काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दायर भएको रिटमा आज (शुक्रबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा प्रधानमन्त्री प्रचण्डविरुद्ध दायर भएको रिटमा सुनुवाइ हुन लागेको हो । उक्त रिटको इजलास ११ औं नम्बरमा छ । गत मङ्गलबार अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जीविवास गिरीले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गर्नुभएको थियो । यसअघि हिजो (बिहीबार) सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको थियो । तर बेन्च बस्न नभ्याएपछि आज (शुक्रबार)का लागि सारिएको हो । २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये पाँच हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिनुभएको थियो । सोही अभिव्यक्तिका विषयलाई लिएर सर्वोच्चमा रिट दर्ता भएको हो ।
राजनीतिज्ञका रूपमा रामचन्द्र पौडेलको भद्र, सादगी र इमान्दार छविलाई तनहुँवासीले पहिले सम्झन्छन् । गृहजिल्ला तनहुँमा मात्र नभई केन्द्रीय राजनीतिमा पनि त्यागी र निष्ठावान नेताका रूपमा उहाँ सधैँ चिनिनुभयो । अब भने तनहुँका बासिन्दाले सांसद या नेताका रूपमा नभई पौडेललाई मुलुककै सर्वोच्च राजकीय पदमा आसिन भएको देख्न पाउने भएका छन् । तनहुँबाटै छ–छपटक चुनाव जितेर संसद्मा पुग्नुभएका पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि स्थानीयवासीमा खुसीयाली छाएको छ । व्यास–८ रिस्तीको सामान्य किसान परिवारमा जन्मनुभएका पौडेल सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनुलाई तनहुँवासीले गौरवका रूपमा लिएका छन् । राष्ट्राध्यक्षका रूपमा पौडेलले देश र जनताको हितका पक्षमा काम गर्ने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय एकता प्रवद्र्धन तथा संविधानको रक्षामा राष्ट्रपतिले निष्पक्ष र अभिभावकीय भूमिका खेल्नुपर्नेमा जनसाधारणको जोड छ । त्रिभुवन विश्वविद्यालय शिक्षा सङ्कायका पूर्वडिन व्यास–३ का प्रा डा कृष्णप्रसाद गौतमले पौडेलजस्तो विचारले निखारिएको, सरल र विवादरहित व्यक्तित्वलाई राष्ट्रपतिका रूपमा पाउनु गर्वको विषय भएको बताउनुभयो । “रामचन्द्र पौडेल धेरै खारिएका नेता हुनुहुन्छ, प्रजातन्त्र स्थापनाका लागि उहाँले लामो सङ्घर्ष गर्नुभयो, जेल जीवन बिताउनुभयो, उहाँ निर्वाचित हुँदा राष्ट्रपति पदको गरिमा अझ बढेर गएको छ”, प्रा डा गौतमले भन्नुभयो । उहाँले नवनिर्वाचित राष्ट्रपति पौडेलले राष्ट्रहित र लोककल्याणकारी काममा आफूलाई समर्पित गर्नेमा विश्वास व्यक्त गर्नुभयो । “राष्ट्रपति आलङ्कारिक भए पनि या सम्मानित र महत्वपूर्ण पद हो, विगतमा राष्ट्रपतिको भूमिकालाई लिएर केही टीका–टिप्पणी पनि भए”, प्रा डा गौतमले भन्नुभयो, “रामचन्द्र पौडेल अब तनहुँको मात्र नभई राष्ट्रको अभिभावक बन्नुभयो, उहाँले आफूलाई देशभक्त राष्ट्रपतिका रूपमा सावित गर्नेमा हामी आशावादी छौँ ।” तनहुँ–२ का पूर्वसांसद केदार सिग्देलले राष्ट्रपतिले साझा भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । “नवनिर्वाचित राष्ट्रपति तनहुँबाटै राजनीतिमा स्थापित हुनुभएको हो, उहाँ हाम्रो अग्रज पनि हो, जिल्लावासीका रूपमा हामी सबैका लागि यो गर्वको विषय हो”, उहाँले भन्नुभयो । नवनिर्वाचित राष्ट्रपति पौडेलका छिमेकी व्यास–२ अमरापुरी निवासी सावित्री अधिकारीले आफूले मत दिएर पठाएको व्यक्ति मुलुकको सर्वोच्च पदमा पुग्दा खुसी लागेको बताउनुभयो । “घर आउँदा सन्चोबिसन्चो सोधिराख्नुहुन्थ्यो, आज उहाँ राष्ट्रपति भएको थाहा पाउँदा धेरै खुसी लागेको छ”, अधिकारीले भन्नुभयो, “देश र जनताका लागि राम्रो काम गर्नुहुन्छ भन्ने आशा छ ।” पौडेलको जन्मगाउँ व्यास–८ रिस्तीका वडाध्यक्ष युवराज गुरुङले पौडेल राष्ट्रपति