काठमाण्डाै: सत्ता गठबन्धनमा उपराष्ट्रपति पदका लागि विभिन्न दलबाट दाबी भएपछि बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक कुरा मिल्न नसक्दा निष्कर्षविहीन भएको हो । बैठकपछि जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफ्नो पार्टीले ममता झालाई उपराष्ट्रपतिमा उठाउने बताउनुभएको छ । उहाँले उपराष्ट्रपतिमा महिला नै उम्मेदवार हुनुपर्ने खालको निर्णय निर्वाचन आयोगले गरेको र संविधानको मर्म पनि त्यही रहेको भन्दै ममता झालाई अगाडि सारेको बताउनुभयो । जनता समाजवादी पार्टी, नेपालले पनि दुई जनाको उम्मेदवारी गर्ने अवस्था देखिएको छ । जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिने तयारी गरेपछि गठबन्धनबाट तीन जना उम्मेदवारले मनोनयन दर्ता गर्ने सम्भावना देखिएको हो । सहमतिमा आइतवार भोलिसम्म एक जना मात्रैको उम्मेदवारी कायम हुने पनि जनमत पार्टीका अध्यक्ष राउतले बताउनुभयो । यसअघि नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान बसेको पार्टीको सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । चैत ३ गते हुने उपराष्ट्रपति पदको चुनावका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।
काठमाडौं : नेकपा एमालेले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो। एमालेको उपाध्यक्ष समेत रहेकी शाक्य बागमती प्रदेशको पूर्वमुख्यमन्त्री हुन्। उनी नेपालको पहिलो महिला मुख्यमन्त्री हुन्। चैत्र ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि शनिबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा बिहान ९ बजे देखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ।
काठमाडौं: स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशैभरमा मतदाता सङ्ख्या एक लाख ६२ हजार २६८ छ। त्रिभुवन विश्वविद्यालयका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले शुक्रबार स्ववियु निर्वाचनमा देशभरको दाबी विरोध पूर्वको कुल मतदाता सङ्ख्या विवरण सार्वजनिक गर्नुभएको हो। अधिकारीका अनुसार उपत्यका अन्तर्गतको त्रिचन्द्र क्याम्पस, घण्टाघरको मतदाता सङ्ख्या विवरण भने प्राप्त हुन सकेको छैन। त्रिचन्द्र क्याम्पसमा सात हजारको हाराहारीमा विद्यार्थी मतदाता सङ्ख्या रहेको अनुमान छ। फागुन २७ गते प्रत्यक्ष र समानुपातिक उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका छ। त्रिविले आज उम्मेदवारको मनोनयन पत्र वितरण गरेको छ। काठमाडौं उपत्यकाबाहिर जम्मा ९५ हजार ६२२ र उपत्यकाभित्र ६६ हजार ६४६ गरी जम्मा एक लाख ६२ हजार २६८ कुल मतदाता सङ्ख्या सार्वजनिक गरेको हो। स्ववियु निर्वाचन चैत ५ गते हुँदैछ।
काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिक राष्ट्राध्यक्षको रुपमा देख्न चाहेको बताएका छन् । राष्ट्रपति पौडेललाई बधाई र शुभकामना ज्ञापन गर्दै महामन्त्री थापाले राष्ट्रपति संस्थाबारे संविधानले प्रष्ट व्यवस्था गरेको भन्दै राष्ट्रपति विगतको राजसंस्थाको निरन्तरता नभएको बताए । ‘नेपालको संविधानले राष्ट्रपति पदलाई नेपालको राष्ट्राध्यक्ष भनेर परिभाषित गरेको छ, सँगै राष्ट्रपतिमा संविधानको पालना र संरक्षण गर्ने संवैधानिक अभिभारा पनि रहेको छ,’ थापाले भने, ‘नेपालको राष्ट्रपति, राजा वा राजसंस्थाको अधिकारलाई प्रतिस्थापन गरेर बनेको वा त्यो संस्थाको निरन्तरता होइन । यो संविधानको रक्षार्थ दृढ रहने एउटा नागरिक–राष्ट्राध्यक्षको चाहना हो । तपाईंलाई हामी राष्ट्रपति राजाजस्तो होइन, नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्न चाहन्छौं ।’ संविधानले ‘गल्ती नगर्ने राष्ट्रपति’को रुपमा दिशा निर्देशन गरेको महामन्त्री थापाको भनाइ छ । ‘हाम्रो संविधानको परिकल्पना ‘गल्ती नगर्ने राष्ट्रपति’ हो । किनभने राष्ट्रपतिले आफ्नो मनोमानिले केही पनि गर्दैन र गल्ती पनि गर्दैन,’ उनी भन्छन्, ‘संविधानको पालना, संरक्षण र प्रवर्द्धन गर्ने नाममा राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिस वा सम्मतिमा कार्य गर्ने कुरा संविधानको मर्म हो ।’ उनले हरेक निर्णयको सिफारिस गर्ने सरकारले नै त्यसको जिम्मेवारी लिनुपर्ने मान्यता राखिएको बताए । ‘तपाईं हिजो राष्ट्रपतिको उम्मेदवार हुँदासम्म नेपाली कांग्रेसको सदस्य हुनुहुन्थ्यो, नेता हुनुहुन्थ्यो, एउटा राजनीतिक विचारसँग आवद्ध हुनुहुन्थ्यो, स्वभाविक रुपमा त्यसैप्रति तपाईंको लगाव र मिहिनेत थियो । तर, अब तपाईं मन, वचन र कर्मले योसँग अलग हुनुपर्छ, न नेपाली कांग्रेसप्रति न त हिजो तपाईंलाई मतदान गर्नेहरूप्रति कसैसँग पनि अतिरिक्त अनुराग रहनुहुँदैन,’ महामन्त्री थापाले भने । राष्ट्रपति पौडेललाई अब नेपाली कांग्रेसको मात्र होइन सबैको अभिभावक बन्न उनको आग्रह छ । उनले लेखेका छन् ,‘दलीय राजनीति, दलभित्रको राजनीति, दलहरूका बीचमा र दलभित्र हुने शक्ति संघर्ष वा अभ्यासबाट मुक्त हुने राजनीतिक चरित्र र क्षमता प्रदर्शन गर्नुहुनेछ । कुनैपनि क्षणमा जानेर नजानेर कुनै चाख वा रुची राख्नु हुनेछैन भन्ने अपेक्षा छ ।’ यसअघि राष्ट्रपतिको सम्मानका लागि सवारीको नाममा सडक खाली गराउँदा नागरिकलाई घण्टौंसम्म हिँड्डुल गर्न नदिने गरिएको भन्दै त्यस्तो अनावश्यक तडक भडक नगर्न थापाले सुझाए । ‘राष्ट्रपति संस्थालाई कति सम्मानित र मर्यादित बनाउने भन्ने कुरामा सरकारको पनि महत्त्वपूर्ण भूमिका छ । यो मौका हो नयाँ थालनी गर्न । अतः केही नयाँ शुरुवात गरौं,’ उनले भनेका छन् ।
काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनतामा देखिएको निराशालाई चिर्दै मुलुकलाई सुशासनको बाटोमा अघि बढाउनुपर्ने बताएका छन्। शुक्रबार बीपी संग्रहालय सुन्दरीजल पुगेका पौडेलले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न लागि अहिले जनतामा देखिएका निराशालाई चिर्दै मुलुकलाई सुशासनको बाटोमा अघि बढाउनुपर्ने बताए। पौडेलले अब देशले पटक पटकको प्रयोग धान्न नसक्ने र राष्ट्रलाई उन्नति गर्ने समय चाहिने भएकाले संविधानमा भएको अधिकारलाई सुरक्षित गर्दै राष्ट्र निर्माणमा लाग्नुपर्ने धारणा राखे। अहिलेको व्यवस्थालाई चीर स्थायी बनाउदै केहि सुधार गर्नुपर्ने भए गर्ने र जनताको सपनालाई साकार पार्नुपर्ने उनको भनाइ छ । पौडेलले बीपीले देशलाई नयाँ बाटो देखाएको र त्यसलाई अघि बढाउने काम आफूहरुको भएको जिकिर गरे। गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा रहेको बीपी संग्रहालय पुगेर नवनिर्वाचित राष्ट्रपति पौडेलले बीपी कोईरालाको शालिकमा माल्यार्पण गरेका थिए। सो क्रममा उनले संग्रहालयमा रहेको गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, रामनारायण मिश्र, दिवानसिंह राई र योगेन्द्रमान शेरचनको शालिकमा पनि माल्यार्पण गर्नुको साथै बीपी संग्रहालय परिसरमा रुद्राक्षको बिरुवा समेत रोपेका थिए।
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त अधिराज्य बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन्ने मरी ट्रेभेलियनले शिष्टाचार भेटवार्ता गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल भ्रमणका क्रममा यसअघि उनी बुधबार हुनमानढोका दरबार क्षेत्रमा नेपालस्थित बेलायती दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिइन् । उनले बिहीबार अरुण जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेकी थिइन् । उक्त परियोजनामा बेलायतले लगानी बोर्डमार्फत आर्थिक लगानी गरेको छ । बुधबार नेपाल भ्रमणमा आएकी राज्यमन्त्री ट्रेभेलियन आज स्वदेश फर्कंदै छिन् ।
काठमाडौं: नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरे पनि उनी उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य देखिएका छिन् । नेपालको संविधान २०७२ अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न ४५ वर्ष उमेर पूरा भएको हुनुपर्छ । नाउपाले उपराष्ट्रपतिमा अघि सारेको उम्मेदवार रञ्जिता श्रेष्ठको उमेर ४५ वर्ष पूरा नभएकाले उनी अयोग्य देखिएकी हुन् । संसद सचिवालयका अनुसार रञ्जितको उमेर ४० वर्ष मात्र छ । नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक गंगाराम थारुले जानकारी दिएका थिए ।
नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। उक्त पार्टीको संसदीय दलका प्रमुख सचेतक गंगाराम चौधरीले शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपति बनाउने निर्णय गरेको जानकारी दिए। श्रेष्ठ कैलाली-१ बाट निर्वाचित सांसद हुन्। नागरिक उन्मुक्ति पार्टी ८ दलीय गठबन्धनमा छ। सोही गठबन्धनमा रहेको अर्को दल जनता समाजवादी पार्टीले संसदीय दलका नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय बिहीबार गरिसकेको छ। उपराष्ट्रपतिको मनोनयन दर्ता फागुन २७ मा हुँदैछ। आफूले उम्मेदवार उठाउनेबारे ८ दलसँग कुराकानी गर्ने चौधरीले बताए।
काठमाडौं: निर्वाचन आयोगले उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले पुरुष व्यक्ति (रामचन्द्र पौडेल) राष्ट्रपति निर्वाचित भइसकेकाले त्यो भन्दा फरक (महिला वा अन्य) लिङ्गबाट उम्मेदवार बनाउने निर्णय गरेको हो । साथै राष्ट्रपति पौडेल खस आर्य समुदायको भएकाले उपराष्ट्रपतिमा महिला वा अन्य लिंगबाट हुने उम्मेदवार पनि फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को मनोनयन हुनुपर्ने आयोगको ठहर छ । उपराष्ट्रपति पदको उम्मेदवारी दर्ता शनिबार हुँदैछ । निर्वाचन चैत ३ गते हुनेछ ।