाध्यक्ष माया जिसीले सामाजिक विकृति विसंगति विरुद्ध काम गर्दै आएको बताईन् ।   

पोखरा:    ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल राख्दै निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पोखरा महानगरपालिका–१२ ले वडा कार्यालयमा विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।  बिरामी परिरहने ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले शिविरमा सेवा लिए । स्वास्थ्य शिविरमा ३१२ जना लाभन्वित भएको वडाध्यक्ष सन्तोष बास्तोलले जानकारी दिए ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिफ कन्सल्टेन्स फिजिसियन प्रा.डा.बुद्धिबहादुर थापा, डा. कृष्ण थापा, डा.हरिकृष्ण भण्डारी, डा. चुममाया पुन लागयतले बिरामीको स्वास्थ्य परीक्षण गरे ।  बिरामीको सुगर, प्रेसर, मृगौला र मुटुको परीक्षण गरिएको थियो । निशुल्क भिडियो एक्सरे र इसिजी परीक्षणसँगै सम्बन्धित रोगका विशेषज्ञ डाक्टरको परामर्श लिन पाएपछि ज्येष्ठ नागरिक खुशी देखिन्थे ।  गत वर्ष वडाले घरघरै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको थियो । घरमा पुग्दा सबै प्रकारका जाँच गर्न प्राविधिक समस्या हुने भएकाले वडामा विशेषज्ञ सेवासहितको शिविर सञ्चालन गरेको वडाध्यक्ष बास्तोलाले बताए । वडाबासीले स्वास्थ्यप्रति वडा सचेत रहेको उनको भनाइ छ ।  आगामी आर्थिक वर्षमा सामुदायीक विद्यालयमा आफ्ना छोराछोरी पढाउने हरेक परिवारको निशुल्क स्वास्थ्य विमा गरिदिने वडाध्यक्ष बास्तोलले उद्घोष गरे । ‘जतिपनि वडाका स्थायी बासिन्दा हुनुहुन्छ अथवा बसाँइसराइ लिएर आउनुभएको छ उहाँहरुले सामुदायीक विद्यालयमा गएर आफ्ना बालबच्चा पढाइदिनुभो भने हामीले निशुल्क स्वास्थ्य विमा गर्दिन्छौं’, उनले भने । ज्येष्ठ नागरिकको मात्रै नभएर बालबालिकाको स्वास्थ्यमा पनि वडाले ध्यान पु¥याएको वडाध्इक्ष बास्तोलाले बताए । बालबालिकालाई मध्यनजर गर्दै अमरसिंह मावि र शितलादेवी माविमा ‘इमर्जेन्सी रुम’ स्थापना गरिएको छ । दैनिक १० देखि १५ जना विद्यार्थीले स्वास्थ्य सेवा लिइरहेका छन् ।  यसअघि पनि वडाले महिला लक्षित स्तन क्यानसर र पाठेघरको मुखको क्यानसरबाट जोगाउने सचेतनासहितको स्वास्थ्य शिविर आयोजना गरेको थियो । अमेरिकन नर्सिङ एसोसिएशनसँगको सहकार्यमा बृहत स्वास्थ्य शिविरसमेत आयोजना गरेको वडाले पटक पटक स्वास्थ्यका कार्यक्रम गर्दै आइरहेको छ ।  शनिबार भएको स्वास्थ्य शिविरमा बोल्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिफ कन्सल्टेन्स फिजिसियन प्रा.डा.बुद्धिबहादुर थापाले ज्येष्ठ नागरिकले औषधि सेवनमा तालमेल मिलाउनुपर्ने बताए । उनले सुगर, प्रेसर, कोल्डस्टोर, युरिकएसिड, र थाइराइडले मानव शरीरलाई सताउने बताए । ‘यी रोग कोही पहिला निस्कने कोही पछि निस्कने । जहिले पनि दुख दिइरहेको हुन्छ’, उनले भने, ‘यी रोगले कसैलाई हार्टअट्याक, मष्तिसकघात, किड्नी खराब अवस्था ल्याउँछ ।’ अमर पोलिक्लिनक अमरसिंह चोक र यूआरएल हस्पिटलचोकको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो । यूआरएलले निशुल्क रगत परीक्षण गरेको थियो । शिविरमा सेवा लिएकाले थप चेकजाँच गर्न चाहेको खण्डमा ३० प्रतिशत छुटमा सेवा दिने यूआरएलका निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिए ।  रोग लाग्नुभन्दा पहिले नै सजगता अपनाएमा स्वस्थ्य जीवन जिउन सकिने उनको भनाइ छ । ‘क्वालिटी लाइफ जिउनका लागि नसर्ने रोग खानपिन र जीवनशैलीबाट लाग्छन् । समयमै चेकजाँच गरेर थाहा पाउन सक्यौं भने स्वस्थ जीवन प्राप्त गर्न सक्छौं’, उनले भने । बेलामै रोग लागेको पत्ता भए सामन्य औषधिले पनि निको हुने पन्तले उल्लेख गरे ।  

पोखरा:   कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीले नववर्ष २०८१ को शुभकामना आदानप्रदानसँगै भित्तेपात्रो विमोचन गरेको छ ।  कालागण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीले आज (शनिबार) एक कार्यक्रमको आयोजना गर्दै नववर्ष २०८१ को शुभकामना आदानप्रदानसँगै भित्तेपात्रो विमोचन गरेको हो ।  नववर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कालीगण्डकी गाउँपालिकाका पर्यटकहरुको लागि आर्कषको गन्तव्य बनाउन समाजले काम गर्नुपर्ने बताए ।  ‘कालीगण्डकी गाउँपालिका आफैमा पर्यटकहरुको लागि आर्कषक गन्तव्य हो, त्यसको प्रचारप्रसारमा सम्पर्क समाजले पनि सहयोग पु¥याउनुपर्दछ’, अध्यक्ष श्रेष्ठले भने, ‘पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको छ, अब हामीले पर्यटकीय क्षेत्रको विकास र प्रचारप्रसारमा ध्यान दिनुपर्छ ।’ कार्यक्रममा सम्पर्क समाजका निवर्तमान अध्यक्ष, सल्लाहकार लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीका अध्यक्ष जीवलाल न्यौपानेको अध्यक्षता, उपाध्यक्ष विष्णु भट्टराई पाण्डेको स्वागत र सचिव लिलाबल्भव न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।   

पोखरा:     पोखरा महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूका लागि आधारभूत प्राथमिक उपचार तालिम प्रदान गरिएको छ ।  चैत्र १९ देखी २२ गतेसम्म सञ्चालन गरिएको तालिम महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजनामा सम्पन्न भएको हो ।  तालिमको समापन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विपद्का बेला प्राथमिक उपचार महत्त्वपूर्ण हुनुभएकाले यसका लागि आवश्यक ज्ञान हासिल गर्नुपर्ने बताउनुभयो । उहाँले कुनै पनि प्रकारको विपद्मा उद्धारकर्ताहरूलाई सुरक्षित सेवा उपलब्धता सुनिश्चित गर्न आवश्यक सिप विकास तथा उपचार विधिका बारेमा सचेतनाका लागि तालिम उपलब्धिमूलक भएको विश्वास व्यक्त गर्नुभयो ।  पोखरा महानगरपालिका विपद् न्यूनीकरण सहित विपद्का बेला आवश्यक जनशक्ति तयारका सन्दर्भमा प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । हाल तत्काल उपलब्ध हुने गरी नगर प्रहरी र दमकल सेवालाई एकै स्थानबाट सञ्चालन गरिएको उहाँले बताउनुभयो ।  एकीकृत आपतकालिन सेवाका लागि र्यापिड एक्सन टिम निर्माण गरी विपद्का बेला परिचालन गर्ने गरिएको प्रमुख आचार्यले बताउनुभयो । उहाँका अनुसार एडिबीको सहायतामा निर्माण गर्ने गरी लेखनाथमा विपद् व्यवस्थापन केन्द्र सञ्चालन गरिने छ ।  विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी महानगर स्तरीय योजनाहरूको कार्यान्वयन गर्दै विपद् व्यवस्थापन सम्बन्धी कार्यमा गैरसरकारी संस्था, निजी क्षेत्र एवं स्थानीय समुदायलाई समेत संलग्न गराउन महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।  विपद्को घटना हुनासाथ त्यस्ता घटनाबाट असर पर्न सक्ने क्षेत्रमा रहेका व्यक्तिलाई उद्धार र विपद् प्रभावित बासिन्दाको जीउधनको सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समन्वय गर्ने कार्यका लागि महानगरपालिकामा विपद् प्रतिकार्य टिम तयार गरिएको प्रमुख आचार्यले बताउनुभयो ।  तालिमको समापनमा बोल्दै नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष दण्डराज शर्माले रेडक्रसले विपद् प्रतिकार्यमा समर्पित जनशक्ति तयार तथा आवश्यक उद्धार सामाग्री सहित प्राथमिक उपचारका क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।  तालिम मार्फत सहभागीहरूले विपद्का बेला गर्नु पर्ने प्राथमिक उपचार र उद्धार कार्यका विषयमा आफूहरूलाई धेरै ज्ञान हासिल भएको बताएका छन् ।  तालिममा पोखरा महानगरपालिकाका जनप्रतिनिधिहरू, कर्मचारी तथा नगरप्रहरीहरुको सहभागिता रहेको थियो ।

पोखरा:    पोखरा र ललितपुर उद्योग वाणिज्य सङ्घबीच पर्यटन तथा हस्तकला उद्योगमा सहकार्यको सहमति भएको छ । अध्ययन  भ्रमणका क्रममा मङ्गलबार पोखरा आएको ललितपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँगको छलफलमा पर्यटन तथा हस्तकला उद्यममा सहकार्य गर्दै व्यावसायिक साझेदारी बढाउने सहमति भएको हो । हालै पर्यटनको राजधानी घोषणा भएको पोखरा देशको प्रमुख पर्यटकीय गन्तव्य हो भने नेपालबाट निर्यात हुने ८० प्रतिशत हस्तकलामका सामग्री उत्पादन हुने ललितपुलाई विश्व हस्तकला सङ्घले हस्तकलाको राजधानी घोषणा गरेको छ । पोखरा उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष  गोकर्ण कार्कीले पोखरा उद्योग वाणिज्य सङ्घले यहाँको शिक्षा, स्वास्थ्य र पर्यटन विकासका क्षेत्रमा विशिष्ट योगदान गरेको बताउनुभयो । पोखरा उद्योग वाणिज्य सङ्घ व्यापारीको संस्थामात्र नभएर सामाजिक जागरण र विकासको अभियन्ता भएको बताउँदै सङ्घले उहाँले हस्तकलासहितका मौलिक नेपाली उत्पादनको बिक्री र प्रदर्शनी गर्न कोसेलीघर निर्माणको अभियान थालेको उल्लेख गर्नुभयो । यस अभियानमा ललितपुरसँग सहकार्य गरिने उहाँले बताउनुभयो । ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वलाल बज्राचार्यले हस्तकलाका लागि ललितपुर प्रख्यात रहे पनि पुरानो पुस्ताको सीप नयाँ पुस्तामा हस्तान्तरण नहुँदा समस्या भएको बताउनुभयो । सङ्घले सीप हस्तान्तरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।  पोखरा उद्योग वाणिज्य सङ्घका वाणिज्यतर्फका उपाध्यक्ष उत्तमान बुद्धाचार्य, महासचिव बलराम आचार्य, ललितपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष मनोजबहादुर न्याचुन, सर्जना श्रेष्ठ, सुजन बज्राचार्यलगायत सहभागीले व्यावसायिक साझेदारीले व्यवसाय वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।