निर्वाचित हुँदा वडावासीमा खुसीयाली छाएको बताउनुभयो । नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारीले राष्ट्रलाई एकताबद्ध गर्न र संविधानको रक्षार्थ राष्ट्रपतिले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले नवनिर्वाचित राष्ट्रपति पौडेलमा रहेको इमान, निष्ठा र त्यागको चरित्रले राष्ट्रपति पदको गरिमा अझ बढ्ने धारणा राख्नुभयो । “तनहुँ साहित्य क्षेत्रमा जसरी प्रख्यात छ, राजनीतिमा पनि उत्तिकै चर्चित छ”, अधिकारीले भन्नुभयो, “नवनिर्वाचित राष्ट्रपतिले निर्विवाद भूमिका खेल्नेमा हामी विश्वस्त छौँ ।” यस्तो छ नवनिर्वाचित राष्ट्रपति पौडेलको जीवनी विसं २००१ मा तनहुँको रिस्तीमा जन्मिनुभएका पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लाग्नुभएको थियो । नेपाली कांग्रेसद्वारा सञ्चालित विसं २०१८ को सशस्त्र क्रान्तिमा पौडेलले सहभागिता जनाउनुभएको थियो । पौडेल विसं २०२३ मा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित हुनुभएको थियो । विसं २०२७ मा नेपाल विद्यार्थी सङ्घको स्थापनामा पौडेल पनि सहभागी हुनुभएको थियो । विसं २०४० मा पौडेल नेपाली कांग्रेसको केन्द्रीय प्रचार समितिको संयोजक बन्नुभएको थियो । विसं २०४४ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बन्नुभएका पौडेल त्यसयता निरन्तर केन्द्रीय समितिमा रहँदै आउनुभएको थियो । पौडेल २०४८ मा तनहुँ–१ बाट पहिलोपटक प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । उहाँ यसबीचमा उपप्रधान तथा गृह, स्थानीय विकास, कृषि, सञ्चारमन्त्री भइसक्नुभएको छ । उहाँले सभामुखको जिम्मेवारी पनि निभाउनुभएको छ । तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधनपछि पौडेलले कार्यवाहक सभापतिको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयको संयोजक पनि बन्नुभएको थियो । पौडेलले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर गर्नुभएको छ । पौडेल गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा तनहुँ–१ बाट निर्वाचित हुनुभएको थियो । उहाँ यसअघि विसं २०४८, २०५१, २०५६, २०६४ र २०७० को आम चुनावमा पनि तनहुँबाटै निर्वाचित हुनुभएको थियो ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा प्रचारप्रसार गर्नका लागि रङ्रोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी आचारसंहिता जारी गरेको छ । त्रिविले जारी गरेको स्ववियु निर्वाचनमा आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयक निर्देशक पशुपति अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार क्याम्पसको कम्पाउण्ड वालको बाहिरिपट्टी, भित्रपट्टी र क्याम्पस वरिपरि बालपेन्टिङ गर्न र त्रिविका क्याम्पसमा हानी नोक्सानी हुने कुनै प्रकारको प्रचार गर्न पाइने छैन । यस्तै उम्मेदवारले आफ्नो निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावली एफोर साइजको एकै रङ भएको मात्रै प्रचारप्रसार गर्न पाइनेछ । आचारसंहितामा क्याम्पस निर्वाचन समितिमा दर्ता सङ्घ, सङ्गठन, समूह वा स्वतन्त्र उम्मेदवारलाई एउटै मञ्चमा राखी परिचयात्मक कार्यक्रम क्याम्पस निर्वाचन समितिले सञ्चालन गर्ने र उक्त कार्यक्रमका एक अर्काप्रति आपेक्ष वा आरोप लगाइने वाक्य बोल्न नपाइने पनि आचारसंहितामा उल्लेख गरिएको छ । क्याम्पस हाताभित्र माइकबाट कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने, विभिन्न माग राखी वा निर्वाचनको विषयलाई लिएर बन्द हड्ताल गर्न नपाइने उल्लेख छ । आचारसंहितामा मतदान हुनुभन्दा ४८ घन्टा अगाडिदेखि निर्वाचनको प्रचारप्रसार गर्न नपाइने उल्लेख छ । निर्वाचन कार्यतालिका अनुसार स्ववियु निर्वाचनका लागि यही फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्दैछन् । गत फागुन १९ गते निर्वाचनका लागि विद्यार्थी सङ्घ सङ्गठन दर्ता भएका छन् । आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुँदैछ ।
काठमाडौं : नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी भएका छन्। बिहीबार भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार पौडेल भारी मतान्तरले विजयी भएका हुन्। पौडेलले एमालेबाट उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङलाई पराजित गरेका छन्। पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गरेका छन् भने नेम्वाङले १५ हजार ५१८ मतभार पाएका छन्। यद्यपी निर्वाचनको मत परिणाम आधिकारिक घोषणा हुन बाँकी छ । निर्वाचन आयोगका अनुसार कूल ८८२ मतदातामध्ये ८३१ मतदाताले निर्वाचनमा मतदान गरेका थिए। ३३२ संघीय संसदका सदस्यहरुमध्ये ३१३ जना र ५५० प्रदेश सभा सदस्यहरुमध्ये ५१८ जनाले मतदान गरेका हुन्। राष्ट्रपतिको निर्वाचनमा राप्रपा, नेमकिपाका सांसदले मतदान गरेनन्। राष्ट्रपति निर्वाचनका लागि संघीय संसद र प्रदेश सभाका सांसदहरु मतदाता रहेका छन्। यस पटक पनि संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ। राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुनेछ। पौडेलका प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत नेता अब्दुल खान, जसपा नेता अशोक राई थिए। उनका समर्थकमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र माओवादी नेता हितराज पाण्डे थिए। नेम्वाङको प्रस्तावक र समर्थनमा एमालेले मात्र गरेको थियो। राष्ट्रपतिमा चौथो कार्यकालका लागि आज निर्वाचन भएको हो। यस अगाडि तीन पटक राष्ट्रपति निर्वाचन भइसकेको छ। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालमा पनि निर्वाचित भएकी थिइन्। भण्डारीले ३९ हजार २७५ मतभार प्राप्त गर्दा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी राईले ११ हजार ७३० मतभार पाएकी थिइन्। २०७२ कात्तिक ११ गते उनी प्रथम महिला राष्ट्रपति बनेकी हुन्। यसैगरी पहिलो राष्ट्रपतिमा डा. रामवरण यादव निर्वाचित भएका थिए। तत्कालीन संविधानसभाका कुल सदस्यबाट बहुमत प्राप्त गरी २०६५ सालमा साउन ८ गते उनी विजय भएका हुन्। तत्कालीन सबैभन्दा ठूलो दल नेकपा (माओवादी) का उम्मेदवार रामराजा प्रसाद सिंहलाई हराएर यादवले जितेका थिए। यादवलाई एमालेसहित विभिन्न साना दलहरूले समर्थन थियो। को हुन् राष्ट्रपतिमा निर्वाचित पौडेल ? ७८ वर्षका पौडेल २००१ साल असोजमा तनहुँको रिस्ती बाहुनपोखरामा जन्मिएका हुन्। उनी १६ वर्षको उमेरदेखि नै राजनीतिमा लागे। राजा महेन्द्रले २०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि आक्रोशको ‘ज्वालामुखी’ बोकेर उनी राजनीतिमा होमिएका हुन्। कोइराला २०३३ सालमा भारत निर्वासनबाट फर्केपछि उनीसँग निकट रहेर काम गरेका थिए पौडेलले। पौडेलले कांग्रेसद्वारा २०१८ मा सञ्चालित सशस्त्र क्रान्तिमा सहभागिता जनाए। जो २०१९ सालको स्वतन्त्र विद्यार्थी आन्दोलनका एक अभियन्ता थिए। २०२३ मा सरस्वती क्याम्पसमा विद्यार्थी युनियन सभापति निर्वाचित भए। २०२४ मा प्रजातान्त्रिक समाजवादी युवा लिगका महासचिव निर्वाचत भए। २०२७ मा नेपाल विद्यार्थी संघको स्थापनामा सहभागी भई संस्थापक केन्द्रीय सदस्य बने। २०४० मा पार्टीले केन्द्रीय प्रचार समिति संयोजक बनायो। २०४४ सालमा केन्द्रीय सदस्य बने। पौडेलको संसद् यात्रा २०४८ को निर्वाचन तनहुँ १ बाट जितेपछि सुरु भयो। त्यसपछि स्थानीय विकासमन्त्री बने। कृषिमन्त्री पनि भए। २०५१ को मध्यावधि चुनावमा तनहुँ—२ बाटै निर्वाचित भए। २०५१ पुसदेखि २०५५ चैतसम्म सभामुख बने। उनी २०५६ सालमा तनहुँ—२ बाट तेस्रो पटक निर्वाचित भए। २०५७ मा उपप्रधान, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाले। २०५९ मा शान्तिमन्त्री बने। २०६२ सालमा कांग्रेस महामन्त्री पदमा पुगे। माओवादी शान्ति प्रक्रियामा आएपछि शान्ति सचिवालय संयोजक बने। २०६३ सालमा शान्ति तथा पुनर्निर्माणमन्त्री भए। २०६४ सालमा उनी कांग्रेस उपसभापति भए। सोही वर्ष सम्पन्न संविधानसभा चुनावमा तनहुँ—२ बाट निर्वाचित भए। २०६५ सालमा कांग्रेस संसदीय दलका नेता बने। २०६७ मा १७ पटक चुनाव लड्दा पनि प्रधानमन्त्री पदमा निर्वाचित हुन सकेनन्। जति बेला माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेबाट झलनाथ खनाल उम्मेदवार थिए। तर, आठौं प्रतिस्पर्धापछि दाहाल दौडबाट बाहिरिए। त्यसपछि पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गरेका हुन्। निर्वाचनसम्बन्धी नियमावली परिवर्तन गरेपछि अर्को चरणमा खनालले बाजी मारेका थिए। २०७० मा संविधानसभाको दोस्रो निर्वाचन तनहुँ—२ बाट जिते। २०७२ मा तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि उनी कार्यवाहक सभापति बनेका थिए। त्यही वर्ष पार्टीको १३औं महाधिवेशनमा शेरबहादुर देउवासँग सभापति पदमा पराजित भए। उनले २०७४ को निर्वाचन तनहुँ—१ मा हारे। यसपटक भने उनी तनहुँ—१ बाटै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। पौडेलले करिब १३ वर्ष जेल जीवन बिताए। उनले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर र संस्कृत साहित्यमा शास्त्री पास गरेका छन्। उनका श्रीमती र पाँच सन्तान छन्। पौडेलका तीन पुस्तक प्रकाशित छन्।
काठमाडौं: नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज (बिहीबार) सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो । आज बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि आजै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतदानमा तीन सय १३ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ । पूर्व सभामुखसमेत रहनुभएका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुनुहुन्छ । साथै अर्का पूर्व सभामुख नेम्वाङलाई एमालेको साथ छ । राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुन्छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन् । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।
नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले आज निर्वाचित हुने राष्ट्रपतिले आफूलाई दलीय संरचनाबाट अलग राख्दै राष्ट्र र जनताको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग उहाँले नयाँ निर्वाचित हुने राष्ट्रपतिले दलबाट अलग भएर मन, वचन र कर्मले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको हो। राष्ट्रपति दलबाट अलग हुन नसके राष्ट्रपति पदलाई नै न्याय नहुने उहाँको भनाइ छ। “लामो समय लोकतान्त्रिक आन्दोलनमा सङ्घर्ष गर्नुभएका रामचन्द्र पौडेल आज राष्ट्रपति पदमा निर्वाचित हुने करिब निश्चित छ”, उहाँले भन्नुभयो,“यसअघिका राष्ट्रपतिबाट भएका कमजोरीबारे उहाँ जानकार हुनुहुन्छ। त्यसैले पनि उहाँ सुरुमा पार्टीबाट मन, वचन र कर्मले अलग हुनुपर्छ।” नयाँ निर्वाचित हुने राष्ट्रपतिलाई आफू अनुकूल संविधानको व्याख्या नगर्न उहाँले आग्रह गर्नुभयो। “लामो समय पार्टीमा काम गर्नुभएका उहाँले नेपाली कांग्रेसलाई मनबाट निकालेर काम गर्न सक्नुभएन भने राष्ट्रपति पदलाई न्याय गर्न सक्नु हुन्न”, उहाँले भन्नुभयो।
काठमाडौंः नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भौगोगोलिक अखण्डता र लोकतन्त्र रक्षाका लागि राष्ट्रपतिको भूमिका महत्वपूर्ण रहने बताएका छन् । संसद् भवनमा मतदानपछि ओलीले देशको हितको रक्षा, सार्वभौम सत्ताको रक्षा,भौगोलिक अखण्डताको रक्षा,राष्ट्रिय हित र स्वाभिमानको रक्षाका लागि अभिभावकको भूमिका वहन गर्न सक्ने राष्ट्रपति आवश्यक रहेको बताए । ओलीले भने,‘राष्ट्रपतिले लोकतन्त्रको रक्षा,जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने, संविधानको पक्षमा उभिनलाई आफ्नो स्वार्थमा व्याख्या गर्ने, त्यसलाई संविधानसम्मत लोकतान्त्रिक कोणबाट व्याख्या गर्ने, देशप्रति बफादार भएर संविधानको रक्षकको भूमिका निर्वाह गर्नुपर्छ । ’ राष्ट्रपतिप्रति आलोचना भइरहेको छ नि भन्ने प्रश्नमा ओलीले संकीर्ण स्वार्थ भएकाहरू सानो स्वार्थ पूरा नभएपछि उफ्रिनु स्वभाविक रहेको बताए । ओलीले भने,‘राजनीतिमा जे पनि सम्भव छ । कांग्रेस र एमाले एक ठाउँमा नआउने भनेर कसम खाएको छैन ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनमा संसदीय दलको बैठकमा भएको सहमति अनुसार मतदान गर्ने निर्णय गरेको छ । रास्वपाका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले आज बसेको पदाधिकारीसहितको संसदीय दलको बैठकले राष्ट्रपति निर्वाचन सम्बन्धमा सो निर्णय गरेको जानकारी दिनुभयो । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपति निर्वाचनमा गोप्य मतदान हुने व्यवस्था भएकाले यस्ता निर्णयहरु सार्वजनिक गर्नु ऐन र संविधानको मर्म विपरीत भएकाले मतदान गर्ने उम्मेदवारको नाम सार्वजनिक नगरिएको उहाँको भनाइ छ । यद्यपि, रास्ववपाको एक नेताका अनुसार रास्वपाले नौ दलीय गठबन्धनलाई सघाउने भएको छ । यस बीचको राजनीतिक घटनाक्रम र पार्टीको संगठन विस्तारको व्यवस्ताका कारण पार्टीले यो निर्णय आज गरेको उहाँको भनाइ छ । “यसबीचमा जे जस्ता राजनीतिक घटनाक्रम भए । संगठन विस्तरको क्रममा थियो, राजनीतिक पार्टीको हिसाबमा, राजनीतिक संघर्षको रुपमा जुन व्यवस्था छ, हामी राष्ट्रपति निर्वाचनमा भाग लिनेछौं ।,” बैठकपछि रास्वपाका ती नेताले भन्नुभयो, ‘‘निर्वाचन आयोगले आचारसंहिता लगाएको छ । हामीले यो गर्ने वा त्यो गर्ने भन्न पाउँदैनौं । संविधानले परिकल्पना गरेको राष्ट्रपतिको भूमिका कस्तो रह्यो भनेर बैठकमा समिक्षा गर्यौं ।” दलीय गठबन्धनलाई सहयोग गर्ने भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले लोकतन्त्र एवम् संविधानको रक्षा गर्ने उद्देश्यले सो निर्णय भएको बताउनुभयो ।
पोखरा: कर्मचारीले सूचना चुहाएको भन्दै पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यालयमा केही विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचनमा होमिएका विद्यार्थी संगठनहरुले पिएन क्याम्पसका केही विद्यार्थी संगठनहरुले कर्मचारीले विद्यार्थीहरुको व्यक्तिगत विवरण चुहावट गरेको भन्दै तालाबन्दीपछि विज्ञप्तीमा टाँसिएकाे छ । विज्ञप्तीमा भनिएको छ ‘पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन समिति र क्याम्पस प्रशासनको मिलेमतोमा मतदाता नामावलीको प्रकाशनको सन्दर्भमा अन्तिम टुङ्गो नहुँदै केही अमुक विद्यार्थी संगठनलाई मतदाता नामावली पत्रमा निर्वाचनलाई प्रभावित पार्ने गतिविधि स्ववियु निर्वाचन समितिबाट नै गरिएको कुरामा गम्भिर शंका भएको छ ।’ अखिल क्रान्तिकारी पिएनका अध्यक्ष काशिराम पौडेल, अखिल क्रान्तिकारी अध्यक्ष सचिन पौडेल, विप्लव निकट अखिल क्रान्तिकारी अध्यक्ष विवेक अधिकारी र अखिल क्रान्तिकारी संयुक्तका अध्यक्ष गगन परियारले हस्ताक्षर गरिएको विज्ञप्तीमा क्याम्पसमा प्रशासनमा दुई बुँदे माग राख्दै तालाबन्दी भएको हो । ‘त्रिभुवन विश्वविद्यालय मार्फत तलबभत्ता लिने शिक्षक, प्राध्यापक र कर्मचारीले आसन्न स्ववियु निर्वाचनमा मतदान गर्न नपाउने र फागुन १८ र १९ गते दर्ता भएका संघ, संगठन र समूहको नामावली जस्ताको त्यस्तै तत्काल पुनः प्रकाशित गर्नुपर्ने’ विज्ञप्तीमा उल्लेख छ ।